प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 १/१ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईंको जीवनको वरदानको सही मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 १/१ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

रगतमा पाइने विभिन्‍न पदार्थहरू अर्थात्‌ सुकाएको रक्‍तरस वा प्लाज्मा जस्ता चीजहरू खाने-कुरामा मिसाएको होला भनेर मसीहीहरू कुन हदसम्म सतर्क हुनुपर्छ?

स्थानीय तवर्‌मा उत्पादित खाद्य पदार्थहरूमा जनावरको रक्‍त (अथवा त्यसको केही अंश) साँच्चै नै प्रयोग गरिंदै छ भनी विश्‍वास गर्ने ठोस आधार छ भने, मसीहीहरू सतर्क हुनु उचित हो। तर, मात्र शङ्‌काको भरमा विचलित हुनु अथवा कुनै आधारै बिना चिन्तित हुनु बुद्धिमानी होइन।

मानिस जातिले रगत खानु हुँदैन भनेर मानवजातिको इतिहासको सुरुमै हाम्रा सृष्टिकर्त्ताले आदेश दिनु भयो। (उत्पत्ति ९:३, ४) रगतले जीवनको प्रतिनिधित्व गर्दछ र जीवन उहाँकै एउटा वरदान हो भनेर उहाँले भन्‍नुभयो। कुनै प्राणीबाट निकालिएको रगत बलिदानका लागि अथवा वेदीमा मात्र प्रयोग गर्न सकिन्थ्यो। नत्र भने, कुनै प्राणीबाट निकालिएको रगतलाई माटोमा खन्याउनु आवश्‍यक थियो अर्थात्‌ त्यो परमेश्‍वरलाई नै फिर्ता दिएको जस्तो हुँद थियो। उहाँका जनहरूले रगत लिएर आफ्नो प्राण बचाउने कोशिश गर्नु हुँदैन थियो। उहाँले यो आदेश दिनु भएको थियो: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूका रगतमा हुन्छ। त्यो खाने जोसुकै पनि वहिष्कार गरिनेछ।” (लेवी १७:११-१४) रगतसम्बन्धी परमेश्‍वरको प्रतिबन्ध मसीहीहरूका लागि पुनः दोहोऱ्‍याइयो। (प्रेरित १५:२८, २९) अतः घाँटी अँठ्याएर मारेका जन्तुहरूको मासु वा रगत हालेको ससेज अर्थात्‌ रगत मिसाएका कुनै पनि खाने कुरा खान देखि प्राचीन मसीहीहरू जोगिनु पर्द थियो।

तथापि व्यावहारिक रूपमा, ती मसीहीहरूले ‘रगतबाट अलग रहने’ आफ्नो अठोटलाई कसरी कार्यान्वयन गर्न सक्‍त थिए? (प्रेरित २१:२५) के “बगरेकहाँ जे बेचिन्छ, विवेकको खातिर केही सोधपूछ नगरीकन खाओ” भन्‍ने पावलका शब्दहरूलाई पालन गर्नु नै तिनीहरूका लागि यथेष्ट थियो?

थिएन। १ कोरिन्थी १०:२५-मा उल्लिखित ती शब्दहरू, मूर्तिपूजा गरिने कुनै मन्दिरमा सम्भवतः बलिदान चढाइएको जनावरको मासुबारे थिए। त्यति खेर मन्दिरमा उब्रेको मासु व्यापारीहरूलाई बेची दिने चलन थियो। ती व्यापारीहरूले त्यो मासुलाई आफ्नो पसलमा बिक्री गर्न राखेको अरू मासुसित मिसाएर बेच्ने गर्द थिए। पावलले यहाँ भन्‍न खोजेको कुरा के थियो भने, एउटा मन्दिरबाट ल्याइएको मासुमा कुनै खराबी अथवा बिगार हुँदैन। बलि चढाइने जनावरहरूको रगतलाई ती गैर-मसीही वेदीहरूमा खन्याउने र प्रयोग गर्ने चलन थियो जस्तो देखिन्छ। यसकारण, मन्दिर अथवा ती गैर-मसीहीहरूको विश्‍वाससित केही सम्बन्ध नराख्दै मन्दिरबाट उब्रेको मासुलाई व्यापारीहरूले पसलमा लगेर बेच्दा, त्यसलाई बजारमा साधारणतया पाइने सफा र रगत निथारेको मासु ठानेर मसीहीहरूले किन्‍न उचित हुने थियो।

तथापि, गला अँठ्याएर मारेका जनावरहरूको मासु (वा रगत भरेको ससेज) पनि स्थानीय पसलहरूले राख्ने गर्छन्‌ भनेर ती मसीहीहरूलाई थाह भएमा कुरा बेग्लै हुने थियो। कुन चाहिं मासु किन्‍ने हो, सो होसियारीका साथ छान्‍न आवश्‍यक पर्ने थियो। रगत मिसाएको मासुको अलिकता बेग्लै प्रकारको रङ्‌ग भएमा (जस्तो कि आज पनि रगत मिसाएको ससेजहरू सामान्यतया बिक्री गरिने देशहरूमा तिनीहरूलाई चिन्‍न सकिन्छ) तिनीहरूले तिनलाई सम्भवतः अलग्ग्‌याउन सक्‍त थिए होलान्‌। अथवा मसीहीहरूले कुनै एउटा भरपर्दो बगरे अथवा मासुको व्यापार गर्ने मानिससित सोधपूछ गर्न सक्‍तथिए। कुनै खास मासुमा रगत मिसाइएको छ भनी विश्‍वास गर्ने केही आधार नभएमा, तिनीहरूले त्यो किनेर खान सक्‍त थिए।

पावलले यो पनि लेखे: “तिमीहरूको सहनशीलता [सन्तुलित मनस्थिति, न्यु व०] सबै मानिसहरूलाई थाह होस्‌।” (फिलिप्पी ४:५) यो कुरा मासु किन्‍ने विषयमा प्रयोग गर्न सकिन्थ्यो। परमेश्‍वरका जनहरूले मासुको विषयमा अचाक्ली सोधपूछ गर्नु पर्दछ र उपलब्ध मासुमा अलिकता पनि रगत मिसाएको होला भन्‍ने शङ्‌का समेत भएको खण्डमा बरु शाकाहारी नै हुनु पर्छ भन्‍ने सङ्‌केत नता इस्राएलीहरूले पाएको व्यवस्थामा न प्रथम शताब्दीका परिचालक निकायले दिएको निर्देशनमा पाइन्छ।

एक जना इस्राएली शिकारीले कुनै एउटा जनावर मारेको खण्डमा, तिनले त्यसको रगत बगाएर निकाली दिन्थे। (व्यवस्था १२:१५, १६ सित तुलना गर्नुहोस्‌।) तिनको परिवारले जम्मै मासु खान नसकेमा, तिनले त्यसलाई बेच्न पनि सक्थे। राम्ररी रगत बगाए तापनि मासुमा थोरै मात्रामा त रगत रहने नै थियो। तर जनावरलाई मारेको कति मिनेट पछि त्यसबाट रगत निकालियो वा कुन रगतनली काटेर रगत बगाइयो, सो गर्न जनावरलाई कसरी र कति बेरसम्म झुण्ड्याइयो जस्ता कुराहरू बारे अचाक्ली सोधपूछ गरेर मात्र एक जना यहूदीले मासु किन्‍नु पर्दछ भन्‍ने सङ्‌केतसम्म पनि बाइबलमा दिइएको पाइन्दैन। यसका साथसाथै, यस्ता कुराहरू बारे मसीहीहरू असाधारण तवर्‌ले होसियार हुनु पर्छ अथवा कुनै पनि मासु खानु अघि त्यस मासुको विषयमा विस्तृत विवरण प्राप्त गर्नु आवश्‍यक छ भन्‍ने निर्देशन परिचालक निकायले लेखी पठाएनन्‌।

आज धेरै देशहरूमा कानुन, चलन अथवा धार्मिक प्रथा बमोजिम मारेर रगत निकालिएका जनावरहरू मात्रको मासु (रगत मिसाएको ससेज जस्ता असामान्य कुराहरू बाहेक) मासुका विभिन्‍न परिकारहरूमा प्रयोग गर्न पाइन्छ। अतः, यस्ता इलाकाहरूमा बस्ने मसीहीहरूलाई जनावर मार्ने अथवा मासु तयार पार्ने विधिहरूमा सामान्यभन्दा बढी चासो लिने खाँचो पर्दैन। भनौं भने, तिनीहरूले ‘केही सोधपूछ नगरीकन’ पसलमा बिक्री गरिने मासु खाए हुन्छ, र तिनीहरूले आफूलाई रगतबाट पनि अलग्ग राखेका छन्‌ भनेर आफ्नो अन्तःकरणलाई सफा राख्न सक्छन्‌।

तथापि, व्यापारीहरूले रगतको विभिन्‍न तकनीकी प्रयोग गर्ने विषयमा आएका केही रिपोर्टहरूले गर्दा कुनै कुनै मसीहीहरू चिन्तित भएका छन्‌। पशुका लागि तयार पारिने खाने कुरामा र मलमा प्रयोग गर्नका निम्ति मारिएका जनावरहरूको रगत धेरै मात्रामा जम्मा गर्नु केही व्यापारीहरूको विचारमा व्यावहारिक मात्र नभएर आर्थिक दृष्टिकोणले लाभदायक पनि हुन सक्‍तछ। यस प्रकारको रगत अथवा रगतमा पाइने केही वस्तुहरू प्रशोधित मासुहरूमा प्रयोग गर्न सकिन्छ कि भन्‍ने विषयमा अनुसन्धानकर्ताहरूले अध्ययन गरेका छन्‌। केही व्यापारी संयत्रहरूले चाँहि तरल रूपमा वा फ्रीज़ गरेको अथवा धूलो पारिएको रक्‍तरस वा प्लाज्मा (अथवा रङ्‌ग बदलेका रक्‍तकणिका) सीमित मात्रामा तयार पारेका छन्‌। यसलाई तिनीहरू ससेज वा पटे जस्ता खाने कुरामा मासुको ठाउँमा केही प्रतिशतसम्म प्रयोग गर्न चाहन्छन्‌। साथै, अन्य खाने-कुराको वजन वा मात्रा बढाउनका लागि, पिनेको मासुमा वा बेक गरेर पकाउने खाद्य-पदार्थहरूमा बोसो र पानीलाई राम्ररी मिसाउनका निम्ति वा अन्य खाने-पिउने कुराहरूमा प्रोटिन थप्नका लागि धूलो पारिएको रगतबाट लिएका वस्तुहरूको प्रयोग गर्ने सम्बन्धमा अध्ययनहरू गरिन्दैछ।

तथापि, एउटा विचार गर्नु पर्ने कुरा के हो भने, यस प्रकारको अनुसन्धान कैययन्‌ दशकदेखि चलिरहेको छ। र पनि धेरै देशहरूमा यी वस्तुहरूको प्रयोग अति नै सीमित मात्रामा गरिन्छ अथवा प्रयोग नै गरिन्दैन भने पनि हुन्छ। यसको कारण सामान्यतया पाइने केही रिपोर्टहरूले दिन्छ:

“रगत भन्‍ने चीज पोषक र व्यावहारिक प्रोटिनहरूको एउटा स्रोत हो। तरैपनि, गाइको मासुको रगतको गाढा रङ्‌ग र त्यसको एउटा बेग्लै प्रकारको स्वादको कारण यसलाई मानिसहरूका खाने कुराहरूमा अति नै सीमित मात्रामा मात्र प्रयोग गरिन्छ।”—जर्नल ॲफ फुड सायन्स, वल्युम ५५, नम्बर २, १९९०.

“रक्‍तरस अथवा प्लाज्माका प्रोटिनहरूमा कामलाग्दा खुबीहरू छन्‌। तिनीहरू अन्य वस्तुहरूलाई पगाल्न, ती वस्तुहरूलाई दूध जस्तो लेदो पारिदिन र तिनीहरूलाई पानीसित मिसिनु नदिन अति नै सक्षम हुन्छन्‌ . . . र खाने-कुरा तयार गर्दा तिनीहरू धेरै नै काम लाग्न सक्छन्‌। तथापि, प्लाज्मालाई सुकाइ सकेपछि त्यसलाई शुद्ध अवस्थामा राख्ने कुनै सफल विधि जापानमा पत्ता लगाइएको छैन।”—जर्नल ॲफ फुड सायन्स, वल्युम ५६, नम्बर १, १९९१.

कुनै खाद्यपदार्थ तयार गर्दा त्यसमा प्रयोग गरिएका वस्तुहरूको तालिका दिन धेरै देशहरूमा अनिवार्य छ। यसकारण, केही मसीहीहरूले समय-समयमा खाद्यपदार्थहरूको बाहिर पट्टि दिएको लेबुल जाँच गर्ने गर्छन्‌। र कुनै खानेकुरामा रगत मिसाइएको हुनु सक्छ भनी विश्‍वास गर्ने तिनीहरू सित कारण छ भने तिनीहरूले सो नियमित रूपमा गर्न सक्छन्‌। साथै, रगत, प्लाज्मा, रक्‍त प्लाज्मा, ग्लोबिन्‌ (वा ग्लोब्युलिन्‌) प्रोटिन वा हेमोग्लोबिन (वा ग्लोबिन)-बाट लिएको लौहवस्तु जस्ता कुराहरू भएका खाद्यपदार्थहरू देखि अलग्ग बस्नु निश्‍चय नै उचित हुने छ। युरोपको एउटा व्यापारी संस्थाले खरीद-बिक्री गर्ने सम्बन्धमा यो सूचना दियो: “ग्लोबिनको प्रयोग भएको खण्डमा, यस कुराको सङ्‌केत बाहिर पट्टि, खानेकुराको प्याकेट मै गरिएको हुनुपर्छ। ताकि खाने-कुरामा प्रयोग गरिएका वस्तुहरू बारे किन्‍ने व्यक्‍तिलाई कुनै प्रकारको गलत धारणा न होस्‌।”

तथापि, लेबुलहरू जाँच गर्ने अथवा बगरेहरूलाई सोध्ने सम्बन्धमा पनि हाम्रो व्यवहार मनासिब हुनु पर्दछ। किनकि विश्‍वभरि, मसीहीहरूले हर तयार खाने-कुरामाथि भएका लेबुलहरू र तिनलाई तयार गर्दा प्रयोग गरिएका वस्तुहरूको जाँच गर्नु अथवा खाने-ठाउँ वा खाने-कुरा बेच्ने पसलहरूमा काम गर्ने व्यक्‍तिहरूलाई केरकार गर्नु आवश्‍यक न हुनु सक्छ। एक जना मसीहीले सर्वप्रथम आफूलाई यो सोध्न सक्छ: ‘के यस इलाकामा वा देशमा साधारणतया खाने-कुरामा रगत अथवा त्यसबाट लिएका वस्तुहरूको प्रयोग गरिन्छ भन्‍ने कुनै ठोस प्रमाण छ र?’ धेरै जसो ठाउँमा यसको उत्तर छैन नै हुन्छ। यसकारण प्रायः असम्भाव्य कुराहरू जाँच गर्नमा धेरै समय र ध्यान नबिताउने फैसला थुप्रै मसीहीहरूले गरेका छन्‌। तर जसको यो भन्दा बेग्लै विचार छ, ऊ आफ्नो अन्तःकरण अनुसार चल्नु पर्छ। तर परमेश्‍वरको सामुन्‍ने सफा विवेकका साथ अर्कै दृष्टिकोण राख्ने व्यक्‍तिहरूको उसले आलोचना गर्नु चाहिं हुँदैन।—रोमी १४:२-४, १२.

रगत हालेर खानेकुरा बनाउन सकिए तापनि, दाम, कानुन र अन्य कारणहरूले गर्दा यो विस्तृत रूपमा नगरिएको हुन सक्छ। उदाहरणका लागि, फुड प्रोसेसिङ्‌ग (सितम्बर १९९१)-मा भनिएको छ: “खाने-कुराका प्रशोधनकर्ताहरूले (मासुको तयार प्याटी बनाउँदा) गाइको सुकाएको प्लाज्मा १% भन्दा कम मात्रामा पनि प्रयोग गर्न नरुचाएमा, तिनीहरूले त्यसको ठाउँमा महीबाट लिएको प्रोटिन प्रयोग गर्दछन्‌ र यस प्रकार बनेको खाने-कुरालाई कोशेरको रूपमा प्रस्तुत गर्नु मिल्छ।”

धेरै जसो देशहरूमा कानुन, चलन अथवा रुचिको कारण खानका लागि मारिएका जनावरहरू बाट रगत निकालेर त्यस रगतलाई फेरि अन्य खाने-कुरामा प्रयोग नगरेको कुरा विशेष प्रशंसाको योग्य छ। तर स्थानीय परिस्थिति बेग्लै छ अथवा त्यहाँ हालसालै कुनै विशेष अदलबदल भएको छ भनी सोच्ने ठोस कारण नभएसम्म मसीहीहरू खाली हल्ला अथवा सम्भावनाको आधारमा विचलित हुनु हुँदैन। तर—चाहे खाने-कुरामा होस्‌ वा चिकित्साका लागि होस्‌—जुन ठाउँमा रगतको प्रयोग व्यापक अथवा अति नै सम्भाव्य छ, त्यहाँ रगतदेखिन्‌ अलग्ग बस्ने परमेश्‍वरको आदेश पालन गर्नु हामीमा दृढ सङ्‌कल्प हुनु पर्छ। (w92 10/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने