प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs chap. १३ pp. १३५-१४४
  • जीवनको कदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको कदर गर्नुहोस्‌
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवनप्रति परमेश्‍वरको दृष्टिकोण
  • जीवनलाई पवित्र ठान्‍नुहोस्‌
  • रगतको एक मात्र उचित प्रयोग
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • तपाईंको जीवनको वरदानको सही मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
बाइबलले हामीलाई के सिकाउँछ?
bhs chap. १३ pp. १३५-१४४

अध्याय तेह्र

जीवनको कदर गर्नुहोस्‌

१. हामीलाई कसले जीवन दिनुभयो?

यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ। (यर्मिया १०:१०) उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले नै हामीलाई जीवन दिनुभएको हो। बाइबल भन्छ: “तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” (प्रकाश ४:११) हो, यहोवा परमेश्‍वर हामीले जीवन पाएको चाहनुहुन्थ्यो। जीवन उहाँले हामीलाई दिनुभएको अनमोल उपहार हो।—भजन ३६:९ पढ्‌नुहोस्‌।

२. जीवनको आनन्द उठाउन हामीले के गर्नुपर्छ?

२ यहोवा परमेश्‍वरले हामीलाई जीवन धान्‍न चाहिने सबै कुरा दिनुभएको छ। जस्तै, खानेकुरा र पानी। (प्रेषित १७:२८) उहाँ हामीले जीवनको आनन्द उठाएको पनि चाहनुहुन्छ। (प्रेषित १४:१५-१७) तर त्यसको लागि हामीले परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।—यसैया ४८:१७, १८.

जीवनप्रति परमेश्‍वरको दृष्टिकोण

३. कयिनले हाबिलको हत्या गर्दा यहोवा परमेश्‍वरले के गर्नुभयो?

३ यहोवा परमेश्‍वर मानिसहरूको जीवनलाई अनमोल ठान्‍नुहुन्छ भनी बाइबल बताउँछ। उदाहरणको लागि, आदम र हव्वाको छोरा कयिनलाई विचार गर्नुहोस्‌। तिनी आफ्नो भाइ हाबिलसित रिसले चूर भएको बेला यहोवा परमेश्‍वरले तिनलाई आफ्नो रिस काबूमा राख्न चेतावनी दिनुभयो। तर कयिनले यहोवाको कुरा सुनेनन्‌। तिनले रिसको झोकमा आफ्नो भाइ “हाबिललाई आक्रमण गरेर मारे।” (उत्पत्ति ४:३-८) हाबिलको हत्या गरेकोले यहोवा परमेश्‍वरले कयिनलाई सजाय दिनुभयो। (उत्पत्ति ४:९-११) रिस र घृणा पाल्नु डरलाग्दो कुरा हो किनभने त्यसले हामीलाई हिंस्रक र क्रूर बनाउन सक्छ। त्यस्तो मानिसले अनन्त जीवन पाउन सक्दैन। (१ युहन्‍ना ३:१५ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरलाई खुसी बनाउने हो भने हामीले सबै मानिसलाई प्रेम गर्न सिक्नै पर्छ।—१ युहन्‍ना ३:११, १२.

४. यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको एउटा आज्ञाबाट हामी के थाह पाउन सक्छौँ?

४ हजारौँ वर्षपछि इस्राएलीहरूलाई दस आज्ञा दिनुहुँदा यहोवा परमेश्‍वरले उहाँ जीवनलाई अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुरा फेरि देखाउनुभयो। तीमध्ये एउटा आज्ञा यस्तो थियो: “तिमीहरूले हत्या नगर्नू।” (व्यवस्था ५:१७) यदि कुनै मानिसले जानाजानी कसैको हत्या गऱ्‍यो भने त्यस मानिसलाई पनि मार्नुपर्थ्यो।

५. यहोवा परमेश्‍वर गर्भपतनलाई कसरी हेर्नुहुन्छ?

५ त्यसोभए यहोवा परमेश्‍वर गर्भपतनलाई कसरी हेर्नुहुन्छ? गर्भमा रहेको बच्चाको जीवनसमेत यहोवा परमेश्‍वर अनमोल ठान्‍नुहुन्छ। उहाँले इस्राएलीहरूलाई दिनुभएको आज्ञाबाट यो कुरा स्पष्ट हुन्छ। कसैले गर्भवती महिलालाई चोट पुऱ्‍याउँदा तिनको बच्चा मरेमा त्यस व्यक्‍तिलाई पनि मार्नुपर्थ्यो। (प्रस्थान २१:२२, २३ पढ्‌नुहोस्‌; भजन १२७:३) यसबाट गर्भपतन गर्नु गलत हो भनेर सिक्न सक्छौँ।—नोट २८ हेर्नुहोस्‌।

६, ७. हामी जीवनलाई अनमोल ठान्छौँ भनेर कसरी देखाउन सक्छौँ?

६ हामी आफ्नो र अरूको जीवनलाई अनमोल ठान्छौँ भनेर कसरी देखाउन सक्छौँ? आफ्नो र अरूको जीवनलाई खतरामा पार्ने कुनै पनि काम नगरेर। त्यसैले हामी सुर्ती वा सुपारी खाँदैनौँ वा लागूपदार्थ सेवन गर्दैनौँ। किनभने यी कुराहरूले हामीलाई हानि गर्छ र हाम्रो ज्यानसमेत लिन सक्छ।

७ परमेश्‍वरले हामीलाई शरीर र जीवन दिनुभयो। त्यसैले हामीले आफ्नो शरीर र जीवनलाई उहाँले चाहनुभएको तरिकामा प्रयोग गर्नुपर्छ। हामीले आफ्नो शरीरको राम्रो ख्याल राख्नुपर्छ। त्यसो गरेनौँ भने हामी परमेश्‍वरको नजरमा अशुद्ध हुन्छौँ। (रोमी ६:१९; १२:१; २ कोरिन्थी ७:१) यदि हामी जीवनलाई अनमोल ठान्दैनौँ भने हामीलाई जीवन दिनुहुने परमेश्‍वर यहोवाको उपासना गर्न सक्दैनौँ। खराब आनीबानी त्याग्न असाध्यै गाह्रो हुन सक्छ, तैपनि जीवनलाई अनमोल ठानेर त्यसो गर्ने कोसिस गरिरह्‍यौँ भने यहोवा परमेश्‍वरले पक्कै मदत गर्नुहुनेछ।

८. हामी आफ्नो अनि अरूको जीवनलाई खतरामा नपार्न के गर्न सक्छौँ?

८ जीवन अनमोल उपहार हो भनेर हामीले सिक्यौँ। हामीले आफ्नो र अरूको जीवनलाई खतरामा नपार्न सक्दो कोसिस गर्नेछौँ भन्‍ने कुरामा यहोवा परमेश्‍वर ढुक्क हुनुहुन्छ। हामी गाडी, मोटरसाइकल वा अन्य सवारी साधन चलाउँदा होसियार हुन्छौँ। हामी खतरनाक र हिंस्रक खेलहरू खेल्दैनौँ। (भजन ११:५) अनि हामी आफूलाई अनि अरूलाई चोटपटक नलागोस्‌ भनेर आफ्नो घर कस्तो अवस्थामा छ, त्यसमा पनि ध्यान दिन्छौँ। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयो: “तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू र त्यहाँबाट कोही लड्यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।”—व्यवस्था २२:८.

९. हामीले जनावरहरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

९ हामी जनावरहरूलाई कस्तो व्यवहार गर्छौँ, त्यसमा पनि यहोवा परमेश्‍वर चासो राख्नुहुन्छ। भोजनको लागि र लुगाको लागि जनावरलाई मार्ने अनुमति उहाँले दिनुभएको छ। साथै कुनै जनावरको कारण हाम्रो ज्यानै खतरामा पर्दा हामी त्यसलाई मार्न सक्छौँ। (उत्पत्ति ३:२१; ९:३; प्रस्थान २१:२८) तर हामी जनावरलाई क्रूर व्यवहार गर्दैनौँ र मनोरञ्जनको लागि तिनीहरूको सिकार गर्दैनौँ।—हितोपदेश १२:१०.

जीवन अनमोल छ

  • हामी गर्भपतन गर्दैनौँ

  • हामी अरू मानिसहरूलाई घृणा गर्दैनौँ

  • हामी सुर्ती वा सुपारी खाँदैनौँ वा लागूपदार्थ सेवन गर्दैनौँ।

१. गर्भमा भएको बच्चा; २. चुरोटको बट्टालाई कच्याककुचुक पार्दै; ३. भिन्‍नाभिन्‍नै जातिका दुई साथीहरू

जीवनलाई पवित्र ठान्‍नुहोस्‌

१०. रगत जीवनको प्रतीक हो भनेर कसरी थाह पाउन सक्छौँ?

१० यहोवा परमेश्‍वर रगतलाई पवित्र ठान्‍नुहुन्छ किनभने रगत जीवनको प्रतीक हो। कयिनले हाबिलको हत्या गरेपछि यहोवा परमेश्‍वरले कयिनलाई यसो भन्‍नुभयो: “तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।” (उत्पत्ति ४:१०) हाबिलको रगत तिनको जीवनको प्रतीक थियो। त्यसैले कयिनले हाबिलको हत्या गरेर तिनको रगत बगाउँदा यहोवा परमेश्‍वरले कयिनलाई सजाय दिनुभयो। रगतले जीवनलाई बुझाउँछ भनेर यहोवा परमेश्‍वरले नुहको समयको जलप्रलयपछि फेरि स्पष्ट पार्नुभयो। उहाँले नुह र तिनको परिवारलाई जनावरहरूको मासु खाने अनुमति दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ। मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।” तर उहाँले रगतबारे यसो भन्‍नुभयो: “तिमीहरूले मासुसित रगतचाहिँ नखानू किनभने रगत नै जीवन हो।”—उत्पत्ति १:२९; ९:३, ४.

११. यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई रगतबारे कस्तो आज्ञा दिनुभयो?

११ नुहलाई रगत नखानू भन्‍नुभएको लगभग ८०० वर्षपछि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई फेरि यसो भन्‍नुभयो: “तिमीहरूले खान हुने जङ्‌गली जनावर या चराचुरुङ्‌गी कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले सिकार गरेर ल्याएमा उसले त्यसको रगत निथारेर भुइँमा पुरिदेओस्‌।” अनि उहाँले यसो पनि भन्‍नुभयो: “तिमीहरूले रगत नखानू।” (लेवी १७:१३, १४) यहोवा परमेश्‍वर त्यतिखेर पनि आफ्ना मानिसहरूले रगतलाई पवित्र ठानेको चाहनुहुन्थ्यो। तिनीहरूले मासु खान हुन्थ्यो तर रगतचाहिँ हुँदैनथ्यो। भोजनको लागि कुनै जनावर मारेपछि तिनीहरूले त्यसको रगत भुइँमा बगाइदिनुपर्थ्यो।

१२. ख्रिष्टियनहरू किन रगत खाँदैनन्‌?

१२ येसुको मृत्यु भएको केही वर्षपछि यरुसलेममा भएको ख्रिष्टियन मण्डलीका प्रेषित र एल्डरहरू एक ठाउँमा भेला भए। तिनीहरू इस्राएलीहरूलाई दिइएको कुन-कुन आज्ञा ख्रिष्टियनहरूलाई अझै लागू हुन्छ भनेर निर्णय गर्न भेला भएका थिए। (प्रेषित १५:२८, २९ पढ्‌नुहोस्‌; २१:२५) यहोवा परमेश्‍वरले तिनीहरूलाई उहाँको नजरमा रगत अझै पनि अनमोल छ र तिनीहरूले त्यसलाई पवित्र ठान्‍नुपर्छ भनेर बुझ्न मदत गर्नुभयो। सुरु-सुरुका ख्रिष्टियनहरूले रगत खान वा पिउन हुँदैनथ्यो र रगत राम्ररी ननिथारेको मासु पनि खान हुँदैनथ्यो। त्यसो गर्नु भनेको मूर्तिपूजा गर्नु वा अवैध यौनसम्बन्ध राख्नुबराबर थियो। त्यसकारण साँचो ख्रिष्टियनहरूले रगत खान वा पिउन इन्कार गरे। आज नि? यहोवा परमेश्‍वर अहिले पनि हामीले रगतलाई पवित्र ठानेको चाहनुहुन्छ।

१३. ख्रिष्टियनहरू किन रगत लिँदैनन्‌?

१३ यहोवा परमेश्‍वरले हामीलाई रगत नखानू र नपिउनू भनेर कडा आज्ञा दिनुभएको छ। त्यसोभए ख्रिष्टियनहरूले उपचार गर्दा रगत लिनु हुन्छ कि हुँदैन? हुँदैन। मानिलिनुहोस्‌, डाक्टरले तपाईँलाई रक्सी पिउँदै नपिउनू भन्यो। के तपाईँ त्यतिखेर मुखबाट नलिए पनि सुईबाट लिए त भइहाल्छ नि भनेर सोच्नुहुन्छ? पक्कै सोच्नुहुन्‍न! त्यसैगरि रगत नखानू र नपिउनू भन्‍ने आज्ञा पालन गर्छौँ भने हामी उपचार गर्नुपर्दा समेत रगत लिँदैनौँ।—नोट २९ हेर्नुहोस्‌।

१४, १५. जीवनको कदर गर्दै यहोवा परमेश्‍वरको आज्ञा मान्‍नु किन महत्त्वपूर्ण छ?

१४ डाक्टरले रगत लिएन भने ज्यानै जान सक्छ भन्यो भने के गर्ने? त्यतिखेर परमेश्‍वरले रगतसम्बन्धी दिनुभएको आज्ञा पालन गर्ने कि नगर्ने भनेर हरेक व्यक्‍तिले आफै निर्णय गर्नुपर्छ। ख्रिष्टियनहरू परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको असाध्यै कदर गर्छन्‌। त्यसैले जीवन बचाउन हामी अरू नै उपचारविधि खोज्छौँ तर रगतचाहिँ कुनै हालतमा लिँदैनौँ।

१५ हामी स्वस्थ रहन भरसक कोसिस गर्छौँ। तर जीवन परमेश्‍वरको नजरमा अनमोल भएकोले रगत लिँदैनौँ। हाम्रो लागि केही समय आफ्नो जीवन लम्ब्याउनुभन्दा यहोवा परमेश्‍वरको आज्ञा मान्‍नु महत्त्वपूर्ण कुरा हो। येसुले यसो भन्‍नुभयो: “किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।” (मत्ति १६:२५) हामी यहोवा परमेश्‍वरलाई माया गर्छौँ। त्यसैले उहाँको आज्ञा मान्‍न चाहन्छौँ। के गर्दा हाम्रो भलो हुन्छ, त्यो उहाँलाई थाह छ। अनि यहोवा परमेश्‍वरजस्तै हामी पनि जीवनलाई अनमोल र पवित्र ठान्छौँ।—हिब्रू ११:६.

१६. परमेश्‍वरका सेवकहरू किन उहाँको आज्ञा पालन गर्छन्‌?

१६ परमेश्‍वरका वफादार सेवकहरू रगतसम्बन्धी उहाँले दिनुभएको आज्ञा पालन गर्न आनाकानी गर्दैनन्‌। तिनीहरू रगत खाने वा पिउने गर्दैनन्‌ र उपचारको लागि पनि रगत लिँदैनन्‌।a तर तिनीहरू आफ्नो जीवन बचाउन अरू उपचारविधि भने स्विकार्छन्‌। रगत र जीवन सृष्टि गर्नुहुने परमेश्‍वरलाई के गर्दा मानिसको भलो हुन्छ, त्यो राम्ररी थाह छ भनेर तिनीहरू विश्‍वस्त छन्‌। के तपाईँ पनि यो कुरामा विश्‍वस्त हुनुहुन्छ?

रगतको एक मात्र उचित प्रयोग

१७. यहोवाले इस्राएलीहरूलाई कुन बेला मात्र रगतको प्रयोग गर्ने अनुमति दिनुभयो?

१७ मोसालाई दिइएको व्यवस्थामा यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ। अनि तिमीहरूको पापको प्रायश्‍चित गर्न [क्षमा पाउन] मैले रगतचाहिँ वेदीमा खन्याउनू भन्‍ने आज्ञा दिएको छु। रगतमा जीवन हुने भएकोले त्यसले तिमीहरूको निम्ति प्रायश्‍चित गरिदिन्छ।” (लेवी १७:११) इस्राएलीहरूले पाप गर्दा यहोवा परमेश्‍वरबाट क्षमा पाउन उनीहरू जनावरको बलिदान चढाउँथे अनि पुजारीले त्यसको केही रगत मन्दिरको वेदीमा खन्याउँथे। यो नै रगतको एक मात्र उचित प्रयोग थियो।

१८. येसुले बगाउनुभएको रगतले गर्दा हामीले कस्तो मौका पाएका छौँ?

१८ पुरातन इस्राएलमा पापको क्षमा पाउन जनावरहरू बलिदान चढाइन्थ्यो। तर येसु यस पृथ्वीमा आउनुभएपछि मानिसहरूले पापको क्षमा पाऊन्‌ भनेर उहाँले आफ्नै जीवन बलिदान दिनुभयो। (मत्ति २०:२८; हिब्रू १०:१) येसुको जीवन एकदमै बहुमूल्य थियो। त्यसैले यहोवा परमेश्‍वरले उहाँलाई स्वर्गको जीवनको लागि फेरि जीवित पारेपछि येसुमा विश्‍वास गर्नेहरूलाई सधैँभरि बाँच्ने मौका दिन सक्नुभयो।—युहन्‍ना ३:१६; हिब्रू ९:११, १२; १ पत्रुस १:१८, १९.

अस्पतालमा एउटी ख्रिष्टियन महिला रगतसम्बन्धी आफ्नो बाइबलआधारित विश्‍वासबारे डाक्टरलाई बताउँदै

जीवन र रगतको कदर गरेको कुरा तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

१९. ‘सबै मानिसको रगतबाट निर्दोष’ हुन के गर्नै पर्छ?

१९ हामी यहोवाले दिनुभएको जीवनको धेरै कदर गर्छौँ! त्यसैले येसुमाथि विश्‍वास गरेमा पृथ्वीमा सधैँभरि बाँच्न सकिन्छ भनेर हामी अरूलाई सुनाउन चाहन्छौँ। हामी मानिसहरूलाई माया गर्छौँ। त्यसैले अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर उनीहरूलाई सिकाउन हर प्रयास गर्छौँ। (इजकिएल ३:१७-२१) त्यसो गऱ्‍यौँ भने प्रेषित पावलले जस्तै हामी पनि यसो भन्‍न सक्छौँ: “सबै मानिसको रगतबाट म निर्दोष छु . . . किनकि तपाईँहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैनँ।” (प्रेषित २०:२६, २७) हो, अरूलाई यहोवा परमेश्‍वरबारे बताउँदा अनि उहाँले जीवनलाई कत्तिको अनमोल ठान्‍नुहुन्छ भनेर सुनाउँदा हामीले जीवन र रगतलाई अनमोल ठानिरहेका हुन्छौँ।

a रगत नलिई गरिने उपचारसम्बन्धी थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌ भन्‍ने किताबको पृष्ठ ९२-९४ हेर्नुहोस्‌।

सारांश

एक: जीवनको कदर गर्नुहोस्‌

“जीवनको मूल तपाईँसित छ।”—भजन ३६:९

जीवनको कदर गरेको कुरा कसरी देखाउन सक्छौँ?

  • प्रेषित १७:२८; प्रकाश ४:११

    जीवन यहोवा परमेश्‍वरले दिनुभएको उपहार हो अनि हामीले यसको कदर गर्नुपर्छ।

  • प्रस्थान २१:२२, २३; व्यवस्था ५:१७

    हत्या गर्नु र गर्भपतन गर्नु गलत हो।

  • १ युहन्‍ना ३:११, १२, १५

    घृणा गर्नु गलत हो।

  • २ कोरिन्थी ७:१

    चुरोट खाने र लागूपदार्थ सेवन गर्नेजस्ता खराब बानीहरू त्याग्नुहोस्‌।

  • भजन ११:५

    हिंसाले भरिएको मनोरञ्जन र खेलदेखि अलग्गै बस्नुहोस्‌।

दुई: जीवन र रगत

“हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ; त्यसैले त्यसको जीवन भनेको त्यसको रगत हो।”—लेवी १७:१४

जीवन र रगतप्रति परमेश्‍वरको दृष्टिकोण कस्तो छ?

  • उत्पत्ति ४:१०; व्यवस्था १२:२३

    रगत जीवनको प्रतीक हो।

  • उत्पत्ति ९:३, ४

    हामी मासु खान सक्छौँ तर रगत भने खानु हुँदैन।

  • प्रेषित १५:२८, २९; २१:२५

    रगतबाट अलग रहनू भन्‍ने परमेश्‍वरको आज्ञामा उपचारका लागि रगत नलिनू पनि समावेश छ।

  • हिब्रू ११:६

    यहोवासितको हाम्रो सम्बन्ध नै हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

तीन: रगतको उचित प्रयोग

“येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।”—१ युहन्‍ना १:७

येसुको बलिदानले गर्दा हामीले कस्तो मौका पाएका छौँ?

  • लेवी १७:११

    पुरातन समयका इस्राएलीहरूले पाप गर्दा यहोवा परमेश्‍वरबाट क्षमा पाउन जनावरको बलिदान चढाउँथे अनि पुजारीले त्यसको केही रगत मन्दिरको वेदीमा खन्याउँथे।

  • मत्ति २०:२८; हिब्रू ९:११-१४

    पुरातन इस्राएलमा पापको क्षमा पाउन जनावरहरू बलिदान चढाइन्थ्यो। तर येसु यस पृथ्वीमा आउनुभएपछि मानिसहरूले पापको क्षमा पाऊन्‌ भनेर उहाँले आफ्नै जीवन बलिदान दिनुभयो।

  • युहन्‍ना ३:१६

    येसुको जीवन एकदमै बहुमूल्य थियो। त्यसैले यहोवा परमेश्‍वरले उहाँलाई स्वर्गको जीवनको लागि फेरि जीवित पारेपछि येसुमा विश्‍वास गर्नेहरूलाई सधैँभरि बाँच्ने मौका दिन सक्नुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने