प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ३/१ pp. २३-२७
  • यहोवा उद्देश्‍यको परमेश्‍वर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा उद्देश्‍यको परमेश्‍वर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उद्देश्‍यको परमेश्‍वर
  • प्रगतिशील ढङ्‌गमा प्रकटित
  • प्रगतिशील ज्योति
  • धेरैले जान्‍न चाहँदैनन्‌
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ३/१ pp. २३-२७

यहोवा उद्देश्‍यको परमेश्‍वर

“जो युक्‍ति मैले गरेको छु, त्यो निश्‍चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।”—यशैया १४:२४.

सबैतिर मानिसहरू प्रश्‍न गर्छन्‌: “जीवनको उद्देश्‍य के हो?” पश्‍चिमी मुलुकका एक जना राजनैतिक नेताले यसो भने: “पहिलेभन्दा निकै मानिसहरूले ‘हामी को हौं? हाम्रो उद्देश्‍य के हो?’ भन्‍ने प्रश्‍नहरू सोधिरहेका छन्‌।” जीवनको उद्देश्‍यबारे जवान मानिसहरूसित मत लिंदा एउटा अखबारले यस्ता ठेट्‌ जवाफहरू पायो: “आफूलाई जसो मन लाग्छ त्यसै गर्नु।” “जीवनमा सकेजति सबै गर्नु।” “मोजमस्ती र विलासी जीवन बिताउनु।” “बच्चाहरू जन्माउनु, आनन्दित हुनु र त्यसपछि मर्नु।” धेरैको सोचाइमा जीवनको अर्थ यति नै थियो। पृथ्वीमा जीवनको चिरस्थायी उद्देश्‍यबारे कसैले केही भनेनन्‌।

२ एक जना कन्फ्युसियन शास्त्रज्ञले यसो भने: “हाम्रो साधारण मानव अस्तित्वमा जीवनको वास्तविक अर्थ पाइन्छ।” यस मतअनुसार मानिसहरू जन्मिनै रहनेछन्‌, ७०-८० वर्षसम्म सङ्‌घर्ष गर्नेछन्‌, त्यसपछि मर्नेछन्‌ र सदाको निम्ति अस्तित्वबाट बिलाएर जानेछन्‌। एक जना विकासवादी वैज्ञानिकले यसो भने: “हामीले ‘उत्कृष्ट’ जवाफको चाह त गरौंला तर त्यस्तो जवाफ पाईंदैन।” यी विकासवादीहरूको निम्ति जीवन भनेको बाँच्नको निम्ति गर्नुपर्ने सङ्‌घर्ष हो र त्यसको अन्त्य मृत्यु हो। त्यस्ता दर्शनशास्त्रहरूले जीवनसम्बन्धी एउटा आशाविहीन दृष्टिकोण राख्छ।

३ मानव जीवन दुःखै दुःखले भरिपूर्ण भएकोले जीवनको उद्देश्‍यमाथि धेरै व्यक्‍तिहरू शङ्‌का गर्छन्‌। अहिले मानिसहरू औद्योगिक र वैज्ञानिक उपलब्धिहरूको कथित चरमसिमामा पुगेको बेला संसारभरि झन्डै सय करोड मानिसहरू गम्भीर बिमारी र कुपोषणको शिकार भएका छन्‌। त्यस्ता कारणहरूले वर्षेनी लाखौं बच्चाहरू मर्छन्‌। यसको अतिरिक्‍त बितेका चार सय वर्षहरूको दौडान मर्नेहरूको जम्माजम्मी सङ्‌खयाभन्दा अहिले २० औं शताब्दीका युद्धमा मारिनेहरूको सङ्‌ख्‌या चार गुना बढी छ। हिंसा, अपराध, लागू पदार्थको दुरुपयोग, टुक्रिएका परिवारहरू, एड्‌स र लैङ्‌गिक संसर्गद्वारा सर्ने रोगहरू जस्ता नकारात्मक तत्त्वहरूको सूची बढ्‌दो छ। संसारका नेताहरूसित यी समस्याहरूको समाधान छैन।

४ त्यस्ता परिस्थितिहरूलाई ध्यानमा राख्दै एक जना व्यक्‍तिले धेरैको सोचाइसित मिल्ने आफ्नो विचार यसरी व्यक्‍त गरिन्‌: “जीवनको कुनै उद्देश्‍य छैन। यस्ता नराम्रा कुराहरू हुन्छन्‌ भने जीवनको कुनै खास अर्थ रहँदैन।” अनि एक वृद्धले यसो भने: “म यहाँ किन छु भनेर मैले जीवनभर प्रश्‍न गरें। यदि जीवनको कुनै उद्देश्‍य रहेछ भने पनि अब मलाई के वास्ता।” परमेश्‍वरले दुःखकष्ट हुने अनुमति किन दिनुहुन्छ भनेर बहुसङ्‌खयक व्यक्‍तिहरूलाई थाहा छैन। त्यसकारण विश्‍वको पीडाजनक परिस्थितिहरूले तिनीहरूलाई भविष्यबारे कुनै साँचो आशा प्रदान गर्दैनन्‌।

५ धार्मिक नेताहरू समेत जीवनको उद्देश्‍यबारे विभाजित र अनिश्‍चित छन्‌। लण्डनस्थित सन्त पावलको महा-गिर्जाघरका भूतपूर्व डीनले यसो भने: “मैले जीवनको उद्देश्‍य पत्ता लगाउन जीवनभर सङ्‌घर्ष गरें। . . . तर म असफल भएँ।” यो सत्य हो, मरेपछि असल व्यक्‍तिहरू स्वर्गमा र खराबहरू सदाको लागि अग्निमय नरकमा जान्छन्‌ भनी पादरीहरूको धेरै समूहले सिकाउँछन्‌। तर यस्तो विचारधाराले पनि पृथ्वीमा मानवजातिको पीडा हटाउन कुनै मदत गर्दैन। मानिसहरू स्वर्गमा बसोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य भएको भए मानिसहरूलाई यस्तो विघ्न दुःखबाट बचाउन स्वर्गदूतहरू जस्तै स्वर्गमा बस्ने प्राणीहरू पहिले नै किन बनाउनु भएन त? अतः पृथ्वीमा जीवनको उद्देश्‍य के हो भन्‍ने विषयमा अन्योल हुनु अथवा जीवनको कुनै उद्देश्‍य हुन्छ भनेर धेरैले विश्‍वास गर्न इन्कार गर्नु असामान्य कुरो होइन।

उद्देश्‍यको परमेश्‍वर

६ यद्यपि, इतिहासभरि सबैभन्दा व्यापक वितरण भएको पवित्र बाइबलले ब्रह्‍माण्डको सर्वसत्ताधारी प्रभु यहोवा, उद्देश्‍यको परमेश्‍वर हुनुहुन्छ भनी हामीलाई बताउँछ। उहाँले पृथ्वीमा मानवजातिको निम्ति दीर्घकालीन, भनौं भने अनन्तकालीन उद्देश्‍य राख्नुभएको छ भनी देखाउँछ। अनि यहोवाले केही उद्देश्‍य राख्नुहुँदा त्यो निश्‍चय नै पूरा हुनेछ। वर्षाले टुसा अङ्‌कुराउन मदत गरेझैं परमेश्‍वर यसो भन्‍नुहुन्छ, “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशैया ५५:१०, ११) यहोवाले भन्‍नुहुने हरेक कुरा उहाँले पूरा गर्नुहुनेछ, “त्यो स्थिर रहनेछ।”—यशैया १४:२४.

७ सर्वशक्‍तिमान परमेश्‍वरले आफ्नो प्रतिज्ञा भुल्नुहुनेछैन भनी हामी मानिसहरू ढुक्क हुन सक्छौं किनभने परमेश्‍वरले “झूट” बोल्नु हुन्‍न। (तितस १:२; हिब्रू ६:१८) उहाँले केही गर्छु भनी भन्‍नुभएपछि त्यो अवश्‍य पूरा हुनेछ भन्‍ने ग्यारेन्टी उहाँको वाणी हो। त्यो पूरा भए सरह नै हुन्छ। उहाँले यसरी घोषणा गर्नुहुन्छ: “म परमेश्‍वर हुँ, औ मबाहेक अरू कोही छैनँ। म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा गर्छ, ‘मेरो उद्देश्‍य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।’ . . . मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशैया ४६:९-११.

८ यस बाहेक, “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने” यहोवा चाहनुहुन्छ। (२ पत्रुस ३:९) यसैकारण कोही पनि उहाँबारे अनभिज्ञ भएको उहाँ चाहनुहुन्‍न। अजर्याह नाम गरेका अगमवक्‍ताले यसो भने: “जब तिमीहरू परमेश्‍वरसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” (२ इतिहास १५:१, २) यसर्थ, परमेश्‍वर र उहाँको उद्देश्‍यबारे निष्कपटताका साथ जान्‍न चाहनेहरूले प्रयास गरेको खण्डमा उहाँलाई अवश्‍य भेट्टाउन सक्छन्‌।

९ कहाँ खोज्ने? परमेश्‍वरको साँच्चै खोजी गर्नेहरूको निम्ति उहाँले आफ्नो वचन, बाइबल दिनुभएको छ। उहाँले ब्रह्‍माण्ड सृष्टि गर्न आफ्नो सक्रिय शक्‍ति प्रयोग गर्नुभयो। हामीले उहाँको उद्देश्‍यहरूबारे थाहा पाउनु पर्ने कुराहरू लेख्न परमेश्‍वरले विश्‍वासी मानिसहरूलाई त्यही पवित्र आत्माद्वारा डोऱ्‍याउनुभयो। उदाहरणको लागि, भविष्यवाणीहरूको सम्बन्धमा प्रेरित पत्रुसले भने: “मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२१) त्यस्तैगरि प्रेरित पावलले घोषणा गरे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७; १ थिस्सलोनिकी २:१३.

१० परमेश्‍वरको वचनले हामीलाई आंशिक अथवा अपूर्ण ढङ्‌गमा नभई “पूर्णरूपले सुसज्जित” हुन मदत दिन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। यसले परमेश्‍वर को हुनुहुन्छ, उहाँका उद्देश्‍यहरू के के हुन्‌ र आफ्ना सेवकहरूबाट उहाँ के चाहनुहुन्छ भनी पूर्णतया पक्का हुन मानिसहरूलाई मदत गर्छ। परमेश्‍वरले लेख्नुभएको पुस्तकबाट ती कुराहरू थाह पाउने आशा गर्न सकिन्छ। अनि परमेश्‍वरबारे सही ज्ञान पाउन सक्ने एक मात्र स्रोत त्यही हो। (हितोपदेश २:१-५; यूहन्‍ना १७:३) त्यसो गऱ्‍यौं भने हामी “भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याइ-पल्ट्याइ पारिएर यताउता हुर्रिने बालकहरू” हुनेछैनौं। (एफिसी ४:१३, १४) यस सम्बन्धमा भजनरचयिताले उचित दृष्टिकोण यसरी व्यक्‍त गरे: “तपाईंको [परमेश्‍वरको] वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजनसंग्रह ११९:१०५.

प्रगतिशील ढङ्‌गमा प्रकटित

११ मानव परिवारको सुरुवातमै पृथ्वी र यहाँ बस्ने मानवहरूको निम्ति आफ्ना उद्देश्‍यहरू यहोवाले प्रकट गर्नुभयो। (उत्पत्ति १:२६-३०) तर हाम्रा प्रथम मातापिताले परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गरेपछि मानवजाति आध्यात्मिक अन्धकार र मृत्युमा फँसे। (रोमी ५:१२) तर त्यसो भए तापनि उहाँको सेवा गर्न चाहनेहरू हुनेछन्‌ भनी यहोवालाई थाहा थियो। तसर्थ, शताब्दीऔंसम्म उहाँले आफ्ना विश्‍वासी सेवकहरूलाई आफ्ना उद्देश्‍यहरू प्रगतिशील ढङ्‌गमा प्रकट गर्दै आउनुभएको छ। उहाँले कुराकानी गर्नु भएकाहरूमध्ये केही व्यक्‍तिहरू हनोक (उत्पत्ति ५:२४; यहूदा १४, १५), नूह (उत्त्पत्ति ६:९, १३), अब्राहाम (उत्पत्ति १२:१-३) र मोशा (प्रस्थान ३१:१८; ३४:२७, २८) थिए। परमेश्‍वरको अगमवक्‍ता आमोसले लेखे: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।”—आमोस ३:७; दानिएल २:२७, २८.

१२ अदनमा विद्रोह भएको झन्डै ४,००० वर्षपश्‍चात्‌ परमेश्‍वरको पुत्र येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा यहोवाको उद्देश्‍यहरूको सम्बन्धमा निकै विवरणहरू प्रकट भए। यो विशेषगरि पृथ्वीमाथि शासन गर्ने स्वर्गीय राज्यबारे परमेश्‍वरको उद्देश्‍यसित सम्बन्धित थियो। (दानिएल २:४४) त्यो राज्यलाई येशूले आफ्नो शिक्षाको मूल विषय बनाउनुभयो। (मत्ती ४:१७; ६:१०) त्यस राज्य अन्तर्गत यस पृथ्वी र मानवजातिको निम्ति परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा हुनेछ भनी येशू र उहाँका चेलाहरूले सिकाए। पृथ्वी प्रमोदवनमा परिवर्तन हुनेछ र त्यसलाई अनन्तसम्म बाँच्ने सिद्ध मानिसहरूले आबाद गर्नेछन्‌। (भजनसंग्रह ३७:२९; मत्ती ५:५; लूका २३:४३; २ पत्रुस ३:१३; प्रकाश २१:४) यस बाहेक, येशू र उहाँका चेलाहरूले त्यस नयाँ संसारमा के हुनेछ भनी देखाउन परमेश्‍वरले प्रदान गर्नुभएको शक्‍तिद्वारा चमत्कारहरू गरेर देखाए।—मत्ती १०:१, ८; १५:३०, ३१; यूहन्‍ना ११:२५-४४.

१३ येशूको मृत्यु भएको ५० दिनपछि सा.यु. ३३ पेन्तिकोसमा ख्रीष्टका अनुयायीहरूको मण्डलीमा परमेश्‍वरको आत्मा खन्याइयो। यहोवाले करार बाँध्नु भएको मानिसहरू अर्थात्‌ अविश्‍वासी इस्राएललाई यसले प्रतिस्थापन गऱ्‍यो। (मत्ती २१:४३; २७:५१; प्रेरित २:१-४) अब उप्रान्त यस नयाँ माध्यमद्वारा परमेश्‍वरले आफ्ना उद्देश्‍यबारे यथार्थ कुराहरू प्रकट गर्नुहुनेछ भन्‍ने प्रमाणस्वरूप त्यस अवसरमा पवित्र आत्मा खन्याइएको थियो। (एफिसी ३:१०) प्रथम शताब्दी सा.यु. तिर मसीही मण्डलीको सङ्‌गठनात्मक संरचना स्थापना गरियो।—१ कोरिन्थी १२:२७-३१; एफिसी ४:११, १२.

१४ परमेश्‍वरको सबैभन्दा ठूलो गुण, प्रेमलाई एकरूपतासित प्रकट गर्ने साँचो मसीही मण्डलीलाई आज सत्य खोज्ने व्यक्‍तिहरूले चिन्‍न सक्छन्‌। (१ यूहन्‍ना ४:८, १६) साँच्चै नै, साँचो मसीही धर्मको चिनारी भ्रातृ प्रेम हो। येशूले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले गरेको छु।” (यूहन्‍ना १३:३५; १५:१२) अनि येशूले आफ्ना स्रोताहरूलाई स्मरण गराउनु भयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गर्‌यौ भने, तिमीहरू मेरा मित्र हौ।” (यूहन्‍ना १५:१४) त्यसकारण प्रेमको व्यवस्था पालन गर्नेहरू परमेश्‍वरका साँचो सेवकहरू हुन्‌। तिनीहरू केवल त्यसबारे कुरा मात्र गर्दैनन्‌ किनभने “विश्‍वास . . . कामविना मरेको हुन्छ।”—याकूब २:२६.

प्रगतिशील ज्योति

१५ समय बित्दै जाँदा साँचो मसीही मण्डलीले परमेश्‍वरको उद्देश्‍यबारे प्रगतिशील ज्योति प्राप्त गर्नेछ भनी येशूले भविष्यवाणी गर्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई यसो भनी प्रतिज्ञा गर्नुभयो: “शान्तिदाता, अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ।” (यूहन्‍ना १४:२६) येशूले यसो पनि भन्‍नुभयो: “हेर, म सब दिन, अँ जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०) तसर्थ, परमेश्‍वरका सेवकहरू माझमा परमेश्‍वर र उहाँका उद्देश्‍यहरूको सत्यता प्रगतिशील ढङ्‌गमा चहकिलो हुँदै गएको छ। हो, “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.

१६ आज, त्यो आध्यात्मिक ज्योति अपूर्व ढङ्‌गमा चहकिलो छ किनभने हामी बाइबलका भविष्यवाणीहरू पूर्ति भइरहेको अथवा पूर्ति हुनै लागेको समयमा बाँचिरहेका छौं। यी कुराहरूले हामी यस दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं भनी देखाउँछ। यस समयावधिलाई नै “जगत्‌को अन्त” भनिन्छ; यसपश्‍चात्‌ परमेश्‍वरको नयाँ संसार आउनेछ। (२ तिमोथी ३:१-५, १३; मत्ती २४:३-१३) दानिएलले भविष्यवाणी गरेझैं परमेश्‍वरको स्वर्गीय राज्यले छिट्टै “यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।”—दानिएल २:४४.

१७ अहिले पूरा भइरहेका भविष्यवाणीहरूमध्ये एउटा मत्ती २४ अध्यायको १४ पदमा लिपिबद्ध गरिएको छ। त्यहाँ येशूले भन्‍नुभयो: “राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” सारा संसारभरि यहोवाका लाखौं साक्षीहरूले यस राज्य-प्रचार कार्य गरिरहेका छन्‌। अनि सयौं हजार मानिसहरू वर्षेनी तिनीहरूको समूहमा सामेल भइरहेका छन्‌। यो यशैया २:२, ३ मा गरिएको भविष्यवाणीअनुरूप छ। त्यहाँ भनिएअनुसार यस दुष्ट संसारको “पछिल्ला दिनमा” सबै जातिका मानिसहरू यहोवाको साँचो उपासनातर्फ आउनेछन्‌ र ‘उहाँले तिनीहरूलाई उहाँको मार्ग सिकाउनुहुनेछ र तिनीहरू उहाँको बाटोमा हिंड्‌नेछन्‌।’

१८ यशैया अध्याय ६० पद ८ मा भविष्यवाणी गरेअनुसार यी नयाँ व्यक्‍तिहरू यहोवाको उपासना गर्न “बादलझैं” ओइरिरहेका छन्‌। पद २२ ले अझै भन्छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, [यहोवाले] त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” प्रमाणहरूले देखाएअनुसार त्यो समय अहिले हो। यहोवाका साक्षीहरूसित सङ्‌गत गर्दा साँचो मसीही मण्डलीको सम्पर्कमा पुगें भनेर नयाँ व्यक्‍तिहरू ढुक्क हुन सक्छन्‌।

१९ हामी किन निश्‍चितताका साथ त्यसो भन्‍न सक्छौं? किनभने यी नयाँ व्यक्‍तिहरू लगायत यहोवाको सङ्‌गठनमा भएका लाखौंले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेर उहाँको इच्छाअनुरूप जीवन बिताइरहेका छन्‌। यसमा ईश्‍वरीय प्रेमको व्यवस्थाअनुरूप आफ्नो जीवन बिताउनु समावेश छ। यसको एउटा प्रमाण, यी मसीहीहरूले ‘आफ्नो तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाएका छन्‌ र तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिकिरहेका हुनेछैनन्‌।’ (यशैया २:४) संसारभरिका यहोवाका साक्षीहरूले यसो गरेका छन्‌ किनभने तिनीहरूले एक आपसलाई प्रेम गर्छन्‌। यसको अर्थ हो, तिनीहरूले एकअर्का अथवा अरू कसैको विरूद्ध कहिल्यै हतियारहरू उठाउन पाउने छैनन्‌। यस तरिकामा तिनीहरू संसारका अरू धर्महरूभन्दा बेग्लै र अतुलनीय छन्‌। (यूहन्‍ना १३:३४, ३५; १ यूहन्‍ना ३:१०-१२, १५) तिनीहरू विभक्‍त राष्ट्रियतामा संलग्न हुँदैनन्‌ किनभने तिनीहरू “सिद्धताको गाँठो” अर्थात्‌ प्रेमले दरिलो बनाइएको विश्‍वव्यापी भ्रातृत्वका अंश हुन्‌।—कलस्सी ३:१४; मत्ती २३:८; १ यूहन्‍ना ४:२०, २१.

धेरैले जान्‍न चाहँदैनन्‌

२० परमेश्‍वरका सेवकहरूमाथि आध्यात्मिक ज्योति प्रगतिशील ढङ्‌गमा चम्किरहेको बेला पृथ्वीको अधिकांश जनसङ्‌ख्‌या झन्‌ झन्‌ बढी आध्यात्मिक अन्धकारमा खस्किरहेका छन्‌। तिनीहरूलाई यहोवा र उहाँको उद्देश्‍यहरूबारे थाहा छैन। यसबारे भविष्यवाणी गर्दै परमेश्‍वरको अगमवक्‍ताले यसो भने: “हेर, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।” (यशैया ६०:२) परमेश्‍वरबारे सिक्न मानिसहरूले निष्कपट चासो नदेखाएको र उहाँलाई खुशी तुल्याउने इच्छा पनि प्रकट नगरेकोले आज यस्तो भएको हो। येशूले भन्‍नुभयो: “न्यायको फैसला यो हो, ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरू अन्धकारलाई रूचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ।”—यूहन्‍ना ३:१९, २०.

२१ त्यस्ता व्यक्‍तिहरूसित परमेश्‍वरको इच्छा पत्ता लगाउने निष्कपट चासो छैन। बरु, तिनीहरू आफ्नै इच्छाअनुरुप गर्न जीवन बिताउँछन्‌। परमेश्‍वरको इच्छा अवहेलना गरेर तिनीहरूले आफूलाई खतरामा पार्छन्‌ किनभने परमेश्‍वरको वचनले यसरी घोषणा गर्छ: “व्यवस्था नमान्‍ने मानिसको प्रार्थना पनि घिनलाग्दा हुन्छन्‌।” (हितोपदेश २८:९) आफूले रोजेको बाटोको नतिजा तिनीहरूले भोग्नेछन्‌। प्रेरित पावलले लेखे: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी गर्नेछ।”—गलाती ६:७.

२२ तर, परमेश्‍वरको इच्छा जान्‍न चाहने, उहाँको निष्कपटताका साथ खोजी गर्ने र उहाँप्रति खिंचिने र नजिक हुन चाहने थुप्रै व्यक्‍तिहरू पनि छन्‌। “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भनी याकूब ४:८ ले भन्छ। त्यस्ता व्यक्‍तिहरूबारे येशूले यसो भन्‍नुभयो: “त्यसका काम परमेश्‍वरमा भएका हुन्‌ भनी प्रकट होस्‌ भनेर सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ।” (यूहन्‍ना ३:२१) ज्योतितर्फ आउनेहरूको लागि परमेश्‍वरले कस्तो महान भविष्य प्रतिज्ञा गर्नुभएको छ! ती रोमाञ्चकारी आशाहरू यस पछिको लेखमा छलफल गरिनेछ। (w94 3/15)

तपाईंले कसरी जवाफ दिनुहुनेछ?

▫ जीवनको उद्देश्‍यबारे धेरैले के भन्छन्‌?

▫ यहोवाले आफूलाई उद्देश्‍यको परमेश्‍वर भनी कसरी प्रकट गर्नुहुन्छ?

▫ प्रथम शताब्दी सा.यु. मा कस्तो प्रगतिशील ज्योति प्राप्त भयो?

▫ आज साँचो मसीही मण्डलीलाई कसरी चिन्‍न सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१, २. जीवनको उद्देश्‍यबारे धेरैले के भन्छन्‌?

३, ४. जीवनसम्बन्धी धेरैको दृष्टिकोणलाई संसारका परिस्थितिहरूले कसरी असर गर्छ?

५. संसारका धर्महरूले जीवनको उद्देश्‍य बुझ्न झन्‌ बढी अलमल्ल किन पारिदिन्छ?

६, ७. सार्वभौम सत्ताधारीबारे बाइबलले के भन्छ?

८. निष्कपटताका साथ परमेश्‍वरबारे जान्‍न चाहनेहरूले के उहाँलाई भेट्टाउन सक्छन्‌?

९, १०. (क) परमेश्‍वरबारे जान्‍न चाहनेहरूको निम्ति के प्रबन्ध गरिएको छ? (ख) परमेश्‍वरको वचनमा खोजी गर्नाले हामीलाई कस्तो मदत प्राप्त हुन्छ?

११. यहोवाले मानवजातिको निम्ति आफ्ना उद्देश्‍यहरू कसरी प्रकट गर्नुभएको छ?

१२. परमेश्‍वरका उद्देश्‍यहरूबारे येशूले अझ बढी प्रकाश कसरी पार्नुभयो?

१३. मानवजातिसित परमेश्‍वरले गर्नुहुने व्यवहारको सम्बन्धमा सा. यु. ३३ पेन्तिकोसमा कस्तो परिवर्तन भयो?

१४. सत्य खोज्नेहरूले साँचो मसीही मण्डलीलाई कसरी चिन्‍न सक्छन्‌?

१५. कुन कुराबारे परमेश्‍वरका सेवकहरू ढुक्क हुन सक्छन्‌?

१६. परमेश्‍वरको उद्देश्‍यमा हामी कहाँ छौं भनेर हामीले पाएको आध्यात्मिक प्रगतिशील ज्योतिले के बताउँछ?

१७, १८. अहिले कुन महान भविष्यवाणीहरू पूरा भइरहेका छन्‌?

१९. यहोवाका साक्षीहरूसित सङ्‌गत गरिरहेका नयाँ व्यक्‍तिहरू साँचो मसीही मण्डलीतर्फ आइरहेका छन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

२०, २१. मानवजातिका अधिकांश व्यक्‍तिहरू किन आध्यात्मिक अन्धकारमा छन्‌? (२ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९)

२२. परमेश्‍वरलाई चिन्‍न चाहने बहुसङ्‌ख्‌यक व्यक्‍तिहरूले अहिले के गरिरहेका छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने