“ईश्वरीय भय” जिल्ला सम्मेलनमा आउनुहोस्
प्राचीन समयमा मोशाको व्यवस्थाअनुसार केही खास चाडहरू मनाउन यहोवाका सेवकहरू वर्षेनी तीन पटक भेला हुनु पर्थ्यो। ती अवसरहरू आनन्दमय र आध्यात्मिक तवरमा प्रोत्साहनदायी हुन्थे।—व्यवस्था १६:१६.
त्यस्तैगरि आधुनिक समयमा पनि यहोवाका सेवकहरू वर्षेनी तीन पटक एकसाथ भेला हुन्छन्। ती हुन्: विशेष सम्मेलन दिन, दुई दिने क्षेत्रीय सम्मेलन र तीन अथवा चार दिने जिल्ला सम्मेलन। सेवा वर्ष १९९४-मा “ईश्वरीय भय” जिल्ला सम्मेलनको निम्ति यहोवाका साक्षीहरू एकसाथ भेला हुनेछन्।
ईश्वरीय भयको महत्त्वबारे परमेश्वरको वचनले स्पष्टसित बताउँछ। करीब २०० पटक जति त्यसप्रकारको भय उल्लिखित छ। हितोपदेश १६:६-ले देखाएझैं ईश्वरीय भय एउटा सुरक्षा हो। त्यहाँ यसो भनिएको छ: “परमप्रभुको भयले मानिसहरूलाई खराब कामबाट फर्काउँछ।” अनि भजनसंग्रह १११:१०-मा ईश्वरीय भय नै ज्ञानको सुरु हो भनी हामीलाई भनिएको छ।
ईश्वरीय भयका दुई पक्षहरू छन् भन्न सकिन्छ। प्रथमतः, त्यस्तो भय प्रेमद्वारा उत्प्रेरित हुन्छ। परमेश्वरप्रति ठूलो प्रेम भएको कारण हामी परमेश्वरलाई दुःखी तुल्याउनदेखि डराउँछौं। (हितोपदेश २७:११) गलत कार्य गर्नेहरूको लागि परमेश्वर “भस्म गर्ने अग्नि” हुनुहुन्छ भन्ने थाहा पाउनाले हामीमा ईश्वरीय भय विकसित गर्नु बुद्धिमानी हुनेछ।—हिब्रू १२:२९.
ईश्वरीय भयमा बढ्दै जान हामीले यस “ईश्वरीय भय” जिल्ला सम्मेलनमा धेरै सल्लाह र प्रोत्साहन पाउनेछौं। त्यस्ता शिक्षाहरू भाषण, प्रदर्शन र नाटकका साथै अनुभवहरूद्वारा प्रदान गरिनेछ।
प्राचीन समयमा इस्राएलीहरूलाई तिनीहरूका जमघटहरूमा जम्मा हुँदा रित्तो हात नआउन आज्ञा दिइएको थियो। त्यस्तैगरि हामीले पनि सम्मेलनहरूको आनन्द र सफलताको लागि केही योगदान दिनु पर्छ। (व्यवस्था १६:१७) परमेश्वरले गरिदिनुभएका प्रबन्धहरूका लागि आदर देखाउन सक्छौं। तर कसरी? समयमै आएर, मञ्चबाट भनिने कुराहरूमा गहिरो ध्यान दिएर र पूर्ण जोशका साथ गीत गाएर। हामी कार्यक्रम सञ्चालन भइरहेको बेलामा कुराकानी गरेर अथवा एताउता डुलेर समय बिताउने छैनौं। आफूले सक्दो स्वैच्छिक सेवा पुऱ्याएर पनि योगदान दिन सक्छौं। सम्मेलनको व्यवस्थापनमा धेरै विभागहरू हुन्छन्। यी सबै विभागहरूमा मदतको निम्ति कार्यकर्त्ताहरू चाहिन्छन्। यहोवाले आशिष दिनुभएअनुसार आफ्नो औकात हेरेर वित्तीय सहयोग दिन पनि इच्छुक हुनेछौं।
बिहिबार बिहान आरम्भको गीतदेखि शनिबार अपराह्न समापन प्रार्थनासम्म “ईश्वरीय भय” जिल्ला सम्मेलनमा उपस्थित हुन यहोवाका प्रत्येक सेवकले अहिले नै योजना बनाओस्। (w94 2/15)