के तपाईंलाई परमेश्वरको भलाइले आकर्षित गर्दछ?
तपाईंको कुनै घनिष्ठ मित्र छन्? छन् भने, तिनमा भएको कुन कुराले तपाईंलाई आकर्षित् गर्दछ भनेर, के कहिले सोच्नु भएको छ? तिनको बाहिरी रूपले गर्दा तपाईं तिनी प्रति आकर्षित् हुनु भएको हो कि? अथवा तपाईं दुवै एकै प्रकारका कुराहरूमा चासो लिने भएर हो कि? या तिनमा भएका दया र बुद्धि जस्ता गुणहरूले गर्दा हो? तपाईंको मित्रतालाई बलियो राख्ने गुण भलाइ हो भने, तपाईंको मित्रता वास्तवमा गहिरो हुनेछ। किनभने आज धेरै जसो मानिसहरू “भलाइ न रूचाउने” भएको बेलामा, भलाइ जस्तो गुण सजिलै सँग पाइन्दैन।—२ तिमोथी ३:३.
एक जना मसीहीको जीवनमा, उसको सबै भन्दा महत्वपूर्ण सम्बन्ध कुनै मानिस सँगको होइन तर परमेश्वर सँगको हुन्छ। यसकारण यो सम्बन्ध बारे सोच्नु हुँदा, ‘परमेश्वरको कुन गुणले मलाई उहाँ तर्फ विशेष रूपमा तान्दछ’ भनेर के कहिले सोचनु भएको छ?
परमेश्वरका विशिष्ट गुणहरू
बाइबलमा परमेश्वरका अनेक विशिष्ट गुणहरूको वर्णन गरिएको छ। साधारणतया महत्व दिइएका चार गुणहरू उहाँको प्रेम, उहाँको न्याय, उहाँको बुद्धि र उहाँको सर्वशक्ति हुन्। (व्यवस्था ३२:४; अय्यूब १२:१३; भजन संग्रह १४७:५; १ यूहन्ना ४:८) यी चारै गुणहरूबाट एउटा रोज्नु परेको भए, शायद परमेश्वरको प्रेम नै हामीलाई सबै भन्दा आकर्षक लाग्दछ भनेर भन्ने थियौं। उहाँको यो प्रेम सँग सम्बन्धित अर्को गुण, उहाँको सर्वश्रेष्ठ भलाइ हो। बाइबलका लेखकहरूले वाकपटुतापूर्वक यस गुणको चर्चा गरेका छन् र यस प्रकारको भलाइले सृष्टिकर्ता सँग एउटा सुन्दर र स्वस्थ्यकर सम्बन्ध कायम राख्न मानिसहरूलाई आकर्षित गर्न सक्दछ।
उदाहरणका लागि, इ. पू. छैठौं शताब्दिमा, अगमवक्ता जकरियाले यहोवाको विषयमा यो घोषणा गरे: “अहा, उहाँको भलाइ कति महान, उहाँको सुन्दरता कति उत्तम!” (जकरिया ९:१७) जकरिया भन्दा धेरै वर्ष अघि, यशैयाले पनि परमेश्वरको प्रशंसा यस प्रकार गर्दै लेखे: “इस्राएलको परिवार तर्फ त्यो ठूलो भलाइ जो उहाँले तिनीहरूलाई आफ्नो कृपा र अत्यन्त अटल प्रेम अनुसार [दर्साउनुभयो, त्यसको म] प्रशंसाको वर्णन गर्नेछु।”—यशैया ६३:७.
यो भन्दा ३ शताब्दि अघि, दाऊदले परमेश्वरको भलाइको विषयमा हृदय छुने गरी लेखेका थिए। दाऊदले आफ्नो जीवन भरि परमेश्वरको भलाइको अनुभव गरेका थिए। परमेश्वरले दाऊद प्रति अति नै भलाइ गर्नु भयो। विशेष गरी दाऊदले बातशीबा र तिनको पति उरिया सँग सम्बन्धित पाप गरे पछि, परमेश्वरले तिनी प्रति धेरै नै दया देखाउनु भयो। (२ शमुएल १२:९, १३) भजन संग्रह ३१:१९ मा दाऊदले यसको मुल्याङ्कन गर्दै, एसो भने: “तपाईंसँग डराउनेहरूका निम्ति राख्नु भएको तपाईंको भलाइ कति ठूलो छ!”
ती प्राचीन उपासकहरूले झैं, के तपाईं पनि परमेश्वरको भलाइको मोल गर्नु हुन्छ? गर्नु हुन्छ भने, तपाईंले “सारा समझलाई माथ गर्ने . . . परमेश्वरको शान्ति” अनुभव गर्नु हुनेछ र हर समयमा परमेश्वरको इच्छा गर्न प्रेरित हुनु हुनेछ। (फिलिप्पी ४:७) अब केही बेरका लागि, परमेश्वरको भलाइ भन्नाले त्यसमा के के समावेश हुदँछ र त्यसको अद्भुत विशालताको विचार गरौं। यस प्रकार प्रेमपूर्ण स्वर्गीय पिताका लागि हाम्रो मुल्याङ्कन निश्चय बढ़नेछ। (w89 12/1)