हाम्रा महान सृष्टिकर्ताका साथ गोठालो काम गर्ने
“परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाइ गर्नुहुन्छ।”—भजनसंग्रह २३:१, ३.
१. यहोवाले कुन प्रकारको प्रेमपूर्ण आराम प्रदान गर्नु हुन्छ?
क्लान्त भएका थुप्रै प्राणीहरूले “दाऊदको भजन” अर्थात् २३-वौं भजनबाट आराम पाएका छन्। त्यसबाट तिनीहरूले छैठौं पद्यमा व्यक्त गरिएको आत्म-विश्वास राख्ने प्रोत्साहन पाएका छन्: “निश्चय मेरो जीवनभरि भलाइ र करुणा मपछि लाग्नेछ। र परमप्रभुको घरमा म सदा रहनेछु।” यस प्रकार यहोवाको उपासनाको घरमा बसेर, पृथ्वीका सबै राष्ट्रहरूबाट हाल जम्मा भइरहेका उहाँका मानिसहरू सित एकताबद्ध हुन के तपाईं पनि इच्छा गर्नु हुन्छ? “[तपाईंहरूका, न्यु व०] प्राणका गोठाला र धर्माधिकारी” यहोवा परमेश्वर, अर्थात् हाम्रा महान सृष्टिकर्ताले तपाईंलाई त्यो लक्ष्य पूरा गर्ने मद्दत दिनु हुने छ।—१ पत्रुस २:२५.
२, ३. (क) यहोवाले आफ्ना जनहरूको प्रेमपूर्ण ढङ्गमा गोठालो कसरी गर्नुहुन्छ? (ख) यहोवाको “बगाल”-को उदेकलाग्दो वृद्धि कसरी भएको छ?
२ “नयाँ स्वर्ग र नयाँ पृथ्वी”-का सृष्टिकर्ता नै मसीही मण्डली, अथवा “परमेश्वरको घर”-को प्रबन्धक र सर्वोच्च निरीक्षक पनि हुनुहुन्छ। (२ पत्रुस ३:१३; १ तिमोथी ३:१५) आफ्ना जनहरूको गोठालो गर्नमा उहाँले गहिरो चासो लिनुहुन्छ। यो कुरा यशैया ४०:१०, ११-मा यसप्रकार स्पष्ट गरी व्यक्त गरिएको छ: “हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउनुहुनेछ, र उहाँले आफ्नो बाहुबलले शासन गर्नुहुनेछ। हेर, उहाँको पुरस्कार उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै सामने छ। उहाँले आफ्नो बगाललाई गोठालाले झैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अङ्गालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्याएर उहाँले लैजानुहुनेछ।”
३ यहाँ “माऊ” भन्नाले ती व्यक्तिहरूको बोध हुन्छ जो मसीही सच्चाइको मार्गमा धेरै समयदेखिन् हिडिंरहेका छन् र “थुमाहरू”-ले चाहिं तिनीहरूलाई सङ्केत गर्छ जो हालसालैमा मात्र बटुलिएका हुन् अर्थात् हालसालै अफ्रिका र पूर्वीय युरोपमा ठूलो सङ्खयामा बप्तिस्मा लिने मानिसहरू। यहोवाको बलवान र संरक्षणात्मक बाहुलीले तिनीहरूलाई उहाँको काखमा जम्मा गर्दछ। तिनीहरू पहिले बरालिएका भेडाहरू झैं थिए। तर अब भने तिनीहरूले आफ्ना एक मात्र प्रिय परमेश्वर र गोठालोसित एउटा घनिष्ठ सम्बन्ध बाँध्न सकेका छन्।
यहोवाको सह-गोठाला
४, ५. (क) “असल गोठालो” को हुनु हुन्छ, र भविष्यवाणीले उहाँतर्फ कसरी सङ्केत गरेको थियो? (ख) कुन प्रकारको छुट्ट्याउने कामको देखरेख येशूले गर्नु हुँदै छ, र यसको के विशेष परिणाम भइरहे छ?
४ स्वर्गमा आफ्नो पिताको दाहिने बाहुलीमा बसेर सेवा गर्नु हुँदै, “असल गोठालो” येशू ख्रीष्टले पनि “भेडाहरू” प्रति अनुकम्पापूर्ण ध्यान दिनुहुन्छ। उहाँले पहिले त अभिषिक्त जनहरूको “सानो बगाल”, र त्यसपछि हाल “अरू भेडाहरू”-को एउटा ठूलो भीडका लाभका निम्ति आफ्नो प्राण अर्पण गर्नु भयो। (लूका १२:३२; यूहन्ना १०:१४, १६) महान गोठाला, यहोवा परमेश्वरले यी जम्मै भेडाहरूलाई यसो भन्नु हुँदै सम्बोधन गर्नुहुन्छ: “अब म आफै . . . भेडा भेडाको बीचमा न्याय गर्नेछु। त्यसपछि म तिनीहरूको हेरचाहा गर्नलाई मेरो दास दाऊदलाई गोठाला नियुक्त गर्नेछु। त्यसले तिनीहरूको हेरचाह गर्नेछ, र त्यो तिनीहरूको गोठाला हुनेछ। म परमप्रभु, तिनीहरूका परमेश्वर हुनेछु र मेरो दास, दाऊद तिनीहरूका बीचमा राजा हुनेछ। यो मेरो वाणी हो, परमप्रभु भन्नुहुन्छ।”—इजकिएल ३४:२०-२४.
५ “मेरो सेवक दाऊद” भन्ने पद्ले अगमवाणीको रूपमा ख्रीष्ट येशूलाई, अर्थात् दाऊदको सिंहासनमा बस्नु हुने “सन्तान”-लाई सङ्केत गर्दछ। (भजनसंग्रह ८९:३५, ३६) जाति-जातिहरूको इन्साफ गर्ने यस दिनमा, यहोवाको सह-गोठालो र राजा, अथवा दाऊदको पुत्र, ख्रीष्ट येशूले, मानिस जातिहरूमा भएका “भेडाहरू”-लाई तिनीहरू बाट छुट्ट्याउने काम गर्नु हुँदैछ जो “भेडा” हुने दाबी त गर्छन् तर वास्तवमा “बाख्राहरू” हुन्। (मत्ती २५:३१-३३) यी “एउटा गोठालोलाई” भेडाहरूलाई खुवाउने उद्देश्यले पनि खडा गराइएको हो। यो अगमवाणीको कस्तो महान पूर्ति हामी आज देख्तछौं! एकातिर एउटा नयाँ विश्व व्यवस्था द्वारा मानिस जातिलाई एकताबद्ध गराउने कुरा आज राजनीतिज्ञहरूले गरिरहेको बेलामा, ती एक जना गोठालोले चाहिं साक्षी दिने बहुभाषीय अभियानद्वारा सबै जातिहरूका भेडाहरूलाई वास्तवमा एक तुल्याइ रहेका छन्। यो एउटा यस्तो जिम्मेवारी हो जसलाई उठाउन पृथ्वीमा परमेश्वरको सङ्गठन बाहेक अरू कसैले कहिले आँट समेत गर्न गाह्रो हुने छ।
६, ७. भेडाहरूलाई “ठीक ठीक समयमा खाना” उपलब्ध गराउनका लागि “विश्वासी र बुद्धिमान दासले” कसरी प्रबन्ध मिलाएको छ?
६ जसै राज्यको समाचार नयाँ-नयाँ इलाकाहरूमा निरन्तर पुग्दछ, ती एक जना गोठालोले नियुक्त गर्नु भएको “विश्वासी र बुद्धिमान दास”-का अभिषिक्त मसीहीहरूले “ठीक ठीक समयमा” खाना निश्चित रूपमा पुर्याउने हर प्रबन्ध गर्छन्। (मत्ती २४:४५) अझ बढी मात्रामा र उच्च गुणस्तरका बाइबल सम्बन्धी पुस्तकहरू र पत्रिकाहरूको तीव्र गतिले बढ्दो मागलाई पूरा गर्नका लागि पृथ्वीभरि वाचटावर सोसाइटीका छापाखाना भएका ३३-शाखाहरू मध्ये धेरैले आफ्नो उत्पादन बढाइरहेका छन्।
७ यहोवाका साक्षीहरूको परिचालक निकायले करीब २०० भाषाहरूमा अनुवादको गुणस्तर बढाउने र संसारको सम्पूर्ण क्षेत्रलाई ढाक्नका लागि आवश्यक हुने अझ थप भाषाहरूमा अनुवाद सुरु गर्ने हर सम्भव प्रयास गरिरहेको छ। प्रेरित १:८-मा येशूले आफ्ना चेलाहरूलाई दिनु भएको जिम्मेवारीलाई पूरा गर्नका निम्ति नै यी सब गरिएका हुन्: “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौं, औ तिनीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” यति मात्र होइन। न्यु वर्ल्ड ट्रान्सलेशन ॲफ दी होली स्क्रिपचर्स-को पूर्ण भाग अथवा त्यसका केही अंश १४ भाषाहरूमा प्रकाशित भइसकेको भए तापनि, आज त्यसलाई युरोप, अफ्रिका र पूर्वीय देशहरूका अझ १६ भाषाहरूमा अनुवाद गरिन्दै छ।
“शान्तिको वाचा”बाट आनन्द उठाउने
८. यहोवाले भेडाहरू सङ्ग बाँध्नु भएको शान्तिको वाचाबाट तिनीहरूले कसरी प्रशस्त मात्रामा आशिष पाएका छन्?
८ उहाँको एक मात्र गोठालो, ख्रीष्ट येशूद्वारा, यहोवाले आफ्ना राम्ररी खान पाएका भेडाहरूसित “शान्तिको वाचा” बाँध्नु हुन्छ। (यशैया ५४:१०) येशूको बगेको रगतमा विश्वास गर्दै, यी भेडाहरू ज्योतिमा हिंडन सक्षम हुन्छन्। (१ यूहन्ना १:७) तिनीहरूले ‘ख्रीष्ट येशू द्वारा सारा समझलाई माथ गर्ने परमेश्वरको शान्ति’ अनुभव गर्छन्। (फिलिप्पी ४:७) इजकिएल ३४:२५-२८ मा वर्णन गरिए झैं, यहोवाले उहाँका भेडाहरूलाई एउटा आत्मिक प्रमोदवनतिर डोर्याउदै लैजानु हुन्छ। त्यहाँ तिनीहरूले आनन्दपूर्वक सुरक्षा, आरामदायी सम्पन्नता, र फलदायी स्थिति अनुभव गर्छन्। यी मायालु गोठालाले आफ्ना भेडाहरू बारे यसो भन्नुहुन्छ: “तिनीहरूका जुवा भाँचेर तिनीहरूलाई कमारा तुल्याउनेहरू बाट मुक्त गर्दा मनै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्। तिनीहरूलाई जाति जातिहरूले फेरि कहिल्यै शिकार बनाउनेछैनन्। . . . तिनीहरू भयहीन भएर बस्नेछन्। तिनीहरूलाई झस्काउने कोही हुने छैन।”
९. ‘जुवाहरू भाँची दिएर’ परमेश्वरका जनहरूका लागि कुन कुन मौकाहरू खुलिएका छन्?
९ धेरै देशहरूमा हालसालै “जुवा भाँचेको” अनुभव यहोवाका साक्षीहरूले गरी सकेका छन्। प्रचार गर्ने यतिका स्वतन्त्रता तिनीहरूले पहिले कहिले पनि पाएका थिएनन्। र प्रत्येक मुलुकमा यहोवाले दिनु भएको भयहीनताको सदुपयोग गर्दै हामी सबै नै काम सम्पन्न गर्न अघि बढौं। मानिसजातिले फेरि कहिले देख्न नपाउने महा-सङ्कष्टको समय जसै नजिक आउँछ, यहोवाले हामीलाई कति ठूलो सान्त्वना दिनु हुन्छ!—दानियल १२:१; मत्ती २४:२१, २२.
१०. असल गोठालो, येशू ख्रीष्टलाई मद्दत दिनका लागि यहोवाले कसलाई उपलब्ध गराउनु भएको छ, र तिनीहरू मध्येका कसैकसैलाई प्रेरित पावलले कसरी सम्बोधन गरे?
१० दुष्टका विरुद्धमा बदला लिने दिनको लागि तयारी गर्ने सिलसिलामा यहोवाले असल गोठालो, ख्रीष्ट येशूलाई सघाउन उप-गोठालोहरूको प्रबन्ध मिलाउनु भएको छ। प्रकाश १:१६-मा येशूको हातमा भएका “सातवटा ताराहरू”-को सम्पूर्ण सङ्खयाको रूपमा यी उप-गोठालोहरूको वर्णन गरिएको छ। प्रथम शताब्दीमा, प्रेरित पावलले यी उप-गोठालोहरूको एउटा प्रतिनिधि मण्डललाई यी शब्दहरूमा सम्बोधन गरे: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै [पुत्रको, न्यु व०] रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।” (प्रेरित २०:२८) आज करीब लाखौं उप-गोठोलाहरू छन् जसले पृथ्वीभरि ६९,५५८ मण्डलीहरूमा सेवा गरिरहेका छन्।
उप-गोठालाहरू अघि-अघि!
११. बारम्बार काम गरी सकेका इलाकाहरूमा कुनै कुनै गोठालाहरूले कसरी सफलतापूर्वक अगुवाइ लिएका छन्?
११ यी अन्तिम दिनहरूको दौडानमा बारम्बार दोहोऱ्याइसकेका थुप्रै ठाउँहरूका इलाकाहरूमा यी गोठालाहरूले अक्सर अगुवाइ लिनु पर्दछन्। यस्तो हुँदा तिनीहरूले बगालको जोशलाई कसरी जागा राख्न सक्तछन्? यी गोठालाहरूले यस सम्बन्धमा जे गरेका छन्, त्यो अति नै प्रशंसनीय छ। र विशेषतः सहायक र नियमित अग्रगामी कामलाई बढावा दिएर नै तिनीहरू सफल भएका हुन्। धेरै गोठालाहरूले स्वयं अग्रगामी सेवामा भाग लिएका छन्। साथै, अग्रगामी हुन नसक्ने प्रकाशकहरूले पनि अग्रगामीहरूमा हुने जोश व्यक्त गर्दै, आनन्दका साथ सेवा गर्दछन् जसले गर्दा क्षेत्रमा सामना गर्न पर्ने उदासीनतालाई जित्न सकेका छन्। (भजनसंग्रह १००:२; १०४:३३, ३४; फिलिप्पी ४:४, ५) अतः, जसै दुष्टता र आतङ्कले संसारलाई ख्वाप्प निल्दछ, भेडा खालका धेरै मानिसहरू राज्यको आशाप्रति जागरुक हुँदैछन्।—मत्ती १२:१८, २१; रोमी १५:१२.
१२. चाँड-चाँडो वृद्धि भइरहेका क्षेत्रहरूमा कुन गम्भीर समस्या विद्यमान छ, र यसको समाधान कहिलेकाहिं कसरी गरिन्छ?
१२ एउटा अर्को समस्या के हो भने, बगालको हेरचाह गर्नका लागी अक्सर यथेष्ट सङ्खयामा सुयोग्य गोठालाहरू छैनन्। पूर्वीय युरोपमा झैं, तीव्र गतिले वृद्धि भइरहेका क्षेत्रहरूमा थुप्रै नयाँ मण्डलीहरू ता छन् तर नियुक्त प्राचीनहरू चाहिं एक जना पनि पाइन्दैन। इच्छुक भेडाहरूले जिम्मेवारीको बोझ उठाउनु त उठाइरहेका छन् तर तिनीहरूमा अनुभवको ठूलो अभाव छ, र मण्डलीहरूमा बथानका बथान आइरहेका भेडाहरूलाई प्रशिक्षण दिने मद्दतको आवश्यकता छ। ब्राजिल, मेक्सीको र जायर जस्ता चाँड-चाँडो प्रगति भइरहेका देशहरूमा तुल्नात्मक दृष्टिकोणले निकै नै जवान साक्षीहरूलाई सेवाको प्रबन्ध मिलाउन र अन्य नयाँ जनहरूलाई प्रशिक्षण दिन प्रयोग गरिन्दैछ। अग्रगामीहरूले पनि ठूलो मद्दत दिंदैछन् र यो एउटा यस्तो क्षेत्र हो जसमा बहिनीहरूले नयाँ बहिनीहरूलाई प्रशिक्षण दिन सक्छन्। यसबाट हुने परिणामलाई यहोवाले उहाँको आत्माद्वारा आशिष दिनु हुन्छ। वृद्धि भइ नै रहे छ।—यशैया ५४:२, ३.
१३. (क) फसल यतिका धेरै भएको हुनाकारण, सबै साक्षीहरूले के का निम्ति प्रार्थना गर्नु पर्छन्? (ख) दोस्रो विश्व युद्धको अघि र पछि परमेश्वरका जनहरूले तिनीहरूका प्रार्थनाहरूको जवाफ कसरी पाए?
१३ जुन जुन देशहरूमा प्रचारको कार्य सुस्थापित छ, जहाँ जहाँ भर्खरै मात्र प्रतिबन्धहरू हटाइएका छन्, र हालसालैमा खुलेका इलाकाहरूमा मत्ती ९:३७, ३८-मा उल्लिखित येशूका यी शब्दहरू अझ पनि लागू हुन्छन्: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर।” यहोवाले अझ बढी गोठालाहरू खडा गरी दिऊन् भनेर पनि, हामीहरूले प्रार्थना गर्नु पर्दछ। उहाँले यसो गर्न सक्नु हुन्छ भन्ने कुराको प्रमाण हामीले देखि सकेका छौं। दोस्रो विश्व युद्धको अघि र त्यसको दौडानमा, अश्शूरीहरू जस्तै क्रूर तानाशाहहरूले यहोवाका साक्षीहरूलाई नामेट पारिदिने कोशिश गरे। तर यी साक्षीहरूका प्रार्थनाहरूको जवाफ दिनु हुँदै, यहोवाले यिनीहरूको सङ्गठनलाई शुद्ध तुल्याउनु भयो। त्यहाँ आवश्यक गोठालाहरू उपलब्ध गराउनु भएर त्यसलाई पूर्णतया “ईश्वरतान्त्रिक” पार्नु भयो।a यो उहाँले यस अगमवाणी अनुसार नै गर्नु भयो: “औ शान्ति यही हुनेछ, जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यसले हाम्रो भूमिमा खुट्टा टेक्छ, तब हामी त्यसको विरुद्धमा सात गोठाला र आठ मुखियाहरू खडा गर्नेछौं।”—अथवा अगुवाइ लिनका लागि आवश्यक भन्दा बढी प्राचीनहरू।—मीका ५:५.
१४. सङ्गठनमा के विशिष्ट गुणको आवश्यकता देखिन्छ, र भाइहरूलाई के प्रोत्साहन दिइएको छ?
१४ बप्तिस्मा प्राप्त सबै पुरुषहरूलाई थप जिम्मेवारीहरू सम्हाल्न अघि सर्नु अत्यावश्यक छ। (१ तिमोथी ३:१) परिस्थिति अति नै गम्भीर छ। यो रीतिरिवाजको अन्त चाँड-चाँडो नजिक आइरहेछ। हबकूक २:३ भन्छ: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो निश्चय पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।” भाइहरू हो, अन्त आउनु अघि नै गोठालो सेवासित सम्बन्धित यी थप जिम्मेवारीहरू सम्हाल्ने योग्यता बढाउन के तपाईं अघि सर्न सक्नु हुन्छ?—तितस १:६-९.
ईश्वरतान्त्रिक गोठालो सेवा
१५. कुन कुन कुराले गर्दा यहोवाका जनहरूको माझमा ईश्वरतन्त्र कायम छ भन्न सकिन्छ?
१५ यहोवाको सङ्गठनको वृद्धिमा पूर्णतया भाग लिनका लागि, उहाँका जनहरूमा ईश्वरतान्त्रिक दृष्टिकोण हुनु पर्दछ। तिनीहरूले यो कसरी गर्न सक्छन्? यसका लागि पहिले त “ईश्वरतान्त्रिक”-को अर्थ के हो, सो बुझ्नु पर्दछ। वेबस्टर्स न्यु ट्वेन्टीयथ डिक्शनेरी-अनुसार “ईश्वतन्त्र”-को परिभाषा “कुनै राष्ट्रमाथि परमेश्वरले शासन गर्नु हो।” यसै अर्थमा यहोवाको “पवित्र जाति” ईश्वरतान्त्रिक हुन्। (१ पत्रुस २:९; यशैया ३३:२२) त्यो ईश्वरतान्त्रिक राष्ट्रका सङ्गीहरू अथवा सदस्यहरूको हैसियतमा, साँचो मसीहीहरूले परमेश्वरको वचन र त्यसका सिद्धान्तहरू अनुसार जीवन बिताउनु र सेवा गर्नु पर्दछ।
१६. हामीले आफूलाई, वास्तवमा, कसरी ईश्वरतान्त्रिक प्रमाणित गर्न सक्छौं?
१६ मसीहीहरू कसरी ईश्वरतान्त्रिक हुनु पर्दछ, सो कुराको व्याख्या प्रेरित पावलले स्पष्टसङ्ग दिएका छन्। तिनी भन्छन्, प्रथमतया तिनीहरूले “नयाँ मानिसलाई धारण” गर्नु पर्दछ “जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” ती मसीही व्यक्तित्व परमेश्वरको वचनमा उल्लिखित धार्मिक सिद्धान्तहरूको साँचामा ढालिएको हुनु पर्छ। यहोवा र उहाँका नियमहरू प्रति तिनी वफादार रहनु पर्दछ। यो कसरी गर्न सकिन्छ, सो व्यक्त गरी सकेपछि, पावलले यस प्रकार आग्रह गर्छन्: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ४:२४–५:१) आज्ञाकारी बालकहरूझैं हामीले परमेश्वरको देखा-सिकी गर्नु पर्दछ। हामीमाथि वास्तवमा परमेश्वरले शासन गर्नु हुन्छ भनी प्रदर्शित गर्नु, ईश्वरतन्त्रको एउटा सक्रिय रूप हो!—कलस्सी ३:१०, १२-१४ पनि हेर्नुहोस्।
१७, १८. (क) ईश्वरतान्त्रिक मसीहीहरूले परमेश्वरका कुन विशिष्ट गुणको अनुकरण गर्न सक्छन्? (ख) मोशालाई सम्बोधन गर्नु भएका शब्दहरूमा, यहोवाले आफ्नो मुख्य गुणमाथि कसरी जोड दिनु भयो, तर त्यहाँ कुन कुराको चेताउनी पनि दिनु भयो?
१७ परमेश्वरको कुन मुख्य गुणको देखा-सिकी हामीले गर्नु पर्छ? यसको जवाफ प्रेरित यूहन्नाले १ यूहन्ना ४:८-मा यस प्रकार दिन्छन्: “परमेश्वर प्रेम हुनुहुन्छ।” आठ पद्यपछि, पद्य १६-मा तिनले यो महत्त्वूपर्ण सिद्धान्त दोहोऱ्याउछन्: “परमेश्वर प्रेम हो, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहन्छ।” महान गोठालो यहोवा, प्रेमको साक्षात प्रतिमा हुनु हुन्छ। यहोवाका भेडाहरूका लागि गहिरो प्रेम प्रकट गर्दै, ईश्वरतान्त्रिक गोठालाहरूले उहाँको अनुकरण गर्छन्।—१ यूहन्ना ३:१६, १८; ४:७-११ सङ्ग तुलना गर्नु होस्।
१८ ती महान ईश्वतन्त्रवादीले मोशाको सामुन्ने आफूलाई यी शब्दहरूमा प्रकट गर्नु भयो: “परमप्रभु नै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ।” (प्रस्थान ३४:६, ७) यसप्रकार, गल्तीका लागि सजाय दिन आवश्यक परेमा सो दिनु हुने छ भनी दृढताका साथ चेताउनी दिनु हुँदै, यहोवाले आफ्नो ईश्वरतान्त्रिक विशिष्ट गुण अथवा प्रेमका विभिन्न पक्षहरू माथि जोड दिनु हुन्छ।
१९. फरिसीहरू भन्दा बेग्लै भएर, मसीही गोठालाहरू एउटा ईश्वरतान्त्रिक ढङ्गमा कसरी काम गर्न सक्छन्?
१९ सङ्गठनमा जिम्मेवार पदहरू पाएका व्यक्तिहरूलाई ईश्वरतान्त्रिक हुनु पर्छ भनेको अर्थ के हो? येशूले उहाँका दिनका शास्त्रीहरू र फरिसीहरूको विषयमा यसो भन्नु भयो: “तिनीहरू गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्।” (मत्ती २३:४) कस्तो अप्रिय र क्रूर! ईश्वरतन्त्र अथवा परमेश्वरको शासनको अर्थ, भेडाहरूलाई अनगन्ती मानवकल्पित नियमहरूको बोझ बोकाउनु होइन। बरु, बाइबलका प्रेमपूर्ण सिद्धान्तहरू प्रयोगमा ल्याउँदै बगालको देखरेख गर्नु नै ईश्वरतन्त्र अथवा परमेश्वरको शासनको माग हो। (मत्ती १५:१-९ सित तुलना गर्नुहोस्।) यसका साथसाथै, मण्डलीको शुद्धता कायम राख्नका निम्ति आफ्नो प्रेममा दृढता थपेर पनि ईश्वरतान्त्रिक गोठालाहरूले परमेश्वरको अनुकरण गर्नु पर्दछ।—रोमी २:११; १ पत्रुस १:१७-सङ्ग तुलना गर्नुहोस्।
२०. ईश्वरतान्त्रिक गोठालाहरूले कुन सङ्गठनात्मक प्रबन्धहरू स्वीकार्दछन्?
२० यी अन्तिम दिनहरूमा येशूले उहाँका विश्वासी र बुद्धिमान दासलाई उहाँका सबै सम्पत्तिमाथि नियुक्त गर्नु भएको छ र भेडाहरू चराउने कामका लागि प्राचीनहरू नियुक्त गर्न यही दासलाई पवित्र आत्माले निर्देशित गर्दछ भनी साँचो गोठालाहरूले स्वीकार्दछन्। (मत्ती २४:३, ४७; प्रेरित २०:२८) अतः, ईश्वरतान्त्रिक हुनुको अर्थ यी दासप्रति, यिनले स्थापित गरेका सङ्गठनात्मक प्रबन्धहरूका लागि र मण्डलीमा प्राचीनहरूका प्रबन्धका निम्ति गहिरो आदर राख्नु हो।—हिब्रू १३:७, १७.
२१. येशूले उप-गोठालाहरूका लागि के असल उदाहरण कायम गर्नु भयो?
२१ येशू स्वयंले एउटा राम्रो उदाहरण कायम गर्नु भयो। उहाँ जहिले पनि निर्देशनका लागि यहोवा र उहाँको वचनमा भर पर्नु हुन्थ्यो। उहाँले यसो भन्नुभयो: “म आफै केही गर्नसक्तिनँ, जस्तो म सुन्छु, म इन्साफ गर्छु औ मेरो इन्साफ ठीक छ, किनकि आफ्नो इच्छा होइन तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूहन्ना ५:३०) यस्तै प्रकारको नम्र प्रवृत्तिको विकास प्रभु येशू ख्रीष्टका उप-गोठालाहरूले पनि गर्नु पर्दछ। येशूले झैं एक जना प्राचीनले सधैं परमेश्वरको वचनबाट निर्देशन खोज्ने गरे भने, तिनी साँच्चै नै ईश्वरतान्त्रिक हुन्।—मत्ती ४:१-११; यूहन्ना ६:३८.
२२. (क) सबै जनाले नै कुन ढङ्गमा ईश्वरतान्त्रिक हुने प्रयास गर्नु पर्दछ? (ख) येशूले भेडाहरूलाई के दयापूर्ण निम्तो दिनु हुन्छ?
२२ बप्तिस्मा लिएका पुरुषहरू हो, मण्डलीमा विशेषाधिकारहरूका लागि योग्यता प्राप्त गर्न अघि बढ्नु होस्! तपाईं सबै जना प्रिय भेडाहरू, प्रेम प्रकट गर्नमा परमेश्वर र ख्रीष्टलाई अनुकरण गर्दै, ईश्वरतान्त्रिक विचारधारा अपनाउने लक्ष्य राख्नु होस्! गोठालाहरू र बगाल रमाऊन् किनभने तिनीहरूले येशूको यस निम्तोलाई स्वीकारेकाछन्: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसङ्ग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०. (w93 1/1)
[फुटनोट]
a सन् १९३८-का जून १ र १५-का वाचटावर-मा प्रकाशित “ॲरगनाइजेशन [Organization]” शिर्षक भएका पत्रिकाहरू हेर्नुहोस्।
के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?
▫ यहोवाको “बगाल” के हो, र त्यसमा को को सम्मिलित छन्?
▫ “असल गोठालो”-ले झैं येशूले प्रथम शताब्दीमा कसरी काम गर्नु भयो, र सोही आज पनि कसरी गर्नु हुँदै छ?
▫ बगालको हेरचाह गर्नमा उप-गोठालाहरूले कुन मुख्य भूमिका निभाउँछन्?
▫ “ईश्वरतन्त्र” भन्ने शब्दको मूल अर्थ के हो?
▫ ईश्वरतन्त्रवादी हुनका लागि एउटा मसीहीको—विशेषगरी एक जना उपगोठालाको—गतिविधि कस्तो हुनु पर्छ?
[पृष्ठ १४-मा भएको चित्र]
एक जना समर्पित गोठालोले झैं, यहोवाले उहाँका बगालको हेरचाह गर्नुहुन्छ
[पृष्ठ १७-मा भएको चित्र]
यहोवा परमेश्वरको प्रेमको अनुकरण गर्नु कार्यरूपमा ईश्वरतन्त्र हो