१९१४—त्यो साल जसले संसारलाई झसङ्ग पारिदियो
“१९१४-१९१८ को महायुद्ध, हाम्रो समयलाई यो भन्दा अघिको समयदेखि छुट्ट्याउने एउटा डढेको भूमि-क्षेत्र झैं फैलिरहेको छ। त्यत्तिका जीवन सखाप पार्दै . . . , विश्वासहरू नष्ट गर्दै, विचारधाराहरू उलटपलट पार्दै र कहिले बिर्सिन नसकिने नैराश्यका चोटहरू लगाउँदै, यसले दुई युगहरूका बीच भौतिक साथै मानसिक खाडलको सृजना गऱ्यो।”—बारब्रा टुकम्यानद्वारा लिखित, द प्राउड टावर—ए पोरट्रेट आफ द वर्ल्ड विफोर द वार १८९०-१९१४ भन्ने पुस्तकबाट.
“इतिहासको यो एउटा भाग भइसके तापनि—यसलाई पूर्णरूपमा चाहिं इतिहासको भाग भन्न मिल्दैन—किनभने हजारौं मानिसहरू जो २० वीं शताब्दीका सुरुमा केटा-केटी थिए, तिनीहरू आजपनि जिउँदै छन्।”—१९८७ मा प्रकाशित, लिनद्वारा लिखित १९१४ भन्ने पुस्तकबाट लिएको हो।
वर्ष १९१४ मा किन चासो लिनु? तपाईं भन्नुहोला, ‘मलाई भविष्यमा चासो छ, भूतमा होइन।’ विश्वव्यापी प्रदूषण, पारिवारिक जीवनमा छिन्न-भिन्नता, अपराध, मानसिक रोग, र बेरोजगारी जस्ता समस्याहरूको सामुन्ने मानिसको भविष्य अन्धकारमय देखिन सक्छ। तथापि, १९१४ को महत्त्वलाई जाँच गर्ने धेरैले एउटा अति उत्तम भविष्यको आशा गर्ने आधार पाएका छन्।
निकै दशक देखिन् प्रहरीधरहराले व्याखा गर्दै आएको छ कि १९१४ मा मानवजातिले “कष्टका शुरु” अनुभव गर्यो। यो अभिव्यक्ति मनुष्यको दुष्ट रीति-रिवाजको अन्त हुनुभन्दा अघि हुने घटनाहरूबारे येशूले गर्नु भएका महान भविष्यवाणीको एउटा भाग हो।—मत्ती २४:७, ८.
आज, १९१४ का नाटकीय घटनाहरूबारे मानवजातिका एउटा सानो प्रतिशत्लाई अझै सम्झना हुन सक्तछ। परमेश्वरले पृथ्वीलाई नष्ट हुन बाट बचाउनुभन्दा पहिले नै के ती पाकाहरूको पुस्ता बितेर जाने छ? बाइबलको भविष्यवाणीअनुसार त्यसो हुनेछैन। येशूले प्रतिज्ञा गर्नुभयो: “तिमीहरूले पनि जब यी सबै भएका देख्ने छौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।”—मत्ती २४:३३, ३४.
१९१४ सालको किन ऐतिहासिक महत्त्व छ भनी बुझ्नका निम्ति, १९१४ को मध्येसम्म चलिरहेको विश्व परिस्थितिबारे विचार गर्नुहोस्। त्यो समयभन्दा अघि, रूसका जार (पदवी) निकोलस, जर्मनीका कैसर (पदवी) विलहेम, अस्ट्रिया-हङ्गरीका सम्राट फ्रान्ज जोसेफजस्ता राजाहरूका हातमा ठूलो शक्ति हुन्थ्यो। तिनीहरू प्रत्येकले चालीस लाखभन्दा बढी सिपाहीहरूलाई युद्धमा पठाउन सक्तथिए। तर एउटै महान “मसीही राष्ट्रका” विभिन्न भागहरूमाथि राज्य गर्न परमेश्वरले तिनीहरूलाई नियुक्त गर्नु भएको हो भनी घोषणा गर्ने एउटा पवित्र सन्धिमा तिनीहरूका बाबुबाजेहरूले हस्ताक्षर गरेका थिए।
इनसाक्लोपिडिया ब्रिटानिका अनुसार, यस दस्ताबेजले “१९ वीं शताब्दीको दौडानमा युरोपिय कुटनीतिको गतिलाई शक्तिशाली ढङ्गले प्रभाव पारेको थियो।” प्रजातान्त्रिक आन्दोलनहरूका विरुद्धमा र राजाहरूको तथा-कथित ईश्वर-प्रदत्त अधिकारको सिद्धान्तका समर्थन गर्न यसलाई प्रयोग गरियो। कैसर विलहेमले जार निकोलसलाई यस प्रकार लेखी पठाए: “स्वर्गबाट आएको आदेशअनुसार, हामी मसीही राजाहरूले एउटा पवित्र कर्त्तव्य निभाउनु परेको छ, अर्थात् [राजाहरूका ईश्वर-प्रदत्त अधिकारको] सिद्धान्तलाई रक्षा गर्नु परेको छ।” के यसको अर्थ यो हो कि, युरोपका राजाहरू कुनै न कुनै रूपमा परमेश्वरको राज्यसँग सम्बन्धित थिए? (१ कोरिन्थी ४:८ सँग तुलना गर्नुहोस्) र ती राजाहरूलाई समर्थन गर्ने गिर्जाहरूबारे के भन्न सकिन्छ? के तिनीहरूले मसीही धर्म साँचो ढङ्गमा मानिरहेका थिए? यी सबै प्रश्नहरूको जवाफ १९१४ पछिका वर्षहरूमा स्पष्ट भयो।
अकस्मात, अगस्तमा
“१९१४ को बसन्त र ग्रीष्मका दिनहरूमा युरोप असाधारण तवरले शान्त थियो। भविष्यबारे मानिसहरू साधारणतया आशान्वित थिए” भनी ब्रिटेनका राजनीतिज्ञ विन्सटन चर्चिलले लेखे। लुई स्नाइडरले आफ्नो पुस्तक वर्ल्ड वार १ मा भनेका छन्: “१९१४ को संसार आशा र प्रतिज्ञाले भरिपूर्ण थियो।”
हो, धेरै वर्षहरूदेखिन् जर्मनी र ब्रिटेनका बीच गहिरो प्रतिद्वन्दिताको भाव चलिआएको थियो। तापनि, इतिहासकार जी०पी० गुचले आफ्नो पुस्तक अन्डर सीक्स रेन्समा व्याख्या गरेका छन्: “१९११, १९१२ वा १९१३ मा भन्दा १९१४ मा युरोपियाली द्वन्दको सम्भावना कम देखिन्थ्यो . . . वर्षौंपछि, ती दुई सरकारहरूका बीचको सम्बन्ध राम्रो भएको थियो।” १९१४ को ब्रिटिश मंत्रि-मण्डलका सदस्य, विन्सटन चर्चिलको विचारमा: “हामीजस्तै जर्मनी पनि शान्ति कायम राख्नमा निश्चित देखिन्थ्यो।”
तथापि, १९१४, जुन २८ का दिन साराजेभो भन्ने ठाउँमा अस्ट्रिया-हङ्गेरीका युवराजको हत्याका साथै, एउटा कालो बादल क्षितिजमा देखा पऱ्यो। एक महिनापछि, सम्राट फ्रान्ज जोसेफले सर्बियाका विरुद्ध युद्धको घोषणा गरे र त्यस राज्यमाथि आक्रमण गर्न आफ्ना फौजलाई हुकुम दिए। त्यसै बेला, १९१४, अगस्त ३ का राती, कैसर विलहेमले दिएका आदेशअनुसार, एउटा ठूलो जर्मन फौजले बेलजियम अधिराज्यमाथि अचानक हमला गरेर युद्धगर्दै फ्रांससम्म अघि बढ्यो। दोस्रो दिनमै ब्रिटेनले जर्मनीका विरुद्धमा युद्धको घोषणा गऱ्यो। उता जार निकोलसले जर्मनी र अस्ट्रिया-हङ्गेरीसँग युद्ध गर्नका लागि बृहत् रूसी फौजलाई तयार हुने हुकुम दिए। आपसमा एक अर्काको हत्या गर्दै सारा महाद्वीपलाई छ्यापछ्याप्ती रगताम्य पार्नदेखिन् युरोपका राजाहरूलाई रोक्न, त्यो पवित्र सन्धि असफल रह्यो। तर यो भन्दा अझ ठूला धक्काहरू खान बाँकी नै थियो।
क्रिस्मस सम्ममा सिद्धिने?
युद्ध सुरु भयो भन्दैमा मानिसहरूको आशावादिता मरेन। यसबाट एउटा अझ राम्रो संसार उत्पन्न हुनेछ भनी धेरैले विश्वास गरे, र युद्धका लागि आफ्नो समर्थन जनाउन ठूला ठूला भीडहरू युरोपभरि जम्मा हुनलागे। ए० जे० पी० टेलरले आफ्नो पुस्तक द स्ट्रगल फोर मास्टरी इन युरोप—१८४८-१९१८ मा लेखेका छन्, “१९१४ मा युद्धका खतराहरूबारे, सैनिक दृष्टिकोण बाहेक अरू दृष्टिकोणहरूबाट कसैले पनि गंभीरतासाथ सोचेनन् . . . सामाजिक तवरमा ठूलो गन्जागोल होला भनी कसैले पनि ठानेका थिएनन्।” बरु, केही महिनापछि, यी सबै सिद्धि हाल्नेछ भनी धेरैले भविष्यवाणी गरिरहेका थिए।
तथापि, युरोपीहरूले १९१४ को क्रिस्मस मनाउनअघि नै, दक्खिनमा स्वीजरलैन्डदेखिन् उत्तरमा बेलजियमको किनारासम्म, सुरुङ्गहरूको ७०० किलोमिटरभन्दा लामो पंक्तिभरि एउटा रगताम्य गतिरोध खडा भएको थियो। यसलाई पश्चिमी मोर्चा भनिन्थ्यो, र यसबारे जर्मन लेखक हर्बर्ट सुल्जबाकले १९१४ सालको आखिरी दिनमा आफ्नो डायरीमा उल्लेख गरेका छन्। तिनले लेखेको कुरा यसप्रकार छ: “यो भयानक युद्ध चलेको चलेकै छ, र सुरु-सुरुमा त यो केही हप्तामै सिद्धिनेछ भनी तपाईंले सोच्नु भएको भए तापनि, अहिले भने यसको कुनै टुङ्गो नै देखिंदैन।” यसै बीच, युरोपका अन्य भागहरूमा रूस, जर्मनी, अस्ट्रिया-हङ्गरी, र सर्बियाका फौजहरूबीच घमासान काटमार जारी नै रह्यो। चाँडै नै यो द्वंद युरोप बाहिरसम्म पनि फैलियो, र समुद्रहरू र अफ्रिका, मध्य-पूर्व, र प्रशान्त महासागरका द्वीपहरूमा समेत युद्धहरू लडिए।
चार वर्षपछि युरोप ध्वस्त भयो। जर्मनी, रूस, र अस्ट्रिया-हङ्गेरी प्रत्येकले आफ्ना दसदेखि बीस लाखजति सिपाहीहरू गुमाए। १९१७ को बोलसेविक क्रांतिमा रूसले आफ्नो राजतन्त्र समेत गुमायो। युरोपका राजाहरू र तिनलाई समर्थन गर्ने पादरीहरूका निम्ति कत्रो ठूलो धक्का! आधुनिक इतिहासकारहरू अझै पनि आश्चर्य प्रकट गर्छन्। गोर्डन शेपर्डले रोयाल सनसेट भन्ने आफ्नो पुस्तकमा सोध्छन्: “राजतंत्र कायम राख्न समर्पित र धेरै जसो आपसमा वैवाहिक वा हाडनाताको सम्बन्ध भएका यी शासकहरूले आफूलाई एउटा भ्रातृहत्याको खुनखराबीमा फस्न कसरी दिए, जसमा आफूमध्येका धेरैजना खत्तम भए र बाँकी चाहिं कमजोर भएर बाँचे?”
गणतंत्र फ्रांसले पनि दस लाखभन्दा बढी सिपाहीहरू गुमायो, र युद्ध सुरु हुनुभन्दा धेरैअघि देखि नै आफ्नो राजसत्ता कमजोर भइसकेको ब्रिटिश साम्राज्यले ९ लाखभन्दा बढी सिपाहीहरू गुमायो। सबै मिलाएर, ९० लाखभन्दा बढी सिपाहीहरू मरे, र अझ २ करोड दस लाख जति घायल भए। गैर-फौजी नोक्सानबारे, द वर्ल्ड बुक इन्साइक्लोपिडिया भन्दछ: “रोग, भोकमरी, र अन्य युद्ध सम्बन्धी कारणहरूले गर्दा कतिजना साधारण नागरिकहरू मरे, कसैलाई थाह छैन। कुनै कुनै इतिहासकारहरू विश्वास गर्दछन् कि जति जना सिपाहीहरू मरे, त्यति नै जना गैर-फौजी नागरिकहरू पनि मरे होलन्।” १९१८ को स्पेनिश फ्लूको महामारीले गर्दा संसारभरि अझ अरू २ करोड दस लाख ज्यान गयो।
आमूल परिवर्तन
महा युद्धपछि [यो युद्ध त्यति बेला यही कहलाइन्थ्यो] संसार पहिलेको जस्तो पटक्कै रहेन। मसीही जगतका धेरै गिर्जाहरूले उत्साहपूर्वक त्यस युद्धमा भाग लिएका हुनाले आशा भताभुङ्ग भएर बाँचेका धेरै जनाले धर्मलाई त्यागेर नास्तिकता स्वीकार गरे। केही चाहिं भौतिक धन र सुख-विलासको पछि-पछि दौडिन थाले। प्रोफेसर मोडरिस एक्सस्टाइन्सको पुस्तक, राइट्स आफ स्प्रिङ्ग अनुसार, १९२० को दशकले “मानिसहरूमा असाधारण मात्रामा प्रमोदवाद र आत्म-पूजा बढेको देख्यो।”
प्रोफेसर एक्स्टाइन्स व्याख्या गर्दछन्: “युद्धले नैतिक स्तरहरूमाथि आघात पुर्यायो।” आम हत्यालाई नैतिक दृष्टिले असल ठान्नु भनी दुवै पक्षका मानिसहरूलाई धार्मिक, सैनिक, र राजनैतिक नेताहरूले सिकाएका थिए। “यहूदी-मसीही सिद्धान्तहरूमा आधारित भएको दाबी गर्ने नैतिक व्यवस्थामाथि यो सबैभन्दा असभ्य प्रकारको आघात थियो” भनी एक्स्टाइन्सले स्वीकार गर्दछन्। उनी अझ थप्छन्: “पश्चिमी मोर्चामा, वेश्याघरहरू सैनिक शिविरहरूको एउटा अभिन्न भाग हुन गए . . . र गैर-सैनिक नागरिकहरूको जीवनमा पनि नैतिक स्तरहरू झर्न थाले। वेश्यावृत्तिमा विशेष वृद्धि भयो।”
यथार्थमा, १९१४ ले धेरै कुराहरू बदलिदियो। यसले एउटा अझ राम्रो संसारको सृजना गर्न सकेन र धेरै मानिसहरूले आशा गरेझैं त्यो “सबै युद्धलाई अन्त गर्ने युद्ध” साबित भएन। बरु, इतिहासकार बारबरा टुकम्यानले भने जस्तै: “जुन जुन आकाङ्क्षा र उत्साहहरू १९१४ सम्म सम्भव थिए, ती सबै अब वृहत् नैराश्यको समुद्रमनि विस्तारै डुब्दै गए।”
तथापि, १९१४ को दुःखद् घटना देख्ने केही मानिसहरू त्यस वर्षमा घटेका घटनाहरूबाट छक्क परेनन्। वास्तवमा, युद्ध सुरु हुनुभन्दा अघि देखि नै, तिनीहरूले “सङ्कष्टको एउटा डरलाग्दो समय” को प्रतीक्षा गरिरहेका थिए। तिनीहरू को थिए? र तिनीहरूलाई कुन कुरा थाह थियो जुन अरूहरूलाई थाह थिएन? (w 5/1/92)
[पृष्ठ ५-मा भएको पेटी]
१९१४ मा ब्रिटिश आशावादिता
“प्रायः एक शताब्दी अघिदेखिन्, हाम्रो द्वीपको चारैतिरको समुद्रमा कुनै पनि दुश्मन देखा परेका थिएनन् . . . यी शान्तमय समुद्रका किनाराहरूमाथि कुनै खतरा आउने सम्भावनाबारे कल्पनासम्म गर्न पनि मुस्किल थियो। . . . लण्डन पहिले कहिले पनि यतिको हर्षमय र सम्पन्न देखिएको थिएन। यतिका धेरै गर्ने, हेर्ने, र सुन्ने योग्यका कुराहरू पहिले कहिले थिएनन्। तर १९१४ को त्यो अतुलनीय अवधिभित्र तिनीहरूले देखिरहेका कुराहरू वास्तवमा एउटा युगको समाप्ति थियो भनी न बूढा न जवान, कसैलाई शङ्कासमेत लागेन।—जेफ्री मार्कस द्वारा लिखित, विफोर द लैम्पस वेन्ट आउट.