प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ३/१ pp. ८-१२
  • यहोवाको आशिषले सम्पन्‍नता ल्याउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिषले सम्पन्‍नता ल्याउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा महत्त्वपूर्ण सम्पन्‍नता
  • आज आध्यात्मिक धन
  • दशांशहरू र भेटीहरू
  • “आफ्ना आफ्ना चालको विचार गर”
  • यहोवालाई लुट्‌नु
  • साँचो “परमप्रभु” ले इन्साफ गर्नु भएको
  • “जम्मै दशांश भण्डारमा ल्याउ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मलाकीको पुस्तकका विशेषताहरू
    सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • यहोवाको दिनमा को बच्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ३/१ pp. ८-१२

यहोवाको आशिषले सम्पन्‍नता ल्याउँछ

“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले ती सित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

१-३. धेरै मानिसहरू भौतिक कुराहरूका लागि चिन्तित भए तापनि, भौतिक धनबारे कुन कुरालाई हामी सबैले स्वीकार्नु जरुरी छ?

कुनै कुनै मानिसहरू पैसाको—वा पैसाको अभावको विषयमा कुरा गर्न कहिले छाडदैनन्‌। बिचराहरूले हालसालैमा त यसबारे धेरै नै कुरा गर्न पाएका छन्‌। धनसम्पन्‍न पश्‍चिमी मुलुकहरूले पनि १९९२-को दौडानमा आर्थिक शिथिलता अनुभव गरे र यसले गर्दा निष्पादकहरू र ती मुनि काम गर्नेहरू, दुवै बेकार भए। स्थायी सम्पन्‍नताको समय फेरि देख्न पाउने हो कि होइन भनी धेरै जना सोचमा परे।

२ के आफ्नो भौतिक कुशलतामा चासो लिनु गलत हो? होइन। केही हद्‌सम्म त यो एउटा स्वाभाविक कुरा हो। तर अर्को तिर हामीले धनको विषयमा एउटा आधारभूत सच्चाइ स्वीकार्नु जरुरी छ। सबै भौतिक कुराहरू आखिर सृष्टिकर्ताबाट नै आउँछन्‌। उहाँ “पृथ्वी र त्यसबाट उत्पन्‍न हुनेलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास औ त्यसमा हिंडडुल गर्नेलाई आत्मा दिनु हुने, [सत्य, न्यु व०] परमेश्‍वर” यहोवा हुनु हुन्छ।—यशैया ४२:५.

३ को धनसम्पन्‍न हुने हो र को चाहिं गरिब हुने हो, यसबारे यहोवाले अघिबाटै फैसला गर्नु हुन्‍न। तापनि “पृथ्वी र त्यसबाट उत्पन्‍न हुने” कुराहरूको जे जति अंश हाम्रो भागमा पर्छ, त्यसको प्रयोग बारे हामी सबै नै जवाफदेही छौं। अरूहरू माथि प्रभुत्व जमाउन हामी आफूसित भएको धनको प्रयोग गर्छौं भने, यसको लेखा हामीले यहोवाको सामुन्‍ने दिनु पर्नेछ। र यहोवाको दास हुनुको सट्टा धनको दास हुने जुन सुकै मानिसले “आफ्नो धन सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ” भन्‍ने कुरा अनुभव गर्ने छन्‌। (हितोपदेश ११:२८; मत्ती ६:२४; १ तिमोथी ६:९) भौतिक सम्पन्‍नताका साथसाथै यहोवाको सामुन्‍ने नम्र हृदय छैन भने, अन्ततोगत्व त्यसको केही मोल हुँदैन।—उपदेशक २:३-११, १८, १९; लूका १६:९.

सबैभन्दा महत्त्वपूर्ण सम्पन्‍नता

४. आध्यात्मिक सम्पन्‍नता भौतिक प्रशस्ता भन्दा किन उत्तम हो?

४ भौतिक सम्पन्‍नताबाहेक, बाइबलमा आध्यात्मिक सम्पन्‍नताको पनि चर्चा गरिएको छ। यस प्रकारको सम्पन्‍नता स्पष्टतया उत्तम श्रेणीको सम्पन्‍नता हो। (मत्ती ६:१९-२१) आध्यात्मिक सम्पन्‍नतामा यहोवासित एउटा सन्तोषजनक सम्बन्ध समावेश हुन्छ जो अनन्तकालसम्म कायम रहन सक्छ। (उपदेशक ७:१२) साथै, आध्यात्मिक तवर्‌मा सम्पन्‍न परमेश्‍वरका सेवकहरू असल भौतिक आशिषहरूबाट वञ्चित हुँदैनन्‌। नयाँ संसारमा, आध्यात्मिक धनका साथसाथै भौतिक सम्पन्‍नता पनि हुनेछ। विश्‍वासी जनहरूले एउटा यस्तो भौतिक सुरक्षा अनुभव गर्नेछन्‌ जो आज अक्सर कडा प्रतियोगिताका साथ अथवा स्वास्थ्य र आनन्द गुमाएर प्राप्त गरिने सुरक्षा जस्तो हुने छैन। (भजनसंग्रह ७२:१६; हितोपदेश १०:२८; यशैया २५:६-८) “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले ती सित दुःख पठाउनु हुन्‍न” भन्‍ने कुरा तिनीहरूले हर ढङ्‌गमा अनुभव गर्नेछन्‌।—हितोपदेश १०:२२.

५. भौतिक कुराहरू बारे येशूले के प्रतिज्ञा गर्नु भयो?

५ आज पनि आध्यात्मिक कुराहरूको मोल गर्नेहरूले भौतिक चीजहरू बारे एक प्रकारको शान्ति अनुभव गर्छन्‌। हुनः त हो, तिनीहरूले पनि काम गर्छन्‌, घरखर्च चलाउँछन्‌ र आ-आफ्ना परिवारलाई खुवाउँछन्‌। अथवा आर्थिक शिथिलताको समयमा ती मध्ये केहीले आफ्नो जागिर समेत गुमाउँछन्‌। तापनि, यस प्रकारका फिक्रीहरूले गर्दा तिनीहरू विचलित हुँदैनन्‌। बरु येशूको यस प्रतिज्ञामाथि तिनीहरू विश्‍वास राख्छन्‌: “यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर। . . . किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३१-३३.

आज आध्यात्मिक धन

६, ७. (क) परमेश्‍वरका जनहरूको आध्यात्मिक सम्पन्‍नताका केही पक्षहरूको वर्णन गर्नु होस्‌। (ख) आज कुन भविष्यवाणी पूरा भइरहेछ र यसले गर्दा के कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

६ अतः, यहोवाका जनहरूले आ-आफ्नो जीवनमा राज्य सम्बन्धी जिम्मावारीहरूलाई प्रथम स्थान दिन रोजेका छन्‌ र यसले गर्दा तिनीहरूले कति आशिष पाएका छन्‌! चेला बनाउने तिनीहरूको कार्यमा तिनीहरूले ठूलो सफलता अनुभव गर्दछन्‌। (यशैया ६०:२२) तिनीहरूलाई यहोवाले सिकाउनु हुन्छ। जसले गर्दा तिनीहरूले विश्‍वासी र बुद्धिमान-दास द्वारा असल-असल आत्मिक कुराहरूको कहिले नसुक्ने खोला समान आनन्द उठाइ रहन्छन्‌। (मत्ती २४:४५-४७; यशैया ५४:१३) यसका साथ-साथै, यहोवाको आत्मा तिनीहरू माथि छ र यसले तिनीहरूलाई एउटा आनन्दमय अन्तर्राष्ट्रिय भ्रातृत्वमा परिणत गराउँदछ।—भजनसंग्रह १३३:१; मर्कूस १०:२९, ३०.

७ यो वास्तवमा एउटा आध्यात्मिक सम्पन्‍नता हो जसलाई पैसाले किन्‍न सक्‍तैन। यहोवाको यस प्रतिज्ञाको यो एउटा विशिष्ट पूर्ति हो: “‘जम्मै दशांश भण्डारमा ल्याऊ, र मेरो घरमा भोजन रहोस्‌। यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (मलाकी ३:१०) यो प्रतिज्ञा पूरा भएको हामीले आज देख्न पायौं। तर यहोवा सारा धनको मूल स्रोत हुनु भएर पनि आफ्ना सेवकहरूले दशांश वा दसौं भाग ल्याएको किन चाहनु हुन्छ? यो दशांशबाट कसले लाभ उठाउँछ? यी प्रश्‍नहरूको जवाफ दिन सक्नका लागि, यहोवाले यी शब्दहरू सा० यु० पू० पाँचौं शताब्दीमा मलाकीद्वारा किन भन्‍नु भयो, सो विचार गर्नु होस्‌।

दशांशहरू र भेटीहरू

८. व्यवस्थाको वाचाअनुसार, इस्राएलको भौतिक सम्पन्‍नता कुन कुरामा भर पर्ने थियो?

८ मलाकीको पालोमा परमेश्‍वरका जनहरूले सम्पन्‍नता अनुभव गरिरहेका थिएनन्‌। किन? यसको एउटा कारण त भेटीहरू र दशांशहरू सित सम्बन्धित थियो। त्यति खेर इस्राएल, मोशाद्वारा बाँधिएको व्यवस्थाको वाचाको अधीनमा थियो। इस्राएलले त्यो वाचाको शर्त पूरा गरेमा, तिनीहरूलाई दुवै आत्मिक र भौतिक तवर्‌मा आशिष दिनु हुनेछ भनी यहोवाले यो वाचा बाँध्ने समयमा प्रतिज्ञा गर्नु भएको थियो। भनौं भने, इस्राएलको सम्पन्‍नता तिनीहरूको विश्‍वासिलोपनामा भर गर्द थियो।—व्यवस्था २८:१-१९.

९. पुरातन इस्राएलका दिनहरूमा, यहोवाले दशांश र भेटीहरू इस्राएलले चढाएको किन चाहनु हुन्थ्यो?

९ इस्राएलले पूरा गर्नु पर्ने शर्तको एउटा भाग मन्दिरमा भेटीहरू ल्याउनु र दशांश तिर्नु थियो। ती भेटीहरू मध्ये केहीलाई यहोवाको वेदीमा पूरै जलाइन्थ्यो र कुनै कुनैको विशेष भाग यहोवालाई चढाइ सके पछि बाँकी रहेको भागलाई पूजाहारी र भेटी चढाउने व्यक्‍तिको बीचमा बाँड्‌ने गरिन्थ्यो। (लेवी १:३-९; ७:१-१५) दशांशहरू बारे मोशाले इस्राएलीहरूलाई यसो भने: “रूखको फल वा बिउको होस्‌, भूमिको उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्‌।” (लेवी २७:३०) त्यो दशांश, वेदीमा काम गर्ने लेवीहरूलाई र पछि मन्दिरमा दिने गरिन्थ्यो। साथै, पूजाहारी काम नगर्ने लेवीहरूले चाहिं आफूले जे पाउँद थिए, त्यसबाटको दशांश हारूनको घरानाका पूजाहारीहरूलाई दिन्थे। (गन्ती १८:२१-२९) इस्राएलले दशांश तिरेको यहोवा किन चाहनु हुन्थ्यो? प्रथमतः, तिनीहरूले यसप्रकार यहोवाको भलाइका लागि प्रत्यक्ष रूपमा मूल्याङ्‌कन व्यक्‍त गर्न सक्‍तथे। यसको अलावा, तिनीहरूले लेवीहरूलाई मद्दत पुऱ्‍याउनका लागि चन्दा दिन सक्‍तथे र यसले गर्दा लेवीहरूले चाहिं व्यवस्था सिकाउन र अन्य अरू कर्त्तव्यहरू पूरा गर्नमा सम्पूर्ण ध्यान दिन सक्ने थिए। (२ इतिहास १७:७-९) यसो गर्दा साँचो उपासनालाई बढावा दिएको हुने थियो र यसबाट सबैले लाभ उठाउन सक्थ्यो।

१०. इस्राएलले दशांश र भेटीहरू नचढाउँदा के हुन्थ्यो?

१० पछि दशांशहरूको प्रयोग लेवीहरूले नै गरे तापनि, ती वास्तवमा यहोवाका लागि चढाइएका उपहारहरू थिए। त्यसैकारण, ती उपहारहरूको गुणस्तर राम्रो अथवा यहोवालाई चढाउने योग्यको हुन पर्दथियो। (लेवी २२:२१-२५) इस्राएलीहरूले तिनीहरूको दशांश नल्याउँदा अथवा तिनीहरूले निम्न स्तरको भेटीहरू चढाउँदा के हुन्थ्यो? यसका लागि व्यवस्थामा कुनै सजाय नतोकिएको भए तापनि, यसका परिणामहरू चाहिं हुन्थ्यो। जस्तो कि यहोवाले आशिष दिन छाडनु हुन्थ्यो र भौतिक मद्दत नपाएर लेवीहरू मन्दिरको कामकाज छाडेर आफ्नै जीविका चलाउन हिंडिदिन्थे। अतः सारा इस्राएलमाथि यसको एउटा दुःखदायी प्रभाव पर्द थियो।

“आफ्ना आफ्ना चालको विचार गर”

११, १२. इस्राएलले व्यवस्थाको पालन नगर्दा, परिणाम के हुन्थ्यो? (ख) यहोवाले इस्राएललाई बाबेलबाट फिर्ता ल्याउनु हुँदा, तिनीहरूलाई के गर्ने जिम्मेवारी दिनु भयो?

११ इस्राएलको इतिहासभरि, व्यवस्था पालन गर्न अर्थात्‌ दशांश तिर्नमा केही व्यक्‍तिहरू अनुकरणीय थिए। (२ इतिहास ३१:२-१६) तर आम तवर्‌मा चाहिं त्यस राष्ट्रले हेलचक्य्राइँ नै गऱ्‍यो। यहोवासित बाँधेको वाचा तिनीहरूले बारम्बार तोडे र अन्ततोगत्वा, उहाँले तिनीहरूलाई अरूहरूको कब्जामा पर्न दिनु भयो र सा० यु० पू० ६०७-मा बाबेलको निर्वासनमा पठाइ दिनु भयो।—२ इतिहास्‌ ३६:१५-२१.

१२ त्यो एउटा कडा अनुशासन थियो तर ७० वर्षपछि यहोवाले उहाँका जनहरूलाई तिनीहरूको आफ्नै देशमा पुनःस्थापित गराइ दिनु भयो। यशैयामा उल्लिखित प्रमोदनवन सम्बन्धी थुप्रै अगमवाणीहरूको प्रथम पूर्ति यस पुनरागमन पछि हुनु परेको थियो। (यशैया ३५:१, २; ५२:१-९; ६५:१७-१९) तापनि, यहोवाले उहाँका जनहरूलाई वापस ल्याउनुको मुख्य उद्देश्‍य एउटा पार्थिव प्रमोदवन बसाल्नु थिएन तर मान्दिरको पुनःनिर्माण गरेर साँचो उपासना पुनःस्थापित गर्नु थियो। (एज्रा १:२, ३) इस्राएलले यहोवाको आज्ञा मानेको खण्डमा, भौतिक लाभहरू उपलब्ध हुने थियो, र यहोवाको आशिषले तिनीहरूलाई आत्मिक र भौतिक, दुवै तवर्‌मा सम्पन्‍न तुल्याइदिने थियो। यसैकारण, सा० यु० पू० ५३७-मा आफ्नो देश आइपुग्ना साथै, ती यहूदीहरूले यरूशलेममा एउटा वेदी बनाए र मन्दिरको काम शुरु गरे। तथापि, कडा विरोधको सामना गर्न परेको हुनाकारण तिनीहरूले काम बन्द गरे। (एज्रा ४:१-४, २३) परिणामस्वरूप, इस्राएलले यहोवाको आशिषबाट आनन्द उठाएन।

१३, १४. (क) इस्राएलले मन्दिरको पुनःनिर्माण नगर्दा के भयो? (ख) आखिरमा मन्दिरको पुनःनिर्माण कसरी भयो, तर इस्राएलीहरूले गरेका अरू कुन कुन त्रुटिको चर्चा गरिएको छ?

१३ सा० यु० पू० ५२०-मा इस्राएललाई मन्दिर निर्माणको कार्य फेरि सुरु गर्न उत्प्रेरित गराउन यहोवाले हाग्गै र जकरिया अगमवक्‍ताहरू खडा गर्नु भयो। राष्ट्रले भौतिक कठिनाइहरू भोगी रहेको थियो र ती सबै कष्टहरू यहोवाको घरका लागि तिनीहरूको जोशको अभावसित सम्बन्धित छन्‌ भनेर हाग्गै अगमवक्‍ताले देखाइ दिए। तिनले यसो भने: “सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू आफ्ना आफ्ना चालको विचार गर। तिमीहरूले छर्न ता धेरैनै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान ता खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन ता पिउँछौ तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा लाउन त लाउँछौ, तर तिमीहरूमा कोही पनि न्यानो हुँदैनौ। कमाइ गर्नेले पनि कमाएर ल्याएको जत्ति छेंड परेको थैलीमा राख्तछौ।’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: ‘तिमीहरूका आफ्ना आफ्ना चालको विचार गर। डाँडा डाँडा हुँदो उक्लेर काठपात ल्याऊ र मेरो भवन बनाऊ। त म त्यसमा खुशी हुनेछु र मेरो महिमा हुनेछ।’”—हाग्गै १:५-८.

१४ हाग्गै र जकरियाद्वारा प्रोत्साहित भएर, इस्राएलीहरूले आफ्ना आफ्ना चालहरूलाई विचार गरे र मन्दिरको पुनःनिर्माण भयो। तर केही ६० वर्ष पछि, नहेम्याह यरूशलेम जाँदा इस्राएलीहरूले फेरि यहोवाको व्यवस्थाको हेलचक्य्राइँ गरेको तिनले भेट्टाए। तिनले यो स्थितिमा सुधार ल्याए। तर तिनी दोस्रो पटक जाँदा स्थिति फेरि बिग्रेको थियो। तिनी भन्छन्‌: “लेवीहरूले आफ्ना भागहरू पाएका रहेनछन्‌ भन्‍ने कुरा पनि मैले सुनें। आफ्ना आफ्ना कामका जिम्मा लिने, लेवीहरू र गवैयाहरू दुवै, आफ्ना आफ्ना गाउँहरूमा गइहाले भन्‍ने पनि मैले सुनें।” (नहेम्याह १३:१०) यस समस्याको सुधार गरियो र “सबै यहूदाले अन्‍नका आफ्नो दशौं अंश, नयाँ दाखमद्य र तेल भण्डारमा ल्याए।”—नहेम्याह १३:१२.

यहोवालाई लुट्‌नु

१५, १६. यहोवाले मलाकीद्वारा इस्राएललाई अरू कुन गल्तीहरूका लागि पनि सुधार दिनु हुन्छ?

१५ सम्भवतः, मलाकीले पनि प्रायः यसै समयमा अगमवाणी गरेको हुनाकारण, तिनले इस्राएलको अविश्‍वासिलोपना बारे हामीलाई थप कुरा बताएका छन्‌। इस्राएललाई यहोवाले भन्‍नु भएका कुराहरू पनि तिनले लेखबद्ध गरेका छन्‌: “‘यदि म बाबु हो भने मेरो मान खोइ? यदि म मालिक हो भने मेरो डर खोइ? तिमी पूजाहारीहरूलाई, जो मेरो नाउँको अवहेलना गर्दछौं’ सेनाहरूका परमप्रभु यो सोध्नुहुन्छ।” त्यहाँ भइरहेको गल्ती के थियो? यहोवा व्याख्या गर्नु हुन्छ: “जब तिमीहरूले अन्धा पशु बलिदानमा चढाउँदछौ, तब के त्यो दुष्ट कुरो होइन र? जब तिमीहरूले लङ्‌गडा र बेथा लागेको पशु बलिदानमा चढाउँदछौ, तब के त्यो दुष्ट कुरा होइन र?”—मलाकी १:६-८.

१६ हो, इस्राएलीहरूले भेटीहरू ल्याउन त ल्याइरहेका थिए। तर त्यसको निम्न गुणस्तरद्वारा तिनीहरूले एउटा अति नै अपमानजनक मनोवृत्ति प्रदर्शित गरिरहेका थिए र यसलाई मलाकीले ज्वलन्त ढङ्‌गमा प्रकाश पारिदिए। मलाकीले यसो पनि लेखे: “तिमीहरूका पिता-पुर्खाका दिन देखिनै तिमीहरू मेरा धार्मिक विधानहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौं। मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” तर तिनीहरूले वास्तवमा के गर्नु परेको थियो, सो जान्‍न ती इस्राएलीहरू इच्छुक थिए। यसकारण तिनीहरूले यो प्रश्‍न गरे: “हामी के कुरामा फर्कौं?” यहोवाले यस प्रकार जवाफ दिनु भयो: “के मानिसले परमेश्‍वरलाई लूटनेछ? तापनि तिमीहरू मलाई लूटदछौ।” तर इस्राएलले पृथ्वीको सारा सम्पत्तिको मूल-स्रोत, यहोवालाई कसरी लुट्‌न सक्‍तथ्यो? यहोवाले जवाफ दिनु भयो: “दशांशको भेटीमा।” (मलाकी ३:७, ८) हो, आ-आफ्ना दशांश र भेटीहरू नचढाएर, इस्राएलले यहोवालाई लूटिरहेका थिए!

१७. इस्राएलमा दशांश र भेटीहरू द्वारा के उद्देश्‍य पूरा हुन्थ्यो र दशांशबारे यहोवाले के प्रतिज्ञा गर्नु भएको छ?

१७ यस ऐतिहासिक पृष्ठभूमिबाट हामी इस्राएलमा दशांश र भेटीहरूको महत्त्व बुझ्न सक्छौं। दिने व्यक्‍तिले कतिको मूल्याङ्‌कन गर्दछ, ती दानहरू द्वारा व्यक्‍त हुन्थ्यो। साथै ती दानहरूले साँचो उपासनालाई भौतिक तवर्‌मा समर्थन पनि गर्थ्यो। अतः, यहोवाले इस्राएललाई “जम्मै दशांश भण्डारमा ल्याऊ” भन्‍नु हुँदै उत्साहित पार्नु भयो। र तिनीहरूले यसो गरेमा, के हुने थियो, सो कुराको प्रतिज्ञा यहोवाले यस प्रकार गर्नु भयो: “अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु।” (मलाकी ३:१०) यहोवाको आशिषले तिनीहरूलाई सम्पन्‍नता प्रदान गर्ने थियो।

साँचो “परमप्रभु” ले इन्साफ गर्नु भएको

१८. (क) यहोवाले कसको आगमनबारे चेताउनी दिनु हुन्छ? (ख) मन्दिरमा आउने काम कहिले भयो, यसमा को को सम्मिलित थिए र इस्राएलका लागि यसको परिणाम के भयो?

१८ आफ्ना जनहरूको इन्साफ गर्न उहाँ आउनु हुनेछ भनी यहोवाले मलाकीद्वारा अग्रिम-चेताउनी पनि दिनु भयो। “हेर, म आफ्नो दूतलाई पठाउँछु, र उसले मेरो अगि अगि बाटो तयार गर्नेछ, र परमप्रभु जसलाई तिमीहरू खोज्दछौ एक्कासी आफ्नो मन्दिरमा आउनेछन्‌, अर्थात्‌ करारका ती दूत जसलाई तिमीहरू औधि चाह गर्दछौ। हेर, तिनी आउँदैछन्‌, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (मलाकी ३:१) मन्दिरमा आउने यो प्रतिज्ञा कहिले पूरा भयो? बाटो तयार पार्ने एक जना दूतबारे मलाकीले गरेका भविष्यवाणीबाट उद्धरण गर्नु हुँदै, येशूले मत्ती ११:१०-मा त्यसलाई बप्तिस्मा दिने यूहन्‍नामा प्रयोग गर्नु भयो। (मलाकी ४:५; मत्ती ११:१४) अतः, सा० यु० २९-मा इन्साफ गर्ने समय आइ सकेको थियो! यहोवा अथवा “परमप्रभु” सङ्‌ग-सङ्‌गै मन्दिरमा आउनु हुने त्यो दोस्रो दूत अथवा वाचाको दूत को हुनु हुन्थ्यो? उहाँ स्वयं येशू हुनु हुन्थ्यो र यरूशलेमको मन्दिरमा उहाँ दुई पटक आउनु भएर, जोडतोडका साथ त्यहाँका ती बेइमान सराफीहरूलाई बाहिर लघार्नु भयो। (मर्कूस ११:१५-१७; यूहन्‍ना २:१४-१७) यस प्रथम शताब्दीमा हुने इन्साफको समयबारे चाहिं यहोवाले अग्रिमवाणीको रूपमा यो प्रश्‍न गर्नु हुन्छ: “उनको आउने दिनमा को टिक्नसक्छ? औ उनी देखापर्दा को खडा हुनसक्छ?” (मलाकी ३:२) वास्तवमा, इस्राएल खडा हुन सकेन। तिनीहरूको इन्साफ गरियो र तिनीहरूमा धेरै कमीहरू फेला पऱ्‍यो। र सा० यु० ३३-देखि तिनीहरू यहोवाले रोज्नु भएको राष्ट्र रहेनन्‌।—मत्ती २३:३७-३९.

१९. प्रथम शताब्दीमा यहोवातिर एउटा शेष भाग कसरी फर्के र तिनीहरूले के आशिष पाए?

१९ तथापि, मलाकीले यसो पनि लेखे: “चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी [यहोवा] बस्नेछन्‌, र लेवीका सन्तानलाई उनले शुद्ध पार्नेछन्‌, र सुन र चाँदीझैं निर्मल पार्नेछन्‌। औ तिनीहरूले धर्मसित परमप्रभुमा भेटी चढाउनेछन्‌।” (मलाकी ३:३) यसै अनुरूप, प्रथम शताब्दीमा यहोवाको सेवा गर्दछु भनी दाबी गर्ने धेरै जसो व्यक्‍तिहरू तिरस्कृत भए तापनि, केहीलाई चाहिं शुद्ध पारियो र तिनीहरू ग्रहणयोग्य बलिदानहरू चढाउँदै यहोवाको नजिक आए। यिनीहरू को थिए? यी तिनीहरू नै थिए जसले येशू अर्थात्‌ करारको दूतको कुरा सुनेका थिए। ती असल प्रतिक्रिया देखाउनेहरू मध्येका १२० जना यरूशलेममा, सा० यु० ३३-को पेन्तिकोसको दिनमा माथिल्लो तलाको एउटा कोठामा भेला भएका थिए। पवित्र आत्माद्वारा बल पाए पछि, तिनीहरूले धार्मिकताको भेटी चढाउन थाले र चाँड-चाँडो तिनीहरूको सङ्‌खया पनि बढदै गयो। थोरै समयभित्र तिनीहरू रोमी साम्राज्यभरि फैलिए। (प्रेरित २:४१; ४:४; ५:१४) यस प्रकार, एउटा शेष भाग यहोवातिर फर्के।—मलाकी ३:७.

२०. यरूशलेम र मन्दिरको नाश हुँदा, परमेश्‍वरको नयाँ इस्राएललाई चाहिं के भयो?

२० इस्राएलको यो शेष भागमा ती अन्यजातिकाहरू पनि समावेश भए जो इस्राएलको मूल बोटमा कलम बाँधिएकाहरू जस्तै थिए। यिनीहरू सबै नै, आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको एउटा राष्ट्र अर्थात्‌ “परमेश्‍वरको इस्राएल”-मा सम्मिलित भए। (गलाती ६:१६; रोमी ११:१७) सा० यु० ७०-मा “भट्टी झैं दन्केको” दिन शारीरिक इस्राएलमाथि आइ पऱ्‍यो जब रोमी फौजहरूले यरूशलेम र त्यहाँ भएको मन्दिरलाई नष्ट पारिदियो। (मलाकी ४:१; लूका १९:४१-४४) परमेश्‍वरको आत्मिक इस्राएललाई चाहिं के भयो? यहोवाले तिनीहरूलाई “दया देखाउनु भयो जसरी एउटा पिताले आफ्नो सेवा गर्ने छोरालाई दया देखाउँनु हुन्छ।” (मलाकी ३:१७, न्यु व०) येशूले दिनु भएको चेताउनी बमोजिम अभिषिक्‍त मसीही मण्डलीले काम गरे। (मत्ती २४:१५, १६) यसकारण, तिनीहरू बाँचे र यहोवाको आशिषले तिनीहरूलाई आत्मिक तवर्‌मा निरन्तर सम्पन्‍न तुल्याइ रह्‌यो।

२१. मलाकी ३:१ र १० बारे कुन प्रश्‍नहरू बाँकी नै छ?

२१ यहोवा कति महान ढङ्‌गमा सिद्ध साबित हुनु भयो? तर, मलाकी ३:१ आज कसरी पूरा भइरहेछ? भण्डार भित्र सम्पूर्ण दशांश ल्याउनु भनेर मलाकी ३:१०-मा दिइएको प्रोत्साहनप्रति आज एक जना मसीहीले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नु पर्ने हो? यी कुराहरूको छलफल आउँदो लेखमा गरिने छ। (w92 12/1)

के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?

▫ सारा धन-सम्पत्तिको मूल स्रोत आखिर को हुनु हुन्छ?

▫ भौतिक धनभन्दा आध्यात्मिक सम्पन्‍नता किन उत्तम हो?

▫ इस्राएलमा दशांश र भेटीहरूले के भूमिका निभाउँद थिए?

▫ साँचो “परमप्रभु” यहोवा इस्राएलको इन्साफ गर्न मन्दिरमा कहिले आउनु भयो र यसको परिणामस्वरूप के भयो?

▫ सा० यु० प्रथम शताब्दीमा यहोवा आफ्नो मन्दिरमा आउनु भए पछि, उहाँतिर को को फर्के?

[पृष्ठ ११-मा भएको चित्र]

यहोवाको प्रतिनिधित्व गर्नु हुँदै, करारका दूत, येशू सा० यु० प्रथम शताब्दीमा इन्साफ गर्नका लागि मन्दिरमा आउनु भयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने