अध्याय १२
स्थानीय र विश्वव्यापी तवरमा राज्यसम्बन्धी गतिविधिलाई सहयोग गर्नुहोस्
अन्तको दिनमा “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” प्रचार गरिनेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। यहोवाका साक्षीहरूले संसारको कुनाकुनामा प्रचार गरेर यो भविष्यवाणी पूरा गर्दै छन्। (प्रेषि. १:८; मत्ति २४:१४) सुसमाचार प्रचार गर्न तिनीहरूले राजीखुसीले आफ्नो समय र शक्ति खर्च गरेका छन्। यहोवाले उहाँका सहकर्मीहरूको आवश्यकता पूरा गरिदिनुहुनेछ भन्ने कुरामा तिनीहरू ढुक्क छन्। त्यसैले तिनीहरू परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहन्छन्। (मत्ति ६:२५-३४; १ कोरि. ३:५-९) प्रचारकार्यमा भइरहेको उपलब्धिलाई विचार गर्दा तिनीहरूले उहाँको आशिष् र अनुमोदन पाएका छन् भन्ने कुरा स्पष्ट हुन्छ।
विश्वव्यापी रूपमा भइरहेको राज्यसम्बन्धी गतिविधिलाई सघाउनुहोस्
२ हामीले विभिन्न तरिका चलाएर प्रचार गरेको अनि बाइबल र बाइबलमा आधारित प्रकाशनहरू निश्शुल्क वितरण गरेको देख्दा कसै-कसैले यस्तो प्रश्न गर्छन्: “यो सब कुराको लागि कहाँबाट पैसा आउँछ?” हो, बाइबल र बाइबलमा आधारित प्रकाशनहरू छाप्न पैसा चाहिन्छ। छापाखानाहरू चलाउने, प्रचारकार्यको निरीक्षण गर्ने र सुसमाचार फैलाउन मदत गर्ने परमेश्वरका सेवकहरूको लागि बेथेल भवन बनाउन र त्यसको स्याहारसम्भार गर्न पनि खर्च लाग्छ। साथै क्षेत्रीय निरीक्षक, मिसनरी, विशेष अग्रगामी अनि अरू विशेष पूर्ण-समय सेवकहरूलाई सेवाको काममा लागिरहन भौतिक सहयोग दिइन्छ। कुरा स्पष्ट छ, स्थानीय तवरमा होस् वा विश्वव्यापी तवरमा, हाम्रो समयमा भइरहेको प्रचारकार्यलाई अघि बढाउन धेरै पैसा चाहिन्छ। यत्तिका पैसा कहाँबाट आउँछ?
३ यहोवाका साक्षीहरूले विश्वव्यापी रूपमा बाइबलको शिक्षा सिकाइरहेका छन्। यस कामको कदर गर्नेहरूले यस कामलाई सघाउन खुसीसाथ अनुदान दिन्छन्। तर मुख्यगरि साक्षीहरूले दिएको अनुदानले नै यो काम अघि बढिरहेको छ। केही यहोवाका साक्षीले स्थानीय शाखा कार्यालयहरूमा स्वैच्छिक अनुदान पठाउँछन्। यसरी तिनीहरू प्राचीन समयका परमेश्वरका सेवकहरूको जस्तै इच्छुक मनोभाव देखाउँछन्, जसले यहोवाको उपासनाको लागि भवन बनाउन उदारतासाथ अनुदान दिएका थिए। (प्रस्थ. ३५:२०-२९; १ इति. २९:९) केही यहोवाका साक्षी आफ्नो मृत्युपछि आफ्नो सरसम्पत्ति सङ्गठनलाई दिइयोस् भनेर इच्छापत्र बनाउँछन्। साथै व्यक्तिविशेष, मण्डलीहरू र क्षेत्रहरूबाट पनि अलि-अलि रकम प्राप्त हुन्छ। यी सबै अनुदानबाट प्रचारकार्यलाई अघि बढाउन पुग्दो रकम जम्मा हुन्छ।
यहोवाका साक्षीहरू आफ्नो पैसा र अन्य भौतिक साधन प्रचारकार्यलाई अघि बढाउन चलाउन पाउनुलाई सुअवसर ठान्छन्
४ यहोवाका साक्षीहरू आफ्नो पैसा र अन्य भौतिक साधन प्रचारकार्यलाई अघि बढाउन चलाउन पाउनुलाई सुअवसर ठान्छन्। येसु र उहाँका चेलाहरूसित पैसाको कन्तुर थियो अनि यसमा जम्मा भएको पैसा आवश्यक खर्च बेहोर्न चलाइन्थ्यो। (युह. १३:२९) बाइबलमा येसु र उहाँका चेलाहरूको सेवा-सुसार गर्ने स्त्रीहरूबारे पनि बताइएको छ। (मर्कु. १५:४०, ४१; लुका ८:३) प्रचारकार्यलाई अघि बढाउन र यस काममा प्रेषित पावललाई सघाउन चाहनेहरूले माया गरेर दिएको भौतिक सहयोग तिनले खुसीसाथ स्विकारे। (फिलि. ४:१४-१६; १ थिस्स. २:९) जोसिलो भई सेवा गर्ने र उदार भई दिने सन्दर्भमा यी प्राचीन समयका सेवकहरूले बसालेको नमुना आज यहोवाका साक्षीहरू पनि अनुकरण गर्छन्। यसले गर्दा नम्र हृदय भएका सबैले “जीवन दिने पानी सित्तैँमा” पाउन सकेका छन्।—प्रका. २२:१७.
मण्डलीको आवश्यकता पूरा गर्न सघाउनुहोस्
५ मण्डलीको खर्च पनि स्वैच्छिक अनुदानबाट बेहोरिन्छ। सभाभवनमा चन्दा उठाउने, अनुदानको लागि निश्चित रकम तोक्ने वा पैसा माग्ने गरिँदैन। बरु हरेक व्यक्तिले “आफ्नो मनमा निर्णय गरेबमोजिम” दिन सकोस् भनेर अनुदान बाकस राखिएको हुन्छ।—२ कोरि. ९:७.
६ अनुदानस्वरूप प्राप्त भएको पैसाबाट मुख्यतः सभाभवन चलाउन र स्याहारसम्भार गर्न लागेको खर्च बेहोरिन्छ। एल्डरहरूको निकायले केही पैसा विश्वव्यापी कार्यको लागि स्थानीय शाखा कार्यालयमा पठाउने निर्णय गर्न सक्छ। पैसा पठाउने निर्णय भएमा यसबारे मण्डलीमा प्रस्ताव राख्नुपर्छ। थुप्रै मण्डलीले विश्वव्यापी कार्यको लागि नियमित रूपमा अनुदान दिन्छन्। समय-समयमा मण्डलीमा विभिन्न कामको लागि पनि पैसा चाहिन सक्छ। यो कुरा सबैले बुझेका छन् भने अनुदानबारे बारम्बार घोषणा गरिरहनुपर्ने आवश्यकता हुँदैन।
अनुदानलाई के गरिन्छ?
७ प्रत्येक सभापछि दुई जना भाइले अनुदान बाकसमा जम्मा भएको पैसा झिक्छन् र यसको रेकर्ड राख्छन्। (२ राजा १२:९, १०; २ कोरि. ८:२०) एल्डरहरूको निकायले प्राप्त भएको अनुदान शाखा कार्यालयमा नपठाउन्जेल वा मण्डलीको कामको लागि खर्च नगरुन्जेल सुरक्षित राख्न उपयुक्त प्रबन्ध मिलाउँछ। मण्डलीको लेखा सम्हाल्ने भाइले प्राप्त अनुदान र खर्चको मासिक विवरण तयार पार्छन् र मण्डलीमा घोषणा गर्ने प्रबन्ध मिलाउँछन्। एल्डरहरूको निकायको संयोजकले हरेक तीन महिनामा लेखा परीक्षण गर्ने प्रबन्ध मिलाउँछन्।
क्षेत्रको लागि खर्चको प्रबन्ध
८ सम्मेलनको खर्चका साथै क्षेत्रको अरू खर्च त्यस क्षेत्रका साक्षीहरूले दिएको अनुदानबाट बेहोरिन्छ। सम्मेलन भवनहरूमा अनुदान बाकसहरू राखिन्छ। यी बाकसहरूमा हामी आफ्नो इच्छाले अनुदान हाल्न सक्छौँ। साथै अरू नियमित खर्चहरूको लागि मण्डलीहरूले अरू बेला पनि अनुदान दिन सक्छन्।
९ अक्सर प्रत्येक क्षेत्रले आफ्नो लागि आवश्यक खर्च आफैले बेहोर्ने गर्छ र बाँकी रहेको पैसा विश्वव्यापी कार्यको लागि अनुदानस्वरूप पठाउँछ। क्षेत्रको कोषमा भएको पैसाले पुग्दैन अथवा अर्को सम्मेलनको लागि हल बुकिङ गर्नेजस्ता सम्मेलन अगाडि गर्नुपर्ने कामको लागि कोषमा भएको पैसा पुग्दैन भने क्षेत्रीय निरीक्षकले मण्डलीहरूलाई अनुदान दिने सुअवसरबारे सम्झाउन सक्छन्। त्यसपछि प्रत्येक मण्डलीको एल्डरहरूको निकायले यसबारे छलफल गर्नेछ र सर्किटको कोषमा आफ्नो मण्डलीले कति अनुदान दिन सक्छ भनेर निर्णय गर्नेछ। त्यसपछि तिनीहरूले मण्डलीसामु प्रस्ताव राख्नेछन्।
१० क्षेत्रको खर्चसम्बन्धी छलफल गर्नुपर्ने अवस्था आएमा त्यस क्षेत्रका एल्डरहरूले सम्मेलन हुने दिनमा सभा राख्छन्। क्षेत्रका तोकिएका खर्चहरूबाहेक अरू सम्पूर्ण खर्चसम्बन्धी निर्णय गर्नुपर्दा एल्डरहरूले प्रस्ताव पारित गर्नुपर्छ। कति रकम खर्च गर्ने हो, प्रस्तावमा किटेर उल्लेख गरिएको हुनुपर्छ। अनि क्षेत्रको कोषबाट जति पटक रकम निकालिन्छ, त्यति पटक स्वीकृतिको लागि प्रस्ताव पेस गर्नुपर्छ।
११ नियमित रूपमा क्षेत्रको कोषको लेखा परीक्षण गर्ने प्रबन्ध मिलाइन्छ।
गरिबहरूको हेरविचार
१२ येसु र उहाँका चेलाहरूले पैसाको कन्तुर बोक्नुको एउटा उद्देश्य गरिबहरूलाई मदत गर्नु थियो। (मर्कु. १४:३-५; युह. १३:२९) ख्रिष्टियनहरूले अहिले पनि त्यो जिम्मेवारी पूरा गर्नुपर्छ। किनभने येसुले यसो भन्नुभयो: “गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्।” (मर्कु. १४:७) आज यहोवाका साक्षीहरू यो जिम्मेवारी कसरी पूरा गर्छन्?
१३ ढल्कँदो उमेर, अशक्तता वा आफ्नो वशमा नभएको समस्याले गर्दा मण्डलीका वफादार दाजुभाइ दिदीबहिनी कहिलेकाहीँ खाँचोमा पर्न सक्छन्। यस्तो अवस्थामा तिनको परिवारका सदस्य, नातेदार र तिनको अवस्थाबारे थाह भएकाहरू मदत गर्न अग्रसर हुनुपर्छ। यसबारे प्रेषित युहन्नाले यस्तो सल्लाह दिएका थिए: “कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र? हे साना केटाकेटी हो, हामीले वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गर्नुपर्छ।” (१ युह. ३:१७, १८; २ थिस्स. ३:६-१२) खाँचोमा परेका वफादार दाजुभाइ दिदीबहिनीको हेरचाह गर्नु पनि साँचो उपासनामा समावेश छ।—याकु. १:२७; २:१४-१७.
१४ प्रेषित पावलले तिमोथिलाई लेखेको पहिलो पत्रमा खाँचोमा परेकाहरूलाई कसरी मदत गर्ने भनेर बताए। उनले दिएको सल्लाह १ तिमोथि ५:३-२१ मा पाइन्छ। आफ्नो परिवारका सदस्यहरूको हेरचाह गर्ने मुख्य जिम्मेवारी प्रत्येक ख्रिष्टियनको हो। वृद्धवृद्धा वा अशक्तहरूलाई उनीहरूको छोराछोरी, नातिनातिना वा अरू नजिकको नातेदारले मदत गर्नुपर्छ। कहिलेकाहीँ सरकारी वा सामाजिक सङ्घ-संस्थाले पनि भौतिक सहायता दिन्छ। त्यसैले नातेदार वा अरूले वृद्ध तथा अशक्त ख्रिष्टियनहरूलाई यस्तो सहयोग पाउन मदत गर्न सक्छन्। लामो समयदेखि वफादार भई सेवा गरेका दाजुभाइ दिदीबहिनीलाई कहिलेकाहीँ पूरै मण्डलीले मदत गर्नुपर्ने हुन सक्छ। यी दाजुभाइ दिदीबहिनीलाई मदत गर्न तिनको कोही पनि परिवारका सदस्य वा नातेदार छैनन् अनि सरकारी वा सामाजिक सङ्घ-संस्थाले दिने रकम पर्याप्त छैन भने एल्डरहरूको निकायले तिनलाई केही मदत गर्न मण्डलीलाई सिफारिस गर्न सक्छ। ख्रिष्टियनहरू खाँचोमा परेका दाजुभाइ दिदीबहिनीसित आफ्नो भौतिक चिजबिज बाँड्न पाउनुलाई ठूलो सुअवसर ठान्छन्।
१५ खेदो, युद्ध, भुइँचालो, बाढी, अनिकाल र यस कठिन समयमा आइपर्ने अन्य समस्याको कारण थुप्रै दाजुभाइ दिदीबहिनीमाथि समस्याको पहाड टुट्न सक्छ। (मत्ति २४:७-९) स्थानीय मण्डलीहरूसित एकअर्कालाई भौतिक रूपमा सहयोग गर्न केही पनि नहुन सक्छ। यस्तो बेला परिचालक निकायले अरू ठाउँका ख्रिष्टियनहरूको मदत लिएर आवश्यक कुराहरूको प्रबन्ध मिलाउँछ। एसिया माइनरका ख्रिष्टियनहरूले यहुदियामा अनिकाल परेको बेला त्यहाँका दाजुभाइ दिदीबहिनीका लागि खानेकुराको प्रबन्ध मिलाएका थिए। (१ कोरि. १६:१-४; २ कोरि. ९:१-५) उनीहरूको अनुकरण गर्दै हामी पनि खाँचोमा परेका दाजुभाइ दिदीबहिनीलाई मदत गर्छौँ। यसरी हामी एकअर्कालाई प्रेम गरेको देखाउँछौँ र साँचो ख्रिष्टियन भएको प्रमाण दिन्छौँ।—युह. १३:३५.
प्रकाशन वितरण
१६ बाइबल र बाइबलमा आधारित प्रकाशनहरूले सुसमाचार फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। एल्डरहरूको निकायले प्रकाशनहरूको रेखदेख गर्न साधारणतया एक जना सहायक सेवकलाई खटाएको हुन्छ। प्रकाशनहरूको रेखदेख गर्ने जिम्मेवारी पाएका भाइहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्छ। मण्डलीका सबै दाजुभाइ दिदीबहिनीले पर्याप्त प्रकाशनहरू पाऊन् भनेर तिनीहरूले राम्रो रेकर्ड राख्नुपर्छ।
१७ हामी यहोवामा समर्पित सेवकहरूले आफूसित भएको समय, बुद्धि, शक्ति, सीप, भौतिक सम्पत्ति, यहाँसम्म कि जीवन पनि परमेश्वरले दिनुभएको उपहार हो भनेर बुझेका छौँ। अनि हामी यी कुराहरू उहाँकै सेवामा लगाउन चाहन्छौँ। (लुका १७:१०; १ कोरि. ४:७) हामीसित भएका सबै स्रोतसाधनको सदुपयोग गरेर हामी यहोवालाई कति प्रेम गर्छौँ भनेर देखाउँछौँ। हामी आफूसित भएको सबै बहुमूल्य कुरा यहोवालाई चढाएर उहाँको आदर गर्न चाहन्छौँ। किनभने हामीलाई थाह छ, मनैदेखि चढाएको जुनसुकै उपहार उहाँ खुसीसाथ स्विकार्नुहुन्छ। (हितो. ३:९; मर्कु. १४:३-९; लुका २१:१-४; कल. ३:२३, २४) येसुले यसो भन्नुभयो: “सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:८) आफू र आफूसित भएको कुरा चलाएर यहोवाको सेवा गर्दा अपार आनन्द पाउनेछौँ।—प्रेषि. २०:३५.