बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्नहरू
भाग १: ख्रिष्टियन विश्वास
तपाईँले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर सत्य सिक्नुभयो। तपाईँले सिक्नुभएको कुराले पक्कै पनि तपाईँलाई परमेश्वरसित राम्रो सम्बन्ध गाँस्न मदत गऱ्यो। अनि परमेश्वरको राज्यले पृथ्वीलाई सुन्दर बगैँचा बनाउँदा त्यहाँ बस्ने र आशिष्हरू पाउने आशा पनि पाउनुभयो। परमेश्वरको वचन बाइबलमा तपाईँको विश्वास अझै बढ्यो अनि ख्रिष्टियन मण्डलीसित सङ्गत गरेर तपाईँले थुप्रै आशिष् पाउनुभयो। अनि यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्याइरहनुभएको छ भनेर पनि बुझ्न थाल्नुभयो।—जक. ८:२३.
अहिले तपाईँ बप्तिस्मा गर्ने तयारी गर्दै हुनुहुन्छ। त्यसैले एल्डरहरूले तपाईँसित ख्रिष्टियन विश्वासबारे छलफल गर्दा तपाईँले पक्कै लाभ उठाउनुहुनेछ। (हिब्रू ६:१-३) तपाईँले यहोवालाई चिन्न जे-जति प्रयास गर्दै हुनुहुन्छ, ती सबैमा उहाँले आशिष् देऊन्। अनि उहाँले प्रतिज्ञा गर्नुभएको इनाम तपाईँले पाउन सक्नुहोस्।—युह. १७:३.
१. तपाईँ किन बप्तिस्मा गर्न चाहनुहुन्छ?
२. यहोवा को हुनुहुन्छ?
• “माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान . . . उहाँबाहेक अरू कोही ईश्वर छैन।”—व्यव. ४:३९.
• “तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१८.
३. यहोवाको नाम प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?
• “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्।’”—मत्ति ६:९.
• “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—रोमी १०:१३.
४. बाइबलमा यहोवा परमेश्वरको लागि कस्ता पदवीहरू चलाइएका छन्?
• “मलाई मदत यहोवाबाट आउँछ, जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”—भज. १२१:२.
• “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा।”—मत्ति ६:९.
• “परमेश्वर प्रेम हुनुहुन्छ।”—१ युह. ४:८.
५. तपाईँ यहोवा परमेश्वरलाई के दिन सक्नुहुन्छ?
• “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।”—मर्कु. १२:३०.
• “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।”—लुका ४:८.
६. तपाईँ किन यहोवा परमेश्वरप्रति वफादार हुन चाहनुहुन्छ?
• “हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।”—हितो. २७:११.
७. तपाईँ कसलाई प्रार्थना गर्नुहुन्छ र कसको नाममा गर्नुहुन्छ?
• “म [येसु] तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले बुबासित जे मागे पनि मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।”—युह. १६:२३.
८. तपाईँ कस्ता विषयहरूमा प्रार्थना गर्न सक्नुहुन्छ?
• “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्। तपाईँको राज्य आओस्। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको लागि भोजन दिनुहोस् र हाम्रो ऋण क्षमा गर्नुहोस्, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ। अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस् तर त्यस दुष्टबाट छुटाउनुहोस्।’”—मत्ति ६:९-१३.
• “हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”—१ युह. ५:१४.
९. यहोवा परमेश्वर किन कसै-कसैको प्रार्थना सुन्नुहुन्न?
• “तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।”—मिका ३:४.
• “धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ; तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ।”—१ पत्रु. ३:१२.
१०. येसु ख्रिष्ट को हुनुहुन्छ?
• “सिमोन पत्रुसले जवाफ दिए: ‘तपाईँ जीवित परमेश्वरका छोरा, ख्रिष्ट हुनुहुन्छ।’”—मत्ति १६:१६.
११. येसु किन पृथ्वीमा आउनुभयो?
• “मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”—मत्ति २०:२८.
• “मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लुका ४:४३.
१२. येसुले चढाउनुभएको फिरौतीको बलिदानको लागि कृतज्ञ भएको कुरा तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
• “उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।”—२ कोरि. ५:१५.
१३. येसुसित कस्तो अधिकार छ?
• “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।”—मत्ति २८:१८.
• “परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो।”—फिलि. २:९.
१४. के तपाईँ यहोवाका साक्षीहरूको परिचालक निकाय येसुले नियुक्त गर्नुभएको “विश्वासी र बुद्धिमान् दास” हो भनेर विश्वास गर्नुहुन्छ?
• “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस् भनेर नियुक्त गरेका हुन्छन्?”—मत्ति २४:४५.
१५. के पवित्र शक्ति कुनै व्यक्ति हो?
• “स्वर्गदूतले तिनलाई जवाफ दिए: ‘पवित्र शक्ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।’”—लुका १:३५.
• “त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!”—लुका ११:१३.
१६. यहोवा परमेश्वरले आफ्नो पवित्र शक्ति कसरी चलाउनुभएको छ?
• “यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्।”—भज. ३३:६.
• “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषि. १:८.
• “धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन। किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।”—२ पत्रु. १:२०, २१.
१७. परमेश्वरको राज्य के हो?
• “स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन। अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानि. २:४४.
१८. परमेश्वरको राज्यबाट तपाईँले के-कस्तो लाभ उठाउनुहुनेछ?
• “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रका. २१:४.
१९. हामीले चाँडै परमेश्वरको राज्यले दिने आशिष्हरू पाउनेछौँ भनेर तपाईँ किन भन्न सक्नुहुन्छ?
• “उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: ‘हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?’ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: ‘. . . जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ। अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।’”—मत्ति २४:३, ४, ७, १४.
• “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने अनि परमेश्वरको भक्ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्।”—२ तिमो. ३:१-५.
२०. परमेश्वरको राज्य तपाईँको लागि महत्त्वपूर्ण छ भनेर तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
• “उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ति ६:३३.
• “येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो: ‘यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।’”—मत्ति १६:२४.
२१. सैतान र त्यसका प्रेतहरू को हुन्?
• “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ . . . त्यो त सुरुदेखि नै हत्यारा थियो।”—युह. ८:४४.
• “दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्गर अर्थात् पुरानो सर्पलाई तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।”—प्रका. १२:९.
२२. सैतानले यहोवा परमेश्वर र उहाँको उपासना गर्नेहरूमाथि कस्तो आरोप लगाएको छ?
• “स्त्रीले सर्पलाई भनिन्: ‘हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ। तर बगैँचाको बीचमा भएको रूखबारे भने परमेश्वरले यसो भन्नुभएको छ: “त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।”’ यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: ‘अहँ! तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्। तिमीहरू परमेश्वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।’”—उत्प. ३:२-५.
• “सैतानले यहोवालाई जवाफ दियो: ‘छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।’”—अय्यु. २:४.
२३. सैतानले लगाएको आरोप झूटो हो भनी तपाईँ कसरी प्रमाणित गर्न सक्नुहुन्छ?
• “आफ्नो पूर्ण हृदयले . . . [परमेश्वरको] सेवा गर।”—१ इति. २८:९.
• “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”—अय्यु. २७:५.
२४. मानिसहरू किन मर्छन्?
• “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”—रोमी ५:१२.
२५. मरेकाहरूको अवस्था कस्तो हुन्छ?
• “जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।”—उप. ९:५.
२६. मरिसकेकाहरूको लागि कस्तो आशा छ?
• “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्।”—प्रेषि. २४:१५.
२७. येसुसँगै शासन गर्न कति जना स्वर्ग जानेछन्?
• “हेर! मैले पाठोलाई सियोन डाँडामा उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।”—प्रका. १४:१.