तपाईंको विवाहलाई स्थायी बन्धन बनाउनुहोस्
“जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”—मत्ती १९:६.
यहोवाका हजारौं जनहरूले आज सन्तोषप्रद र स्थायी विवाहको आनन्द उठाउँछन्। यद्यपि, त्यस्तो सर्वव्यापी सफलता कुनै संयोगको फल होइन। मसीही विवाहहरू तब फस्टाउँछन् जब पति पत्नी दुवैले (१) वैवाहिक बन्धनप्रति परमेश्वरको दृष्टिकोणको आदर गर्छन् र (२) उहाँको वचनमा आधारित सिद्धान्तहरूअनुरूप जीवन व्यतित गर्ने प्रयत्न गर्छन्। आखिरमा, वैवाहिक प्रबन्धको स्थापना गर्नुहुने व्यक्ति पनि त यहोवा नै हुनुहुन्छ। उहाँ त्यो व्यक्ति हुनुहुन्छ ‘जसबाट पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।’ (एफिसी ३:१४, १५) विवाहलाई सफल बनाउन के गर्नुपर्छ भनी यहोवालाई थाहा भएकोले उहाँको निर्देशन पालन गरेर हामी लाभान्वित हुनसक्छौं।—यशैया ४८:१७.
२ यसको विपरीत, बाइबलका सिद्धान्तहरू नअपनाइँदा वैवाहिक दुर्गति हुनसक्छ। संयुक्त राज्यमा हालसालै विवाह गर्नेहरूमध्ये दुई तिहाइभन्दा बढीले अन्ततः पारपाचुके गर्नेछन् भनेर केही विशेषज्ञहरू विश्वास गर्छन्। यो “डरलाग्दो समय” का तनाव अनि थकानले मसीहीहरूलाई पनि असर गर्छ। (२ तिमोथी ३:१) आर्थिक तनाव र कार्यस्थलको दबाबले जस्तोसुकै विवाहमाथि हानिकारक प्रभाव पार्नसक्छ। आफ्नो पति वा पत्नीले बाइबलका सिद्धान्त प्रयोग नगरेको देखेर केही मसीहीहरू पनि साह्रै निराश भएका छन्। एउटी मसीही पत्नी यसो भन्छिन्, “म यहोवालाई प्रेम गर्छु,” “तर मेरो वैवाहिक जीवनलाई २० वर्षदेखि समस्यै समस्याले घेरेको छ। मेरो पति स्वार्थी हुनुहुन्छ र कुनै परिवर्तन गर्न चाहनुहुन्न। म आफूलाई चारैतिरबाट घेरिएको महसुस गर्छु।” निकै मसीही पति-पत्नीहरूले त्यस्तै भावना पोखेका छन्। त्यसोभए कुरा कहाँ बिग्रन्छ? र कुन कुराले वैवाहिक जीवनमा चिसो भावशून्यता अथवा कटु वैरभाव आउनदेखि रोक्न सक्छ?
विवाहको स्थायित्व
३ राम्रोभन्दा राम्रो परिस्थितिहरूको माझमा समेत विवाह केवल असिद्ध व्यक्तिहरू बीचको बन्धन हो। (व्यवस्था ३२:५) तसर्थ, विवाह गर्नेहरूलाई “शरीरमा कष्ट हुनेछ” भनेर प्रेरित पावलले भने। (१ कोरिन्थी ७:२८) कुनै कुनै असह्य परिस्थितिहरूले गर्दा पति-पत्नी अलग्गै बस्नु पर्ने अथवा पारपाचुके समेत गर्नु पर्ने हुनसक्छ। (मत्ती १९:९; १ कोरिन्थी ७:१२-१५) तथापि, प्रायजसो स्थितिमा मसीहीहरूले पावलको यो सल्लाहलाई प्रयोग गर्छन्: “पत्नी पतिबाट छुट्टेर नबसोस्, . . . औ पतिले पत्नीलाई नत्यागोस्।” (१ कोरिन्थी ७:१०, ११) येशूले भन्नुभएका शब्दअनुसार निस्सन्देह विवाह स्थायी बन्धन हुनुपर्थ्यो: “जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”—मत्ती १९:६.
४ वैरभाव अथवा प्रेमरहित वैवाहिक जीवनमा फँसेको महसुस गर्नेहरूलाई यहोवाको स्तर कठोर र अव्यवहारिक लाग्न सक्छ। तर त्यस्तो होइन। वैवाहिक बन्धनको स्थायित्वले ईश्वरभक्त दम्पतीलाई समस्याले टाउको उठाउने बित्तिकै आफूलाई कर्तव्यमुक्त गर्न नभई समस्याहरूको सामना गरेर समाधान गर्ने कोशिश गर्न प्रेरित गर्छ। विवाह भएको २० वर्षभन्दा बढी भइसकेको एक व्यक्तिले यसो भने: “समस्याहरू त भइ नै हाल्छ। तपाईं एकअर्कासित सधैं खुशी हुन सक्नु हुन्न। र तपाईंको वचनबद्धता साँच्चै नै आवश्यक पर्ने समय पनि यस्तै बेलामा हो।” निस्सन्देह, विवाहित मसीही दम्पतीहरूले प्रथमतः विवाहको आरम्भक, यहोवा परमेश्वरसमक्ष जिम्मेवार महसुस गर्छन्।—तुलना गर्नुहोस् उपदेशक ५:४.
शिरत्व र अधीनता
५ तसर्थ, जब समस्या खडा हुन्छ, तब उम्कने बाटो होइन तर परमेश्वरको वचन प्रयोग गर्ने राम्रो उपाय खोज्नु पर्छ। उदाहरणको लागि, एफिसी ५:२२-२५, २८, २९ मा उल्लिखित पावलका शब्दहरूलाई विचार गर्नुहोस्: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्, जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। तर जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसरीनै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।”
६ पतिको अधिकारको दुरुपयोग गरेर पुरुषहरूले प्रायः आफ्नी पत्नीहरूलाई दबाएका छन्। (उत्पत्ति ३:१६) तथापि, मसीही पतिहरू संसारका मानिसहरूभन्दा भिन्दै र पत्नीको जीवनको हर कुरालाई नियन्त्रण गर्ने निरकुंश होइन तर ख्रीष्ट जस्तै हुनुपर्छ भनेर पावलले आग्रह गरे। निस्सन्देह मानवदेही येशू ख्रीष्ट कहिल्यै कठोर वा निरकुंश हुनुहुन्न थियो। आफ्ना अनुयायीहरूलाई उहाँले आदर र सम्मानपूर्वक व्यवहार गर्नुभयो। उहाँले यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु।”—मत्ती ११:२८, २९.
७ मसीही पतिले आफ्नी पत्नीलाई कमजोर पात्र सम्झेर आदर गर्छ। (१ पत्रुस ३:७) उदाहरणको लागि, पत्नीले जागिर खाएकी छिन् भने यथासम्भव मदतगार र विचारशील भएर पतिले त्यसमाथि राम्ररी ध्यान दिनेछ। स्त्रीहरूले पारपाचुके गर्नुको एउटा मुख्य कारण, पतिहरूले छोराछोरी अथवा घरप्रति देखाएको बेवास्ता हो। तसर्थ, मसीही पतिले पूरै परिवारलाई हित हुने ढङ्गमा आफ्नी पत्नीलाई अर्थपूर्ण मदत दिने कोशिश गर्छ।
८ आदरपूर्ण व्यवहारले मसीही पत्नीहरूलाई आफ्ना पतिहरूको अधीनमा बस्न सजिलो बनाउँछ। तथापि, त्यसको अर्थ पत्नीहरू दलित दासहरू हुन् भन्ने होइन। पत्नी दास नभइ पुरुषको लागि सुहाउँदो पूरक अर्थात् “सहयोगी” (जोडी) हो भनेर यहोवाले घोषणा गर्नुभएको थियो। (उत्पत्ति २:१८) मलाकी २:१४ मा पत्नीलाई पुरुषको “जीवन-साथी” भनी सम्बोधन गरिएको छ। बाइबलकालीन पत्नीहरूले निकै स्वतन्त्रता र छुटको आनन्द उपभोग गर्थे। “सुयोग्य पत्नी” बारे बाइबलले यसो भन्छ: “तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्।” निस्सन्देह, घर-परिवारको साधारण खटन पटन, भोजन किनमेलको रेखदेख, जग्गा-जमीनको बेचबिखन र सानो घरेलु व्यापारको व्यवस्थापन जस्ता कुराहरू तिनलाई जिम्मा दिइएको हुन्थ्यो।—हितोपदेश ३१:१०-३१.
९ तापनि, ईश्वरभीरु पत्नीले आफ्नो पतिको अख्तियारलाई स्वीकारेको हुन्थ्यो। उदाहरणको लागि, साराले “अब्राहामलाई स्वामी भनेर तिनको आज्ञा मान्दथिइन्।” तर तिनले शिष्टाचार देखाउन नभइ निष्कपटतासाथ आफ्नो अधीनतालाई प्रतिबिम्बित गर्न त्यसो गरेकी थिईन्। (१ पत्रुस ३:६; उत्पत्ति १८:१२) आफ्नो पतिसँग पालमा जीवन बिताउन तिनले राजीखुशी ऊर शहरको आरामदायी घरलाई त्यागिन्। (हिब्रू ११:८, ९) तर अधीनताको अर्थ आवश्यकता परेमा पत्नीले महत्त्वपूर्ण कदम उठाउनै हुँदैन भनेको होइन। मोशाले खतना सम्बन्धी परमेश्वरको व्यवस्था पालन गर्न नसक्दा तिनकी पत्नी सिप्पोराले निर्णायक कदमद्वारा विपत्तिलाई रोकिन्। (प्रस्थान ४:२४-२६) कुरा, आफ्नो असिद्ध पतिलाई खुशी राख्नुमा मात्रै सीमित छैन। पत्नीहरू “प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा” बस्नुपर्छ। (एफिसी ५:२२) परमेश्वरसँगको आफ्नो सम्बन्धलाई ध्यानमा राखेमा मसीही पत्नीले आफ्नो पतिको सानातिना कमजोरीहरू र असक्षमतालाई बेवास्ता गर्ने मदत पाउन सक्छिन्। र तिनको पतिले पनि तिनीसित त्यस्तै व्यवहार गर्नुपर्छ।
वार्तालाप—विवाहको जीवन रक्त
१० सम्बन्ध विच्छेद हुने एक मात्र मुख्य कारण सोद्धा पारपाचुके सम्बन्धी अधिवक्ताले यस्तो जवाफ दिए: “इमानदारीपूर्वक एकअर्कासित कुराकानी गर्न नसक्नु, आफ्नो भित्री विचार पोख्न नसक्नु र एकअर्कालाई आफ्नो सबैभन्दा असल मित्रजस्तै व्यवहार गर्न नसक्नु।” हो, वार्तालाप नै बलियो विवाहको जीवन रक्त हो। “परामर्श विनाको योजना विफल हुन्छ” भनेर बाइबलले बताउँछ। (हितोपदेश १५:२२) पति-पत्नी न्यानो, घनिष्ठ सम्बन्धको आनन्द उठाउने ‘विश्वस्त साथी’ हुनुपर्छ। (हितोपदेश २:१७) यद्यपि, थुप्रै दम्पतीहरू वार्तालाप गर्न गाह्रो महसुस गर्छन् र फलतः द्वेष बढ्दै गएर विनाशकारी रीसमा टुङ्गिन्छ। अथवा विवाहित दम्पतीहरू शिष्टताको पातलो पर्दापछाडि लुकेर भावनात्मक रूपमा एक अर्कादेखि टाढा बस्न सक्छन्।
११ समस्याको एउटा कारण, प्रायः पुरुष र स्त्रीको वार्तालाप गर्ने भिन्न ढङ्ग हो। अधिकांश स्त्रीहरू सजिलैसित आफ्ना अनुभूतिहरू बताउन सक्छन् तर पुरुषहरू प्रायः यथार्थ कुराहरू छलफल गर्न मन पराउँछन्। स्त्रीहरू समानुभूति र भावनात्मक समर्थन दिन अग्रसर हुन्छन् भने पुरुषहरू समाधान खोज्न र दिन चाहन्छन्। तैपनि पति पत्नी दुवै “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” छन् भने राम्रो वार्तालापको सम्भावना हुन्छ। (याकूब १:१९) आँखा जुधाएर कुरा गर्नुहोस् र राम्ररी ध्यान दिनुहोस्। विचारशील प्रश्नहरूद्वारा एक अर्काको मन खोतल्नुहोस्। (तुलना गर्नुहोस् १ शमूएल १:८; हितोपदेश २०:५) आफ्नो पति वा पत्नीले समस्या व्यक्त गर्दा तत्काल समाधान दिने कोशिश गर्नुभन्दा ध्यान दिएर सुन्दै समाधान गर्नेतर्फ लाग्नुहोस्। र एकसाथ मिलेर नम्रतापूर्वक प्रार्थनाद्वारा ईश्वरीय निर्देशन खोज्नुहोस्।—भजनसंग्रह ६५:२; रोमी १२:१२.
१२ जीवनको तनाव र थकानले गर्दा कहिलेकाहीं अर्थपूर्ण कुराकानी गर्न दम्पतीले यथेष्ट समय वा शक्ति पाइरहेका हुँदैनन्। तथापि, आफ्नो विवाहलाई आदरणीय र निष्कलङ्कित बनाउने हो भने मसीहीहरू एकअर्काको नजिक हुनैपर्छ। तिनीहरूले आफ्नो बन्धनलाई अनमोल, बहुमूल्य सम्झनुपर्छ र त्यसका लागि अनि एकअर्काका लागि समय निकाल्नुपर्छ। (तुलना गर्नुहोस् कलस्सी ४:५) कहिलेकाहीं स्वस्थकर कुराकानी गर्ने समय निकाल्न टिभि बन्द गरे मात्र पुग्छ। नियमित रूपले सँगै बसेर चिया वा कफी पिउनाले पति पत्नी भावनात्मक रूपमा नजिकिन सक्छन्। त्यस्ता मौकाहरूमा तिनीहरूले विभिन्न पारिवारिक विषयहरूबारे ‘आपसमा सर-सल्लाह लिन सक्छन्।’ (हितोपदेश १३:१०) र सानुतिनु कुराले गर्दा चिढिंदा अथवा पति वा पत्नीले गलत अर्थ लगाउँदा कुरा बढेर ठूलो तनाव हुनु अगावै त्यसबारे कुरा गरिहाल्ने बानी बसाल्नु कति बुद्धिमानी कुरा हो!—तुलना गर्नुहोस् मत्ती ५:२३, २४; एफिसी ४:२६.
१३ एक जना पुरुषले यसरी मानिलिए: “मलाई आफ्नो विचार पोख्न र वास्तवमा म कस्तो महसुस गर्दैछु भनेर [मेरी पत्नीलाई] बताउन प्रायः साह्रै कठिन लाग्छ।” यद्यपि, आफूलाई खुलस्त पार्नु घनिष्ठता बढाउने महत्त्वपूर्ण कुञ्जी हो। आफ्नो दुलही वर्गका सम्भावित सदस्यहरूसित येशूले कति स्पष्ट अनि इमानदारीपूर्वक कुराकानी गर्नुहुन्थ्यो, त्यसलाई विचार गर्नुहोस्। उहाँले यसो भन्नुभयो: “अबदेखि म तिमीहरूलाई दास भन्दिनँ, किनकि दासले त्यसका मालिकले के गर्दछ जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाह दिएको छु।” (यूहन्ना १५:१५) अतः, आफ्नो पति वा पत्नीलाई आफ्नो मित्रको रूपमा हेर्नुहोस्। निर्धक्क भएर आफ्नो पति वा पत्नीलाई आफ्नो अनुभूति बताउनुहोस्। सरल, निष्कपट “प्रेमको अभिव्यक्ति” प्रकट गर्ने कोशिश गर्नुहोस्। (श्रेष्ठगीत १:२, न्यु व.) खुलस्त वार्तालाप गर्दा कहिलेकाहीं अप्ठ्यारो लाग्नसक्छ तर पति-पत्नी दुवैले यथेष्ट प्रयत्न गरेमा विवाहलाई स्थायी बन्धन बनाउन धेरै मदत पुग्नेछ।
मतभेदलाई सम्हाल्ने
१४ समय-समयमा अवश्य स्वाभाविक मतभेदहरू खडा हुन्छन्। तर तपाईंको घर भाँडिएर “झगड़ाले भरिएको घर” बन्नैपर्छ भन्ने छैन। (हितोपदेश १७:१) बच्चाहरू वरपर भएको बेला संवेदनशील विषयहरू छलफल नगर्नुहोस् र आफ्नो पति वा पत्नीको अनुभूतिप्रति विचारशील हुनुहोस्। राहेलले आफ्नो बाँझोपनको विरह पोखेर सन्तान माग्दा याकूबले रिसाएर यस्तो जवाफ दिएका थिए: “तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र?” (उत्पत्ति ३०:१, २) पारिवारिक कठिनाइ खडा हुँदा व्यक्तिमाथि नभइ समस्यामाथि जाइलाग्नुहोस्। वैयक्तिक छलफलको दौडान “विचारै नपुऱ्याइ नबोल्नुहोस्” अथवा अनावश्यक किसिमले बीच-बीचमा कुरा नकाट्नुहोस्।—हितोपदेश १२:१८.
१५ हो, तपाईंको धारणामा प्रबल भावना मुछिएको होला तर त्यसलाई “तीतोपना, क्रोध, हो-हल्ला, निन्दा” बिना व्यक्त गर्न सकिन्छ। (एफिसी ४:३१) एक जना पति यसो भन्छन्, “आवाज नउचालिकन समस्या छलफल गर्नुहोस्।” “आवाज चर्को हुन थाल्यो भने तुरुन्त रोकिहाल्नुहोस्। अनि केही बेरपछि फेरि कुरा गर्न थाल्नुहोस्।” हितोपदेश १७:१४ ले राम्रो सल्लाह दिन्छ: “झगड़ा . . . बढ़नअघिनै रीस छोड़िदेऊ।” दुवै जना शान्त भइसकेपछि फेरि कुरा गर्ने कोशिश गर्नुहोस्।
एकअर्काप्रति वफादार हुनुहोस्
१६ हिब्रू १३:४ ले यसो भन्छ: “सबै विवाह चाहिं आदरणीय होस्, ओछ्यान नबिटुलिओस्, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ।” व्यभिचार परमेश्वर विरुद्ध पाप हो। त्यसले विवाहलाई भताभुङ्ग पनि पार्छ। (उत्पत्ति ३९:९) एउटी विवाह सल्लाहकार यसो भन्छिन्: “व्यभिचारको पर्दाफास भएपछि पूरै परिवारमाथि बज्रपात हुन्छ। त्यसले परिवारलाई छिन्नभिन्न पार्छ र भरोसा, आत्मसम्मानलाई तहस-नहस गर्नुका साथै कलिला उमेरका केटाकेटीहरूलाई घात पुऱ्याउँछ।” गर्भधारण अथवा यौनजन्य रोग पनि हुनसक्छ।
१७ पुस्तक, टेलिभिजन र चलचित्रहरूमा चित्रण गरिने संसारको भ्रष्ट यौन दृष्टिकोणमा तल्लीन भएर केही व्यक्तिहरू आफ्नो मनमा व्यभिचारी झुकाव बढाउँछन्। (गलाती ६:८) यद्यपि, अन्वेषकहरूको भनाइअनुसार त्यस्तो व्यभिचार प्रायः यौनिक तृष्णाले मात्र नभइ आफू अझै आकर्षक छु भनी प्रमाणित गर्नुपर्छ भन्ने गलत धारणाले अथवा अझ बढी माया पाउने चाहले गर्दा हुन्छ। (हितोपदेश ७:१८ तुलना गर्नुहोस्।) कारण जे-सुकै होस्, एक जना मसीहीले त्यस्तो अनैतिक कल्पनालाई इन्कार गर्नैपर्छ। आफ्नो पति वा पत्नीलाई इमानदारीसाथ आफ्नो अनुभूति बताउनुहोस्। आवश्यक परेमा मण्डलीका प्राचीनहरूसित मदत लिनुहोस्। त्यसो गर्नाले पाप गर्नदेखि बच्न सकिन्छ। यसबाहेक विपरीत लिङ्गका सदस्यहरूसित व्यवहार गर्दा मसीहीहरू होशियार हुनुपर्छ। एउटालाई विवाह गरेर अर्कोलाई कामुक दृष्टिले हेर्नु शास्त्रीय सिद्धान्त विपरीत हुनेछ। (अय्यूब ३१:१; मत्ती ५:२८) विशेषगरि आफ्ना सहकर्मीहरूसित भावनात्मक लगाव बढ्न दिनदेखि मसीहीहरू सावधान हुनुपर्छ। त्यस्ता सम्बन्धहरूलाई मैत्रीपूर्ण तर कामकुरासम्म मात्र सीमित राख्नुपर्छ।
१८ अझ ठूलो सुरक्षा, आफ्नो पति वा पत्नीसित न्यानो र खुलस्त सम्बन्ध राख्नु हो। वैवाहिक जीवनमा देखिने यौन समस्याहरू प्रायः शारीरिक कारणले नभई खुलस्त वार्तालापको अभावले गर्दा हुन्छन् भनी थुप्रै अन्वेषकहरू भन्छन्। पति-पत्नीले खुलस्त कुराकानी गरेमा र वैवाहिक जिम्मेवारीलाई कर्तव्यको रूपमा नभई प्रेमको अभिव्यक्तिको रूपमा पूरा गरेमा समस्याहरू कमै हुन्छन्।a यस्तो उचित परिस्थितिमा घनिष्ठ सम्बन्धले पारिवारिक सम्बन्धलाई बलियो बनाउन सक्छ।—१ कोरिन्थी ७:२-५; १०:२४.
१९ मसीही मण्डलीको “सिद्धताको गाँठो” प्रेम हो। ईश्वभक्त विवाहित दम्पतीहरूले प्रेमको खेती गर्दै ‘एक अर्कोलाई सहेर उदारचित्तका साथ क्षमा गर्नसक्छन्।’ (कलस्सी ३:१३, १४) सैद्धान्तिक प्रेमले अरूको भलाइ खोज्छ। (१ कोरिन्थी १३:४-८) त्यस्तो प्रेमको खेती गर्नुहोस्। तपाईंको वैवाहिक बन्धनलाई बलियो बनाउन त्यसले मदत गर्नेछ। आफ्नो वैवाहिक जीवनमा बाइबलका सिद्धान्तहरू प्रयोग गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईंको विवाह स्थायी बन्धन साबित हुनेछ र त्यसले यहोवा परमेश्वरको प्रशंसा अनि आदर गर्नेछ। (w94 7/15)
[फुटनोट]
a अगस्त १, १९९३, द वाचटावर को “वार्तालाप—बोलचाल मात्रै होइन” नामक लेखले यस सन्दर्भमा हुने समस्यालाई दम्पतीहरूले कसरी समाधान गर्नसक्छन् भनी बताउँछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ विवाह किन स्थायी बन्धन हुनुपर्छ?
▫ शिरत्व र अधीनताबारे बाइबलको दृष्टिकोण के हो?
▫ पति-पत्नीबीचको वार्तालापलाई कसरी सुधार्न सकिन्छ?
▫ पति-पत्नीले मतभेदलाई कसरी मसीही ढङ्गमा सम्हाल्न सक्छन्?
▫ वैवाहिक बन्धनलाई बलियो बनाउन कुन कुराले योगदान पुऱ्याउनेछ?
[अध्ययनका लागि प्रश्नहरू]
१. आज साँचो मसीहीहरूबीच वैवाहिक सफलताको आधार के हो?
२. बाइबलका सिद्धान्तहरूलाई वैवाहिक जीवनमा लागू नगर्दा कस्ता नतिजाहरू हुन्छन्?
३, ४. (क) विवाह सम्बन्धी परमेश्वरको स्तर के हो? (ख) विवाहको स्थायित्व किन न्यायोचित तथा लाभदायी छ?
५. पति-पत्नीलाई पावलले दिएका केही सल्लाहहरू के के हुन्?
६. मसीही पतिहरू कसरी संसारका मानिसहरूभन्दा भिन्न हुनुपर्छ?
७. जागिर खाने पत्नीप्रति पतिले कसरी आदर देखाउन सक्छ?
८. अधीनतामा बस्न मसीही पत्नीहरूले के के गर्नुपर्छ?
९. (क) बाइबलकालीन ईश्वरभीरु स्त्रीहरूले कसरी साँचो अधीनता देखाए? (ख) कुन कुराले आज मसीही पत्नीलाई अधीनतामा बस्न मदत गर्नसक्छ?
१०. वैवाहिक जीवनमा वार्तालाप कतिको महत्त्वपूर्ण छ?
११. पति-पत्नीबीचको वार्तालापलाई कसरी सुधार्न सकिन्छ?
१२. मसीही पति-पत्नीले कसरी एकअर्काका लागि समय निकाल्न सक्छन्?
१३. (क) खुलस्त अनि इमानदार हुने सम्बन्धमा येशूले कस्तो उदाहरण बसाल्नुभयो? (ख) विवाहित जोडीहरू आपसमा नजिक हुनसक्ने केही उपायहरू के के हुन्?
१४, १५. झैं-झगडादेखि कसरी टाढा बस्न सकिन्छ?
१६. किन व्यभिचार अति गम्भीर कुरा हो?
१७. कसरी व्यभिचारी झुकावदेखि अलग बस्न वा इन्कार गर्न सकिन्छ?
१८. वैवाहिक जीवनमा देखिने यौन समस्याहरूको मुख्य कारण प्रायः के हुनसक्छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ?
१९. “सिद्धताको गाँठो” के हो र त्यसले विवाहमा कस्तो प्रभाव पार्नसक्छ?
[पृष्ठ २५-मा भएको चित्र]
पत्नीले जागिर खानु परेमा मसीही पतिले अचाक्ली बोझ लाद्न दिनेछैन