प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ५/१ पृ. २०-२६
  • सारा पृथ्वीभरि राज्य प्रचारकहरू सक्रिय छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा पृथ्वीभरि राज्य प्रचारकहरू सक्रिय छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्यजातिको समय अन्त हुने बाटो हेर्दै
  • स्थापित राज्यबारे जोशका साथ घोषणा गर्दै
  • आबाद गरिएको सम्पूर्ण पृथ्वीसम्म पुग्नु
  • यथासम्भव सबैलाई सुसमाचार सुनाउँदै
  • प्रचार गर्ने मानिसहरू—प्रचारकहरू राजीखुसी आफैलाई अर्पण गर्छन्‌
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ५/१ पृ. २०-२६

सारा पृथ्वीभरि राज्य प्रचारकहरू सक्रिय छन्‌

“तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:८.

यहोवाले आफ्नो पुत्रलाई पृथ्वीमा गर्न पठाउनु भएको कामबारे वर्णन गर्नुहुँदै येशूले भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ।” (लूका ४:४३) त्यस्तैगरि, राजकीय अख्तियारमा फर्किनुहुँदा आफ्ना चेलाहरूले यस पृथ्वीमा गर्ने कामबारे उहाँले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

२ परमेश्‍वरको राज्यसम्बन्धी समाचार किन यस्तो महत्त्वपूर्ण छ? राज्यबारे विस्तृत प्रचार हुनु किन आवश्‍यक छ? किनभने यस मसीही राज्यले नै परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकतालाई महिमित गर्नेछ। (१ कोरिन्थी १५:२४-२८) यसैद्वारा यहोवाले वर्तमान शैतानी व्यवस्थामाथि न्याय कार्यान्वयन गर्नु हुनेछ र पृथ्वीका सम्पूर्ण परिवारहरूलाई आशिष दिनुहुने उहाँको प्रतिज्ञा पूरा गर्नु हुनेछ। (उत्पत्ति २२:१७, १८; दानिएल २:४४) राज्यसम्बन्धी साक्षी दिनुभएर यहोवाले आफ्ना पुत्रका साथ पछि अभिषिक्‍त साझे-हकवाला हुनेहरूलाई छान्‍नुभएको छ। राज्यको घोषणाद्वारा आज छुट्ट्याउने काम पनि सम्पन्‍न हुँदैछ। (मत्ती २५:३१-३३) आफ्नो उद्देश्‍यबारे सबै राष्ट्रका मानिसहरूले जानकारी पाएको यहोवा चाहनुहुन्छ। उहाँको राज्यका प्रजाहरू भएर जीवन छान्‍ने मौका तिनीहरूले पाऊन्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। (यूहन्‍ना ३:१६; प्रेरित १३:४७) यस राज्यको प्रचार गर्ने काममा के तपाईंले पूर्ण भाग लिइरहनु भएको छ?

अन्यजातिको समय अन्त हुने बाटो हेर्दै

३ बाइबल अध्ययनको लागि समूहहरूको गठन गर्ने प्रोत्साहन दिने उद्देश्‍यले वाच टावर पत्रिकाका प्रथम सम्पादक, चार्ल्स टेज रसलले सन्‌ १८८० मा संयुक्‍त राज्यको उत्तर-पूर्वीय क्षेत्र भ्रमण गरे। भ्रमणको उद्देश्‍यअनुरुप तिनले “परमेश्‍वरको राज्यसम्बन्धी कुराहरू” भन्‍ने विषयमा भाषण दिए। वाच टावर का सुरु-सुरुका अङ्‌कहरूले प्रकाश गरेबमोजिम परमेश्‍वरको राज्य प्रचार कार्यमा भाग लिन योग्य ठहरिन राज्यलाई प्रथम स्थानमा राख्नुपर्छ र यस सेवाको निम्ति आफ्नो जीवन, क्षमताहरू र स्रोतहरू खुशीसाथ प्रयोग गर्नुपर्छ भनी बाइबल विद्यार्थीहरूले (यहोवाका साक्षीहरू त्यतिबेला त्यस नाउँले चिनिन्थे) बुझे। जीवनमा अन्य सबै थोकहरूलाई दोस्रो स्थानमा राख्नु पर्नेथियो। (मत्ती १३:४४-४६) परमेश्‍वरको राज्यबारे अरूलाई सुसमाचार घोषणा गर्नु पनि तिनीहरूको जिम्मेवारीमा समावेश थियो। (यशैया ६१:१, २) सन्‌ १९१४ मा अन्यजातिको समय अन्त हुनुअघि तिनीहरूले कुन हदसम्म प्रचार गरे?

४ सन्‌ १८७० देखि १९१४ सम्म बाइबल विद्यार्थीहरू तुलनात्मक रूपमा थोरै थिए। सन्‌ १९१४ तिर ५,१०० ले मात्र आम साक्षी दिने काममा सक्रिय भाग लिइरहेका थिए। तर त्यो कस्तो असाधारण साक्षी थियो! वाच टावर प्रथम पटक प्रकाशित भएको झन्डै दुई वर्षपश्‍चात्‌ सन्‌ १८८१ मा तिनीहरूले फुड फर थिङ्‌किङ्‌ग क्रिश्‍चियन्स्‌ नामक १६२ पृष्ठ भएको प्रकाशन वितरण गर्ने जिम्मा लिए। केही महिनाभित्रै तिनीहरूले १२,००,००० प्रति वितरण गरिसकेका थिए। त्यसको केही वर्षभित्रै थुप्रै भाषाहरूमा वर्षेनी करोडौं पर्चाहरू वितरीत भए।

५ सन्‌ १८८१ देखि नै कसै कसैले कल्पोरट्योर प्रचारकहरूको हैसियतमा सेवा पुऱ्‍याउन थाले। यिनीहरू नै आजका अग्रगामीहरूका (पूर्ण-समय प्रचारकहरू) अगुवाहरू थिए। आफू बसेको देशको लगभग सबै ठाउँमा पैदल वा साइकलबाट यात्रा गर्दै व्यक्‍तिगत रूपमा तत्कालीन केही अग्रगामीहरूले साक्षी दिने काम गरे। केही चाहिं विदेशी क्षेत्रहरूमा पुगे अनि फिनलैण्ड, बारबाडोस, र बर्मा जस्ता (अहिलेको म्यानमार) देशहरूमा प्रथम पटक सुसमाचार पुऱ्‍याए। तिनीहरूले येशू ख्रीष्ट र उहाँका चेलाहरूको जस्तो मिसनरी जोश देखाए।—लूका ४:४३; रोमी १५:२३-२५.

६ सच्चाइ फैलाउने काममा भाइ रसल आफैले व्यापक भ्रमण गरे। तिनी निकै पटक क्यानाडा गए; पानामा, जमैका र क्युबामा भाषण दिए; दर्जनौं पटक युरोपको यात्रा गरे; र प्रचार कार्य गर्दै पृथ्वीको परिक्रमा नै गरे। विदेशी भूमिमा गएर सुसमाचारको प्रचार कार्य सुरु गर्न र सो काममा अगुवाई लिन तिनले अरूलाई पनि पठाए। एडोल्फ वेबरलाई १८९० को मध्यतिर युरोप पठाइयो र तिनले स्वीट्‌जरलैण्डदेखि फ्रान्स, इटाली, जर्मन र बेल्जियमसम्म प्रचार गरे। इ. जे. कावोर्डलाई क्यारिबिएन क्षेत्रमा र रबर्ट होलिस्टरलाई १९१२ मा पूर्वीय देशहरूमा पठाइयो। त्यहाँ दश वटा भाषामा विशेष प्रकारका पर्चाहरू तयार गरिए र भारत, चीन, जापान, र कोरियामा त्यहाँका स्थानीय बासिन्दाहरू मार्फत्‌ लाखौं प्रतिहरू वितरण गरिए। त्यस समयमा तपाईं जीवित हुनु भएको भए आफ्नो समुदाय र टाढा-टाढासम्म सुसमाचार पुऱ्‍याउन के तपाईंको हृदय उत्प्रेरित हुने थिएन होला?

७ अन्यजातिको समय नजिक आउँदा भाइ रसलले दिएका भाषणहरू प्रकाशित गर्न अखबारहरू प्रयोग गर्न थालियो। तिनीहरूको मुख्य जोड सन्‌ १९१४ मा नभई परमेश्‍वरको उद्देश्‍य र त्यसको पूर्तिको निश्‍चिततामा थियो। एक पटकमा झन्डै २,००० अखबारहरूले १,५०,००,००० पाठकहरू समक्ष पुग्ने गरी नियमित रूपमा ती भाषणहरू छापे। अनि १९१४ साल सुरु भएपछि सोसाइटीले “फोटो ड्रामा अफ क्रिएसन” को आम प्रदर्शन गर्न थाल्यो। दुई-दुई घण्टागरी चार पटक देखाइने प्रदर्शनमा सृष्टिदखि सहस्र वर्षीय राज्यसम्मको बाइबल सत्यताहरू प्रदर्शित गरियो। एक वर्षभित्रमै उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया, र न्युजील्याण्डका ९० लाखभन्दा बढी दर्शकहरूले यो हेरिसकेका थिए।

८ प्राप्त विवरणहरूअनुसार, १९१४ को अन्तसम्म यी जोशिला प्रचारकहरूको जमातले परमेश्‍वरको राज्यबारे ६८ देशहरूमा प्रचार गरिसकेका थिए।a तर त्यो ता सुरुआत मात्रै थियो!

स्थापित राज्यबारे जोशका साथ घोषणा गर्दै

९ सन्‌ १९१९ मा सिडार प्वाइन्ट, ओहायोमा बाइबल विद्यार्थीहरू भेला हुँदा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष, भाइ जे. एफ. रदरफर्डले यसप्रकार घोषणा गरे: “आउँदै गरेको मसीही राज्यबारे घोषणा गर्नु नै हाम्रो कर्त्तव्य थियो र अहिले पनि त्यही नै हो।” सन्‌ १९१४ मा अन्यजातिको समय अन्त भएपछि ‘महिमाका राजाले आफैमा उहाँको महान शक्‍ति लिनु भएर राज्य गर्न थालिसक्नुभयो’ भन्‍ने तथ्यलाई भाइ रदरफोर्डले १९२२, सिडार प्वाइन्टमा भएको अर्को सम्मेलनमा प्रकाश पारे। त्यसपछि स्रोतासमक्ष यस विषयलाई प्रस्तुत गर्दै उनले स्पष्टसित भने: “महिमाका राजाले शासन गर्न थालि सक्नुभयो भनी के तपाईंहरू विश्‍वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने, हे अति उच्च परमेश्‍वरका पुत्रहरू हो, खेतमा फर्केर जानुहोस्‌! . . . टाढा-टाढासम्म समाचार फैलाउनुहोस्‌। यहोवा नै परमेश्‍वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ भनी सारा संसारले थाहा पाउनैपर्छ। यो दिन सारा दिनहरूभन्दा महत्त्वपूर्ण छ। हेर्नुहोस्‌, राजाले शासन गर्दै हुनुहुन्छ! तपाईंहरू उहाँका विज्ञापकहरू हुनुहुन्छ।”

१० सिडार प्वाइन्टमा सम्मेलनहरू भएको अहिले ७० वर्षभन्दा धेरै भइसक्यो र आफ्नो पुत्रको मसीही राज्यद्वारा यहोवाले आफ्नो सार्वभौमिकता व्यक्‍त गर्नुभएको पनि झन्डै ८० वर्ष बितिसक्यो। यहोवाका साक्षीहरूका निम्ति परमेश्‍वरको वचनमा तोकिएको काम तिनीहरूले वास्तवमा कुन हदसम्म सम्पन्‍न गर्न सके? व्यक्‍तिगत तवरमा तपाईंले यस काममा कस्तो भाग लिइरहनुभएको छ

११ सन्‌ १९२० को सुरुतिर राज्यको समाचारलाई व्यापक रूपमा प्रचार गर्न चलाउन सकिने हतियारको रूपमा रेडियो उपलब्ध भयो। राज्य नै संसारको आशा हो भनी छलफल गरिएका विषयहरूलाई प्रसार गर्न १९३० को दशकमा एकैचोटि धेरै ठाउँमा पुग्नेगरि रेडियो स्टेशनहरू र संसारका विभिन्‍न ठाउँसम्म फैलिएका टेलिफोन लाइनहरू प्रयोग गर्न थालियो। पछि सर्वसाधारण ठाउँहरूमा बाइबल सत्यहरू सुनाउन लाउड स्पीकर जडिएका मोटरगाडीहरूको पनि प्रयोग हुनलाग्यो। अनि १९३६ मा ग्लासगो, स्कटलैण्डमा हाम्रा भाइहरूले व्यापारिक क्षेत्रहरूमा जन भाषणहरू विज्ञापन गर्न विषय लेखिएका पाटीहरूलाई घाँटी अथवा कुममा लट्‌काएर सडकमा हिंड्‌न थाले। हाम्रो सङ्‌ख्या कम भएको बेलामा धेरै मानिसहरूलाई साक्षी दिने यी प्रभावकारी तरिकाहरू थिए।

१२ निस्सन्देह, साक्षी दिने जिम्मेवारी प्रत्येक मसीहीको हो भनी शास्त्रले हामीलाई स्पष्टसित भन्छ। हामीले रेडियो प्रसारण वा अखबारका लेखहरूबाट मात्रै यो काम हुन दिनु हुँदैन। पुरुष, स्त्री तथा जवानहरू लगायत हजारौं निष्ठावान मसीहीहरूले यो जिम्मावारी स्वीकारेका छन्‌। फलस्वरूप, घर-घरको प्रचार कार्य यहोवाका साक्षीहरूको चिनारी भएको छ।—प्रेरित ५:४२; २०:२०.

आबाद गरिएको सम्पूर्ण पृथ्वीसम्म पुग्नु

१३ राज्यको समाचार सारा पृथ्वीभरि प्रचार गरिनु पर्छ भन्‍ने कुरा थाहा भएकोले यहोवाका केही साक्षीहरूले आफू बसेको क्षेत्रभन्दा बाहिर यो सन्देश पुऱ्‍याउन के गर्न सकिन्छ भनी बडो गम्भीरतापूर्वक सोचेका छन्‌।

१४ धेरै मानिसहरूले आफ्नो जन्मस्थलबाट अर्को ठाउँमा बसाइँ सरेपछि सत्य सिकेका छन्‌। तिनीहरूले अक्सर भौतिक लाभका निम्ति बसाइँ सरेको भए तापनि त्योभन्दा अमूल्य वस्तु पाएकाले सत्यलाई आफ्नो जन्मस्थलमा पनि बाँड्‌न फेरि आफ्नै जन्मभूमिमा फर्कन केहीले बाध्य महसुस गरेका छन्‌। यसप्रकार, यस शताब्दीको सुरुमा स्कान्डनेभिया, ग्रीस, इटाली, पूर्वी युरोपका देशहरू र अन्य थुप्रै ठाउँहरूमा सुसमाचार फैलियो। अहिले, १९९० को दशकमा पनि यस्तै ढङ्‌गमा राज्य समाचार फैलिरहेको छ।

१५ परमेश्‍वरको वचनबाट प्राप्त सल्लाहलाई आफ्नो जीवनमा प्रयोग गरेर अपरिचित देशहरूमा समेत गएर सेवा गर्न केही तत्पर भएका छन्‌। तिनीहरूमध्ये एक जना डब्लु. आर. ब्राउन (प्रायः तिनलाई बाइबल ब्राउन भनी बोलाइन्थ्यो) थिए। प्रचार कार्यलाई विस्तार गर्न तिनी १९२३ मा ट्रिनिडाडबाट पश्‍चिम अफ्रिकामा गए। सन्‌ १९३० तिर अफिक्राको पूर्वी तटहरूमा राज्य समाचार फैलाउनेहरूमध्ये फ्राङ्‌क र ग्रे स्मिथ, रबर्ट निस्बेट अनि डेभिड नर्मन पनि हुन्‌। अरूले दक्षिण अमेरिकी क्षेत्रको खेती गर्न मदत दिए। दक्षिण अमेरिकामा पनि साक्षी दिने काम भइरहेको थियो। सन्‌ १९२० को दशकको सुरुतिर क्यानाडाका जोर्ज यङ्‌गले अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली र पेरूमा भइरहेको काम गर्न साथ दिए। स्पेनमा सेवा गरिसकेका ख्वान म्युनिज पछि अर्जेन्टिना, चिली, पाराग्वे र उरूग्वेमा गए। यिनीहरू सबैले यशैया ६:८ मा जस्तो मनसाय व्यक्‍त गरे। त्यहाँ यसो भनिएको छ: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।”

१६ सुसमाचारको प्रचार अनकन्टार ठाउँहरूमा समेत पुग्न थालिसकेको थियो। न्युफाउन्डलैण्डका टाढा-टाढाका बन्दरगाहहरू, उत्तर महासागरमा पर्ने नोर्वेको समुद्रका किनारहरू, प्रशान्त महासागरका द्वीपहरू र दक्षिणपूर्वी एशियाका बन्दरगाहहरूमा आफ्नै जहाज चलाउँदै साक्षीहरू त्यहाँ पुगे।

१७ छक्कलाग्दो कुरा, १९३५ सालसम्ममा यहोवाका साक्षीहरू ११५ देशहरूमा प्रचार गर्न व्यस्त थिए र अन्य ३४ वटा देशहरूमा या त प्रचार अभियान वा डाकद्वारा साहित्यहरू पठाएर प्रचार गरिरहेका थिए। यद्यपि, प्रचार कार्य भने सकिएको थिएन। नयाँ संसारमा प्रवेश गर्ने “ठूलो भीड” जम्मा गर्ने आफ्नो उद्देश्‍यप्रति यहोवाले त्यस वर्ष तिनीहरूको आँखा खोलिदिनुभयो। (प्रकाश ७:९, १०, १४) साक्षी दिने धेरै काम अझ बाँकि नै थियो!

१८ पूरै संसार दोस्रो विश्‍वयुद्धमा मुछिएको बेला र दर्जनौं देशहरूमा या त साक्षीहरूको क्रियाकलाप वा तिनीहरूको साहित्यमाथि सरकारी प्रतिबन्ध लाग्दा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा राज्य घोषणा गर्ने उद्देश्‍यले सम्भाव्य मिसनरीहरूलाई प्रशिक्षण दिन वाचटावर बाइबल स्कूल अफ गिलियड सुरु भयो। आजसम्म, गिलियडमा प्रशिक्षित ग्य्राजुएटहरूले २०० भन्दा बढी देशहरूमा सेवा गरिसकेका छन्‌। तिनीहरूले ठाउँ ठाउँमा घुम्दै साहित्यहरू मात्रै बाँड्‌दै हिंडेका छैनन्‌। त्यहाँ बसेर तिनीहरूले बाइबल अध्ययनहरू सञ्चालन गरे, मण्डलीहरू सङ्‌गठित गरे र मानिसहरूलाई ईश्‍वरतान्त्रिक जिम्मेवारीहरू वहन गर्न प्रशिक्षण दिए। हालका वर्षहरूमा, मिनिस्टेरियल ट्रेनिङ्‌ग स्कूलबाट स्नातक भएका प्राचीन तथा सेवकाई सेवकहरूले यस कामसम्बन्धी आवश्‍यकताहरू पूर्ति गर्न छ महादेशमा मदत दिएका छन्‌। भइरहेको वृद्धिलाई थाम्न बलियो जग बसालिएको छ।—२ तिमोथी २:२ तुलना गर्नुहोस्‌।

१९ मिसनरीहरू बाहेक के अरूले पनि काम नगरिएका क्षेत्रहरूमा मदत पुऱ्‍याउन सहयोग गर्न सक्छन्‌? सन्‌ १९५७ मा भएका विश्‍वव्यापी सम्मेलनहरूमा यहोवाका परिपक्व साक्षी अथवा परिवारहरूलाई आवश्‍यकता बढी भएको ठाउँमा बसाइँ सरेर आफ्नो सेवकाई बढाउने प्रोत्साहन दिइयो। त्यो आमन्त्रणा परमेश्‍वरले प्रेरित पावललाई दिनु भएको दर्शनजस्तै थियो। त्यस दर्शनमा पावलले एक जना मानिसले आफूलाई यसो भनेको देखे: “म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌।” (प्रेरित १६:९, १०) केहीले १९५० को दशकमा त अरूले चाहिं केही समयपछि बसाइँ सरे। झन्डै एक हजारजति आयरलैण्ड र साथै कोलम्बियामा बसाइँ सरे। सयौं व्यक्‍तिहरू अन्य ठाउँहरूमा सरे। दसौं हजार मानिसहरू आफ्नै देशका अन्य ठाउँहरूमा सरे जहाँ खाँचो बढी थियो।—भजनसंग्रह ११०:३.

२० आफ्ना जनहरूमाथि यहोवाको आशिषले गर्दा राज्य घोषणा गर्ने काम झनै असाधारण गतिले बढिरहेको छ। सन्‌ १९३५ देखि प्रकाशकहरूको सङ्‌ख्या अस्सी गुना बढेको छ र अग्रमामीहरूको सङ्‌ख्यामा भएको वृद्धि प्रकाशकहरूको वृद्धिभन्दा ६० प्रतिशत बढी छ। सन्‌ १९३० तिर गृह बाइबल अध्ययनको प्रबन्ध सुरु गरिएको थियो। अहिले औसतन प्रतिमहिना ४५ लाखभन्दा बढी गृह बाइबल अध्ययनहरू सञ्चालन भइरहेका छन्‌। सन्‌ १९३५ देखि यता राज्य घोषणा गर्ने काममा १,५०० करोडभन्दा बढी घण्टा बिताइएको छ। अहिले नियमित रूपमा २३१ ठाउँहरूमा सुसमाचारको प्रचार भइरहेको छ। पूर्वी युरोप र अफ्रिकामा सुसमाचार प्रचार गर्ने स्वतन्त्रता भएकोले राज्यको समाचार प्रभावकारी ढङ्‌गमा जनसमक्ष प्रस्तुत गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरिएका छन्‌। धेरैअघि यशैया ६०:२२ मा प्रतिज्ञा गर्नुभएझैं यहोवाले निश्‍चय पनि ‘त्यसको समयमा त्यो चाँडै पूरा गर्नु हुनेछ।’ त्यसमा सहभागी हुन पाउनु हाम्रो लागि कस्तो महान सुअवसर हो!

यथासम्भव सबैलाई सुसमाचार सुनाउँदै

२१ काम सकियो भनेर परमप्रभुले अझै भन्‍नुभएको छैन। हजारौं व्यक्‍तिहरू अहिले पनि साँचो उपासनालाई अँगाल्दैछन्‌। त्यसकारण प्रश्‍न उठ्‌छ, यस काम गर्न यहोवाको धीरजले दिनुभएको समयको पूर्ण लाभ उठाउन के हामीले यथासक्दो गरिरहेका छौं?—२ पत्रुस ३:१५

२२ फाटफुट प्रचार गरेका क्षेत्रहरूमा सबै जना बसाइँ सर्न सक्दैनन्‌। तर तपाईंसित भएको अवसरको के तपाईंले पूर्ण उपयोग गरिरहनुभएको छ? के तपाईं आफ्ना सहकर्मीहरू, शिक्षक तथा स्कूलका साथीहरूलाई साक्षी दिनुहुन्छ? तपाईंको इलाकाको परिस्थितिको परिवर्तनअनुरूप के तपाईंले छाँटकाँट गर्नुभएको छ? कामको बेग्लै कार्यप्रणालीले गर्दा दिउँसो कम मानिस मात्र घरमा हुन्छन्‌ भने साँझमा तिनीहरूकहाँ जान के तपाईंले आफ्नो तालिकामा छाँटकाँट गर्नुभएको छ? अनिमन्त्रित आगन्तुकहरू पस्न नसकिने गरी घरहरू बनाइएका छन्‌ भने के तपाईंले टेलिफोन अथवा हुलाकद्वारा साक्षी दिइरहनुभएको छ? चासो देखाएका व्यक्‍तिहरूकहाँ पुनःफर्केर गृह बाइबल अध्ययन गर्ने प्रस्ताव के तपाईंले राख्ने गर्नुभएको छ? के तपाईंले आफ्नो सेवकाई पूरापूर रूपमा सम्पन्‍न गरिरहनुभएको छ?—तुलना गर्नुहोस्‌ प्रेरित २०:२१; २ तिमोथी ४:५.

२३ हामी प्रत्येकले आफ्नो सेवकाईलाई त्यस्तो ढङ्‌गमा चलाऔं जसद्वारा यी महत्त्वपूर्ण समयहरूमा उहाँका साक्षीहरू हुन पाएको महान सुअवसरको हामी साँच्चै मूल्याङ्‌कन गछौं भनी यहोवालाई देखाउन सकौं। यस भ्रष्ट पुरानो रीतिरिवाजमाथि यहोवाले आफ्नो न्याय कार्यान्वयन गर्नुभएर येशू ख्रीष्टको महिमित सहस्र वर्षीय राज्यको सुरुआत गर्नु भएको प्रत्यक्षदर्शी हुने विशेषाधिकार हामीले पाउन सकौं! (w94 5/1)

[फुटनोट]

a सन्‌ १९९० को सुरुतिर पृथ्वी विभाजन गरिएअनुसारको सङ्‌ख्या।

पुनरावृत्ति

▫ राज्य प्रचार गर्नु किन यत्तिको महत्त्वपूर्ण छ?

▫ सन्‌ १९१४ तिर कुन हदसम्म सुसमाचार प्रचार गरिएको थियो?

▫ राज्य स्थापना भएदेखि साक्षी दिने काम कत्तिको तीव्र भएको छ?

▫ कुन कुराले सेवकाईमा हाम्रो भाग अझ फलदायी बनाउन सक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. हाम्रो समयमा येशूका अनुयायीहरूले कस्तो समाचार घोषणा गर्नेछ भनी उहाँले भन्‍नुभयो?

२. (क) राज्य समाचारलाई व्यापक तवरमा विज्ञापन गर्नु किन महत्त्वपूर्ण छ? (ख) हामी प्रत्येकले आफूलाई कुन प्रश्‍न सोध्नुपर्छ?

३. (क) बाइबल अध्ययनको लागि समूहहरू गठन गर्ने प्रारम्भिक भ्रमणहरूमा सी. टि. रसलको भाषणको विषय परिस्थितिअनुरूप के थियो? (ख) परमेश्‍वरको राज्यले आफ्नो जीवनमा पाउनु पर्ने स्थानबारे प्रारम्भिक बाइबल विद्यार्थीहरूले के बुझे?

४. सन्‌ १९१४ अघि बाइबल विद्यार्थीहरूको सानो जमातले कुन हदसम्म बाइबल साहित्यहरू वितरण गरे?

५. कल्पोरट्योरहरू को थिए र तिनीहरूले कस्तो जोश देखाए?

६. (क) बाइबल सत्यताहरू फैलाउन भाइ रसलका यात्राहरू कत्तिको व्यापक थिए? (ख) अन्यजातिको समय अन्त हुनुअघि विदेशी क्षेत्रहरूमा सुसमाचार प्रचार गर्न अरू के के गरियो?

७. (क) साक्षी दिने काम तीव्र पार्न अखबारहरूको प्रयोग कसरी गरियो? (ख) “फोटो ड्रामा अफ क्रिएसन” के थियो र यसलाई एक वर्षमा कति मानिसहरूले हेरे?

८. सन्‌ १९१४ सम्म बाइबल विद्यार्थीहरूले कति देशहरूमा सुसमाचार प्रचार गरिसकेका थिए?

९. सिडार प्वाइन्ट सम्मेलनहरूमा राज्य साक्षी दिने कार्यलाई कसरी विशेष बल प्रदान गरियो?

१०, ११. राज्यको सत्यता मानिसहरूसम्म पुऱ्‍याउन रेडियो, स्पिकर जडिएका मोटरगाडी र विषय लेखिएका पाटीहरू कसरी प्रभावशाली ढङ्‌गमा प्रयोग गरियो?

१२. शास्त्रले देखाएझैं हामी प्रत्येकले साक्षी दिने एउटा प्रभावकारी तरिका के हो?

१३, १४. (क) आफ्नो सेवकाईलाई अघि बढाउन केही साक्षीहरू अन्य शहर तथा देशहरूमा समेत किन बसाइँ सर्छन्‌? (ख) आफ्नो जन्मस्थलका मानिसहरूप्रतिको मायालु चासोले सुसमाचार फैलाउन कसरी मदत दिएको छ?

१५. यशैया ६:८ को जस्तै मनसाय भएका केही व्यक्‍तिहरूले सन्‌ १९२० र १९३० तिर कुन कार्य सम्पन्‍न गरे?

१६. युद्ध अघिका वर्षहरूमा घना बस्ती भएको ठाउँबाहेक कहाँ कहाँ साक्षी दिइयो?

१७. (क) सन्‌ १९३५ सम्म कति वटा देशहरूमा साक्षीहरू पुगिसकेका थिए? (ख) त्यतिबेला काम किन सकिएको थिएन?

१८. राज्य घोषणा गर्ने काममा गिलियड स्कूल र मिनिस्टेरियल ट्रेनिङ्‌ग स्कूलले कस्तो भूमिका निभाएका छन्‌?

१९. आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने आह्वानलाई यहोवाका सेवकहरूले कुन हदसम्म स्वीकारेका छन्‌?

२०. (क) सन्‌ १९३५ देखि मत्ती २४:१४ मा उल्लिखित येशूको भविष्यवाणीअनुरूप कुन कुरा सम्पन्‍न भएको छ? (ख) गत केही सालहरूमा यस कार्य कसरी द्रूत गतिमा बढिरहेको छ?

२१, २२. जहाँसुकै सेवा गरे तापनि अझ बढी प्रभावकारी हुन हामीले व्यक्‍तिगत तवरमा के गर्न सक्छौं?

२३. हामीले यहोवाको सेवामा गरिरहेको काम उहाँले नजर गर्नु हुने हुँदा कुन कुरा प्रष्ट हुनुपर्छ?

[पृष्ठ २२, २३-मा भएको पेटी]

यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यका उद्‌घोषकहरू

सन्‌ १९९३-९४ मा संसारभरि आयोजना गरिएका सयौं सम्मेलनहरूमा जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम नामक नयाँ पुस्तक विमोचन भएको घोषणा गरिएको थियो। यो यहोवाका साक्षीहरूको जानकारीमूलक र विस्तृत इतिहासले भरिपूर्ण छ। यसमा ७५२ पृष्ठहरू छन्‌ र ९६ विभिन्‍न ठाउँहरूबाट सङ्‌कलन गरिएका एक हजारभन्दा बढी आकर्षक तस्वीरहरू छन्‌। यो पुस्तक [सन्‌ १९९३ को अन्तसम्म २५ वटा] भाषाहरूमा प्रकाशित भइसकेको थियो र अरू थुप्रै भाषाहरूमा अनुवाद हुँदैछ।

कस्ता कारणहरूले गर्दा यो पुस्तक यत्तिको समयसापेक्ष छ? हालका वर्षहरूमा संसारभरि लाखौं व्यक्‍तिहरू यहोवाका साक्षीहरू भएका छन्‌। आफूले सङ्‌गत गर्ने सङ्‌गठनको इतिहासबारे ती प्रत्येक व्यक्‍तिहरूले पूर्ण जानकारी पाएको हुनुपर्छ। यसको अलावा, तिनीहरूको प्रचार कार्य र उपासना गर्ने ढङ्‌गले विश्‍वभरिका सबै राष्ट्रिय तथा जातीय वर्गहरूलाई असर गरेको छ। साथै, विभिन्‍न आर्थिक तथा शैक्षिक स्तरका जवान र वृद्धहरूले यसलाई अङ्‌गालेका छन्‌। फलस्वरूप अहिले घटिरहेका घटनाहरू अवलोकन गर्ने व्यक्‍तिहरूले साक्षीहरूको विश्‍वासबारे मात्र नभई तिनीहरूको सुरुआत, इतिहास, सङ्‌गठन र उद्देश्‍यहरूबारे थुप्रै प्रश्‍न गर्न थालेका छन्‌। पूर्णतया निष्पक्ष नभए तापनि केही व्यक्‍तिहरूले साक्षीहरूबारे लेखेका छन्‌। तर, आफ्नो आधुनिक इतिहास यहोवाका साक्षीहरूलाई जत्ति अरू कसैलाई थाहा छैन। यस पुस्तकका सम्पादकहरूले त्यो इतिहास निष्पक्ष र स्पष्टसित प्रस्तुत गर्ने प्रयास गरेका छन्‌। त्यसो गर्ने क्रममा तिनीहरूले मत्ती २४:१४ मा उल्लिखित ख्रीष्टको आगमनको चिह्नको महत्त्वपूर्ण पक्षको पूर्ति पनि लेखेका छन्‌। अनि त्यस कामको पूर्तिसित गहिरो सम्बन्ध भएका व्यक्‍तिहरूले मात्र प्रदान गर्न सक्ने विवरणहरू प्रस्तुत गरेका छन्‌।

यो पुस्तक सात मुख्य भागहरूमा विभाजित छन्‌:

भाग १: यस अंशमा यहोवाका साक्षीहरूको ऐतिहासिक मूलहरू खोजतलास गरिएको छ। यसमा सन्‌ १८७० देखि १९९२ सम्मको आधुनिक इतिहासको संक्षिप्त, जानकारीमूलक सारांश समावेश छ।

भाग २: अरू धार्मिक समूहहरूभन्दा यहोवाका साक्षीहरूलाई भिन्‍नै पार्ने विश्‍वाससम्बन्धी प्रगतिशील विकास यसले प्रकट गर्छ।

भाग ३: पुस्तकको यस भागले तिनीहरूको सङ्‌गठनात्मक ढाँचाको प्रगतिबारे छानबीन गर्छ। तिनीहरूको मण्डलीका सभा तथा सम्मेलनहरू साथै तिनीहरूले राज्य भवनहरू, ठूला सम्मेलन भवनहरू र बाइबल साहित्यहरू प्रकाशन गर्ने भवनहरू कसरी निर्माण गर्छन्‌ भन्‍ने चाखलाग्दो बुँदाहरू यसले बताउँछ। कस्तो जोशका साथ परमेश्‍वरको राज्यबारे यहोवाका साक्षीहरू घोषणा गर्छन्‌ र सङ्‌कष्ट आईलाग्दा एक अर्काप्रति कस्तो प्रेम दर्शाउँछन्‌ भनी यसले बताउँछ।

भाग ४: परमेश्‍वरको राज्यको घोषणा संसारभरिका प्रमुख देशहरू र अनकन्टार द्वीपहरूमा कसरी पुगेको छ भन्‍ने कुराको चित्ताकर्षक विवरणहरू तपाईंले यस अंशमा पाउनुहुनेछ। कल्पना गर्नुहोस्‌ त—सन्‌ १९१४ मा ४३ देशहरूमा प्रचार गरिरहेका थिए भने सन्‌ १९९२ मा २२९ देशमा! यस विश्‍वव्यापी वृद्धिमा भाग लिनेहरूको अनुभव पनि मर्मस्पर्शी छ।

भाग ५: राज्यको घोषणा गर्ने काम सम्पन्‍न गर्न दुई सयभन्दा बढी भाषाहरूमा बाइबल र बाइबलसम्बन्धी साहित्यहरू छाप्न अन्तर्राष्ट्रिय भवनहरूको विकास गर्नु पर्ने आवश्‍यकता परेको छ। तिनीहरूको कामको यस पक्षबारे तपाईंले यस भागमा थाहा पाउनु हुनेछ।

भाग ६: मानव असिद्धता, झूटा भाइहरू र अझ बढी प्रत्यक्ष सतावटहरू आउँदा साक्षीहरूले अनेकौं परीक्षाहरूको सामना गरेका छन्‌। यस्तो हुनेछ भनी परमेश्‍वरको वचनले चेतावनी दिएको थियो। (लूका १७:१; २ तिमोथी ३:१२; १ पत्रुस ४:१२; २ पत्रुस २:१, २) वास्तवमा के भएको थियो र यहोवाका साक्षीहरूको विश्‍वासले गर्दा तिनीहरू कसरी विजयी हुन सके भनी यस भागले सुस्पष्ट वर्णन गर्छ।

भाग ७: अन्तमा, आफूले सङ्‌गत गर्ने सङ्‌गठन साँच्चै नै परमेश्‍वरबाट डोऱ्‍याइएको छ भनी यहोवाका साक्षीहरू किन पूर्णतया विश्‍वस्त छन्‌ भनी यस पुस्तकले केलाएको छ। तिनीहरूले सङ्‌गठनात्मक र व्यक्‍तिगत तवरमा जागा रहनु किन आवश्‍यक महसुस गर्छन्‌ त्यो पनि यहाँ छलफल गरिएको छ।

माथि उल्लिखित कुराहरू बाहेक यस पुस्तकमा सुन्दर र धेरै जानकारीमूलक तस्वीरहरूको ५० पृष्ठहरू समावेश छ जहाँ विश्‍व मुख्यालय र यहोवाका साक्षीहरूले प्रयोग गर्ने विश्‍वव्यापी शाखा कार्यालयहरू देखाइएका छन्‌।

यदि तपाईंले यो पुस्तक पढिसक्नुभएको छैन भने यस चित्ताकर्षक प्रकाशन प्राप्त गरेर पढ्‌नुभए निश्‍चय नै लाभान्वित हुनु हुनेछ।

पुस्तक पढेका केही व्यक्‍तिहरूको टिप्पणी

यस पुस्तक पढिसकेका केही व्यक्‍तिहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गरेका छन्‌? केही उदाहरणहरू यसप्रकार छन्‌:

“मैले भर्खरै जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम नामक चित्ताकर्षक, जीवन्त विवरण पढ्‌न सिध्याएँ। सत्यप्रति निष्ठावान र नम्रतापूर्वक समर्पित सङ्‌गठनले मात्र त्यस्तो खुला, साहसी र संवेदनशीलतापूर्वक लेख्न सक्छ।”

“यसको इमान्दारी र स्पष्टताले गर्दा यो प्रेरितको पुस्तक जस्तै छ।”

“कस्तो चाखलाग्दो नयाँ प्रकाशन! . . . यो एउटा उत्कृष्ट ऐतिहासिक कृति हो।”

पुस्तकको आधा भाग जति पढिसकेपछि एक व्यक्‍तिले लेखे: “म विस्मित, स्तब्ध भएँ र मेरा आँखा रसाए। . . . मेरो सम्पूर्ण जीवनकालभरि कुनै पनि प्रकाशन यो जत्तिको प्रभावकारी हुन सकेको छैन।”

“जवानहरूका साथै आज सङ्‌गठनमा आउने नयाँ व्यक्‍तिहरूको विश्‍वास बलियो पार्न यस पुस्तकले पुऱ्‍याउन सक्ने मदतबारे सोच्दा मेरो हृदय खुशीले गद्‌गद्‌ हुन्छ।”

“म सदैव सत्यको मूल्याङ्‌कन गर्थें तर यस पुस्तकले मेरो आँखा खोलिदिएको छ र सत्यपछाडि यहोवाको पवित्र आत्मालाई अझ बढी मूल्याङ्‌कन गर्न मदत दिएको छ।”

[पृष्ठ २४-मा भएको चित्र]

साक्षीहरू थोरै मात्र हुँदा पनि थुप्रै मानिसहरूकहाँ राज्य सुसमाचार पुऱ्‍याइएको थियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने