प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ९/१ पृ. ३-५
  • विकासवादी सिद्धान्त पुर्पक्षमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विकासवादी सिद्धान्त पुर्पक्षमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विरोधाभासपूर्ण बयान
  • के विकासवाद बौद्धिक छनौट हो?
  • विश्‍वासको कुरा
  • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?
    ब्यूँझनुहोस्‌!—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ९/१ पृ. ३-५

विकासवादी सिद्धान्त पुर्पक्षमा

जैविक मूलहरूको पुनःपरीक्षण गरिनुपर्छ भनी समर्पित विकासवादीहरू अहिले आवाज उठाइरहेका छन्‌

हत्यासम्बन्धी पुर्पक्षमा तपाईंले वकालत गरिरहनुभएको यसो कल्पना गर्नुहोस्‌। प्रतिवादीले आफू निर्दोष छु भनी निर्धक्क भएर भन्छ अनि उसको पक्षमा बयान दिन साक्षीहरू अघि बढ्‌छन्‌। तर तिनीहरूको बयान एक अर्कोसित टक्कर खाएको तपाईंले याद गर्नुहुन्छ। त्यसपछि, प्रतिवादी साक्षीहरूलाई कठघरामा उभिन बोलाईंदा तिनीहरूको बयान परिवर्तन हुन्छ। वकिलको हैसियतमा के तपाईं तिनीहरूका बयानहरूलाई सशक्‍त ठान्‍नुहुन्छ? दोषीलाई पूर्णतया दोषमुक्‍त गर्न के तपाईं प्रेरित हुनुहुनेछ? सम्भवतः हुनुहुनेछैन, कारण प्रतिवादीको पक्षमा दिइने प्रत्येक विरोधाभासपूर्ण बयानले उसको विश्‍वसनीयतालाई कमजोर तुल्याउँछ।

विकासवादी सिद्धान्तको अवस्था पनि ठीक त्यस्तै नै छ। जीवनको सुरुआतबारे विकासवादको पक्षमा थुप्रै साक्षीहरूले बेग्लाबेग्लै बयानहरू प्रस्तुत गरेका छन्‌। तर राम्ररी केलाएर हेर्ने हो भने, के तिनीहरूको बयान भरोसायोग्य साबित हुनेछन्‌? त्यस सिद्धान्तलाई समर्थन गर्नेहरू के एक आपसमा सहमत छन्‌?

विरोधाभासपूर्ण बयान

जीवनको सुरुआत कसरी भयो? शायद यस प्रश्‍नले जति अरू कुनै प्रश्‍नले तर्कवितर्क र विवाद खडा गरेको छैन होला। यद्यपि, विवाद विकासवाद र सृष्टिको बीचमा मात्र होइन; अधिकांश विवाद त विकासवादीहरूको बीचमा भइरहेको छ। वास्तवमा, विकासवाद कसरी भयो, कहाँ सुरु भयो, कसले र कुन कुराले गर्दा भयो अनि त्यो प्रक्रिया हुन कति समय लाग्यो भन्‍ने जस्ता सम्पूर्ण विवरणहरूमाथि चर्को मतभिन्‍नता भइरहेको छ।

जीवनको सुरुआत तातो जैविक “झोल” मा भयो भनी वर्षौंदेखि विकासवादीहरूले दाबी गर्दै आएका थिए। समुद्रको फिंजले गर्दा जीवन सुरु भयो होला भनी अहिले केही विकासवादीहरू विश्‍वास गर्छन्‌। तातो पानीको जलगत फोहोराहरूमा जीवनको सुरुआत भयो होला भनी केहीले अनुमान लगाएका छन्‌। पृथ्वीमा झरेका उल्काहरूद्वारा जीवित जीवाणुहरू आए भन्‍ने केहीको परिकल्पना छ। अरूको भनाइअनुसार शायद धूमकेतु पृथ्वीमा ठोक्किन गई वायुमण्डलमा आएको परिवर्तनले गर्दा पृथ्वीमा जीवन सुरुआत भएको हुन सक्छ। एक अनुसन्धानकर्त्ता यसो भन्छन्‌, “फलामको ठूलो धूमकेतु पृथ्वीमा हिर्काउनुहोस्‌ अनि तपाईंले निश्‍चय नै पृथ्वीमा अचम्मका कुराहरू भएको देख्न सक्नु हुन्छ।”

जीवनको सुरुआतको प्रकृतिमाथि पनि पुनः ध्यान दिईंदैछ। टाइम पत्रिकाले यसो भन्छ: “पहिले अनुमान गरिएजस्तै शान्त, अनुकूल अवस्थामा जीवन उत्पत्ति भएन तर ज्वालामुखीको विष्फोटन र पुच्छ्रे तारा तथा उल्काको उथलपुथल भएको नारकीय आकाशमुनि भयो।” त्यस्तो भद्रगोलको माझमा जीवन पैदा हुने हो भने सम्पूर्ण प्रक्रिया पहिले सोचेभन्दा छोटो समयावधिमा भएको हुनुपर्छ भनी केही वैज्ञानिकहरू अहिले भन्छन्‌।

“यदि परमेश्‍वरको अस्तित्व छ” भने जीवनको सुरुआतमा परमेश्‍वरले कस्तो भूमिका खेले त भन्‍ने विषयमा पनि वैज्ञानिकहरूका बेग्लाबेग्लै विचारधाराहरू पाइन्छन्‌। सृष्टिकर्त्ताको हस्तक्षेपबिना जीवनको सुरुआत भयो भनी कोही भन्छन्‌ भने अर्कोतिर, परमेश्‍वरले प्रक्रिया सुरु गर्नुभयो अनि त्यसपछि विकासवादद्वारा जीवनको विकास हुन दिनु भयो भनी कोही भन्छन्‌।

जीवनको सुरुआत भइसकेपछि विकास कसरी भयो? यस सन्दर्भमा पनि विरोधाभासपूर्ण कथाहरू पाइन्छन्‌। दी ओरिजिन अफ स्पिसिज प्रकाशित भएको एक शताब्दीपछि सन्‌ १९५८ मा विकासवादी सर जुलियन हक्स्‌लीले यसो भने: “डार्विनको महान आविष्कार अर्थात्‌ प्राकृतिक छनौटसम्बन्धी सर्वव्यापी सिद्धान्त अधिकांश विकासवादी परिवर्तनहरूको कारक तत्त्वको रूपमा अन्ततः प्रमाणित भएको छ।” यद्यपि, चौबीस वर्षपश्‍चात्‌ विकासवादी माइकल रूजले यस्तो लेखे: “डार्विनका सिद्धान्तहरूमा आधारित कुनै पनि विकासवादी सिद्धान्त र अझ विशेषगरि प्राकृतिक छनौटलाई मूल कुञ्जी मान्‍ने विकासवादी सिद्धान्त अपूर्ण हुनाले असाध्यै भ्रमपूर्ण छ भनी थुप्रै जीवशास्त्रीहरूले तर्क गर्न थालेका छन्‌।”

टाइम पत्रिकाअनुसार विकासवादी सिद्धान्तलाई समर्थन गर्ने “थुप्रै ठोस तथ्यहरू” छन्‌ भने अर्कोतिर, विकासवाद भनेको “थुप्रै त्रुटिहरू र अपुग प्रमाणहरू प्रदान गर्न विरोधाभासपूर्ण सिद्धान्तहरू पनि प्रशस्त भएको” जटिल विवरण पनि हो। त्यस मुद्दा टुङ्‌गियो भन्‍नुको सट्टा जैविक मूलहरूको पुनःपरीक्षण गरिनुपर्छ भनी समर्पित विकासवादीहरू अहिले आवाज उठाइरहेका छन्‌।

तसर्थ, विशेषगरि जीवनको सुरुआतसम्बन्धी विकासवादको विवाद एकरूप बयानहरूमा आधारित छैन। वैज्ञानिक टि. एच. जनबीको अवलोकनअनुसार विकासवादको समर्थन गर्ने व्यक्‍तिहरूले “वर्षौंको दौडान थुप्रै त्रुटिपूर्ण सिद्धान्तहरू विकास गर्नुको साथै इन्कार पनि गरेका छन्‌ तर अहिलेसम्म कुनै एउटा सिद्धान्तमा तिनीहरू सहमत हुन सकेका छैनन्‌।”

चाखलाग्दो कुरा, चार्ल्स डार्विनले त्यस्तो मतभिन्‍नताको आशा गरेका थिए। दी ओरिजिन अफ स्पिसिज पुस्तकको भूमिकामा उनले यसप्रकार लेखे: “यस पुस्तकमा तथ्यको प्रमाणस्वरूप देखाउन नसकिने एउटै पनि बुँदा छैन भनी मलाई राम्ररी थाहा छ। फलस्वरूप ती निष्कर्षहरू मेरा निष्कर्षहरूभन्दा प्रायजसो ठीक विपरीत देखिनेछन्‌।”

निस्सन्देह, त्यस्ता विरोधाभासपूर्ण बयानहरूले विकासवादी सिद्धान्तको विश्‍वसनीयतामाथि प्रश्‍नचिह्न खडा गर्छ।

के विकासवाद बौद्धिक छनौट हो?

माइलस्टोन्स्‌ अफ हिस्ट्री पुस्तकले टिप्पणी गरेअनुसार विकासवादी सिद्धान्त सुरुदेखि नै “थुप्रै मानिसहरूको लागि रोचक थियो किनभने जात जातअनुसार सृष्टि भयो भन्‍ने सिद्धान्तभन्दा त्यो निश्‍चय पनि बढी वैज्ञानिक देखिन्थ्यो।”

यसको अलावा, केही विकासवादीहरूका हठवादी वक्‍तव्यहरू आकर्षक हुन सक्छन्‌। उदाहरणको लागि, जात जातअनुसार सृष्टि भयो भन्‍ने धारणालाई “गहिरिएर ध्यान दिनु बेकार छ” भनी वैज्ञानिक एच. एस. शेल्टन मान्छन्‌। जीववैज्ञानिक रिचर्ड डकिन्स्‌ सोझै यसो भन्छन्‌: “विकासवादमा विश्‍वास नगर्ने व्यक्‍ति अज्ञानी, मूर्ख अथवा बौलाहा हो।” त्यस्तैगरि, प्राध्यापक रेनी डुबोस भन्छन्‌: “आकाशीय पिण्डहरूदेखि लिएर मानवहरू लगायत विश्‍वब्रह्‍माण्डका सम्पूर्ण कुराहरू विकासवादी प्रक्रियाद्वारा विकसित भए भन्‍ने तथ्यलाई अधिकांश प्रबुद्ध व्यक्‍तिहरूले अहिले मानी लिन्छन्‌।”

उपरोक्‍त वक्‍तव्यहरूबाट बुद्धि हुने जति सबैले विकासवादको सिद्धान्तलाई सहजै स्वीकार्छन्‌ जस्तो देखिन्छ। आखिरमा, त्यसो गर्नुको अर्थ उनी “मूर्ख” नभई “प्रबुद्ध” हुनु हो। यद्यपि, विकासवादको सिद्धान्तलाई समर्थन नगर्ने उच्चशिक्षित स्त्री तथा पुरुषहरू छन्‌। द नेक अफ द जिराफ पुस्तकमा फ्रान्सिस हिचिङ्‌ग यसो लेख्छन्‌: “मैले व्यक्‍तिगत शङ्‌काहरू भएका थुप्रै वैज्ञानिकहरू भेट्टाएँ भने डार्विनको विकासवादी सिद्धान्त पटक्कै वैज्ञानिक छैन भन्‍ने मुठीभर वैज्ञानिकहरू पनि पाएँ।”

अति प्रतिष्ठित बेलाइती वैज्ञानिक, चन्द्र विक्रमासिङ्‌गेको विचारधारा पनि त्यस्तै छ। उनी भन्छन्‌, “डार्विनको विकासवादी सिद्धान्तका आधारभूत नीतिहरूको कुनै प्रमाण छैन। त्यो सन्‌ १९६० तिरको एउटा सामाजिक लहर थियो र मेरो विचारमा त्यसले वैज्ञानिक क्षेत्रमा नराम्रा परिणामहरू ल्याएको छ।”

विकासवादीहरूले समर्थन गरेका तर्कहरूलाई टी. एच. जनबीले जाँचे। उनी भन्छन्‌, “हामीले विश्‍वास गर्दै आएकोभन्दा परिस्थिति एकदमै भिन्‍न छ। जीवनको सुरुआतजस्तो जटिल सिद्धान्तलाई समर्थन गर्ने प्रमाणहरू असाध्यै थोरै र अपूर्ण छन्‌।”

तसर्थ, विकासवादी सिद्धान्तको विरोध गर्ने व्यक्‍तिहरूलाई सहजै “अज्ञानी, मूर्ख अथवा बौलाहा” भन्‍नु मिल्दैन। विकासवादलाई चुनौती दिने विचारधाराहरूको सम्बन्धमा कट्टरपन्थी विकासवादी जर्ज गेलोर्डले समेत यो कुरा मानी लिन करै लाग्यो: “यी दृष्टिकोणहरूलाई हाँसेर टारिदिनु अथवा ठट्टामा उडाइदिनु अवश्‍य पनि गलत हुनेछ। विकासवादको सिद्धान्तलाई इन्कार गर्नेहरू प्रभावशाली र बुद्धिमान विद्यार्थीहरू थिए (र हुन्‌)।”

विश्‍वासको कुरा

केही व्यक्‍तिहरूको सोचाइमा विकासवादमाथिको विश्‍वास तथ्यमा आधारित छ भने सृष्टिलाई मान्‍नु विश्‍वासमा आधारित छ। यो सत्य हो, कुनै पनि मानिसले परमेश्‍वरलाई देखेको छैन। (यूहन्‍ना १:१८; २ कोरिन्थी ५:७ तुलना गर्नुहोस्‌।) यद्यपि, यस सन्दर्भमा विकासवादी सिद्धान्तको बलियो आधार छैन किनभने त्यो त्यस्ता घटनाहरूमा आधारित छन्‌ जुन नता कुनै मानवले देखेको छ न कहिल्यै दोहोरिएका छन्‌।

उदाहरणको लागि, नयाँ जीव सुरुआत गर्ने लाभकारी उत्परिवर्तनहरू वैज्ञानिकहरूले कहिल्यै अवलोकन गरेका छैनन्‌; यद्यपि त्यही प्रक्रियाद्वारा नयाँ जातिहरू अस्तित्वमा आएको हुनुपर्छ भनी वैज्ञानिकहरू आश्‍वस्त छन्‌। निर्जीव पदार्थबाट जीवन सुरुआत भएको तिनीहरूले देखेका छैनन्‌; यद्यपि जीवनको सुरुआत त्यसरी नै भयो भनी तिनीहरू जिद्दी गर्छन्‌।

त्यस्ता प्रमाणहरूको अभावले गर्दा टी. एच. जनबी विकासवादको सिद्धान्तलाई “केवल ‘विश्‍वास’” भन्छन्‌। त्यो “डार्विनरचित सिद्धान्त” हो भनी भौतिकशास्त्री फ्रेड होइल भन्छन्‌। डा. इभान शुट अझ बलियो वक्‍तव्य दिन्छन्‌। उनी भन्छन्‌, “विकासवादको सिद्धान्तभन्दा सृष्टिको विवरणको रहस्य बताउन सजिलो हुन्छ जस्तो मलाई लाग्छ।”

अन्य विशेषज्ञहरू यसमा सहमति जनाउँछन्‌। खगोलशास्त्री रबर्ट जास्ट्रो मानी लिन्छन्‌: “मानव प्रकृतिलाई विचार गर्दा तातो पानीको पोखरीमा रसायनिक तत्त्वहरूको मिश्रणबाट मानिसको सृष्टि भयो भन्‍ने विवरण बाइबलमा दिइएको मानिसको सृष्टिको विवरण जत्तिकै चमत्कारपूर्ण छ।”

उसोभए, जीवन सृष्टि नै गरिएको हो भन्‍ने धारणालाई थुप्रैले अझै पनि किन इन्कार गर्छन्‌ त? (w94 9/1)

[पृष्ठ ३-मा भएको चित्र]

केही व्यक्‍तिहरूका हठवादी वक्‍तव्यहरू आकर्षक हुन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने