प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १२५ p. २८६-p. २८७ par. ६
  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • लाजरस पुनर्जीवित हुँदा
    सबैभन्दा महान्‌ पुरुष
  • लाजरस फेरि जीवित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १२५ p. २८६-p. २८७ par. ६
कैयाफा आफ्नो लुगा च्यात्छन्‌; अरूले येसुलाई थप्पड हान्छन्‌, गिल्ला गर्छन्‌ र मुड्‌कीले हिर्काउँछन्‌

अध्याय १२५

येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ

मत्ति २६:५७-६८ मर्कुस १४:५३-६५ लुका २२:५४, ६३-६५ युहन्‍ना १८:१३, १४, १९-२४

  • येसुलाई भूतपूर्व प्रधानपुजारी हन्‍नासकहाँ लगिन्छ

  • यहुदी न्यायपरिषद्‌ले गरेको गैर-कानुनी पुर्पक्ष

येसुलाई अपराधीलाई जस्तै बाँधेर हन्‍नासकहाँ लगिन्छ। येसु ठिटो छँदा उहाँको कुरा सुनेर मन्दिरका शिक्षकहरू छक्क परेको समयमा हन्‍नास प्रधानपुजारी थिए। (लुका २:४२, ४७) पछि हन्‍नासका केही छोराले प्रधानपुजारीको रूपमा सेवा गरे र अहिलेचाहिँ त्यस पदमा तिनको ज्वाइँ कैयाफा छन्‌।

हन्‍नासले येसुलाई केरकार गरिरहेको बेला कैयाफाले यहुदी न्यायपरिषद्‌का सदस्यहरूलाई भेला गर्ने समय पाउँछन्‌। जम्मा ७१ जना सदस्य भएको यो परिषद्‌मा प्रधानपुजारी र भूतपूर्व प्रधानपुजारीहरू पनि छन्‌।

हन्‍नास येसुलाई “उहाँका चेलाहरू अनि उहाँका शिक्षाहरूबारे” केरकार गर्छन्‌। तर येसु केवल यति भन्‍नुहुन्छ: “मैले मानिसहरूसामु खुल्लमखुल्ला बोलेँ। मैले सधैँ सभाघर अनि मन्दिरमा सिकाएँ, जहाँ सबै यहुदी भेला हुन्छन्‌। मैले कुनै कुरा गुप्तमा बोलिनँ। तैपनि तपाईँ मलाई किन केरकार गर्नुहुन्छ? गएर तिनीहरूलाई नै सोध्नुहोस्‌, जसले मेरा कुराहरू सुनेका छन्‌।”—युहन्‍ना १८:१९-२१.

त्यहाँ उभिरहेको एक जना पहरेदारले येसुलाई एक थप्पड हिर्काउँछ र यसो भन्छ: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?” तर येसुलाई आफूले कुनै गल्ती गरेको छैन भनेर थाह छ। त्यसैले उहाँ भन्‍नुहुन्छ: “यदि मैले गलत कुरा गरेको हुँ भने मेरो गल्ती देखाइदेऊ; यदि सही कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” (युहन्‍ना १८:२२, २३) त्यसपछि हन्‍नासले येसुलाई आफ्ना ज्वाइँ कैयाफाकहाँ पठाइदिन्छन्‌।

यतिन्जेल यहुदी न्यायपरिषद्‌का सबै सदस्य—अहिलेको प्रधानपुजारी, धर्मगुरुहरू र शास्त्रीहरू भेला भइसकेका छन्‌। तिनीहरू कैयाफाको घरमा जम्मा हुन्छन्‌। निस्तार चाडको रातमा कसैको पुर्पक्ष गर्नु गैर-कानुनी काम हो तैपनि तिनीहरू आफ्नो दुष्ट उद्देश्‍य पूरा गर्नदेखि पछि हट्‌दैनन्‌।

यो समूहले निष्पक्ष फैसला सुनाउने आस गर्न सकिँदैन। येसुले लाजरसलाई मृत्युबाट जीवित पार्नुभएपछि यहुदी न्यायपरिषद्‌ले उहाँलाई मार्ने निर्णय गरेको थियो। (युहन्‍ना ११:४७-५३) अनि केही दिनअघि मात्र मुख्य पुजारीहरू र धर्मगुरुहरूले येसुलाई पक्रेर मार्ने मतो गरेका थिए। (मत्ति २६:३, ४) हो, पुर्पक्ष सुरु हुनुअघि नै तिनीहरूले येसुलाई मृत्युदण्डको योग्य ठहराइसकेका छन्‌।

मुख्य पुजारीहरू र यस परिषद्‌का अरू सदस्यहरू पुर्पक्षको लागि यसरी गैर-कानुनी रूपमा भेला हुनुका साथै येसुविरुद्धको मुद्दालाई अझ बलियो बनाउन झूटो गवाही दिने साक्षीहरू खोज्न थाल्छन्‌। तिनीहरू येसुको विरुद्धमा झूटो गवाही दिन तयार थुप्रै साक्षी भेट्टाउँछन्‌ तर उनीहरूको गवाही आपसमा बाझिन्छ। अन्तमा दुई जना साक्षी अगाडि आउँछन्‌ र यस्तो बयान दिन्छन्‌: “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’” (मर्कुस १४:५८) तर उनीहरूको कुरा पनि आपसमा बाझिन्छ।

कैयाफा येसुलाई यस्तो प्रश्‍न गर्छन्‌: “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्‌, त्यसबारे तँ के भन्छस्‌?” (मर्कुस १४:६०) ती साक्षीहरूले उहाँविरुद्ध आपसमा बाझिने झूटो गवाही दिइरहे तापनि येसु भने चुप लागेर सुनिरहनुभएको छ। त्यसैले प्रधानपुजारी कैयाफा अर्को जुक्‍ति निकाल्छन्‌।

कसैले आफू परमेश्‍वरको छोरा भएको दाबी गरेमा यहुदीहरू चिढिन्छन्‌ भनेर कैयाफालाई थाह छ। पहिला एकचोटि येसुले परमेश्‍वरलाई आफ्नो बुबा भन्‍नुहुँदा यहुदीहरूले उहाँलाई मार्न खोजेका थिए किनकि तिनीहरूको विचारमा येसुले आफूलाई “परमेश्‍वरको बराबर . . . बनाइरहनुभएको थियो।” (युहन्‍ना ५:१७, १८; १०:३१-३९) यहुदीहरूको भावना बुझेकोले कैयाफा धुर्त्याइँका साथ येसुलाई यस्तो प्रश्‍न गर्छन्‌: “म तँलाई जीवित परमेश्‍वरको कसम खान लगाउँछु, हामीलाई भन्‌, के तँ परमेश्‍वरको छोरा ख्रिष्ट होस्‌?” (मत्ति २६:६३) येसुले आफू परमेश्‍वरको छोरा हुँ भनेर पहिल्यै बताइसक्नुभएको छ। (युहन्‍ना ३:१८; ५:२५; ११:४) यतिबेला उहाँले केही जवाफ दिनुभएन भने उहाँले आफू परमेश्‍वरको छोरा र ख्रिष्ट हुँ भन्‍ने कुरालाई अस्वीकार गरिरहनुभएको जस्तो देखिनेछ। त्यसैले येसु भन्‍नुहुन्छ: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”—मर्कुस १४:६२.

येसुको जवाफ सुनेपछि कैयाफा नाटकीय ढङ्‌गमा आफ्नो लुगा च्यात्दै यसो भन्छन्‌: “यसले परमेश्‍वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र?” त्यसपछि यहुदी न्यायपरिषद्‌ले यस्तो अन्यायपूर्ण फैसला सुनाउँछ: “यो मानिस मारिन लायकको छ।”—मत्ति २६:६५, ६६.

त्यसपछि तिनीहरू येसुलाई गिल्ला गर्न थाल्छन्‌ र मुड्‌कीले हिर्काउँछन्‌। अरूले चाहिँ उहाँलाई चड्‌कन हान्छन्‌ र उहाँको अनुहारमा थुक्छन्‌। त्यसपछि उहाँको अनुहार छोपेर उहाँलाई हिर्काउँदै यसो भन्छन्‌: “लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” (लुका २२:६४) यसरी गैर-कानुनी रूपमा रातको समयमा गरिएको पुर्पक्षमा परमेश्‍वरको छोरालाई घोर दुर्व्यवहार गरिन्छ!

  • येसुलाई सबैभन्दा पहिला कहाँ लगिन्छ र त्यहाँ के हुन्छ?

  • त्यसपछि येसुलाई कहाँ लगिन्छ अनि यहुदी न्यायपरिषद्‌ले येसु मारिन लायकको हुनुहुन्छ भन्‍ने फैसला सुनाउनुमा कैयाफाको कस्तो भूमिका छ?

  • पुर्पक्षको बेला येसुलाई कसरी दुर्व्यवहार गरिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने