एउटी विधवी भएता पनि, मैले साँचो ढाडस पाएँ
लिली आर्थरको बयान
भारतको ओटाकामण्ड भन्ने शहरको एउटा क्षेत्रमा यहोवाका एक जना जवान सेवक घर-घर सेवकाईमा गइरहेका थिए। चलन अनुसार यस प्रकारका कुनै अनजान मानिसकालागि आइमाईहरूले ढोका खोल्दैन थिए। केही घण्टा पछि, थकित र केही निरासित भएर, तिनी घरतर्फ जान हिंड़े। तर, छेउको एउटा अर्को घरमा गइहालुँ भनी मनमा प्रेरणा आएकोले तिनी रोकिए। यस पछि के भयो, तिनकालागि त्यस घरको ढोका खोलिदिने आइमाईले गरेको वर्णनबाट हेर्नुहोस्।
दुई महिनाकी मेरी सानी छोरीलाई काखमा र २२ महिना पुगेको छोरालाई छेउमा लिएर झट्ट मैले ढोका खोलें र एउटा अनजान मानिसलाई त्यहाँ उभिरहेको देखें। ठीक एक रात पहिले म अति नै चिन्तित थिएँ। ढाडस खोज्दै, मैले प्रार्थना गरेको थिएँ: “स्वर्गीय पिता, तपाईंको वचन द्वारा मलाई ढाडस दिनुहोस्।” र अहिले म छक्क परें, जब ती अनजान व्यक्तिले व्याख्या गरे: “परमेश्वरको वचनबाट तपाईंका निम्ति ढाडस र आशाको सन्देश मैले ल्याएको छु।” मलाई यस्तो लाग्यो कि तिनी परमेश्वरले नै पठाउनु भएको एउटा अगमवक्ता हुन्। तर कुन परिस्थितिले गर्दा मैले मद्दतकालागि प्रार्थना गर्नु परेको थियो?
बाइबलमा पाइने सत्यहरू सिक्दै
दक्खिन भारतको सुन्दर नीलगिरि पहाड़मा स्थित गुदालुर भन्ने गाउँमा १९२२ मा मेरो जन्म भएको थियो। म तीन वर्षकी हुँदा नै मेरी आमाको मृत्यु भयो। मेरा पिताले, जो एउटा प्रोटेस्टैन्ट पादरी हुनुहुन्थियो, पछि फेरि विवाह गर्नुभयो। हामी बोल्न थाल्ने हुने बित्तिकै, पिताजीले मेरा भाइहरू र बहिनीहरू र म समेतलाई प्रार्थना गर्न सिकाउनु भयो। पिताजी आफ्नो मेचमा बसेर बाइबल पढ़नुहुँदा, चार वर्षको उमेरमा, म चाहिं भुइँमा बसेर मेरो आफ्नो बाइबल पढ़ने गर्थिएँ।
ठूलो भए पछि, म एउटा शिक्षिका भएँ। अनि २१ वर्षको हुँदा, पिताजीले मेरो विवाह गराइ दिनुभयो। हाम्रो पहिले एउटा छोरा, सुन्दर, र पछि एउटी छोरी, रत्ना जन्मी। रत्ना जन्मने बेलामा, मेरा पति साह्रै बिरामी हुनुभयो, र केही समय पछि उहाँको मृत्यु भयो। २४ वर्षकै उमेरमा, अचानक म विधवी भएँ र दुई जना केटा-केटीहरूको जिम्मावारी बोक्नु पऱ्यो।
त्यस पछि मलाई आफ्नो वचन द्वारा ढाडस दिनुहोस् भनी परमेश्वरसँग आग्रहसाथ बिन्ती गर्न थालें, र त्यसैको दोस्रो दिन यहोवाका साक्षीहरूका एक जना सेवक आइपुगे। मैले तिनलाई भित्र बोलाएँ र “लेट गड बी ट्रु” भन्ने पुस्तक लिएँ। त्यस राती त्यसलाई पढ़दा, यहोवा भन्ने नाउँ बार-बार त्यहाँ देखें। मेरो लागि यो नाउँ बिल्कुलै नौलो थियो। पछि ती सेवक फर्केर आए र त्यो परमेश्वरको नाउँ हो भनी बाइबलबाट मलाई देखाए।
चाँड़ै नै, त्रिएक र नरक-कुण्ड जस्ता शिक्षाहरू बाइबल आधारित रहेनछन् भनी मैले बुझें। परमेश्वरको राज्य अन्तर्गत पृथ्वी एउटा प्रमोदवन बन्नेछ र मरेका प्रियजनहरूको पुनरुत्थान हुनेछ भनी बुझ्दा मलाई धेरै नै ढाडस र आशा भयो। सबै भन्दा महत्त्वपूर्ण कुरा, मेरो प्रार्थनालाई सुनी दिनु हुने र मलाई सहारा दिनु हुने साँचो परमेश्वर यहोवालाई मैले चिन्न र प्रेम गर्न सकें।
यस नया ज्ञानलाई अरूहरूसित पनि बाँट्दै
परमेश्वरको नाउँ भएका बाइबल पदहरू पढ्न कसरी छुटेछ भनी मलाई आश्चर्य लाग्न थाल्यो। र एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवनको स्पष्ट आशा मैले बाइबल पढ्दा किन देख्न सकिन? प्रोटेस्टैन्ट पादरीहरू द्वारा संचालित स्कूलमा म पढ़ाउँदथिए, त्यसकारण बाइबलका ती पदहरू मैले स्कूलका मैनेजरलाई देखाएँ। (प्रस्थान ६:३; भजनसंग्रह ३७:२९; ८३:१८; यशैया ११:६-९; प्रकाश २१:३, ४) हामीहरूले कसो कसो ती पदहरूलाई ध्यान दिएन छौ भनी मैले भनें। तर त्यस कुराबाट तिनी खुशी नभएको देख्दा मलाई अचम्म लाग्यो।
ती बाइबल पदहरूलाई उद्धृत गर्दै मैले स्कूलकी प्रिन्सिपललाई लेखें, जो अर्कै शहरमा थिइन्। उहाँसँग कुरा गर्ने मौका पाउँ भनी अनुरोध गरें। उहाँका पिता, बेलाइत एउटा प्रमुख पादरी भएको हुनाले, मसित त्यस विषयमा छलफल गर्नेछन् भनी तिनले जवाफ पठाइन्। प्रिन्सिपलका भाइ पनि एउटा प्रमुख बिसप थिए।
मैले सबै बुँदाहरू र शास्त्रीय पदहरू र “लेट गड बी ट्रु” भन्ने मेरो पुस्तक र बच्चाहरू समेत लिएर त्यो अर्को शहरमा गएँ। यहोवा को हुनुहुन्छ, र त्रिएक भन्ने कुरा छैन, र अन्य अरू कुराहरू जो मैले सिकेकी थिएँ, सबै नै बड़ो उत्साहका साथ मैले व्याख्या गरें। तिनीहरूले केही बेरसम्म सुनिरहे तर एक शब्द पनि भनेनन्। अनि बेलाइतका पादरीले भने: “म तिम्रो निम्ति प्रार्थना गर्छु।” अनि त्यति नै खेर, तिनले मेरो लागि प्रार्थना गरे र मलाई पठाइ दिए।
सड़कमा प्रचार
एक दिन, यहोवाका साक्षीहरूका ती सेवकले वाचटावर र अवेक! पत्रिका लिएर सड़कमा उभेर प्रचार गर्न मलाई आमंत्रित गरे। त्यो त म कहिले पनि गर्न सक्ने छैन भनी मैले तिनलाई भनें। भारतमा, सड़कमा उभिने र घर-घर जाने आइमाईबारे मानिसहरूले राम्रो सोंच्दैनन्। यसबाट आइमाईको आफ्नै र साथै उसको परिवारको प्रतिष्ठामा धक्का लाग्दछ। म आफ्नो पितालाई असाध्यै माया गर्दथिएँ र उहाँको आदर पनि गर्दथिएँ। उहाँको बदनामी हुने कुनै काम म गर्न चाँहदैन थिएँ।
तर ती सेवकले बाइबलको एउटा पद देखाए, जसमा भनिएको छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।” (हितोपदेश २७:११, किंग जेम्स भर्सन) तिनले भने: “तपाईं उहाँ र उहाँको राज्यको पक्षमा हुनुहुन्छ भनी खुला रूपले जनाउनु भयो भने तपाईंले यहोवाको हृदयलाई खुशी पार्नु हुनेछ।” यहोवाको हृदयलाई खुशी पार्नु भन्दा अरू कुनै कुराको चाहना नराखेर, आफ्नो प्रचार ब्याग उठाएँ र सड़कमा प्रचार कार्यकालागि तिनीसँगै गएँ। त्यो मैले कसरी गर्न सकें अझै म कल्पना गर्न सक्तिनँ। यो घटना १९४६ सालमा, तिनीसँग भेट भएको करीब चार महिना पछिको कुरा हो।
डरमाथि विजयी हुने प्रोत्साहन पाएँ
भारतको पूर्वी किनार स्थित, मद्रास शहर बाहिर, १९४७ मा एउटा शिक्षिकाको काम मैले स्वीकार गरें, र छोरा-छोरीहरूलाई लिएर त्यहाँ सरें। त्यस शहरमा यहोवाका साक्षीहरूका आठ जनाको एउटा सानो समूह नियमित रूपले भेला हुन्थिए। त्यस सभामा सम्मिलित हुन, हामीले २५ किलोमिटर टाढ़ा जानु पर्थ्यो। त्यस बेला भारतमा, आइमाईहरू अक्सर एकलै यात्रा गर्दैनथिए। तिनीहरूलाई लोग्ने मान्छेहरूले साथमा लानु पर्दथियो। बसमा कसरी चढ़ने, टिकट कसरी माग्ने, बसबाट कसरी ओर्लने, इत्यादि कुराहरू मलाई केही थाहा थिएन। मैले यहोवाको सेवा गर्नु पर्ने हो भन्ने भावना मनमा त आउँद थियो तर सेवा गर्ने कसरी? अतः म प्रार्थना गर्दथिएँ: “यहोवा परमेश्वर, तपाईंको सेवा नगरी म बस्न सक्तिनँ। तर एउटी भारतीय नारी भएकी हुनाले घर-घर गएर प्रचार गर्ने काम मेरालागि बिल्कुलै असम्भव छ।”
यस प्रकारको द्वन्दबाट छुटकारा पाउन बरू यहोवाले मलाई मर्न दिनु भए पनि हुन्थियो जस्तो लाग्दथियो। तथापि, बाइबलबाट केही पढ़ने निर्णय मैले गरें। म यर्मियाको पुस्तक खोल्न पुगेछु, जहाँ भनिएको छ: “‘मता बच्चै छु,’ भनी नभन्, किनकि जसकहाँ म तँलाई पठाउनेछु ती सबैकहाँ तँ जानैपर्छ। औ जे जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ। तिनीहरूसँग नडरा, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु।”—यर्मिया १:७, ८.
यहोवा मसँगै बोलिरहनु भए जस्तो मलाई लाग्यो। अतः हिम्मतका साथ, तुरन्तै उठेर लुगा सिउँने कल निर गएँ र पत्रिकाहरू बोक्ने ब्याग सिएँ। एकाग्रचित्तका साथ प्रार्थना गरेर, घर-घर प्रचार कार्यमा म एक्लै गएँ, मसित भएका सबै साहित्यहरू बितरण गरें, र त्यसै दिनमा एउटा बाइबल अध्ययन पनि शुरू गरें। मैले आफ्नो जीवनमा यहोवालाई प्रथम स्थान दिने निर्णय गरें, र उहाँमाथि मैले आफ्नो पूरा विश्वास र भरोसा राखें। अरूहरूबाट निन्दा सुनेर पनि आम प्रचार कार्य मेरो जीवनको एउटा अभिन्न अङ्ग हुनगयो। विरोधको बावजुद, मेरो गतिविधिले कतिमाथि त निकै नै प्रभाव पाऱ्यो।
धेरै वर्ष पछि म र मेरी छोरी मद्रासमा घर-घर प्रचारमा जाँदा यो कुरा प्रदर्शित भएको थियो। एक जना हिन्दू भद्र पुरुषले, जो उच्च न्यायालयका न्यायाधीश थिए, मेरो उमेरबारे गलत अन्दाज लगाउँदै यसो भने: “ तिमी जन्मिनु भन्दा अघि देखि म यी पत्रिकाहरूबारे जान्दछु! तीस वर्ष अघि एक जना आइमाई नियमित रूपमा माउन्ट रोडमा उभिएर यी पत्रिकाहरू दिने गर्थिन्।” तिनी वार्षिक ग्राहक हुन चाहन्थिए।
एउटा अर्को घरमा, एक जना ब्राह्मणले, जो अवकाश प्राप्त अधिकारी थिए, हामीलाई घर भित्र बोलाए र भने: “धेरै धेरै वर्ष अघि एक जना आइमाईले माउन्ट रोडमा द वाचटावर दिने गर्थिन्। तिनको खातिर, तपाईं जे दिंदै हुनुहुन्छ त्यसलाई म लिनेछु।” म मुसुक्क हाँसे, किनकि ती दुवै महानुभावहरूले सङ्केत गर्नु भएकी महिला म नै थिएँ।
बलियो भएँ र आशिष् पाएँ
१९४७ को अक्टोबर महिनामा पानीमा बप्तिस्मा लिएर मैले यहोवा प्रतिको आफ्नो समर्पणा जाहेर गरें। त्यस बेला सारा प्रान्तमा म एक जना मात्र तामिल बोल्ने महिला साक्षी थिएँ, तर आज सैकडों तामिल आइमाईहरू यहोवाका वफादार र सक्रिय साक्षीहरू छन्।
मैले बप्तिस्मा लिए पछि, चारै तर्फबाट विरोध आउन थाल्यो। मेरो भाइले लेखे: “तपाईंले सारा मान-मर्यादा र लोक-लाजको रेखा नाँघ्नु भएको छ।” मैले काम गर्ने स्कूल र समाजबाट पनि विरोध पाउन थालें। तर निरन्तर, एकाग्रचित्तसाथ प्रार्थना द्वारा म झनै यहोवाको नजिक टाँसिन थालें। मध्य रातमा जागें भने, तुरन्त उठेर मटीतेलको बत्ती बालेर पढ्न थाल्थिएँ।
जति म विश्वासमा बलियो हुँदै गएँ, त्यत्ति नै अरूहरूलाई राम्ररी ढाडस दिन र मद्दत गर्ने अवस्थामा भएँ। म सँग अध्ययन गर्ने एक जना प्रौढ हिन्दू महिलाले यहोवाको उपासना गर्ने दृढ़ फैसला गरिन्। तिनको मृत्यु पछि, त्यस घरकी अर्की आइमाईले भनिन्: “तिनले उपासना गर्न रोजेका परमेश्वर प्रति अन्तिम घड़ीसम्म तिनी भक्त भएको देखेर हामी धेरै नै आनन्दित भयौं।”
अर्की एउटी महिला जोसँग म अध्ययन गर्थिएँ, तिनी कहिले मुस्काउँदैन थिइन्। तिनको चेहरामा सँधै नै चिन्ता र बिस्मात देखिन्थियो। तर यहोवाबारे तिनलाई सिकाए पछि, उहाँसँग प्रार्थना गर्न मैले तिनलाई प्रोत्साहित पारें, किनकि उहाँ हाम्रो दुःख जान्नुहुन्छ र हाम्रो हेरविचार गर्नुहुन्छ। अर्को साता तिनको चेहरा प्रफुल्लित थियो। तिनी मुस्काएकी मैले त्यो प्रथम पटक देखें। तिनले व्याख्या गरिन्: “मैले यहोवालाई प्रार्थना गरिरहेकी छु र मेरो मनमा र हृदयमा शान्ति छाएको छ।” तिनले आफ्नो जीवन यहोवालाई समर्पण गरिन् र धेरै नै कठिनाइहरू हुँदाहुँदै पनि, तिनी आजसम्म वफादार रहेकी छिन्।
जिम्मावारीहरूलाई सन्तुलन गर्दै
दुइटा साना नानीहरूको हेरविचार गर्नु पर्ने भएको हुनाले, अग्रगामी भएर पूर्ण समय यहोवाको सेवामा लगाउने मेरो आकांक्षा पूर्ण हुन सम्भव हुनेछैन भन्ने मलाई अनुभव हुन्थियो। तर त्यसै बेला सेवा गर्ने एउटा नया बाटो खुल्यो। बाइबल साहित्यहरूलाई तामिल भाषामा अनुबाद गर्न सक्ने व्यक्तिको आवश्यकता पऱ्यो। यहोवाको मद्दतले मैले त्यो जिम्मावारी लिन सकें र साथै एउटा शिक्षिकाको काम, छोरा-छोरीहरूको हेरचाह, घरको कामकाज, सबै सभाहरू धाउँन, र क्षेत्र सेवकाईको काम समेत भ्याउन सकें। आखिरमा, जब छोरा-छोरीहरू ठूला भए, म एक जना विशेष अग्रगामी भएँ र यो सौभाग्यबाट आनन्द उठाउन पाएको अब ३३ वर्ष भइ सक्यो।
सुन्दर र रत्ना कम उमेरका हुँदैमा तिनीहरूमा यहोवाका निम्ति प्रेम बसाल्ने र उहाँसँग सम्बन्धित् कामकुरालाई सदा प्रथम स्थान दिने इच्छा तिनीहरूको मनमा जगाउने प्रयत्न मैले गरें। बिहान तिनीहरू जाग्नासाथै, सर्व प्रथम यहोवासँग बोल्नु पर्दछ र सुत्न जानु भन्दा अघि पनि उहाँ सित नै कुरा गर्नु पर्ने हो भनी तिनीहरूलाई थाह भयो। स्कूलको पाठ तयार गर्नु पर्ने हुनाले, मसीही सभाहरू र क्षेत्र सेवकाईको उपेक्षा गर्नु हुँदैन भन्ने कुरा पनि तिनीहरूलाई थाह थियो। स्कूलको पढ़ाइमा जहाँसम्म हुन सक्दछ राम्रै गर्ने प्रोत्साहन म तिनीहरूलाई दिन्थिएँ, तर तिनीहरूले उच्च श्रेणी ल्याउनै पर्छ भनी म कहिले तिनीहरूलाई ढिप्पी गर्दिन थिएँ, कारण त्यसैलाई नै तिनीहरूले आफ्नो जीवनको सबै भन्दा महत्त्वपूर्ण कुरा ठानेको म चाहँदिन थिए।
तिनीहरूको बप्तिस्मा भए पछि, स्कूलको छुट्टीको समयमा तिनीहरू अग्रगामीको काम गर्दथिए। मैले रत्नालाई म जस्तो कातर र लाज मान्ने हुनुको सट्टा, साहसी हुनु भनी प्रोत्साहित गर्थिएँ। हाईस्कूलको र बाणिज्य सम्बन्धी आफ्नो पढ़ाइ समाप्त गरी सके पछि, उसले अग्रगामी सेवा शुरू गरी, र पछि गएर उ विशेष अग्रगामी भइ। केही समय पछि, उसले एक जना परिभ्रमण अध्यक्ष, रिचार्ड गेब्रियल सँग विवाह गरी, जो अहिले वाचटावर सोसाइटी, भारत शाखाको शाखा समन्वयकर्त्ता (ब्राञ्च कोओर्डिनेटर) हुनुहुन्छ। तिनीहरू र तिनकी छोरी, अबिगेल, भारतीय शाखामा पूर्ण समय सेवामा बिताउँछन्, र तिनका छोरा, एन्ड्रू सुसमाचारका एउटा प्रकाशक छन्।
सुन्दरले १८ वर्षको उमेरमा, यहोवाका साक्षीहरूसँग सङ्गत गर्न छाड़ि दिएको हुनाले मेरो हृदयलाई अति नै चोट पुग्यो। त्यस पछिका वर्षहरू मेरालागि साह्रै नै दुःखदायी थिए। त्यसलाई हुर्काउनमा जे पनि कमी ममा भयो होला, त्यसकालागि यहोवासित निरन्तर क्षमा मागीनै रहें र सुन्दरमा सुबुद्धि आएर त्यो फेरि फर्केर आओस् भनी सदा प्रार्थना गरी रहें। तर, समयको दौड़ानमा, मेरा सारा आशा हराए। अनि एक दिन १३ वर्ष पछि, उसले आएर मलाई भन्यो: “आमा, चिन्ता नगर्नुहोस्, म ठीक भइहाल्छु।”
त्यस पछि चाँड़ै नै, आत्मिक रूपमा परिपक्व हुने विशेष प्रयास सुन्दरले गर्नथाल्यो। यहोवाका साक्षीहरूको एउटा मण्डलीको हेरचाह गर्ने जिम्मावारी पाउने लायक स्थितिमा उ पुग्न सक्यो। पछि आफ्नो राम्रो तलब पाउने जागिर छाड़ेर उ एउटा अग्रगामी भयो। अहिले उ र उसकी पत्नी, एस्थर दुवै मिलेर, दक्खिन भारतको बङ्गलौर शहरमा यहोवाको सेवा गरिरहेकाछन्।
जीवनभरिको ढाडस
वषौंसम्म दुःख र कष्ट उठाउनु परेकोमा अक्सर म यहोवालाई धन्यवाद चढ़ाउँछु। यस प्रकारको अनुभव बिना, यहोवाको यतिका भलाइ, दया, कोमल हेरचाह, र मायाको अमूल्य सौभाग्यको स्वाद लिन पाउने थिइन। (याकूब ५:११) “टुहुरा-टुहुरी र विधवाका निम्ति” यहोवाले गर्नुहुने हेरचाह र फिक्री बारे बाइबलमा पढ्न पाउँदा हृदय गद्गद् भएर आउँछ। (व्यवस्था २४:१९-२१) तर यथार्थमा उहाँको हेरचाह र फिक्री आफैले अनुभव गर्न पाउँदाको आनन्द र ढाडसको तुलनामा ती पढ़ेका कुरा त केही होइनन्।
आफ्नो समझ-शक्तिमा भरोसा नगरेर, आफ्नो सबै चालमा उहाँलाई सम्झँदै, यहोवामाथि आफ्नो सारा भरोसा र विश्वास राख्न मैले सिकेकी छु। (भजन ४३:५; हितोपदेश ३:५, ६) म एउटी तरूणी विधवी भएकी हुँदा, उहाँको वचनबाट ढाडसका निम्ति मैले परमेश्वरसँग प्रार्थना गरें। अब अहिले, ६९ वर्षको उमेरमा, म सत्यताका साथ भन्न सक्तछु कि बाइबललाई राम्ररी बुझेर र त्यसका सल्लाहहरूलाई प्रयोग गरेर, मैले अतुलनीय ढाडस पाएकी छु। (w91 2/1)
[पृष्ठ २७-मा भएको चित्र]
लिली आर्थर आफ्ना परिवारका सदस्यहरूका साथ