प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ९/१ पृ. ५-७
  • विज्ञान, धर्म र सत्यको खोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विज्ञान, धर्म र सत्यको खोज
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • धर्मले सृष्टिको बदनाम गर्छ
  • शक्‍तिको दुरुपयोग
  • साँचो धर्मको विजय
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ९/१ पृ. ५-७

विज्ञान, धर्म र सत्यको खोज

“थुप्रै झूटा धर्महरूको फैलावटले . . . मलाई पक्कै केही असर गरेको थियो।”—चार्ल्स डार्विन

उन्‍नाइसौं शताब्दीको प्रारम्भतिर विज्ञान र धर्मले मित्रैलो सम्बन्धको आनन्द उठाए। डार्विन: बिफोर एण्ड आफ्टर नामक पुस्तकले यसो भन्छ: “वैज्ञानिक लेखोटहरूमा समेत परमेश्‍वरबारे खुल्लमखुल्ला र इमान्दार भएर कुरा गर्न लेखकहरू धक मान्दैनन्‌ थिए।”

तर, डार्विनको ओरिजिन अफ स्पिसिज ले त्यो परिस्थिति परिवर्तन गर्न योगदान दियो। विज्ञान र विकासवादले एउटा त्यस्तो सम्बन्ध गाँसे जसबाट धर्म अनि परमेश्‍वरको आवश्‍यकता हटाइयो। सर जुलियन हक्स्‌ली यसो भन्छन्‌: “विकासवादी सोचाइमा ईश्‍वरीय सृष्टिकर्त्ताको अस्तित्व न आवश्‍यक छ न उचित नै छ।”

आज, विकासवादी सिद्धान्त विज्ञानको अपरिहार्य आधारशिला हो भनी दाबी गरिन्छ। यस्तो सम्बन्धको मूलभूत कारण भौतिकशास्त्री फ्रेड होइल यसरी बताउँछन्‌: “कट्टरपन्थी वैज्ञानिकहरू सत्यको खोजी गर्नुभन्दा अतितका अतिवादी धार्मिक दृष्टिकोणहरू रोक्न बढी चिन्तित छन्‌।” कस्ता अतिवादी धार्मिक दृष्टिकोणहरूले गर्दा विज्ञानको निम्ति धर्म अप्रिय हुन गयो?

धर्मले सृष्टिको बदनाम गर्छ

बाइबललाई समर्थन गर्ने कथित प्रयासमा “सृष्टिमा विश्‍वास राख्ने” व्यक्‍तिहरूले कट्टरपन्थी प्रोटेस्टेन्टहरूसित प्रायजसो मिलेर पृथ्वी र ब्रह्‍माण्ड १०,००० वर्ष पुरानो भएको छैन भनी ढिपी कसेका छन्‌। यस्ता अतिवादी विचारधाराहरूले गर्दा भूगर्भशास्त्रीहरू, अन्तरिक्षयात्रीहरू र भौतिकशास्त्रीहरूको आलोचना सहनु परेको छ किनभने त्यो विचारधारा तिनीहरूका आविष्कारहरूसित पटक्कै मेल खाँदैन।

तर वास्तवमा बाइबलले के भन्छ? “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) यसमा कति समय लाग्यो भनेर स्पष्टसित उल्लेख गरिएको छैन। उत्पत्ति १:३-५ भन्दा अघिसम्म सृष्टिको “पहिलो दिन” को उल्लेख समेत गरिएको छैन। पहिलो “दिन” सुरु हुँदा “आकाश र पृथ्वी” सृष्टि भइसकेका थिए। त्यसकारण, वैज्ञानिकहरूले दाबी गरेझैं आकाश र पृथ्वी के लाखौं वर्ष पुरानो हुन सक्छ? हुन पनि सक्छ। कति समय लाग्यो भनेर बाइबलले उल्लेखै गरेको छैन।

अर्को अतिवादी धार्मिक दृष्टिकोण हो, कसै कसैले सृष्टिको छ ‘दिन’ बारे लगाएको अर्थ। यी दिनहरू शाब्दिक हुन्‌ र सृष्टि गर्न जम्मा १४४ घण्टा मात्र लाग्यो भनी केही कट्टरपन्थीहरू ढिपी कस्छन्‌। यसले वैज्ञानिकहरूमा शङ्‌का उत्पन्‍न गराउँछ किनभने यस्ता दाबीहरू सुस्पष्ट वैज्ञानिक अवलोकनहरूसित मिल्दैनन्‌ भनी तिनीहरू महसुस गर्छन्‌।

तर, विज्ञानसित असहमत हुने यस्ता विवरणहरू बाइबलको नभई कट्टरपन्थीहरूका स्पष्टीकरणहरू हुन्‌। प्रत्येक सृष्टिको “दिन” २४ घण्टा लामो थियो भन्‍ने कुरा बाइबलले बताउँदैन; बरु “परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको” अझ लामो “दिन” मा यी ‘दिनहरू’ समाविष्ट छन्‌ र बाइबलका सबै ‘दिनहरू’ २४ घण्टे मात्र थिएनन्‌ भनेर देखाउँछ। (उत्पत्ति २:४) केही दिनहरू हजारौं वर्ष लामो पनि हुन सक्छन्‌।a

तसर्थ, सृष्टिमा विश्‍वास राख्नेहरू र कट्टरपन्थीहरूले सृष्टिको विचारधारालाई बदनाम गरेका छन्‌। ब्रह्‍माण्डको आयु र सृष्टिका ‘दिनहरू’ को विवरण न तार्किक विज्ञान न बाइबलसित नै मिल्छ। तर, यसबाहेक अन्य थुप्रै अतिवादी धार्मिक दृष्टिकोणहरूले गर्दा विज्ञानको लागि धर्म अप्रिय हुन गएको छ।

शक्‍तिको दुरुपयोग

सम्पूर्ण इतिहासभरि अधिकतम अन्यायको जिम्मेवार धर्म भएको छ। उदाहरणको लागि, मध्ययुगतिर युरोपको तानाशाही शासनलाई चर्चको समर्थन जनाउन सृष्टिको सिद्धान्तलाई बङ्‌ग्‌याइयो। त्यसको अर्थ थियो, ईश्‍वरीय आदेशअनुसार मानिस धनी या गरीब हुन्छ। दी इन्टेलिजेन्ट युनिभर्स नामक पुस्तकले यसरी बयान गर्छ: “पारिवारिक सम्पत्तिबाट अलिकता मात्र पाउनु अथवा पाउँदै नपाउनु ‘परमेश्‍वरको व्यवस्था’ हो भनी धनी मानिसका जवान छोराहरूलाई भनिन्थ्यो भने ‘परमेश्‍वरले जुन अवस्थामा बोलाउनुभयो’ त्यही अवस्थामा सन्तुष्ट हुन कारिन्दालाई निरन्तर आग्रह गरिन्थ्यो।”

“अतितका अतिवादी धार्मिक दृष्टिकोणहरू” लाई पुनः अपनाउन थुप्रै मानिसहरू डराउनुको कारण बुझ्न कुनै गाह्रो पर्दैन। मानिसको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुको सट्टा धर्मले त्यसकै नाजायज फाइदा उठाएको छ। (इजकिएल ३४:२) इन्डिया टुडे पत्रिकाको सम्पादकीयले यस्तो टिप्पणी गर्छ: “शताब्दीयौंदेखि यसले स्थापना गरेको रिकर्डलाई दृष्टिगत गर्दा धर्मले अलिकता पनि विश्‍वसनीयता हासिल गर्न सक्नु छक्कलाग्दो कुरा हो। . . . सर्वशक्‍तिमान सृष्टिकर्त्ताको नाउँमा . . . आफ्ना सह-मानवहरूमाथि मानिसहरूले घीनलाग्दा उत्पातहरू मच्चाएका छन्‌।”

झूटा धर्मको डरलाग्दो विवरणले डार्विनको सोचाइमा निकै प्रभाव पाऱ्‍यो। उनले लेखे: “मैले बिस्तारै बिस्तारै मसीही धर्मलाई ईश्‍वरीय प्रकटीकरणको रूपमा विश्‍वास गर्न छाडें। पृथ्वीका निकै ठाउँहरूमा झूटा धर्महरू डढेलोजस्तै द्रूत गतिले फैलिएको देखेर मलाई निकै असर परेको थियो।”

साँचो धर्मको विजय

धार्मिक कपट यस संसारको लागि कुनै नौलो कुरा होइन। येशूले शक्‍तिका भोका ती समकालीन धार्मिक नेताहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू . . . बाहिर भने . . . धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र अत्याचारले भरिएका छौ।”—मत्ती २३:२८.

तर, साँचो मसीही धर्म “संसारको होइनँ।” (यूहन्‍ना १७:१६) यसका अनुयायीहरू भ्रष्ट धर्म र राजनीतिमा भाग लिंदैनन्‌; नता सृष्टिकर्त्ताको अस्तित्वलाई इन्कार गर्ने दर्शनशास्त्रहरूद्वारा बहकिन्छन्‌। प्रेरित पावलले यसप्रकार लेखे: “संसारको ज्ञान परमेश्‍वरको अघि मूर्खता हो।”—१ कोरिन्थी ३:१९.

यद्यपि, यसको अर्थ साँचो मसीहीहरू वैज्ञानिक कुराहरूमा बुद्धू हुन्छन्‌ भनेको होइन। यसको विपरीत, साँचो धर्मका अनुयायीहरू विज्ञानलाई कौतूहलतासाथ हेर्छन्‌। पुरातन अगमवक्‍ता यशैयाले यस्तो लेखे: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌?” (यशैया ४०:२६) त्यस्तैगरि, सृष्टिकर्त्तालाई अझ राम्ररी बुझ्न सकोस्‌ भनेर प्रकृति र ब्रह्‍माण्डका चमत्कारहरू खोजतलास गर्न अय्यूबलाई निमन्त्रणा दिइएको थियो।—अय्यूब ३८-४१ अध्यायहरू।

हो, सृष्टिकर्त्तामाथि विश्‍वास गर्नेहरू सृष्टिलाई आदरपूर्ण श्रद्धाले हेर्छन्‌। (भजनसंग्रह १३९:१४) यसबाहेक, भविष्यको उदेकलाग्दो आशाबारे सृष्टिकर्त्ता, यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरामा तिनीहरू भरोसा राख्छन्‌। (प्रकाश २१:१-४) मानिसको सुरुआत अथवा उसको भविष्य अन्धो संयोगमा आधारित छैन भनी लाखौं व्यक्‍तिहरूले बाइबल अध्ययनद्वारा सिकिरहेका छन्‌। मानिस बनाउनुमा यहोवाको उद्देश्‍य थियो र सारा आज्ञाकारी मानिसहरूको आशिष्‌को लागि त्यो उद्देश्‍य पूरा हुनेछ। यस विषयमा तपाईं आफैले खोजीनिती गर्न हामी आग्रह गर्छौं। (w94 9/1)

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित नोभेम्बर ८, १९८२ को अवेक! पृष्ठ ६-९ र इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ ५४५ हेर्नुहोस्‌। सृष्टिको सिद्धान्त तथा धर्म र बाइबलसित यसको मतभिन्‍नताको विषयमा अझ बढी जानकारीको लागि अवेक! मार्च ८, १९८३, पृष्ठ १२-१५ र मार्च २२, १९८३, पृष्ठ १२-१५ हेर्नुहोस्‌।

[पृष्ठ ६मा भएको पेटी]

प्रमाणहरूबारे अज्ञानी?

डार्विन रिट्राइड्‌—एन अपील टु रिजन नामक १९७१ मा प्रकाशित पुस्तकमा वकिल नर्मन म्याकबेथले यस्तो लेखे: “जीवविज्ञानको सम्बन्धमा यहोवाका साक्षीहरूले समेत निकै कुराहरू सिकेका छन्‌। विकासवादको विषयमा अवेक! को एउटा लेख पढेपछि म्याकबेथले यस्तो टिप्पणी गरे: “यसमा डार्विनवाद विरूद्ध विवेकी आलोचनाहरू देख्दा म छक्क परें।” यस विषयमा गरिएको व्यापक अनुसन्धान र सम्बन्धित विशेषज्ञहरूको टिप्पणीहरू देखेर लेखक यस्तो निष्कर्षमा पुगे: “जर्ज गेलार्ड सिम्पसनले अब, ‘. . . विकासवादमा विश्‍वास नगर्ने जति सबै वैज्ञानिक प्रमाणहरूबारे अज्ञानी छन्‌’ भन्‍नु मिल्दैन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने