प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 २/१ pp. ८-१३
  • उद्देश्‍य सहितको शिक्षा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्देश्‍य सहितको शिक्षा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावशाली सेवकहरूमा हुनु पर्ने खुबीहरू
  • विद्यालयमा ठीक तरिकाले लिएको शिक्षाका फाइदाहरू
  • पर्याप्त शिक्षा
  • शिक्षाको सन्तुलित दृष्टिकोण
  • सबै कुराहरूलाई विचार गर्नु
  • एकत्रित र शिक्षित मानिसहरू
  • के बाइबलले शिक्षालाई निरुत्साहित गर्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के मेरो बच्चालाई स्कूल पठाउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आमाबाबु हो—तपाईं आफ्ना छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 २/१ pp. ८-१३

उद्देश्‍य सहितको शिक्षा

“धर्मीलाई शिक्षा दियो भने त्यसको ज्ञान अझ बढ्‌नेछ।”—हितोपदेश ९:९.

१. ज्ञानको सम्बन्धमा यहोवा आफ्ना सेवकहरूबाट के आशा गर्नु हुन्छ?

यहोवा “बुद्धिको ईश्‍वर” हुनु हुन्छ। (१ शमूएल २:३) आफ्ना सेवकहरूलाई उहाँ सिकाउनु हुन्छ। इस्राएलको विषयमा त्यत्ति बेलाका मानिसहरूले यसो भन्‍नेछ भनी मोशाले अगमवाणी गरेका थिए: “अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै ज्ञानी र समझदार रहेछन्‌।” (व्यवस्था ४:६) साँचो मसीहीहरू पनि यस्तैगरी जानकार हुनु पर्दछन्‌। तिनीहरूलाई परमेश्‍वरको वचनको उत्तम विद्यार्थी हुनु जरूरी छ। यस्तो अध्ययनको उद्देश्‍यलाई देखाउँदै प्रेरित पावलले यसो भनी लेखे: “हामीले . . . सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छाडेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढ्‌दै गएर।”—कलस्सी १:९, १०.

२. (क) परमेश्‍वरको सही ज्ञान प्राप्त गर्नका लागि कुन कुरा आवश्‍यक छ? (ख) यहोवाका साक्षीहरूका परिचालक निकायले यस समस्याको समाधान कसरी गरेको छ?

२ परमेश्‍वर र उहाँका उद्देश्‍यहरू बारे सही ज्ञान पाउनका लागि अध्ययन गर्दा, कम मात्रामा भएपनि शिक्षाको आवश्‍यकता पर्दछ। तर परमेश्‍वरको वचनका सत्य कुराहरू सिक्न पाएका कतिपय मानिसहरू यस्ता देशहरूमा बस्छन्‌ जहाँ तिनीहरूले उचित सांसारिक शिक्षा प्राप्त गर्न कम वा केही मौका नै पाएनन्‌ भने पनि हुन्छ। तिनीहरू एउटा असुविधाजनक स्थितिमा छन्‌। यस समस्यालाई टार्न, यहोवाका साक्षीहरूको परिचालक निकायले आवश्‍यक परेका ठाउँहरूमा मण्डली भित्र नै साक्षरता कक्षाहरू खोलिनु पर्छ भनी धेरै वर्ष देखि निर्देशन दिंदै आएको छ। करिब ३० वर्ष अघि ब्राजिलको एउटा समाचारपत्र दायरियो दे मोगी-ले “निरक्षरता विरुद्ध यहोवाका साक्षीहरूको युद्ध” भन्‍ने विषयमा एउटा लेख छापेको थियो। त्यसमा यसो भनिएको थियो: “धैर्य साथ अरूहरूलाई पढ्‌न र लेख्न सिकाउन . . . एक योग्य प्रशिक्षकले शुरु गर्दछ। . . . ती विद्यार्थीहरूलाई परिस्थितिले नै परमेश्‍वरको सेवक हुन बाध्य पारेको हुनाले अरूहरूसङ्‌ग वार्तालाप गर्न सक्नका लागि तिनीहरूले आफूमा भाषाको ज्ञानको विकास गर्नु पर्दछ।” यसरी संसारभरिका हजारौं मानिसहरूले परमेश्‍वरको वचनको राम्रो विद्यार्थी हुने मौका पाएका छन्‌। तिनीहरूले मनमा एउटा उच्च उद्देश्‍य राखेर यो आधारभूत शिक्षा लिए।

प्रभावशाली सेवकहरूमा हुनु पर्ने खुबीहरू

३, ४. (क) साँचो मसीहीहरू किन शिक्षामा चासो लिन्छन्‌? (ख) इस्राएलमा परिस्थिति के थियो, र आज हाम्रा मण्डलीहरूमा कुन आधारभूत शिक्षा अनिवार्य छ?

३ साँचो मसीहीहरूले शिक्षित हुनका निम्ति मात्र शिक्षामा चासो लिएका होइनन्‌। बरु, यहोवाका अझ प्रभावशाली सेवक बन्‍नका लागि नै तिनीहरूले शिक्षामा चासो लिने गरेका हुन्‌। “सबै देशका जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ” भनेर ख्रीष्टले सबै मसीहीहरूलाई काम दिनुभएको थियो। (मत्ती २८:१९, २०) अरूहरूलाई सिकाउन तिनीहरू पहिला आफैले सिक्नु पर्छ, र यसका लागि अध्ययन गर्ने राम्रो तरिकाहरू आवश्‍यक पर्दछ। शास्त्र पद्यहरूलाई राम्रोसङ्‌ग जाँच्न सक्ने क्षमता तिनीहरूमा हुनु पर्छ। (प्रेरित १७:११) तिनीहरूलाई दिइएको काम पूरा गर्न तिनीहरूले सजिलै सित पढ्‌न सक्नु पर्दछ।—हबकूक २:२; १ तिमोथी ४:१३.

४ यो भन्दा अगाडिको लेखमा हामीले देख्यौं कि पुरातन इस्राएलमा प्रायः केटा-केटीहरूले समेत पढ्‌न-लेख्न जान्दथे भनेर विश्‍वास गर्ने ठोस कारणहरू छन्‌। (न्यायकर्त्ता ८:१४; यशैया १०:१९) आज मसीही सेवकहरूले घर-घर गएर साक्षी दिंदा सिलसिलाबद्ध टिपोटहरू लिनु पर्दछ। तिनीहरू पत्रहरू लेख्छन्‌, सभाहरूमा टिपोटहरू लिन्छन्‌, र अध्ययन गर्नुपर्ने कुराहरूको टिप्पणीहरू तयार गर्छन्‌। यी सब कामहरू गर्न तिनीहरूले स्पष्टसङ्‌ग लेख्न सक्नु पर्छ। मसीही मण्डलीको तथ्याङ्‌कहरू राख्न अङ्‌कगणितको कमसे कम आधारभूत ज्ञान मात्र भएपनि आवश्‍यक छ।

विद्यालयमा ठीक तरिकाले लिएको शिक्षाका फाइदाहरू

५. (क) “विद्यालय” भन्‍ने शब्दको सुरुआत के हो? (ख) युवाजनहरूले कुन मौकालाई छोप्नुपर्छ?

५ चाखलाग्दो कुरा के हो भने, “विद्यालय” भन्‍ने शब्द स्कोले भन्‍ने युनानी शब्द बाट आएको हो। यसको वास्तविक अर्थ “फुर्सद” वा फुर्सदको समयलाई सिक्ने काम जस्ता गम्भीर क्रियाकलापमा लगाउनु थियो। पछि गएर यो शब्दलाई सिकाउने काम हुने स्थानलाई चिनाउन प्रयोग गरियो। यसले यो देखाउछ कि कुनै समयमा, युनान र अरू मुलुकहरूका विशेष सुविधा पाएका वर्गहरूसङ्‌ग मात्र सिक्नका लागि फुर्सद हुन्थ्यो। श्रमिक वर्गहरू सामन्यतः अशिक्षित नै रहन्थ्यो। आजभोलि, धेरै जसो देशहरूमा केटा-केटीहरू र युवाजनहरूलाई सिक्नका लागि समय दिइन्छ। जवान साक्षीहरूले अवश्‍य पनि यहोवाको योग्य र जानकार सेवक हुनका लागि समय निकाल्नु पर्दछ।—एफिसी ५:१५, १६.

६, ७. (क) विद्यालयमा राम्ररी पढ्‌नाले के फाइदाहरू हुन्छन्‌? (ख) एउटा विदेशी भाषा सिक्नु कसरी फाइदाजनक हुन सक्छ? (ग) विद्यालयमा पढाइ समाप्त गरिसकेका धेरै जवान मानिसहरू आज कुन स्थितिमा छन्‌?

६ इतिहास, भूगोल, विज्ञान र यस्तै अरू विषयहरूको आधारभूत ज्ञानले जवान साक्षीहरूलाई सन्तुलित सेवकहरू हुने मद्दत दिन्छ। विद्यालयमा लिएको शिक्षाले तिनीहरूलाई धेरै विषयहरू बारे ज्ञान दिन बाहेक सिक्ने तरिकाहरू पनि सिकाउने छ। साँचो मसीहीहरू विद्यालय छाडिसके पछि सिक्न र अध्ययन गर्न छाड्‌दैनन्‌। तथापि, आफूले अध्ययन गरेका कुराहरूबाट तिनीहरूले कत्तिको फाइदा उठाउछन्‌ भन्‍ने कुरा अध्ययन गर्ने तरीका जान्‍नुमा धेरै भर पर्ने छ। सांसारिक र मण्डली दुवैबाट पाइने शिक्षाले तिनीहरूलाई आफ्नो सोच्न सक्ने क्षमताको विकास गर्न मद्दत दिन सक्छ। (हितोपदेश ५:१, २) जब तिनीहरू पढ्‌छन्‌ तब तिनीहरू कुन कुरा महत्त्वपूर्ण छन्‌, कुन कुराहरू टिपोट लिन र स्मरण गर्ने योग्य छन्‌ भन्‍ने कुरा छुट्टयाउन अझ सक्षम हुने छन्‌।

७ उदाहरणका लागि, कुनै एउटा विदेशी भाषा सिक्नाले जवान मानिसहरूको मानसिक क्षमताको विकास मात्र नभइ तिनीहरू यहोवाका सङ्‌गठनका लागि अझ उपयोगी पनि बन्दछन्‌। वॅच टावर सोसाइटीका केही शाखा कार्यालयहरूमा, थुप्रै जवान भाइहरूलाई अङ्‌ग्रेजी भाषा धारा-प्रवाह पढ्‌न र बोल्न सक्नु फाइदाजनक साबित भएको छ। यसबाहेक सबै मसीही सेवकहरूले आफ्नो मातृभाषालाई स्पष्टसङ्‌ग बोल्ने प्रयत्न गर्नु पर्दछ। किनभने राज्यको सुसमाचारलाई स्पष्ट, र ठीक व्याकरणका साथ व्यक्‍त गर्नु उचित हो। वास्तविकताले देखाउदछ, कि आज संसारमा धेरैजसो युवाजनहरूलाई विद्यालयको पढाइ समाप्त गरिसके पछि पनि लेख्न, ठीकसङ्‌ग बोल्न र सजिलो हिसाब समेत गर्न गाह्रो परिरहेको हुन्छ। र तिनीहरूसङ्‌ग इतिहास र भूगोलको एउटा अस्पष्ट ज्ञानमात्र हुदछ।

पर्याप्त शिक्षा

८. सांसारिक शिक्षा र आफूलाई पाल्न सक्ने क्षमतासङ्‌ग कुन कुन शास्त्रपद्यहरू सम्बन्धित छन्‌?

८ त्यसकारण, सांसारिक शिक्षाप्रति एकजना मसीहीको मनोवृत्तिबारे विचार गर्ने यो उपयुक्‍त समय जस्तो देखिन्छ। यस विषयसङ्‌ग बाइबलका कुन कुन सिद्धान्तहरू सम्मिलित छन्‌ त? प्रथमत: धेरैजसो देशहरूमा “सिजर”-को उचित अधिनतामा बस्न मसीही आमा-बाबुले तिनीहरूका छोरा-छोरीलाई विद्यालय पठाउनु अनिवार्य हुन्छ। (मर्कूस १२:१७; तितस ३:१) जवान साक्षीहरूले भने, आफ्नो विद्यालय क्रियाकलापहरूमा कलस्सी ३:२३-लाई सम्झनु पर्दछ जहाँ यसो भन्छ: “जे जे तिमीहरू गर्दछौ, मानिसहरूलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।” यसमा मुछिएको दोस्रो सिद्धान्त यो हो कि मसीहीहरू आफ्नो जीविका आफै चलाउन सक्ने हुनु पर्दछ, र तिनीहरू पूर्ण-समय अग्रगामी सेवकहरू हुन्‌ भनेपनि यही कुरा लागू हुँदछ। (२ थिस्सलोनिकी ३:१०-१२) विवाहित पुरुषले चाहिं आफ्नी पत्नी र जन्मनसक्ने सन्तानहरूका लागि उचित प्रबन्ध गर्नसक्नु पर्दछ। यस बाहेक, खाँचो परेकाहरूलाई तथा विश्‍वव्यापी र स्थानीय प्रचारकार्यलाई मद्दत गर्न केही दिन सक्ने पनि हुनु पर्दछ।—एफिसी ४:२८; १ तिमोथी ५:८.

९, १०. (क) धेरैजसो मुलुकहरूमा आज के भइरहेको देखिन्छ? (ख) एकजना अग्रगामीको विचारमा कुन तलब पर्याप्त हुन सक्छ?

९ बाइबलका यी सिद्धान्तहरूलाई पालन गर्न र आफ्नो मसीही दायित्वहरूलाई पूरा गर्न एकजना जवान मसीहीलाई कत्ति शिक्षा चाहिन्छ? देश अनुसार यो फरक हुँदछ। यद्यपि धेरैजसो मुलुकहरूमा यथेष्ट तलब कमाउन केही वर्ष अघि, जत्तिको शिक्षा आवश्‍यक थियो, अहिले साधारणतया त्यो भन्दा बढी चाहिन्छ जस्तो देखिन्छ। संसारका विभिन्‍न भागहरूमा स्थित वॅच टावर सोसाइटीका शाखा कार्यालयहरूबाट प्राप्त रिपोर्टहरूले देखाउँछ कि धेरैजसो ठाउँहरूमा विद्यालयबाट कानुनले तोके बमोजिमको न्यूनतम शिक्षा मात्र पूरा गरेर वा कतिपय देशहरूमा त माध्यमिक वा उच्च माध्यमिक विद्यालयको शिक्षा प्राप्त गर्दा पनि यथेष्ट तलब सहितको जागिर पाउन गाह्रो छ।

१० “यथेष्ट तलब” भन्‍नुको अर्थ के हो? यसले धेरै पैसा पाउने जागिरहरूलाई सङ्‌केत गर्दैन। वेबस्टरस्‌ डिक्सनरी-ले “यथेष्ट” भन्‍ने शब्दलाई यस प्रसङ्‌गमा “पर्याप्त, सन्तोषप्रद” भनी अर्थ खुलाएको छ। उदाहरणका लागि, सुसमाचारका अग्रगामी सेवक हुन चाहनेहरूले कुन तलबलाई “पर्याप्त” भन्‍नु मिल्छ? साधरणतया आफ्ना भाइहरू माथि वा परिवारमाथि “बोझ” नबन्‍न यस्ता व्यक्‍तिहरूलाई दिनको केही समयसम्म गर्ने कामको जरूरत पर्दछ। (१ थिस्सलोनिकी २:९) यदि तिनीहरूको कमाइले तिनीहरूलाई जीवन निर्वाह गर्नका साथै आफ्नो मसीही सेवकाईलाई पूरा गर्न पुग्दो समय र शक्‍ति दिन्छ भने, तिनीहरूको तलबलाई “पर्याप्त,” वा “सन्तोषप्रद” भन्‍न मिल्छ।

११. केही युवाजनहरूले अग्रगामी सेवालाई किन छाडे, र यसले गर्दा के प्रश्‍न उठेको छ?

११ आज प्राय स्थिति कस्तो छ त? केही देशहरूमा असल अभिप्राय राख्ने जवानहरूले अग्रगामी बन्‍नाका निम्ति चाहिने जति न्यूनतम शिक्षा प्राप्त गरेर विद्यालय छाडेको रिपोर्ट आएको छ। तिनीहरूसङ्‌ग कुनै व्यावसायिक योग्यता थिएन नता तिनीहरू केही सिप जान्दथिए। तिनीहरूलाई आमा-बाबुले मद्दत नगरेको भएता तिनीहरू आफैले दिनको केही समयसम्म गर्ने काम खोज्नु पर्थ्यो। आफ्नो जीविका चलाउन कसै-कसैले धेरै घण्टासम्म काम गर्नुपर्ने जागिरहरू पनि स्वीकार्नु पर्‌यो। त्यस प्रकारको काम गर्दागर्दा तिनीहरू शारीरिक तवरमा क्लान्त भए। फलःस्वरूप तिनीहरूले आफ्नो अग्रगामी सेवकाइ पनि छाडन परे। त्यस्ता व्यक्‍तिहरूले आफ्नो जीविका चलाउन र पुनः अग्रगामी सेवामा लाग्न के गर्न सक्छन्‌?

शिक्षाको सन्तुलित दृष्टिकोण

१२. (क) शिक्षाको सम्बन्धमा, कुन दुई अति नै फरक विचारहरू देखि एकजना मसीही टाढा बस्नेछ? (ख) यहोवाका समर्पित सेवकहरू र तिनीहरूका छोरा-छोरीहरूको निम्ति, शिक्षाले कुन उद्देश्‍य पूरा गर्नु पर्छ?

१२ शिक्षाप्रति सन्तुलित दृष्टिकोण राख्नाले मद्दत मिल्नसक्छ। संसारका धेरै जवान मानिसहरूका लागि शिक्षा भन्‍ने कुरा प्रतिष्ठाको एउटा प्रतीक हो। यो तिनीहरूका लागि सामाजिक मानमर्यादा प्राप्त गर्ने तरिका र भौतिक सुविधाले भरिपूर्ण, समृद्धशाली जीवन-शैलीको कुञ्जी हो। अरूहरूका लागि भने शिक्षा जति सक्यो चाँडो सिद्धयाउनु पर्ने एउटा टन्टा मात्र हो। यी दुवै धारणाहरू साँचो मसीहीहरूका लागि उपयुक्‍त छैनन्‌। यसैकारण, “सन्तुलित दृष्टिकोण” राख्नुको अर्थ के हो? मसीहीहरूले शिक्षालाई एउटा साधन ठान्‍नुपर्छ। यी अन्तका दिनहरूमा, तिनीहरूको उद्देश्‍य यहोवाको सकेसम्म बढी प्रभावकारी ढङ्‌गमा र सक्दोभर सेवा गर्नु हो। यदि, तिनीहरू बस्ने देशमा न्यूनतम वा उच्च माध्यमिक शिक्षा समेतले अपर्याप्त आम्दानी हुने जागिर मात्र पाउन सकिन्छ र त्यसद्वारा अग्रगामीको रूपमा जीविका चलाउन सकिन्दैन भने, अतिरिक्‍त शिक्षा वा प्रशिक्षण लिने विचार गर्न सकिन्छ। तर यो पनि पूर्ण-समय सेवकाई गर्ने निश्‍चित लक्ष्य राखेर मात्र।

१३. (क) फिलिपिन्सका एउटी बहिनी, आफ्नो परिवारको आवश्‍यकता पूरा गर्नाका साथ-साथै अग्रगामी सेवा पनि कायम राख्न सफल कसरी भइन्‌? (ख) कुन चेताउनी समयानुकूल छ?

१३ कोही कोहीले प्राविधिक तालिम लिएर त्यस प्रकारका जागिरहरू पाए जसले गर्दा पूर्ण-समय सेवामा लाग्न वा त्यसको फेरी थालनी गर्न तिनीहरू सक्षम भए। फिलिपिन्सको एकजना बहिनी आफ्ना परिवारको मुख्य कमाउने व्यक्‍ति थिइन्‌, तर तिनी अग्रगामी हुन चाहन्थीन्‌। यस विषयमा शाखा कार्यालयले यसरी रिपोर्ट दिन्छ: “तिनले यो गर्न सक्ने भइन्‌ किनभने तिनले प्रामाणिक सरकारी लेखापाल हुनका लागि थप शिक्षा प्राप्त गरिन्‌।” सोही शाखा रिपोर्टले फेरी यसो भन्यो: “हामीकहाँ त्यस्ता थुप्रै व्यक्‍तिहरू छन्‌ जसले एकातिर शिक्षा लिंदैछन्‌ र अर्कोतिर अग्रगामी सेवामा भाग लिने समय पनि निकाली रहेका छन्‌। प्रायः, तिनीहरू मण्डलीमा पनि राम्रा प्रकाशकहरू हुन सक्छन्‌ किनभने अरूहरूभन्दा तिनीहरू अध्ययनशील हुन्छन्‌। तर सांसारिक लक्ष्यहरू तर्फ तिनीहरू ज्यादा महत्त्वाकाङ्‌क्षी चाहिं हुनु भएन।” यस वाक्यको अन्तिम टिप्पणीले हामीलाई सोच्ने कारण दिनुपर्ने हो। आवश्‍यक सम्झेर अतिरिक्‍त शिक्षा लिने गरिए तापनि, त्यसको उद्देश्‍य बिर्सनु वा कुनै भौतिक लक्ष्यको प्राप्ति तिर लाग्नु भएन।

१४, १५. (क) शिक्षाको सम्बन्धमा किटेर नियम बनाउनु किन मिल्दैन? (ख) केही जिम्मेवार भाइहरूले कति सम्मको सांसारिक शिक्षा मात्र पाएका थिए, तर कुन कुराले त्यसको क्षतिपूर्ति गरेको छ?

१४ कुनै कुनै देशहरूमा माध्यमिक विद्यालयले व्यावसायिक प्रशिक्षण पनि दिने गर्छन। यसले जवान मसीहीहरूलाई ग्य्राजुऐशन पछि केही व्यवसाय वा पेशाका लागि तयार बनाउन सक्छ। यस्तो प्रबन्ध नभए तापनि, केही देशहरूमा विद्यालयबाट आधारभूत शिक्षा मात्र लिएका जवानहरूले दिनको केही समय मात्र बिताउनु पर्ने काम भेट्टाउछन्‌। र त्यस प्रकारका कामहरूबाट तिनीहरूले अग्रगामी सेवा भ्याउने सम्मको कमाइ पनि गर्न सकेका छन्‌। अतः अतिरिक्‍त शिक्षाको पक्ष वा विपक्षमा किटेर नियम बनाउनु मिल्दैन।

१५ परिभ्रमण निरीक्षकको हैसियतमा वा सोसाइटीका मुख्य कार्यालयमा अथवा कुनै एउटा शाखाकार्यालयमा अहिले जिम्मेवारी उठाउने धेरै भाइहरूले आधारभूत शिक्षा मात्र लिएका थिए। तर तिनीहरू विश्‍वासी अग्रगामीहरू थिए। तिनीहरूले कहिल्यै सिक्ने काम बन्द गरेनन्‌। तिनीहरूले प्रशिक्षणहरू पाए र फलतः अझ धेरै जिम्मेवारीहरू तिनीहरूलाई दिइयो। तिनीहरूमा पछितोको भाव छैन। यसको विपरीत, तिनीहरूकै केही दौंतरीहरूले चाहिं विश्‍वविद्यालयको शिक्षा रोजे। तिनीहरू विश्‍वासलाई नष्ट गर्ने तत्त्वज्ञानहरू र “संसारको ज्ञान”-को वशमा परे र अन्तमा आध्यात्मिक उन्‍नति गर्न पनि छाडे।—१ कोरिन्थी १:१९-२१; ३:१९, २०; कलस्सी २:८.

सबै कुराहरूलाई विचार गर्नु

१६. (क) अतिरिक्‍त शिक्षा आवश्‍यक छ कि छैन भन्‍ने कुराको निर्णय कसले गर्दछ, र मनमा कुन कुरालाई महत्त्व दिनु पर्दछ? (ख) कुन कुराहरूलाई ध्यानमा राख्नु पर्दछ?

१६ जवान मसीहीले थप शिक्षा वा प्रशिक्षण लिनु पर्छ वा पर्दैन भन्‍ने कुराको निर्णय कसले गर्दछ? परिवारका शिर सम्बन्धी बाइबलको सिद्धान्त यहाँ लागू हुन्छ। (१ कोरिन्थी ११:३; एफिसी ६:१) यस आधारमा अवश्‍य पनि आमा-बाबुहरूले आफ्ना छोरा-छोरीलाई व्यवसाय वा पेशा र त्यसमा आवश्‍यक पर्ने शिक्षाको मात्राबारे फैसला गर्ने मार्गदर्शन दिन चाहने छन्‌। धेरै जसो देशहरूमा शिक्षा र व्यवसाय सम्बन्धी फैसलाहरू माध्यमिक शिक्षा लिइरहेको बेलामा चाँडै नै गरिनु पर्दछ। यही हो समय जब मसीही आमा-बाबु र युवाहरूले राज्य सम्बन्धी कुराहरूलाई मनमा प्रथम स्थान दिंदै बुद्धिमानी फैसला गर्न सक्नका लागि, यहोवाको निर्देशन खोज्नु पर्दछ। जवान मानिसहरूको फरक फरक झुकाव र क्षमता हुँदछ। बुद्धिमान आमा-बाबुले यस कुरालाई ध्यानमा राख्नेछ। सबै इमान्दार काम आदरयोग्य छन्‌। चाहे त्यो कार्यालयमा गरिने काम होस्‌ या श्रमिकले गर्ने काम। संसारले श्‍वेत-ग्रीवी पेशालाई उच्च र नील-ग्रीवी कार्यलाई तुच्छ ठान्ला तर बाइबलले अवश्‍य पनि त्यसो गर्दैन। (प्रेरित १८:३) तसर्थ, आमा-बाबु र जवान मसीहीहरूले होशियारीका साथ र प्रार्थनापूर्वक सबै फाइदा-बेफाइदालाई जाँचेर माध्यमिक शिक्षा पछि पनि शिक्षा लिने वा नलिने निर्णय गर्दा मण्डलीका अरू व्यक्‍तिहरूले तिनीहरूको आलोचना गर्नु हुँदैन।

१७. आफ्ना छोरा-छोरीहरूका निम्ति केही साक्षी आमा-बाबुहरूले के रोजेका छन्‌?

१७ यदि मसीही आमा-बाबुले आफ्ना छोरा-छोरीलाई उच्च माध्यमिक विद्यालय पछि पनि पढाउने निर्णय गर्छन्‌ भने, त्यो तिनीहरूको अधिकारको कुरा हो। यी अध्ययनहरूको समयावधि, व्यवसाय वा पेशा अनुसार फरक हुँदछ। वित्तीय कारणहरूले गर्दा र आफ्ना छोरा-छोरीहरूलाई सकेसम्म चाँडो पूर्ण-समय सेवामा लाग्ने मौका दिन धेरै मसीही आमा-बाबुहरूले तिनीहरूका लागि व्यावसायिक वा प्राविधिक विद्यालयहरूमा छोटो समयावधिको अध्ययन कार्यक्रमहरू छानेका छन्‌। कुनै कुनै बेला जवानहरूलाई कुनै धन्दामा सिकारुको रूपमा लगाउनु आवश्‍यक परेको छ। तर सधैं नै यहोवालाई जीवनभरि सेवा गर्ने कुरालाई लक्ष्य राखेर नै यस्तो गरिएको छ।

१८. अतिरिक्‍त शिक्षा लिएमा कुन कुराहरूलाई मनमा राख्नु पर्दछ?

१८ अतिरिक्‍त शिक्षा लिनुको पछाडि, विद्वान भएर देखाउने वा मान प्रतिष्ठा भएको सांसारिक पेशा प्राप्त गर्ने लक्ष्य अवश्‍य हुनु भएन। आफूले अध्ययन गर्ने विषयहरू होशियारीपूर्वक छान्‍नुपर्छ। यस पत्रिकाले उच्च शिक्षाबाट हुन सक्ने खतराहरूलाई जोड दिएको छ। र यसो गर्नु ठीक पनि हो, किनभने धेरै उच्च शिक्षाले बाइबलको “पक्का सिद्धान्त” (लाभप्रद शिक्षा न्यू व०)-को विरोध गर्दछ। (तितस २:१; १ तिमोथी ६:२०, २१) यस बाहेक, १९६० देखि यता, उच्च शिक्षाका धेरै विद्यालयहरू अर्धम र अनैतिकताले ग्रसित छन। “विश्‍वासी र बुद्धिमान दास”-ले त्यस्ता वातावरणमा प्रवेश गर्ने कुरालाई कुनै हालतमा पनि प्रोत्साहन दिने गरेका छैनन्‌। (मत्ती २४:१२, ४५) तथापि, त्यस्तै किसिमका खतराहरूको सामना आजभोलि उच्च माध्यमिक विद्यालयहरूमा र प्राविधिक कलेजहरूमा र काम गर्ने स्थानमा समेत जवान मानिसहरूले गर्न परिरहेका छन्‌।—१ यूहन्‍ना ५:१९.a

१९. (क) थप शिक्षा लिने निर्णय गर्नेहरू कुन कुराहरू बारे पहिले नै सर्तक हुन पर्छन्‌? (ख) कसै कसैले आफ्नो शिक्षालाई कसरी फाइदाजनक बनाएका छन्‌?

१९ अतिरिक्‍त शिक्षा लिने नै हो भने, जवान साक्षीले सम्भवतः घरमा बसिरहेको बेलामा त्यो लिनु बेस हुने छ। यसो गरेमा तिनी सदा जस्तै आफ्नो मसीही बाइबल अध्ययन, सभाहरूमा उपस्थिति र प्रचार कार्यमा लाग्न सक्‍तछन्‌। बाइबलका सिद्धान्तहरू बारे पनि शुरुमै दृढ निर्णय लिनु पर्दछ। निर्वासित अवस्थामा भएको बेलामा, दानियल र तिनका तीन हिब्रू मित्रहरूलाई उच्च शिक्षा लिन बाध्य पार्दा, तिनीहरूले निरन्तर आफ्नो सम्पूर्ण निष्ठा कायम राखेको कुरालाई सम्झनु पर्दछ। (दानियल अध्याय १) आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिंदै केही देशका जवान साक्षीहरूले लेखापाल, शिल्पकार, शिक्षक, अनुवादक, दोभासे वा अन्य भएर दिनको केही समयसम्म मात्र काम गर्ने तालिमहरू लिएका छन्‌। यसले तिनीहरूलाई आफ्नो मुख्य पेशा अथवा अग्रगामी सेवालाई कायम राख्न पर्याप्त मद्दत दिएको छ। (मत्ती ६:३३) पछि गएर यी मध्येका धेरैजसो जवानहरू परिभ्रमण निरीक्षकहरू वा बेथेल स्वंयसेवकहरू भए।

एकत्रित र शिक्षित मानिसहरू

२०. संसारले उठाएको कुन चाहिं गाह्रोले यहोवाका मानिसहरू बीच कुनै स्थान पाउँदैन?

२० यहोवाका मानिसहरूको बीचमा कसैको पेशा श्‍वेत ग्रीवी, वा नील ग्रीवी, अथवा खेतीपाती वा अरूहरूको सेवा गर्ने हुन सक्छ। तर तिनीहरू सबै जना नै बाइबलको राम्रो विद्यार्थी र काबिल शिक्षक हुन पर्छन्‌। संसारले अफिसमा बसेर काम गर्ने र हातले काम गर्ने मानिसहरू बीच एउटा गाह्रो उठाएको छ। तर पढनुमा, अध्ययन गर्नुमा र सिकाउनुमा सबैले प्राप्त गरेका निपुणताले यस गाह्रोलाई हटाउने मद्दत दिन सक्छ। परिणामस्वरूप, बेथेल घरहरूमा र वॅच टावर सोसाइटीका निमार्ण स्थलमा काम गर्ने स्वंयसेवकहरू बीच देख्न सकिने एकता र आदर-भावको सृजना हुन्छ। सबैमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा नै आत्मिक गुणहरू हुन जान्छ। यहाँ कार्यालयमा काम गर्ने अनुभवी कर्मचारीहरू हातले काम गर्ने सिपालु कामदारहरूसङ्‌ग रमाइ रमाइ काम गर्दछन्‌, र सबैजना एक अर्का प्रति मूल्याङ्‌कनले भरिएको प्रेम प्रदर्शन गर्दछन्‌।—यूहन्‍ना १३:३४, ३५; फिलिप्पी २:१-४.

२१. जवान मसीहीहरूको लक्ष्य के हुनुपर्दछ?

२१ आमा-बाबु हो, आफ्ना छोरा-छोरीहरूलाई नयाँ विश्‍व-समाजको उपयोगी सदस्य हुने लक्ष्यतर्फ डोऱ्‍याउनुहोस्‌! र तपाईं जवान मसीहीहरू, शिक्षा प्राप्त गर्न तपाईंले पाउनु भएको मौकालाई राम्रोसङ्‌ग उपयोग गर्नुहोस्‌! यहोवाको सेवा गर्ने तपाईंको सौभाग्यलाई अझ राम्रोसङ्‌ग पूरा गर्ने यसलाई एउटा साधन सम्झनु होस्‌! सिकाइएका व्यक्‍तिहरूको रूपमा तपाईंहरू सबै नै अहिले र परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “नयाँ पृथ्वी”-मा अनन्तकालसम्म ईश्‍वरतान्त्रिक सङ्‌गठनका सु-सज्जित सदस्यहरू हुनुहोस्‌।—२ पत्रुस ३:१३; यशैया ५०:४; ५४:१३; १ कोरिन्थी २:१३. (w92 11/1)

[फुटनोट]

a सेप्टेम्बर १, १९७५-को वॅचटावर, पृष्ठ ५४२-४ पनि हेर्नुहोस।

आफ्नो स्मरण शक्‍तिको जाँच गर्नुहोस्‌

▫ साँचो मसीहीहरू शिक्षामा चासो किन लिन्छन्‌?

▫ शिक्षा सम्बन्धी कुन अति नै भिन्‍न विचारहरू देखि मसीहीहरू टाढा बस्ने छन्‌?

▫ थप शिक्षा लिंदा कुन सम्भाव्य खतराहरूलाई ध्यानमा राख्नु पर्दछ, र कुन कुराहरू बारे पहिले नै सावधान हुनुपर्दछ?

▫ संसारले उठाएको कुन गाह्रोले यहोवाका मानिसहरू बीच कुनै ठाउँ पाउँदैन?

[पृष्ठ ९-मा भएको चित्र]

लगनशीलताका साथ अध्ययन गरेर जवान मसीहीहरू नयाँ विश्‍व-समाजको अझ उपयोगी सदस्यहरू हुन सक्छन्‌

[पृष्ठ १२-मा भएको चित्र]

थप शिक्षाहरू लिने फैसला गरियो भने पनि, त्यसको पछाडि अझ राम्रोसङ्‌ग यहोवाको सेवा गर्ने इच्छा हुनु पर्दछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने