‘हे पृथ्वीका दीन जन हो, यहोवाको खोजी गर’
“हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, यहोवाको [न्यु व०] खोजी गर। धार्मिकता खोज, नम्रता खोज, यहोवाको [न्यु व०] रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:३.
भविष्यवक्ता सपन्याहले “पृथ्वीका दीन जन”-हरूलाई उपरोक्त शब्दहरू भने र ‘यहोवाको रीसको दिनमा’ बच्न “नम्रता”-को खोजी गर्न तिनीहरूलाई आग्रह गरे। बचावटको लागि नम्रता अपरिहार्य छ भन्ने कुरा यस तथ्यबाट स्पष्ट बुझिन्छ। तर किन?
किन नम्रताको खोजी गर्ने?
नम्रता भनेको घमण्ड र अभिमानबाट मुक्त कोमल स्वभावको गुण हो। विनम्रता र विनय जस्ता सद्गुणहरूसँग यसको निकटतम सम्बन्ध छ। यस्तै गुणहरूको कारण नम्र व्यक्तिहरू सिक्न इच्छुक हुन्छन् र तत्काल केही क्षणलागि कष्टदायी नै भए तापनि परमेश्वरबाट आउने अनुशासनलाई स्वीकार्न राजी हुन्छन्।—भजनसंग्रह २५:९; हिब्रू १२:४-११.
शिक्षा वा प्रतिष्ठा जस्ता कुराहरूसँग नम्रताको कमै सम्बन्ध होला। तथापि, उच्च शिक्षा हासिल गरेका वा सांसारिक तवरमा सफल साबित भएका व्यक्तिहरू उपासनादेखि लिएर सबै कुरामा आफै निर्णय गर्न योग्यको छु भनेर महसुस गर्छन्। यस्तो प्रवृतिले गर्दा तिनीहरू अरूहरूले भनेका कुराहरू सुन्दैनन् वा दिएको सल्लाह मान्दैनन् र आफ्नो जीवनमा आवश्यक परिवर्तन पनि गर्दैनन्। धनसम्पन्न व्यक्तिहरू आफूसँग भएको भौतिक धन सम्पत्ति सुरक्षाको आड हो भन्ने गलत सोचाइमा पर्न सक्छन्। अतः तिनीहरू परमेश्वरको वचन, बाइबलले दिने आत्मिक धनको आवश्यकता महसुस गर्दैनन्।—मत्ती ४:४; ५:३; १ तिमोथी ६:१७.
एकछिन येशूको समयका शास्त्रीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूलाई विचार गर्नुहोस्। एकपटक येशूलाई गिरफ्तार गर्न पठाइएका सिपाहीहरू रित्तो हात फर्किदा ती फरिसीहरूले यसो भने: “के तिमीहरू पनि भ्रममा पर्यौ? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले त्यसलाई विश्वास गर्यो? तर व्यवस्था नजान्ने यो भीड़ श्रापित छ।” (यूहन्ना ७:४५-४९) अर्को शब्दमा भन्ने हो भने ती फरिसीहरूको विचारअनुसार अज्ञानी र अशिक्षित जस्ता सुधो व्यक्तिहरूले मात्र येशूलाई विश्वास गर्छन्।
तर यसो भए तापनि केही फरिसीहरू सच्चाइतर्फ आकृष्ट भए र येशू तथा अन्य मसीहीहरूको पक्षमा समेत बोले। निकोदेमस र गमलिएल यिनीहरूमध्येका थिए। (यूहन्ना ७:५०-५२; प्रेरित ५:३४-४०) येशूको मृत्यु पश्चात् “पूजाहारीहरूको एक ठूलो दलले यही मत मान्नलाग्यो।” (प्रेरित ६:७) निस्सन्देह प्रेरित पावल यसको सबैभन्दा विशिष्ट उदाहरण थिए। तिनले गमलिएलकै रेखदेखमा शिक्षा पाए र यहूदी धर्मको कुशल र प्रतिष्ठित अधिवक्ता भए। तथापि, समयमा तिनले नम्रतापूर्वक ख्रीष्टको बोलावटलाई स्वीकारेर उहाँको जोशिलो अनुयायी भए।—प्रेरित २२:३; २६:४, ५; गलाती १:१४-२४; १ तिमोथी १:१२-१६.
एक जना व्यक्ति जुनसुकै पृष्ठभूमिको भए तापनि वा बाइबलले दिने समाचारप्रति अहिले तिनको जस्तोसुकै प्रतिक्रिया भए तापनि सपन्याहका ती शब्दहरू अझै पनि लागू हुन्छ भन्ने कुरा उपरोक्त कुराहरूले प्रष्ट्याउँछ। यदि कोही परमेश्वरद्वारा अनुमोदित र उहाँको वचनद्वारा निर्देशित हुन चाहन्छ भने नम्रता अपरिहार्य छ।
आज “नम्रता” खोज्नेहरू
आज, संसारभरि लाखौं मानिसहरूले राज्यको सुसमाचारलाई स्वीकारिरहेका छन्। यस्ता व्यक्तिहरूको घरमा आज यहोवाका साक्षीहरूले प्रत्येक हप्ता ४० लाखभन्दा बढी बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्। यिनीहरू विभिन्न पृष्ठभूमि र भिन्न आर्थिक अनि सामाजिक परिस्थितिबाट आएका हुन्। यद्यपि, तिनीहरू सबैमा एउटा साझा कुरा छ। त्यो हो, तिनीहरूको घरमा वा अन्यत्र कसैले दिएको बाइबल आधारित समाचार स्वीकार्न तिनीहरूसँग यथेष्ट विनम्रता छ। यिनीहरूमध्ये धेरैले राम्रो प्रगति गरिरहेका छन् किनभने यिनीहरू आफ्नो अगाडि आउने कुनै पनि अड्चन पार गर्न प्रयत्नरत हुन इच्छुक छन्। हो, यिनीहरू आज “पृथ्वीका दीन जन”-हरू मध्येका हुन्।
उदाहरणका लागि मेक्सिको शहरमा बस्ने मारियालाई नै लिनुहोस्। तिनले विश्व-विद्यालयमा कानुन पढिन् र आफ्नो पुर्ख्यौली सम्पत्तिको कारण आर्थिक तवरमा सुरक्षित थिइन्। यसले गर्दा तिनले आफूमा स्वतन्त्र विचारहरू विकसित गरिन्, जसको फलस्वरूप तिनी भिन्नै सोचाइका व्यक्ति भइन्। तिनको आफ्नै भनाइअनुसार तिनी “विद्रोही, कठोर, अहङ्कारी र नास्तिक भइन्।” बितेका दिनको सम्झना गर्दै मारिया भन्छिन्, “सबै कुरा पैसाले नै समाधान हुन्छ भन्ने मलाई लाग्थ्यो र मेरो विचारमा परमेश्वर त्यति महत्त्वपूर्ण थिएन। वास्तवमा भन्ने हो भने, मलाई उहाँको अस्तित्वै छैन जस्तो लाग्थ्यो।” तिनले अझै थप्दै भनिन्, “मेरो लागि गिर्जा एउटा हास्यास्पद र सामाजिक आवश्यकता मात्र थियो।”
पछि तिनले आफ्नो बाबुको एक जना नातेदार यहोवाका साक्षी बनेपछि उसमा भएको परिवर्तनहरू तिनले देखिन्। यसबारे मारिया भन्छिन्, “ऊ पहिले एकदम रिसाहा थियो तर अहिले भने एकदम शान्त र सोझो भएको छ।” मारिया अझै भन्छिन्, “नातेदारहरूले पनि ऊ एक जना प्रचारक भएको, उसले बाइबल पढ्ने गरेको र यही कारणले गर्दा मद्यपान र आइमाइहरूको पछि लाग्न समेत छाडेको कुरा बताए। मैले चाहेको शान्ति र स्थिर मनस्थिति यसैबाट पाउँछु जस्तो मलाई लागेको हुँदा ऊ मकहाँ आएर मलाई बाइबलका कुराहरू सुनाएको म चाहन्थे।” फलस्वरूप, मारियाले एउटा साक्षी दम्पतीसँग बाइबल अध्ययन गर्न राजी भइन्।
तिनले धेरै बाधाहरू पार गर्नु पऱ्यो। शीरत्वसम्बन्धी बाइबलले दिएको सल्लाहलाई स्वीकारेर आफ्नो पतिको अधीनमा बस्न राजी हुन तिनलाई साह्रै कठिन पऱ्यो। तर तिनले आफ्नो जीवन र मनोवृत्तिमा ठूलो परिवर्तनहरू गरिन्। तिनले यसो भन्दै स्वीकारिन्: “मलाई लाग्छ ती भाइहरू मेरो घरमा आएर यहोवाको मदत ल्याएदेखि मेरो घरमा आनन्द, सौहार्दता र परमेश्वरको आशिषको बास भएको छ।” आज मारिया यहोवाका समर्पित, बप्तिस्माप्राप्त साक्षी भएकी छिन्।
साँचो उपासनाको खोजी गर्ने सन्दर्भमा एउटा अर्को पक्ष पनि छ जहाँ नम्रता वा नम्रताको कमीले एउटा महत्त्वपूर्ण भूमिका निभाउँछ। प्रायःजसो एउटा परिवारमा सर्वप्रथम पत्नीले सच्चाइलाई स्वीकार्छिन् र परमेश्वरको सेवा गर्न चाहन्छिन्, तर पति भने हिचकिचाउँछन्। शायद कुनै कुनै पतिहरूलाई आफ्नी पत्नी अब अर्को एक जना व्यक्ति—यहोवा परमेश्वरको अधीनमा पनि बस्नु पर्छ भन्ने कुरालाई स्वीकार्न गाह्रो पर्दो हो। (१ कोरिन्थी ११:३) मेक्सिकोको चिवावा शहरमा बस्ने एउटी त्यस्तै स्त्रीले बाइबल अध्ययनका लागि आग्रह गरिन् र समयमा तिनी र तिनका सात छोराछोरीहरू सच्चाइमा आए। सुरुमा तिनको पतिले विरोध गरे। तर किन? किनभने तिनी आफ्नो परिवार घर घर प्रचार गर्दै बाइबल साहित्य बाँडेको चाँहदैन थिए। प्रत्यक्षतः तिनलाई यो कुरा आफ्नो गरिमाभन्दा तलको लाग्यो। तथापि, परमेश्वरलाई सेवा गर्ने निर्णयप्रति तिनको परिवार भने अडिग भएर बसे। समय बित्दै जाँदा तिनको पतिले परमेश्वरको प्रबन्ध स्वीकार्नुको महत्त्व देख्न थाले। तर यहोवालाई आफ्नो समर्पण गर्ने निर्णयमा पुगुन्जेल १५ वर्ष बितिसकेको थियो।
मेक्सिकोभरि अझै पनि त्यस्ता थुप्रै दुर्गम समाजहरू छन् जहाँका स्थानीय बासिन्दाहरूको आफ्नै प्रान्तीय इन्डियन भाषाहरू र प्रचलनहरू छन्। यस्ता व्यक्तिहरूकहाँ पनि बाइबलको समाचार पुगिरहेको छ र केहीले सच्चाइ सँगसँगै पढ्न अनि लेख्न पनि सिक्ने हुँदा साँस्कृतिक स्तर उकास्न समेत मदत पुगिरहेको छ। तथापि, मानिसहरूसँग कम शिक्षा वा भौतिक स्रोत भयो भन्दैमा तिनीहरू अझ ग्रहणशील हुन्छ नै भन्न सकिंदैन। जातीय अहम् र पुर्ख्यौली परम्पराको बलियो आस्थाले कहिलेकाहीं केही व्यक्तिहरूलाई सच्चाइ स्वीकार्न कठिन बनाउँछ। केही इन्डियन गाउँहरूमा सच्चाइ स्वीकार्नेहरूलाई किन अरू गाउँलेहरूले पिरोल्छन् भन्ने कुरा पनि यसबाट बुझ्न सकिन्छ। अतः नम्रताको विभिन्न रूप हुन्छ।
नम्रतापूर्वक स्वीकार्नुहोस्
तपाईंको विषयमा के भन्न सकिन्छ नि? के तपाईंले परमेश्वरको वचनलाई नम्रतापूर्वक सुनिरहनुभएको छ? वा बाइबलका त्यस्तो कुनै सत्य कुराहरू स्वीकार्न कठिन परिरहेको छ कि? तपाईंलाई कुन कुराले बाधा दिइरहेको छ भनेर शायद तपाईं आफै जाँच्न चाहनु हुन्छ होला। के तपाईं सच्चाइप्रति आकर्षित हुने अधिकांश व्यक्तिहरू विनम्र खालका भएको देखेर विचलित हुनुहुन्छ? वा तपाईंको सोचविचारमा व्यक्तिगत अहम् पो मुछिएको छ कि? शायद प्रेरित पावलका यी शब्दहरूमाथि विचार गर्नु बेस हुनेछ: “बुद्धिमानीहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो। औ परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई, अर्थात् भइरहेका कुराहरूलाई बेकम्मा गराउनाको निम्ति हुँदै नभएका कुरालाई चुन्नुभयो। यो चाहिं कोही प्राणीले परमेश्वरको सामने घमण्ड गर्न नपाओस् भनेर हो।”—१ कोरिन्थी १:२७-२९.
एउटा तुच्छ माटोका भाँडामा छ भन्दैमा के तपाईं भाँडामा भएको धन लिन इन्कार गर्नुहुन्छ? अवश्य गर्नुहुन्न! यद्यपि, जीवन बचाउने सत्यको वचनलाई हामीसमक्ष प्रस्तुत गर्न यहोवाले त्यस्तै तरिका छान्नु हुन्छ। यसबारे पावल यसो भन्छन्: “शक्तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्वरको होस् भनेर हामीसँग यो धन माटाको भाड़ामा छ।” (२ कोरिन्थी ४:७) नम्रता र विनम्रता छ भने त्यसले हामीलाई “माटाको भाड़ा” अर्थात् हामीकहाँ ती कुरा ल्याउने मानिसलाई होइन तर त्यस धनको साँचो मूल्य बुझ्ने मदत दिनेछ। यसो गऱ्यौं भने हामीले ‘यहोवाको रीसको दिनमा’ बच्ने र “पृथ्वीको अधिकार” गर्न पाउने सम्भावनालाई बढाइरहेका हुनेछौं।—सपन्याह २:३; मत्ती ५:५. (w93 12/1)