हाम्रो जीवनमा परमेश्वरको उपासनाको सही स्थान
“प्रतिदिन म तपाईंलाई धन्यको भन्नेछु। र म तपाईंको नाउँको स्तुति सदा सर्वदा गर्नेछु।”—भजनसंग्रह १४५:२.
“म यहोवा तेरा परमेश्वर ऐकान्तिक भक्ति चाहने परमेश्वर हुँ।” (प्रस्थान २०:५ न्युव) मोशाले यहोवाको मुखबाट उपरोक्त घोषणा सुने र पछि इस्राएल राष्ट्रलाई सम्बोधन गर्दा त्यसलाई फेरि दोहोऱ्याए। (व्यवस्था ५:९) आफ्ना सेवकहरूले उहाँको मात्र उपासना गरेको यहोवा आशा गर्नुहुन्छ भन्ने कुरा मोशालाई निर्विवाद थाहा थियो।
२ मिस्र देश छोडेर सीनै पर्वतको नजीकै डेरा डालेका इस्राएलीहरू तथा “एक मिस्रित दल” ले अनौठो कुरा देखे। (प्रस्थान १२:३८) भर्खरै मात्र १० प्रहार अथवा विपत्तिहरूद्वारा अपमानित मिस्री देवताहरूको उपासनासँग त्यसको तुलना गर्न सकिंदैन थियो। मोशासमक्ष यहोवा उपस्थित हुनुहुँदा भयावह घटनाहरू भए: मेघ गर्जन, बिजुली र कानै चिर्ने तुरहीको आवाजले गर्दा पूरै शिविर थरथर काँप्यो। त्यसपछि पूरै पर्वत हल्लिएर त्यसबाट आगो अनि धुँवा निस्कियो। (प्रस्थान १९:१६-२०; हिब्रू १२:१८-२१) भइरहेका घटनाहरू असामान्य कुराहरू हुन् भनी कुनै इस्राएलीलाई अझ थप प्रमाणको आवश्यकता परेमा उसले अब त्यसको प्रमाण पनि पाउनै लागेको थियो। नभन्दै परमेश्वरको व्यवस्थाको दोस्रो प्रति लिएर मोशा पर्वतबाट ओर्ले। प्रेरित विवरणअनुसार “[मोशाको] मोहड़ा चम्केको तिनीहरूले देखे, र तिनको नजीक आउन तिनीहरू डराए।” निस्सन्देह त्यो अविस्मरणीय, अलौकिक अनुभव थियो!—प्रस्थान ३४:३०.
३ परमेश्वरको त्यस्तो विशिष्ट राष्ट्रमा यहोवाको उपासनाले कस्तो स्थान ओगट्छ भन्ने कुरामा शंकै थिएन। उहाँ तिनीहरूको उद्धारक हुनुहुन्थ्यो। आफ्नो जीवनका लागि समेत तिनीहरू यहोवाका ऋणी थिए। उहाँ तिनीहरूको विधायक पनि हुनुहुन्थ्यो। तर के तिनीहरूले यहोवाको उपासनालाई प्रथम स्थानमा राखे? अनि परमेश्वरका आधुनिक सेवकहरूबारे के भन्न सकिन्छ? तिनीहरूको जीवनमा यहोवाको उपासनाले कस्तो स्थान ओगटेको छ?—रोमी १५:४.
इस्राएलले गर्ने यहोवाको उपासना
४ उजाडस्थानमा पाल टाँगेर बसेका इस्राएललाई तपाईंले चराले जस्तै माथि आकाशबाट हेर्नुभयो भने के देख्नुहुन्थ्यो होला? उत्तर, दक्षिण, पूर्व, पश्चिममा तीन-तीन कुलको समूहमा विभाजित झण्डै ३० लाख मानिसहरूको विशाल तर सुव्यवस्थित पालहरू देख्नुहुन्थ्यो। अझ नजिकबाट नियाँलेर हेर्नुभएको भए तपाईंले शिविरको बीचमा अर्को सानो समूह पनि देख्नुहुन्थ्यो। पालहरूको यो सानो झुण्ड लेवी कुलका परिवारहरूको हो। अनि शिविरको ठीक मध्य भागमा ठूलो कपडाको पर्दाले छुट्याइएको एकदम भिन्न आकृति छ। त्यो “ज्ञानी” इस्राएलीहरूले यहोवाको योजनाअनुसार बनाएको “भेट हुने पाल” अर्थात् पवित्रस्थान थियो।—गन्ती १:५२, ५३; २:३, १०, १७, १८, २५; प्रस्थान ३५:१०.
५ उजाडस्थानको पैदल यात्राको दौडान शिविर बनाएको झण्डै ४० ठाउँमै इस्राएलले पवित्रस्थान खडा गरे र त्यो पूरै शिविरको केन्द्र हुन्थ्यो। (गन्ती अध्याय ३३) त्यसैले तिनीहरूको शिविरबीच यहोवा आफ्ना जनहरूसित हुनुहुन्छ भनी बाइबलले वर्णन गर्नु अति सुहाउँदो छ। “परमप्रभुको महिमाले पवित्रस्थान भरियो।” (प्रस्थान २९:४३-४६; ४०:३४; गन्ती ५:३; ११:२०; १६:३) आवर लिभिङ्ग बाइबल नामक पुस्तकले यस्तो टिप्पणी गर्छ: “धार्मिक उद्देश्यका लागि भेला हुने केन्द्र भएकोले यो वहनीय पवित्रस्थल सबै कुलहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। मरुभूमिमा बषौंसम्म भौंतारिदा यसले तिनीहरूलाई एकत्रित राख्यो र एकजूट भई कुनै पनि कदम चाल्न सम्भव बनायो।” योभन्दा महत्त्वपूर्ण कुरा, इस्राएलीहरूले आफ्नो सृष्टिकर्त्ताको उपासना गर्नु तिनीहरूको जीवनको केन्द्रीय भाग हो भनी पवित्रस्थानले लगातार स्मरण गराउँथ्यो।
६ इस्राएलीहरू प्रतिज्ञा गरेको देशमा आइपुगेपछि पनि पवित्रस्थान इस्राएलको उपासनाको केन्द्र नै रह्यो। (यहोशू १८:१; १ शमूएल १:३) समयमा, राजा दाऊदले स्थायी भवन बनाउने प्रस्ताव राखे। यो पछि मन्दिर साबित हुनगयो, जसको निर्माण तिनको पुत्र सुलेमानले गरेका थिए। (२ शमूएल ७:१-१०) समर्पणको दिन यहोवाको स्वीकृति जनाउन त्यस भवनलाई बादलले ढाक्यो। अनि सुलेमानले यसो भनेर प्रार्थना गरे, “मैले तपाईंको निम्ति एउटा उच्च भवन, तपाईं सदा सर्वदा रहनलाई एउटा बासस्थान मैले बनाएको छु।” (१ राजा ८:१२, १३; २ इतिहास ६:२) नवनिर्मित यो मन्दिर अब पूरै राष्ट्रको उपासना थलो बन्यो।
७ परमेश्वरले दिनुभएको आशिष्को कदरस्वरूप वर्षको तीन पटक सबै इस्राएली पुरुषहरू यरूशलेममा हर्षमय चाडहरू मनाउन जान्थे। यी पुनर्मिलनहरू परमेश्वरको उपासनामाथि ध्यान केन्द्रित गर्ने “परमप्रभुको [मौसमी] चाड़” हरू थिए भन्नु उपयुक्त छ। (लेवी २३:२, ४) भक्त स्त्रीहरू परिवारका अन्य सदस्यहरूसँग त्यस्ता चाडहरूमा उपस्थित हुन्थे।—१ शमूएल १:३-७; लूका २:४१-४४.
८ तिनीहरूको जीवनमा उपासना कतिको महत्त्वपूर्ण थियो भनेर प्रेरित भजनरचयिताले वाक्पटु ढङ्गमा मानि लिए। कोरहवंशीहरूले यसो भन्दै गाए, “हे सेनाहरूका परमप्रभु, तपाईंका बासस्थानहरू कति प्रिय छन्!” तिनीहरूले निस्सन्देह भवनको तारिफ गरिरहेका थिएनन्। बरु आफ्नो सोर उचालेर यसो भन्दै यहोवा परमेश्वरको प्रशंसा गरिरहेका थिए: “मेरो तन र मन दुवै जीवित परमेश्वरको निम्ति चर्को सोरले गाउँछन्।” लेवीहरूको सेवाले तिनीहरूलाई ठूलो आनन्द दियो। तिनीहरूले यसो भनेर घोषणा गरे, “तपाईंको भवनमा बस्ने धन्यका हुन्।” वास्तवमा सारा इस्राएलले यसो भनेर गाउन सक्थे: “त्यो मानिस धन्यको हो, जसको बल तपाईंमा छ, जसको मनमा सियोनसम्म पुग्ने मूल बाटोहरू छन्। . . . तिनीहरूले बलमाथि बल पाउँछन्, तिनीहरूमध्ये प्रत्येक सियोनका परमेश्वरको सामने देखापर्छ।” यरूशलेमसम्म पुग्न एक जना इस्राएलीलाई थकाइलाग्दो लामो यात्रा गर्नु पर्ने भए तापनि राजधानी यरूशलेममा पुग्नेबित्तिकै पुनः बल प्राप्त गर्थे। यहोवाको उपासना गर्न पाएको सुअवसरको गुणगानले उसको हृदय हर्षले भरिन्थ्यो: “किनकि तपाईंको दरवारमा एक दिन हजार दिनभन्दा असल छ। दुष्टका पालहरूमा बस्नभन्दा ता बरू परमेश्वरको भवनको ढोके हुन मलाई मनपर्छ। . . . हे सेनाहरूका परमेश्वर, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।” यहोवाको उपासनालाई ती इस्राएलीहरूले कति महत्त्व दिन्थे भन्ने कुरा यस्ता अभिव्यक्तिहरूबाट प्रकट हुन्छ।—भजनसंग्रह ८४:१-१२.
९ दुःखलाग्दो कुरा, इस्राएलले साँचो उपासनालाई प्राथमिकता दिन सकेन। झूटा देवताहरूको उपासनामा लागेर तिनीहरूले यहोवाप्रतिको जोश निभ्न दिए। फलतः यहोवाले तिनीहरूलाई शत्रुहरूको हातमा छोडिदिनुभएर बाबेलमा कैदी भएर जान दिनुभयो। सत्तरी वर्षपश्चात् आफ्नो जन्मभूमिमा पुनःस्थापना गरिएपछि हाग्गै, जकरिया र मलाकीजस्ता विश्वासी अगमवक्ताहरूद्वारा यहोवाले इस्राएललाई भावोत्तेजक सल्लाहहरू दिनुभयो। पूजाहारी एज्रा र राज्यपाल नहेम्याहले परमेश्वरका जनहरूलाई मन्दिर पुनर्निर्माण गरेर साँचो उपासना पुनर्स्थापन गर्न उत्प्रेरित गरे। तर एकपछि अर्को शताब्दी बित्दै जाँदा इस्राएल राष्ट्रले फेरि साँचो उपासनालाई कम प्राथमिकता दिन थाले।
प्रथम शताब्दीमा साँचो उपासनाका लागि जोश
१० त्यसपछि यहोवाले तोक्नु भएको समयमा मसीह देखा पर्नुभयो। विश्वासी व्यक्तिहरूले मुक्तिका लागि यहोवाको आशा गरिरहेका थिए। (लूका २:२५; ३:१५) लूकाको सुसमाचारले स्पष्टसाथ ८४ वर्षीया विधवा हन्नाको विषयमा बताउँछ, जो कहिल्यै “मन्दिर छोड़दैन थिइन्। तर उपवास र प्रार्थना गर्दै रात-दिन उपासना गर्दथिइन्।”—लूका २:३७.
११ येशूले भन्नुभयो, “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) मन्दिरमा सराफीहरूसँग आमुन्नेसामुन्ने पर्दा येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो स्मरण गर्नुहोस्। तिनीहरू लगायत परेवा बेच्ने व्यापारीहरूको टेबल अनि कुर्सीहरू जम्मै उहाँले पल्टाइदिनुभयो। मर्कूसले यस्तो विवरण दिन्छन्: “[येशूले] कसैलाई भाँड़ा-कुँड़ा मन्दिर-भित्रबाट लैजान दिनुभएन। औ उहाँले शिक्षा दिएर तिनीहरूलाई भन्नुभयो, ‘के यसो लेखिएको छैन, “मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ?” तर तिमीहरूले ता यसलाई डाँकूहरूको ओड़ार पो तुल्याएका छौ।’” (मर्कूस ११:१५-१७) हो, शहरको अर्को भागमा सामानहरू लैजान सजिलो होस् भनेर मानिसहरू मन्दिरको चोक भएर जान खोज्दा समेत उहाँले तिनीहरूलाई अनुमति दिनुभएन। येशूले गर्नुभएका कामहरूले यसअघि उहाँले दिनुभएको यो सल्लाहलाई सुदृढ बनायो: “पहिले उहाँको राज्य र उहाँको (परमेश्वरको) धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) यहोवालाई ऐकान्तिक भक्ति चढाउने सम्बन्धमा येशूले हामीलाई अद्भुत उदाहरण छोड्नुभयो। उहाँले जे-जस्तो प्रचार गर्नुभयो, त्यसलाई साँच्चै नै व्यवहारमा पनि उतार्नुभयो।—१ पत्रुस २:२१.
१२ झूटा धार्मिक रीतिरिवाजहरूले लादिएका विश्वासी यहूदीहरूलाई मुक्ति दिन आफ्नो अभियान पूरा गर्नुभएर पनि येशूले आफ्ना चेलाहरूका निम्ति उदाहरण बसाल्नुभयो। (लूका ४:१८) चेलाहरू बनाउन अनि तिनीहरूलाई बप्तिस्मा दिन येशूले दिनुभएको आज्ञा पालन गर्दै प्रथम शताब्दीका मसीहीहरूले पुनरुत्थान हुनुभएको प्रभुको सम्बन्धमा यहोवाको इच्छाबारे निर्भयतासाथ घोषणा गरे। आफ्नो उपासनाका लागि तिनीहरूले दिएको प्राथमिकता देखेर यहोवा प्रसन्न हुनुभयो। त्यसैकारण हिरासतमा परेका प्रेरित पत्रुस अनि यूहन्नालाई चमत्कारपूर्ण ढङ्गमा छुटाएर परमेश्वरको आफ्नै स्वर्गदूतले तिनीहरूलाई यस्तो निर्देशन दिए: “जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा बात मानिसहरूलाई सुनाओ।” पुनः बल प्राप्त गरेर तिनीहरूले आज्ञा माने। हरेक दिन यरूशलेमको मन्दिर लगायत घर-घरमा गएर “शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भनेर सुसमाचार सुनाउन [तिनीहरूले] बन्द गरेनन्।”—प्रेरित १:८; ४:२९, ३०; ५:२०, ४२; मत्ती २८:१९, २०.
१३ तिनीहरूको प्रचार-कार्यप्रति विरोध बढ्दै जाँदा परमेश्वरले आफ्ना विश्वासी सेवकहरूलाई सामयिक सल्लाह लेख्ने निर्देशन दिनुभयो। सा.यु. ६० को केही समयपश्चात् पत्रुसले यो लेखे, “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने जानेर त्यसको विरोध गर।” प्रथम शताब्दीका मसीहीहरूले निस्सन्देह यी शब्दहरूद्वारा आश्वासन पाए। केही समय दुःख भोगेपछि परमेश्वरले प्रशिक्षणको अन्त गर्नुहुनेछ भनी तिनीहरूलाई थाहा थियो। (१ पत्रुस ५:७-१०) यहूदी रीतिरिवाजका ती अन्तिम दिनहरूमा साँचो मसीहीहरूले यहोवाको मायालु उपासनालाई उच्च पारे।—कलस्सी १:२३.
१४ प्रेरित पावलले गरेको पूर्वानुमानअनुरूप मानिसहरू धर्मत्यागी अर्थात् साँचो उपासनाबाट विमुख हुन थाले। (प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३) प्रथम शताब्दीका अन्तिम दशकका विवरणले त्यसको प्रमाण दिन्छ। (१ यूहन्ना २:१८, १९) साँचो मसीहीहरू बीच सफलतापूर्वक नक्कली मसीहीहरूको बीउ रोपेर शैतानले यी “सामा” र गहुँखाले मसीहीहरूलाई छुट्याउनै कठिन बनाइदियो। तापनि एकपछि अर्को शताब्दी बित्दै जाँदा केही व्यक्तिहरूले आफ्नो ज्यानको खतरा मोलेर भए पनि परमेश्वरको उपासनालाई प्रथम स्थानमा राखे। तर “अन्यजातिको समय” आफ्नो अन्तिम दशकमा नपुगुञ्जेल परमेश्वरले साँचो उपासनालाई उच्च पार्न आफ्ना सेवकहरूलाई पुनःसंकलन गर्नुभएन।—मत्ती १३:२४-३०, ३६-४३; लूका २१:२४.
अहिले उच्च पारिएको यहोवाको उपासना
१५ सन् १९१९ मा यहोवाले शेष अभिषिक्त जनहरूलाई निर्भयतासाथ विश्वव्यापी साक्षी अभियान सुरु गर्ने शक्ति दिनुभयो। यस अभियानले साँचो परमेश्वरको उपासनालाई उच्च पारेको छ। सन् १९३५ देखि यता प्रतीकात्मक “अरू भेड़ाहरू” ले प्रवेश गरेदेखि आध्यात्मिक तवरमा “परमप्रभुको पर्वतमा” उक्लनेहरूको सङ्ख्या बढ्दै बढ्दै गएको छ। अरूलाई यहोवाको उच्च उपासनामा सामेल हुने निमन्त्रणा दिएर १९९३ को सेवा सालमा ४७,०९,८८९ यहोवाका साक्षीहरूले यहोवाको प्रशंसा गरे। झूटो धर्मको विश्व-साम्राज्यका साम्प्रदायिक “पहाड़हरू” र अझ विशेषगरि मसीहीजगतमा देखिने आध्यात्मिक पतित अवस्थाभन्दा कति भिन्न!—यूहन्ना १०:१६; यशैया २:२-४; मीका ४:१-४.
१६ झूटा धर्मका अनुयायीहरूले आफ्नो चर्च, कैथीड्रल र पादरीवर्गलाई समेत “महान” सम्झिन्छन् र भव्य पद अनि सम्मानहरू दिन्छन्। तर यशैया कस्तो अगमवाणी गर्छन् ध्यान दिनुहोस्: “मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको सेखी झारिनेछ, औ परमप्रभु मात्र त्यस दिन उच्च हुनुहुनेछ।” तर यो कहिले हुनेछ? चाँडै आउँदै गरेको आरमागेडोनमा। त्यस दिन मूल्यहीन “मूर्तिहरू . . . बिलकुलै लोप हुनेछन्।” त्यस भयावह दिनको सन्निकटतालाई ध्यान राख्दा आफ्नो जीवनमा यहोवाको उपासनाले कुन स्थान पाएको छ भनी परमेश्वरका सबै सेवकहरूले गम्भीरतापूर्वक जाँच गर्नुपर्ने आवश्यकता देखिन्छ।—यशैया २:१०-२२.
१७ अन्तर्राष्ट्रिय भ्रातृत्वको हैसियतमा यहोवाका साक्षीहरू राज्य प्रचार गर्ने जोशका लागि प्रसिद्ध छन्। तिनीहरूको उपासना हप्तामा एक दुई घण्टामा सीमित देखावटी धर्म नभई सिङ्गो जीवनपद्धति हो। (भजनसंग्रह १४५:२) यस कुरामा दुई मत छैन। गत वर्ष ६,२०,००० भन्दा धेरै साक्षीहरूले पूर्ण समय मसीही सेवकाईमा भाग लिन आफ्नो कामकाजमा काँटछाँट गरे। निस्सन्देह बाँकि अरूले पनि यहोवाको उपासनालाई बेवास्ता गर्दैनन्। पारिवारिक जिम्मेवारीहरूले गर्दा आ-आफ्ना पेशामा निकै मेहनत गर्नै परे तापनि तिनीहरूको दैनिक कुराकानी अनि जन प्रचार-कार्यमा समेत यहोवाको उपासनाले प्राथमिकता पाएको हुन्छ।
१८ विभिन्न भाइ-बहिनीहरूले यहोवाको उपासनालाई कुन कुन तरिकाले प्रथम स्थानमा राखे भन्ने कुरा द वाचटावर मा प्रकाशित साक्षीहरूका जीवनीहरूले अन्तर्दृष्टि प्रदान गर्छ। छ वर्षको उमेरमा यहोवालाई आफ्नो जीवन समर्पण गर्ने जवान बहिनीले मिसनरी सेवालाई आफ्नो लक्ष्य बनाइन्। जवान भाइ-बहिनीहरू हो, यहोवाको उपासनालाई प्रथम स्थानमा राख्न मदत दिने कस्तो लक्ष्य तपाईं छान्न सक्नुहुन्छ?—द वाचटावर, मार्च १, १९९२, पृष्ठ २६-३० मा दिइएको “छ वर्षको उमेरदेखि लक्ष्य प्राप्तिका लागि प्रयत्नशील” नामक लेख हेर्नुहोस्।
१९ यहोवाको उपासनालाई त्यसको उचित स्थानमा राख्ने सम्बन्धमा वृद्ध विधवा बहिनीको राम्रो उदाहरण छ। सच्चाइ सिक्न आफूले मदत गरेका व्यक्तिहरूबाट तिनले धैर्य धारण गर्ने ठूलो प्रोत्साहन पाइन्। तिनीहरू नै यस बहिनीको “परिवार” थियो। (मर्कूस ३:३१-३५) त्यस्तै परिस्थितिमा पर्नुभयो भने के तपाईं मण्डलीमा भएका आफूभन्दा कम उमेरका भाइ बहिनीहरूको समर्थन र मदत लिनु हुन्छ? (बहिनी विनफ्रेड रेमीले आफूलाई कसरी व्यक्त गर्छिन्, द वाचटावर, जुलाई १, १९९२, पृष्ठ २१-३ मा दिइएको “कटनीको समयमा मैले प्रत्युत्तर दिएँ” लेख हेर्नुहोस्।) पूर्ण-समय सेवकहरू हो, स्वेच्छापूर्वक ईश्वरतान्त्रिक निर्देशन पालन गर्दै आफूलाई खटाइएको ठाउँमा नम्रतापूर्वक सेवा गरेर तपाईंको जीवनमा प्रथम स्थान साँच्चै नै यहोवाको उपासनाले पाउँछ भनी प्रदर्शित गर्नुहोस्। (कृपया द वाचटावर, डिसेम्बर १, १९९१, पृष्ठ २४-७ मा “परमेश्वरको सङ्गठनसँग घनिष्ठ हुने” नामक लेखमा दिइएको भाइ रए रायनको उदाहरण हेर्नुहोस्।) यहोवाको उपासनालाई प्राथमिकता दिंदा उहाँले हाम्रो हेरविचार गर्नुहुनेछ भन्ने आश्वासन पाउँछौं भनी नबिर्सनुहोस्। जीवनका आवश्यकताहरू कसरी पूरा होलान् भनी हामी चिन्तित हुनुपर्दैन। बहिनी ओलिभ र सोनिया स्प्रिङ्गेटको अनुभवहरूबाट यो कुरा प्रष्ट हुन्छ।—द वाचटावर, फेब्रुअरी १, १९९४, पृष्ठ २०-५ मा दिइएको “हामीले पहिले राज्यको खोजी गऱ्यौं” लेख हेर्नुहोस्।
२० तसर्थ, व्यक्तिगत रूपमा के हामीले आफैलाई केही घतलाग्दा प्रश्नहरू सोध्नुपर्दैन र? यहोवाको उपासनाले मेरो जीवनमा कुन स्थान पाएको छ? आफ्नो क्षमताले भ्याएसम्म परमेश्वरको इच्छा पूरा गर्छु भनी गरेको समर्पणअनुरूप के मैले जीवन बिताइरहेको छु? जीवनका कुन कुन पक्षहरूमा मैले उन्नति गर्नसक्छु? सार्वभौम प्रभु यहोवा, हाम्रो मायालु पिताको उपासनालाई प्राथमिकता दिन्छु भनी हामी सबैले छनौट गरेका छौं। यस छनौटअनुसार चल्न आफ्ना स्रोतहरूको परिचालन कसरी गर्छौं भनी गम्भीर मनन गर्न आउँदो लेखले राम्रो मौका प्रदान गर्नेछ।—उपदेशक १२:१३; २ कोरिन्थी १३:५. (w94 12/01)
पुनरावृत्ति
◻ उपासनाको सम्बन्धमा यहोवाले कुन कुरा खोज्नुहुन्छ?
◻ पवित्रस्थानले कुन कुराको सम्झौटोको रूपमा काम गऱ्यो?
◻ सा.यु. प्रथम शताब्दीमा साँचो उपासनाका लागि जोश देखाउने उल्लेखनीय उदाहरणहरू को को थिए र कसरी?
◻ सन् १९१९ देखि यहोवाको उपासना कसरी उच्च पारिएको छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. उपासनाको सम्बन्धमा यहोवाले के माग गर्नुहुन्छ?
२, ३. (क) सीनै पर्वतमा घटेको घटना असामान्य थियो भनेर इस्राएलीहरूलाई कुन कुराले आभास दियो? (ख) इस्राएल र आज परमेश्वरका सेवकहरूले गरेको उपासनाबारे हामी कस्ता प्रश्नहरू जाँच्नेछौं?
४. उजाडस्थानको यात्रा गर्दा इस्राएली शिविरको रूपरेखा कस्तो हुन्थ्यो र शिविरको बीचमा के हुन्थ्यो?
५. पवित्रस्थानले इस्राएलमा कुन उद्देश्य पूरा गऱ्यो?
६, ७. पवित्रस्थानको ठाउँ कुन उपासना थलोले लियो र इस्राएल राष्ट्रलाई त्यसले कस्तो सेवा प्रदान गऱ्यो?
८. यहोवाको उपासनाको महत्त्वबारे भजनसंग्रह ८४:१-१२ ले कस्तो पुष्टि दिन्छ?
९. यहोवाको उपासनालाई प्राथमिकता दिन नसक्दा इस्राएल राष्ट्रलाई के भयो?
१०, ११. येशू पृथ्वीमा हुनुहुँदा, त्यतिबेलाका विश्वासी जनहरूको जीवनमा यहोवाको उपासनाले कुन स्थान पाएको थियो?
१२. येशूका चेलाहरूले यहोवाको उपासनालाई प्राथमिकता दिन्थे भनेर तिनीहरूले कसरी देखाए?
१३, १४. (क) प्रथम शताब्दीका मसीहीहरूको समयदेखि शैतानले परमेश्वरका सेवकहरूलाई के गर्ने कोशिश गर्दै आएको छ? (ख) परमेश्वरका विश्वासी सेवकहरूले के गरी नै रहेका छन्?
१५. सन् १९१९ देखि यशैया २:२-४ र मीका ४:१-४ का भविष्यवाणीहरू कसरी पूरा भएका छन्?
१६. यशैया २:१०-२२ मा दिइएको भविष्यवाणीलाई ध्यानमा राख्दा परमेश्वरका सबै सेवकहरूले के गर्नुपर्ने आवश्यकता देखिन्छ?
१७. आज यहोवाका सेवकहरूले उहाँको उपासनालाई दिएको प्राथमिकता कसरी प्रदर्शित गर्छन्?
१८, १९. साक्षीहरूको जीवनी पढेर तपाईंले पाउनु भएको प्रोत्साहनका उदाहरणहरू बताउनुहोस्।
२०. आफैसँग कस्ता अत्यावश्यक प्रश्नहरू हामीले सोध्नुपर्छ?