प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs अध्या. १६ पृ. १६४-१७३
  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजा र पितृपूजा
  • क्रिसमस मनाउनु ठीक हो?
  • जन्मदिन मनाउनु ठीक हो?
  • चाडपर्वको सुरु कहाँबाट भयो भन्‍ने कुराले केही फरक पार्छ र?
  • विवेकी हुनुहोस्‌
  • परिवार अनि आफन्तको भावनाको कदर गर्नुहोस्‌
  • साँचो उपासना गर्नुहोस्‌
  • के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs अध्या. १६ पृ. १६४-१७३

अध्याय सोह्र

यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌

१, २. तपाईँले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ र किन?

साँचो परमेश्‍वरको उपासना गर्छु भनी दाबी गर्ने थुप्रै मानिस परमेश्‍वरले घृणा गर्नुहुने कामहरू गर्छन्‌ अनि अरूलाई पनि त्यसो गर्न सिकाउँछन्‌ भनेर तपाईँले बाइबल अध्ययन गरेर सिकिसक्नुभयो। (२ कोरिन्थी ६:१७) त्यसैले यहोवा परमेश्‍वरले हामीलाई “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मबाट निस्केर आउन आज्ञा दिनुभएको छ। (प्रकाश १८:२, ४) तपाईँ के गर्नुहुन्छ? यो हामी आफैले गर्नुपर्ने निर्णय हो। हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के म साँचो परमेश्‍वरले जस्तो चाहनुभएको छ, त्यस्तै तरिकामा उहाँको उपासना गर्न चाहन्छु? अथवा आजसम्म जुन तरिकामा उपासना गरिरहेको छु, त्यही गरिरहन चाहन्छु?’

२ यदि तपाईँले झूटो धर्म त्यागिसक्नुभएको छ भने त्यो राम्रो कुरा हो। तर तपाईँलाई कुनै-कुनै रीतिथिति र प्रचलन अझै पनि मन परिरहेको हुन सक्छ। आउनुहोस्‌, त्यस्ता केही रीतिथिति र प्रचलनबारे विचार गरौँ र हामीले त्यसबारे यहोवा परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नु किन आवश्‍यक छ, बुझौँ।

मूर्तिपूजा र पितृपूजा

३. (क) मूर्ति प्रयोग नगरी उपासना गर्न कसै-कसैलाई किन गाह्रो लाग्न सक्छ? (ख) उपासना गर्दा मूर्ति प्रयोग गर्नेबारे बाइबल के भन्छ?

३ कसै-कसैले आफ्नो घरमा पूजाकोठा बनाएर वा मूर्तिहरू राखेर पूजाआजा गर्दै आएका हुन सक्छन्‌। तपाईँलाई परमेश्‍वरको उपासना गर्न यी कुराहरू नभई हुँदैन जस्तो लाग्न सक्छ। तर नबिर्सनुहोस्‌, यहोवा परमेश्‍वरको उपासना कसरी गर्नुपर्छ, त्यो उहाँ आफैले हामीलाई सिकाउनुभएको छ। परमेश्‍वरको उपासना गर्दा मूर्तिहरू प्रयोग गर्नु हुँदैन भनेर उहाँले बाइबलमा प्रस्टसित बताउनुभएको छ।—प्रस्थान २०:४, ५ पढ्‌नुहोस्‌; भजन ११५:४-८; यसैया ४२:८; १ युहन्‍ना ५:२१.

४. (क) हामीले किन पितृपूजा गर्नु हुँदैन? (ख) यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मरेको मानिससित कुरा गर्न नखोज्नू भनेर किन आज्ञा दिनुभयो?

४ कसै-कसैले मरिसकेका आफ्ना पितृहरूको आत्माको शान्तिको लागि भनेर धेरै समय, शक्‍ति र पैसा खर्च गर्छन्‌। कोही-कोही त पितृपूजासमेत गर्छन्‌। तर मरिसकेका मानिसहरूले हामीलाई मदत वा हानि गर्न सक्दैनन्‌ भनेर हामीले सिकिसक्यौँ। तिनीहरू अन्त कतै बाँचिरहेका छैनन्‌। वास्तवमा भन्‍ने हो भने मरिसकेका मानिसहरूसँग कुरा गर्न खोज्नु हानिकारक कुरा हो। मरेको व्यक्‍तिको जस्तै आवाज निकालेर तपाईँसित कुरा गर्नेहरू वास्तवमा प्रेतहरू हुन्‌। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मरेको मानिससित कुरा गर्न नखोज्नू वा भूतप्रेत र तन्त्रमन्त्रसित सम्बन्धित अन्य कुनै पनि कुरामा भाग नलिनू भनेर आज्ञा दिनुभयो।—व्यवस्था १८:१०-१२; नोट २६ र ३१ हेर्नुहोस्‌।

५. परमेश्‍वरको उपासना गर्दा मूर्तिहरू प्रयोग नगर्न र पितृपूजा नगर्न तपाईँलाई केले मदत गर्न सक्छ?

५ परमेश्‍वरको उपासना गर्दा मूर्तिहरू प्रयोग नगर्न र पितृपूजा नगर्न तपाईँलाई केले मदत गर्न सक्छ? तपाईँले बाइबल पढ्‌नुपर्छ र यहोवा परमेश्‍वरले मूर्तिपूजा अनि पितृपूजालाई कुन दृष्टिकोणले हेर्नुहुन्छ, त्यसबारे गहिरो विचार गर्नुपर्छ। यहोवा परमेश्‍वर मूर्तिपूजा अनि पितृपूजालाई “घृणा गर्नुहुन्छ।” (व्यवस्था २७:१५) यहोवा परमेश्‍वरले जस्तै मूर्तिपूजा अनि पितृपूजालाई घृणा गर्न र उहाँले चाहनुभएबमोजिम उहाँको उपासना गर्न हरेक दिन प्रार्थना गरेर उहाँसित मदत माग्नुहोस्‌। (यसैया ५५:९) झूटो उपासनासित सम्बन्धित सबै कुरादेखि टाढै बस्न यहोवा परमेश्‍वरले तपाईँलाई आवश्‍यक मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

क्रिसमस मनाउनु ठीक हो?

६. (क) येसुको जन्मदिन किन डिसेम्बर २५ मा मनाइन्छ? (ख) साँचो ख्रिष्टियनहरू किन क्रिसमस मनाउँदैनन्‌?

६ क्रिसमस संसारभरि मनाइने एउटा लोकप्रिय चाड हो। थुप्रै मानिसले क्रिसमस येसुको जन्मोत्सव हो भन्छन्‌। तर वास्तवमा क्रिसमस झूटो धर्मबाट सुरु भएको चाड हो। एउटा विश्‍वकोशअनुसार रोममा बस्ने गैर-ख्रिष्टियनहरू डिसेम्बर २५ मा सूर्यको जन्मदिन मनाउने गर्थे। चर्चका पादरीहरू गैर-ख्रिष्टियनहरू पनि ख्रिष्टियन बनून्‌ भन्‍ने चाहन्थे। त्यसैले येसुको जन्म डिसेम्बर २५ मा नभए तापनि तिनीहरूले त्यस दिन येसुको जन्मदिन मनाउने निर्णय गरे। (लुका २:८-१२) तर येसुका चेलाहरूले कहिल्यै क्रिसमस मनाएनन्‌। धर्मसम्बन्धी एउटा किताबअनुसार येसुको जन्म भएको दुई सय वर्षपछिसम्म पनि “मानिसहरूलाई उहाँको जन्म मिति थाह थिएन र तिनीहरूले थाह पाउन पनि चाहेनन्‌।” येसुको जन्म भएको लगभग तीन सय वर्षपछि मात्रै क्रिसमस मनाउन थालियो। तर साँचो ख्रिष्टियनहरू किन क्रिसमस मनाउँदैनन्‌? किनभने तिनीहरू कुनै पनि तरिकामा परमेश्‍वरलाई दुःखी बनाउन चाहँदैनन्‌।

७. कुनै चाड मनाउनु हुन्छ कि हुँदैन भनेर कसरी थाह पाउन सकिन्छ?

७ साँचो ख्रिष्टियनहरू क्रिसमसलगायत अन्य चाडपर्व मनाउँदैनन्‌। त्यसोभए कुनै चाड मनाउनु हुन्छ कि हुँदैन भनेर कसरी थाह पाउन सकिन्छ? त्यसको लागि उक्‍त चाडको सुरु कहाँबाट भयो भनेर बुझ्नुपर्छ। ख्रिष्टियनहरू मूर्तिपूजा, अन्धविश्‍वास र तन्त्रमन्त्र मुछिएका चाडहरू मनाउँदैनन्‌। यस्ता चाडपर्वहरूको सहारा लिएर सैतानले मानिसहरूलाई आफूतर्फ खिच्छ। हामीले यस्ता चाडपर्वहरू मनाउनु गलत होइन भनी मानिसहरूले सोचेको त्यो चाहन्छ। तर हामी यहोवा परमेश्‍वरलाई खुसी पार्न चाहन्छौँ भने यस्तो कुनै पनि चाडपर्व मनाउनु हुँदैन।

जन्मदिन मनाउनु ठीक हो?

८, ९. सुरु-सुरुका ख्रिष्टियनहरू किन जन्मदिन मनाउँदैनथे?

८ धेरै मानिसले मनाउने अर्को लोकप्रिय उत्सव जन्मदिन हो। के ख्रिष्टियनहरूले जन्मदिन मनाउनु ठीक हो? बाइबलमा यहोवा परमेश्‍वरको उपासना नगर्ने मानिसहरूले मात्र जन्मदिन मनाएका घटनाहरू उल्लेख गरिएको छ। (उत्पत्ति ४०:२०; मर्कुस ६:२१) पुरातन समयमा झूटा देवताहरूको सम्मानमा जन्मदिन मनाइने गरिन्थ्यो। त्यसैले सुरु-सुरुका ख्रिष्टियनहरू “जन्मोत्सवलाई झूटो रीतिथितिको रूपमा लिन्थे।”—द वर्ल्ड बुक इन्साइक्लोपीडिया।

९ पुरातन समयमा रोम र ग्रीसका मानिसहरू बच्चाको जन्म हुँदा एउटा आत्मा पनि त्यहाँ आउँछ र त्यो आत्माले जिन्दगीभर उसको रक्षा गर्छ भनी विश्‍वास गर्थे। अनि बच्चा जन्मेको दिनमा जुन देवताको जन्मदिन पर्छ, त्यही देवतासित त्यस आत्माको गहिरो सम्बन्ध हुन्छ भन्‍ने विश्‍वास गर्थे। त्यसैले तिनीहरू जन्मदिन मनाउने गर्थे।

१०. ख्रिष्टियनहरूले किन जन्मदिन मनाउनु हुँदैन?

१० के यहोवा परमेश्‍वरले झूटो धर्मसित सम्बन्धित चाडपर्वहरू स्विकार्नुहुन्छ? (यसैया ६५:११, १२) अहँ, स्विकार्नुहुन्‍न। त्यसैले हामी जन्मदिन वा झूटो धर्मसित सम्बन्धित कुनै पनि चाडपर्व वा रीतिथिति मनाउँदैनौँ।

चाडपर्वको सुरु कहाँबाट भयो भन्‍ने कुराले केही फरक पार्छ र?

११. (क) कोही-कोही मानिस चाडपर्व वा उत्सव किन मनाउँछन्‌? (ख) हाम्रो लागि कुन कुरा सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ?

११ केही मानिसलाई क्रिसमसलगायत अन्य चाडपर्व वा उत्सव झूटो धर्मबाट सुरु भएको हो भनेर थाह छ। तैपनि तिनीहरू त्यस्ता चाडपर्व वा उत्सवहरू मनाउने गर्छन्‌। तिनीहरूको विचारमा चाडपर्व वा उत्सव भनेको परिवारका सदस्यहरूसित भेटघाट गर्ने रमाइलो मौका हो। के तपाईँलाई पनि त्यस्तै लाग्छ? परिवार अनि आफन्तसित समय बिताउन चाहनु गलत होइन। परिवारको सुरुवातकर्ता यहोवा परमेश्‍वर हुनुहुन्छ र हामीले परिवार अनि आफन्तसित राम्रो सम्बन्ध कायम राखेको उहाँ चाहनुहुन्छ। (एफिसी ३:१४, १५) तर हामीले झूटो धर्मसित सम्बन्धित चाडपर्व वा उत्सव मनाएर आफ्ना नातागोतालाई खुसी पार्नुभन्दा यहोवा परमेश्‍वरसित असल सम्बन्ध कायम राख्ने कुरामा ध्यान दिनुपर्छ। त्यसैले प्रेषित पावलले यसो भने: “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफिसी ५:१०.

१२. यहोवा परमेश्‍वर कस्ता चाडपर्व वा उत्सव स्विकार्नुहुन्‍न?

१२ धेरैजसो मानिस कुनै चाडपर्व वा उत्सव कहाँबाट सुरु भयो, त्यो महत्त्वपूर्ण कुरा होइन भन्छन्‌। तर यहोवा परमेश्‍वर त्यस्तो सोच्नुहुन्‍न। झूटो धर्मबाट सुरु भएको चाडपर्व अनि मानिस वा राष्ट्रको गुणगान गर्न मनाइने उत्सव उहाँलाई स्वीकार्य छैन। उदाहरणको लागि, मिश्रका मानिसहरू आफ्ना देवताहरूको लागि थुप्रै चाडपर्व मनाउँथे। मिश्रबाट मुक्‍त भएपछि इस्राएलीहरूले त्यहाँका मानिसहरूको नकल गर्दै एउटा चाड मनाए अनि तिनीहरूले त्यसलाई “यहोवा परमेश्‍वरको निम्ति एउटा चाड” भन्‍ने नाम पनि दिए। तर यहोवा परमेश्‍वरले त्यसलाई स्विकार्नुभएन। बरु तिनीहरूलाई दण्ड दिनुभयो। (प्रस्थान ३२:२-१०) भविष्यवक्‍ता यसैयाले भनेझैँ हामीले कुनै पनि ‘अशुद्ध कुरा छुनु हुँदैन।’—यसैया ५२:११ पढ्‌नुहोस्‌।

विवेकी हुनुहोस्‌

१३. चाडपर्व नमनाउने निर्णय गर्दा तपाईँको मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

१३ कुनै चाडपर्व वा उत्सव नमनाउने निर्णय गर्दा तपाईँको मनमा विभिन्‍न प्रश्‍न उठ्‌न सक्छन्‌। जस्तै: मेरा साथीहरूले जन्मदिन किन नमनाएको भनेर सोधे भने के भन्‍ने? कसैले मलाई जन्मदिनको उपहार दियो भने के गर्ने? मेरो पति वा पत्नीले कुनै चाडपर्व वा उत्सव मनाउन कर गऱ्‍यो भने के गर्ने? चाडपर्व वा जन्मदिन मनाउन नपाएकोले छोराछोरी खिन्‍न नहोऊन्‌ भनेर म के गर्न सक्छु?

१४, १५. चाडपर्वको बेला कसैले शुभकामना वा उपहार दियो भने तपाईँ के गर्न सक्नुहुन्छ?

१४ हरेक अवस्थामा के भन्‍ने र के गर्ने भनेर निर्णय गर्न तपाईँले सुझबुझ चलाउनुपर्छ। उदाहरणको लागि, चाडपर्वको बेला कसैले तपाईँलाई शुभकामना दिँदा वास्तै नगरी हिँड्‌नु पर्दैन। तपाईँ त्यस व्यक्‍तिलाई “धन्यवाद” भन्‍न सक्नुहुन्छ। तर कसैले तपाईँ किन फलाना चाडपर्व मनाउनुहुन्‍न भनेर सोध्यो भने चाहिँ उसलाई थप कुरा बताउन सक्नुहुन्छ। तर सधैँ विवेकी भएर आदरभावका साथ कुरा गर्नुहोस्‌। बाइबल यसो भन्छ: “तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।” (कलस्सी ४:६) सायद तपाईँ ती व्यक्‍तिलाई यसो भन्‍न सक्नुहुन्छ, ‘मलाई पनि साथीभाइसित समय बिताउन अनि उपहार दिन धेरै मन पर्छ तर म चाडपर्वको दिनमा होइन, अरू नै बेला त्यसो गर्न रुचाउँछु।’

१५ यदि कसैले तपाईँलाई उपहार दियो भने नि? त्यस्तो बेला के गर्ने भनेर बाइबलले नियमहरूको सूचि दिएको छैन। तर हामीले आफ्नो अन्तस्करण सफा राख्नुपर्छ भनेर चाहिँ बाइबलमा बताइएको छ। (१ तिमोथि १:१८, १९) उपहार दिने व्यक्‍तिलाई तपाईँ चाडपर्व मनाउनुहुन्‍न भनेर थाह नहुन सक्छ। अथवा उसले यसो भन्‍न सक्छ, “मलाई थाह छ, तपाईँ यो चाड मनाउनुहुन्‍न। तैपनि म तपाईँलाई यो उपहार दिन चाहन्छु।” त्यतिखेर उपहार स्विकार्ने कि नस्विकार्ने, तपाईँ आफैले निर्णय गर्नुपर्छ। तर तपाईँको अन्तस्करणले त्यो उपहार स्विकार्न मानिरहेको छैन भने नलिनु नै बेस हो। हामी यहोवा परमेश्‍वरसित गाँसेको सम्बन्ध बिगार्ने कुनै पनि काम गर्न चाहँदैनौँ।

परिवार अनि आफन्तको भावनाको कदर गर्नुहोस्‌

सुसमाचार प्रचार गरिरहेको, ख्रिष्टियन सभामा सँगै उपासना गरिरहेको र पिकनिकमा उपहार आदान-प्रदान गरिरहेको परिवारको दृश्‍य

यहोवा परमेश्‍वरको सेवा गर्ने मानिसहरू खुसी हुन्छन्‌

१६. तपाईँको परिवार वा आफन्त कुनै चाडपर्व वा उत्सव मनाउन चाहन्छन्‌ भने तपाईँले के गर्नुपर्छ?

१६ यदि तपाईँको परिवार अथवा आफन्त कुनै चाडपर्व वा उत्सव मनाउन चाहन्छन्‌ भने नि? तपाईँले तिनीहरूसित बहस गरिराख्नु पर्दैन। यो कुरा नबिर्सनुहोस्‌, आफ्नो निर्णय आफै गर्ने अधिकार तिनीहरूसित पनि छ। जसरी तिनीहरूले तपाईँको निर्णयको कदर गरेको तपाईँ चाहनुहुन्छ, तपाईँले पनि दयालु भएर तिनीहरूको निर्णयको कदर गर्नुपर्छ। (मत्ति ७:१२ पढ्‌नुहोस्‌) तर तपाईँको परिवार वा आफन्त चाडपर्व वा उत्सवको बेला तपाईँ पनि सँगै होस्‌ भनेर चाहन्छन्‌ भने नि? निर्णय गर्नुअघि यहोवा परमेश्‍वरसित मदत माग्नुहोस्‌। साथै चाडपर्व वा उत्सवको बेला तिनीहरूसँगै समय बिताउँदा के-कस्ता चुनौतीहरू आउन सक्छन्‌, राम्ररी विचार गर्नुहोस्‌ र त्यसबारे अध्ययन-अनुसन्धान गर्नुहोस्‌। हाम्रो मुख्य चासो सधैँ यहोवा परमेश्‍वरलाई खुसी बनाउने हुनुपर्छ भनेर नबिर्सनुहोस्‌।

१७. चाडपर्व वा उत्सवको बेला अरूले रमाइलो गरिरहेको देखेर छोराछोरीलाई खिन्‍न हुन नदिन तपाईँ के गर्न सक्नुहुन्छ?

१७ चाडपर्व वा उत्सवको बेला अरूले रमाइलो गरिरहेको देखेर तपाईँका छोराछोरी खिन्‍न हुन सक्छन्‌। त्यतिखेर तपाईँ कसरी तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ? तपाईँले समय-समयमा तिनीहरूसित रमाइलो गर्ने योजना बनाउन सक्नुहुन्छ। तिनीहरूले आशै नगरेको समयमा तिनीहरूलाई उपहार दिन सक्नुहुन्छ। तर तपाईँले आफ्ना छोराछोरीलाई दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार भनेको तपाईँको समय अनि तपाईँको माया हो।

साँचो उपासना गर्नुहोस्‌

१८. हामी किन ख्रिष्टियन सभाहरूमा उपस्थित हुनुपर्छ?

१८ हामीले झूटो धर्म र त्यसका सबै रीतिथिति, प्रचलन अनि चाडपर्व त्याग्यौँ भने मात्र यहोवा परमेश्‍वर हामीसित खुसी हुनुहुनेछ। तर त्यति मात्र गरेर पुग्दैन। हामीले उहाँको उपासना पनि गर्नुपर्छ। हामी कसरी उहाँको उपासना गर्न सक्छौँ? एउटा तरिका नियमित रूपमा ख्रिष्टियन सभाहरूमा उपस्थित हुनु हो। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌) सभा साँचो उपासनाको अभिन्‍न भाग हो। (भजन २२:२२; १२२:१) सँगै भेला हुँदा हामी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ।—रोमी १:१२.

१९. बाइबलबाट सिकेको कुरा अरूलाई किन बताउनुपर्छ?

१९ यहोवा परमेश्‍वरको उपासना गर्ने अर्को तरिका आफूले बाइबलबाट सिकेको कुरा अरूलाई बताउनु हो। संसारमा भएका नराम्रा कुराहरू देखेर धेरै मानिस चिन्तित छन्‌। तपाईँ पनि त्यस्ता केही मानिसलाई चिन्‍नुहुन्छ होला। तिनीहरूलाई भविष्यको सुन्दर आशाबारे बताउनुहोस्‌। यसरी ख्रिष्टियन सभाहरूमा उपस्थित हुँदै जानुभयो अनि बाइबलबाट सिकेको कुरा अरूलाई बताउँदै जानुभयो भने तपाईँमा झूटो धर्म र त्यसका प्रचलनहरूप्रतिको मोह पनि हराउँदै जानेछ। यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुभयो भने तपाईँ अझ धेरै खुसी हुन सक्नुहुनेछ अनि यहोवा परमेश्‍वरले तपाईँलाई सधैँ आशिष्‌ दिइरहनुहुनेछ।—मलाकि ३:१०.

सारांश

एक: झूटो धर्मबाट अलग रहनुहोस्‌

“तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड।”—२ कोरिन्थी ६:१७

मूर्तिपूजा र पितृपूजा गर्नु किन गलत हो?

  • प्रस्थान २०:४, ५; १ युहन्‍ना ५:२१

    उपासना गर्दा हामीले मूर्तिहरू प्रयोग गरेको यहोवा परमेश्‍वर चाहनुहुन्‍न।

  • व्यवस्था १८:१०-१२

    मरेको मानिससित कुरा गरेको भन्ठान्‍नेहरूले वास्तवमा प्रेतहरूसित कुरा गरिरहेका हुन्छन्‌।

दुई: परमेश्‍वरले सबै चाडपर्व वा उत्सव स्विकार्नुहुन्छ भन्‍ने छैन

“प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफिसी ५:१०

कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनेर तपाईँ कसरी निर्णय गर्न सक्नुहुन्छ?

  • इजकिएल ४४:२३; २ कोरिन्थी ६:१४, १५

    कुनै चाडपर्व वा उत्सव झूटो धर्मबाट सुरु भएको हो कि होइन, पक्का गर्नुहोस्‌।

  • प्रस्थान ३२:२-१०

    कुनै चाडपर्व वा उत्सव मनाउनेहरूको मनसाय राम्रै भए तापनि त्यो परमेश्‍वरको नजरमा स्वीकार्य नहुन सक्छ।

  • दानिएल ३:१-२७

    कुनै मानिस, सङ्‌गठन र राष्ट्रको गुणगान गर्ने चाडपर्व वा उत्सवबाट अलग बस्नुहोस्‌।

  • १ तिमोथि १:१८, १९

    सुझबुझ चलाउनुहोस्‌ र यहोवा परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्नुपर्ने कुरामा पनि ध्यान दिनुहोस्‌।

तीन: अरूलाई आफ्नो विश्‍वासबारे बताउँदा विवेकी हुनुहोस्‌

“तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।”—कलस्सी ४:६

अरूलाई आफ्नो विश्‍वासबारे कसरी बताउनुपर्छ?

  • मत्ति ७:१२

    जसरी अरूले तपाईँको निर्णयको आदर गरेको तपाईँ चाहनुहुन्छ, त्यसरी नै तपाईँले पनि अरूको निर्णयको आदर गर्नुपर्छ।

  • २ तिमोथि २:२४

    विवेकी हुनुहोस्‌ र आफ्नो विश्‍वासलाई लिएर अरूसित बहस नगर्नुहोस्‌।

  • १ पत्रुस ३:१५

    कोमल भाव र आदर देखाउँदै आफ्नो विश्‍वासको पक्षमा बोल्नुहोस्‌।

  • हिब्रू १०:२४, २५

    ख्रिष्टियन सभाहरूमा अरूले तपाईँलाई प्रोत्साहन दिन्छन्‌ र तपाईँको विश्‍वासबारे प्रश्‍न उठाइँदा कसरी जवाफ दिने भनेर बुझ्न तपाईँलाई मदत गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने