प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs chap. १४ pp. १४५-१५३
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले पतिहरूबाट चाहनुहुने कुरा
  • परमेश्‍वरले पत्नीहरूबाट चाहनुहुने कुरा
  • परमेश्‍वरले आमाबुबाबाट चाहनुहुने कुरा
  • परमेश्‍वरले छोराछोरीबाट चाहनुहुने कुरा
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
  • परिवार आनन्दित बनाउन चाहिने बुद्धि
    ब्यूँझनुहोस्‌!—२०२१
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs chap. १४ pp. १४५-१५३

अध्याय चौध

तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?

१, २. यहोवा परमेश्‍वर परिवार कस्तो भएको चाहनुहुन्छ?

मानिसजातिको सबैभन्दा पहिलो विवाह यहोवा परमेश्‍वरले नै गराइदिनुभएको थियो। उहाँले पहिलो स्त्री सृष्टि गर्नुभएपछि उनलाई “मानिसकहाँ ल्याउनुभयो।” उनलाई देखेपछि आदम असाध्यै खुसी भए र यसो भने: “यिनी मेरै हाडको हाड, मासुको मासु हुन्‌।” (उत्पत्ति २:२२, २३) यसबाट यहोवा परमेश्‍वर विवाहित दम्पतीहरू सुखी भएको हेर्न चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ।

२ तर दुःखको कुरा, धेरैको पारिवारिक जीवन सुखी छैन। तर बाइबलमा पाइने सिद्धान्तहरूले परिवारका प्रत्येक सदस्यलाई पारिवारिक जीवन सफल बनाउन र परिवारमा एकता कायम गर्न मदत गर्छ।—लुका ११:२८.

परमेश्‍वरले पतिहरूबाट चाहनुहुने कुरा

३, ४. (क) पतिले आफ्नी पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ? (ख) पति-पत्नीले एकअर्कालाई क्षमा दिनु किन आवश्‍यक छ?

३ पतिले आफ्नी पत्नीलाई मायालु व्यवहार गर्नुपर्छ र उनको आदर गर्नुपर्छ भनेर बाइबल सिकाउँछ। एफिसी ५:२५-२९ पढ्‌नुहोस्‌। असल पतिले आफ्नी पत्नीलाई सधैँ मायालु व्यवहार गर्छन्‌। तिनले उनको हेरविचार गर्छन्‌ र उनलाई चोट पुग्ने कुनै काम गर्दैनन्‌।

४ पत्नीले गल्ती गर्दा पतिले के गर्नुपर्छ? पतिहरूलाई यस्तो सल्लाह दिइएको छ: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ।” (कलस्सी ३:१९) पतिहरू हो, तपाईँबाट पनि गल्ती हुन्छ भनेर नबिर्सनुहोस्‌। यदि तपाईँ परमेश्‍वरबाट क्षमा पाउन चाहनुहुन्छ भने तपाईँले पनि आफ्नी पत्नीलाई क्षमा दिनुपर्छ। (मत्ति ६:१२, १४, १५) पति-पत्नीले एकअर्कालाई मनैदेखि क्षमा दिएमा उनीहरूको वैवाहिक जीवन सुखी हुन्छ।

५. पतिले आफ्नी पत्नीलाई किन आदर गर्नुपर्छ?

५ पतिले आफ्नी पत्नीलाई आदर गरेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। तिनले आफ्नी पत्नीको शारीरिक र भावनात्मक आवश्‍यकतालाई ध्यान दिनुपर्छ। यो अत्यन्तै गम्भीर कुरा हो। कुनै पतिले पत्नीलाई राम्रो व्यवहार गर्दैन भने परमेश्‍वरले उसको प्रार्थना नसुन्‍न पनि सक्नुहुन्छ। (१ पत्रुस ३:७) यहोवा परमेश्‍वर पुरुषलाई स्त्रीभन्दा ठूलो ठान्‍नुहुन्‍न। चाहे पुरुष होस्‌ वा स्त्री, उहाँलाई माया गर्ने सबैलाई उहाँ अनमोल ठान्‍नुहुन्छ।

६. पति-पत्नी “एउटै शरीर” हुनुको अर्थ के हो?

६ येसुले पति-पत्नी “दुई होइनन्‌ तर एउटै शरीर हुन्‌” भन्‍नुभयो। (मत्ति १९:६) त्यसैले तिनीहरू एकअर्काप्रति वफादार हुनुपर्छ र कहिल्यै धोका दिनु हुँदैन। (हितोपदेश ५:१५-२१; हिब्रू १३:४) पति-पत्नीले कुनै स्वार्थ नराखी एकअर्काको यौन आवश्‍यकता पूरा गर्नुपर्छ। (१ कोरिन्थी ७:३-५) “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ” भन्‍ने कुरा पतिले बिर्सनु हुँदैन। त्यसैले पतिले आफ्नी पत्नीलाई माया गर्नुपर्छ र तिनको स्याहार गर्नुपर्छ। पत्नीहरू आफ्नो पतिले आफूलाई दयालु व्यवहार गरेको अनि माया गरेको चाहन्छन्‌। पत्नीले आफ्नो पतिबाट चाहने सबैभन्दा ठूलो कुरा यही हो।—एफिसी ५:२९.

परमेश्‍वरले पत्नीहरूबाट चाहनुहुने कुरा

७. परिवारमा किन शिर चाहिन्छ?

७ परिवारको सबै सदस्यबीच मेलमिलाप कायम गर्न नेतृत्व लिने एक जना शिर चाहिन्छ। बाइबलमा यसो भनिएको छ: “हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रिष्टको शिर परमेश्‍वर हुनुहुन्छ।”—१ कोरिन्थी ११:३.

८. पत्नीले कसरी आफ्नो पतिको गहिरो आदर गर्न सक्छिन्‌?

८ गल्ती नगर्ने पति कोही छैन। तैपनि पत्नीले राजीखुसीले पतिको निर्णयलाई स्विकार्दा र तिनलाई साथ दिँदा पूरै परिवारले लाभ उठाउँछ। (१ पत्रुस ३:१-६) बाइबल भन्छ: “पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।” (एफिसी ५:३३) तर पतिको धार्मिक आस्था फरक छ भने नि? यस्तो बेला पनि पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। बाइबल भन्छ: “हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस ताकि यदि कसैको पतिले परमेश्‍वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्‌; आफ्नी पत्नीको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनी परमेश्‍वरको वचन पालन गर्ने होऊन्‌।” (१ पत्रुस ३:१, २) पत्नीको राम्रो बानी अनि व्यवहार देखेर पतिले उनको धार्मिक आस्थामा चासो देखाउन र त्यसको कदर गर्न सक्छन्‌।

९. (क) पतिले गरेको कुनै निर्णय चित्त नबुझ्दा पत्नीले के गर्नुपर्छ? (ख) तितस २:४, ५ मा पत्नीहरूलाई कस्तो सुझाव दिइएको छ?

९ पतिले गरेको कुनै निर्णय चित्त बुझेन भने पत्नीले के गर्न सक्छिन्‌? उनले आफ्नो धारणा आदरपूर्वक व्यक्‍त गर्न सक्छिन्‌। उदाहरणको लागि, एक पटक अब्राहामलाई साराले भनेको कुरा चित्त बुझेन। तर यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: “साराको कुरा सुन।” (उत्पत्ति २१:९-१२) पतिले गरेको निर्णय वा काम बाइबलको शिक्षा विपरीत छैन भने पत्नीले सधैँ पतिलाई साथ दिनुपर्छ। (प्रेषित ५:२९; एफिसी ५:२४) असल पत्नीले परिवारको ख्याल राख्छिन्‌। (तितस २:४, ५ पढ्‌नुहोस्‌) उनले परिवारको लागि गरेको परिश्रम देखेर उनको पति र छोराछोरीले उनलाई अझ धेरै माया र आदर गर्छन्‌।—हितोपदेश ३१:१०, २८.

अब्राहाम साराको कुरा सुन्छन्‌

साराले पत्नीहरूको लागि कसरी असल उदाहरण बसालिन्‌?

१०. छुट्टिएर बस्ने र सम्बन्धविच्छेद गर्नेबारे बाइबल के भन्छ?

१० कहिलेकाहीँ पति-पत्नीले समस्या आउनेबित्तिकै छुट्टिएर बस्ने वा सम्बन्धविच्छेद गर्ने निर्णय गर्छन्‌। तर बाइबलमा “पत्नी आफ्नो पतिबाट छुट्टिएर नबसोस्‌” अनि “पतिले पनि आफ्नी पत्नीलाई त्याग्नु हुँदैन” भनिएको छ। (१ कोरिन्थी ७:१०, ११) तैपनि पति-पत्नीले छुट्टिएर बस्ने निर्णय गर्न सक्ने केही खास परिस्थिति बाइबलमा बताइएको छ। तर यो गम्भीर निर्णय हो।a सम्बन्धविच्छेद गर्नेबारे चाहिँ बाइबल के भन्छ? पति वा पत्नीले अवैध यौनसम्बन्ध राखेको खण्डमा मात्र सम्बन्धविच्छेद गर्ने अनुमति बाइबलले दिएको छ।—मत्ति १९:९.

परमेश्‍वरले आमाबुबाबाट चाहनुहुने कुरा

१. येसु साना केटाकेटीसित समय बिताउनुहुन्छ; २. एक जना बुबा आफ्नो छोरासित महान्‌ शिक्षकबाट सिकौँ किताबबाट छलफल गर्छन्‌

येसु परिवारका प्रत्येक सदस्यको लागि राम्रो उदाहरण हुनुहुन्छ

११. छोराछोरीलाई सबैभन्दा धेरै को चाहिन्छ?

११ आमाबुबा हो, आफ्ना छोराछोरीसित सकेसम्म धेरै समय बिताउनुहोस्‌। तपाईँका छोराछोरीलाई राम्रा-राम्रा उपहार वा सरसामान होइन, तपाईँ नै चाहिन्छ। तपाईँले उनीहरूलाई यहोवा परमेश्‍वरबारे सिकाउनुपर्छ।—व्यवस्था ६:४-९.

१२. आफ्ना छोराछोरीलाई जोगाउन आमाबुबाले के गर्नुपर्छ?

१२ सैतानको राज चलिरहेको वर्तमान संसार झन्‌झनै भ्रष्ट हुँदै गइरहेको छ। तपाईँका छोराछोरीलाई हानि पुऱ्‍याउन खोज्ने मानिसहरू तपाईँकै वरपर हुन सक्छन्‌। तिनीहरूले तपाईँका छोराछोरीलाई यौन दुर्व्यवहार गर्न समेत खोजिरहेका हुन सक्छन्‌। कोही-कोही आमाबुबालाई यस विषयमा छोराछोरीसित कुरा गर्न अप्ठेरो लाग्छ। तर आमाबुबाले आफ्ना छोराछोरीलाई त्यस्ता मानिसहरू चिन्‍न अनि तिनीहरूदेखि होसियार बस्न सिकाउनुपर्छ। आमाबुबा हो, तपाईँले आफ्ना छोराछोरीको रक्षा गर्नै पर्छ।b—१ पत्रुस ५:८.

१३. आमाबुबाले आफ्ना छोराछोरीलाई कसरी सिकाउनुपर्छ?

१३ आमाबुबाले आफ्ना छोराछोरीलाई राम्रो आनीबानी सिकाउनुपर्छ। तपाईँले छोराछोरीलाई तालिम दिनुपर्छ। उनीहरूले गल्ती गर्दा सुधार्नुपर्छ। तर रिसको झोकमा हप्काएर वा कठोर व्यवहार गरेर होइन। (यर्मिया ३०:११) ‘तरबारले झैँ घोच्ने’ वचन बोल्ने आमाबुबाले आफ्ना छोराछोरीलाई चोट पुऱ्‍याइरहेका हुन्छन्‌। (हितोपदेश १२:१८) आमाबुबाले छोराछोरीलाई किन आज्ञाकारी हुनुपर्छ भनेर पनि सिकाउनुपर्छ।—एफिसी ६:४; हिब्रू १२:९-११; नोट ३० हेर्नुहोस्‌।

परमेश्‍वरले छोराछोरीबाट चाहनुहुने कुरा

१४, १५. छोराछोरीले आमाबुबाले भनेको कुरा किन मान्‍नुपर्छ?

१४ येसु सधैँ आफ्नो बुबाको आज्ञा मान्‍नुहुन्थ्यो। आफ्नो बुबाको आज्ञा पालन गर्न गाह्रो हुँदा समेत उहाँले खुसी भएर उहाँको आज्ञा मान्‍नुभयो। (लुका २२:४२; युहन्‍ना ८:२८, २९) यहोवा परमेश्‍वर छोराछोरीले आफ्ना आमाबुबाको आज्ञा मानेको चाहनुहुन्छ।—एफिसी ६:१-३.

१५ छोराछोरी हो, कहिलेकाहीँ तपाईँलाई आफ्नो आमाबुबाले भनेको कुरा मान्‍न गाह्रो लाग्न सक्छ। त्यस्तो बेला समेत आमाबुबाको आज्ञा मान्‍नुभयो भने यहोवा परमेश्‍वर र तपाईँका आमाबुबा तपाईँसित खुसी हुनुहुनेछ।c—हितोपदेश १:८; ६:२०; २३:२२-२५.

साथीहरूले चुरोट तान्‍न दबाब दिँदा एक युवक त्यसको प्रतिरोध गर्छन्‌

साथीहरूले गलत काम गर्ने दबाब दिँदा परमेश्‍वरप्रति वफादार भइरहन युवाहरूलाई केले मदत गर्न सक्छ?

१६. (क) सैतानले युवाहरूलाई गलत काम गर्ने दबाब कसरी दिन्छ? (ख) यहोवा परमेश्‍वरको उपासना गर्ने व्यक्‍तिहरूलाई मात्र आफ्नो साथी बनाउनु किन महत्त्वपूर्ण छ?

१६ सैतानले तपाईँका साथीहरू अनि अरू युवाहरूलाई चलाएर तपाईँलाई गलत काम गर्न दबाब दिन सक्छ। साथीहरूले गलत काम गर्न दबाब दिँदा नाइँ भन्‍न असाध्यै गाह्रो हुन्छ भनेर सैतानलाई थाह छ। उदाहरणको लागि, याकुबकी छोरी दिनाका साथीहरू यहोवा परमेश्‍वरको उपासना गर्दैनथे। तैपनि दिनाले उनीहरूसित सङ्‌गत गरिन्‌, जसले गर्दा उनी र उनको परिवारले ठूलो समस्या बेहोर्नुपऱ्‍यो। (उत्पत्ति ३४:१, २) तपाईँका साथीहरू यहोवा परमेश्‍वरका उपासक होइनन्‌ भने उनीहरूले तपाईँलाई परमेश्‍वरले घृणा गर्नुहुने काम गर्न दबाब दिन सक्छन्‌। त्यतिखेर साथीको कुरा सुन्‍नुभयो भने तपाईँले त्यसको नराम्रो नतिजा भोग्नुपर्ने हुन सक्छ। त्यसले तपाईँको परिवार अनि यहोवा परमेश्‍वरलाई समेत असाध्यै दुःखी बनाउन सक्छ। (हितोपदेश १७:२१, २५) त्यसैले यहोवा परमेश्‍वरको उपासना गर्ने व्यक्‍तिहरूलाई मात्र आफ्नो साथी बनाउनु महत्त्वपूर्ण छ।—१ कोरिन्थी १५:३३.

तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?

१७. परिवारको प्रत्येक सदस्यको जिम्मेवारी के हो?

१७ परिवारका सदस्यहरूले परमेश्‍वरको सल्लाह सुन्दा सबैको भलो हुन्छ। त्यसैले तपाईँ पति हुनुहुन्छ भने आफ्नी पत्नीलाई प्रेम गर्नुहोस्‌ र उनीसित सधैँ मायालु व्यवहार गर्नुहोस्‌। तपाईँ पत्नी हुनुहुन्छ भने आफ्नो पतिको आदर गर्नुहोस्‌ र तिनको अधीनमा बस्नुहोस्‌। साथै हितोपदेश ३१:१०-३१ मा वर्णन गरिएको असल पत्नीको उदाहरण अनुकरण गर्नुहोस्‌। तपाईँ आमाबुबा हुनुहुन्छ भने आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुहोस्‌। (हितोपदेश २२:६) तपाईँ बुबा हुनुहुन्छ भने आफ्नो परिवारको “राम्ररी अगुवाइ” लिनुहोस्‌। (१ तिमोथि ३:४, ५; ५:८) तपाईँ छोराछोरी हुनुहुन्छ भने आमाबुबाले भनेको कुरा मान्‍नुहोस्‌। (कलस्सी ३:२०) परिवारको जोसुकै सदस्यबाट गल्ती हुन सक्छ भनेर नबिर्सनुहोस्‌। त्यसैले नम्र हुनुहोस्‌ र आफूले गल्ती गर्दा क्षमा माग्नुहोस्‌। यहोवा परमेश्‍वरले बाइबलमा परिवारको सबै सदस्यलाई उपयोगी हुने सल्लाह दिनुभएको छ।

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌ किताबको नोट २६ हेर्नुहोस्‌।

b छोराछोरीलाई कसरी खराब मानिसहरूको सिकार हुनबाट बचाउन सकिन्छ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित महान्‌ शिक्षकबाट सिकौँ किताबको अध्याय ३२ हेर्नुहोस्‌।

c आमाबुबाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन हुने काम गर्न लगाएमा छोराछोरीले आमाबुबाको कुरा मान्‍नु पर्दैन।—प्रेषित ५:२९.

सारांश

एक: यहोवा परमेश्‍वरले परिवारको सुरुवात गर्नुभयो

“यसकारण म बुबासामु घुँडा टेकेर प्रार्थना गर्छु, जसद्वारा स्वर्ग र पृथ्वीमा हरेक परिवारले नाम पाएको छ।”—एफिसी ३:१४, १५

तपाईँको परिवार कसरी सुखी हुन सक्छ?

  • उत्पत्ति १:२६-२८

    यहोवा परमेश्‍वरले परिवारको सुरुवात गर्नुभयो।

  • एफिसी ५:१, २

    परिवार सुखी बनाउन यहोवा परमेश्‍वर र येसुको अनुकरण गर्नुपर्छ।

दुई: असल पति वा पत्नी कसरी बन्‍न सकिन्छ?

“तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई . . . प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३

पति-पत्नीले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ?

  • एफिसी ५:२२-२९

    परिवारको हेरविचार गर्ने जिम्मेवारी पतिको हो। तिनले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ अनि पत्नीले चाहिँ पतिले गरेको निर्णयलाई स्विकार्नुपर्छ।

  • कलस्सी ३:१९; १ पत्रुस ३:४

    पति-पत्नी एकअर्काप्रति दयालु र विचारशील हुनुपर्छ।

  • १ पत्रुस ३:१, २, ७

    पति-पत्नीले एकअर्कालाई आदर गर्नुपर्छ।

  • १ तिमोथि ५:८; तितस २:४, ५

    पतिले आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ। पत्नीले घरपरिवारको रेखदेख गर्नुपर्छ।

तीन: असल आमाबुबा कसरी हुन सकिन्छ?

“आफ्ना छोराछोरीलाई नचिढ्याओ बरु यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।”—एफिसी ६:४

आमाबुबाको जिम्मेवारी के हो?

  • व्यवस्था ६:४-९; हितोपदेश २२:६

    तपाईँले छोराछोरीलाई यहोवा परमेश्‍वरबारे सिकाउन समय निकाल्नुपर्छ। उनीहरूलाई सानैदेखि सिकाउन सुरु गर्नुहोस्‌। धीरजी हुँदै उनीहरू प्रत्येकलाई यहोवा परमेश्‍वरको मित्र हुन मदत गर्नुहोस्‌।

  • १ पत्रुस ५:८

    आफ्ना छोराछोरीलाई यौन दुर्व्यवहार र अन्य खतराबाट कसरी जोगिन सकिन्छ भनेर सिकाउनुहोस्‌।

  • यर्मिया ३०:११; हिब्रू १२:९-११

    छोराछोरीलाई अनुशासन दिनुपर्छ तर रिसको झोकमा वा कठोर तरिकामा अनुशासन नदिनुहोस्‌।

चार: परमेश्‍वरले छोराछोरीबाट चाहनुहुने कुरा

“हे छोराछोरी हो, . . . आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ।”—एफिसी ६:१

छोराछोरी हो, तपाईँ किन आफ्ना आमाबुबाप्रति आज्ञाकारी हुनुपर्छ?

  • हितोपदेश २३:२२-२५; कलस्सी ३:२०

    तपाईँ आज्ञाकारी हुनुभयो भने यहोवा परमेश्‍वर र तपाईँका आमाबुबा खुसी हुनुहुनेछ।

  • १ कोरिन्थी १५:३३

    यहोवा परमेश्‍वरको उपासना गर्ने व्यक्‍तिहरूलाई आफ्नो साथी बनाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईँलाई सही काम गर्न सजिलो हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने