बिमारी र मृत्युका विरुद्धमा लड़ाइँ के त्यसमाथि विजय प्राप्त हुँदैछ?
बिमारी पनि हुने छैन, मृत्यु पनि हुने छैन! धेरै मानिसहरूका लागि यो कुरा दिवा-स्वप्न जस्तो लाग्ला। किनभने, चिकित्सक तथा जीवाणु शास्त्रका प्राध्यापक वेड डब्लु. ओलिभरले लेखे: “लिखित इतिहासको शुरुआत देखिन्, रोगले मानव जातिको नियतिमाथि अगण्य रूपमा प्रभाव पार्दै आएको छ . . . ठूला महामारीहरू भयानक बेगले मानिसमाथि एक्कासी आइलागेका छन् . . . बिमारी उसका कदमहरूका पछि पछि सदानै लागि रहेको छ।”
एउटा उग्र परिवर्तन आउँनै लागेको छ भनी विश्वास गर्ने के कुनै कारण छ? के चिकित्सा विज्ञानले सबैनै बिमारीहरू र सम्भवतः मृत्यु समेतलाई हटाउनै आँटेको छ?
रोगका विरुद्धको सङ्घर्षमा चिकित्सकहरू र अनुसन्धानकर्त्ताहरूले निस्सन्देह उल्लेखनीय काम गरेका छन्। १९ वीं शताब्दीको अन्त तिर हैजाको अन्ततोगत्वा सफल इलाज, वा भयानक चेचक (माई) रोगको विरुद्धमा दिइने टीकाको विकाश गरिएकोमा कुन जानकार मानिस कृतज्ञ न होला? १७९६ मा एड्वर्ड जेनरले गाइमा हुने कम खतरनाक बिफरको घाउबाट यो टीकाको विकाश गरेका थिए। १८०६ मा, संयुक्त राष्ट्रका राष्ट्रपति थोमस जेफरसनले जेनरलाई लेखेको यस पत्रमा धेरै मानिसहरूका भावनाहरूलाई पनि व्यक्त गरिएको थियो: “तपाईं कुनै जमानामा बाँच्नु भएको थियो भनेर मानव-जातिले कहिले पनि बिर्सिने छैन। यस विषयमा तपाईं निर्धक्क हुन सक्नु हुन्छ।”
साथै, डिफ्थिरिया (भ्यागुते रोग) र पोलियोमाइलाइटिस (वाल्यवात) जस्ता रोगहरूका सम्बन्धमा गरिएका सफल चिकित्सा अनुसन्धानका लागि पनि हामीले सकारात्मक र कृतज्ञ भावनाहरू व्यक्त गर्नु पर्दछ। हृदय रोग र क्यान्सरका इलाजसँग सम्बन्धित हालसालै भएको आधुनिक प्रगतिको प्रशंसा न गर्ने मानिसहरू कति जना होलान् र? तरपनि, हृदय रोग र क्यान्सरले मानिसहरू अझै मरिरहेकै छन्। सारा रोग र बिमारीलाई हटाउने लक्ष्य अझ पनि निकैनै अप्राप्य साबित भएको छ।
“नया” रोगहरू
कस्तो बिरोधाभासको कुरा छ भने, कैट स्केनहरू र पुनर्रचनात्मक शल्य-चिकित्साको आविष्कारलाई देख्ने आजको युगले, लिजोनिएर्स भन्ने रोग, टक्सिक शक सिन्ड्रोम र अति प्रचारित ज्यानमारा रोग एड्स जस्ता “नया” रोगहरू शुरु भएको पनि देखेको छ।
तर यी रोगहरू आखिर कतिका नया हुन् भनी धेरैले सोध्ने गर्छन्। यु. एस. न्युज एण्ड वर्ल्ड रिपोर्टमा छापिएको एउटा लेखले टिप्पणी गर्दछ कि, धेरै समय देखिन् रहिरहेका रोगहरूको अझ राम्रोसँग छानबिन गरे पछि, तिनीहरूलाई नया नाउँ दिइएका छन्। उदाहरणकालागि, लिजिनेर्स भन्ने रोग बारे प्रथम पटक १९७६ मा पता लगाइयो तर त्यति बेला गलत निरुपणको कारण त्यसलाई भाइरल निमोन्या भनी ठानिएको हुन सक्छ। त्यसैगरी, टक्सिक शक सिन्ड्रोमलाई गलतीले पहिले स्कार्लेट फिवर (ज्वरो, घाँटीको दुखाइ र जिउभरि चिलाउने रातो दाग हुने एक प्रकारको सरुवा रोग) भनिएको थियो होला।
तरैपनि, कतिपय व्यथाहरू वास्तवमा नया हुन् भन्ने कुरामा कुनै शङ्कानै छैन। यी मध्ये एड्स निस्सन्देह सबै भन्दा प्रमुख हो। पंगु पारि दिने यो घातक रोग सर्वप्रथम १९८१ मा थाह लग्यो। अर्को कम प्रचलित “नया” रोग ब्राजिलियन परपुरिक फिवर (छालामा प्याजी टाटो निस्कने र ज्वरो आउने रोग) हो। यसबारे ब्राजिलमा १९८४ मा थाह लाग्यो र यस रोगले ग्रस्त भएका ५० प्रतिशत मानिसहरू मर्दछन्।
निराकरणको थाहापत्तोनै छैन
अतः, मानिसहरूले कतिनै प्रयास गरेता पनि, मानवीय पीड़ाहरूको पूर्ण र स्थायी निराकरणको थाहापत्तोनै छैन। यो साँचो हो कि १९९० देखिन् सरदर मानव जीवन-आयु करीब २५ वर्षले बढ़ेको छ। तर यो बृद्धि विशेषगरी बाल मृत्यु-दरको खतरालाई कम गर्ने औषधीय तकनिकिले गर्दा भएको हो। मानिसको जीवन अवधी अझै बाइबलमा भनिएको “तीन कोरी र दस वर्ष” जतिनै छँदैछ।—भजनसंग्रह ९०:१०, किंग जेम्स भर्सन.
त्यसकारण १९८७ को दिसम्बरमा, ११४ वर्षीया अन्ना विलिएम्सको मृत्यु हुँदा, त्यो एउटा विशेष समाचार हुन गयो। कुमारी विलिएम्सको मृत्युबारे टिप्पणी गर्दै, एक जना पत्रकारले लेखे: “सम्भवतः मानव जीवनको आयुको माथिल्लो सीमा ११५ देखि १२० वर्षसम्मको छ भनी बैज्ञानिकहरू सोंच्तछन्। तर त्यसो किन हुनु पर्ने हो? ७०, ८०, वा ११५ वर्ष पछि पनि मानव शरीर नाकाम किन हुने?”
१९६० तिर, चिकित्सा बैज्ञानिकहरूले पता लगाए कि मानव जीवकोषमा ५० पटकसम्म मात्र विभाजित हुने क्षमता हुन्छ जस्तो देखिन्छ। त्यो सीमा पुगिसके पछि, त्यस जीवकोषलाई केही गरेर पनि जीवित राख्न सकिने जस्तो देखिंदैन। मानव जीवकोषहरू उपयुक्त परिस्थितिहरू भएमा अनन्तकालसम्म बाँच्न सक्तछन् भन्ने पहिलेको वैज्ञानिक सिद्धान्तलाई यसले खण्डन गरेको जस्तो देखिन्छ।
साथै, धेरै जस्ता मानव दुःखहरू मानिसलेनै उत्पन्न गरेका हुन् भनी हामीले अनुभव गरिसकेका छौं। जस्तो कि एउटा अनुसन्धानकर्त्ताले राम्रोसँग कुरा बुझेर यो निष्कर्ष प्रस्तुत गरे: “प्राणीचिकित्सा द्वारा मात्र हामी रोगमाथि विजयी भएका होइनौं। रोगको इतिहास सामाजिक र नैतिक तथ्यहरूसित घनिष्ठ रूपले बाँधिएको छ।”
विश्व स्वास्थ्य सङ्घले भनेकोछ: “प्रथमतः बिमारीको कारणलाईनै रोक्नुको सट्टा, विज्ञान, चिकित्सक, र अस्पतालहरूले एउटा निदान पत्ता लगाउलान् भन्ने विश्वासमा बसेर, हामीले आफैमाथि चोटै चोटको प्रहार गरेका छौं। जीवनलाई यथार्थमा बचाउने चिकित्सा सुविधाहरू हामीलाई निश्चय नै चाहिन्छ। तर ती कुराहरूले हाम्रो ‘स्वास्थ्यलाई’ उन्नत पार्दैनन्—हामीलाई मरण देखि रोक्न सक्तैन . . . धुम्रपान गर्ने व्यक्ति र मतवालामा हुने आत्म-विनाशक तलतल, शरीर र मनमाथि बेकारीपनाका प्रभावहरू—केही ‘नया रोगहरू’ मध्ये यिनीहरू पनि हुन्। जीवन र हाम्रा आर्थिक स्रोतहरूलाई निखार्ने ‘सड़क दुर्घटना महामारीलाई’ हामी किन हुन दिन्छौं?”
रोग, बिमारी, दुःख, र मृत्यु अझै हामीसित छँदैछन्। तरपनि, बिमारी र मृत्यु कहिले नहुने समयका लागि विश्वस्त भएर पर्खि बस्ने हामीसित कारण छ। र सबै भन्दा राम्रो कुरा के हो भने, त्यो समय बिल्कुलै नजीक छ भनी विश्वास गर्ने प्रशस्त कारणहरू छन्। (w06/15/91)
[पृष्ठ ४-मा भएको पेटी]
“मिश्रका रोगहरू”
शुरूका समय देखिन् मानिसहरूले रोगसित एउटा असफल सङ्घर्ष गर्दै आएका छन् भनी बाइबलमा समेत उल्लेख गरिएको छ। उदाहरणकालागि, मोशाले “मिश्रका भयानक विपत्तिहरू” बारे अचम्मको उल्लेख गरेका थिए।—व्यवस्था७:१५.
ती विपत्तिहरूमा फिलपाउ, आँउ, बिफर, प्लेग, र आँखा दुख्ने जस्ता रोगहरू समावेश थिए जस्तो देखिन्छ। व्यवस्थाको वाचाद्वारा स्थापित स्वास्थ्य सम्बन्धी उन्नत नियमहरूले गर्दा मोशाका मानिसहरू यस प्रकारका धेरैनै विपत्तीहरूबाट बाँचेका थिए।
तथापि, मिश्रमा सड्न न पाउने गरी राखिएका मुर्दाहरूको राम्ररी जाँच गरेर हेर्दा, अझ अरू धेरै प्रकारका “मिश्रका विपत्तीहरू” फेला परेका छन् जस मध्ये जोर्नीको सूज, डँडाल्नुको जोर्नी खिएको, (स्पोन्डिलाइटिस) दाँत र च्यापुका रोगहरू, आन्त्रपुच्छको सूज, (एपेन्डिसाइटिस) र बातरोग जस्ता रोगहरू सामेल छन्। एबर्स प्यापिरस कहलाइने एउटा प्राचीन चिकित्सा सम्बन्धी लेखले गान्टोहरू, पेट, कलेजोका कष्टहरू, मधुमेह, कोर, आँखाको रोग, (कन्जङ्गटिभाइटिस) र बहिरोपना जस्ता रोग समेतको उल्लेख गर्दछ।
पुरातनका मिश्री चिकित्सकहरूले यी रोगहरूसँग लड्ने हर प्रयास गरे, र केही ता चिकित्साको आफ्नो क्षेत्रमा एक प्रकारका विशेषज्ञहरू हुन गए। ग्रीक इतिहासकार हेरोडोटसले लेखे: “यो देश (मिश्र) चिकित्सकहरूले भरिएको छ; एउटाले आँखाको इलाज मात्र गर्दछ; अर्कोले शिरको, दाँतको, पेटको, वा भित्री अङ्गहरूको।” तथापि, धेरै जसो मिश्री “औषधी” वास्तवमा धार्मिक ठग वैद्यगिरी थियो र वैज्ञानिकता त्यसमा छँदै थिएन।
रोगको विरुद्धमा त्यो भन्दा धेरै नै बढ़ी सफलता आधुनिक चिकित्सकहरूले प्राप्त गरेका छन्। तरै पनि, चिकित्सा सम्बन्धी अनुसन्धानकर्त्ता जेस्सी डब्सन यो विचारणीय किसिमको निष्कर्षमा पुगे:
“उसो भए, बितेका युगहरूका रोगहरूको अध्ययनबाट के सिक्न सकिन्छ? प्रमाणहरूको सर्वेक्षण गर्दा आम निष्कर्ष यस्तो देखिन्छ कि धेरै समय अघिका रोगहरू र वर्तमानका रोगहरूमा कुनै विशेष फरक छैन . . . सबै सीपहरूको प्रयोग र धैर्यका साथ गरिएका प्रयासहरूले रोगलाई हटाउनमा थोरै मात्र योगदान गरेको देखिन्छ।”—डिजिज इन एन्शन्ट म्यान.