प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ५/१ pp. २७-३२
  • यहोवाका साक्षीहरू किन जागा रहन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका साक्षीहरू किन जागा रहन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रारम्भिक चेलाहरूले जागा रहने प्रयत्न गरे
  • जागा हुन छाडेकाहरू
  • अधिक जागा रहँदा भएका परिणामहरू
  • यिनीहरू कसरी जागा साबित भए
  • के तपाईं जागा रहिरहनु भएको छ?
  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “जागा रहो”—इन्साफको समय आएको छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ५/१ pp. २७-३२

यहोवाका साक्षीहरू किन जागा रहन्छन्‌

“जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरू जान्दैनौ।”—मत्ती २४:४२.

जवान होस्‌ वा वृद्ध, भर्खरै समर्पित भएका होस्‌ वा लामो समयदेखि सेवा गर्दै आइरहेको होस्‌, परमेश्‍वरका सबै सेवकलाई बाइबलको यो सल्लाह प्रयोग हुन्छ: “जागा रहो”! (मत्ती २४:४२) यो किन महत्त्वपूर्ण छ?

२ यस पृथ्वीमा येशूले आफ्नो सेवकाईको अन्ततिर राज्य शक्‍तिमा उहाँको अदृश्‍य आगमनको चिह्नबारे भविष्यवाणी गर्नुभयो। (मत्ती, अध्याय २४ र २५) आफ्नो शाही उपस्थिति र भविष्यवाणीको पूर्तिमा घटेका घटनाहरूले येशू १९१४ मा गद्दीनसीन हुनुभएको देखाउँछ भनी उहाँले स्पष्टसित वर्णन गर्नुभयो। साथै, त्यतिबेला हाम्रो विश्‍वासको प्रमाणिकता जाँच हुने परिस्थिति आउनेछ भनी येशूले औंल्याउनुभयो। त्यो महासङ्‌कष्टको समय, वर्तमान रीतिरिवाजलाई दण्ड दिन कार्यान्वयनकर्त्ताको हैसियतमा आउनुहुँदा हुनेछ। येशूले यसो भन्‍नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” यसै कुरालाई ध्यानमा राख्दै उहाँले अझ यसो भन्‍नुभयो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:३६, ४२.

३ आफू मसीही हुँ भन्‍ने दाबी गर्छौं भने महासङ्‌कष्ट कुन दिन र कुन घडीमा सुरु हुनेछ भनी थाहा नपाए तापनि हामीले प्रत्येक दिन साँचो मसीहीहरू जस्तै जीवन बिताउनु पर्छ। महासङ्‌कष्ट आउँदा के तपाईंको जीवनशैलीले परमप्रभुको अनुमोदन प्राप्त गर्नेछ? अथवा त्यसअघि मृत्यु भएमा वर्तमान जीवनको अन्तसम्म निष्ठावान भएर यहोवाको सेवा गर्ने सेवक भनी के उहाँले तपाईंलाई सम्झनुहुनेछ?—मत्ती २४:१३; प्रकाश २:१०.

प्रारम्भिक चेलाहरूले जागा रहने प्रयत्न गरे

४ आध्यात्मिक तवरमा जागा रहने सम्बन्धमा येशू ख्रीष्ट स्वयंले सर्वोत्तम उदाहरण बसाल्नुभयो। उहाँले आफ्नो पितालाई पटक पटक र खुरन्धार प्रार्थना गर्नुभयो। (लूका ६:१२; २२:४२-४४) परीक्षाहरू आईपर्दा परमेश्‍वरको वचनले दिने निर्देशनमा उहाँले पूर्ण भरोसा राख्नुभयो। (मत्ती ४:३-१०; २६:५२-५४) यहोवाले उहाँलाई जिम्मा लगाउनु भएको कामबाट आफूलाई कहिल्यै तर्कने मौका दिनु भएन। (लूका ४:४०-४४; यूहन्‍ना ६:१५) आफूलाई येशूका चेला ठान्‍नेहरू पनि के त्यस्तै नै जागा रहने थिए?

५ कहिलेकाहीं येशूका प्रेरितहरू समेत डगमगाए। अधिक उत्सुकता र गलत विचारहरूले गर्दा तिनीहरूले पनि निराशाहरू भोग्नु पऱ्‍यो। (लूका १९:११; प्रेरित १:६) यहोवामाथि पूर्ण भरोसा राख्न सिक्नुभन्दा अघि अप्रत्याशित परीक्षाहरूले गर्दा तिनीहरू विचलित भए। तसर्थ, येशूलाई गिरफ्तार गर्दा उहाँका प्रेरितहरू भागे। त्यसै रात डरले गर्दा पत्रुसले पटक पटक येशूलाई चिन्‍न समेत इन्कार गरे। प्रेरितहरूले अझै पनि येशूको यस सल्लाहलाई हृदयङ्‌गम गरेका थिएनन्‌: “जागा रह, र [निरन्तर] प्रार्थना गर।” (मत्ती २६:४१, ५५, ५६, ६९-७५) पुनरुत्थानपश्‍चात्‌ तिनीहरूको विश्‍वासलाई बलियो बनाउन येशूले शास्त्रको प्रयोग गर्नुभयो। (लूका २४:४४-४८) कसै कसैले आफूलाई जिम्मा लगाइएको सेवकाईलाई दोस्रो स्थानमा राख्ला जस्तो देखिएपछि अझ महत्त्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्न तिनीहरूको मनोभावलाई येशूले बलियो बनाउनुभयो।—यूहन्‍ना २१:१५-१७.

६ तिनीहरू यस संसारका होइनन्‌ भनी केही समयअघि येशूले आफ्ना चेलाहरूलाई सतर्क गराउनु भएको थियो। (यूहन्‍ना १५:१९) एउटाले अर्कोमाथि प्रभुत्व नदेखाउनू, बरु भाइहरूजस्तै मिलेर सेवा गर्नू भनेर पनि उहाँले तिनीहरूलाई सल्लाह दिनुभएको थियो। (मत्ती २०:२५-२७; २३:८-१२) के तिनीहरूले उहाँको सल्लाह पालन गरे? के तिनीहरूले उहाँले अह्राउनुभएको कामलाई अग्रपङ्‌क्‍तिमा राखे?

७ प्रेरितहरू बाँचुन्जेलसम्म तिनीहरूले मण्डलीलाई जोगाइराखे। प्रारम्भिक मसीहीहरू रोमी साम्राज्यको राजनैतिक मामिलाहरूमा बिथोलित भएनन्‌ र तिनीहरूको कुनै उच्च पादरीवर्ग थिएन भन्‍ने कुरा इतिहासले पुष्टि गर्छ। बरु, तिनीहरू परमेश्‍वरको राज्यका उत्साही प्रचारकहरू थिए। प्रथम शताब्दीको अन्ततिर, तिनीहरूले एशिया, युरोप र उत्तर अफ्रिकामा चेला बनाउँदै रोमी साम्राज्यभरि साक्षी दिने काम गरिसकेका थिए।—कलस्सी १:२३.

८ तर, प्रचार कार्यमा त्यस्तो सफलता प्राप्त गर्नुको अर्थ आध्यात्मिक तवरमा जागा रहनु पर्ने अब कुनै आवश्‍यकता छैन भन्‍ने थिएन। येशूले अग्रिमवाणी गर्नु भएको उहाँको आगमन अझ टाढै थियो। अनि सा.यु. दोस्रो शताब्दीतिर मसीहीहरूको आध्यात्मिकतालाई खतरामा पार्ने परिस्थितिहरू मण्डलीभित्र खडा हुन थाल्यो। कसरी?

जागा हुन छाडेकाहरू

९ आफूले प्रचार गरेका कुराहरू संसारका मानिसहरूलाई अझ धेरै स्वीकार्य होस्‌ भनेर मण्डलीमा आउने कसै कसैले आफ्नो विश्‍वासलाई युनानी दर्शनशास्त्रका कुरासित मिलाएर व्यक्‍त गर्न थाले। बिस्तारै त्रिएक, आत्माको अन्तर्निहित अमरत्वजस्ता गैरमसीही शिक्षाहरू मसीही धर्मको कलङ्‌कित भाग हुन गयो। यसले गर्दा सहस्र वर्षीय राज्यको आशा त्याग्न थालियो। किन? मानव शरीरको मृत्युपश्‍चात्‌ आत्मिक संसारमा पुग्ने आत्माले मात्र खीष्टको शासनका सबै आशिषहरू प्राप्त गर्नेछ भन्‍ने निष्कर्षमा आत्माको अमरत्वमा विश्‍वास गर्नेहरू पुगे। त्यसकारण राज्य शक्‍तिमा ख्रीष्टको आगमनको लागि जागा रहने कुनै आवश्‍यकता तिनीहरूले देखेनन्‌।—तुलना गर्नुहोस्‌ गलाती ५:७-९; कलस्सी २:८; १ थिस्सलोनिकी ५:२१.

१० अरू कुराहरूको विकासले यो स्थिति झन्‌ बिग्रिंदै गयो। मसीही अध्यक्ष हौं भन्‍ने दाबी गर्नेहरूले मण्डलीलाई प्रतिष्ठा प्राप्त गर्ने माध्यमको रूपमा प्रयोग गर्न थाले। चालै नपाउने गरी तिनीहरूले आफ्ना विचारहरू र शिक्षाहरूलाई शास्त्रवचनकै बराबर वा त्योभन्दा बढी महत्त्व दिन थाले। मौका पाउने बित्तिकै यस धर्मत्यागी चर्चले राजनैतिक राज्यको हितको निम्ति आफ्नो सेवा उपलब्ध गराए।—प्रेरित २०:३०; २ पत्रुस २:१, ३.

अधिक जागा रहँदा भएका परिणामहरू

११ रोमन क्याथोलिक चर्चहरूले शताब्दीऔंसम्म गरेका दुर्व्यवहारहरूको विरुद्धमा केही धार्मिक संशोधकहरूले १६ औं शताब्दीमा आवाज उठाए। तर साँचो उपासना भने फर्काउन सकेन। किन?

१२ रोमको प्रभावबाट विभिन्‍न प्रोटेस्टेन्ट समूहहरू अलग्ग भए तापनि पादरी र साधारण सदस्यबीचको भिन्‍नता, त्रिएक, आत्माको अमरत्त्व र मृत्युपछि हुने अनन्त यातनासम्बन्धी शिक्षाहरूजस्ता धर्मत्यागका धेरै आधारभूत शिक्षा र चलनहरू तिनीहरूसँग कायमै रहे। अनि रोमन क्याथोलिक चर्चस्तै तिनीहरू राजनैतिक तत्त्वहरूसित घनिष्ठ सम्बन्ध राखेर यस संसारकै भाग भएर बसे। अतः तिनीहरूले पनि राजाको हैसियतमा आउनुहुने ख्रीष्टको प्रतीक्षालाई इन्कार गर्ने झुकाव राखे।

१३ यद्यपि, प्रेरितहरूको मृत्युपछि फसलको समय नआउन्जेलसम्म राज्यका सन्तान (जसलाई उहाँले गहुँसँग तुलना गर्नुभयो) र नक्कली मसीहीहरू (अथवा सामा) सँगसँगै बढ्‌नेछन्‌ भनी येशूले अग्रिमवाणी गर्नुभएको थियो। (मत्ती १३:२९, ३०) मालिकले गहुँजस्तो क-कसलाई ठान्‍नु भयो भनेर हामी निश्‍चित सूची तयार पार्न त सक्दैनौं, तर यो कुरा विचारणीय छ, १४ औं, १५ औं र १६ औं शताब्दीतिर त्यस्ता मानिसहरू थिए जसले आफ्नो जीवन र स्वतन्त्रताको बाजी लगाएर बाइबललाई जनसाधारणको भाषामा उपलब्ध गराउन आफूलाई समर्पित गरे। अरू कतिपयले पनि बाइबललाई परमेश्‍वरको वचनको रूपमा मात्र स्वीकार गरेनन्‌ तर त्रिएकलाई गैरशास्त्रीय शिक्षा भनेर अस्वीकार गरे। केहीले आत्माको अमरत्व र नरककुण्डमा यातना जस्ता शिक्षाहरूलाई परमेश्‍वरको वचनसित पटक्कै नमिल्ने कुराहरू भनी इन्कार गरे। साथै, १९ औं शताब्दीको दौडान अधिक बाइबल अध्ययनको फलस्वरूप संयुक्‍त राज्य, जर्मन, बेलाइत र रुसमा बेग्ला-बेग्लै समूहहरूले ख्रीष्टको पुनरागमन अब नजीकै छ भन्‍ने आफ्नो धारणा व्यक्‍त गर्न थाले। तर तिनीहरूका प्रायजसो आशाहरू निराशामा परिणत भए। किन? किनभने तिनीहरूले निकै हदसम्म शास्त्रवचनमा भन्दा मानिसहरूमा भर परे।

यिनीहरू कसरी जागा साबित भए

१४ पछि, १८७० मा चार्ल्स टेज रसल र तिनका केही सहयोगीहरू मिलेर एलिगेनी, पेन्सिल्भेनियामा बाइबल अध्ययन गर्न एउटा समूह गठन गरे। तिनीहरूले अङ्‌गालेका बाइबलका धेरैजस्तो सत्यहरू थाहा पाउनेहरूमध्ये तिनीहरू नै पहिला थिएनन्‌, तर अध्ययन गर्दा कुनै पनि प्रश्‍नको सम्बन्धमा दिइएका सबै नै शास्त्र वचनहरूलाई तिनीहरूले बडो ध्यानपूर्वक जाँच गर्ने बानी बसाले।a आफूले पहिला विश्‍वास गरेका धारणाहरूलाई समर्थन गर्ने पदहरू खोज्नु तिनीहरूको उद्देश्‍य थिएन। बरु त्यो विषय बाइबलमा भनिएका प्रत्येक कुरासँग मेल खान्छ वा खाँदैन भनेर निश्‍चित गरेर मात्र कुनै निष्कर्षमा तिनीहरू पुग्न चाहन्थे।

१५ तिनीहरूभन्दा अघिका केही अरूले पनि येशू अदृश्‍य, आत्मिक रूपमा फर्कनु हुनेछ भनेर बुझिसकेका थिए। ख्रीष्टको पुनरागमनको उद्देश्‍य पृथ्वीलाई भष्म पार्नु र सारा मानव जीवनलाई नष्ट गर्नु नभई पृथ्वीका सारा परिवारहरूलाई आशिष दिने थियो भनी केहीले बुझेका थिए। त्यसमध्ये कसै कसैले त १९१४ सालले अन्यजातिको समयको अन्तलाई चिनाउनेछ भनेर पनि बुझेका थिए। तर भाइ रसलसँग सङ्‌गत गर्ने बाइबल विद्यार्थीहरूका लागि यी विषयहरू धार्मिकदर्शन छलफल गर्ने बुँदाहरू मात्र थिएनन्‌। तिनीहरूले यी सत्यहरूको आधारमा आफ्नो जीवनशैली निर्धारण गरे र ती विषयहरूलाई अपूर्व ढङ्‌गमा विश्‍वव्यापी प्रचार गरे।

१६ तिनीहरू अझै पनि जागा रहनु पर्ने आवश्‍यकता थियो। किन? उदाहरणको लागि, १९१४ लाई बाइबलको भविष्यवाणीले चिह्नित गरे तापनि त्यस सालमा वास्तवमा के हुनेछ भनेर तिनीहरूलाई निश्‍चित रूपमा थाहा थिएन। यो तिनीहरूको निम्ति एउटा परीक्षा थियो। नोभेम्बर १, १९१४ को द वाच टावर मा भाइ रसलले लेखे: “हामी परीक्षणकालमा बाँचिरहेका छौं भनी नबिर्सौं। . . . यदि कुनै कारणले गर्दा हामीले प्रभु तथा उहाँको सत्यमाथिको हाम्रो विश्‍वासलाई त्याग्नु पऱ्‍यो र प्रभुको कामलाई बन्द गर्नु पऱ्‍यो भने परमेश्‍वरको प्रेम हाम्रो हृदयमा भएको हुँदा हामीले प्रभुतर्फ चासो देखाएका रहेनछौं बरु अरू नै कारणले रहेछ भन्‍ने देखिनेछ। सम्भवतः समय अब थोरै मात्र छ भन्‍ने आशा अथवा हाम्रो समर्पण केही समयको लागि मात्र रहेछ भनी बुझिनेछ।”

१७ त्यतिनै बेला केहीले यहोवाको सेवा गर्न त्यागे। तर ती नत्याग्ने भाइहरूमध्ये ए. एच. म्याकमिलन एक थिए। वर्षौंपछि तिनले निष्पक्ष भएर भने: “कहिलेकाहीं एउटा कुनै खास तिथिका सम्बन्धमा हाम्रा प्रत्याशाहरू शास्त्रपदले समर्थन गरेको भन्दा बढी हुन्थे।” उसो भए आध्यात्मिक सन्तुलन कायम राख्न तिनलाई कुन कुराले मदत गऱ्‍यो? तिनले बुझेको कुरा यसप्रकार भन्छन्‌, “ती प्रत्याशाहरू पूरा भएनन्‌ भन्दैमा परमेश्‍वरका उद्देश्‍यहरू बदलिंदैनन्‌।” तिनले अझअगाडि भने: “हामीले आफ्ना गलतीहरूलाई स्वीकार्नुपर्छ र प्रगतिशील ज्योति प्राप्त गर्न परमेश्‍वरको वचनमा खोजी रहनु पर्छ भन्‍ने कुरा मैले सिकें।”b ती बाइबल विद्यार्थीहरूले नम्रतापूर्वक आफ्नो दृष्टिकोणलाई सच्याउने उद्देश्‍यले शास्त्रपदहरूको पुनः जाँच गरे।—२ तिमोथी ३:१६, १७.

१८ त्यसपछिका वर्षहरूमा तिनीहरू जागा रहने काम कम भएको थिएन। मसीहीहरू संसारका भाग होइनन्‌ भनी तिनीहरूलाई पक्कै थाहा थियो। (यूहन्‍ना १७:१४; याकूब ४:४) त्यसअनुरूप तिनीहरूले मसीहीजगतसँग मिलेर राष्ट्र सङ्‌घलाई परमेश्‍वरको राज्यको अभिव्यक्‍तिको रूपमा समर्थन गरेनन्‌। जबकि १९३९ भन्दा पहिले तिनीहरूले मसीही तटस्थताको विषयलाई स्पष्टसित बुझेका थिएनन्‌।—नोभेम्बर १, १९३९ को द वाचटावर हेर्नुहोस्‌।

१९ तिनीहरूको कुनै पादरीवर्ग त थिएन, तर केही चुनिएका प्राचीनहरूले मण्डलीमा प्रचार गर्नु बाहेक अरू केही गर्नु पर्दैन भनी सम्झिन्थे। तर, शास्त्रपदहरूले बताएबमोजिम चल्ने प्रखर इच्छा राखेर शास्त्रअनुसार प्राचीनहरूको के भूमिका हुनुपर्छ भनेर बारम्बार द वाचटावरको लेखद्वारा सङ्‌गठनले पुनरावलोकन गर्दै रह्‍यो। शास्त्रपदहरू अनुरूप सङ्‌गठनात्मक परिवर्तनहरू गरिए।

२० हाम्रो दिनका लागि परमेश्‍वरले तोक्नु भएको कामलाई पूर्ण रूपमा सम्पन्‍न गर्न जोडदार तयारी गरिंदै थियो। (यशैया ६१:१, २) हाम्रो दिनमा कुन हदसम्म सुसमाचार प्रचार गरिनु पर्ने थियो? येशूले भन्‍नुभयो: “पहिला सबै जातिहरूलाई प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) मानव दृष्टिकोणबाट यो काम अक्सर असम्भव देखिएको छ।

२१ यद्यपि, मण्डलीको शिरको रूपमा ख्रीष्टमाथि विश्‍वास राख्दै विश्‍वासी र बुद्धिमान दास अगाडि बढ्‌दै गएका छन्‌। (मत्ती २४:४५) तिनीहरूले विश्‍वास र दृढतापूर्वक यहोवाका जनहरूलाई गर्नु पर्ने आवश्‍यक कामबारे बताउँदै आएका छन्‌। सन्‌ १९१९ देखि यसो यता क्षेत्र सेवकाईमाथि विशेष जोड दिइयो। घर-घरमा गएर अपरिचित व्यक्‍तिहरूसँग कुरा गर्नु धेरैका लागि सजिलो काम थिएन। (प्रेरित २०:२०) तर “निर्भयीहरू धन्यका हुन्‌” (१९१९) र “साहसी हुनुहोस्‌” (१९२१) जस्ता अध्ययन लेखहरूद्वारा यहोवामाथि भरोसा राख्दै धेरैले यो काम सुरु गर्न मदत पाए।

२२ “राजा र उहाँको राज्यको विज्ञापन गर, विज्ञापन गर, विज्ञापन गर” भन्‍ने १९२२ मा दिएको आह्वानले यस कामले पाउनुपर्ने श्रेष्ठता दिन आवश्‍यक प्रेरणा दियो। सन्‌ १९२७ देखि यता त्यस्तो शास्त्रीय जिम्मावारी स्वीकार्न नचाहने प्राचीनहरूलाई हटाइयो। लगभग त्यसै समयतिर, सोसाइटीका पिलग्रीम कहलिने परिभ्रमण प्रतिनिधिहरूलाई क्षेत्रीय सेवा निर्देशकहरूको रूपमा खटाइयो। तिनीहरूले प्रकाशकहरूलाई क्षेत्र सेवकाईमा व्यक्‍तिगत प्रशिक्षण दिन्थे। सबैले अग्रगामीको काम गर्न सक्दैनन्‌ थिए, तर सप्ताहन्तमा धेरैले सम्पूर्ण दिन सेवकाईमा बिताइरहेका थिए। एका बिहानै सुरु गरेर, नास्ता खान एकछिन विश्राम गरेर, फेरि दिउँसो अबेरसम्म तिनीहरू सेवकाईमा लागि रहन्थे। ती ईश्‍वरतान्त्रिक विकासका उल्लेखनीय दिनहरू थिए। यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउनुभयो भन्‍ने कुराको पुनरावलोकन गर्नाले हामी धेरै नै लाभान्वित हुन्छौं। उहाँले आज पनि डोऱ्‍याउँदै हुनुहुन्छ। उहाँको आशिषले त्यो स्थापित राज्यको सुसमाचार प्रचार गर्ने काम सफलतापूर्वक सम्पन्‍न हुनेछ।

के तपाईं जागा रहिरहनु भएको छ?

२३ यहोवाको निर्देशन पालन गर्दै उहाँको सङ्‌गठनले हामीलाई यस संसारका हौं भनी चिनाउन सक्ने खालका गतिविधि र मनोवृत्तिहरूबारे सदा सतर्क गराउँछ। अन्यथा हामी पनि संसारसित नाश हुने खतरामा हुन सक्छौं। (१ यूहन्‍ना २:१७) त्यसैअनुरूप यहोवाको निर्देशनलाई पालन गर्दै हामी पनि व्यक्‍तिगत तवरमा जागा रहनु पर्छ। एकसाथ बसेर सँगै काम गर्ने निर्देशन पनि यहोवाले दिनुहुन्छ। मसीही प्रेमको साँचो अर्थ बुझेर मूल्याङ्‌कनको भाव बढाउन उहाँको सङ्‌गठनले मदत गरेको छ। (१ पत्रुस ४:७, ८) हामी जागा रहनुमा मानव असिद्धताहरूको बावजूद पनि यो सल्लाहलाई अपनाउने साँचो प्रयास गर्नु समावेश छ।

२४ विश्‍वासी र बुद्धिमान दासले हामीलाई लगातार यो स्मरण गराइरहेको छ: “तेरो सारा भरोसा [यहोवामा] राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।” (हितोपदेश ३:५) “निरन्तर प्रार्थना गरिरहो।” (१ थिस्सलोनिकी ५:१७) हाम्रा निर्णयहरू परमेश्‍वरको वचनमा आधारित गरेर उहाँको वचन ‘हाम्रो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो’ हुन दिनुपर्छ भन्‍ने सल्लाह हामीले पाएका छौं। (भजनसंग्रह ११९:१०५) येशूले हाम्रो समयको लागि भविष्यवाणी गर्नुभएको परमेश्‍वरको राज्यको सुसमाचार प्रचार कार्यलाई जीवनमा प्रथम स्थानमा राख्न हामीलाई मायालुपूर्वक प्रोत्साहन दिइएको छ।—मत्ती २४:१४.

२५ हो, विश्‍वासी र बुद्धिमान दास अवश्‍य जागा छन्‌। हामी प्रत्येक व्यक्‍ति जागा रहनु पर्छ। त्यसको परिणामस्वरूप, न्याय कार्यान्वयन गर्न प्रभु आउँनुहुँदा हामी व्यक्‍तिगत तवरमा अनुमोदित हुनेहरूमध्ये भएर मानिस पुत्रको सामु उभिन सकौं।—मत्ती २४:३०; लूका २१:३४-३६. (w94 5/1)

[फुटनोटहरू]

a ए. एच. म्याकमिलनद्वारा लिखित फेथ अन द मार्च, प्रेन्टिस-हल, इन्कर्पोरेटेड, १९५७, पृष्ठ १९-२२.

b अगस्त १५, १९६६ को द वाचटावर, पृष्ठ ५०४-१० हेर्नुहोस्‌।

पुनरावृत्ति

▫ मत्ती २४:४२ मा देखाइएअनुसार हामी किन जागा रहनुपर्छ?

▫ येशू र उनका प्रथम शताब्दीका चेलाहरू कसरी आध्यात्मिक तवरमा जागा थिए?

▫ यहोवाका सेवकहरू जागा बसेको हुनाकारण १८७० देखि कस्ता घटनाहरू घटेका छन्‌?

▫ हामी व्यक्‍तिगत तवरमा जागा छौं भनेर कुन कुराले प्रमाणित गर्नेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. “जागा रहो” भन्‍ने सल्लाह कसलाई लागू हुन्छ?

२, ३. (क) येशूले कुन चिह्न स्पष्टसित वर्णन गर्नुभयो र त्यस भविष्यवाणीको पूर्तिले कुन कुरा देखाएको छ? (ख) मत्ती २४:४२ मा वर्णन गरिएको कुन परिस्थितिले हाम्रो विश्‍वासको प्रमाणिकता जाँच गर्छ र कसरी?

४. आध्यात्मिक तवरमा जागा रहने सम्बन्धमा येशूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

५. (क) आध्यात्मिक सन्तुलन कायम राख्न येशूका चेलाहरूलाई किन गाह्रो पऱ्‍यो? (ख) पुनरुत्थानपश्‍चात्‌ येशूले आफ्ना प्रेरितहरूलाई कस्तो मदत दिनुभयो?

६. कुन दुई पासोबारे येशूले पहिले नै आफ्ना चेलाहरूलाई चेताउनी दिइसक्नु भएको थियो?

७, ८. (क) प्रथम शताब्दीका मसीहीहरूले येशूको सल्लाह हृदयङ्‌गम गरे भनेर तिनीहरूको रेकर्डले कसरी देखाउँछ? (ख) आध्यात्मिक तवरमा निरन्तर जागा रहनु किन महत्त्वपूर्ण थियो?

९, १०. (क) प्रेरितहरूको मृत्युपश्‍चात्‌ मसीही भनौंदा केही व्यक्‍तिहरू जागा थिएनन्‌ भनेर कस्ता घटनाहरूले देखायो? (ख) (यस अनुच्छेदमा उद्धरित) कुन शास्त्रपदहरूले मसीही भनौंदाहरूलाई आध्यात्मिक तवरमा बलियो हुन मदत गर्नेथियो?

११, १२. प्रोटेस्टेन्ट धार्मिक संशोधनले साँचो उपासना फर्काउन किन सकेन?

१३. (क) केही व्यक्‍तिहरूले परमेश्‍वरको वचनलाई साँच्चै नै मूल्यवान ठान्थे भनेर कुन कुराले देखाउँछ? (ख) उन्‍नाइसौं शताब्दीतिर केही मसीही भनौंदाहरूका निम्ति कुन घटना विशेष चासोको विषय हुन गयो? धेरै किन निराशित हुनु पऱ्‍यो?

१४. सी. टि. रसल र उनका सङ्‌गीहरूले अपनाएका बाइबल अध्ययन कार्यक्रमबारे वर्णन गर्नुहोस्‌।

१५. (क) भाइ रसलबाहेक अरूले पनि कुन कुरा बुझिसकेका थिए? (ख) यिनीहरूबाट बाइबल विद्यार्थीहरू बेग्लै छन्‌ भनी कुन कुराले चिनायो?

१६. सन्‌ १९१४ मा भाइ रसलले “यो परीक्षणकाल हो” भनी किन लेखे?

१७. ए. एच. म्याकमिलन र उनी जस्तै अन्य व्यक्‍तिहरूले आध्यात्मिक सन्तुलन कसरी कायम राखे?

१८. संसारको भाग नभएर जागा रहँदा मसीहीहरूले कस्ता प्रगतिशील फाइदाहरू उठाए?

१९. सङ्‌गठन जागा हुनाले मण्डलीको निरीक्षणसम्बन्धी कस्ता फाइदाहरू भएका छन्‌?

२०-२२. हाम्रो दिनका लागि परमेश्‍वरले भविष्यवाणी गर्नुभएको कामलाई पूर्ण रूपमा सम्पन्‍न गर्न सङ्‌गठन कसरी प्रगतिशील ढङ्‌गमा तयार हुँदै आएको छ?

२३. मसीही प्रेम र संसारबाट अलग बस्ने सम्बन्धमा हामी जागा छौं भनेर व्यक्‍तिगत तवरमा कसरी प्रदर्शन गर्न सक्छौं?

२४, २५. कस्ता महत्त्वपूर्ण विषयहरूमा हामी जागा हुनुपर्छ र कुन आशा लिएर?

[पृष्ठ २९-मा भएको चित्र]

आफ्नो पिताले अह्राउनुभएको काममा येशू व्यस्त हुनुहुन्थ्यो। उहाँले निरन्तर प्रार्थना पनि गर्नुभयो

[पृष्ठ ३०-मा भएको चित्र]

उमेर ढलेका चार्ल्स टेज रसल

[पृष्ठ ३१-मा भएको चित्र]

सारा पृथ्वीभरि ४७,००,००० भन्दा बढी राज्य प्रचारकहरू सक्रिय छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने