प्रभुको भोजले तपाईंका लागि किन अर्थ राख्तछ
येशू ख्रीष्टले आफ्नो मानवीय जीवनको आखिरी रातमा प्रभुको साँझको भोज स्थापित गर्नुभयो। त्यो घटना बिहीबार बेलुकी, मार्च ३१ तारिखमा घट्यो र शुक्रवार अपराह्न अप्रिल १ तारिख चाहिं येशू मर्नुभयो। यहूदी तिथि पत्रमा, एउटा साँझ देखिन् अर्को साँझसम्म एक दिन मानिन्थ्यो। यसकारण, प्रभुको साँझको भोज र येशूको मृत्यु दुवै नीसान १४-को दिन, सा० यु० ३३-मै भयो।
येशूले यस भोजको स्थापना किन गर्नु भयो? उहाँले प्रयोग गर्नु भएको रोटी र दाखमद्यको महत्त्व के हो? यसमा कसले भाग लिनु उचित हुन्छ? यो भोजलाई सालमा कति पटक मनाउनु पर्छ? र यसले तपाईंका लागि के अर्थ राख्नु सक्छ?
किन स्थापित गरिएको?
प्रभुको साँझको भोजबारे येशूले आफ्ना प्रेरितहरूलाई यसो भन्नु भयो: “यो मेरो सम्झनाको निम्ति गर।” एउटा अर्को अनुवादअनुसार, उहाँले यसो भन्नुभयो: “यो मेरो स्मरणार्थको रूपमा गर्ने गर।” (१ कोरिन्थी ११:२४; द न्यु इङग्लिश बाइबल) वास्तवमा, प्रभुको साँझको भोजलाई अक्सर ख्रीष्टको मृत्युको स्मरणार्थ भन्ने गरिन्छ।
येशू आफ्नो मृत्युसम्मै यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने निष्ठावान व्यक्ति हुनु हुन्थ्यो। यसप्रकार येशूले शैतानलाई पनि झुट्टा साबित गरी दिनुभयो किनभने धर्मी मानिसहरूले परमेश्वरलाई स्वार्थी नियत राखेर मात्र सेवा गर्छन् भन्ने आरोप त्यसले लगाएको थियो। (अय्यूब २:१-५) उहाँको मृत्युले परमेश्वरको हृदयलाई आनन्दित तुल्यायो।—हितोपदेश २७:११.
एकजना सिद्ध मानवको हैसियतमा मर्नु भएर, येशूले ‘धेरैको उद्धारको निम्ति पनि आफ्नो प्राण दिनु’ भयो। (मत्ती २०:२८) परमेश्वरको विरुद्धमा पाप गरेर, प्रथम पुरुषले सिद्ध मानव जीवन र त्यसद्वारा सम्भव हुने कुराहरू सबै गुमाइ दियो। तर “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) हो, “पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.
“प्रभुबाट जे पाएँ”
प्रेरित पावलका यी शब्दहरूले ख्रीष्टको मृत्युको स्मरणार्थमाथि ज्योति दिन्छ: “मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ, अर्थात्, जुन रात उहाँ पक्राउ पर्नुभयो त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभएपछि कचौरा लिएर यसो भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्नेगर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।”—१ कोरिन्थी ११:२३-२६.
नीसान १४, सा० यु० ३३-मा येशू र ११ जना प्रेरितहरू सित पावल उपस्थित थिएनन्। यसैकारण, यो जानकारी तिनलाई सम्भवतः प्रेरणाद्वारा प्रकाशित भएको अथवा “प्रभुबाट पाए”-को हुनु पर्दछ। येशूले स्मरणार्थको उत्सव त्यस रात स्थापित गर्नुभयो जुन रात यहूदाद्वारा यहूदी धर्मगुरुहरूको हातमा ‘उहाँ पक्राउमा पर्नु हुने’ थियो र ती धर्मगुरुहरूले ख्रीष्टलाई शूलीमा चढाउन रोमीहरूलाई उक्साए। प्रतीकात्मक रोटी र दाखमद्यबाट खान र पिउने अधिकार भएकाहरूले सो उहाँको सम्झनामा गर्ने थिए।
सालमा कति पटक मान्ने?
“जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।” पावलका ती शब्दहरूको अर्थ के हो? विश्वासी अभिषिक्त मसीहीहरूले मरेर स्वर्गीय जीवन प्राप्त गर्नुभन्दा अघि, स्मरणार्थका यी प्रतीकहरूबाट तिनीहरूले “अक्सर” खाने र पिउने गरी सकेका हुन्थे। यसप्रकार, परमेश्वर र संसारको सामने, तिनीहरूले येशूको बलिदानद्वारा यहोवा परमेश्वरले मिलाउनु भएको प्रबन्धमा आफ्नो विश्वास अक्सर प्रकट गर्ने थिए। तर कहिलेसम्म? पावल भन्छन् “उहाँ नआउञ्जेलसम्म।” सम्भवतः यसको अर्थ येशू आफ्नो “उपस्थिति”-को समयमा आफ्ना अभिषिक्त अनुयायीहरूलाई पुनरुत्थानद्वारा स्वर्गमा लैजान नआउञ्जेलसम्म यो उत्सव मनाइने थियो। (१ थिस्सलोनिकी ४:१४-१७) यो कुरा ख्रीष्टले आफ्ना ११ जना वफादार प्रेरितहरूलाई भन्नु भएका यी शब्दहरू सित मिल्छ: “यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”—यूहन्ना १४:३.
ख्रीष्टको मृत्युको स्मरणार्थ के दिन-दिनै अथवा प्रत्येक हप्ता मान्नु आवश्यक छ? भनौं भने, येशूले प्रभुको साँझको भोज स्थापित गर्नु भएको दिन र उहाँ मारिनु भएको दिन दुवै निस्तार चाडमा पर्छन्। यो निस्तार चाड, इस्राएलीहरूले मिश्री दासत्वबाट पाएको छुटकाराको सम्झनामा मान्ने गर्द थिए। वास्तवमा “हाम्रो निस्तार चाडको बलिदान . . . ख्रीष्ट हुनुहुन्छ” भनिएको छ किनभने मसीहीहरूका लागि बलिदानको रूपमा चढाइएको थुमा उहाँ नै हुनु हुन्छ। (१ कोरिन्थी ५:७) निस्तार चाड, नीसान महिनाको १४ तारिख, सालको एक पटक मात्र मनाइन्थ्यो। (प्रस्थान १२:६, १४; लेवीहरू २३:५) यसबाट, येशूको मृत्युको स्मरणार्थ पनि दिनदिनै अथवा हप्तैपछि होइन, तर निस्तार चाड जस्तै सालमा एक पटक मात्र मनाइनु पर्दछ भन्ने कुरा बोध हुँदछ।
कयौं शताब्दीहरू सम्म ता मसीही हुने दाबी गर्नेहरूले येशूको मृत्युको स्मरणार्थ सालमा एक पटक मात्र मान्ने गर्दथिए। तिनीहरूले यो उत्सव नीसान १४-मा मान्ने गरेका हुनाकारण तिनीहरूलाई मानिसहरूले क्वार्टोडेसिमन्स अथवा “चौधेहरू” भन्ने गर्थे। तिनीहरूबारे इतिहासकार जे० एल० फन मोशिमले यसप्रकार लेखेका छन्: “यहूदीहरूले तिनीहरूको निस्तार चाडको पाठो खाने समयमै अर्थात् प्रथम महिना [नीसानको] चौधौं दिनमा एशिया माइनरका मसीहीहरूले यो पवित्र भोज अथवा प्रभुको साँझको भोज र येशू ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउने गर्द थिए। तिनीहरूले ख्रीष्टको उदाहरणलाई नै आज्ञा मान्दथिए।”
प्रतीकहरूको महत्त्व
पावलको भनाइअनुसार, येशूले “रोटी लिनुभयो, औ धन्यवाद दिनुभएपछि त्यो भाँच्नुभयो।” खमीर हाल्दै नहालेको, पानी र पीठोले मात्र बनाएको त्यो पापड जस्तै रोटीलाई खानका लागि भाँच्नु आवश्यक थियो। बाइबलमा, पाप अथवा विनाशको प्रतीक खमीर हो। मण्डलीबाट एकजना अनैतिक मानिसलाई बहिष्कार गर्नु भनेर कोरिन्थका मसीहीहरूलाई आग्रह गर्दा, पावलले यसो भने: “अलिकता खमीरले जम्मै ढिकालाई खमिरी बनाइहाल्छ भन्ने के तिमीहरूलाई थाह छैन? पुरानो खमीरलाई निकाल, र तिमीहरू बिना खमीरका भएझैं नयाँ ढिका बन। किनभने हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ। यसकारण, हामी नता पुरानो खमीरले, न कुकर्म र दुष्टताको खमीरले, तर निष्कपट र सत्यताको अखमिरी रोटीले चाड मनाऔं।” (१ कोरिन्थी ५:६-८) जसरी खमीर भएको अलिकता पीठोले रोटीको पूरै ढिकालाई खमीरी बनाइदिन सक्छ, त्यसरी नै त्यो पापी मानिसको अशुद्ध प्रभाव नहटाउञ्जेलसम्म मण्डली पनि परमेश्वरको नजरमा अशुद्ध हुने थियो। तिनीहरूले आफ्नो माझबाट “खमीर” हटाउन परेको थियो। जसरी इस्राएलीहरूलाई पनि निस्तार चाड पछि मनाइने अखमीरी रोटीको चाडभरि आफ्ना घरहरूमा खमीर राख्न निषेध थियो।
स्मरणार्थको दिन प्रयोग गरिने अखमीरी रोटीबारे येशूले यसो भन्नुभयो: “यो तिमीहरूका निम्ति मेरो शरीर हो।” (१ कोरिन्थी ११:२४) रोटी येशूको सिद्ध मानव शरीर हो जसबारे पावलले यसप्रकार लेखे: “यसकारण [येशू] संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो। होमबलिहरू र पापबलिहरूमा तपाईं प्रसन्न हुनुभएन। तब मैले भनें, ‘हेर्नुहोस्, हे परमेश्वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु। (पुस्तकको मुठ्ठामा मेरो विषय लेखिएको छ)।’ . . . औ त्यही इच्छाबाट ता येशू ख्रीष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएका छौं।” (हिब्रू १०:५-१०) येशूको सिद्ध मानवीय शरीर पापरहित थियो र मानवजातिको छुटकाराका लागि एउटा बलिदान हुन सक्यो।—हिब्रू ७:२६.
कुनै प्रकारको मसाला नहालेको रातो दाखमद्य हातमा लिनु भएर प्रार्थना गर्नु भएपछि, येशूले यसो भन्नु भयो: “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो।” (१ कोरिन्थी ११:२५) यसको एउटा अर्को अनुवाद यसप्रकार छ: “यो कचौरा मेरो रगतद्वारा कायम हुने नयाँ करार हो।” (मोफ्येट) जसरी परमेश्वर र इस्राएली राष्ट्र बीच बाँधिएको व्यवस्थाको वाचा, साँढे र बाख्राहरूको रगत बगाएर पक्का गरियो, त्यसरी नै नयाँ वाचा येशूको बगेको रगतद्वारा कायम भयो। त्यो नयाँ वाचाको चर्चा गरिएको हुनाले, स्मरणार्थका प्रतीकहरू बाट उचित रूपमा भाग लिनेहरूलाई हामीले ठम्याउने मद्दत पाउँदछौं।
कसले भाग लिनु उचित हो?
नयाँ वाचामा सम्मिलित येशूका अभिषिक्त अनुयायीहरूले स्मरणार्थका प्रतीकहरूबाट उचित रूपले भाग लिंदछन्। यो वाचा परमेश्वर र आत्मिक इस्राएलीहरू बीच बाँधिएको हो। (यर्मिया ३१:३१-३४; गलाती ६:१६) तर नयाँ वाचाद्वारा सबै नै आज्ञाकारी मानिसहरूले आशिष पाउने छन् र तपाईं पनि ती आशिष पाउने जनहरू मध्ये एक हुन सक्नु हुन्छ।
स्मरणार्थका प्रतीकहरू बाट भाग लिनेहरू, येशूले व्यक्तिगत रूपमा बाँध्नु भएको राज्य सम्बन्धी वाचामा पनि समावेश हुन पर्छन्। यस भोजको स्थापना गर्नु हुने बेलामा, येशूले आफ्ना भक्त प्रेरितहरूलाई यसो भन्नुभयो: “मेरो पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं [मसित वाचा बाँध्नु भएझैं, न्यु व०] तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु [वाचा बाँध्छु, न्यु व०]।” (लूका २२:२९) परमेश्वरले राजा दाऊदसित गर्नु भएको राज्यसम्बन्धी वाचाले स्वर्गीय राज्यमा सदासर्वदा शासन गर्नु हुने जन अर्थात् येशूको आगमनलाई सङ्केत गर्द थियो। उहाँसङ्ग सहशासक हुने १,४४,००० आत्मिक इस्राएलीहरू स्वर्गीय सियोन पर्वतमा थुमा येशू ख्रीष्टसङ्ग उभिएको चित्रित गरिएको छ। पुनरुत्थान पश्चात, तिनीहरू ख्रीष्टसित सङ्गी राजाहरू र पूजाहारीहरू भएर शासन गर्ने छन्। (२ शमूएल ७:११-१६; प्रकाश ७:४; १४:१-४; २०:६) नयाँ वाचा र येशूले व्यक्तिगत रूपमा गर्नु भएको वाचामा समावेश हुनेहरूले मात्र प्रभुको साँझको भोजका प्रतीकहरू बाट खान र पिउनु उचित हुन्छ।
परमेश्वरको आत्माले, अभिषिक्त जनहरूको आत्मासित गवाही दिन्छ कि तिनीहरू उहाँका सन्तान र ख्रीष्टका साझे हकवालाहरू हुन्। पावलले यसरी लेखेका छन्: “हामी परमेश्वरका सन्तान हौं भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।” (रोमी ८:१६, १७) अभिषिक्त जनहरू परमेश्वरको पवित्र आत्मा अथवा सक्रिय शक्तिद्वारा स्वर्गीय जीवन पाउने सम्बन्धमा निश्चित हुन्छन्। शास्त्रमा स्वर्गीय जीवनबारे लेखिएका सबै कुराहरू तिनीहरूकै लागि हुन् भनी तिनीहरू बुझ्दछन् र आफ्नो मानवीय जीवन र सबै पार्थिव चीजहरू त्याग्न तिनीहरू तयार हुन्छन्। पार्थिव प्रमोदवनमा जीवन अति नै रमाइलो हुने भए तापनि, तिनीहरूले त्यसको आशा राख्ने गर्दैनन्। (लूका २३:४३, न्यु व०) झुट्टा धार्मिक दृष्टिकोणहरूमा आधारित नभएको एउटा अपरिवर्तनीय स्वर्गीय आशाको कारण तिनीहरूले स्मरणार्थका प्रतीकहरूबाट खाने र पिउने अधिकार पाउँछन्।
स्वर्गीय राजा र पूजाहारी हुने त्यस्तो कुनै निम्तो नपाइकन पनि एकजना व्यक्तिले त्यसप्रकारको निम्तो पाएको जस्तो गरेमा, यहोवा अप्रसन्न हुनु हुनेछ। (रोमी ९:१६; प्रकाश २२:५) कोरह जबरजस्ती पूजाहारी हुन खोज्दा, परमेश्वरले तिनीमाथि कारबाई गर्नुभयो। (प्रस्थान २८:१; गन्ती १६:४-११, ३१-३५) अतः गहिरो भावनात्मक अथवा पहिले पहिले मान्दै आएको धार्मिक विचारहरूको कारण कुनै व्यक्तिले स्मरणार्थका प्रतीकहरू बाट अनुचित रीतिले खाने अथवा पिउने गरेका थिए भने नि? तिनले अब उप्रान्त त्यसमा भाग लिने गर्नु भएन र परमेश्वरबाट क्षमा पाउनका लागि नम्रतापूर्वक प्रार्थना गर्नुपर्छ।—भजनसंग्रह १९:१३.
तपाईंमाथि यसले के प्रभाव पार्दछ
येशूले दिनु भएको बलिदानबाट लाभ उठाउन र पृथ्वीमा अनन्त जीवन पाउनका लागि स्मरणार्थका प्रतीकहरूबाट खानु र पिउनु आवश्यक छैन। उदाहरणका लागि, अब्राहाम, सारा, इसहाक, रिबेका, बोआज, रूथ र दाऊद जस्ता ईश्वरभीरु व्यक्तिहरूले कुनै दिन ती प्रतीकहरू बाट खोने र पिउने छन् भन्ने सङ्केत बाइबलमा कतै पनि पाइन्दैन। तापनि, तिनीहरू र यस पृथ्वीमा अनन्त जीवन रुचाउने सबैले नै परमेश्वर र ख्रीष्टमा र येशूको बलिदानद्वारा छुटकारा दिन यहोवाले गर्नु भएको प्रबन्धमा विश्वास गर्नु पर्ने छन्। (यूहन्ना ३:३६; १४:१) ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थले त्यो महान बलिदानको हामीलाई सम्झना गराउँछ।
येशूले दिनु भएको बलिदानको महत्त्वलाई प्रेरित यूहन्नाले भनेका यी शब्दहरूमा देखिन्छ: “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्ना २:१, २) येशू “हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ” भनी अभिषिक्त जनहरूले भन्न सक्छन्। तर उहाँ सारा संसारका पापहरूका लागि पनि एउटा बलिदान हुनु हुन्छ। यसले गर्दा, चाँडै नै एउटा पार्थिव प्रमोदवनमा आज्ञाकारी मानिसजातिले अनन्त जीवन पाउन सम्भव हुनेछ!
ख्रीष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुनु भयो भने, तपाईंले बाइबलमा आधारित एउटा विचारोद्दीपक भाषणबाट लाभ उठाउन सक्नु हुने छ। यहोवा परमेश्वर र येशू ख्रीष्टले हाम्रालागि कति थुप्रै कुराहरू गरी दिनु भएका छन्, ती सबैको तपाईंलाई सम्झना गराइनेछ। परमेश्वर, ख्रीष्ट र छुटकाराका लागि येशूले दिनु भएको बलिदानप्रति गहिरो श्रद्धाको भाव राख्ने व्यक्तिहरू सित यसरी भेला हुनु आत्मिक तवर्मा लाभदायक हुने छ। अनन्त जीवन तर्फ लैजाने परमेश्वरको अपार करुणाको एकजना पात्र हुने तपाईंको इच्छालाई त्यस अवसरले अझ बल दिने छ। १९९३-को अप्रिल ६ तारिख, सूर्यास्त पछि, येशू ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन यहोवाका साक्षीहरूसित भेला हुनु होस् भनी हामी तपाईंलाई हार्दिक निम्तो दिंदछौं। किनभने प्रभुको साँझको भोजले तपाईंका लागि एउटा ठूलो अर्थ राख्नु सक्छ। (w93 3/15)