प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ११/१ pp. २३-२६
  • साहसीपूर्वक यहोवाको मार्गमा हिंड्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसीपूर्वक यहोवाको मार्गमा हिंड्‌नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साहस के हो
  • परमेश्‍वरको समाचार घोषणा गर्न साहस
  • परीक्षाको बेलामा साहस
  • परमेश्‍वरप्रति आज्ञाकारी हुने साहस
  • परमेश्‍वरका जनहरूको पक्षमा खडा हुने साहस
  • ‘सम्पूर्ण रूपले यहोवालाई पछ्याउने’ साहस
  • परमेश्‍वरमा भरोसा राख्न साहस
  • यहोवाको आदर गर्न र शुद्ध उपासना बढाउन साहस
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ११/१ pp. २३-२६

साहसीपूर्वक यहोवाको मार्गमा हिंड्‌नुहोस्‌

“हरेक जो परमप्रभु [यहोवा न्यु व०] देखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।”—भजनसंग्रह १२८:१.

१, २. यहोवाका प्रारम्भिक साक्षीहरूको बाइबलमा आधारित विवरणले हामीलाई कस्तो मदत दिन्छ?

यहोवाको पवित्र वचन उहाँका निष्ठावान सेवकहरूको परीक्षा र आनन्दको विवरणले भरिपूर्ण छ। नूह, अब्राहाम, सारा, यहोशू, दबोरा, बाराक, दाऊद र अरू व्यक्‍तिहरूका अनुभवहरू विशिष्ट र जीवन्त छन्‌। ती सबै जना वास्तविक व्यक्‍तिहरू हुनुको साथै तिनीहरू सबैमा एउटा विशेष कुरा थियो। परमेश्‍वरमाथि तिनीहरूको विश्‍वास थियो र तिनीहरू उहाँका मार्गहरूमा साहसीपूर्वक हिंडे।

२ आज, जसै हामी परमेश्‍वरको मार्गमा हिंड्‌ने प्रयत्न गर्छौं यहोवाका ती प्राचीन साक्षीहरूका वचन र काम हाम्रो लागि प्रोत्साहक हुन सक्छ। यस बाहेक, परमेश्‍वरप्रति श्रद्धा र उहाँलाई दु:खी नतुल्याउने स्वस्थकर भय राख्यौं भने हामी आनन्दित हुन सक्छौं। हामीले जीवनमा परीक्षाहरूको सामना गर्नु परे तापनि यो सत्य साबित हुन्छ किनभने ईश्‍वरप्रेरित भजनरचयिताले यसरी गाएका थिए: “हरेक जो परमप्रभु [यहोवा न्यु व०] देखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।”—भजनसंग्रह १२८:१.

साहस के हो

३. साहस के हो?

३ यहोवाको मार्गमा हिंड्‌न हामीमा साहस हुनुपर्छ। वास्तवमा, हामीलाई शास्त्रले यो गुण प्रदर्शन गर्ने आज्ञा दिन्छ। उदाहरणको लागि, भजनरचयिता दाऊदले गाए: “हे परमप्रभुमा आशा राख्ने हो, बलियो होऊ, र तिमीहरूका हृदयमा साहस आओस्‌।” (भजनसंग्रह ३१:२४) साहस भनेको “खतरा, डर अथवा कठिनाइलाई सहने, दृढ रहने र सामना गर्ने मानसिक तथा नैतिक बल हो।” (वेब्सटर्स नाइन्थ न्यु कोलिजियट डिक्श्‌नरी) साहसी मानिस बलियो, निडर र बहादुर हुन्छ। यहोवाले आफ्ना सेवकहरूलाई साहस दिनु हुन्छ भन्‍ने कुरा प्रेरित पावलले आफ्नो सहकर्मी तिमोथीलाई लेखेका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।”—२ तिमोथी १:७.

४. साहस आर्जन गर्ने एउटा तरिका के हो?

४ ईश्‍वर-प्रदत्त साहस आर्जन गर्ने एउटा तरिका यहोवाको वचन, बाइबलमा प्रार्थनापूर्वक ध्यान दिनु हो। शास्त्रका थुप्रै उदाहरणहरूले हामीलाई अझ बढी साहसी हुन मदत दिन सक्छ। तसर्थ, सर्वप्रथम यहोवाको मार्गमा साहसीपूर्वक हिंडेका व्यक्‍तिहरूबारे हिब्रू शास्त्रमा रेकर्ड गरिएका विवरणहरूबाट हामी के सिक्न सक्छौं, हेरौं।

परमेश्‍वरको समाचार घोषणा गर्न साहस

५. यहोवाका वर्तमान समयका सेवकहरूलाई हनोकको साहसले कसरी मदत दिन सक्छ?

५ हनोकको साहसले यहोवाका वर्तमान समयका सेवकहरूलाई परमेश्‍वरको समाचार साहसीपूर्वक घोषणा गर्न मदत दिन सक्छ। हनोक जन्मिनुभन्दा अघि नै, मानिसहरूले “परमप्रभुको नाउँको पुकारा गर्न शुरू गरे।” केही विद्वानहरूका अनुसार मानिसहरूले यहोवाको नाउँ “अपवित्र ढङ्‌गमा” उच्चारण गर्न थाले। (उत्पत्ति ४:२५, २६; ५:३, ६) त्यो ईश्‍वरीय नाउँ मानवहरू अथवा मूर्तिहरूलाई समेत प्रयोग भएको हुन सक्थ्यो। यसर्थ, सा०यु०पू० ३४०४-मा हनोकको जन्म हुँदा झूटो धर्म फस्टाइसकेको थियो। वास्तवमा भन्‍ने हो भने, यहोवाले प्रकट गर्नुभएको सत्यअनुरूप धार्मिक मार्ग पछ्याइरहेका, ‘परमेश्‍वरका साथमा हिंड्‌ने’ उनी एक्लै थिए जस्तो देखिन्छ।—उत्पत्ति ५:१८, २४.

६. (क) हनोकले कस्तो कडा समाचार सुनाए? (ख) हामीले कस्तो आश्‍वासन पाउन सक्छौं?

६ सम्भवतः प्रचार गरेर हनोकले साहसीपूर्वक परमेश्‍वरको समाचार सुनाए। (हिब्रू ११:५; २ पत्रुस २:५ तुलना गर्नुहोस्‌) यस एक्लो साक्षीले यसरी घोषणा गरे: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।” (यहूदा १४, १५) अभक्‍तहरूलाई दोषी ठहराउने समाचार सुनाउन हनोकले साहसीपूर्वक यहोवा नाउँको प्रयोग गरे। त्यो कडा समाचार सुनाउन यहोवाले हनोकलाई साहस दिनुभए जस्तै, यहोवाले वर्तमान समयका साक्षीहरूलाई सेवकाईमा, स्कूलमा र अन्य ठाउँहरूमा निडरतापूर्वक उहाँको वचन सुनाउन बलियो बनाउनु भएको छ।—प्रेरित ४:२९-३१ तुलना गर्नुहोस्‌।

परीक्षाको बेलामा साहस

७. नूहले साहसको कस्तो उदाहरण प्रदान गर्छ?

७ परीक्षा आइपर्दा धार्मिक कार्यहरू गर्न साहसी हुन नूहको उदाहरणले मदत दिन सक्छ। साहस र विश्‍वासका साथ, विश्‍वव्यापी जलप्रलय आउँदैछ भन्‍ने ईश्‍वरीय चेतावनी पाउनासाथ “आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार गरे।” आज्ञाकारी र धार्मिक कार्यहरूद्वारा नूहले अविश्‍वासी संसारलाई दोषी ठहराउनुको साथै नाशको योग्य प्रमाणित गरे। (हिब्रू ११:७; उत्पत्ति ६:१३-२२; ७:१६) नूहले अपनाएको मार्गमाथि मनन गर्नाले यहोवाका आधुनिक समयका दासहरूलाई मसीही सेवकाई जस्ता धार्मिक कार्यमा साहसीपूर्वक लागिरहन मदत दिन्छ।

८. (क) “धार्मिकताको प्रचारक” भएर साहसी नूहले के सामना गरे? (ख) हामी धार्मिकताका साहसी प्रचारकहरू भयौं भने यहोवाले हाम्रो लागि के गरिदिनुहुन्छ?

८ हामीले धार्मिक मार्ग पछ्याइरहेका छौं तर त्यस्तो कुनै एउटा परीक्षाको सामना कसरी गर्ने भनी ठम्याउन सकेनौं भने बुद्धिको लागि प्रार्थना गरौं। (याकूब १:५-८) साहस र विश्‍वासका साथ परीक्षाहरू सामना गर्न सम्भव छ भन्‍ने कुरा नूहले परमेश्‍वरप्रति देखाएको निष्ठाले देखाउँछ। एउटा दुष्ट संसार, मानवरूपी स्वर्गदूतहरू र तिनीहरूका ठिमाहा सन्तानबाट आएको दबाबलाई उनले सहे। हो, “प्राचीन संसार” विनाश तर्फ धकेलिंदा साहसी नूह, “धर्मका प्रचारक” थिए। (२ पत्रुस २:४, ५; उत्पत्ति ६:१-९) जलप्रलय अघिका मानिसहरूलाई परमेश्‍वरको चेतावनी सुनाउने प्रवक्‍ताको हैसियतमा निडरतापूर्वक घोषणा गरे तापनि “जलप्रलय आएर सबैलाई स्वात्तै नलगुञ्जेलसम्म तिनीहरूले थाहै पाएनथे।” (मत्ती २४:३६-३९) आज धेरैजसो मानिसहरूले बाइबलमा आधारित समाचारलाई खेदो या तिरस्कार गरे तापनि हामीले एउटा कुरा सधैं नै याद गरौं। त्यो हो, हामी धार्मिकताका प्रचारकहरू भएर त्यस्तै विश्‍वास र साहस देखायौं भने नूहलाई बचाउनु भए जस्तै उहाँले हामीलाई पनि बचाउनु हुनेछ।

परमेश्‍वरप्रति आज्ञाकारी हुने साहस

९, १०. अब्राहाम, सारा र इसहाकले कुन ढङ्‌गमा साहसी आज्ञाकारिता देखाए?

९ साहसीपूर्वक परमेश्‍वरप्रति आज्ञाकारी हुने असल उदाहरण “परमेश्‍वरको मित्र” अब्राहाम हो। (याकूब २:२३) भौतिक सुविधाहरूले भरिभराउ कल्दीहरूको शहर, ऊर छाडेर जाने यहोवाको आज्ञा पालन गर्न अब्राहामलाई विश्‍वास र साहसको खाँचो परेको थियो। तिनीद्वारा “पृथ्वीका सबै कुलले आशिष पाउनेछन्‌” र तिनको सन्तानलाई एउटा देश दिइनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञामाथि तिनले विश्‍वास गरे। (उत्पत्ति १२:१-९; १५:१८-२१) विश्‍वासैद्वारा अब्राहाम “प्रतिज्ञाको देशमा . . . प्रवासी भए” र परमेश्‍वरको स्वर्गीय राज्य अर्थात्‌ “जग भएको शहरको प्रतिक्षा गरे” जब यसै पृथ्वीमा तिनको पुनरूत्थान हुनेछ।—हिब्रू ११:८-१६.

१० आफ्नो पतिसित परदेश जान र त्यहाँ आइपर्ने जस्तोसुकै कठिनाइहरू सहन अब्राहामकी पत्नी, सारासित विश्‍वास र साहस थियो। साहसीपूर्वक परमेश्‍वरप्रति आज्ञाकारी हुँदा उनले कस्तो ठूलो इनाम पाइन्‌! नब्बे वर्षसम्म बाँझी र “उमेर ढल्किसकेपछि,” पनि साराले ‘गर्भधारण गर्ने शक्‍ति पाइन्‌। किनभने प्रतिज्ञा गर्नुहुने परमेश्‍वरलाई तिनले विश्‍वासयोग्यका गनेकी थिइन्‌।’ समयमा तिनले इसहाकलाई जन्माइन्‌। (हिब्रू ११:११, १२; उत्पत्ति १७:१५-१७; १८:११; २१:१-७) केही वर्ष पश्‍चात्‌, अब्राहामले साहसीपूर्वक परमेश्‍वरको आज्ञा पालन गरे र “इसहाकलाई चढाए।” एक जना स्वर्गदूतले रोकेपछि, “दृष्टान्तको रूपमा” आफ्नो साहसी र आज्ञाकारी छोरालाई कुलपिताले मृत्युबाट फिर्ता पाए। यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टलाई बलिदानको रूपमा चढाउनु हुने कुरालाई अब्राहाम र इसहाकले भविष्यसूचक ढङ्‌गमा चित्रित गरिरहेका थिए ताकि येशूमाथि विश्‍वास गर्ने सबैले अनन्त जीवन पाउन सकोस्‌। (हिब्रू ११:१७-१९; उत्पत्ति २२:१-१९; यूहन्‍ना ३:१६) अब्राहाम, सारा र इसहाकको साहसी आज्ञाकारिताले अवश्‍य हामीलाई यहोवाको आज्ञा मान्‍न र सदैव उहाँको इच्छा गर्न प्रेरित गर्नेछ।

परमेश्‍वरका जनहरूको पक्षमा खडा हुने साहस

११, १२. (क) यहोवाका जनहरूको सन्दर्भमा मोशाले कसरी साहस देखाए? (ख) मोशाको साहसलाई ध्यानमा राख्दै, कुन प्रश्‍न सोध्न सकिन्छ?

११ परमेश्‍वरका पिल्सिएका जनहरूको पक्षमा मोशा साहसीपूर्वक खडा भए। सा०यु०पू० १६औं शताब्दीमा, स्वयं मोशाका आमाबाबुले साहस प्रदर्शन गरे। हिब्रू केटाहरूलाई मार्ने राजाको हुकुमसित नडराइकन तिनीहरूले मोशालाई लुकाए र नील नदीको तीर कुशहरूको बीचमा राखिदिए। अनि फिरऊनकी छोरीले भेट्टाएपछि, मोशाले आफ्नो आध्यात्मिक प्रशिक्षण सुरुमा आफ्नै आमाबाबुको घरमा पाए तापनि फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरालाई जस्तो गरी हुर्काइन्‌। फिरऊनको घरानाको सदस्य भएको हुँदा मोशालाई “मिश्रीहरूका सारा विद्यामा निपुण गराए” र मानसिक तथा शारीरिक योग्यताहरूका “कुरा र काममा शक्‍तिशाली” बन्‍न पुगे।—प्रेरित ७:२०-२२; प्रस्थान २:१-१०; ६:२०.

१२ राजघरानाको भौतिक सुविधाहरू हुँदा हुँदै पनि, तत्कालीन मिश्री दासत्वमा रहेका यहोवाका उपासकहरूको पक्षमा साहसीपूर्वक खडा हुन मोशाले रोजे। एक जना इस्राएलीलाई बचाउन तिनले मिश्रीलाई मारे र त्यसपछि भागेर मिद्यानमा गए। (प्रस्थान २:११-१५) लगभग ४० वर्षपछि इस्राएलीहरूलाई दासत्वबाट छुटाउन परमेश्‍वरले तिनलाई प्रयोग गर्नुभयो। इस्राएलको पक्षमा यहोवाको प्रतिनिधित्व गरे बापत मृत्युको धम्की दिने “राजाको क्रोधसँग नडराएर” मोशाले मिश्र छाडे। ‘अदृश्‍य,’ यहोवा परमेश्‍वरलाई देखेजस्तै गरी मोशा हिंडे। (हिब्रू ११:२३-२९; प्रस्थान १०:२८) कठिनाइ र सतावटको बावजूद पनि यहोवा र उहाँका जनहरूकै साथमा रहने विश्‍वास र साहस के तपाईंसित पनि छ?

‘सम्पूर्ण रूपले यहोवालाई पछ्याउने’ साहस

१३. यहोशू र कालेबले साहसको उदाहरण कसरी देखाए?

१३ हामी परमेश्‍वरको मार्गमा हिंड्‌न सक्छौं भन्‍ने प्रमाण साहसी यहोशू र कालेबले प्रस्तुत गरे। तिनीहरूले “सम्पूर्ण रूपले परमप्रभुलाई पछ्याए।” (गन्ती ३२:१२) प्रतिज्ञा गरेको देशमा पठाइएका १२ जना जासूसहरूमध्ये यहोशू र कालेब पनि थिए। त्यहाँका बासिन्दाहरूसित डराएर दश जना जासूसले इस्राएललाई कनानमा जान हतोत्साहित पार्न खोजे। तथापि, यहोशू र कालेबले साहसीपूर्वक यसो भने: “यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बहने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरूद्धमा खडा नहोओ। त्यस देशका मानिसहरूसित न डराओ, किनकि तिनीहरू ता हाम्रा शिकार हुन्‌। तिनीहरूको सुरक्षा तिनीहरूबाट हटिसकेको छ। परमप्रभु हामीसित हुनुहुन्छ, तिनीहरूसित नडराओ।” (गन्ती १४:८, ९) विश्‍वास र साहसको कमी हुनाले प्रतिज्ञा गरेको देशमा त्यो पुस्ता कहिल्यै पुग्न सकेन। तर यहोशू र कालेबको साथ तिनीहरूको नयाँ पुस्ताले भने पक्कै पनि त्यहाँ प्रवेश गऱ्‍यो।

१४, १५. (क) यहोशू १:७, ८-मा दिइएको वचनको पालना गर्दा यहोशू र इस्राएलीहरूले कस्तो अनुभव गरे? (ख) यहोशू र कालेबबाट हामी साहसको कस्तो पाठ सिक्छौं?

१४ परमेश्‍वरले यहोशूलाई भन्‍नुभयो: “केवल बलियो र अति साहसी भएर मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्‌। त्यसबाट दाहिनेतिर देब्रेतिर नफर्की। तँ जहींगए पनि सफलता पाउनेछस्‌। व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू, अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।”—यहोशू १:७, ८.

१५ यहोशूले यी शब्दहरू पालन गरेको हुनाले यरीहो र अरू शहरहरू इस्राएलीहरूको हातमा परे। गिबोनमा इस्राएल विजयी नहोउन्जेलसम्म परमेश्‍वरले उज्यालो दिन सूर्यलाई समेत अडाइराख्नुभयो। (यहोशू १०:६-१४) “समुद्रका किनारको बालुवा जत्तिकै” संयुक्‍त सेना भएको शत्रुहरूको खतरा आइपर्दा यहोशूले साहसीपूर्वक काम गरे र परमेश्‍वरले पुनः इस्राएललाई विजयी गराउनुभयो। (यहोशू ११:१-९) हामी असिद्ध मानवहरू भए तापनि यहोशू र कालेब जस्तै सम्पूर्ण रूपमा यहोवालाई पछ्याउन सक्छौं र परमेश्‍वरले हामीलाई उहाँको मार्गमा साहसीपूर्वक हिंड्‌ने बल दिन सक्नुहुन्छ।

परमेश्‍वरमा भरोसा राख्न साहस

१६. दबोरा, बाराक र याएलले कसरी साहस देखाए?

१६ साहसीपूर्वक परमेश्‍वरमा भरोसा राख्नाले इनाम पाइन्छ भन्‍ने कुरा इस्राएलका न्यायकर्त्ताहरूको शासनकालमा घटेका घटनाहरूले देखाउँछ। (रूथ १:१) उदाहरणको लागि, न्यायकर्त्ता बाराक र अगमवादिनी दबोराले साहसीपूर्वक परमेश्‍वरमा भरोसा राखे। ताबोर डाँडामा १०,००० मानिसलाई जम्मा गराउन बाराकलाई प्रेरित गर्न यहोवाले दबोरालाई चलाउनु अघि कनानी राजा याबिनले २० वर्षसम्म इस्राएललाई क्रूरतापूर्वक सताएका थिए। याबिनका सेनापति सीसेरा दौडेर कीशोनको खोल्चामा गए। आफ्नो सेना र ९०० फलामका रथअगाडि इस्राएलका मानिसहरू नगन्य हुनेछन्‌ भनी तिनी ढुक्क थिए। इस्राएलीहरू खोल्चातर्फ अघि बढ्‌दा परमेश्‍वरले तिनीहरूको साथमा आक्रमण गरिदिनुभयो र त्यहाँ आएको पानीको भलले रणभूमिलाई दलदलमा परिणत गऱ्‍यो जसले गर्दा सीसेराका रथहरू काम नलाग्ने भए। बाराकका मानिसहरूलाई केही भएन तर सीसेराका सारा सेना “तरवारले” मारिए। सीसेरा भागेर याएलको पालमा आए। तर सीसेरा सुतिसकेपछि याएलले तिनको कन्चटमा किला ठोकेर मारिदिने आँट गरिन्‌। दबोराले बाराकलाई भनेको भविष्यसूचक वाणीअनुरूप यस विजयको “गौरव” एक जना स्त्रीले पाइन्‌। दबोरा, बाराक र याएलले साहसीपूर्वक परमेश्‍वरमा भरोसा गरेको हुनाले इस्राएलमा “चालीस वर्षसम्म . . . शान्ति भयो।”—न्यायकर्त्ता ४:१-२२; ५:३१.

१७. न्यायकर्त्ता गिदोनले साहसी भएर यहोवामा भरोसा राख्ने कस्तो उदाहरण देखाए?

१७ इस्राएलमाथि मिद्यानीहरू र अरूहरूले हमला गर्दा न्यायकर्त्ता गिदोनले साहसीपूर्वक यहोवा परमेश्‍वरमा भरोसा राखे। इस्राएलका ३२,००० सेनाहरूको तुलनामा लगभग १,३५,००० आक्रमणकारीहरूको विरुद्धमा परमेश्‍वरले दिनु भएको विजयलाई इस्राएलका ती सेनाहरूले आफ्नो गौरवको दाबी गर्न सक्थे। तसर्थ, यहोवाको निर्देशनमा, गिदोनले आफ्नो सेनालाई कम गरेर १००-जना मानिसको तीन बेग्लाबेग्लै झुन्ड बनाए। (न्यायकर्त्ता ७:१-७, १६; ८:१०) राती ३०० जनाले मिद्यानी छाउनीलाई घेरा लगाउँदा प्रत्येकसित एउटा तुरही र भित्र राँको भएको एउटा रित्तो गाग्रो थियो। सङ्‌केत पाउनासाथ, तिनीहरूले तुरही फुके, गाग्रो फुटाएर राँको हातमा लिंदै कराए: “परमप्रभु र गिदोनको निम्ति तरवार!” (न्यायकर्त्ता ७:२०) त्राहि-त्राहि भएका मिद्यानीहरू भाग्न थाले र यसरी तिनीहरूमाथि विजय प्राप्त भयो। परमेश्‍वरमाथि भरोसा गर्नाले आज पनि इनाम पाइन्छ भनेर यस्ता घटनाहरूले हामीलाई विश्‍वास दिलाउनु पर्ने हो।

यहोवाको आदर गर्न र शुद्ध उपासना बढाउन साहस

१८. गोल्यातलाई घात गर्दा दाऊदले साहसीपूर्वक के गरे?

१८ बाइबलका केही उदाहरणहरूले यहोवाको आदर गर्न र शुद्ध उपासनालाई बढाउन साहस प्रदान गर्छ। आफ्नो बुबाको भेडालाई बचाउने जवान दाऊद पलिश्‍ती गोल्यातको सामु साहसी साबित भए। दाऊदले यसो भने: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्‍वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। म तँलाई मार्नेछु, र तेरो टाउको काट्‌नेछु . . . तब इस्राएलमा एउटा परमेश्‍वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाह पाउनेछ। यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि परमप्रभुले तरवार, भालाद्वारा बचाउनुहुन्‍न। लड़ाईं परमप्रभुकै हो, औ उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।” (१ शमूएल १७:३२-३७, ४५-४७) ईश्‍वरीय मदत पाएर दाऊदले साहसीपूर्वक यहोवाको आदर गरे, गोल्यातलाई घात गरे र शुद्ध उपासनालाई खतरा साबित हुन सक्ने पलिश्‍तीलाई हटाउन महत्त्वपूर्ण भूमिका निभाए।

१९. कुन काम गर्न सुलेमानलाई साहस चाहिएको थियो र उनको प्रयासलाई आज हामी कसरी उपयोग गर्न सक्छौं?

१९ राजा दाऊदका छोरा सुलेमानले परमेश्‍वरको मन्दिर निर्माण गर्न लाग्दा उनको वृद्ध बुबाले यसरी आग्रह गरे: “बलियो र आँटिलो हो र यो गर्‌। नडरा र निरुत्साहित नहो, किनभने परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। परमप्रभुको सेवाको निम्तिका सबै चाहिंदो काम तैंले पूरा नगरून्जेल उहाँले नता तँलाई निराश तुल्याउनुहुनेछ न तँलाई त्याग्नुहुनेछ।” (१ इतिहास २८:२०) साहसी कदमहरू उठाएर सुलेमानले सफलतापूर्वक मन्दिर निर्माण गर्न सिध्याए। त्यस्तैगरि आज पनि ईश्‍वरतान्त्रिक निर्माण कार्यक्रमले एउटा चुनौती खडा गर्दा हामी दाऊदका यी शब्दहरूलाई स्मरण गरौं: “बलियो र आँटिलो हो र यो गर्‌।” यहोवाको आदर गर्न र शुद्ध उपासना बढाउने कस्तो राम्रो तरिका!

२०. राजा आसा कुन कुरामा साहसी भए?

२० परमेश्‍वरलाई आदर गर्ने र शुद्ध उपासना बढाउने इच्छा भएको हुँदा राजा आसाले यहूदाबाट मूर्तिहरू र पुरुषगामीहरूलाई हटाइदिए। आफ्नो धर्मत्यागी हजुरआमालाई पनि उच्च ओहदाबाट हटाए र उनको ‘घिनलाग्दो मूर्तिलाई’ जलाइदिए। (१ राजा १५:११-१३) हो, आसाले “सारा यहूदा र बिन्यामीन औ तिनले कब्जा गरेका एप्रैमका पहाडी-देशका शहरहरूबाट घिनलाग्दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको भवनको दलानको वेदी पनि मरम्मत गरे।” (२ इतिहास १५:८) के तपाईं पनि त्यस्तैगरि साहसीपूर्वक धर्मत्यागको विरोध गर्दै शुद्ध उपासनालाई बढावा दिनुहुन्छ? के तपाईं राज्यसम्बन्धी कामहरूलाई बढाउन आफ्नो भौतिक स्रोतहरू प्रयोग गरिरहनुभएको छ? के तपाईं यहोवाको एक जना साक्षी भएर लगातार सुसमाचार घोषणा गर्दै उहाँको आदर गर्न खोजिरहनुभएको छ?

२१. (क) मसीहीपूर्व निष्ठावान व्यक्‍तिहरूको विवरणले हामीलाई कसरी मदत दिन सक्छ? (ख) यस पछिको लेखमा कुन विषयमाथि छलफल गरिनेछ?

२१ मसीहीपूर्व साहसी निष्ठावान व्यक्‍तिहरूको शास्त्रीय विवरणहरूलाई अहिलेसम्म परमेश्‍वरले सुरक्षित राखिदिनुभएकोमा हामी कति कृतज्ञ छौं! तिनीहरूको असल उदाहरणले साहस, ईश्‍वरीय भय र श्रद्धाकासाथ यहोवालाई पवित्र सेवा चढाउन हामीलाई साँच्चै नै मदत दिनेछ। (हिब्रू १२:२८) तर मसीही युनानी शास्त्रमा पनि ईश्‍वरीय साहस देखाउने व्यक्‍तिहरूको उदाहरणहरू छन्‌। यहोवाको मार्गमा साहसीपूर्वक हिंड्‌न यी विवरणहरूले हामीलाई कसरी मदत दिन सक्छ? (w93 11/15)

तपाईंले कसरी जवाफ दिनुहुनेछ?

▫ साहस के हो?

▫ हनोक र नूहले कसरी साहस देखाए?

▫ अब्राहाम, सारा र इसहाकले कुन ढङ्‌गमा साहसीपूर्वक काम गरे?

▫ मोशा, यहोशू र कालेबले कस्तो साहसी उदाहरण देखाए?

▫ परमेश्‍वरमा भरोसा राख्न आफूसँग साहस छ भन्‍ने कुरा अरूहरूले कसरी देखाए?

[पृष्ठ २६-मा भएको चित्र]

गिदोन र उनको सानो सेनाले साहसीपूर्वक यहोवामाथि भरोसा राखे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने