पाठ ६०
सदासर्वदा रहिरहने एउटा राज्य
एक रात राजा नबुकद्नेजरले एउटा अचम्मको सपना देखे। त्यसले गर्दा तिनलाई छटपटी भयो र तिनी निदाउनै सकेनन्। तिनले आफ्ना जादुगरहरूलाई बोलाएर भने: ‘मैले देखेको सपनाको अर्थ मलाई भन।’ तिनीहरूले भने: ‘हे महाराज, हामीलाई तपाईँले देख्नुभएको सपना बताउनुहोस्।’ तर नबुकद्नेजरले तिनीहरूलाई भने: ‘तिमीहरूले मैले देखेको सपना बताएनौ भने म तिमीहरूलाई मार्नेछु।’ तिनीहरूले तिनलाई फेरि भने: ‘हामीलाई तपाईँले देख्नुभएको सपना बताउनुहोस् र हामी त्यसको अर्थ बताइदिन्छौँ।’ अनि तिनले भने: ‘तिमीहरू मलाई छक्याउन खोज्दै छौ। मैले देखेको सपना के हो भन।’ तिनीहरूले राजालाई भने: ‘तपाईँको माग पूरा गर्न सक्ने मानिस यस संसारमा कोही छैन। तपाईँले माग गर्नुभएको कुरा असम्भव छ।’
नबुकद्नेजर रिसले आगो भए र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसलाई मार्न हुकुम दिए। ती मानिसहरूमा दानिएल, सद्रक, मेसक र अबेद्नेगो पनि पर्थे। दानिएलले राजाकहाँ गएर केही समय पाऊँ भनी बिन्ती गरे। त्यसपछि उनी र उनका साथीहरूले यहोवालाई प्रार्थना गरेर उहाँसित मदत मागे। उहाँले के गर्नुभयो?
एउटा दर्शनमा यहोवाले दानिएललाई नबुकद्नेजरले देखेको सपना र त्यसको अर्थ खोलिदिनुभयो। भोलिपल्ट दानिएल राजाको सेवककहाँ गए र भने: ‘कुनै पनि बुद्धिमान् मानिसलाई नमार्नुहोस्। म राजालाई सपनाको अर्थ बताउनेछु।’ ती सेवकले दानिएललाई राजाकहाँ लिएर गए। दानिएलले राजालाई भने: ‘परमेश्वरले तपाईँलाई भविष्यमा हुने कुरा प्रकट गर्नुभएको छ। तपाईँले यस्तो सपना देख्नुभएको थियो: तपाईँले सपनामा एउटा अत्यन्तै विशाल मूर्ति देख्नुभयो। त्यस मूर्तिको टाउको सुनको, छाती र हात चाँदीको, पेट र तिघ्रा तामाको, गोडा फलामको अनि पाउ फलाम र माटोले बनेको थियो। अनि पहाडबाट एउटा ढुङ्गा काटियो र त्यो ढुङ्गा त्यस मूर्तिको पाउमा बजारियो। तब त्यो मूर्ति धुलोपिठो भयो र हावाले उडाएर लग्यो। तर त्यो ढुङ्गाचाहिँ बढ्दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।’
त्यसपछि दानिएलले भने: ‘तपाईँले देख्नुभएको सपनाको अर्थ यो हो: तपाईँको राज्य नै त्यो सुनको टाउको हो। चाँदीचाहिँ तपाईँपछि आउने अर्को राज्य हो। अनि तामाजस्तै एउटा राज्य खडा हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ। त्यसपछिको राज्य फलामजस्तै बलियो हुनेछ। अन्तिम राज्यचाहिँ विभाजित हुनेछ; कुनै फलामजस्तै बलियो हुनेछ भने कुनैचाहिँ माटोजस्तै कमजोर हुनेछ। त्यो ढुङ्गाबाट बनेको ठूलो पहाडचाहिँ परमेश्वरको राज्य हो। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र यो राज्यचाहिँ सदासर्वदा रहिरहनेछ।’
तब राजा नबुकद्नेजरले भुईँसम्मै घोप्टो परेर दानिएललाई दण्डवत् गरे। तिनले भने: ‘तिम्रा परमेश्वरले तिमीलाई मैले देखेको सपना प्रकट गरिदिनुभयो। उहाँजस्तो अरू कोही ईश्वर छैन।’ दानिएललाई मार्नुको सट्टा नबुकद्नेजरले उनलाई सबै बुद्धिमान् मानिसका प्रमुख र बेबिलोन प्रान्तका शासक बनाए। यहोवाले दानिएलको प्रार्थनाको जवाफ कसरी दिनुभयो, के तिमीले याद गऱ्यौ?
“तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१६