चोरी किन बढ्दै छ?
अक्टोवर १८, १९९२ आइतबारका दिन रिओ दे जनेरो। सु-प्रशिद्ध समुद्री तट कोपकबान र इप्नेममा मानिसहरूको घुइँचो थियो। अचानक नौजवानहरूको जत्थाले एकआपसमा लड्दै र तटमा बसिरहेका मानिसहरूको बहुमूल्य सर-सामानहरू चोर्दै ती तटहरूमा आक्रमण गरे। तर नजिकै उभिएका नगन्य प्रहरीहरूले केही गर्न सकेनन्। रिओ दे जनेरोका स्थानीय बासिन्दाहरू अर्थात् कारिओकाहरू र पर्यटकहरूका लागि यो दिउँसै दुःस्वप्न देखेझैं भयो।
वास्तवमा भन्ने हो भने, सम्पत्तिसम्बन्धी अपराधहरू साधारण भइसकेको छ। ठूल-ठूला शहरहरूमा चोरहरू नौजवानहरूलाई लुट्ने गर्छन्। कहिलेकाहीं त तिनीहरूले लगाएका जुत्ताहरूका लागि तिनीहरूको ज्यान समेत लिन्छन्। घरधनीहरू घरमा होस् वा नहोस् चोरहरू खुलेआम घरभित्र पस्ने गर्छन्। घरमा काम गर्ने बेइमान स्त्रीहरू पनि घरमा सर-सामानहरू कहाँ राख्ने गरेका छन् त्यो थाहा पाए पछि गर-गहना तथा रूपैयाँ-पैसा चोरेर फरार हुन्छन्। मानिसहरूका भीडले त पसलै लुट्छन्। सु-सङ्गठित समूहहरूले मानिसहरूलाई नै चोर्ने गर्छन् भन्ने कुरा ब्राजिलमा बढ्दै गरेका अपहरणहरूका सङ्ख्याबाटै देखिन्छ। शायद आफ्नै अनुभवहरू वा तपाईंको समुदायमा घटेका घटनाहरूबाट तपाईं पनि अन्य उदाहरणहरू दिन सक्नु हुन्छ होला। तर यस्तो बिघ्न चोरी किन हुन्छन्?
मानिसहरू किन चोर्छन्?
बढ्दो गरीबी र लागू पदार्थको दुर्व्यसन यसका दुई प्रमुख कारणहरू हुन्। यद्यपि, यो जवाफ त्यति चित्त बुझ्दो छैन। द न्यु इन्साइक्लोपिडिया ब्रिटानिका-ले यसरी टिप्पणी गर्छ: “अपराधको एउटै मात्र कारण पत्ता लगाउने कुरालाई प्रायः निष्फल ठानी बेवास्ता गरिन्छ।” तथापि, सोही पुस्तकले चोरी जस्ता समस्याहरू “वास्तवमा जवानहरूमा भएका बेकारीपन र भौतिक साधनहरू र साधारण जीवनका प्रतिफलहरू प्राप्त गर्नबाट वञ्चित हुनु पर्दा हुने आक्रोशित भावनाको कारण आउँदछ” भन्ने सुझाव दिएको छ। हो, उपभोग्य वस्तुहरूको बढ्दो दबाबले गर्दा आफूले चाहेको वस्तु हासिल गर्न तिनीहरूले चोरी बाहेक अरू कुनै उपाय देख्दैनन्।
चाखलाग्दो कुरो, द वर्ल्ड बुक इन्साइक्लोपिडिया-ले यसो भन्छ: “आफ्नो जीवन पद्धतिमा अदलबदल हुने छैन भनी विश्वास गर्ने पारम्पारिक समाजहरूमा अपराध-दर तुलनात्मक रूपमा स्थिर हुन्छ। तर त्यस्ता प्रकारका समाजहरू जहाँ मानिसहरूले आफ्नो जीवन बिताउने र धान्ने सन्दर्भमा र तिनीहरूको भविष्यमा हुने कुशलताको आशाबारे द्रुत गतिले परिवर्तनहरू हुन्छन् त्यहाँ अपराधको दर बढ्ने सम्भावना हुन्छ।” त्यस इन्साइक्लोपिडियाले अझै यसरी थप्छ: “नौजवानहरूले ज्यादै कम मात्रामा जागीर पाउँछन्। कौशलताको खाँचो नपर्ने जागीरहरू भए तापनि चोरीबाट प्राप्त हुने छिटो छरितो र प्रभावकारी ढङ्गमा प्राप्त हुने फाइदाहरूको तुलनामा ती ज्यादै उराठलाग्दा देखिन्छन्। आफ्नो जीवनबाट कमै कुरा गुमाउनु पर्ने हुँदा त्यस्ता नौजवानहरू गिरफ्तारीको खतरा मोल्न समेत राजी हुन्छन्।”
यद्यपि, अधिकांश बेरोजगारहरू वा कम तलब पाउनेहरूले चोरी गर्दैनन्। जबकि अनगिन्ती श्वेत ग्रीवी र नील ग्रीवी कामदारहरूले आफ्नो तलबको भागझैं गरी सामानहरू चोर्ने गर्छन्। वास्तवमा कुनै कुनै जालसाजी गर्न एक निश्चित सामाजिक प्रतिष्ठाको समेत आवश्यकता पर्दछ। के तपाईंले रूपैयाँ-पैसाको हिनामिनामा राजनीतिज्ञहरू, सरकारी कर्मचारीहरू र व्यापारीहरू विथोलित भएका काण्डहरू सुन्नु भएको छैन र? यस विषयमा प्रश्न गरिरहनु कुनै खाँचो छैन। चोरी गरीबहरूमा मात्रै सीमित छैन।
यसलाई पनि सम्झनुहोस्, सिनेमाहरू र टिभि कार्यक्रमहरूमा अक्सर चोरीको ठट्टा गरिन्छ (शायद नायक नै चोर हुन सक्छ)। यस्तो कुराले चोरीलाई अझ स्वीकार्य बनाउँछ। हो, यी कुराहरूलाई मनोरञ्जनको रूपमा लिन नसकिने होइन तर मनोरञ्जन सँगसँगै, ती कुराहरूले चोरी कसरी गर्ने त्यो पनि दर्शकहरूलाई सिकाउँछ। अपराध गर्नु फाइदाजनकै छ भन्ने विचारलाई के त्यसले चलाकीसाथ व्यक्त गरेको होइन र? निस्सन्देह, लोभ, अल्छिपना र सबैले दण्ड नभोगी चोरी गर्छन् भन्ने विचारले चोरी गर्न बढी योगदान पुऱ्याएको छ। भविष्यवाणी गरिएझैं स्वार्थी र पैसाको प्रेमी छ्यापछ्याप्ती भएको यस “आखिरी दिन” मा हामीहरू बाँचिरहेका छौं भन्ने कुरालाई समेत नकार्न सकिन्न।—२ तिमोथी ३:१-५.
चोरी गर्नु हुँदैन
संसारका विकृत नैतिक मूल्यहरूको बावजूद पनि “चोर्नेले फेरि नचोरोस्” (एफिसी ४:२७) भन्ने आज्ञालाई मान्नु अपरिहार्य छ। धनसम्पति तथा सुख-सयललाई बढावा दिने व्यक्तिहरूले चोरी फाइदाजनक छ भनी विश्वास गर्नु आफैलाई छक्याउनु जत्तिकै हुन सक्छ। तर चोरी गर्नु परमेश्वरको नजर सामू एकदमै गम्भीर कुरा हो। यसले सह-मानवप्रति आफ्नो प्रेमको कमीलाई प्रकट गर्छ। यसको अलावा, चोरी चकारीले समेत एक व्यक्तिको हृदयलाई कठोर पारिदिन सक्छ। अनि एक बेइमान व्यक्तिको रूपमा चिनिनु कस्तो हुनेछ? एक जना चोरलाई कसले पो विश्वास गर्नेछ र? त्यसैकारण परमेश्वरको वचनले बुद्धिमानी ढङ्गमा यसो भन्छ: “तर तिमीहरूमध्ये कसैले पनि ज्यानमारा, अथवा चोर, अथवा खराबी गर्ने . . . ले झैं दुःख नभोग।”—१ पत्रुस ४:१५.
चोरीमा भएको वृद्धिलाई तपाईं अवश्य पनि घृणा गर्नु हुन्छ। तर अपराध व्यापक भएका ठाउँमा मानिसहरूले यसको सामना कसरी गरिरहेका छन्? कुनै समयमा चोरी गर्नेहरूले आफ्नो जीवन-पद्धतिलाई कसरी परिवर्तन गरे? विश्वव्यापी तवरमा चोरीको कहिल्यै अन्त्य होला? यस पछिको लेख “चोररहित एउटा संसार” पढ्न हामी तपाईंलाई अनुरोध गर्छौं।