प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs chap. ११ pp. ११६-१२३
  • किन यति धेरै दुःख अनि पीडा?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन यति धेरै दुःख अनि पीडा?
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यति धेरै दुःख अनि पीडा हुनुको कारण
  • परमेश्‍वरले दुःख अनि पीडा हुन दिनुको कारण
  • यहोवा परमेश्‍वरले किन यति लामो समयसम्म पर्खनुभयो?
  • परमेश्‍वरले दिनुभएको उपहार तपाईँ कसरी चलाउनुहुनेछ?
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs chap. ११ pp. ११६-१२३

अध्याय एघार

किन यति धेरै दुःख अनि पीडा?

१, २. दुःखकष्टको सिकार हुनुपर्दा धेरै मानिस के सोध्ने गर्छन्‌?

भूकम्पले एउटा पूरै बस्ती ध्वस्त पाऱ्‍यो। आतङ्‌ककारीले अन्धाधुन्ध गोली चलाउँदा थुप्रै मानिसको ज्यान गयो। क्यान्सरले गर्दा एउटी आमाले आफ्नो ज्यान गुमाइन्‌ र तिनका पाँच जना छोराछोरी बेसहारा भए।

२ यस्ता दुःखकष्टको सिकार हुनुपर्दा धेरै मानिस “किन?” भनेर सोध्ने गर्छन्‌। संसारमा यति धेरै घृणा अनि पीडा किन छ भनेर धेरैले सोच्ने गर्छन्‌। के तपाईँलाई पनि यस्तो लागेको थियो?

३, ४. (क) हबकुकले परमेश्‍वरलाई के सोधे? (ख) यहोवा परमेश्‍वरले कस्तो जवाफ दिनुभयो?

३ परमेश्‍वरमाथि गहिरो विश्‍वास भएका मानिसहरूले समेत यस्तो प्रश्‍न गरेका थिए भनी बाइबलमा बताइएको छ। उदाहरणको लागि, भविष्यवक्‍ता हबकुकले यहोवा परमेश्‍वरलाई सोधे: “तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ? तपाईँ किन अत्याचार सहनुहुन्छ? मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ? किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?”—हबकुक १:३.

४ परमेश्‍वरले त्यतिखेर हबकुकलाई कस्तो जवाफ दिनुभयो अनि उहाँले कस्तो प्रतिज्ञा गर्नुभयो, त्यो हबकुक २:२, ३ मा पाइन्छ। यहोवा परमेश्‍वर मानिसहरूलाई धेरै माया गर्नुहुन्छ। बाइबल यसो भन्छ: “उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) मानिसहरूको दुःख अनि पीडा देख्दा हामीलाई जति दुःख लाग्छ, परमेश्‍वरलाई त्योभन्दा धेरै दुःख लाग्छ। (यसैया ५५:८, ९) त्यसोभए आउनुहोस्‌, संसारमा यति धेरै दुःख अनि पीडा हुनुको कारणबारे बुझौँ।

यति धेरै दुःख अनि पीडा हुनुको कारण

५. मानिसमाथि दुःख आइपर्दा धेरै धर्मगुरु के भन्‍ने गर्छन्‌? तर बाइबलले के सिकाउँछ?

५ मानिसहरूमाथि दुःख आइपर्दा धर्मगुरुहरू ‘यो त दैवको लीला हो’ भन्‍ने गर्छन्‌। कुनै-कुनै धर्मले मानिसले जीवनमा सुख पाउने हो कि दुःख पाउने हो, त्यो ईश्‍वरले पहिल्यै निर्णय गरिसकेका हुन्छन्‌ र उनले किन त्यसो गर्छन्‌, हामी कहिल्यै बुझ्न सक्दैनौँ भनेर सिकाउँछ। अरू कुनै धर्मले चाहिँ साना केटाकेटी अनि अरूको मृत्यु हुँदा ईश्‍वरलाई आवश्‍यकता परेकोले उनीहरूलाई उठाएर स्वर्ग लैजानुभएको हो भन्छन्‌। तर यी सबै कुरा झूटा हुन्‌। यहोवा परमेश्‍वर कसैको हानि चिताउनुहुन्‍न। बाइबल यसो भन्छ: “साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.

६. धेरैजसो मानिस संसारमा भइरहेको सबै दुःखकष्टको दोष किन ईश्‍वरलाई दिन्छन्‌?

६ धेरैजसो मानिस संसारमा भइरहेको सबै दुःखकष्टको दोष ईश्‍वरलाई दिन्छन्‌। किनभने तिनीहरूको विचारमा ईश्‍वर नै यस संसारको शासक हुन्‌। तर वास्तवमा यस संसारको शासक सैतान अर्थात्‌ दियाबल हो भनेर हामीले अध्याय ३ मा सिकिसक्यौँ।

७, ८. संसारमा यति धेरै दुःखकष्ट हुनुका कारण के-के हुन्‌?

७ “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनी बाइबल बताउँछ। (१ युहन्‍ना ५:१९) यस संसारको शासक सैतान हिंस्रक र क्रूर छ। त्यसले ‘सारा संसारलाई ठगिरहेको’ छ। (प्रकाश १२:९) संसारका धेरै मानिसले त्यसकै नकल गर्छन्‌। संसारमा जताततै छल, क्रूरता अनि घृणा हुनुको एउटा कारण यही हो।

८ संसारमा यति धेरै दुःखकष्ट हुनुको अरू कारण पनि छन्‌। आदम र हव्वाले परमेश्‍वरको विद्रोह गरेपछि तिनीहरूका छोराछोरी जन्मैदेखि पापी भए। मानिसहरू पापी भएकोले उनीहरू एकअर्कालाई चोट पुऱ्‍याउँछन्‌। उनीहरू अरूभन्दा ठूलो हुन चाहन्छन्‌। उनीहरू झगडा गर्छन्‌, युद्ध लड्‌छन्‌ र अरूलाई शोषण गर्छन्‌। (उपदेशक ४:१; ८:९) अर्कोतिर “चिताउँदै नचिताएको घटना”-को कारण पनि कहिलेकाहीँ मानिसहरूमाथि दुःख आइपर्छ। (उपदेशक ९:११) गलत समयमा गलत ठाउँमा पुग्दा मानिसहरू दुर्घटना अथवा अन्य अप्रिय घटनाहरूको सिकार हुन सक्छन्‌।

९. यहोवा परमेश्‍वरले दुःख अनि पीडा हुन दिनुको जायज कारण छ भनेर किन भन्‍न सक्छौँ?

९ तर यहोवा परमेश्‍वर मानिसलाई दुःख अनि पीडा हुने काम कहिल्यै गर्नुहुन्‍न। त्यसैले युद्ध, अपराध अनि अन्यायको दोष उहाँलाई दिन मिल्दैन। भूकम्प, आँधीबेहरी र बाढी-पहिरो परमेश्‍वरले गर्दा भएको होइन। तर हामीलाई यस्तो लाग्न सक्छ, ‘त्यसोभए मानिसहरूमाथि यस्ता अप्रिय घटना हुँदा यहोवा परमेश्‍वर किन हेरेर बस्नुहुन्छ त? उहाँ ब्रह्‍माण्डको सबैभन्दा शक्‍तिशाली व्यक्‍ति हो भने त केही गर्नुपर्ने हो नि!’ परमेश्‍वर हाम्रो असाध्यै चिन्ता गर्नुहुन्छ। त्यसैले उहाँले दुःख अनि पीडा हुन दिनुको पक्कै पनि जायज कारण छ।—१ युहन्‍ना ४:८.

परमेश्‍वरले दुःख अनि पीडा हुन दिनुको कारण

१०. सैतानले यहोवा परमेश्‍वरलाई के आरोप लगायो?

१० अदनको बगैँचामा सैतानको बहकाउमा परेर आदम र हव्वाले गलत निर्णय गरे। सैतानले परमेश्‍वर खराब शासक हुनुहुन्छ भन्‍ने आरोप लगायो। परमेश्‍वरले आदम र हव्वालाई असल कुराबाट वञ्चित गरिरहनुभएको छ भनेर त्यसले दाबी गऱ्‍यो। आदम र हव्वाले यहोवा परमेश्‍वरभन्दा सैतान नै असल शासक हुन सक्छ अनि तिनीहरूलाई परमेश्‍वरको कुनै आवश्‍यकता छैन भनेर विश्‍वास गरेको त्यो चाहन्थ्यो।—उत्पत्ति ३:२-५; नोट २७ हेर्नुहोस्‌।

११. हामीले कुन प्रश्‍नको जवाफ थाह पाउनुपर्छ?

११ आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌ र उहाँको विद्रोह गरे। तिनीहरूले के सही र के गलत भनेर निर्णय गर्ने अधिकार आफ्नो हातमा लिनु नै उचित ठाने। त्यसोभए यहोवा परमेश्‍वरले ती विद्रोहीहरू गलत छन्‌ र के गर्दा हाम्रो भलो हुन्छ भनेर उहाँलाई मात्र थाह छ भनी कसरी साबित गर्नुहुने थियो?

१२, १३. (क) यहोवा परमेश्‍वरले आदम र हव्वालाई किन तुरुन्तै नाश गर्नुभएन? (ख) यहोवा परमेश्‍वरले सैतानलाई यस संसारमाथि शासन गर्ने अनुमति किन दिनुभयो? (ग) यहोवा परमेश्‍वरले मानिसहरूलाई आफ्नै इच्छाअनुसारको सरकार चलाउने मौका किन दिनुभयो?

१२ यहोवा परमेश्‍वरले आदम र हव्वालाई तुरुन्तै नाश गर्नुभएन। बरु उहाँले तिनीहरूलाई छोराछोरी जन्माउने मौका दिनुभयो। तिनीहरूका छोराछोरीले कसलाई आफ्नो शासकको रूपमा स्विकार्ने, त्यो रोज्ने मौका पनि उहाँले दिनुभयो। यहोवा परमेश्‍वरको उद्देश्‍य त्रुटिरहित मानिसहरूले पृथ्वी भर्नु थियो र दियाबलले जस्तोसुकै दुष्प्रयास गरे पनि उहाँको उद्देश्‍य पूरा हुने थियो।—उत्पत्ति १:२८; यसैया ५५:१०, ११.

१३ सैतानले लाखौँलाख स्वर्गदूतको सामने यहोवा परमेश्‍वरलाई चुनौती दिएको थियो। (अय्युब ३८:७; दानिएल ७:१०) त्यसैले सैतानले लगाएको आरोप साँचो हो कि झूटो हो भनेर साबित गर्न यहोवा परमेश्‍वरले त्यसलाई समय दिनुभयो। साथै मानवजातिलाई पनि सैतानको निर्देशनमा चलेर आफ्नै इच्छाअनुसारको सरकार चलाउने मौका दिनुभयो। यसबाट परमेश्‍वरको मदतविना मानिसजाति सफल हुन सक्छ कि सक्दैन भनेर प्रस्ट हुने थियो।

१४. अहिले कुन कुरा साबित भइसकेको छ?

१४ मानिसले मानिसमाथि शासन गर्न थालेको हजारौँ वर्ष भइसक्यो। तर तिनीहरू सफल हुन सकेका छैनन्‌। सैतान झूटो साबित भइसकेको छ। मानिसहरूलाई परमेश्‍वरकै मदत अनि डोऱ्‍याइ चाहिन्छ भनेर प्रस्ट भइसकेको छ। भविष्यवक्‍ता यर्मियाले भनेको यो कुरा सोह्रै आना सही छ: “हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३.

यहोवा परमेश्‍वरले किन यति लामो समयसम्म पर्खनुभयो?

१५, १६. (क) यहोवा परमेश्‍वरले यतिका वर्षसम्म दुःख अनि पीडा हुन दिनुको कारण के हो? (ख) यहोवा परमेश्‍वरले सैतानको कारण निम्तिएका समस्याहरू नहटाउनुको कारण के हो?

१५ त्यसोभए यहोवा परमेश्‍वरले यति लामो समयसम्म दुःख अनि पीडा हुन दिनुको कारण के हो? सैतानलाई आफ्नो दाबी प्रमाणित गरेर देखाउने समय दिन। मानिसहरूले हर प्रकारको सरकार चलाएर हेरिसकेका छन्‌ तर तिनीहरू सफल भएका छैनन्‌। विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भए तापनि अन्याय, गरिबी, अपराध र युद्ध पहिलाभन्दा झन्‌ बढेको छ। मानिसले मानिसमाथि राम्ररी शासन गर्न सक्दैन, हामीलाई परमेश्‍वरको डोऱ्‍याइ चाहिन्छ भनेर प्रस्ट भइसकेको छ।

१६ यहोवा परमेश्‍वरले सैतानको कारण निम्तिएका समस्याहरू हटाउनुभएको छैन। उहाँले हटाउनुभएको भए सैतानको शासनलाई समर्थन गरेबराबर हुने थियो। तर उहाँ कहिल्यै त्यसो गर्नुहुन्‍न। साथै मानिसजातिलाई पनि हामी आफै शासन चलाउन सक्षम छौँ जस्तो लाग्ने थियो। तर यो कुरा झूटो हो अनि यहोवा परमेश्‍वरले यस झूटलाई समर्थन गर्नुहुने थिएन। उहाँ कहिल्यै झूट बोल्नुहुन्‍न।—हिब्रू ६:१८.

१७, १८. सैतानले गर्दा निम्तिएका सबै समस्या अनि दुःखलाई यहोवा परमेश्‍वरले के गर्नुहुनेछ?

१७ सैतान र मानिसहरूको विद्रोहले गर्दा निम्तिएका सबै समस्या अनि दुःख यहोवा परमेश्‍वरले सच्याउन सक्नुहुन्छ। किनकि परमेश्‍वरको लागि कुनै कुरा असम्भव छैन। सैतानले लगाएको सबै आरोप कहिले झूटो साबित हुनेछ भनेर यहोवा परमेश्‍वरलाई थाह छ। त्यसपछि उहाँले पृथ्वीलाई प्रमोदवन बनाएर आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ। उहाँले “चिहानमा हुनेहरू सबै”-लाई फेरि जीवन दिनुहुनेछ। (युहन्‍ना ५:२८, २९) मानिसहरू फेरि कहिल्यै बिरामी पर्नेछैनन्‌ अनि मर्नेछैनन्‌। सैतानले गर्दा भएका सबै नोक्सानी येसुले सच्याउनुहुनेछ। यहोवा परमेश्‍वरले येसुलाई चलाएर “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ। (१ युहन्‍ना ३:८) त्यतिन्जेल यहोवा परमेश्‍वरले धैर्य गरेर पर्खनुभएकोमा हामी धन्यवादी हुनुपर्छ। किनभने उहाँले पर्खनुभएकोले हामीले उहाँलाई चिन्‍ने र उहाँलाई आफ्नो शासकको रूपमा रोज्ने मौका पाएका छौँ। (२ पत्रुस ३:९, १० पढ्‌नुहोस्‌) दुःख अनि पीडा भोग्नुपर्दा समेत उहाँ हामीलाई सहने बल दिनुहुन्छ।—युहन्‍ना ४:२३; १ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌।

१८ यहोवा परमेश्‍वर हामीलाई उहाँलाई शासकको रूपमा रोज्न जबरजस्ती गर्नुहुन्‍न। उहाँले मानिसजातिलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। यो अनमोल उपहार हामी कसरी प्रयोग गर्न सक्छौँ, आउनुहोस्‌ हेरौँ।

परमेश्‍वरले दिनुभएको उपहार तपाईँ कसरी चलाउनुहुनेछ?

१९. यहोवा परमेश्‍वरले हामीलाई कस्तो अनमोल उपहार दिनुभएको छ र त्यसको लागि हामी किन धन्यवादी हुनुपर्छ?

१९ हामी जनावरभन्दा फरक छौँ किनभने परमेश्‍वरले हामीलाई उपहारस्वरूप छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। पशुपक्षीसित विवेक चलाएर निर्णय गर्ने क्षमता छैन। तर हामीले भने आफ्नो जीवन कसरी बिताउने र यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा चल्ने या नचल्ने, आफ्नो विवेक चलाएर निर्णय गर्न सक्छौँ। (हितोपदेश ३०:२४) जुन कामको लागि बनिएको हो, त्यति मात्र गर्न सक्ने मेसिनजस्तो पनि हामी छैनौँ। कस्तो किसिमको मानिस बन्‍ने, कसलाई आफ्नो साथी बनाउने र जीवनमा के गर्ने भनेर छनौट गर्ने स्वतन्त्रता हामीसित छ। हामीले जीवनको आनन्द उठाएको यहोवा परमेश्‍वर चाहनुहुन्छ।

२०, २१. हामी कसरी आफूले पाएको स्वतन्त्रताको सदुपयोग गर्न सक्छौँ?

२० यहोवा परमेश्‍वर हामीले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ। (मत्ति २२:३७, ३८) उहाँ आफ्नो छोराले करबलले होइन तर मनैदेखि ‘म तपाईँलाई धेरै माया गर्छु’ भनेको सुन्‍न चाहने बुबाजस्तै हुनुहुन्छ। यहोवा परमेश्‍वरले हामीलाई उहाँको सेवा गर्ने कि नगर्ने भनेर छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। सैतान अनि आदम र हव्वाले यहोवा परमेश्‍वरलाई तिरस्कार गर्ने छनौट गरे। परमेश्‍वरले मानिसजातिलाई उपहारस्वरूप दिनुभएको छनौट गर्ने स्वतन्त्रतालाई तपाईँ कसरी चलाउन चाहनुहुन्छ?

२१ लाखौँ मानिसले परमेश्‍वरलाई खुसी बनाउने र सैतानलाई तिरस्कार गर्ने छनौट गरेका छन्‌। (हितोपदेश २७:११) तपाईँ पनि छनौट गर्ने स्वतन्त्रतालाई यहोवा परमेश्‍वरको सेवा गर्न चलाउनुहोस्‌। परमेश्‍वरले अब चाँडै सबै दुःख अनि पीडा हटाउनुहुनेछ र नयाँ संसार बसाल्नुहुनेछ। के तपाईँ पनि त्यो नयाँ संसारमा जीवन बिताउन चाहनुहुन्छ? त्यसोभए तपाईँले अहिले के गर्नुपर्छ? अर्को अध्यायमा यस प्रश्‍नको जवाफ पाउनेछौँ।

सारांश

एक: परमेश्‍वरले गर्दा दुःख अनि पीडा भएको होइन

“साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०

संसारमा यति धेरै दुःख अनि पीडा हुनुको कारण के हो?

  • १ युहन्‍ना ५:१९

    सैतान अर्थात्‌ दियाबल यस संसारको शासक हो।

  • उपदेशक ८:९

    मानिसहरूले एउटाले अर्कोलाई दुःख दिन्छन्‌।

  • उपदेशक ९:११

    कहिलेकाहीँ गलत समयमा गलत ठाउँमा पुग्दा मानिसहरूले दुःख भोग्छन्‌।

  • १ पत्रुस ५:७

    यहोवा परमेश्‍वर मानिसहरूलाई धेरै माया गर्नुहुन्छ। मानिसले दुःख अनि पीडा भोगेको देख्दा उहाँलाई असाध्यै दुःख लाग्छ।

दुई: यहोवा परमेश्‍वरको शासन गर्ने अधिकारमाथि सैतानले प्रश्‍न उठायो

“परमेश्‍वरलाई थाह छ, . . . तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”—उत्पत्ति ३:५

सैतानले उठाएको प्रश्‍नलाई यहोवा परमेश्‍वरले किन बेवास्ता गर्नुभएन?

  • उत्पत्ति ३:२-५

    परमेश्‍वर खराब शासक हुनुहुन्छ भनेर सैतानले आरोप लगायो। के सही र के गलत भनेर निर्णय गर्ने अधिकार मानिसहरू आफैसित छ भनेर तिनीहरूले सोचेको सैतान चाहन्थ्यो।

  • अय्युब ३८:७

    सैतानले लाखौँलाख स्वर्गदूतको सामने यहोवा परमेश्‍वरलाई चुनौती दिएको थियो।

तीन: सैतान झूटो साबित भएको छ

“आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३

मानिसहरूले किन यति लामो समयदेखि दुःख भोग्दै आएका छन्‌?

  • यसैया ५५:९

    मानिसहरूले हर प्रकारको सरकार चलाएर हेरिसकेका छन्‌ तर परमेश्‍वरको मदतविना तिनीहरू सफल हुन सक्दैनन्‌।

  • २ पत्रुस ३:९, १०

    यहोवा परमेश्‍वर धीरजी हुनुभएकोले उहाँलाई चिन्‍ने अनि उहाँलाई आफ्नो शासकको रूपमा रोज्ने मौका हामीलाई दिनुभएको छ।

  • १ युहन्‍ना ३:८

    सैतानले गर्दा भएका सबै समस्या सच्याउन यहोवा परमेश्‍वरले येसुलाई चलाउनुहुनेछ।

चार: छनौट गर्ने स्वतन्त्रतालाई यहोवा परमेश्‍वरको सेवा गर्न चलाउनुहोस्‌

“हे मेरो छोरा, बुद्धिमान्‌ होऊ र . . . मेरो गिल्ला गर्नेहरूलाई म मुखभरिको जवाफ दिन सक्छु।”—हितोपदेश २७:११

यहोवा परमेश्‍वर उहाँको सेवा गर्न हामीलाई किन जबरजस्ती गर्नुहुन्‍न?

  • हितोपदेश ३०:२४

    पशुपक्षीसित विवेक चलाएर निर्णय गर्ने क्षमता छैन। तर यहोवाले हामीलाई भने छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। उहाँको सेवा गर्ने कि नगर्ने भनेर हामी छनौट गर्न सक्छौँ।

  • मत्ति २२:३७, ३८

    यहोवा परमेश्‍वर हामीले उहाँप्रतिको प्रेमले गर्दा उहाँको सेवा गरेको चाहनुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने