हामीहरूलाई विश्वास र बुद्धि किन चाहिन्छ
याकूबको पत्रको विवरणिका
परीक्षामा पर्दा यहोवाका सेवकहरूलाई धीरजको आवश्यकता पर्दछ। ईश्वरीय असम्मति हुने किसिमको पापबाट हामीहरू अलग रहने कोशिश गर्नु पर्छ। याकूबको पत्रमा यस प्रकारका बुँदाहरूमा जोर दिइएको छ, र त्यस तर्फ सकारात्मक रूपमा केही गर्ने हो भने सकृय विश्वास र माथिबाट आउँने ज्ञानको आवश्यकता पर्ने छ।
यस पत्रका लेखकले आफूलाई याकूब नाउँ भएका येशूका दुई प्रेरितहरू मध्य भनेर नचिनाएर बरू ‘परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक’ भनेका छन्। त्यसै गरी, येशूका सौतेनी भाइ यहूदाले पनि आफूलाई “येशू खीष्टको दास, र याकूबको भाइ” भनेर सम्बोधन गरेका छन्। (याकूब १:१; यहूदा १; मत्ती १०:२, ३) त्यसकारण, याकूबको नाउँ भएको यो पत्र येशूका सौतेनी भाइ याकूबलेनै लेखेको हो भनेर स्पष्ट छ।—मर्कूस ६:३.
यस पत्रमा ७० सी. ई. मा यरुशलेमको नाश भएको कुरा उल्लेख छैन, र इतिहासकार जोसेफसका अनुसार ६२ सी. ई. तीर रोमी अधिकारी फेस्टसको मृत्यु पश्चात्नै याकूब शहीद भएका थिए। त्यसकारण, यो पत्र ६२ सी. ई. भन्दा पहिले लेखिएको थियो भन्ने स्पष्ट हुन्छ। यो पत्र आत्मिक इस्राएलका “बाह्रै कुललाई” लेखिएको थियो, किनभने यो पत्र “हाम्रा प्रभु येशू ख्रीष्टको विश्वास” थामीराख्नेहरूका लागि थियो।—याकूब १:१; २:१; गलाती ६:१६.
याकूबले उदाहरणहरू प्रयोग गरेको हुनाले उनले दिएको सल्लाह याद राख्नुमा हामीलाई मदद मिल्दछ। उदाहरणकालागि, परमेश्वरसँग बुद्धि माग्नेले सन्देह गर्नु हुँदैन, “किनकि सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहर समान हुन्” भनेर उनले दर्शाएका छन् (१:५-८) हाम्रो जिब्रोलाई तह लाउन पर्दछ किनभने यसले एउटा कर्णले एउटा जहाजलाई आफ्नो मनलागेको दिशातिर लगेजस्तै हाम्रो जीवनलाई निर्देशित गर्न सक्दछ। (३:१, ४) फलको आशा गरेर किसानले पर्खी रहे जस्तै परीक्षाको मुकाबिला गर्न, हामीले धैर्य धारण गर्नु पर्छ।—५:७, ८.
विश्वास, परीक्षाहरू, र कामहरू
परीक्षाहरूमा पर्दा पनि हामी मसीहीहरू आनन्दित हुन सक्दछौं भनेर याकूबले प्रथमत: देखाउँदछन्। (१:१-१८) बिरामीहरू जस्ता परीक्षाहरू सबै मानवमाथि आइ पर्दछ, तर परमेश्वर र ख्रीष्टका सेवकको हैसियतमा मसीहीहरूले दु:ख भोग्नु पर्दछ। यदि विश्वासका साथ हामीहरूले यहोवासँग धैर्य धारण गर्ने बुद्धि माँगीरह्यौं भने उहाँले आवश्यक बुद्धि दिनु हुनेछ। उहाँले हामीहरूलाई कहिले पनि खराब कुराहरूबाट परीक्षा गर्नु हुन्न, र जे असल छ सो उहाँले दिनु हुनेछ भनेर उहाँमाथि भरोसा गर्न सक्छौं।
परमेश्वरबाट मदद पाउँने हो भने, विश्वास प्रदर्शित हुने कामहरू द्वारा हामीहरूले उहाँको उपासना गर्नु पर्दछ। (१:१९–२:२६) यसको अर्थ हामीहरू “वचनको पालन गर्ने” हुनु पर्छ, सुन्ने मात्र होइन। जिब्रोमा लगाम लाउँनु पर्छ, अनाथ र विधवाहरूलाई हेरचाह गर्नु पर्छ, आफूलाई दुनियाँबाट निष्कलङ्क राख्नु पर्दछ। यदि हामीहरूले धनीलाई आदर र गरीबलाई अनादर गरेर पक्षपात देखायौं भने प्रेम सम्बन्धी “शाही व्यवस्था” लाई भङ्ग गरेको हुनेछ। हामीहरूले यो पनि याद राख्नु पर्छ कि विश्वास कामले देखिन्छ, जस्तो कि अब्राहाम र राहाबका उदाहरणहरूले राम्ररी दर्शाएको छ। वास्तवमा, “विश्वास पनि काम विना मरेको हुन्छ।”
माथिबाट आउने ज्ञान र प्रार्थना
शिक्षकहरूलाई आफ्नो कर्त्तव्य निभाउँन दुवै विश्वास र बुद्धिको आवश्यकता पर्नेछ। (३:१-१८) उपदेश दिनेहरूको ठूलो जिम्मेवारी हुन्छ। तिनीहरू जस्तै, हामीहरूले पनि आफ्नो जिब्रोलाई तह लाउनु पर्छ—जुन कुराको मदद हामीहरूलाई माथिबाट आउँने बुद्धिले दिनेछ।
सांसारिक दृष्टिकोण राख्नाले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई बिगार्नेछ भनेर बुझ्न ज्ञानले हामीलाई मदद दिनेछ। (४:१–५:१२) यदि हामीले आफ्नै स्वार्थपूर्ण उद्देश्य प्राप्तिकालागि झगड़ा गर्दछौं वा आफ्नो भाइलाई दोष लगाउँछौं भने, हामीहरूले पश्चाताप गर्नु पर्दछ। र यो संसारसँगको मित्रताबाट अलग हुनु कत्ति महत्वपूर्ण छ, किनभने त्यो आत्मिक व्यभिचार हो! भौतिक कुराहरूको योजना बनाएर हामीहरूले परमेश्वरको इच्छालाई उपेक्षा गर्नु भएन, र एकअर्काको विरुद्धमा अधैर्य र धोको गर्नु भएन।
आत्मिक रूपले कोही बिरामी छन् भने मण्डलीको धर्म-गुरुहरूको मदद लिनु पर्छ। (५:१३-२०) यदि पापै गरिएको छभने पनि तिनीहरूको प्रार्थना र बुद्धिमत्तापूर्ण सल्लाहले पश्चाताप गर्ने पापीको आत्मिक स्वास्थ्य निको हुनुमा मदद मिल्नेछ। वास्तवमा, “जसले एउटा पापीलाई त्यसको (गलती गर्नेको) कुमार्गबाट फिराएर ल्याउँछ, त्यसले एक आत्मालाई (आत्मिक र अनन्त) मृत्युबाट बचाउनेछ।” (W91 3/15)
[पृष्ठ २९-मा भएको पेटी]
वचन पालन गर्ने: हामीहरू “वचन पालन गर्ने हुनु पर्छ, र सुन्ने मात्र होइन।” (याकूब १:२२-२५) मात्र वचन सुन्नेहरू “आफ्नो स्वभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो हुन्।” एकछिन् मुख हेरेर, त्यो आफ्नो बाटो लाग्छ “र कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ।” तर ‘वचन अनुसार काम गर्ने’ चाहिं, मसीहीले गर्नु पर्ने परमेश्वरको सबैनै सिद्ध, वा पूर्ण नियममा सावधानीपूर्वक ध्यान दिन्छ। उ “त्यसैमा लागि रहन्छ”, र त्यो नियमलाई जाँच गरी रहन्छ ताकि त्यस मार्गमा हिड़नकालागि कुनै सुधारको आवश्यकता छभने सुधार गर्न सकोस्। (भजनसंग्रह ११९:१६) “वचन अनुसार काम गर्ने” मानिस ऐनामा मुख हेर्ने र कस्तो मानिस थिएँ भनी बिर्सि हाल्ने मानिस भन्दा कसरी भिन्न छ? किन, वचन अनुसार काम गर्नेले यहोवाको वचनलाई प्रयोगमा ल्याउँछ र पालन गरेमा ठूलो इनाम पाउँछ!—भजनसंग्रह १९:७-११.