यहोवाका मुख्य कर्त्ता, उहाँका पुत्रलाई आदर गर्नु होस्
“पुत्रको आदर नगर्नेले उसलाई पठाउने पिताको पनि आदर गर्दैन।”—यूहन्ना ५:२३.
१. त्रिएकमा मसीही जगतले गरेको विश्वास द्वारा कसरी येशूको अनादर हुन्छ?
आज मसीही जगतका धेरैले येशू ख्रीष्टलाई आदर गर्ने दाबी गर्दछन्। तापनि, तिनीहरू त्यसको ठीक विपरीत गरिरहेकाछन्। कसरी? येशू नै सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ र परमेश्वर अथवा सबै कुराका सृष्टिकर्त्ता पृथ्वीमा आउनु भएर मानिसको रूपमा मर्नु भयो भनी धेरैले दाबी गर्दछन्। यो दाबी त्रिएकको धार्मिक सिद्धान्तमा समोवश गरिएको छ, जुन शिक्षा मसीही जगतको मौलिक शिक्षा हो। तर यदि त्रिएक झुट्टा हो, यदि येशू वास्तवमा परमेश्वर भन्दा मुनि र परमेश्वरको अधीनमा हुनु हुन्छ भने, परमेश्वरसँग उहाँको सम्बन्धको यो मिथ्याकथनले गर्दा, के येशू अप्रसन्न हुनु हुँदैन होला र? निश्चय नै, यस प्रकारको मिथ्याकथन द्वारा उहाँले आफूलाई र उहाँले सिकाउनु भएका सबै कुरालाई अनादर गरेको ठान्नु हुनेछ।
२. येशू परमेश्वर भन्दा मुनिको हुनु हुन्छ र उहाँ परमेश्वरको अधीनमा बस्नु हुन्छ भनी शास्त्रमा स्पष्टसँग कसरी देखाइएको छ?
२ सत्य यो हो कि येशूले कहिले पनि परमेश्वर हुने दाबी गर्नु भएन। यसको सट्टा, उहाँले बारम्बार आफूलाई “परमेश्वरको पुत्र” भन्नु भयो। यो कुरा उहाँका शत्रुहरू समेतले पनि स्वीकार गरे। (यूहन्ना १०:३६; १९:७) येशू सधैं नै पिताको महिमा गर्ने र आफूलाई उहाँको अधीनमा राख्ने विषयमा चेतनशील हुनु हुन्थ्यो। यसबारे उहाँले स्वयं भन्नु भयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ। म आफै केही गर्न सक्तिन . . . किनकी म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” फेरि, उहाँले भन्नु भयो: “म उहाँकै तर्फबाट आएको हुँ, औ उहाँले मलाई पठाउनु भएको हो।” उहाँले एसो पनि भन्नु भयो: “म परमेश्वरका तर्फबाट आएँ, औ आएको छु।” (यूहन्ना ५:१९, ३०; ७:२८, २९; ८:४२) येशूले उहाँ परमेश्वर हुनु हुन्छ अथवा परमेश्वरको बराबर हुनु हुन्छ भनी सङ्केतसम्म पनि कहिले गर्नु भएन। यसकारण, यस्ता कुरा सिखाउनाले येशूको अनादर हुन्छ।
अरू तरीकाहरू जसबाट केहीले येशूको अनादर गर्छन्
३. (क) येशूबारे कुन कुरा अस्वीकार गर्दै, मसीही जगतका केही व्यक्तिहरूले येशूलाई अनादर गर्दछन्? (ख) येशू मानिस भएर आउनु अघि उहाँ स्वर्गमा हुनु हुन्थ्यो भन्ने विषयमा उहाँले के प्रमाण प्रस्तुत गर्नु भयो?
३ छक्क पर्ने कुरा के हो भने, आज मसीही जगतमा केही मानिसहरू छन् जसले येशू पृथ्वीमा आउनु भन्दा अघि स्वर्गमा हुनु हुन्थ्यो भन्ने कुरा अस्वीकार गर्दै येशूको अनादर गर्छन्। तथापि, येशू वास्तवमा स्वर्ग देखिन् पृथ्वीमा आउनु भएको कुरालाई हामीले मूल्याङ्कन गर्न सक्यौं भने मात्र हामीले उहाँको ठीक सँग आदर गर्न सक्नेछौं। बारम्बार येशूले स्वयं भन्नु भयो कि मनुष्यको रूप धारण गरेर आउनु अघि देखिन् नै उहाँको अस्तित्व थियो। “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।” पछि, उहाँले भन्नु भयो: “स्वर्गबाट ओर्लेको जीवित रोटी म नै हुँ . . . तिमीहरूले मानिसको पुत्रलाई जहाँ उ अघि थियो त्यता उक्लँदै गरेको देख्यौ भने नि कसो?” र फेरि: “तिमीहरू तलका हौ; म माथिको हुँ। . . . साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनु भन्दा अघि देखिननै म छँदैछु।” (यूहन्ना ३:१३; ६:५१, ६२; ८:२३, ५८) उहाँ पक्राउमा पर्नु हुने राती पनि, येशूले स्वर्गमा हुनु हुने आफ्ना पितासँग प्रार्थना गर्नु हुँदा, आफू मानिस भएर आउनु अघिको आफ्नो जीवनबारे उहाँले चर्चा गर्नु भएको थियो।—यूहन्ना १७:५.
४. (क) अरू कुन ढङ्गमा धेरैले येशूको अनादर गर्छन्? (ख) येशू एक जना मानवको रूपमा साँच्चैनै यस पृथ्वीमा हुनु हुन्थ्यो भनी सत्य साबित गर्न कुन प्रमाण नै यथेष्ट हुनु पर्ने हो?
४ तर येशू एक जना एतिहासिक व्यक्ति हुनु हुन्थ्यो अथवा एक जना मानिस भएर उहाँ बाच्नु भएको थियो भन्ने कुरा समेत अस्वीकार गर्ने हदसम्म मसीही जगतका केही मानिसहरू जान्छन्। उहाँको अस्तित्व नै थिएन भने, उहाँलाई किन र कसरी आदर गर्ने भन्ने कुरा छलफल गर्नु नै व्यर्थ हुनेछ। तर येशू वास्तवमा पृथ्वीमा हुनुहुन्थ्यो भनी निश्चित रूपमा साबित गर्न, शास्त्रमा साँचेर राखिएका प्रत्यक्षदर्शीहरूको प्रशस्त प्रमाण यथेष्ट हुनु पर्ने हो। (यूहन्ना २१:२५) यसलाई सत्य साबित गर्ने अर्को कुरा के हो भने, प्राचीन मसीहीहरूले अक्सर आफ्नो प्राण र स्वतन्त्रतालाई खतरामा पार्दै येशूको विषयमा प्रचार गर्द थिए। (प्रेरित १२:१-४; प्रकाश १:९) तथापि, उहाँका चेलाहरूले उहाँबारे लेखेका कुराहरू बाहेक, के कुनै अरू स्रोतबाट पनि येशूको अस्तित्वलाई प्रमाणित गर्न सकिन्छ कि?
५, ६. येशू ख्रीष्ट पृथ्वीमा साँच्चैनै हुनु हुन्थ्यो भनी शास्त्र बाहेक, एतिहासिक प्रमाण द्वारा के प्रदर्शित हुन्छ?
५ दी न्यु एनसायक्लोपिडिया ब्रिट्यानिका (१९७८) ले भन्दछ: “विभिन्न स्रोतहरूबाट प्रमाणित हुँदछ कि, प्राचीन समयमा मसीही धर्मका विरोधीहरूलेपनि येशू एक जना एतिहासिक व्यक्ति हुनु हुन्थ्यो भन्ने कुरामाथि सन्देह गरेनन्।” ती विभिन्न स्रोतहरू मध्यका केही स्रोतहरू के हुन्? यहूदी विद्वान, जोसेफ क्लौस्नर अनुसार, प्राचीन कालका टालमुडका लेखहरूमा पनि प्रमाण पाइन्छ। (जिजस अफ नाजरेथ, पाना २०) प्रथम शताब्दीका इतिहासकार, जोसेफसबाट पनि प्रमाण पाउन सकिन्छ। उदाहरणका लागि, तिनले याकूबलाई ढुङ्गाले हानेर मारेको घटनाको विवरण दिएकाछन् जसमा याकूबलाई “ख्रीष्ट कहलिएका येशूका भाइ” भनी तिनले चिनाएका छन्।—जुवीश एन्टीक्वीटिस, XX [ix, 1].
६ यसबाहेक, प्राचीन रोमी इतिहासकारहरू, विशेषगरी सम्मानित टेसिटसद्वारा प्रस्तुत प्रमाणहरू पनि उपलव्ध छन्। तिनले दोस्रो शताब्दीको शुरु मै “एउटा घृणित समूहबारे” लेखे “जसलाई जनताले मसीही भन्द थिए। ख्रीस्टस [ख्रीष्ट] अथवा जसबाट मसीही धर्म शुरु भयो, तिनले टाइबेरियसको शासनकालमा, हाम्रा एक जना बड़ा हाकिमको हातमा मृत्यु दण्ड भोगेका थिए।” (दी एनल्स, XV, XLIV) येशू एक जना एतिहासिक व्यक्ति हुनु हुन्थ्यो भन्ने प्रमाण यति धेरै छ कि बयान गरेर साध्य छैन भन्दै १८ वाँ शताब्दीका दार्शनिक र नीतिशास्त्री जों जेक्स रूसोले यो प्रमाण प्रस्तुत गरे: “सोक्रेटिसको इतिहासबारे कसैले पनि शङ्का गर्दैनन् तर येशू ख्रीष्टको इतिहास जतिको ठोस ढङ्गमा प्रमाणित छ, त्यत्तिको सोक्रेटिसको पनि छैन।”
पुत्रलाई आदर गर्ने कारणहरू
७. (क) शास्त्रमा आधारित कुन् प्रमाणले गर्दा, येशू ख्रीष्टलाई आदर गर्ने हामीलाई बाध्यता छ? (ख) यहोवाले उहाँका पुत्रलाई अझ कसरी आदर गर्नु भएको छ?
७ अब हामी येशू ख्रीष्टलाई आदर गर्ने विषयमा आउँछौं। उहाँका चेलाहरूले उहाँलाई आदर गर्नु पर्दछ भन्ने कुरा यूहन्ना ५:२२, २३ मा उल्लेखित उहाँका शब्दहरूबाट देख्न सकिन्छ: “किनकि पिताले कसैको इन्साफ गर्नुहुन्न, तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ, किनकि जसरी तिनीहरूले पिताको आदर गर्दछन्, उसरी सबैले पुत्रको पनि आदर गरून्।” ख्रीष्टको पुनरुत्थान पछि, उहाँले मृत्युको कष्ट भोग्नु भयो भनेर, ‘अख्तियारहरू र शक्तिहरूकासाथ’ महिमित पार्नु हुँदै, यहोवाले आफ्ना पुत्रलाई अझ बढ़ी आदर प्रदान गर्नु भएको छ। (हिब्रू २:९; १ पत्रुस ३:२२) येशू आधारभूत रूपमा को हुनु हुन्छ र उहाँले के गर्नु भएको छ, यी दुवै कारणहरूले गर्दा हामीले उहाँलाई आदर गर्नु पर्दछ।
८. अरू कुन विशिष्ट तथ्यहरूको कारण येशू ख्रीष्ट आदर पाउने योग्यको हुनु हुन्छ?
८ येशू ख्रीष्ट हाम्रो आदर पाउने योग्यको हुनु हुन्छ किनभने उहाँ लोगोस् अथवा वचनको हैसियतमा यहोवाको सर्वश्रेष्ठ प्रवक्ता हुनु हुन्छ। शास्त्रबाट यो विदित हुन्छ कि पृथ्वीमा आउनु भन्दा अघि र स्वर्ग उक्लिनु भए पछि, “वचन” भन्ने यो पद येशूमा प्रयोग हुँदछ। (यूहन्ना १:१; प्रकाश १९:१३) प्रकाश ३:१४ मा उहाँले आफूलाई “परमेश्वरको सृष्टिको प्रारम्भ [न्यु. व.]” भन्नु भएको छ। उहाँ “सारा सृष्टिको जेठो” मात्र हुनु हुन्न तर “एक मात्र पुत्र” हुनु भएकोले, यहोवा परमेश्वरले स्वयं सृजनु भएको उहाँ एक मात्र व्यक्ति हुनु हुन्छ। (कलस्सी १:१५; यूहन्ना ३:१६) यसका साथै, “सबै थोक उहाँबाट हुनआए, औ हुनआएको कुनै एक थोक पनि उहाँ बिना हुन आएन।” (यूहन्ना १:३) यसकारण, जब हामी पढ़दछौं कि उत्पत्ति १:२६ मा परमेश्वरले, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूप बनाऔं” भन्नु भयो, त्यहाँ “हाम्रै” भन्ने शब्दमा लोगोस् अथवा वचन पनि समावेश हुनु हुन्छ। निश्चय नै, मानिस भएर आउनु अघि, सृष्टिका कार्यहरूमा यहोवा परमेश्वरसँग भाग लिने सुअवसर येशूले पाउनु भएको हुनाकारण, उहाँ ठूलो आदर पाउने योग्यको हुनु हुन्छ।
९. येशू नै प्रधान दूत माइकल पनि हुनु हुन्छ भन्ने निष्कर्षमा हामी किन पुग्दछौं र मोशाको लाशको सम्बन्धमा, माइकलले यहोवालाई कसरी आदर गर्नु भयो?
९ येशू ख्रीष्ट झन आदर पाउने योग्यको हुनु हुन्छ किनभने उहाँ यहोवाका मुख्य अथवा प्रधान दूत हुनु हुन्छ। हाम्रो यो निष्कर्षको आधार के हो? मुख्य अथवा प्रधान भन्नाले एक जना मात्र प्रधान दूत हुनु पर्छ भन्ने कुरा बोध हुन्छ। परमेश्वरको वचनले उहाँको चर्चा पुनरुत्थान पाउनु भएको प्रभु येशू ख्रीष्टको सम्बन्धमा गर्दछ। हामी पढ़दछौं: “किनभने ठूलो शब्दले, प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टमा मर्नेहरू चाँहि पहिले बिउँतनेछन्।” (१ थिस्सलोनिकी ४:१६) यी प्रधान दूतको एउटा नाउँ छ जसको विषयमा हामी यहुदा ९ मा पढ़दछौं: “तर प्रधान दूत माइकलले मोशाको लाशको विषयमा शैतानसँग विवाद गर्दा त्यसमाथि निन्दित दोष लाउन साहस नगरी, ‘तँलाई प्रभुले हप्काउनुहुन्छ’ भनेथे!’” दियाबलको विरुद्धमा न्यायको फैसला सुनाउन यहोवाको अघि-अघि न दगुर्नु भएर, येशूले स्वर्गमा हुनु हुने उहाँको पिताको आदर गर्नु भयो।
१०. (क) परमेश्वरको राज्यको निम्ति युद्ध गर्नमा, माइकलले अगुवाइ कसरी लिनु हुन्छ? (ख) इस्राएली जातिको सम्बन्धमा माइकलले के भूमिका निभाउनु भएको थियो?
१० प्रधान दूत माइकल परमेश्वरको राज्यको पक्षमा लड़ाइँ लड़नु हुन्छ र स्वर्गलाई सफा पार्नका निम्ति, त्यहाँबाट शैतान र त्यसका प्रेतहरूका टोलीलाई हटाउने काममा अगुवाइ लिनु हुन्छ। (प्रकाश १२:७-१०) र अगमवक्ता दानियल भन्छन् कि ‘उहाँले परमेश्वरका जनहरूमाथि रक्षा गरिरहनु हुन्छ।’ (दानियल १२:१) यसकारण, “इस्राएलका छाउनीका अगिअगि हिंड़ने परमेश्वरका दूत” माइकल नै हुनुहुन्छ जस्तो देखिन्छ र परमेश्वरले उहाँका जनहरूलाई प्रतिज्ञा गरिएको देशमा ल्याउँनु हुँदा प्रयोग गर्नु भएको दूत पनि उहाँ नै हुनु पर्छ। परमेश्वरले यो आदेश दिनु भएको थियो: “ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ . . . किनकि तिनैमा मेरो नाउँ छ।” (प्रस्थान १४:१९; २३:२०, २१) यहोवाका प्रधान दूतले परमेश्वरको नाउँसँग जोड़िएको जातिमा निःसन्देह ठूलो चासो लिनु भएको हुनु पर्छ। त्यसैकारण त, अगमवक्ता दानियललाई सान्त्वना दिन पठाइएका अर्को दूतलाई बाटोमा एउटा शक्तिशाली प्रेतले रोक्दा, माइकल नै ती दूतलाई मद्दत दिन अघि सर्नु भएको थियो। (दानियल १०:१३) साथै, सनहेरीबका १८५,००० योद्धाहरूलाई नष्ट गर्ने दूत पनि प्रधान दूत माइकलबाहेक अरू कोही होइनन् भन्ने निष्कर्षमा पुग्नु मुनासिब छ।—यशैया ३७:३६.
११. पृथ्वीमा कुन प्रकारको जीवन पद्धति अपनाउनु भएको हुनाकारण, येशू आदर पाउने योग्यको हुनु हुन्छ?
११ येशू ख्रीष्ट को हुनु हुन्छ भन्ने कारणले मात्र उहाँ आदर पाउने योग्यको हुनु न भएर, उहाँले गर्नु भएका कुराहरूले गर्दा पनि हामीबाट आदर पाउने योग्यको हुनुहुन्छ। उदाहरणकालागि, एउटा सिद्ध जीवन बिताउनु हुने उहाँ एक मात्र मानव हुनु हुन्छ। आदम र हव्वा सिद्ध सृजिएका थिए तर तिनीहरूको सिद्धता थोरै समयसम्म मात्र रहयो। तथापि, दियाबलले येशूमाथि ल्याएका परीक्षाहरू अथवा सतावटहरूका सामुन्ने पनि उहाँ ‘पवित्र, निष्कपट, निष्कलङ्क, पापीहरूबाट अलग’ रहनु भयो। ती सबै कठिनाइहरू बीच उहाँले “नता पाप गर्नु भयो, न उहाँको मुखमा छलको कुरा पाइयो।” उहाँले आफ्ना धार्मिक विरोधीहरूलाई चुनौति दिनु हुँदै, यो प्रश्न गर्नु भयो: “तिमीहरू मध्ये कसले मलाई पापको दोष लगाउनसक्छ?” कसैले पनि सकेन! (हिब्रू ७:२६; १ पत्रुस २:२२; यूहन्ना ८:४६) र उहाँले पाप रहितको समग्रता कायम राख्नु भएको हुनाकारण, येशूले स्वर्गमा हुनु हुने आफ्ना पिता नै ब्रह्माण्डको हकदार र सार्वभौम मालिक हुनु हुन्छ भनी उहाँलाई महिमित पार्नु हुँदै, दियाबल एक जना क्षुद्र र महा झुट्टा हो भनी साबित गर्नु भयो।—हितोपदेश २७:११.
१२. (क) येशू कस्तो मानिस हुनु हुन्थ्यो र उहाँले अरूहरूका निम्ति के गरी दिनु भयो र कुन प्रकारको दुःख भोग्नु भयो? (ख) उहाँले सम्पन्न गर्नु भएका र भोग्नु भएका कुराहरूको कारण, येशू हामीबाट आदर पाउने योग्यको हुनु हुन्छ भनी तपाईं किन भन्नु हुन्छ?
१२ येशू ख्रीष्ट हाम्रो आदर पाउने योग्य हुनु हुन्छ किनभने उहाँले एउटा सिद्ध र पापरहितको जीवन बिताउनु बाहेक, उहाँ एक जना असल, निःस्वार्थी र स्वार्थ-त्यागको भाव भएको मानिस हुनु हुन्थ्यो। (रोमी ५:७ सँग तुलना गर्नुहोस्) उहाँले मानिसहरूका आध्यात्मिक र शारीरिक आवश्यकताहरूका निम्ति अथक सेवा गर्नु भयो। उहाँले आफ्ना पिताका घरका लागि कस्तो जोश प्रकट गर्नु भयो र उहाँका चेलाहरूसँग व्यवहार गर्नु हुँदा कति धैर्य धारण गर्नु हुन्थ्यो! आफ्ना पिताका इच्छा पूरा गर्नु हुँदा, उहाँ कति धेरै सङ्कष्ट सहन तयार हुनु हुन्थ्यो! गेतसमनीको बगैंचामा उहाँको मानसिक क्लेशबारे बाइबल भन्दछ: “अत्यन्त सङ्कष्टमा परेर उहाँले झन परिश्रमसँग प्रार्थना गर्नु भयो, र उहाँको पसीना रगतका ठूला ठूला थोप्ला जस्तै भूइँमा खसिरहेका थिए।” हो, उहाँले “बेसरी कराई, आँसु बगाएर . . . प्रार्थना र अन्तरबिन्ती गर्नु भयो।” (लूका २२:४४; हिब्रू ५:७) उहाँको यस क्लेशबारे अगमवक्ता यशैयाले, यशैया ५३:३-७ मा कस्तो ठीकसँग अग्रिमवाणी गरेका थिए!
१३. येशूले स्वर्गमा हुनु हुने आफ्ना पितालाई आदर गर्ने सम्बन्धमा, कुन राम्रो उदाहरण कायम गर्नु भयो?
१३ स्वर्गमा हुनु हुने आफ्ना पिताको आदर गर्नमा येशूले हाम्रो सामुन्ने सर्वोत्तम उदाहरण कायम गर्नु भएको हुनाकारण पनि उहाँ हाम्रो आदर पाउने योग्यको हुनु हुन्छ। “म आफ्ना पिताको आदर गर्दछु” भन्न येशूलाई सुहाउँद थियो। (यूहन्ना ८:४९) हर समयमा, उहाँले आफ्ना बोली-वचन र काम द्वारा यहोवा परमेश्वरलाई आदर गर्नु हुन्थ्यो। यसैकारण त, उहाँले एक जना मानिसलाई निको पार्नु हुँदा, बाइबलको उल्लेख अनुसार, त्यहाँका मानिसहरूले येशूको महिमा गरेनन् तर “तिनीहरूले परमेश्वरको महिमा गरे।” (मर्कूस २:१२) अतः, उहाँको पार्थिव सेवकाईको अन्तमा, येशूले स्वर्गमा हुनु हुने आफ्ना पितासँग प्रार्थना गर्नु हुँदा, यसो भन्न सक्नु भयो: “तपाईंले मलाई गर्नदिनु भएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरें।”—यूहन्ना १७:४.
उहाँले हाम्रा निम्ति के गर्नु भएको छ
१४. येशूको मृत्युद्वारा हाम्रालागि के सम्पन्न भयो, जसले गर्दा उहाँ हाम्रो आदर पाउने योग्यको हुनु भएको छ?
१४ उहाँले हाम्रा निम्ति सम्पन्न गर्नु भएको सबै कुराको कारण पनि उहाँ हामीबाट आदर पाउन अति नै योग्य हुनुहुन्छ! यहोवा परमेश्वरसँग हाम्रो मेल होस् भनेर उहाँ हाम्रा पापहरूका निम्ति मर्नु भयो। येशूले आफ्नो विषयमा भन्नु भयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैका उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) यस प्रकार, परमेश्वरको राज्यद्वारा हामी मानवहरूका लागि सम्पन्न हुने सबै कुरा येशूको मृत्युले सम्भव पाऱ्यो: उहाँकी दुल्ही हुने वर्गका १४४,००० जनहरूका निम्ति स्वर्गमा अमरत्व; र परीक्षाहरूको सामुन्ने पनि, आफ्नो विश्वास र आज्ञाकारितालाई कायम राख्ने लाखौं अरूहरूका निम्ति चाहिं एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन।—भजनसंग्रह ३७:२९; प्रकाश १४:१-३; २१:३, ४.
१५. येशूले उहाँका पिताको व्यक्तित्व हामीमा प्रकट गरी दिनु भएको एउटा उदाहरण के हो?
१५ येशू ख्रीष्ट आदर पाउने योग्यको यस कारणले पनि हुनु हुन्छ किनभने महान शिक्षक हुनु भएर उहाँले आफ्ना पिताको इच्छा र व्यक्तित्व हाम्रो सामुन्ने सम्पूर्ण ढङ्गमा प्रकाश गराइ दिनु भएको छ। उदाहरणकालागि, डाँड़ाको उपदेशमा, उहाँले आफ्ना पिताको महानतालाई सङ्केत गर्नु हुँदै बताउनु भयो कि उहाँले खराब र असल दुवैका निम्ति वर्षा र सूर्यको ज्योति पठाउने गर्नु हुन्छ। यस पछि उहाँले भन्नु भयो: “जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनु हुन्छ, त्यस्तै तिमीहरू पनि सिद्ध होऊ।”—मत्ती ५:४४-४८.
१६. आदर पाउने योग्यको येशूको जीवन पद्धतिलाई सारांशमा पावलले कसरी प्रस्तुत गरे?
१६ येशू ख्रीष्टले पछ्याउनु भएको आदर-योग्य पद्धतिलाई सारांशमा प्रेरित पावलले यस प्रकार व्यक्त गरे: “उहाँले परमेश्वरको स्वरुपमा भएर परमेश्वरसितै बराबरको हुनालाई [कोशिश गर्नु भएन, न्यु. व.] तर आफूलाई रित्याइकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनु भयो। औ रुपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको [काठको, न्यु. व.] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:५-८.
हामीले पुत्रलाई कसरी आदर गर्न सक्नेछौं
१७, १८. कुन विभिन्न ढङ्गमा येशू ख्रीष्टलाई हामीले आदर गर्न सक्नेछौं?
१७ निःसन्देह, येशू ख्रीष्ट हाम्रो आदर पाउने योग्यको हुनु भएको हुनाकारण, हाम्रो सामुन्ने यो प्रश्न उठ्दछ: हामीले पुत्रको आदर कसरी गर्न सक्छौं? उहाँले हाम्रो छुटकाराका निम्ति दिनु भएको बलिदानमा विश्वास गरेर, पश्चाताप, मन-परिवर्तन, समर्पणा र बप्तिस्मा द्वारा त्यो विश्वासलाई प्रमाणित गर्न सक्तछौं। येशूको नाउँमा यहोवासँग प्रार्थाना गरेर पनि हामी येशूको आदर गर्दछौं। उहाँका यी शब्दहरू प्रयोगमा ल्याउँदा, हामीले उहाँलाई अझ बढ़ी आदर गरेको हुनेछ: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [क्लेशको काठ, न्यु. व.] उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) परमेश्वरको राज्य र उहाँको धार्मिकताको निरन्तर खोजी गर्ने उहाँको उपदेश पालन गरेर चेला बनाउने काममा भाग लिने उहाँको आज्ञा मानेर, हामी येशू ख्रीष्टलाई आदर गर्दछौं। साथै, उहाँका सबै साँचो चेलाहरूमा हुनेछ भनी येशूले भन्नु भएको भातृ-प्रेम व्यक्त गरेर हामी उहाँलाई आदर गर्दछौं।—मत्ती ६:३३; २८:१९, २०; यूहन्ना १३:३४, ३५.
१८ यस बाहेक, हामी उहाँको नाउँबाट परिचित हुँदा अथवा आफूलाई मसीही भनाएर, आफ्नो असल चाल-चलन द्वारा त्यो नाउँ बमोजिम जीवन बिताउँदा, हामी पुत्रको आदर गर्दछौं। (प्रेरित ११:२६; १ पत्रुस २:११, १२) येशूको पाइलामा ठीक-ठीकसँग हिंड्नु भनेर प्रेरित पत्रुसले भने। (१ पत्रुस २:२१) यस प्रकार, हामीले आफ्नो चाल-चलनमा उहाँको अनुकरण गर्यौं भने, हामीले उहाँलाई आदर गर्दछौं। र निश्चय नै, प्रत्येक वर्ष, ख्रीष्टको मृत्युको स्मरणार्थ मनाएर हामी उहाँलाई विशेष आदर दिने गर्छौं।—१ कोरिन्थी ११:२३-२६.
१९, २०. (क) उहाँलाई आदर गर्ने चेलाहरूको सामुन्ने येशूले के इनाम राखिदिनु भएको छ? (ख) पुत्रबारे हामी कुन कुराको विषयमा विश्वस्त हुन सक्तछौं?
१९ उहाँलाई आदर गर्ने मार्ग अनुसार हिंड्ने आफ्ना चेलाहरूका सामुन्ने उहाँले के इनामहरू राखिदिनु भएको छ? उहाँले भन्नु भयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दीदी-बहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड़छ, त्यसले खेदोको साथसाथ सय गुणा बढ़ता घरहरू, र दाज्यू-भाइहरू, र दीदी-बहिनीहरू र आमाहरू, र बालकहरू र जग्गा-जमीन अहिले यही समयमा पाउनेछ र आउँदो जगत्मा अनन्त जीवन।”—मर्कूस १०:२९, ३०.
२० यसबाट यो बुझ्न सकिन्छ कि येशूका खातिर हामीले कुनै कुरा त्याग गर्यौं भने, यसका लागि उहाँले हामीलाई निश्चय नै इनाम दिनु हुनेछ। येशूले हामीलाई यी शब्दहरूमा ढाड़स दिनु हुन्छ: “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु।” (मत्ती १०:३२) यसकारण, जसरी स्वर्गमा हुनु हुने पिताले उहाँलाई आदर गर्नेहरूलाई आदर गर्नु हुनेछ, त्यसरी नै यहोवाका एक मात्र पुत्रले अरू कुराहरूमा गर्नु भए झैं, यस मामला पनि आफ्ना पिताको अनुकरण गर्नु हुनेछ भनी हामी विश्वस्त हुन सक्तछौं। (w 02/01/91)
तपाईं कसरी जवाफ दिनु हुन्छ?
◻ मसीही जगतमा धेरैले पुत्रलाई कसरी अनादर गर्छन्?
◻ मानिस भएर आउनु अघि उहाँ स्वर्गमा हुनुहुन्थ्यो भन्ने विषयमा येशूले के प्रमाण प्रस्तुत गर्नु भएको छ?
◻ येशूलाई आदर गर्ने केही कारणहरू के हुन्?
◻ येशूलाई आदर गर्ने केही तरीकाहरू के हुन्?
◻ येशू ख्रीष्टलाई आदर गर्नाले, के कस्ता लाभहरू उठाउन सकिन्छ?