आफ्नो परिवारको छुटकाराको लागि कडा परिश्रम गर्नुहोस्
“तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.
एउटा लोकप्रिय पत्रिकाले त्यसलाई क्रान्ति भनी सम्बोधन गऱ्यो। पत्रिकाको उक्त लेखमा हालसालै परिवारमा भएका छक्कलाग्दो परिवर्तनहरू वर्णन गरिएको थियो। “पारपाचुकेको बिगबिगी, पुनर्विवाह, पुनः पारपाचुके, अवैध बच्चाहरू र सग्लो परिवारका नयाँ तनावहरू” ती परिवर्तनहरूका कारणहरू हुन् भनी औंल्याइयो। त्यस्ता तनाव र थकानहरू कुनै छक्कलाग्दो कुरा होइन किनभने “आखिरी दिनमा” मानिसहरूले “डरलाग्दो समय” को सामना गर्नेछन् भनेर बाइबलले भविष्यवाणी गरेको थियो।—२ तिमोथी ३:१-५.
२ तसर्थ अहिले आमाबाबुहरूले पहिलेका पुस्ताहरूले थाहै नपाएका चुनौतीहरूको सामना गर्नुपरेको छ। हाम्रो माझका केही आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई “बाल्यकाल” देखि ईश्वरीय मार्गमा हुर्काएका भए तापनि अरू थुप्रै परिवारहरू भने भर्खरै मात्र “सत्यमा चलेका” छन्। (२ तिमोथी ३:१५; ३ यूहन्ना ४) परमेश्वरको मार्ग सिकाउन सुरु गर्दा तिनीहरूका छोराछोरीहरू हुर्केर ठूलो भइसकेको हुनसक्छ। यसबाहेक एकल परिवार र सौतेलो परिवारहरू पनि हाम्रा बीचमा बढिरहेका छन्। परिस्थिति जस्तोसुकै होस्, प्रेरित पावलको यो सल्लाह तपाईंमाथि लागू हुन्छ: “तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.
मसीही आमाबाबु र तिनीहरूको भूमिका
३ ध्यान रहोस्, प्रेरित पावलले एफिसी ६:४ का शब्दहरू मुख्यतः “बाबु” हरूलाई सम्बोधन गर्दैथिए। एक जना लेखकको बयानअनुसार पहिलेका पुस्ताहरूमा “आफ्नो छोराछोरीको नैतिक र आध्यात्मिक लालनपालनका लागि बाबुहरू जिम्मेवार हुन्थे; आफ्नो छोराछोरीलाई शिक्षादिक्षा दिने जिम्मा बाबुहरूको हुन्थ्यो। . . . तर औद्योगिक क्रान्तिले यो घनिष्ठतालाई खोस्यो; बाबुहरूले आफ्ना खेत र पसलहरू छाडे, तिनीहरू आफ्नो घर-खेत छाडेर कारखानाहरूमा र पछि कार्यालयहरूमा जागिर खान थाले। एकताका बाबुहरूले जिम्मा लिने गरेका थुप्रै कार्यभारहरू अब आमाहरूले सह्माल्न थाले। पितृत्त्वलाई व्यवहारमा उतार्नुको सट्टा झन् झन् सैद्धान्तिक मात्र हुन थाल्यो।”
४ मसीही पुरुषहरू हो: छोराछोरीलाई प्रशिक्षण दिने र पालनपोषण गर्ने सारा काम पत्नीलाई सुम्पेर, परिवार पाल्ने व्यक्ति मात्र भएर सन्तुष्ट नहुनुहोस्। पुरातन समयका बाबुहरूलाई हितोपदेश २४:२७ ले यस्तो आग्रह गऱ्यो: “सबैभन्दा पहिला घरका बाहिरका कुराहरू सह्माल्। खेतमा सबै तयार गर्, तर त्यसपछि तैंले आफ्नो परिवारको उन्नति गर्नैपर्छ।” [न्यु व.] त्यस्तैगरि आज जीवन धान्न जागिरेको हैसियतले दिनभर कठिन परिश्रम गर्नुपर्ला। (१ तिमोथी ५:८) तथापि, त्यसपछि कृपया भावनात्मक तथा आध्यात्मिक तवरमा “परिवारको उन्नति” गर्ने समय निकाल्नुहोस्।
५ मसीही पत्नीहरू हो: परिवारको छुटकाराको लागि तपाईंले पनि कडा परिश्रम गर्नैपर्छ। हितोपदेश १४:१ ले यसो भन्छ: “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे।” वैवाहिक सहयोगीको हैसियतले आफ्नो सन्तानलाई प्रशिक्षण दिने जिम्मेवारी तपाईं र तपाईंको पतिको हो। (हितोपदेश २२:६; मलाकी २:१४) छोराछोरीलाई अनुशासन दिने, मसीही सभाहरू र क्षेत्र सेवकाईका लागि तयार गराउने वा तपाईंको पति पारिवारिक अध्ययन सह्माल्न असक्षम हुँदा त्यसलाई सह्माल्ने जस्ता कुरा यसमा समावेश हुन सक्छ। तपाईंले छोराछोरीलाई घरेलु कामकुरा, असल आनीबानी, शारीरिक स्वास्थ्य र अन्य मदतकारी कुराहरू सिकाउन सक्नुहुन्छ। (तितस २:५) यसरी पति-पत्नी मिलेर काम गर्दा तिनीहरूले आफ्नो छोराछोरीको आवश्यकताहरू राम्ररी पूरा गर्न सक्छन्। तर यस्ता केही आवश्यकताहरू के के हुन्?
तिनीहरूको भावनात्मक आवश्यकताहरूको हेरचाह
६ “धाई-आमाले आफ्ना बालकहरूलाई पोषण” गर्दा तिनीहरू सुरक्षित, निश्चिन्त र माया अनुभव गर्छन्। (१ थिस्सलोनिकी २:७; भजनसंग्रह २२:९) आफ्नो शिशुलाई बढ्ता ध्यान दिने चाहलाई रोक्न सक्ने कमै आमाहरू होलान्। अगमवक्ता यशैयाले यसप्रकार सोधे: “के कुनै स्त्रीले आफ्नो दूधे-बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र?” (यशैया ४९:१५) यसर्थ, छोराछोरीको भावनात्मक विकाशमा आमाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। तथापि, पिताहरूले कम महत्त्वपूर्ण भूमिका खेल्छन् भनेको होइन। पारिवारिक प्रशिक्षक पल लूइस यसो भन्छन्: “सामाजिक कार्यकर्त्ताहरूले अहिलेसम्म [अपराधी] केटाकेटीहरूको आफ्नो बाबुसँग स्वस्थ सम्बन्ध भएको रिपोर्ट दिएको मलाई थाहा छैन। त्यस्ता सयौं केटाकेटीहरूमध्ये एउटाले पनि त्यस्तो सम्बन्ध भएको बताएन।”
७ तसर्थ, मसीही बाबुहरूले होशियारीपूवर्क आफ्ना छोराछोरीहरूसित मायालु बन्धन स्थापित गर्नु अत्यावश्यक छ। उदाहरणको लागि, यहोवा परमेश्वर र येशू ख्रीष्टलाई विचार गर्नुहोस्। येशूले बप्तिस्मा लिनुहुँदा यहोवाले यसो भनेर घोषणा गर्नुभयो: “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्न छु।” (लूका ३:२२) त्यति थोरै शब्दबाट उहाँले कति धेरै कुरा व्यक्त गर्नुभयो! (१) येशूलाई आफ्नो पुत्र हो भनी स्वीकार्नु भयो (२) येशूप्रतिको आफ्नो मायालाई खुलेआम प्रकट गर्नुभयो र (३) येशूप्रतिको अनुमोदनलाई प्रकट गर्नुभयो। यद्यपि, यहोवाले आफ्नो पुत्रप्रतिको प्रेम व्यक्त गर्नुभएको यही एक पटक मात्र थिएन। पछि येशूले आफ्नो पितालाई यसो भन्नुभयो: “तपाईंले संसारको उत्पत्तिभन्दा पहिलेदेखिनै मलाई प्रेम गर्नुभयो।” (यूहन्ना १७:२४) वास्तवमा भन्ने हो, के सबै आज्ञाकारी छोरा वा छोरीहरूलाई आफ्नो बाबुको स्वीकृति, प्रेम र अनुमोदन चाहिंदैन र?
८ यदि तपाईं बाबु हुनुहुन्छ भने, सम्भवतः आफ्नो प्रेमलाई सुहाउँदोगरि शारीरिक वा शाब्दिक रूपमा नियमित रीतिले व्यक्त गरेर आफ्नो छोराछोरीसित निकै राम्रो मायालु सम्बन्ध कायम गर्न सक्नुहुन्छ। हो, केही पुरुषहरूलाई र अझ विशेषगरि बाबुको घनिष्ठ स्नेह नपाएका पुरुषहरूलाई आफ्नो स्नेह देखाउन सजिलो हुँदैन। तर अप्ठ्यारै परे पनि आफ्ना छोराछोरीलाई माया प्रकट गर्ने कोशिश गर्नाले तिनीहरूमाथि ठूलो असर पर्नसक्छ। आखिरकार “प्रेमले उन्नति गराउँछ।” (१ कोरिन्थी ८:१) तपाईंको पितृत्त्व प्रेमको कारण तपाईंका छोराछोरीहरूले सुरक्षित महसुस गर्छन् भने, तिनीहरू ‘साँचो छोराहरू र छोरीहरू’ हुने सम्भावना हुन्छ र हिचकिचाहट महसुस नगरिकन तपाईंलाई आफ्नो मनको कुरा बताउन सक्छन्।—हितोपदेश ४:३.
तिनीहरूको आध्यात्मिक आवश्यकताहरूको हेरचाह
९ छोराछोरीहरूका पनि आध्यात्मिक आवश्यकताहरू हुन्छन्। (मत्ती ५:३) मोशाले इस्राएलीहरूलाई यसो भनेर सल्लाह दिए: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) तपाईं मसीही आमा वा बाबु हुनुहुन्छ भने “बाटोमा हिंड़दा” अनौपचारिक रूपमा निकै शिक्षा दिन सक्नुहुन्छ। परिवार मिलेर कतै यात्रा गर्दा, बजार जाँदा वा छोराछोरीलाई लिएर मसीही सेवकाईमा घर-घर जाँदा तपाईंले तनावमुक्त वातावरणमा प्रशिक्षण दिने राम्रा मौकाहरू पाउन सक्नुहुन्छ। विशेषगरि खाना खाने समय परिवारका लागि कुराकानी गर्ने राम्रो मौका हो। एउटी आमा भन्छिन्, “खाना खाने समयमा हामी आफ्नो दिनचर्या बताउने गर्छौं।”
१० तथापि, नियमित बाइबल अध्ययनद्वारा छोराछोरीलाई औपचारिक प्रशिक्षण दिनु पनि अत्यावश्यक छ। यो कुरा मानिलिनै पर्छ, केटाकेटीहरूको “हृदयभित्र मूर्खता गाड़िएको हुन्छ।” (हितोपदेश २२:१५) छोराछोरीहरूले जानाजानी पारिवारिक अध्ययनमा खलल पार्न सक्छन् भनेर केही आमाबाबुहरू भन्छन्। तर कसरी? चुलबुले भएर वा पट्याइँ लागे जस्तो व्यवहार गरेर, चिढ्याउने अलमल गरेर (जस्तै, भाइ-बहिनीहरूसँग झगडा गरेर) अथवा बाइबलका आधारभूत सत्यहरू थाहा नभएको स्वाँग गरेर। यदि यो रीति कायमै रह्यो र कसको इच्छाअनुसार चल्ने भन्ने स्थिति खडा भएमा आमाबाबुको इच्छा नै सबैभन्दा प्रबल हुनैपर्छ। मसीही आमाबाबुहरूले हार मानेर छोराछोरीहरूलाई परिवारमाथि प्रभुत्व जमाउन दिनुहुँदैन।—गलाती ६:९ तुलना गर्नुहोस्।
११ तपाईंका छोराछोरीहरूलाई पारिवारिक अध्ययन रमाइलो लाग्दैन भने शायद केही परिवर्तनहरू गर्न सकिन्छ। उदाहरणको लागि, छोराछोरीले भर्खरै गरेका गल्तीहरू दोहोऱ्याउन के पारिवारिक अध्ययनलाई बहानाको रूपमा चलाइँदैछ? शायद त्यस्ता समस्याहरूलाई व्यक्तिगत रूपमा छलफल गर्नु नै बेस हुनेछ। के तपाईंको पारिवारिक अध्ययन नियमित रूपले हुने गर्छ? मनपर्ने टेलिभिजन कार्यक्रम अथवा खेलकुदका लागि पारिवारिक अध्ययनलाई स्थगित गर्नुहुन्छ भने सम्भवतः तपाईंका छोराछोरीहरूले पनि अध्ययनलाई गम्भीरतापूर्वक लिनेछैनन्। के तपाईं गम्भीर अनि उत्साही भएर अध्ययन सञ्चालन गर्नुहुन्छ? (रोमी १२:८) हो, अध्ययन रमाइलो हुनुपर्छ। सबै छोराछोरीलाई सामेल गर्ने कोशिश गर्नुहोस्। सकारात्मक अनि प्रोत्साहक हुनुहोस् र छोराछोरीले भाग लिएकोमा न्यानो सराहना गर्नुहोस्। अवश्य विषयवस्तु ढाक्ने मात्र नगरेर तिनीहरूको हृदय छुने प्रयत्न गर्नुहोस्।—हितोपदेश २३:१५.
धार्मिकताअनुसार अनुशासन दिने
१२ छोराछोरीहरूलाई अनुशासनको पनि निकै आवश्यकता हुन्छ। आमाबाबु भएको नाताले तपाईंले तिनीहरूको सीमा तोक्नुपर्छ। हितोपदेश १३:२४ ले यसो भन्छ: “छड़ी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।” तथापि, अनुशासन दिन सधैं छडी नै चलाउनु पर्छ भनेर बाइबलले भन्न खोजेको होइन। हितोपदेश ८:३३ ले भन्छ: “अर्ती सुन,” साथै “मूर्ख मानिसले सय मुक्का खाएकोभन्दा समझ-शक्ति हुने मानिसलाई अर्तीको असर हुन्छ” भनेर पनि हामीलाई भनिएको छ।—हितोपदेश १७:१०.
१३ कहिलेकाहीं छडी चलाएर अनुशासन दिनु पनि उपयुक्त हुन सक्छ। तथापि, रीसको झोंकमा गर्दा अचाक्ली र बेअसरदायी हुनसक्छ। बाइबलले यसरी सावधान गराउँछ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोउन्।” (कलस्सी ३:२१) निस्सन्देह, “[शोषणले, न्यु व.] गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) कटु महसुस गर्ने युवा-युवतीले धार्मिक स्तरको समेत विद्रोह गर्नसक्छ। तसर्थ, आमाबाबुहरूले शास्त्रलाई चलाएर स्थिर तर सन्तुलित हुँदै आफ्नो छोराछोरीलाई धार्मिकतामा अनुशासन दिनुपर्छ। (२ तिमोथी ३:१६) ईश्वरीय अनुशासन प्रेम र नम्रतासाथ दिइन्छ।—तुलना गर्नुहोस् २ तिमोथी २:२४, २५.a
१४ अवश्य बेला-बेला “हामी धेरै कुरामा चुक्तछौं।” (याकूब ३:२) प्रायजसो माया गर्ने आमाबाबुले पनि परिस्थितिवश नमीठो शब्द बोल्न वा रीस पोखाउन सक्छन्। (कलस्सी ३:८) त्यस्तो घटना घटेमा घाम अस्ताउन अघि नै तपाईंको छोराछोरीलाई परेको ठूलो दुःख वा तपाईंको रीस मरोस्। (एफिसी ४:२६, २७) आफ्नो छोराछोरीसित समस्या सुल्झाइहाल्नुहोस्, आवश्यक परेमा क्षमा माग्न पछि नहट्नुहोस्। (मत्ती ५:२३, २४ तुलना गर्नुहोस्।) त्यस्तो नम्रता देखाएमा तपाईं र तपाईंको छोराछोरी अझ नजिक हुनसक्छ। आफ्नो रीस थाम्न सक्नु हुन्न भने अथवा ज्यादै क्रोधित हुन सक्ने अवस्था छ भने मण्डलीका नियुक्त प्राचीनहरूको मदत लिनुहोस्।
एकल र सौतेलो परिवार
१५ यद्यपि, सबै केटाकेटीहरूले आमाबाबु दुवैको सहारा पाएका हुँदैनन्। संयुक्त राज्यमा मात्रै हरेक ४ मध्ये १ केटाकेटीलाई आमा वा बाबुले मात्र हुर्काएका हुन्छन्। बाइबलको समयमा थुप्रै “टुहुरा” हरू पाइन्थे र शास्त्रमा तिनीहरूप्रतिको चिन्तालाई बारम्बार उल्लेख गरिएको पाइन्छ। (प्रस्थान २२:२२) त्यस्तैगरि आज पनि आमा वा बाबु मात्र भएका मसीही परिवारहरूले दबाबहरू र कठिनाइहरूको सामना गर्छन्। तर यहोवा “टुहुराका बाबु र विधवाहरूका न्यायकर्त्ता हुनुहुन्छ” भन्ने कुराबाट तिनीहरू सान्त्वना प्राप्त गर्छन्। (भजनसंग्रह ६८:५) “अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर” भनेर मसीहीहरूलाई आग्रह गरिएको छ। (याकूब १:२७) सङ्गी विश्वासीहरूले थुप्रै तरिकामा एकल परिवारहरूलाई मदत पुऱ्याउन सक्छन्।b
१६ तपाईंको पति वा पत्नी छैन भने आफ्नो परिवारको उन्नतिका लागि तपाईं के गर्न सक्नुहुन्छ? पारिवारिक अध्ययन गर्न, सभामा र क्षेत्र सेवकाईमा उपस्थित हुन तपाईं लगनशील हुनुपर्छ। यद्यपि, विशेषगरि अनुशासन दिनु कठिन चुनौती हुनसक्छ। शायद आफ्नो प्रिय पति वा पत्नीको मृत्युको कारण तपाईं अझै शोकाकुल हुनुहुन्छ होला। अथवा वैवाहिक बन्धन टुक्रिएकोमा दोषी भावना वा रीसले तपाईंलाई छाडेको छैन होला। छोराछोरीमाथि पति पत्नी दुवैको कानुनी हक हुनसक्छ। यस्तो अवस्थामा शायद तपाईंको छोरा वा छोरीले तपाईंलाई छोडेर तपाईंसित छुट्टिने वा पारपाचुके गर्ने पति वा पत्नीसित बस्न रुचाउला भनेर तपाईं त्रसित हुनुहुन्छ होला। त्यस्ता परिस्थितिहरूले गर्दा सन्तुलित अनुशासन दिन भावनात्मक रूपमा कठिन हुनसक्छ। तथापि, “छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ” भनेर हामीलाई बाइबलले बताउँछ। (हितोपदेश २९:१५) अतः दोषी भावना, ग्लानी वा पूर्व पति वा पत्नीको भावनात्मक दबाब सामू नलत्तिनुहोस्। व्यवहारिक र सुसंगत स्तर निर्धारण गर्नुहोस्। बाइबलका सिद्धान्तहरूको सम्झौता नगर्नुहोस्।—हितोपदेश १३:२४.
१७ यद्यपि, आमाले आफ्नो छोरालाई प्रतिस्थापित पति अर्थात् घरमूली जस्तै व्यवहार गर्न थालिन् अथवा छोरीलाई आफ्नो विश्वासपात्रलाई जस्तै आन्तरिक समस्याहरू बताउन थालिन् भने कठिनाइ आउन सक्छ। त्यसो गर्नु अव्यवहारिक हो र त्यसले बच्चालाई अन्योलमा पार्न सक्छ। आमा वा बाबु र छोराछोरीको भूमिका प्रष्ट नहुँदा अनुशासन उलङ्घन हुन सकिन्छ। आमा वा बाबु तिनीहरू होइनन् तर तपाईं हुनुहुन्छ भनी प्रष्ट पार्नुहोस्। यदि तपाईं बाइबल आधारित सल्लाह खाँचो परेकी आमा हुनुहुन्छ भने प्राचीनहरू अथवा पाको बहिनीहरूको सल्लाह लिनुहोस्।—तितस २:३-५ तुलना गर्नुहोस्।
१८ त्यस्तैगरि सौतेलो परिवारहरूले पनि चुनौतीहरूको सामना गर्छन्। सौतेनी आमा वा बाबुहरूले “सौतेनी छोराछोरीहरूबाट तत्काल स्नेह” प्रायः कमै पाएको महसुस गर्छन्। उदाहरणको लागि, साक्खै छोराछोरीको पक्ष लिए जस्तो मात्र देखिंदा पनि सौतेनी छोराछोरी निकै संवेदनशील हुनसक्छन्। (उत्पत्ति ३७:३, ४ तुलना गर्नुहोस्।) वास्तवमा, सौतेनी छोराछोरीहरू आमा वा बाबुको बिछोडको दुःखले पिल्सिएका हुन सक्छन् र सौतेनी आमा वा बाबुलाई माया गर्नु आफ्नो साक्खै आमा वा बाबुलाई धोका दिएको ठहरिनेछ भनेर डराइरहेका हुनसक्छन्। आवश्यक अनुशासन दिन खोज्दा ‘तपाईं मेरो जन्मदिने आमा [वा बाबु] हुनुहुन्न’ भन्ने कठोर जवाफ आउनसक्छ।
१९ हितोपदेश २४:३ ले यसो भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझ-शक्तिले त्यसलाई सुरक्षित राख्छ।” हो, सौतेलो परिवार सफल पार्न सबैले बुद्धि र समझदारिता देखाउनुपर्छ। परिस्थिति बद्लिसक्यो भनेर मानिलिन बच्चाहरूलाई प्रायः दुःखदायी हुनसक्छ। तर समयमा तिनीहरूले मानिलिनै पर्छ। सौतेनी आमाबाबुले पनि त्यस्तैगरि धैर्य धारण गर्न र सहानुभूतिशील हुन सिक्नुपर्छ। बच्चाहरूले आफूलाई तिरस्कार गरेजस्तो लागेमा तुरुन्तै अप्रसन्न हुनुहुँदैन। (हितोपदेश १९:११; उपदेशक ७:९) अनुशासकको भूमिका निभाउनु अघि सौतेनी छोरा वा छोरीसित मित्रता गाँस्नेतर्फ लाग्नुहोस्। त्यस्तो सम्बन्ध स्थापना नभएसम्म साक्खै आमा वा बाबुलाई नै अनुशासन दिन लगाउनु पनि केहीले बेस पाएका छन्। तनावहरू खडा हुँदा कुरा गर्ने यत्न गरिहाल्नु पर्छ। यस सम्बन्धमा हितोपदेश १३:१० ले भन्छ, “सरसल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ।”c
आफ्नो परिवारको छुटकाराको लागि निरन्तर परिश्रम गरिरहनुहोस्!
२० बलियो मसीही परिवारहरू कुनै संयोगको फल होइन। आफ्नो परिवारको छुटकाराको लागि तपाईं परिवारका शिरहरूले निरन्तर परिश्रम गर्नैपर्छ। हानिकारक गुणहरू अथवा संसारिक प्रवृत्तिहरूप्रति सतर्क हुनुहोस्। वचन, चालचलन, आचरण, प्रेम, विश्वास र शुद्धतामा राम्रो उदाहरण बसाल्नुहोस्। (१ तिमोथी ४:१२) परमेश्वरको आत्माको फल प्रकट गर्नुहोस्। (गलाती ५:२२, २३) छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउने तपाईंको प्रयत्नलाई धैर्य, अरूप्रतिको विचारशीलता, क्षमा र कोमलताले थप बल प्रदान गर्नेछ।—कलस्सी ३:१२-१४.
२१ परमेश्वरको मदतद्वारा घरभित्र रमाइलो अनि न्यानो वातावरण कायम राख्ने कोशिश गर्नुहोस्। सपरिवार एकसाथ समय बिताउनुहोस्, कम्तिमा एकचोटि मात्र भए पनि दिनमा सँगै खाना खाने कोशिश गर्नुहोस्। मसीही सभाहरू, क्षेत्र सेवकाई र पारिवारिक अध्ययन पनि आवश्यक छन्। यद्यपि, “हाँस्ने एउटा समय . . . नाँच्ने एउटा समय” छ। (उपदेशक ३:१, ४) हो, स्वस्थकर मनोरञ्जनहरूका लागि समय छुट्ट्याउनुहोस्। सङ्ग्राहलय, चिडियाखाना र त्यस्तै अन्य ठाउँहरूमा घुम्न जानु पूरै परिवारको लागि रमाइला कुराहरू हुन्। अथवा टिभि बन्द गरेर तपाईं गीत गाउन, सङ्गीत सुन्न, खेल खेल्न र कुरा गर्न सक्नुहुन्छ। यसले परिवारलाई घनिष्ठ हुन मदत गर्नसक्छ।
२२ “प्रभुको योग्य चालमा [चल्दै] र हरेक असल काममा फलिफाप हुँदै” सबै मसीही परिवारहरूले यहोवालाई पूर्ण प्रसन्न राख्ने प्रयत्न गर्दै रहून्। (कलस्सी १:१०) आफ्नो परिवारलाई परमेश्वरको वचनको आज्ञाकारितामा आधारित बलियो जगमा बसाल्नुहोस्। (मत्ती ७:२४-२७) र आफ्नो छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न तपाईंले गर्नुभएको प्रयासले यहोवाको अनुमोदन पाउनेछ भनी निश्चिन्त हुनुहोस्।—एफिसी ६:४. (w94 7/15)
[फुटनोटहरू]
a सेप्टेम्बर ८, १९९२, अवेक! को “बाइबलको दृष्टिकोण: ‘अनुशासनको छडी’—के पुरानो भइसक्यो?” लेख हेर्नुहोस्।
b सेप्टेम्बर १५, १९८०, द वाचटावर को पृष्ठ १५-२६ हेर्नुहोस्।
c अक्टोबर १५, १९८४, द वाचटावर को पृष्ठ २१-५ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ आफ्नो परिवारको उन्नतिका लागि पति-पत्नी दुवैले कसरी एकअर्कालाई सहयोग गर्न सक्छन्?
▫ छोराछोरीको केही भावनात्मक आवश्यकताहरू के के हुन् र यसलाई कसरी पूरा गर्न सकिन्छ?
▫ परिवारको शिरले कसरी औपचारिक र अनौपचारिक दुवै तरिकामा आफ्नो छोराछोरीलाई सिकाउन सक्छन्?
▫ आमाबाबुले कसरी आफ्नो छोराछोरीलाई धार्मिकतामा अनुशासन दिन सक्छन्?
▫ एकल परिवार र सौतेलो परिवारको हितका लागि के गर्न सकिन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. आज आमाबाबुहरूले कस्ता चुनौतीहरूको सामना गर्छन्?
३, ४. (क) कुन कुराले गर्दा बाबुको भूमिका घट्न थाल्यो? (ख) मसीही बाबुहरू किन परिवार पाल्ने व्यक्ति मात्रै भएर पुग्दैन?
५. आफ्नो परिवारको छुटकाराको लागि मसीही पत्नीहरूले कसरी काम गर्न सक्छन्?
६. आफ्ना छोराछोरीको भावनात्मक वृद्धिमा आमाबाबुहरूले कस्तो भूमिका निभाउँछन्?
७, ८. (क) यहोवा परमेश्वर र उहाँको पुत्रबीच बलियो बन्धनको के प्रमाण छ? (ख) बाबुहरूले आफ्ना छोराछोरीसित कसरी मायालु बन्धन गाँस्न सक्छन्?
९. (क) ईश्वरभीरु इस्राएली आमाबाबुहरूले कसरी आफ्नो परिवारको आध्यात्मिक आवश्यकताहरूको हेरचाह गर्थे? (ख) अनौपचारिक रूपमा छोराछोरीहरूलाई सिकाउने कस्ता मौकाहरू मसीहीहरूसित छन्?
१०. पारिवारिक अध्ययन कहिलेकाहीं किन चुनौती हुनसक्छ र आमाबाबुसित कस्तो दृढता हुनैपर्छ?
११. पारिवारिक अध्ययनलाई कसरी रमाइलो बनाउन सकिन्छ?
१२. अनुशासनमा किन सधैं शारीरिक दण्ड मात्र समावेश हुँदैन?
१३. छोराछोरीलाई कसरी अनुशासन दिइनुपर्छ?
१४. क्रोधित हुने अवस्था देखिएमा आमाबाबुले के गर्नुपर्छ?
१५. एकल परिवारका छोराछोरीहरूलाई कसरी मदत पुऱ्याउन सकिन्छ?
१६. (क) पति वा पत्नी नभएकाहरूले आफ्नो परिवारका लागि के गर्नुपर्छ? (ख) अनुशासन किन कठिन हुनसक्छ तर त्यो किन दिनैपर्छ?
१७. एकल परिवारमा कसरी पारिवारिक सदस्यको भूमिका अस्पष्ट हुनसक्छ र यस्तो हुन नदिन के गर्न सकिन्छ?
१८, १९. (क) सौतेलो परिवारले सामना गर्ने केही चुनौतीहरू के के हुन्? (ख) सौतेलो परिवारमा आमाबाबु तथा छोराछोरीले कसरी बुद्धि र समझदारी देखाउन सक्छन्?
२०. मसीही परिवारका शिरहरूले निरन्तर के गरी नै रहनुपर्छ?
२१. कुनै व्यक्तिको घरमा कसरी न्यानो अनि रमाइलो वातावरण कायम राख्न सकिन्छ?
२२. आफ्नो परिवारको छुटकाराको लागि किन कडा परिश्रम गर्नुपर्छ?
[पृष्ठ २९-मा भएको चित्र]
बच्चाको भावनात्मक विकासका लागि बाबुको माया र स्वीकृति महत्त्वपूर्ण हुन्छ