प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od chap. १ pp. ६-११
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सङ्‌गठनको स्वर्गीय भाग
  • यहोवाको सङ्‌गठन अघि बढिरहेको छ
  • ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरको संगठनको भाग हुनुहोस्‌ र सुरक्षा पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको दिव्यज्योतिर्मय रथ अघि बढ्‌छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवाको ईश्‍वरीय रथ सँग-सँगै हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od chap. १ pp. ६-११

अध्याय १

यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित

संसारमा थुप्रै धार्मिक, राजनैतिक, व्यापारिक र सामाजिक सङ्‌गठनहरू छन्‌। ती सबैको आ-आफ्नै विशेषता, उद्देश्‍य र धारणा छ। तर एउटा सङ्‌गठन भने निकै फरक छ। त्यो यहोवाका साक्षीहरूको सङ्‌गठन हो भनेर परमेश्‍वरको वचनबाट स्पष्ट हुन्छ।

२ खुसीको कुरा, तपाईँ पनि यहोवाको सङ्‌गठनको भाग हुनुभएको छ। तपाईँले परमेश्‍वरको इच्छा के हो भनेर राम्ररी थाह पाउनुभएको छ र अहिले उहाँको इच्छाअनुसार चल्दै हुनुहुन्छ। (भज. १४३:१०; रोमी १२:२) तपाईँ विश्‍वभरि रहेका मायालु दाजुभाइ दिदीबहिनीसँगै मिलेर जोसिलो भई परमेश्‍वरको सेवा गर्दै हुनुहुन्छ। (२ कोरि. ६:४; १ पत्रु. २:१७; ५:९) त्यसैले बाइबलमा प्रतिज्ञा गरिएझैँ तपाईँ आनन्दित हुनुहुन्छ र तपाईँले थुप्रै आशिष्‌ पाउनुभएको छ। (हितो. १०:२२; मर्कु. १०:३०) वफादार भई यहोवाको इच्छाअनुसार चलेर तपाईँ यस्तो उज्ज्वल भविष्यको लागि आधार बसाल्दै हुनुहुन्छ, जुन कहिल्यै अन्त हुनेछैन।—१ तिमो. ६:१८, १९; १ युह. २:१७.

३ यो विश्‍वव्यापी सङ्‌गठन फरक हुनुको अर्को कारण हो, यो ईश्‍वरतान्त्रिक ढङ्‌गमा सञ्चालन हुन्छ। मतलब यसको सञ्चालक हाम्रा महान्‌ सृष्टिकर्ता यहोवा हुनुहुन्छ, जसको अधीनमा ब्रह्‍माण्डको सबै कुरा छ। हामी उहाँमा पूर्णतया भरोसा राख्छौँ। उहाँ हाम्रो न्यायकर्ता, कानुनदाता र राजा हुनुहुन्छ। (यसै. ३३:२२) यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ। त्यसैले “परमेश्‍वरका सहकर्मी” भएर हामीले उहाँको उद्देश्‍य पूरा गर्ने काममा भाग लिन सकौँ भनेर उहाँले विभिन्‍न प्रबन्ध मिलाउनुभएको छ।—२ कोरि. ६:१, २.

४ यस दुष्ट युगको अन्त झन्‌झन्‌ नजिकिँदै छ। त्यसैले हामी राजा येसुको नेतृत्वमा अघि बढ्‌दै छौँ। (यसै. ५५:४; प्रका. ६:२; ११:१५) पृथ्वीमा आफ्नो सेवाको दौडान येसु स्वयम्‌ले आफ्ना चेलाहरूले उहाँले भन्दा पनि ठूला कामहरू गर्नेछन्‌ भनेर भविष्यवाणी गर्नुभयो। (युह. १४:१२) यो भविष्यवाणी कसरी पूरा हुने थियो? उहाँका चेलाहरू बढ्‌दै जाने थिए र लामो समयको दौडान तिनीहरूले पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्म राज्यको सुसमाचार फैलाउने थिए।—मत्ति २४:१४; २८:१९, २०; प्रेषि. १:८.

५ येसुको यो भविष्यवाणी पूरा भइरहेको छ। तर येसुले बताउनुभएझैँ सुसमाचार सुनाउने काम यहोवाले तोक्नुभएको समयमा बन्द हुनेछ। बाइबलका भविष्यवाणीहरूले यहोवाको महा र भयङ्‌कर दिन नजिकै छ भनेर सङ्‌केत गर्छ।—योए. २:३१; सप. १:१४-१८; २:२, ३; १ पत्रु. ४:७.

हामीले यहोवाको इच्छाअनुसार गर्न अझै जोडतोडले प्रयास गर्नु आवश्‍यक छ। यसको लागि परमेश्‍वरको सङ्‌गठन कसरी चल्दै छ भनेर बुझ्नुपर्छ

६ यस अन्तको दिनमा यहोवा हामीबाट के चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। त्यसैले हामीले उहाँको इच्छाअनुसार गर्न अझै जोडतोडले प्रयास गर्नु आवश्‍यक छ। यसको लागि परमेश्‍वरको सङ्‌गठन कसरी चल्दै छ भनेर बुझ्नुपर्छ र सङ्‌गठनसित मिलेर काम गर्नुपर्छ। परमेश्‍वरको सङ्‌गठन बाइबलका सिद्धान्तहरूअनुसार चल्छ। यी सिद्धान्तहरूमा परमेश्‍वरका आज्ञा, व्यवस्था, आदेश, नियम र शिक्षाहरू पर्छन्‌।—भज. १९:७-९.

७ बाइबलको निर्देशन पालन गरेकोले यहोवाका जनहरूबीच शान्ति र एकता छाएको छ र तिनीहरू आपसमा मिलेर बसेका छन्‌। (भज. १३३:१; यसै. ६०:१७; रोमी १४:१९) संसारको जुनसुकै ठाउँमा बसे तापनि हाम्रा दाजुभाइ दिदीबहिनीको सम्बन्ध बलियो छ। किन? किनभने हामीले प्रेम धारण गरेका छौँ र प्रेमले उत्प्रेरित भई चल्छौँ। (युह. १३:३४, ३५; कल. ३:१४) परमेश्‍वरले एकतामा रहन मदत गर्नुभएकोले हामी उहाँको सङ्‌गठनको स्वर्गीय भागसँगसँगै अघि बढ्‌न सकेका छौँ।

यहोवाको सङ्‌गठनको स्वर्गीय भाग

८ यसैया, इजकिएल र दानिएलले यहोवाको सङ्‌गठनको स्वर्गीय भागको दर्शन देखे। (यसै., अध्या. ६; इज., अध्या. १; दानि. ७:९, १०) त्यसैगरि प्रेषित युहन्‍नाले पनि उहाँको सङ्‌गठनको स्वर्गीय भागमा के-कस्ता प्रबन्धहरू गरिएका छन्‌, त्यसको दर्शन देखे। यसबारे तिनले प्रकाशको किताबमा लेखेका छन्‌। तिनले यहोवालाई भव्य सिंहासनमा विराजमान हुनुभएको देखे। सिंहासनवरपर भएका स्वर्गदूतहरूले यसो भन्दै उहाँको जयजयकार गरिरहेका थिए: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ, उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” (प्रका. ४:८) युहन्‍नाले परमेश्‍वरको “पाठो [अर्थात्‌, येसु ख्रिष्टलाई] सिंहासनको बीचमा . . . उभिरहेको” पनि देखे।—प्रका. ५:६, १३, १४; युह. १:२९.

९ दर्शनमा यहोवा सिंहासनमा विराजमान हुनुभएको कुराबाट उहाँ नै यस सङ्‌गठनको शिर हुनुहुन्छ भनेर प्रस्ट हुन्छ। उहाँ र उहाँको सर्वोच्च ओहदाबारे १ इतिहास २९:११, १२ मा यसो भनिएको छ: “हे यहोवा! महानता, पराक्रम, गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌। स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌। हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो। तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ। तपाईँले नै धन र मानसम्मान दिनुहुन्छ अनि तपाईँ सबै थोकमाथि शासन गर्नुहुन्छ। तपाईँको हातमा शक्‍ति र पराक्रम छ। तपाईँको हातले सबैलाई महान्‌ बनाउन र बल दिन सक्छ।”

१० यहोवाको सहकर्मी भएकोले येसु ख्रिष्टले स्वर्गमा उच्च ओहदा पाउनुभएको छ र उहाँलाई थुप्रै अधिकार दिइएको छ। परमेश्‍वरले “सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो र उहाँलाई मण्डलीसित सम्बन्धित सबै कुराको शिर बनाउनुभयो।” (एफि. १:२२) प्रेषित पावलले येसुबारे यसो भने: “परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो ताकि स्वर्गमा भएका, पृथ्वीमा भएका र जमिनमुनि भएकाहरू हरेकले येसुको नाममा घुँडा टेकून्‌ अनि येसु ख्रिष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्विकारून्‌, जसद्वारा परमेश्‍वर हाम्रा बुबाको महिमा हुनेछ।” (फिलि. २:९-११) त्यसैले येसु ख्रिष्टले हामीलाई सही तरिकामा डोऱ्‍याउनुहुन्छ भन्‍ने कुरामा पूरा भरोसा गर्न सक्छौँ।

११ भविष्यवक्‍ता दानिएलले दर्शनमा अति वृद्ध व्यक्‍ति आफ्नो स्वर्गीय सिंहासनमा बसिरहनुभएको देखे। साथै ‘हजारौँ-हजार [स्वर्गदूतले] उहाँको सेवा गरिरहेको र लाखौँ-लाख उहाँको अगाडि उभिरहेको’ देखे। (दानि. ७:१०) बाइबलमा यिनीहरूलाई “पवित्र सेवा चढाउने स्वर्गदूतहरू” भनेर बताइएको छ, “जसलाई उद्धार पाउनेहरूको सेवा गर्न पठाइन्छ।” (हिब्रू १:१४) यी स्वर्गदूतलाई विभिन्‍न अधिकार दिइएको छ, जस्तै: “सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू।”—कल. १:१६.

१२ यहोवाको सङ्‌गठनको स्वर्गीय भागका यस्ता विवरणहरू विचार गर्दा हामी यसैयाको भावना बुझ्न सक्छौँ। तिनले दर्शनमा “यहोवालाई उच्च र महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको” देखे र “उहाँको छेउमा सराफहरू उभिएका थिए।” त्यसपछि तिनले यस्तो भाव व्यक्‍त गरे: “धिक्कार छ मलाई! म त मरेतुल्य भएँ किनकि म अशुद्ध ओठ भएको मानिस हुँ अनि अशुद्ध ओठ भएका मानिसहरूसित बस्छु। मेरा आँखाले सेनाहरूका यहोवा, महाराजालाई देखेका छन्‌!” यहोवाको सङ्‌गठन कत्ति विशाल छ भनेर बुझेपछि यसैया आश्‍चर्यचकित भए र आफूलाई एकदमै तुच्छ ठाने। त्यो दर्शन देखेर तिनी साह्रै प्रभावित भए। त्यसैले यहोवाको न्यायदण्ड घोषणा गर्ने विशेष कामको लागि कसलाई पठाउने भनेर स्वर्गबाट आवाज आउँदा तिनले यस्तो जवाफ दिए: “म हाजिर छु! मलाई पठाउनुहोस्‌!”—यसै. ६:१-५, ८.

१३ यहोवाको सङ्‌गठनबारे राम्ररी बुझ्दा सङ्‌गठनप्रतिको हाम्रो कृतज्ञता बढ्‌छ र हामी यसैयाको जस्तै मनोवृत्ति देखाउन उत्प्रेरित हुन्छौँ। हामी उहाँको सङ्‌गठनसँगसँगै अघि बढ्‌ने प्रयास गर्छौँ। उहाँको सङ्‌गठनलाई भरोसा गरेको देखाउन हामी हर प्रयास गर्छौँ।

यहोवाको सङ्‌गठन अघि बढिरहेको छ

१४ इजकिएल अध्याय १ मा यहोवा विशाल स्वर्गीय रथमा सवार हुनुभएको दर्शनबारे बताइएको छ। यो विशाल र भव्य रथले यहोवाको सङ्‌गठनको स्वर्गीय भागलाई चित्रण गर्छ। यहोवा रथमा सवार हुनुभएको कुराबाट उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न त्यस सङ्‌गठनलाई मायालुपूर्वक डोऱ्‍याउँदै हुनुहुन्छ भनी बुझ्न सक्छौँ।—भज. १०३:२०.

१५ त्यस रथको प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा अडिएको छ र दुवै पाङ्‌ग्राको व्यास बराबर छ। त्यसैले ती पाङ्‌ग्राहरू “चारै दिशातिर जान” सक्छन्‌। (इज. १:१७) ती पाङ्‌ग्राहरूले तुरुन्तै दिशा परिवर्तन गर्न सक्छन्‌। तथापि त्यो रथ अनियन्त्रित भने छैन। त्यसलाई एक जना बुद्धिमान्‌ व्यक्‍तिले चलाइरहनुभएको छ। यहोवा आफ्नो सङ्‌गठनलाई जता मन लाग्यो, त्यतै जान अनुमति दिनुहुन्‍न। इजकिएल १:२० यसो भन्छ: “पवित्र शक्‍तिले तिनीहरूलाई जताजता डोऱ्‍याउँथ्यो, तिनीहरू त्यतैत्यतै जान्थे।” यसरी यहोवा आफ्नो सङ्‌गठनलाई पवित्र शक्‍तिमार्फत निर्देशन दिँदै डोऱ्‍याउनुहुन्छ। त्यसैले हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के म यस सङ्‌गठनसँगसँगै अघि बढ्‌दै छु?’

१६ यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌नुको अर्थ सभा अनि प्रचार जानु मात्र त होइन। यसको लागि हामीले मुख्यतः आध्यात्मिक उन्‍नति गर्नुपर्छ। यसरी उन्‍नति गर्न हामीले ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुपर्छ’ र परमेश्‍वरको सङ्‌गठनले दिने आध्यात्मिक आहार र नयाँ-नयाँ जानकारी लिइरहनुपर्छ। (फिलि. १:१०; ४:८, ९; युह. १७:३) साथै कुनै सङ्‌गठन राम्ररी चल्नको लागि आपसी समझदारी र सहयोग गर्ने भावना हुनुपर्छ। त्यसैले यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न हामीलाई सुम्पिनुभएको आध्यात्मिक र भौतिक स्रोतसाधनको पूरापूर सदुपयोग गर्नु महत्त्वपूर्ण छ। यहोवाको स्वर्गीय रथसँगसँगै अघि बढ्यौँ भने हामी जुन सन्देश मानिसहरूलाई सुनाउँछौँ, त्यसैअनुसार चलिरहेका हुन्छौँ।

१७ यहोवाको सङ्‌गठनको मदत पाएरै हामी उहाँको इच्छाबमोजिम गर्न अघि बढ्‌दै छौँ। स्वर्गीय रथमा स्वयम्‌ यहोवा परमेश्‍वर सवार हुनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसैले स्वर्गीय रथसँगसँगै अघि बढ्यौँ भने हामीले यहोवाको आदर गरिरहेका हुन्छौँ र उहाँलाई चट्टानजस्तै बलियो मानेर उहाँमा भर परिरहेका हुन्छौँ। (भज. १८:३१) बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ, यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।” (भज. २९:११) हामी पनि यहोवाको सङ्‌गठनको भाग भएकोले उहाँबाट बल पाएका छौँ र उहाँले आफ्ना मानिसहरूलाई दिनुहुने शान्तिको आनन्द उठाएका छौँ। अहिले र सधैँभरि यहोवाको इच्छाअनुसार चल्दा प्रशस्तै आशिष्‌ पाउनेछौँ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने