प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr अध्या. १९ पृ. २०२-२०८
  • यहोवाको आदर हुने निर्माणकार्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आदर हुने निर्माणकार्य
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राज्यभवन निर्माण
  • सीमित स्रोतसाधन भएका मुलुकहरूमा निर्माणकार्य
  • कामदारहरू ‘राजीखुशीले आफैलाई अर्पण गर्छन्‌’
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • अनवरत उन्‍नतिले गर्दा राज्य भवनहरूको मागमा वृद्धि
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr अध्या. १९ पृ. २०२-२०८

अध्याय १९

यहोवाको आदर हुने निर्माणकार्य

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

संसारभरि भइरहेको निर्माणकार्यले साँचो उपासनालाई फैलाउन टेवा पुऱ्‍याउँछ

१, २. (क) यहोवाका वफादार सेवकहरूले प्राचीन समयदेखि नै कुन काममा भाग लिंदै आएका छन्‌? (ख) यहोवा कुन कुराको सबैभन्दा मोल गर्नुहुन्छ?

यहोवाका वफादार सेवकहरूले प्राचीन समयदेखि नै विभिन्‍न निर्माणकार्य गरेर उहाँको नाम उच्च पारेका छन्‌। उदाहरणको लागि इस्राएलीहरूले पूरा तनमन लगाएर बासस्थान निर्माण गरे। त्यसको लागि तिनीहरूले मन खोलेर दान पनि दिए।—प्रस्थ. ३५:३०-३५; ३६:१, ४-७.

२ निर्माण सामग्रीले उहाँको आदर गर्छ भनेर यहोवा ठान्‍नुहुन्‍न न त उहाँ त्यस्ता कुराहरूलाई धेरै महत्त्व दिनुहुन्छ। (मत्ती २३:१६, १७) बरु यहोवा आफ्ना उपासकहरूले राजीखुसी र जोसका साथ चढाउने उपासनाको मोल गर्नुहुन्छ र यसले उहाँको आदर गर्छ। (प्रस्थ. ३५:२१; मर्कू. १२:४१-४४; १ तिमो. ६:१७-१९) यो कुरा एकदम महत्त्वपूर्ण छ, किन? किनभने भवनहरू त बन्छन्‌, भत्किन्छन्‌। जस्तै बासस्थान र यरूशलेमको मन्दिर आज छैन। तर ती भवनहरू निर्माण गर्न आफ्ना वफादार सेवकहरूले देखाएको उदारता र तिनीहरूले बगाएको पसिना यहोवाले बिर्सनुभएको छैन।—१ कोरिन्थी १५:५८; हिब्रू ६:१० पढ्‌नुहोस्‌।

३. यस अध्यायमा हामी के छलफल गर्नेछौं?

३ आज पनि यहोवाका सेवकहरू उपासनास्थल निर्माण गर्न कडा मेहनत गर्छन्‌। राजा येशू ख्रीष्टको निर्देशनमा हामीले जे-जत्ति गर्न सकेका छौं, त्यो साँच्चै उल्लेखनीय कुरा हो! यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुभएको कुरा स्पष्ट छ। (भज. १२७:१) यस अध्यायमा परमेश्‍वरका जनहरूले गरेका केही निर्माणकार्यहरू र यसले गर्दा कसरी यहोवाको आदर भएको छ, त्यो छलफल गर्नेछौं। साथै यस काममा खटिएका केही भाइबहिनीको अनुभव पनि पढ्‌नेछौं।

राज्यभवन निर्माण

४. (क) हामीलाई किन अझ धेरै उपासनास्थल चाहिएको छ? (ख) विभिन्‍न ठाउँका शाखा कार्यालयलाई किन एउटै शाखा कार्यालयमा गाभियो? (“शाखा कार्यालयको भवन निर्माण—बदलिंदो परिस्थितिअनुसार छाँटकाँट” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

४ हामी उपासनाको लागि एक ठाउँमा भेला भएको यहोवा चाहनुहुन्छ भनेर हामीले यस किताबको अध्याय १६ मा छलफल गरेका थियौं। (हिब्रू १०:२५) सभाहरूले हाम्रो विश्‍वास बलियो बनाउनुका साथै प्रचार गर्न पनि हामीलाई जुरमुऱ्‍याउँछ। यस युगको अन्त झन्‌झन्‌ नजिक हुँदै गइरहेकोले यहोवाले प्रचारको कामलाई अझ जोडतोडका साथ अघि बढाउँदै हुनुहुन्छ। फलस्वरूप हरेक वर्ष लाखौं मानिसहरू उहाँको सङ्‌गठनमा ओइरिरहेका छन्‌। (यशै. ६०:२२) परमेश्‍वरको राज्यका प्रजाको सङ्‌ख्यामा वृद्धि भएको कारण छापाखानाहरूको सङ्‌ख्या पनि बढाउनुपरेको छ। साथै अझ धेरै उपासनास्थल चाहिएको छ।

५. राज्यभवन नाम किन सुहाउँदो छ? (“नवज्योति चर्च” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

५ आधुनिक समयमा यहोवाका जनहरूले सुरुदेखि नै आफ्नै उपासनास्थल हुनुपर्ने आवश्‍यकता महसुस गरेका थिए। सन्‌ १८९० मा बाइबल विद्यार्थीहरूले अमेरिकाको वेस्ट भर्जिनिया राज्यमा पहिलो उपासनास्थल निर्माण गरे जस्तो देखिन्छ। सन्‌ १९३० को दशकसम्ममा यहोवाका जनहरूले उपासनाको लागि थुप्रै भवनहरू निर्माण अनि मर्मत गरिसकेका थिए। तर ती भवनहरूको नाम भने राखिएको थिएन। सन्‌ १९३५ को कुरा हो, भाइ रदरफोर्ड अमेरिकाको हवाई राज्यमा जाँदा त्यहाँ नयाँ शाखा कार्यालयसँगै एउटा उपासनास्थल पनि निर्माण गरिंदै थियो। त्यो भवनको नाम के राख्ने भनेर भाइहरूले सोध्दा भाइ रदरफोर्डले यस्तो जवाफ दिए: “‘राज्यभवन’ भने कसो होला? आखिर हाम्रो काम पनि राज्यको सुसमाचार प्रचार गर्नु नै हो।” (मत्ती २४:१४) त्यसपछि हवाईको त्यो भवनलाई मात्र होइन तर संसारभरिका यहोवाका जनहरूको उपासनास्थललाई राज्यभवन भनियो।

सन्‌ १८८० दशकतिर नवज्योति चर्चको अगाडि बसिरहेका बाइबल विद्यार्थीहरू

नवज्योति चर्चअगाडि बाइबल विद्यार्थीहरू

नवज्योति चर्च

सन्‌ १८८० को दशकको अन्ततिर अमेरिकाको वेस्ट भर्जिनिया राज्यको माउन्ट लुकआउट भन्‍ने ठाउँको एउटा ब्याप्टिस्ट चर्चका धेरै सदस्य बाइबल विद्यार्थी बने। केही समयसम्म ती बाइबल विद्यार्थीहरूले ब्याप्टिस्ट चर्चमै सभाहरू सञ्चालन गरे। चर्चका सदस्यहरू र बाइबल विद्यार्थीहरूले एउटै भवन चलाउने गर्थे। त्यसैले यी दुई समूहमध्ये जो पहिला पुग्थ्यो, त्यही समूहले सुरुमा भवन प्रयोग गर्थ्यो। तर सन्‌ १८९० मा हाम्रा भाइबहिनीले त्यो चर्च चलाउन छोडे। तिनीहरूले आफ्नै भवन निर्माण गरिसकेका थिए।

यो भवन आधुनिक समयमा यहोवाका जनहरूले निर्माण गरेको पहिलो उपासनास्थल हो जस्तो देखिन्छ। यस भवनलाई नवज्योति चर्च भनियो किनभने बाइबल विद्यार्थीहरूले सिकाउने सत्य कुरालाई नयाँ ज्योति भन्ठानिन्थ्यो। यो भवन सन्‌ १९२० को दशकसम्म प्रयोग गरियो। भाइ ए. एच. म्याकमिलन र अरू परिभ्रमण निरीक्षकहरूले यस भवनमा भाषण दिएका थिए। अङ्‌ग्रेजी भाषाको “सृष्टिसम्बन्धी फोटो-नाटक” देखाउन पनि यो भवन प्रयोग गरिएको थियो।

६, ७. केही दिनमै राज्यभवनहरू निर्माण गरिंदा यसले मानिसहरूमा कस्तो प्रभाव पारेको छ?

६ सन्‌ १९७० को दशकतिर अझ धेरै राज्यभवनको खाँचो पऱ्‍यो। त्यसैले अमेरिकाका भाइहरूले केही दिनमै सुन्दर र प्रयोग गर्न सजिलो राज्यभवन निर्माण गर्न थाले। सन्‌ १९८३ सम्ममा अमेरिका र क्यानाडामा झन्डै २०० वटा यस्तै राज्यभवन निर्माण भइसकेका थिए। यो कामलाई अझ सजिलो बनाउन भाइहरूले स्थानीय तवरमै निर्माण समितिहरू गठन गरे। यसरी समिति बनाउँदा निर्माणकार्य छिटो अघि बढ्यो। त्यसैले सन्‌ १९८६ मा परिचालक निकायले यो प्रबन्धलाई मान्यता दियो। सन्‌ १९८७ भित्र अमेरिकामा ६० वटा क्षेत्रीय निर्माण समिति गठन भइसकेका थिए।a सन्‌ १९९२ सम्ममा अर्जेन्टिना, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, मेक्सिको, दक्षिण अफ्रिका र स्पेनमा पनि क्षेत्रीय निर्माण समितिहरू गठन भइसकेका थिए। राज्यभवन तथा सम्मेलन भवन निर्माणकार्यमा खटेका मेहनती भाइबहिनीलाई हामीले सहयोग गर्नुपर्छ। किनभने उनीहरूले गर्ने काम पवित्र सेवाको एउटा भाग हो।

७ केही दिनमै राज्यभवनहरू निर्माण गरिएको देखेर मानिसहरूले पनि राम्रो साक्षी पाए। उदाहरणको लागि स्पेनको एउटा अखबारमा “डाँडा सार्नेसम्मको विश्‍वास” शीर्षकको लेख छापिएको थियो। स्पेनको मार्तोस सहरमा भएको राज्यभवन निर्माणकार्यबारे टिप्पणी गर्दै त्यस अखबारमा यस्तो लेखिएको थियो: “यस स्वार्थी संसारमा समेत स्पेनको विभिन्‍न भागबाट निःस्वार्थ स्वयम्‌सेवकहरू मार्तोसमा ओइरिएका छन्‌। तिनीहरूको काम गर्ने शैली छिटोछरितो छ। आजसम्म यस्तो रेकर्ड नै छैन।” तिनीहरूले यसरी काम गर्नु पछाडिको कारण खुलाउँदै एक साक्षीको भनाइ अखबारमा यसरी उल्लेख गरिएको थियो: “हामी यहोवाबाट सिकाइएका मानिसहरू हौं।”

शाखा कार्यालयहरूका लागि भवन निर्माण—बदलिंदो परिस्थितिअनुसार छाँटकाँट

सन्‌ १९२७ मा ब्रूक्लिनमा छापाखाना निर्माण गरिरहेका मानिसहरू

ब्रूक्लिनमा हाम्रो पहिलो छापाखाना निर्माण गरिंदै, १९२७

संसारभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काम फैलिंदै जाँदा विभिन्‍न देशमा शाखा कार्यालय स्थापित गरिए। पहिलो शाखा कार्यालय सन्‌ १९०० मा बेलायतमा स्थापित गरियो अनि क्रमशः सन्‌ १९०३ मा जर्मनीमा र सन्‌ १९०४ मा अस्ट्रेलियामा स्थापित गरियो। हाम्रा प्रकाशनहरूको माग धेरै बढेकोले छापाखानाहरू पनि निर्माण गर्नुपऱ्‍यो। सबैभन्दा पहिलो छापाखाना सन्‌ १९२७ मा न्यु योर्कको ब्रूक्लिनमा निर्माण गरियो। उक्‍त छापाखाना आठ तल्लाको थियो। सन्‌ २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले बाइबल, किताब र पत्र-पत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।

पापुआ न्यु गिनीको शाखा कार्यालय

सन्‌ २०१० मा समर्पण गरिएको पापुआ न्यु गिनीको बेथेल भवन

सन्‌ १९७५/७६ देखि सन्‌ १९९०/९१ सम्म लगभग ६० वटा देशमा नयाँ शाखा कार्यालयका भवनहरू निर्माण गरिए। थप ३० वटा ठाउँमा शाखा कार्यालय विस्तार गरियो। तर हालसालै विभिन्‍न शाखा कार्यालयलाई गाभ्ने काम गरियो। यसरी गाभ्नुको कारणबारे यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१३ मा यस्तो लेखिएको थियो: “आजभोलि सञ्चार तथा छपाइको क्षेत्रमा धेरै प्रगति भएकोले मानिसले गर्ने थुप्रै काम मेसिनले नै गर्छ। त्यसैले ठूला शाखाहरूमा सेवा गर्ने भाइबहिनीको सङ्‌ख्यामा कटौती गरिएको छ। यसरी कटौती गरिएपछि ठूला शाखाहरूमा साना शाखाका भाइबहिनीलाई बोलाउन सम्भव भएको छ। अनि गाभिएका साना शाखाका इलाकाहरूको सुपरिवेक्षण ठूला शाखाहरूले गर्ने गर्छ। यस्तो छाँटकाँटले गर्दा प्रचार र सिकाउने कामको निरीक्षण गर्न साना शाखाका अनुभवी भाइहरूको पनि मदत पाउन सकिएको छ।”

सीमित स्रोतसाधन भएका मुलुकहरूमा निर्माणकार्य

८. सन्‌ १९९९ मा परिचालक निकायले कुन योजनाको लागि अनुमति दियो र किन?

८ बीसौं शताब्दीको अन्ततिर सीमित स्रोतसाधन भएका देशहरूमा पनि परमेश्‍वरका जनहरूको तीव्र वृद्धि हुन थाल्यो। ती देशहरूका स्थानीय मण्डलीहरूले उपासनास्थल निर्माण गर्न आफ्नो औकातले भ्याएसम्म सक्दो गरे। तर कुनै-कुनै देशमा अरू धर्मको उपासनास्थलको तुलनामा हाम्रा राज्यभवनहरू थोत्रा देखिन्थे। त्यसैले त्यहाँका हाम्रा भाइबहिनीहरू गिल्ला र पक्षपातको सिकार भए। तर सन्‌ १९९९ मा परिचालक निकायले गरिब राष्ट्रहरूमा पनि राज्यभवन निर्माणकार्यलाई द्रुत गतिमा अघि बढाउने एउटा योजना बनायो। यो योजनाअनुसार धनी मुलुकहरूबाट प्राप्त अनुदान गरिब मुलुकहरूमा राज्यभवन बनाउन उपलब्ध गराइने थियो। यसो गर्नुको उद्देश्‍य सबै ठाउँका राज्यभवनहरू ‘समान’ अर्थात्‌ उस्तै देखियोस्‌ भन्‍ने थियो। (२ कोरिन्थी ८:१३-१५ पढ्‌नुहोस्‌) साथै यस काममा सघाउन विभिन्‍न मुलुकका भाइबहिनीहरू तत्पर भए।

९. कुन काम असम्भवजस्तो देखिन्थ्यो? तर हामीले के गर्न सकेका छौं?

९ सुरुमा यो योजनाअनुरूप काम गर्न असम्भव देखिन्थ्यो। सन्‌ २००१ को एउटा रिपोर्टअनुसार ८८ वटा गरिब राष्ट्रमा १८,३०० भन्दा धेरै राज्यभवनको खाँचो थियो। तर परमेश्‍वरको पवित्र शक्‍ति र हाम्रो राजा येशू ख्रीष्टको समर्थन छ भने कुनै कुरा असम्भव हुँदैन। (मत्ती १९:२६) परमेश्‍वरका जनहरूले सन्‌ १९९९ देखि २०१३ सम्म अर्थात्‌ १५ वर्षभित्र सीमित स्रोतसाधन भएका मुलुकहरूमा २६,८४९ वटा राज्यभवन निर्माण गरे।b यहोवाले प्रचारकार्यमा पनि आशिष्‌ दिइरहनुभएको छ। त्यसैले सन्‌ २०१३ को रिपोर्टअनुसार त्यस्ता गरिब राष्ट्रहरूमा अझै ६,५०० वटा राज्यभवनको खाँचो छ। अहिले पनि प्रत्येक वर्ष सयौं राज्यभवनहरूको आवश्‍यकता छ।

सीमित स्रोतसाधन भएको मुलुकमा राज्यभवन निर्माण गरिरहेका यहोवाका साक्षीहरू

सीमित स्रोतसाधन भएका मुलुकहरूमा राज्यभवन निर्माण गर्दा बेग्लै खालका चुनौतीहरू सामना गर्नुपर्छ

१०-१२. राज्यभवनहरूको निर्माणकार्यले कसरी यहोवाको नामलाई उच्च पारेको छ?

१० राज्यभवनहरूको निर्माणकार्यले गर्दा कसरी यहोवाको नामको आदर भएको छ? जिम्बावे शाखा कार्यालयको रिपोर्टमा यस्तो लेखिएको थियो: “नयाँ राज्यभवन बनेको एक महिनामै अक्सर सभाको उपस्थिति दोब्बर हुन्छ।” थुप्रै मुलुकमा हाम्रा राज्यभवनहरू चिटिक्क नदेखिएकोले मानिसहरू हाम्रो सभामा आउन नचाहेको जस्तो देखिन्छ। तर चिटिक्क परेको राज्यभवन बनाएपछि मानिसहरूको ओइरो लाग्छ र अर्को राज्यभवन निर्माण गर्नुपर्ने हुन्छ। तर सुन्दर राज्यभवनले गर्दा मात्र मानिसहरू यहोवातर्फ खिचिने होइनन्‌। ती राज्यभवन निर्माण गर्ने भाइबहिनीहरूले देखाएको साँचो ख्रीष्टियन प्रेमले पनि यहोवाको सङ्‌गठनप्रति मानिसहरूको दृष्टिकोणमा फरक पार्छ। केही उदाहरण विचार गरौं।

११ इन्डोनेसिया। केही समयदेखि एक जना मान्छेले हाम्रो राज्यभवनको निर्माणकार्यलाई ध्यान दिएर हेरिरहेका थिए। त्यहाँ काम गर्न आएका सबैले पैसा नलिई स्वेच्छाले काम गरिरहेका छन्‌ भनेर थाह पाएपछि तिनले यसो भने: “तपाईंहरू त गजबै हुनुहुन्छ बा! तलब नपाए तापनि तपाईंहरू रमाउँदै काम गर्नुहुन्छ। अरू धर्मभन्दा तपाईंहरू साँच्चै फरक हुनुहुन्छ!”

१२ युक्रेन। एक महिला हरेक दिन राज्यभवन निर्माण भइरहेको ठाउँबाट ओहोरदोहोर गर्थिन्‌। तिनले निर्माणकार्यमा लागेका कामदारहरू यहोवाका साक्षीहरू हुन्‌ र निर्माण गर्दै गरेको भवनचाहिं राज्यभवन हो भनेर अनुमान लगाइन्‌। तिनले भनिन्‌: “मैले मेरी बहिनीबाट यहोवाका साक्षीहरूको विषयमा सुनेकी थिएँ। तिनी पनि यहोवाका साक्षी हुन्‌। यो निर्माणकार्य देखेर मैले पनि यस आध्यात्मिक परिवारको भाग हुने निर्णय गरें। मैले यहोवाका साक्षीहरूबीच साँचो प्रेम देखेकी छु।” तिनले बाइबल अध्ययन गर्न थालिन्‌ र सन्‌ २०१० मा बप्तिस्मा गरिन्‌।

१३, १४. (क) राज्यभवन निर्माणस्थलमा भइरहेको काम हेरेपछि एक दम्पतीले देखाएको प्रतिक्रियाबाट तपाईंले के सिक्नुभयो? (ख) आफ्नो राज्यभवनले गर्दा यहोवाको नामको आदर भएको चाहनुहुन्छ भने तपाईं के गर्न सक्नुहुन्छ?

१३ अर्जेन्टिना। एक दम्पती राज्यभवन निर्माणस्थलमा निरीक्षण गर्ने भाइसित कुरा गर्न आए। श्रीमान्‌चाहिंले यसो भने, “तपाईंहरूले यो भवन निर्माण गरेको हामीले हेरिरहेका थियौं र . . . हामीले अब यसै ठाउँमा आएर परमेश्‍वरबारे सिक्ने निर्णय गरेका छौं।” त्यसपछि तिनले सोधे, “यहाँ हुने कार्यक्रममा उपस्थित हुन हामीले के गर्नुपर्छ?” ती भाइले बाइबल अध्ययनको प्रस्ताव राखे। उक्‍त दम्पती बाइबल अध्ययन गर्न राजी भयो तर एउटा सर्तमा। त्यो थियो, परिवारका सबै जना उक्‍त बाइबल अध्ययनमा बस्न पाउनुपर्छ। भाइहरूले तिनीहरूको सर्त खुसी-खुसी स्वीकारे।

१४ सायद तपाईंले आफ्नो राज्यभवन निर्माण हुँदा भाग लिने सुअवसर पाउनुभएन होला। तर आफ्नो राज्यभवनले गर्दा यहोवाको नामको आदर भएको चाहनुहुन्छ भने तपाईंले गर्न सक्ने कुरा अहिले पनि धेरै छ। जस्तै: तपाईंसित बाइबल अध्ययन गरिरहेकाहरू, तपाईंका पुनःभेटहरू र छरछिमेकका मानिसहरूलाई राज्यभवनमा हुने सभामा आउन निम्तो दिने। राज्यभवन सफासुग्घर राख्ने र यसको मर्मतसम्भार गर्ने काममा सहयोग गर्ने। आफ्नो राज्यभवनको मर्मतसम्भार गर्न र संसारका अरू ठाउँमा पनि राज्यभवन निर्माण गर्न सकियोस्‌ भनेर केही रकम अनुदान दिनको लागि छुट्याउने। (१ कोरिन्थी १६:२ पढ्‌नुहोस्‌) यी सबैले यहोवाको नामको प्रशंसा गर्छ।

कामदारहरू ‘राजीखुशीले आफैलाई अर्पण गर्छन्‌’

१५-१७. (क) निर्माणकार्यमा धेरैजसो काम कसले गर्छन्‌? (ख) अन्तरराष्ट्रिय सेवकहरूको अनुभवबाट तपाईंले के सिक्नुभयो?

१५ राज्यभवन, सम्मेलन भवन र शाखा कार्यालयका भवनहरू निर्माण गर्ने काममा स्थानीय भाइबहिनीहरूको भूमिका ठूलो हुन्छ। धेरैजसो अवस्थामा तिनीहरूलाई मदत गर्न निर्माणकार्यको अनुभव बटुलेका विदेशी भाइबहिनीहरू पनि आउँछन्‌। तीमध्ये कसै-कसैले केही हप्ता विदेशी भूमिमा गएर निर्माणकार्यमा मदत गर्न आफ्नो तालिकामा छाँटकाँट गर्छन्‌। अरू कतिपयले भने वर्षौंसम्म विभिन्‍न ठाउँमा गएर निर्माणकार्यमा भाग लिन्छन्‌।

टिमो र लिन्‌ लाप्पालाइनेन

टिमो र लिन्‌ लाप्पालाइनेन (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६ हो, अन्तरराष्ट्रिय निर्माणकार्यमा भाग लिंदा आफ्नै किसिमका चुनौतीहरू आइपर्छन्‌। तर अर्कोतर्फ यस कामबाट सन्तोषजनक इनाम पनि पाइन्छ। उदाहरणको लागि टिमो र लिन्‌लाई लिनुहोस्‌। तिनीहरू राज्यभवन, सम्मेलन भवन र शाखा कार्यालय भवन निर्माण गर्न एसिया, युरोप र दक्षिण अमेरिकी महादेशका विभिन्‍न मुलुकमा पुगेका छन्‌। टिमो यसो भन्छन्‌, “म निर्माणकार्यमा लागेको ३० वर्ष भइसक्यो। मेरो असाइनमेन्ट हरेक दुई-दुई वर्षमा परिवर्तन हुन्छ।” पच्चीस वर्षअघि टिमोसित विवाह गरेकी लिन्‌ यसो भन्छिन्‌: “विवाहपछि मैले टिमोसित दस वटा देशमा सेवा गर्ने सुअवसर पाएकी छु। हरेक नयाँ ठाउँमा जाँदा हामीले आफूलाई नौलो लाग्ने खानेकुरा खानुपर्छ, हावापानी फरक हुन्छ, भाषा र इलाका पनि नयाँ हुन्छ अनि साथीहरू पनि नयाँ-नयाँ हुन्छन्‌। त्यसैले नयाँ ठाउँलाई आफ्नो बनाउन समय लाग्छ अनि प्रयास पनि उत्तिकै गर्नुपर्ने हुन्छ।”c के तिनीहरूको परिश्रम व्यर्थ गयो? लिन्‌ भन्छिन्‌, “यी चुनौतीहरू नै हाम्रो लागि आशिष्‌ साबित भएको छ। हामीले ख्रीष्टियन प्रेम र अतिथिसत्कार अनुभव गर्न पाएका छौं अनि यहोवाको मायालु हेरचाह आफैले महसुस गरेका छौं। मर्कूस १०:२९, ३० मा येशूले आफ्नो चेलाहरूलाई गर्नुभएको प्रतिज्ञा पूरा भएको हामीले आफ्नै आँखाले देखेका छौं। हामीले थुप्रै दाजुभाइ, दिदीबहिनी र आमा पाएका छौं।” टिमो यसो भन्छन्‌, “आफूसित भएको क्षमतालाई राजाको सम्पत्ति बढाउने सबैभन्दा राम्रो काममा चलाउन पाउँदा साँचो सन्तुष्टि पाएका छौं।”

१७ ड्यारेन र सेराको अनुभव पनि विचार गर्नुहोस्‌। तिनीहरूले अफ्रिका, एसिया, मध्य अमेरिका, युरोप, दक्षिण अमेरिका र दक्षिण प्रशान्तका विभिन्‍न देशमा गएर निर्माणकार्यमा भाग लिएका छन्‌। आफूले जति दियो, त्योभन्दा कैयौं गुना धेरै पाएको तिनीहरूले अनुभव गरेका छन्‌। चुनौतीहरूको बाबजुद ड्यारेन यसो भन्छन्‌: “मैले संसारको कुना-कुनाबाट आएका भाइबहिनीसँगै काम गर्ने सुअवसर पाएको छु। हामी सबै यहोवालाई प्रेम गर्छौं। यो प्रेम संसारभरिका यहोवाका जनहरूलाई एकतामा बाँध्ने डोरी हो।” सेरा यसो भन्छिन्‌: “विभिन्‍न देश अनि संस्कृतिका भाइबहिनीबाट मैले धेरै कुरा सिकेकी छु! तिनीहरूको त्याग देख्दा मैले पनि यहोवाको सेवामा सक्दो गर्न हौसला पाएकी छु।”

१८. भजन ११०:१-३ को भविष्यवाणी कसरी पूरा भइरहेको छ?

१८ चुनौतीहरूको सामना गर्नुपरे तापनि साँचो उपासनालाई फैलाउन परमेश्‍वरको राज्यका प्रजाले “राजीखुशीले आफैलाई अर्पण गर्नेछन्‌” भनेर राजा दाऊदले भविष्यवाणी गरे। (भजन ११०:१-३ पढ्‌नुहोस्‌) परमेश्‍वरको राज्यलाई समर्थन गर्ने सबैले यो भविष्यवाणी पूरा गर्न मदत गरिरहेका छन्‌। (१ कोरि. ३:९) संसारभरि निर्माण भएका थुप्रै शाखा कार्यालय, सयौं सम्मेलन भवन र हजारौं राज्यभवनले परमेश्‍वरको राज्य वास्तविक हो र यसले अहिले शासन गर्दै छ भन्‍ने कुराको स्पष्ट प्रमाण दिन्छ। यो काम गर्दै राजा येशू ख्रीष्टको सेवा गर्न पाउनु साँच्चै ठूलो सुअवसर हो! अनि यो कामद्वारा हामीले यहोवा परमेश्‍वरलाई उहाँले पाउनुपर्ने आदर दिइरहेका हुन्छौं।

a सन्‌ २०१३ मा २,३०,००० भन्दा धेरै स्वयम्‌सेवकले अमेरिकाका १३२ वटा क्षेत्रीय निर्माण समितिसित काम गर्ने अनुमति पाए। हरेक वर्ष अमेरिकामा यी समितिहरूले ७५ वटा नयाँ राज्यभवनको निर्माण र ९०० वटा राज्यभवनको मर्मतसम्भार गर्छन्‌।

b यो सङ्‌ख्यामा यस योजनाबाहेक अरू देशमा निर्माण भएका थुप्रै राज्यभवनहरू समावेश छैन।

c अन्तरराष्ट्रिय सेवक तथा स्वयम्‌सेवकहरू धेरैजसो समय निर्माणकार्यमा बिताउँछन्‌। तर तिनीहरू सप्ताहन्तमा अथवा बेलुकीको समयमा प्रचारमा भाग लिएर स्थानीय मण्डलीलाई सहयोग गर्छन्‌।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • हामी किन भेला हुने स्थान र शाखा कार्यालयहरू निर्माण गर्छौं?

  • हाम्रो निर्माणकार्यले गर्दा कसरी यहोवाको आदर भएको छ?

  • तपाईं कसरी राज्यभवनको निर्माणकार्य र यसलाई मर्मतसम्भार गर्ने काममा मदत गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने