प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lvs pp. २१३-२२५
  • १६. दियाबलको विरोध गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १६. दियाबलको विरोध गर्नुहोस्‌
  • परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “परमेश्‍वरको प्रेम”-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “गर्जने सिंहझैँ”
  • “हाम्रो . . . सङ्‌घर्ष”
  • प्रेतहरूदेखि टाढै रहनुहोस्‌
  • सैतान हामीलाई बहकाउन खोज्छ
  • सैतानले हाम्रो स्वाभाविक चाहनाको फाइदा उठाउँछ
  • भूतप्रेतको कथा
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • परमेश्‍वरका शत्रुहरू को हुन्‌?
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
थप हेर्नुहोस्
परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
lvs pp. २१३-२२५
एक भाइ प्रचारकार्यमा भाग लिएर सैतानको विरोध गर्छन्‌

अध्याय १६

दियाबलको विरोध गर्नुहोस्‌

“दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकुब ४:७.

१, २. हामीले सैतान र प्रेतहरूबारे कस्ता कुराहरू बुझ्नु आवश्‍यक छ?

यहोवाले दिनुहुने नयाँ संसारमा जीवन रमाइलो हुनेछ। परमेश्‍वरले हामीलाई जस्तो जीवन दिन चाहनुहुन्थ्यो, त्यसबेला हामी त्यस्तै जीवन बिताउनेछौँ। (२ कोरिन्थी ४:४) तर अहिले हामी सैतान र प्रेतहरूले राज गरेको संसारमा बाँचिरहेका छौँ। हुनत हामी तिनीहरूलाई देख्न सक्दैनौँ तर तिनीहरू अस्तित्वमा छन्‌ र निकै शक्‍तिशाली छन्‌।

२ यस अध्यायमा हामी यहोवासित कसरी घनिष्ठ भइरहने र सैतानदेखि कसरी जोगिने भनेर छलफल गर्नेछौँ। यहोवाले हामीलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। तर सैतान र प्रेतहरूले हामीलाई बहकाउन अनि आक्रमण गर्न कस्ता तरिकाहरू अपनाउँछन्‌ भनेर हामीले बुझ्नु आवश्‍यक छ।

“गर्जने सिंहझैँ”

३. दियाबल के गर्न चाहन्छ?

३ मानिसले आफ्नो स्वार्थ पूरा गर्न मात्र यहोवाको सेवा गर्छ र गाह्रो भयो भने उहाँको सेवा गर्न छोड्‌छ भनेर सैतान दाबी गर्छ। (अय्युब २:४, ५ पढ्‌नुहोस्‌) कसैले यहोवाबारे सिक्न चासो देखाउँदा सैतान र प्रेतहरूले त्यो कुरा याद गर्छन्‌ अनि उसलाई रोक्न खोज्छन्‌। कुनै व्यक्‍तिले यहोवामा आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्दा तिनीहरू रिसले चुर हुन्छन्‌। दियाबल “कसलाई निलूँ भनेर गर्जने सिंहझैँ घुमेर हिँड्‌छ” भनी बाइबलमा बताइएको छ। (१ पत्रुस ५:८) सैतान हामीले यहोवासित गाँसेको सम्बन्ध बिगार्न चाहन्छ।—भजन ७:१, २; २ तिमोथि ३:१२.

एक भाइ प्रचारकार्यमा भाग लिएर सैतानको विरोध गर्छन्‌

हामीले यहोवामा आफ्नो जीवन समर्पण गर्दा सैतान रिसले चुर हुन्छ

४, ५. (क) सैतानले के गर्न सक्दैन? (ख) “दियाबलको विरोध” गर्नुको अर्थ के हो?

४ तर हामी सैतान र प्रेतहरूदेखि डराउनुपर्दैन। यहोवाले तिनीहरूलाई हामीमाथि मनमानी गर्ने छुट दिनुभएको छैन। “महासङ्‌कष्ट”-मा साँचो ख्रिष्टियनहरूको “ठूलो भीड” बच्नेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश ७:९, १४) यहोवाको यो प्रतिज्ञा पूरा हुनदेखि रोक्न सैतानले केही गर्न सक्दैन। किनभने यहोवा आफ्ना जनहरूको रक्षा गर्दै हुनुहुन्छ।

५ यदि हामी यहोवासित घनिष्ठ भइरह्‍यौँ भने सैतानले त्यो सम्बन्ध तोड्‌न सक्दैन। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “जबसम्म तिमीहरू यहोवा परमेश्‍वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।” (२ इतिहास १५:२; १ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌) प्राचीनकालका हाबिल, हनोक, नुह, सारा र मोसाजस्ता वफादार पुरुष र स्त्रीहरू यहोवासित घनिष्ठ भइरहे र दियाबलको विरोध गरे। (हिब्रू ११:४-४०) हामी पनि त्यसै गर्न सक्छौँ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकुब ४:७.

“हाम्रो . . . सङ्‌घर्ष”

६. सैतानले हामीलाई कसरी आक्रमण गर्छ?

६ यहोवाले सैतानलाई हामीमाथि मनमानी गर्ने छुट दिनुभएको छैन। यो कुरा सैतानलाई थाह छ। तैपनि हामीले परमेश्‍वरसित गाँसेको सम्बन्धलाई कमजोर बनाउन सैतान जुनसुकै हदसम्म जान तयार हुन्छ। आज दियाबलले विभिन्‍न तरिकामा आक्रमण गर्छ। त्यसले हजारौँ वर्षदेखि चलाउँदै आएको दाउपेचहरू प्रयोग गर्छ। आउनुहोस्‌, तीमध्ये केही दाउपेच विचार गरौँ।

७. सैतानले किन यहोवाका जनहरूलाई आक्रमण गर्छ?

७ प्रेषित युहन्‍नाले यस्तो लेखे: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ युहन्‍ना ५:१९) यो दुष्ट संसार सैतानको नियन्त्रणमा छ र त्यसले यहोवाका जनहरूलाई पनि आफ्नो वशमा राख्न खोज्छ। (मिका ४:१; युहन्‍ना १५:१९; प्रकाश १२:१२, १७) सैतानलाई आफ्नो समय धेरै बाँकी छैन भनेर थाह छ। त्यसैले परमेश्‍वरप्रतिको हाम्रो वफादारी तोड्‌न सैतानले आफ्नो भएभरको बल लगाउँदै छ। त्यसले कहिले सीधै आक्रमण गर्छ भने कहिले चाहिँ छल गरेर आक्रमण गर्छ।

८. प्रत्येक ख्रिष्टियनले कुन कुरा बुझ्नुपर्छ?

८ एफिसी ६:१२ यसो भन्छ: “हाम्रो यो सङ्‌घर्ष [“कुस्ती,” फुटनोट] . . . स्वर्गका दुष्ट दूतहरूका दलहरूसित हो।” प्रत्येक ख्रिष्टियनले सैतान र प्रेतहरूसित लडाइँ गर्नुपर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गर्ने ख्रिष्टियनहरू यस लडाइँमा सामेल हुन्छन्‌ भन्‍ने कुरा हामी सबैले बुझ्नुपर्छ। प्रेषित पावलले एफिससका ख्रिष्टियनहरूलाई “दृढ भई खडा हुन” र ‘तयार रहन’ आग्रह गरे।—एफिसी ६:११, १३-१५.

९. सैतान र प्रेतहरूले हामीलाई के गर्न खोज्छ?

९ सैतान र प्रेतहरूले विभिन्‍न तरिकामा हामीलाई बहकाउन खोज्छन्‌। सैतानको एउटा पासोमा पर्नदेखि जोगिन सफल भयौँ भन्दैमा अर्को पासोमा पर्दैनौँ भन्‍न सकिँदैन। हामीलाई फसाउन कस्तो पासो थाप्ने भनेर पत्ता लगाउन सैतान हाम्रो कमीकमजोरी खोजिरहन्छ। तर हामी त्यसका पासोहरूदेखि जोगिन सक्छौँ किनभने बाइबलमा त्यसले थाप्ने पासोहरूबारे बताइएको छ। (२ कोरिन्थी २:११; नोट ३१ हेर्नुहोस्‌) तीमध्ये एउटा पासो हो, प्रेतविद्या।

प्रेतहरूदेखि टाढै रहनुहोस्‌

१०. (क) प्रेतविद्या भनेको के हो? (ख) प्रेतविद्यालाई यहोवा कस्तो ठान्‍नुहुन्छ?

१० प्रेतविद्यामा अलौकिक कुराहरू समावेश छन्‌। जस्तै: प्रेतहरूसित सम्पर्क राख्ने, भावी बताउने, बोक्सी विद्या, टुनामुना र मसान जगाउने। बाइबलमा प्रेतविद्यालाई “घिनलाग्दा कामहरू” भनेर बताइएको छ। (व्यवस्था १८:१०-१२; प्रकाश २१:८) त्यसैले कुनै व्यक्‍तिले प्रेतविद्यामा भाग लिन्छ अनि यहोवाको उपासना पनि गर्छ भने त्यस्तो उपासनालाई यहोवा स्विकार्नुहुन्‍न। ख्रिष्टियनहरू सबै प्रकारका प्रेतविद्यादेखि पूर्णतया अलग रहनुपर्छ।—रोमी १२:९.

११. हामी अलौकिक कुराहरूतर्फ आकर्षित भयौँ भने के हुन सक्छ?

११ मानिस अलौकिक कुराहरूतर्फ आकर्षित भयो भने उसलाई प्रेतविद्यातर्फ खिच्न सजिलो हुन्छ भनेर सैतानलाई थाह छ। प्रेतविद्या चाहे जुनसुकै प्रकारको किन नहोस्‌, त्यसले यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्छ।

सैतान हामीलाई बहकाउन खोज्छ

१२. सैतानले कसरी हाम्रो सोचाइ बदल्न खोज्छ?

१२ सैतानले मानिसको सोचाइ बदल्ने कोसिस गर्छ। मानिसले “असललाई खराब र खराबलाई असल” ठानोस्‌ भनेर त्यसले बिस्तारै मानिसको मनमा शङ्‌काको बिउ छर्छ। (यसैया ५:२०) परमेश्‍वरको स्तरअनुसार चल्न सम्भवै छैन बरु आफ्नै तरिकामा चल्दा खुसी हुन सकिन्छ भन्‍ने धारणालाई सैतानले प्रोत्साहन दिन्छ।

१३. सैतानले कसरी मानिसको मनमा शङ्‌का उब्जाउन खोज्छ?

१३ मानिसको मनमा शङ्‌का उब्जाएर सैतानले उसलाई आफ्नो पासोमा पार्छ। यो त्यसको सबैभन्दा पुरानो र प्रभावकारी तरिका हो। अदनको बगैँचाको कुरा विचार गरौँ। सैतानले हव्वालाई यस्तो प्रश्‍न गरेर तिनको मनमा शङ्‌का उब्जाउन खोज्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?” (उत्पत्ति ३:१) अय्युबको समयमा सैतानले स्वर्गदूतहरूको अगाडि यहोवालाई यस्तो प्रश्‍न सोध्यो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र?” (अय्युब १:९) येसुले बप्तिस्मा गर्नुभएपछि सैतानले उहाँलाई यसो भन्दै चुनौती दियो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।”—मत्ति ४:३.

१४. सैतानले कसरी प्रेतविद्यामा कुनै खतरा छैन भन्‍ने भान पार्न सक्छ?

१४ आज पनि सैतानले मानिसको मनमा शङ्‌काको बिउ छर्न छोडेको छैन। त्यसले कुनै-कुनै प्रकारको प्रेतविद्यामा केही खतरा छैन भन्‍ने भान पार्न खोज्छ। यसले गर्दा मानिसहरूलाई प्रेतविद्यामा भाग लिनु ठीकै हो जस्तो लाग्न सक्छ। यहाँसम्म कि केही ख्रिष्टियनलाई समेत यस्तो सोचाइले असर गरेको छ। (२ कोरिन्थी ११:३) त्यसोभए हामीलाई यस्तो सोचाइले असर गरेको छैन भनेर कसरी पक्का हुन सक्छौँ? हामी कसरी यस्तो खतरादेखि जोगिन सक्छौँ? हामी सैतानको बहकाउमा पर्न सक्ने दुइटा क्षेत्रबारे विचार गरौँ: मनोरञ्जन र स्वास्थ्य उपचार।

सैतानले हाम्रो स्वाभाविक चाहनाको फाइदा उठाउँछ

१५. मनोरञ्जन गर्ने सन्दर्भमा होसियार भएनौँ भने कसरी प्रेतविद्यामा फस्न सक्छौँ?

१५ आज थुप्रै चलचित्र, भिडियो, टेलिभिजन कार्यक्रम, कम्प्युटर गेम र वेबसाइटमा भूतप्रेत, टुनामुना र अलौकिक शक्‍तिसित सम्बन्धित कुराहरू देखाइन्छ। थुप्रैलाई यस्तो कुराबाट मनोरञ्जन लिनुमा कुनै खराबी छैन जस्तो लाग्छ। तर त्यसो गर्दा प्रेतहरूसित सम्बन्ध गाँस्न पुगिन्छ भन्‍ने कुरा तिनीहरूलाई पत्तै हुँदैन। सैतानले राशिफल, हात देखाउने, ट्यारोट कार्ड र क्रिस्टल बलजस्ता कुराहरूको माध्यमबाट पनि प्रेतविद्यालाई प्रोत्साहित गर्छ। सैतानले यी कुराहरूमा भएका खतराहरू लुकाउँछ। त्यसैले मानिसहरूलाई यस्ता कुराहरू रहस्यमय, रोमाञ्चक र रमाइलो लाग्छ। कसै-कसैले यस्तो तर्क गर्छन्‌, ‘भूतप्रेत वा अलौकिक शक्‍तिबारे देखाइने फिल्म अथवा कार्यक्रम हेर्नुमा के नै खराबी छ र? त्यसमा भाग लिएको त होइन नि।’ यस्तो तर्क गर्नु किन खतरनाक कुरा हो?—१ कोरिन्थी १०:१२.

१६. अलौकिक कुरालाई प्रोत्साहित गर्ने मनोरञ्जनमा किन भाग लिनु हुँदैन?

१६ सैतान र प्रेतहरूले हाम्रो मनको कुरा पढ्‌न सक्दैनन्‌। तर हामीले आफ्नो र परिवारको लागि गर्ने छनौट र हाम्रो मनोरञ्जनबाट तिनीहरूले हाम्रो चाहना र हाम्रो सोचाइ थाह पाउन सक्छन्‌। हामी भूतप्रेत, तन्त्रमन्त्र, मान्छेलाई प्रेतले सताएको, बोक्सी, भ्याम्पायर वा त्यस्तै कुरा भएको चलचित्र हेर्छौँ, गीत सुन्छौँ र किताब पढ्‌छौँ भने हामीलाई सैतान र प्रेतहरूको कुरामा चासो छ भनेर तिनीहरूले थाह पाउँछन्‌। त्यसपछि तिनीहरूले हामीलाई प्रेतविद्याको दलदलमा झनै फसाउन खोज्छन्‌।—गलाती ६:७ पढ्‌नुहोस्‌।

१७. स्वस्थ हुने हाम्रो चाहनाको सैतानले कसरी फाइदा उठाउन खोज्छ?

१७ हामी सबै स्वस्थ हुन चाहन्छौँ। सैतानले हाम्रो यस्तो स्वाभाविक चाहनाको फाइदा उठाउन सक्छ। कसरी? आज थुप्रै मानिस रोगबिमारले पीडित छन्‌। कुनै बिरामीले आफू निको हुन विभिन्‍न उपचार गरिसकेको हुन सक्छ। तैपनि उसको स्वास्थ्यमा कुनै सुधार नआएको हुन सक्छ। (मर्कुस ५:२५, २६) ऊ जसरी भए पनि निको हुन चाहन्छ र त्यसको लागि जे गर्न पनि तयार हुन सक्छ। तर हामी ख्रिष्टियनहरूले “टुनामुना” मुछिएको उपचारविधि अपनाउनु हुँदैन।—यसैया १:१३.

एक जना भाइ अस्पतालमा आफ्नी श्रीमतीसँगै प्रार्थना गर्दै

बिरामी पर्दा यहोवामा भर पर्नुहोस्‌

१८. ख्रिष्टियनहरूले कस्तो उपचारविधि स्विकार्नु हुँदैन?

१८ प्राचीन इस्राएलमा “टुनामुना” गर्ने मानिसहरू पनि थिए। तिनीहरूलाई यहोवाले यसो भन्‍नुभयो: “तिमीहरूले मेरो अगाडि हात फैलाउँदा म आँखा चिम्लन्छु। तिमीहरूले जति नै पुकारे तापनि म फिटिक्कै सुन्दिनँ।” (यसैया १:१५) सोच्नुहोस्‌ त, यहोवाले तिनीहरूको प्रार्थना सुन्‍नसमेत इन्कार गर्नुभयो। हामी बिरामी पर्दा यहोवासितको हाम्रो सम्बन्ध बिगार्ने र उहाँको मदत पाउन अयोग्य हुने कुनै पनि काम गर्नेछैनौँ। (भजन ४१:३) त्यसैले कुनै उपचारविधि रोज्नुअघि त्यसमा प्रेतविद्या वा अलौकिक शक्‍तिसित सम्बन्धित कुनै कुरा छ कि भनेर जाँच्नुपर्छ। (मत्ति ६:१३) यदि त्यस्ता कुराहरू छन्‌ भनेर हामीलाई शङ्‌का लाग्छ भने त्यस्तो उपचार स्विकार्नु हुँदैन।—नोट ३२ हेर्नुहोस्‌।

भूतप्रेतको कथा

१९. सैतानले मानिसहरूलाई कसरी त्रासमा पारेको छ?

१९ कोही-कोही सैतान र प्रेतहरू काल्पनिक हुन्‌ भन्ठान्छन्‌। अरू कतिपय भने आफ्नो अनुभवको आधारमा भूतप्रेतको अस्तित्व छ भन्छन्‌। थुप्रै मानिस भूतप्रेतको डरमा बाँचिरहेका छन्‌। तिनीहरू अन्धविश्‍वासले गर्दा विभिन्‍न कुरीतिको दास भएका छन्‌। अनि कोहीचाहिँ भूतप्रेतले मानिसहरूलाई सताएको कथा सुनाएर डरत्रास फैलाउँछन्‌। मानिसहरू प्रायजसो यस्तो कथा सुन्‍न र अरूलाई बताउन एकदमै उत्सुक हुन्छन्‌। तिनीहरू यस्तो कथामा विश्‍वास गर्छन्‌ र सैतानदेखि डराउँछन्‌।

२०. हामीले के गर्दा सैतानको डर फैलाउन त्यसलाई मदत गरिरहेका हुन्छौँ?

२० सैतान मानिसहरू त्यसदेखि डराएको चाहन्छ। (२ थिस्सलोनिकी २:९, १०) प्रेतविद्यामा चासो राख्नेहरूलाई कसरी आफ्नो पासोमा पार्ने भनेर त्यसलाई थाह छ। सैतान झूटा हो। त्यसले मानिसहरूलाई हुँदै नभएको कुरामा विश्‍वास गर्न लगाउँछ। कसैलाई आफूले कुनै अनौठो कुरा देखेको वा सुनेको जस्तो लाग्न सक्छ र उसले त्यही कुरा अरूलाई बताउँछ। अनि सुन्‍नेहरूले त्यसलाई बढाइचढाइ गरेर अरूलाई बताउँछन्‌ र त्यो कुरा एक कान दुई कान हुँदै फैलिन्छ। हामी त्यस्ता कथाहरू अरूलाई बताउन चाहँदैनौँ किनभने त्यसो गर्दा हामीले सैतानको डर फैलाउन त्यसलाई मदत गरिरहेका हुन्छौँ।—युहन्‍ना ८:४४; २ तिमोथि २:१६.

२१. भूतप्रेतको कथा सुनाउनुको सट्टा हामीले कस्तो विषयमा कुरा गर्नुपर्छ?

२१ यदि यहोवाको कुनै सेवकलाई विगतमा भूतप्रेतले सताएको थियो भने तिनले त्यसबारे अरूलाई सुनाउँदै हिँड्‌नु हुँदैन। यहोवाका जनहरू सैतान र भूतप्रेतले केही गर्लान्‌ कि भनेर डराउनु आवश्‍यक छैन। हामी आफ्नो समय र शक्‍ति भूतप्रेतको कथा सुन्‍न वा सुनाउनमा होइन बरु येसु र उहाँले यहोवाबाट पाउनुभएको शक्‍तिबारे सोच्न अनि त्यसबारे अरूलाई बताउन प्रयोग गर्न चाहन्छौँ। (हिब्रू १२:२) येसुले चेलाहरूलाई भूतप्रेतका कथाहरू सुनाउनुभएन। बरु उहाँले राज्य सन्देश र “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” सुनाउनुभयो।—प्रेषित २:११; लुका ८:१; रोमी १:११, १२.

२२. तपाईँले के गर्ने अठोट गर्नुभएको छ?

२२ यो कुरा नबिर्सौँ, सैतानको लक्ष्य यहोवासितको हाम्रो सम्बन्ध पूरै टुटाउनु हो। यसको लागि त्यो जुनसुकै हदसम्म जान तयार हुन्छ। तर सैतानका दाउपेचहरूदेखि हामी अनजान छैनौँ। हामीले सबै प्रकारका प्रेतविद्याको प्रतिरोध गर्ने अठोट गर्नुपर्छ। सैतानले हाम्रो अठोटलाई कमजोर बनाउन खोज्छ तर हामी त्यसलाई त्यसो गर्ने कुनै ‘मौका नदेऔँ।’ (एफिसी ४:२७ पढ्‌नुहोस्‌) दियाबलको विरोध गऱ्‍यौँ भने हामी त्यसका पासोहरूदेखि जोगिनेछौँ र यहोवाको छत्रछायामा सुरक्षित रहनेछौँ।—एफिसी ६:११.

बाइबलका सिद्धान्तहरू

१ यो संसार दियाबलको नियन्त्रणमा छ

“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्‍ना ५:१९

सैतानको लक्ष्य के हो?

  • १ पत्रुस ५:८

    सैतान यहोवासितको हाम्रो सम्बन्ध बिगार्न र पूरै टुटाउन चाहन्छ।

  • अय्युब २:४, ५

    मानिसहरूले यहोवालाई चिनेको र माया गरेको देख्दा सैतान रिसले चुर हुन्छ।

२ सैतानदेखि नडराउनुहोस्‌

“आफूलाई परमेश्‍वरको अधीनमा राख र दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकुब ४:७

हामी सैतानको प्रतिरोध गर्न सक्छौँ भनेर किन भन्‍न सक्छौँ?

  • प्रकाश ७:९, १४

    यहोवाले सैतानलाई हामीमाथि मनमानी गर्ने छुट दिनुभएको छैन। ठूलो भीड “महासङ्‌कष्ट”-मा बच्नेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ।

  • २ इतिहास १५:२

    यहोवासित घनिष्ठ भइरह्‍यौँ भने सैतानले उहाँसितको हाम्रो सम्बन्धलाई बिगार्न सक्दैन।

  • १ कोरिन्थी १०:१३; हिब्रू ११:४-४०

    विगतमा यहोवाले आफ्ना सेवकहरूलाई मदत गर्नुभएजस्तै आज हामीलाई पनि वफादार रहिरहन मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ।

३ सैतानका दाउपेचहरूदेखि होसियार हुनुहोस्‌

“त्यसका युक्‍तिहरूबारे हामी अनजान छैनौँ।”—२ कोरिन्थी २:११

सैतानले कस्ता दाउपेचहरू चलाउँछ?

  • युहन्‍ना १५:१९; प्रकाश १२:१२, १७

    यो संसार सैतानको हातमा छ। तर यहोवाका जनहरू त्यसको अधीनमा छैनन्‌। त्यसैले त्यसले तिनीहरूलाई आफ्नो तारो बनाउँछ।

  • उत्पत्ति ३:१; गलाती ५:१९-२१; एफिसी ६:१२

    सैतानले हाम्रो कमीकमजोरी पत्ता लगाउँछ र त्यसको फाइदा उठाउँछ।

  • लेवी १९:२६; यसैया १:१३, १५; मर्कुस ५:२५, २६

    स्वास्थ्य उपचार रोज्दा होसियार हुनुहोस्‌। जसरी भए पनि निको हुन चाहने बिरामी प्रेतविद्या मुछिएको उपचारविधि अपनाउन पनि तयार हुन सक्छ।

  • व्यवस्था १८:१०-१२; प्रेषित १९:१९; गलाती ६:७; प्रकाश २१:८

    हामी अलौकिक कुराहरूमा चासो राख्छौँ भनेर प्रेतहरूले देखे भने तिनीहरूले हामीलाई पासोमा पार्न सक्छन्‌। प्रेतविद्यामा भाग लियौँ भने हामी यहोवाप्रति वफादार भइरहेका हुँदैनौँ।

४ झूट फैलाउन सैतानलाई मदत नगर्नुहोस्‌

“त्यो झूटा हो र झूटको बुबा हो।”—युहन्‍ना ८:४४

हामीले के गऱ्‍यौँ भने सैतानलाई झूट फैलाउन मदत गरिरहेका हुन्छौँ?

  • रोमी १:११, १२; २ तिमोथि २:१६

    सैतान र प्रेतहरू अत्यन्तै शक्‍तिशाली छन्‌ भनेर मानिसहरू अनेक कथा सुनाउने गर्छन्‌। तर वास्तवमा तिनीहरूको शक्‍ति सीमित छ। त्यसैले यस्तो कथा सुनाउँदै हिँड्‌नुको साटो हामी एकअर्कालाई प्रोत्साहन दिने कुरामा ध्यान दिन्छौँ।

  • एफिसी ६:११

    हामीलाई सैतानका दाउपेचहरू थाह छ भने हामी त्यसको विरोध गर्न सक्छौँ र यहोवासित घनिष्ठ भइरहन सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने