प्रभुको साँझको भोज—यो कति पटक मनाउनु पर्ने हो?
क्रिसमस, इस्टर, “सन्त”-का दिनहरू। मसीहीजगतका चर्चहरूले थुप्रै बिदा तथा उत्सवहरू मनाउने गर्छन्। तर येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई कति वटा चाड मनाउन आज्ञा दिनुभयो के तपाईंलाई थाहा छ? त्यसको उत्तर हो, केवल एउटा! अरू कुनै पनि उत्सवहरू मनाउने स्वीकृति मसीही धर्मको संस्थापकले दिनुभएको थिएन।
स्पष्टतः येशूले एउटा मात्र चाड स्थापना गर्नुभएको थियो भने यो निकै महत्त्वपूर्ण छ। येशूले आज्ञा गर्नुभएझैं दुरूस्त गरी मसीहीहरूले यो मनाउनुपर्छ। यो अतुलनीय उत्सव कुन थियो?
एक मात्र उत्सव
आफू मर्ने दिनमा येशूले यो उत्सव आरम्भ गर्नुभयो। आफ्ना प्रेरितहरूसित उहाँले यहूदी निस्तार चाड मनाइसक्नुभएको थियो। त्यसपछि उहाँले तिनीहरूलाई सानो टुक्रा अखमिरी रोटी दिंदै भन्नुभयो: “तिमीहरूको निम्ति दिएको यो मेरो शरीर हो।” अनि येशूले दाखमद्यको कचौरा दिंदै भन्नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” उहाँले यसो पनि भन्नुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लूका २२:१९, २०; १ कोरिन्थी ११:२४-२६) यस उत्सवलाई नै प्रभुको साँझको भोज अथवा स्मरणार्थ भनिन्छ। येशूले आफ्ना अनुयायीहरूलाई मनाउनू भनी आज्ञा दिनुभएको यो एक मात्र उत्सव हो।
अरू चाडहरूका साथै यो उत्सव पनि मनाउँछौं भनी थुप्रै चर्चहरू दाबी गर्छन्। तर धेरैजसोले येशूले आज्ञा गर्नुभएकोभन्दा बेग्लै ढङ्गमा मनाउँछन्। शायद सबैभन्दा उल्लेखनीय भिन्नता त यस उत्सव मनाउने पटक होला। कुनै कुनै चर्चहरूले महिनैपिच्छे, हप्तैपिच्छे र दिनहुँ समेत मनाउने गर्छन्। “मेरो सम्झनामा यो गर्ने गर” भनी येशूले आफ्ना अनुयायीहरूलाई भन्नुहुँदा के उहाँको मनसाय यही नै थियो? द न्यु इङ्गलिश बाइबल यसो भन्छ: “यो मेरो स्मरणार्थको रूपमा गर्ने गर।” (१ कोरिन्थी ११:२४, २५) स्मरणार्थ अथवा वार्षिक उत्सव कति पटक मनाइन्छ? सामान्यतः वर्षको एक पटक।
यो पनि सम्झनुहोस्, येशूले यो उत्सव सुरु गर्नुभयो र त्यसपछि उहाँ यहूदी पात्रोअनुसार नीसान १४ मा मर्नुभयो।a त्यो निस्तार चाडको दिन थियो। यस चाडले १६ औं शताब्दी सा.यु.पू. मा यहूदीहरूले मिश्रबाट पाएको ठूलो छुटकाराको स्मरण गराउँथ्यो। त्यतिबेला चढाइएको पाठोको बलिले यहूदीहरूको ज्येष्ठ पुत्रको ज्यान जोगायो तर मिश्रीहरूका सबै ज्येष्ठ पुत्रलाई यहोवाको स्वर्गदूतले नाश गऱ्यो।—प्रस्थान १२:२१, २४-२७.
यो कुरा बुझ्न हामी कसरी मदत पाउन सक्छौं? मसीही प्रेरित पावलले लेखे: “हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ।” (१ कोरिन्थी ५:७) येशूको मृत्यु निस्तारको ठूलो बलिदान थियो जसले गर्दा मानवजातिले महान मुक्ति पाउन सम्भव भयो। तसर्थ, मसीहीहरूको निम्ति ख्रीष्टको मृत्युको स्मरणार्थले यहूदी निस्तार चाडलाई प्रतिस्थापन गऱ्यो।—यूहन्ना ३:१६.
निस्तार चाड एउटा वार्षिक उत्सव थियो। अतः येशूको मृत्युको स्मरणार्थ पनि वार्षिक उत्सव हुनेछ भन्नु तर्कसङ्गत छ। येशू मर्नुभएको दिन—निस्तार चाड जहिले पनि यहूदी महिनाअनुसार नीसानको १४ औं दिनमा पर्थ्यो। यसर्थ, नीसान १४ पर्ने दिनमा ख्रीष्टको मृत्युको स्मरणार्थ वर्षको एक पटक मनाइनु पर्छ। सन् १९९४ मा त्यो दिन सूर्यास्तपश्चात् शनिबार, मार्च २६ मा पर्छ। यदि त्यसो हो भने मसीहीजगतका चर्चहरूले यस दिनमा किन कुनै विशेष उत्सव मनाउँदैनन्? इतिहासलाई सरसरती पल्टाएर हेऱ्यौं भने त्यस प्रश्नको उत्तर पाउनेछौं।
प्रेरितहरूको चलन खतरामा
सा.यु. प्रथम शताब्दीतिर येशूका प्रेरितहरूको निर्देशनमा केही व्यक्तिहरूले येशूले आज्ञा गर्नुभएझैं प्रभुको साँझको भोज मनाउँथे भन्नेबारे कुनै शङ्का छैन। तापनि, दोस्रो शताब्दीतिर कसै कसैले यो उत्सव मनाउने समय तालिकामा हेरफेर गर्न थाले। तिनीहरूले नीसान १४ पर्ने दिनमा नभई हप्ताको पहिलो दिन (अहिले आइतबार भनिने) स्मरणार्थ मनाउन थाले। त्यसो किन गरियो?
यहूदीहरूको दिन साँझ छ बजे शुरु भएर अर्को दिनको साँझ छ बजेसम्म हुन्थ्यो। सा.यु. ३३, नीसान १४ मा येशू मर्नुभयो, जुन दिन बिहिबार साँझदेखि शुक्रबार साँझसम्म थियो। उहाँको पुनरुत्थान तेस्रो दिन, आइतबार बिहानको पहिल्लो पहरमा भयो। कसै कसैले येशूको मृत्युको उत्सव नीसान १४ मा नभई प्रत्येक वर्ष हप्ताको एउटा निश्चित दिनमा मनाउन चाहे। तिनीहरूको विचारमा येशूको पुनरुत्थान भएको दिन उहाँको मृत्युको दिनभन्दा महत्त्वपूर्ण थियो। यसप्रकार, तिनीहरूले आइतबारको दिन रोजे।
येशूले आफ्नो पुनरुत्थानको होइन तर मृत्युको स्मरण गर भनी आज्ञा दिनुभएको थियो। हामीले अहिले प्रयोग गर्ने ग्रेगोरियन पात्रोअनुसार यहूदी निस्तार चाड प्रत्येक वर्ष बेग्लै दिनमा पर्ने हुँदा येशूको मृत्युको स्मरणार्थ पनि फरक फरक दिनमा पर्नु स्वभाविक कुरा हो। तसर्थ, धेरैले सुरुको प्रबन्ध नै पालन गरे र प्रत्येक वर्ष नीसान १४ मा प्रभुको साँझको भोज मनाए। पछि गएर तिनीहरूलाई क्वार्टोडेसिमनहरू भनिन थालियो, जसको अर्थ हो “चौधेहरू”।
यी “चौधेहरू” ले प्रेरितहरूको शुरुको उदाहरण अनुसरण गरिरहेका थिए भनी केही शास्त्रज्ञहरूले बुझे। एक जना इतिहासकारले भने: “पास्क [प्रभुको साँझको भोज] मनाउने दिनको सम्बन्धमा एशिया माइनरका चर्चहरूका क्वार्टोडेसिमनहरू र यरूशलेमको चर्चले एकै प्रकारले मनाउँथे। दोस्रो शताब्दीतिर नीसान १४ मा पास्क मनाउने दिनमा यी चर्चहरूले ख्रीष्टको मृत्युले सम्भव पारेको छुटकाराको उत्सव पनि मनाए।”—स्टुडिया पाट्रिस्टिका, खण्ड ५, १९६२, पृष्ठ ८.
एउटा विवाद बढ्दै जान्छ
एशिया माइनरका थुप्रै व्यक्तिहरूले प्रेरितहरूकै प्रचलन अपनाए तापनि रोममा भने यो उत्सव मनाउन आइतबारको दिन छुट्याइयो। यस लगायत अन्य समस्याहरू छलफल गर्न सा.यु. १५५ तिर एशियाली मण्डलीहरूका प्रतिनिधि, स्मर्नाका पोलिकार्प रोम गए। तर दुःखको कुरा, यस विषयमा कुनै सहमति हुन सकेन।
लिओनका इरेनियसले एउटा पत्रमा यसो लेखे: “हाम्रा प्रभुको चेला यूहन्ना र अरू प्रेरितहरूसित सधैं मनाउँदै आएको उत्सव नमनाउन न [रोमका] आनिसेट्सले पोलिकार्पलाई मन्जुर गराउन सके; न ता पोलिकार्पले आनिसेट्सलाई उत्सव मनाउन मन्जुर गराए किनभने आफूभन्दा अघिका प्राचीनहरूको चलनलाई पालन गर्नु पर्छ भन्ने भनाइ आनिसेट्सको थियो।” (यूसिबियस्, पुस्तक ५, अध्याय २४) सम्झनुहोस्, प्राप्त जानकारीअनुसार पोलिकार्पले प्रेरितहरूको उदाहरणमा आफ्नो अडान आधारित गरे भने आनिसेट्सले रोमका पहिलेका प्राचीनहरूको चलनको सहारा लिए।
यो विवाद सा.यु. दोस्रो शताब्दीको अन्ततिर निकै चर्कियो। भिक्टर नाम गरेका व्यक्ति सा.यु. १९० तिर रोमको बिशप नियुक्त भए। उनको विचारमा प्रभुको साँझको भोज आइतबार मनाइनु पर्छ भन्ने थियो र उनले यथाशक्य नेताहरूको समर्थन खोजे। एशिया माइनरका मण्डलीहरूलाई पनि यो उत्सव आइतबार नै मनाउन भिक्टरले निकै दबाब दिए।
एशिया माइनरकाहरूको पक्षमा बोल्दै इफिससका पोलिक्रेट्सले यस दबाबलाई इन्कार गरे। तिनले भने: “हामी यस दिनमा कुनै परिवर्तन नगरीकन जस्ताको तस्तै मनाउँछौं।” त्यसपछि तिनले प्रेरित यूहन्ना लगायत थुप्रै अख्तियारवालाहरूको नामावली दिए। तिनले दृढतापूर्वक भने: “यी सबै व्यक्तिहरूले सुसमाचारका पुस्तकहरूमा लेखिएअनुसार कतै पनि नतर्किकन चौधौं दिन पास्क मनाए।” पोलिक्रेट्सले अझै भने: “भाइहरू हो, . . . यस्ता धम्कीहरूबाट तर्सिने खालको मानिस म होइन। मभन्दा श्रेष्ठहरूले भनेका थिए, हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नु पर्छ।”—यूसिबियस्, पुस्तक ५, अध्याय २४.
यस्तो प्रत्युत्तरप्रति भिक्टर अप्रसन्न भए। एउटा ऐतिहासिक विवरणअनुसार तिनले “सबै एशियाली चर्चहरूलाई बहिष्कार गरे र ती बहिष्कृत चर्चहरूसित कुनै उत्सव नमनाउनू भनी आफ्नो पक्षमा भएका सबै चर्चहरूलाई परिपत्र पठाए।” तापनि, तिनको “आफ्नै दलका बुद्धिमान तथा विचारशील मानिसहरूले यस अविवेकी र धृष्ट कदमलाई स्वीकारेनन्। थुप्रैले तिनलाई प्रेम, एकता र शान्तिको जगेर्ना गर्ने . . . सल्लाह दिंदै कटुतापूर्वक पत्र लेखे।”—बिङ्हामको एन्टिक्विटिज् अफ द क्रिश्चियन चर्च, पुस्तक २०, अध्याय ५.
संस्थागत गरिएको धर्मत्याग
यस्ता विरोधहरूको अलावा एशिया माइनरका मसीहीहरू प्रभुको साँझको भोज कहिले मनाउने भन्ने विषयमा झन् झन् एक्लो हुँदै गए। अन्य ठाउँहरूमा पनि चालै नपाई बिस्तारै हेरफेर हुन थालिसकेको थियो। कसैले नीसान १४ देखि आउँदो आइतबारसम्मै मनाउन थाले। अरूहरूले भने धेरै पटक—प्रत्येक हप्ता आइतबार मनाउन थाले।
सा.यु. ३१४ मा आर्ल्सको सभाले (फ्रान्स) रोमी प्रबन्ध लागू गर्न जोड दिए र अन्य कुनै पनि विकल्पलाई दबाउन खोजे। बाँकि रहेका क्वार्टोडेसिमनहरू भने अरूहरूको बहकाउमा फँसेनन्। कन्स्टान्टिनको साम्राज्य- का मसीही भनौंदाहरूबीच यो र अन्य विवादहरूले गर्दा उत्पन्न विभाजनलाई सुल्झाउन गैरमसीही सम्राट कन्स्टान्टिनले सा.यु. ३२५ मा नाइसियाको सभा अर्थात् एकता-वर्धक धर्मसभा बोलाए। एशिया माइनरका सबैले रोमी प्रचलन पालन गर्नु पर्ने आदेश जारी गरे।
यहूदी पात्रोअनुसार ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन छाड्न प्रतिपादन गरिएको प्रमुख तर्कलाई सम्झनु चाखलाग्दो छ। का. जे. हफेलको अ हिस्ट्री अफ द क्रिश्चियन काउन्सिल्स् ले यसो भन्छ: “सबैभन्दा भयङ्कर अपराधहरूमा सहभागी र आफ्नो मन अन्धा भएका यहूदीहरूको चलनअनुसार (तालिका) यो सबैभन्दा पवित्र पर्व मनाउनु अयोग्यको छ भनी घोषणा गरियो।” (खण्ड १, पृष्ठ ३२२) स्टुडिया पाट्रिस्टिका को खण्ड ४, १९६१, पृष्ठ ४१२ मा जे. जेस्टरको उद्धरणअनुसार त्यस्तो परिस्थिति “सभाघरको निम्ति ‘लज्जास्पद दमन’ थियो जसले चर्चका अख्तियारवालाहरूलाई पनि रीस उठायो।”
कस्तो यहूदी विरोधी कुरा! उहाँको मृत्यु भएकै दिनमा ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउने व्यक्तिहरूलाई यहूदी धर्मपन्थीहरू भनिन थाल्यो। येशू पनि यहूदी हुनुहुन्थ्यो र सारा मानवजातिको निम्ति आफ्नो जीवन दिनुभएर उहाँले त्यस दिनलाई विशेष महत्त्व दिनुभयो भन्ने कुरा तिनीहरूले बिर्से। त्यसपश्चात् क्वार्टोडेसिमनहरूलाई विधर्मी तथा भेदकहरू भनी निन्दा गर्न र सताउन थालियो। तिनीहरू बहिष्कृत गरिनुपर्छ भनी सा.यु. ३४१ मा एन्टियोकको सभाले आदेश जारी गऱ्यो। तर यसो भए तापनि सा. यु. ४०० तिर थुप्रै क्वार्टोडेसिमनहरू थिए र त्यसपश्चात् तिनीहरूको सङ्ख्या थोरै नै भए पनि ती क्वार्टोडेसिमनहरू निकै समयसम्म थिए।
त्यस समयदेखि येशूको सुरूको प्रबन्धअनुसार मनाउन मसीहीजगत असफल भएको छ। प्राध्यापक विलियम ब्राइटले स्वीकारे: “ख्रीष्टको दुःखको स्मरणार्थ मनाउन एउटा विशेष दिन, गुड फ्राइडेलाई छुट्ट्याउँदा ‘पास्कल’ उत्सवलाई सीमित गर्न सकिएन जुन उत्सव सन्त पावलले बलिदानरूपी मृत्युसित जोडेका थिए; पास्कल उत्सवलाई विना रोकटोक पुनरुत्थान उत्सव मनाउन पनि लागू गर्न थालियो अनि त्यसपछि मसीहीजगतका यूनानी तथा ल्याटिन विधिवत् परिपाटीमा गोलमाल हुन थाल्यो।”—द एज अफ द फादर्स, खण्ड १, पृष्ठ १०२.
हाम्रो समयबारे के भन्न सकिन्छ?
तपाईंले प्रश्न गर्नुहोला, ‘यतिका वर्ष बितिसक्यो अब येशूको मृत्युको स्मरणार्थ जहिले मनाएपनि के फरक पर्छ र?’ अवश्य पर्छ। शक्तिका भोका स्वच्छन्द विचारधाराका मानिसहरूले त्यस्ता परिवर्तनहरू गरेका थिए। येशू ख्रीष्टको आज्ञा पालन गर्नुको सट्टा मानिसहरूले आफ्नै विचारहरू पछ्याउन थाले। यसो हुँदा पावलको चेताउनी स्पष्टसित पूर्ति भयो: “मलाई थाहा छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनुहुनेछन्।”—प्रेरित २०:२९, ३०.
यहाँ विवादको विषय त आज्ञाकारिता हो। मसीहीहरूलाई मनाउनू भनी येशूले एउटा मात्र उत्सव स्थापना गर्नुभयो। त्यो कहिले र कसरी मनाउनुपर्छ भनी बाइबलले स्पष्टसित वर्णन गर्छ। त्यसो भए हेरफेर गर्ने अधिकार कोसित छ? यस विषयमा सम्झौता गर्नुको सट्टा सुरु सुरुका क्वार्टोडेसिमनहरूले सतावट भोगे र बहिष्कृत हुन रोजे।
येशूको इच्छा पालन गर्दै उहाँले स्थापना गर्नुभएकै दिनमा उहाँको मृत्युको स्मरणार्थ उत्सव मनाउने मसीहीहरू यस पृथ्वीमा अझै जीवित छन् भनी थाहा पाउँदा तपाईं छक्क पर्नु होला। यस वर्ष शनिबार, मार्च २६ तारिखका दिन साँझ ६:०० बजेपछि नीसान महिनाको १४ औं दिन सुरु हुँदा सारा संसारभरि यहोवाका साक्षीहरू आ-आफ्ना राज्य भवनहरूमा भेला हुनेछन्। यस अर्थपूर्ण अवसरमा येशूले भन्नुभएझैं तिनीहरूले गर्नेछन्। ती व्यक्तिहरूसित प्रभुको साँझको भोज तपाईंले पनि मनाउनुभए कसो होला? त्यहाँ उपस्थित हुनु भएर तपाईंले पनि येशूको इच्छाप्रति आदर देखाउन सक्नुहुन्छ। (w94 3/15)
[फुटनोट]
a यहूदी वर्षको प्रथम महिना नीसान हो र औंसीदेखि महिना सुरु हुन्छ। तसर्थ, नीसान १४ जहिले पनि पूर्णिमाको दिनमा पर्छ।
[पृष्ठ ६-मा भएको चित्र]
“त्यो बहुमूल्य छुडौतीको बलिदान”
येशू ख्रीष्टको छुडौतीको बलिदान एउटा सिद्धान्त मात्र होइन। येशूले आफूबारे भन्नुभयो: “मानिसको पुत्र सेवा लिनु होइन तर सेवा गर्नु, र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनु आएको हो।” (मर्कूस १०:४५) उहाँले यसो पनि भन्नुभयो: “परमेश्वरले [मानवजातिको] संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) मरेकाहरूको निम्ति छुडौतीको बलिदानले पुनरुत्थान र अनन्त जीवनको बाटो खोलिदिन्छ।—यूहन्ना ५:२८, २९.
प्रभुको साँझको भोजको अवसरमा येशू ख्रीष्टको अत्यावश्यक मरणको स्मरणार्थ मनाइन्छ। उहाँको बलिदानले कत्ति धेरै कुराहरू पूर्ति गर्छ! ईश्वरभीरू आमाबाबुद्वारा प्रशिक्षित र परमेश्वरको सच्चाइमा धेरै दशक बिताइसकेकी एक विवाहिताले आफ्नो कृतज्ञता यी शब्दहरूमा व्यक्त गरिन्:
“हामी उत्सुकतापूर्वक स्मरणार्थको प्रतीक्षा गर्छौं। यसको महत्त्व प्रत्येक वर्ष बढ्दै जान्छ। २० वर्षअघि, मसानघाटमा राखिएको मेरो प्रिय बुबाको शवलाई हेर्दा छुडौतीको बलिदानप्रति मेरो हृदय साँचो मूल्याङ्कनले ओतप्रोत भएको मलाई अझै याद छ। योभन्दा अघि यस विषयमा मसित दिमागी ज्ञान मात्र थियो। मलाई शास्त्रपदहरू र त्यसको वर्णन कसरी गर्ने भनी सबै थाहा थियो! तर मृत्युको तीतो वास्तविकताको सम्मुख पर्दा मात्र त्यस मूल्यवान छुडौतीको बलिदानले सम्भव तुल्याउने कुराहरू स्पष्टसित बुझें। मेरो हृदय हर्षले गद्गद भयो।”