प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ७६ p. १७८-p. १७९ par. २
  • एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एक जना फरिसीसित भोजन खान बस्नुहुँदा
    सबैभन्दा महान्‌ पुरुष
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • ‘फरिसीहरूको खमिरदेखि होसियार रहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ७६ p. १७८-p. १७९ par. २
येसु फरिसीहरूले बसालेको परम्परा र कपटको निन्दा गर्नुहुन्छ

अध्याय ७६

एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ

लुका ११:३७-५४

  • येसु कपटी फरिसीहरूको निन्दा गर्नुहुन्छ

येसु यहुदियामा छँदा एक जना फरिसीले उहाँलाई खानाको निम्तो दिन्छन्‌। तिनले येसुलाई बेलुकीको नभई दिउँसोको खाना खान बोलाएका छन्‌ जस्तो देखिन्छ। (लुका ११:३७, ३८; लुका १४:१२ तुलना गर्नुहोस्‌) खानुअघि फरिसीहरू आफ्नो परम्पराअनुसार कुहिनासम्मै हात धुन्छन्‌। तर येसुले भने धुनुहुन्‍न। (मत्ति १५:१, २) हुनत त्यसरी हात धुँदा परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन हुँदैन तर यो परमेश्‍वरले माग गर्नुभएको कुरा पनि होइन।

येसुले त्यो परम्परा नपछ्याउनुभएको देखेर ती फरिसी छक्क पर्छन्‌। यो कुरा चाल पाएर येसु यसो भन्‍नुहुन्छ: “तिमी फरिसीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ र दुष्टता भरिएको छ। ए बेसमझ मानिसहरू! जसले बाहिरी भाग बनाउनुभयो, उहाँले नै भित्री भाग पनि बनाउनुभएको होइन र?”—लुका ११:३९, ४०.

यहाँ विवादको विषय खाना खानुअघि हात धुनुपर्छ या पर्दैन भन्‍ने होइन, बरु धार्मिक कपट हो। परम्पराअनुसारै हात धुने ती फरिसीहरूलगायत अरू मानिसहरूले आफ्नो मनमा भएको दुष्टता भने धोएका छैनन्‌। त्यसैले येसु तिनीहरूलाई यस्तो सल्लाह दिनुहुन्छ: “दानपुण्य गर्दा मनैदेखि गर र हेर, बाँकी सबै कुरामा तिमी शुद्ध हुनेछौ।” (लुका ११:४१) कत्ति सत्य कुरा! अरूलाई केही दिँदा हामीले मनैदेखि दिनुपर्छ, अरूको अगाडि धर्मी देखिने मनसायले होइन।

तर ती फरिसीहरू दान दिने गर्दैनन्‌ भन्‍ने चाहिँ होइन। येसु भन्‍नुहुन्छ: “तिमीहरू पुदिना, सोमलता र अरू सबै जडीबुटीका दशांश चढाउँछौ तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई चाहिँ बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई पनि लत्त्याउनु हुँदैनथ्यो।” (लुका ११:४२) परमेश्‍वरको व्यवस्थाअनुसार यहुदीहरूले आफ्नो उब्जनीको दशांश (दस भागको एक भाग) दिनुपर्छ। (व्यवस्था १४:२२) त्यसमा खानालाई अझ स्वादिष्ठ बनाउन चलाइने पुदिना, सोमलता र अरू जडीबुटी पनि पर्छ। ती फरिसीहरू एउटै पनि नछुटाई ती जडीबुटीहरूको दशांश चढाउँछन्‌ तर के तिनीहरू व्यवस्थाले माग गरेको अझ महत्त्वपूर्ण कुराहरू, जस्तै निष्पक्ष हुनुपर्ने र मर्यादामा रहेर परमेश्‍वरसित हिँड्‌नुपर्ने आज्ञा पालन गर्छन्‌?—मिका ६:८.

येसु अझै भन्‍नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ। धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो बाहिरबाट देखिँदैनन्‌ अनि चालै नपाई मानिसहरू त्यसमाथि टेकेर हिँड्‌छन्‌।” (लुका ११:४३, ४४) हो, मानिसहरूले चालै नपाई त्यस्ता चिहानहरूमा टेक्न सक्थे र यहुदी परम्पराअनुसार तिनीहरू अशुद्ध हुन्थे। फरिसीहरूको अशुद्धपन पनि झट्ट देखिँदैन भनेर जोड दिन येसु यो कुरा बताउँदै हुनुहुन्छ।—मत्ति २३:२७.

व्यवस्थामा पोख्त एक जना मानिस यसो भन्छ: “गुरुज्यू, यस्तो कुरा गरेर तपाईँ हाम्रो पनि अपमान गर्दै हुनुहुन्छ।” तर व्यवस्थामा पोख्त त्यस्ता मानिसहरूले आफू अरूलाई मदत दिन चुकिरहेको छु भन्‍ने कुरा बुझ्नु जरुरी छ। येसु भन्‍नुहुन्छ: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई पनि धिक्कार छ! किनकि तिमीहरू मानिसहरूलाई बोझिला नियमहरूको भारी बोकाउँछौ तर आफू भने एउटा औँलाले पनि ती छुँदैनौ। धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती भविष्यवक्‍ताहरूको चिहान बनाउँछौ, जसलाई तिमीहरूकै पितापुर्खाले मारे।”—लुका ११:४५-४७.

येसुले भन्‍नुभएको बोझिला नियमहरू भनेको मौखिक नियमहरू र फरिसीहरूले व्यवस्थाको आफ्नै अर्थ लगाएर बनाएका नियमहरू हुन्‌। फरिसीहरूले मानिसहरूको जीवन सजिलो बनाइदिएका छैनन्‌। बरु ती नियमहरू जति नै बोझिलो भए पनि सबैले पालन गर्नै पर्छ भनेर ढिपी गर्छन्‌। तिनीहरूका पितापुर्खाले हाबिल र त्यसपछि आएका परमेश्‍वरका भविष्यवक्‍ताहरूलाई मारे अनि अहिले यी फरिसीहरू आफ्ना पितापुर्खाको मनोवृत्ति र व्यवहारको देखासिकी गरिरहेका छन्‌; तिनीहरू भविष्यवक्‍ताहरूको चिहान बनाएर उनीहरूको आदर गरेको ढोँग गर्दै छन्‌। तिनीहरू परमेश्‍वरको प्रमुख भविष्यवक्‍तालाई पनि मार्न खोज्दै छन्‌। परमेश्‍वरले यस पुस्तासित त्यसको लेखा लिनुहुनेछ भनेर येसु बताउनुहुन्छ। यो कुरा यसको झन्डै ३८ वर्षपछि, इस्वी संवत्‌ ७० मा सत्य साबित भयो।

येसु अझै भन्‍नुहुन्छ: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्न खोज्छौ।” (लुका ११:५२) परमेश्‍वरको वचनको अर्थ खोलिदिनुपर्ने यी शिक्षकहरूले नै मानिसहरूलाई परमेश्‍वरको वचन सुन्‍ने र बुझ्ने मौकाबाट वञ्चित गरिरहेका छन्‌।

ती फरिसी र शास्त्रीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? येसु त्यहाँबाट बाहिर निस्कनुभएपछि तिनीहरू पनि रिसले चूर हुँदै उहाँको पछि लाग्छन्‌ र प्रश्‍नमाथि प्रश्‍न गर्न थाल्छन्‌। तर केही सिक्ने चाहनाले त होइन। तिनीहरू येसुलाई पक्रने उद्देश्‍यले उहाँले बोल्नुभएको कुरामा उहाँलाई फसाउने दाउ खोज्न थाल्छन्‌।

  • येसु फरिसी र शास्त्रीहरूको किन निन्दा गर्नुहुन्छ?

  • मानिसहरू कस्तो भारी बोक्न बाध्य भएका छन्‌?

  • येसुको विरोध गर्ने र उहाँलाई मार्न खोज्ने मानिसहरूले कस्तो नतिजा भोग्नेछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने