प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 २/१ पृ. ४-७
  • किन अहिले नै निर्णय गरिहाल्नु पर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन अहिले नै निर्णय गरिहाल्नु पर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएल किन बहिष्कृत भयो
  • मसीहीजगतको ठूलो धर्मत्याग
  • के सुधार असम्भव छ?
  • ‘त्यसबाट निस्केर आउने’ समय अहिले नै हो
  • “अधर्मको मानिसको” विरूद्धमा परमेश्‍वरको न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • सांसारिक धर्म किन अन्त हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 २/१ पृ. ४-७

किन अहिले नै निर्णय गरिहाल्नु पर्छ?

परमेश्‍वरले इस्राएलीहरूलाई १६ औं शताब्दी सा.यु.पू. मा “समस्त मानिसहरूमध्ये . . . एक निज धन . . . र एक पवित्र जाति[को]” रूपमा छान्‍नुभयो। (प्रस्थान १९:५, ६) तर छिमेकी राष्ट्रहरूको मूर्तिपूजा तथा भ्रष्ट रीतिथितिहरूद्वारा तिनीहरूले आफूलाई दूषित बनाए र आफ्नो पवित्रता तथा धार्मिक शुद्धतालाई गुमाए। यसप्रकार तिनीहरूले आफैलाई “हठी मानिसहरू” हौं भनी प्रकट गरे। (व्यवस्था ९:६, १३; १०:१६; १ कोरिन्थी १०:७-११) यहोशूको मृत्युपश्‍चात्‌ तीन सयभन्दा बढी वर्षसम्म यहोवाले न्यायकर्त्ताहरू खडा गर्नुभयो। यी न्यायकर्त्ताहरू विश्‍वासी पथ प्रदर्शकहरू थिए र तिनीहरूले इस्राएलीहरूलाई साँचो उपासनातर्फ डोऱ्‍याउनु पर्थ्यो। तथापि, मानिसहरूले “आफ्नो दुष्ट व्यवहार र हठी चाललाई छोड़दै छोड़ेनन्‌।”—न्यायकर्त्ता २:१७-१९.

आफ्नो जनलाई साँचो उपासनातर्फ फर्काउन परमेश्‍वरले त्यसपछि विश्‍वासी राजाहरू र अगमवक्‍ताहरू खडा गर्नुभयो। अगमवक्‍ता अजर्याहले राजा आशा र तिनका प्रजाहरूलाई यहोवाको खोजी गर्न प्रोत्साहित गरे: “जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” (२ इतिहास १५:१-१६) पछि फेरि आफ्नो अगमवक्‍ता योएलद्वारा परमेश्‍वरले यस निमन्त्रणालाई नवीकरण गर्नुपऱ्‍यो। (योएल २:१२, १३) त्यसपछि पनि सपन्याहले यहूदा निवासीहरूलाई “परमप्रभुको खोजी गर” भनेर जोड दिए। मूर्तिपूजा र भ्रष्टाचार हटाउने अभियान सुरु गरेर जवान राजा योशियाहले त्यो सल्लाह पालन गरे।—सपन्याह २:३; २ इतिहास ३४:३-७.

तर बीच-बीचमा निकै पटक त्यसरी पश्‍चात्ताप गरे तापनि मानिसहरूको धार्मिक अवस्था झन्‌-झन्‌ नाजुक हुँदै गइरहेको थियो। (यर्मिया २:१३; ४४:४, ५) मूर्तिपूजक रीतिथितिहरूले दूषित त्यस्तो धार्मिक प्रणालीको यर्मियाले भत्सर्ना गरे र तिनीहरूको यस्तो अवस्था अपरिवर्तनीय छ भनेर तिनले वर्णन गरे: “के हब्शीले [कूशीले] आफ्नो छालाको रंग फेर्नसक्छ? के चितुवाले आफ्नो छालाको थोप्ला बद्‌लनसक्छ? त्यस्तो भए मात्र तिमीहरू दुष्टयाइँ गर्ने बानी बसेकाहरूले भलाइ गर्नसक्नेछौ।” (यर्मिया १३:२३) यी नै कारणहरूले गर्दा परमेश्‍वरले यहूदा राज्यमाथि कठोर न्यायदण्ड ल्याउनुभयो। सा.यु.पू. ६०७ मा यरूशलेम र त्यसको मन्दिर नष्ट भयो र बाँच्नेहरू बाबेलको कैदमा लगिए अनि ७० वर्षसम्म त्यही अवस्थामा रहे।

यो समयावधि सकिएपछि परमेश्‍वरले दया देखाउनुभयो। इस्राएलीहरूलाई मुक्‍त गर्न उहाँले राजा कोरेसलाई उत्प्रेरित गर्नुभयो र शेष इस्राएलीहरू यरूशलेमको मन्दिर पुनर्निर्माण गर्न फर्के। यी सबै घटनाहरूबाट पाठ सिक्नुको सट्टा तिनीहरू पुनः साँचो उपासनादेखि तर्के। फलतः यहोवा परमेश्‍वरले आफ्नो निमन्त्रणा पुनः नवीकरण गर्नुपऱ्‍यो: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।”—मलाकी ३:७.

इस्राएल किन बहिष्कृत भयो

येशूको समयमा इस्राएलीहरूको धार्मिक अवस्था कस्तो थियो? तिनीहरूका कपटी धार्मिक नेताहरू “मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी” सिकाउने “अन्धा अगुवाहरू” थिए। तिनीहरूले “आफ्नो ओठले” परमेश्‍वरको आदर त गर्थे तर तिनीहरूको हृदय भने उहाँबाट टाढा थियो। (मत्ती १५:३, ४, ८, ९, १४) के तिनीहरूको राष्ट्रले फेरि पश्‍चात्ताप गर्ने मौका पाउनेथियो? अहँ, थिएन। येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” उहाँले अझ यसो भन्‍नुभयो: “तिमीहरूको घर” अर्थात्‌ यरूशलेमको मन्दिर “तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।” (मत्ती २१:४३; २३:३८) तिनीहरूको भूल ज्यादै गम्भीर थियो। अत्याचारी रोमी सिजरलाई आफ्नो राजाको रूपमा छानेर तिनीहरूले येशूलाई मसीह मान्‍न इन्कार गर्नुको साथै उहाँलाई मार्न लगाए।—मत्ती २७:२५; यूहन्‍ना १९:१५.

येशूले सेवकाई गर्नुभएको समयावधि वास्तवमा न्यायको समय थियो भनेर ती इस्राएलीहरूले बुझ्न चाहेनन्‌। यरूशलेमका अविश्‍वासी बासिन्दाहरूलाई येशूले यसो भन्‍नुभयो: “तैंले आफूमाथि कृपादृष्टि भएको समयलाई बुझ्नसकिनस्‌।”—लूका १९:४४.

सा.यु. ३३ पेन्तिकोसमा परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्टका आत्मा-अभिषिक्‍त चेलाहरू अर्थात्‌ हरेक कुल र जातिबाट छानिने नयाँ राष्ट्र वा जाति स्थापना गर्नुभयो। (प्रेरित १०:३४, ३५; १५:१४) अन्ततः यहूदी धार्मिक रीतिरिवाजमा पुनः सुधार गरिनेछ भन्‍ने के केही आशा थियो? सा.यु. ७० मा यरूशलेमलाई तहसनहस गरेर रोमी सिपाहीहरूले यसको जवाफ दिए। तिनीहरूको धार्मिक व्यवस्थालाई परमेश्‍वरले पूर्णतया त्यागिसक्नुभएको थियो।—लूका २१:५, ६.

मसीहीजगतको ठूलो धर्मत्याग

आत्मा–अभिषिक्‍त मसीहीहरू “पवित्र जाति, परमेश्‍वरका निजी प्रजा[को]” रूपमा पनि गठित भए। (१ पत्रुस २:९; गलाती ६:१६) तर प्रारम्भिक मसीही मण्डलीले समेत आफ्नो धार्मिक शुद्धतालाई लामो समयसम्म कायम राख्न सकेन।

शास्त्रले ठूलो धर्मत्याग अथवा साँचो विश्‍वासबाट पतन हुनेछ भनी अगमवाणी गऱ्‍यो। येशूको उखानको प्रतीकात्मक सामा अर्थात्‌ नक्कली मसीहीहरूले प्रतीकात्मक गहुँ अर्थात्‌ परमेश्‍वरको आत्माले अभिषिक्‍त साँचो मसीहीहरूलाई निस्सासि दिने कोशिश गर्ने थियो। परमेश्‍वरको महाशत्रु दियाबलले “मानिसहरू सुतेका बेलामा” झूटो मसीही धर्म फैलाउन सुरु गर्ने थियो भनेर त्यस उखानले प्रकट गर्छ। ख्रीष्टका विश्‍वासी प्रेरितहरूको मृत्युपश्‍चात्‌ सुरु भएको आध्यात्मिक तन्द्रामा त्यो पूरा भयो। (मत्ती १३:२४-३०, ३६-४३; २ थिस्सलोनिकी २:६-८) प्रेरितहरूले अगमवाणी गरेझैं थुप्रै नक्कली मसीहीहरू साँचो मसीही बगालमा घुस्न थाले। (प्रेरित २०:२९, ३०; १ तिमोथी ४:१-३; २ तिमोथी २:१६-१८; २ पत्रुस २:१-३) मृत्युको कोखमा जाने प्रेरितहरू मध्ये यूहन्‍ना अन्तिम थिए। सा.यु. ९८ मा तिनले “आखिरी घड़ी” अर्थात्‌ प्रेरितहरूको अन्तिम अवधि सुरु भइसक्यो भनेर लेखे।—१ यूहन्‍ना २:१८, १९.

रोमी सम्राट कन्स्‌टन्‌टाइनद्वारा समर्थित धार्मिक तथा राजनैतिक मेलजोलले गर्दा मसीहीजगतको आध्यात्मिक, सैद्धान्तिक तथा नैतिक अवस्था नाटकीय ढंगमा झन्‌-झन्‌ खस्कँदै गयो। मसीही दृष्टिकोणले हेर्ने हो भने, “चौथौं शताब्दीमा चर्चले हासिल गरेको विजय” “एउटा अनर्थ” हो भनेर धेरै इतिहासकारहरू मानिलिन्छन्‌। ‘मसीहीजगतले आफ्नो उच्च नैतिक स्तर गुमायो’ र “मरियमको उपासना” तथा “सन्तहरूको” आराधनाका साथै त्रिएक सिद्धान्त जस्ता थुप्रै गैर-मसीही रीतिथिति तथा दर्शनहरू अपनायो।

आफ्नो झूटो विजयपश्‍चात्‌ मसीहीजगतको अवस्था झन्‌ ह्रास हुँदै गयो। इन्‌क्विजिसन, क्रुसेड र क्याथोलिक अनि प्रोटेस्टेन्टहरूबीचको “पवित्र” युद्धबाहेक पोप तथा परिषद्‌को निर्णय अनि सैद्धान्तिक परिभाषाहरूले अपरिवर्तनीय धार्मिक व्यवस्था उत्पन्‍न गऱ्‍यो।

अ वर्ल्ड लिट ओन्ली बाइ फायर नामक आफ्नो पुस्तकमा विलियम मान्चेस्टर यसरी लेख्छन्‌: “पन्ध्रौं र सोह्रौं शताब्दीका पोपहरूले रोमी सम्राटहरूले जस्तै जीवन बिताए। तिनीहरू संसारका सबैभन्दा धनी मानिसहरू थिए र पवित्र ओहोदाहरू बिक्री गरेर तिनीहरू र तिनीहरूका कार्डिनलहरूले आफूलाई अझ धनी बनाए।” ठूलो धर्मत्यागको दौडान मुट्ठीभर समूहहरूले वा व्यक्‍तिहरूले प्रतीकात्मक गहुँको गुणहरू प्रकट गर्दै साँचो मसीही पुनः खोज्न चाहे। तर प्रायः तिनीहरूले त्यसको ठूलो मोल चुकाउनुपऱ्‍यो। सोही पुस्तकले अगाडि यसो भन्छ: “कुनै कुनै बेला यस्तो लाग्थ्यो प्रोटेस्टेन्ट र क्याथोलिक दुवै मसीही धर्मका साँचो सन्तहरूमध्ये आगोमा जलेर बदनाम शहीद नहुने कोही थिएन होला।” मार्टिन लुथर र जोन कालभेन जस्ता अरू तथाकथित सुधारकहरूले क्याथोलिक चर्चदेखि अलग बलियो धार्मिक प्रणालीहरू स्थापना गर्न सके। तर क्याथोलिक चर्चका आधारभूत सिद्धान्तहरूदेखि भने अलग हुन सकेनन्‌। तिनीहरू पनि राजनैतिक मामिलामा पूर्णतया अन्तर्ग्रस्त थिए।

प्रोटेस्टेन्ट सम्प्रदायमा तथाकथित धार्मिक पुनःजागरण ल्याउने प्रयत्न गरियो। उदाहरणका लागि, अठारौं र उन्‍नाइसौं शताब्दीमा पुनःजागरण ल्याउन तिनीहरूले जोडताडका साथ विदेशी मिसनरी अभियान सञ्चालन गरे। तथापि, तिनीहरूकै धार्मिक गोठालाअनुसार प्रोटेस्टेन्ट बगालको आध्यात्मिक अवस्था कुनै रीतिले पनि प्रोत्साहनजनक छैन। “चर्चहरू आफै विश्‍वासको संकटमा परेका छन्‌” भनेर हालसालै मात्र प्रोटेस्टेन्ट धर्म विज्ञानी अस्कर कुलम्यानले मानि लिएका थिए।

क्याथोलिक चर्चमा पनि सुधार र पुनःसुधार ल्याउने प्रयत्न नगरिएको होइन। पादरीवर्गको विस्तृत भ्रष्टाचार र अत्यधिक सम्पत्तिको कारण ११ औं देखि १३ औं शताब्दीबीच निर्धनताको शपथलाई निकै कडाइका साथ पालन गर्ने अति परहेजी जीवनपद्धति स्थापना गरियो। तर त्यस्ता पद्धतिमा कडा निगरानी गरिन्थ्यो र विद्वानहरूको भनाइअनुसार चर्चको धर्मतन्त्रले त्यसलाई दबाए। त्यसपछि प्रोटेस्टेन्ट धर्म सुधारको विरुद्ध लड्‌न १६ औं शताब्दीमा ट्रेन्ट परिषद्‌ले प्रतिकूल धर्म सुधारको व्यापक तवरमा प्रवर्द्धन गरे।

उन्‍नाइसौं शताब्दीको मध्यतिर, चर्च पुनःस्थापनाको अवधिमा क्याथोलिक चर्चले बौद्धिक तथा भावनात्मक पक्षमा सत्तावादी र रूढीवादी मनोवृत्ति अपनाए। यद्यपि, साँचो मसीही धर्मलाई पुनःस्थापना गर्न कुनै वास्तविक सुधार गरियो भन्‍न सकिंदैन। बरु त्यो संसारको धार्मिक, राजनैतिक तथा सामाजिक परिवर्तन समक्ष पादरीवर्गको अख्तियारलाई बलियो बनाउन गरिएको प्रयत्न मात्र थियो।

हालसालै सन्‌ १९६० को दशकतिर क्याथोलिक चर्चले भ्याटिकनको दोस्रो एकतावर्धक परिषद्‌मा आमूल परिवर्तन गर्न चाहेको जस्तो देखिएको थियो। तथापि, चर्चका प्रगतिशील सदस्यहरूको जोशलाई कम पार्न तत्कालीन पोपले तथाकथित परिषद्‌ नवीकरण प्रक्रिया तुरून्त स्थगित गरे। कसै कसैले भोइटिवाको पुनःस्थापना भनी नामाकरण गरेका यस पक्षलाई एउटा क्याथोलिक समूहले “कन्‌स्टन्‌टाइन्‌वादको नया स्वरूप” भनी परिभाषित गरेका छन्‌। जेसुएट पत्रिका ला शिभिल्टा क्याटोलिका-अनुसार अरू धर्मले जस्तै क्याथोलिक चर्चले पनि “मूलभूत विश्‍वव्यापी संकटको सामना गर्नु परिरहेको छ: मूलभूत यसैकारणले किनभने मसीही विश्‍वास र जीवनको मूल त्यसमा समावेश छ र विश्‍वव्यापी यसैकारणले किनभने त्यसले मसीही धर्मको सबै पक्षलाई समेट्‌छ।”

“कटनी[को]” समयमा प्रतीकात्मक गहुँ शुद्ध मण्डलीको रूपमा स्थापना भएपछि मात्र साँचो मसीही धर्म पुनःस्थापना हुने भएकोले मसीहीजगतमा नता वास्तवमा कुनै सुधार भयो न सुधार गर्न नै सकिन्छ। (मत्ती १३:३०, ३९) मसीही होस्‌ वा नहोस्‌ धर्मको नाउँमा गरिएका अपराध तथा गलत कार्यहरूको लामो सूचीले एउटा प्रश्‍न खडा गर्छ, त्यो हो, मसीहीजगतबाट साँचो सुधारको अपेक्षा गर्नु के व्यवहारिक छ?

के सुधार असम्भव छ?

“महान्‌ बेबिलोन” नामक रहस्यमय नाउँ धारण गर्ने प्रतीकात्मक महान वेश्‍याबारे प्रकाशको पुस्तकले बताउँछ। (प्रकाश १७:१, ५) शताब्दीयौंदेखि बाइबलका पाठकहरूले यस प्रतीकको रहस्य सुल्झाउने प्रयत्न गर्दै आएका छन्‌। पादरीवर्गको सम्पत्ति र भ्रष्टाचार देखेर धेरै मानिसहरू वाक्क भइसकेका थिए। महान्‌ बेबिलोनले चर्चको धर्मतन्त्रलाई संकेत गर्छ भनेर पनि कसै कसैले अर्थ लगाए। सा.यु. १४१५ मा जीउँदै जलाइएका जिप्सी क्याथोलिक पादरी यान हस तथा सा.यु. १५७० मा झुण्डाइएर जलाइएका इतालनी मानववादी आन्यो पालारियो तिनीहरूमध्ये थिए। क्याथोलिक चर्च “आफ्नो प्रारम्भिक गरिमामा” फर्कन्छ कि भन्‍ने आशा लिएर तिनीहरूले गरेको सुधार असफल भयो।

त्यसको ठीक विपरीत प्रकाशको १७ र १८ अध्यायले महान्‌ बेबिलोन सबै झूटा धर्महरूको विश्‍व–साम्राज्यको प्रतीक हो भनेर संकेत गर्छ।a यो मिश्रित “महान वेश्‍या” सुध्रने सक्ने अवस्थामा छैन “किनभने त्यसका पाप स्वर्गसम्म चुल्लिएका छन्‌।” वास्तवमा भन्‍ने हो भने, लाखौं मानिसहरूको रगत बगाउने युद्धहरू अनि मानवजातिलाई असर गर्ने अत्यन्त भ्रष्ट नैतिक पतनका लागि मसीहीजगत मात्र नभई यस बीसौं शताब्दीका सबै धर्महरू जिम्मेवार छन्‌। फलतः परमेश्‍वरले “बेबिलोनको” नाशको घोषणा गरिसक्नुभएको छ।—प्रकाश १८:५, ८.

‘त्यसबाट निस्केर आउने’ समय अहिले नै हो

हाम्रो समय यस दुष्ट “जगत्‌को अन्त” हुने समय हो भनेर बाइबलका भविष्यवाणीहरूको पूर्तिले प्रकट गर्छ। (मत्ती २४:३) निष्कपटतासाथ परमेश्‍वरको उपासना गर्न चाहने व्यक्‍तिले आफ्नै विचार तथा अभिरूचिलाई अघि सार्न सक्दैन। उसले ‘जबसम्म यहोवालाई पाउन सक्छ’ उहाँलाई खोज्नै पर्छ। हो, अहिले नै, किनभने येशूले अगमवाणी गर्नुभएको “महा संकष्ट” नजिकै छ। (यशैया ५५:६; मत्ती २४:२१) इस्राएलका मानिसहरूलाई गर्नुभएझैं कुनै धर्म पुरानो हुँदैमा परमेश्‍वरले त्यसको भ्रष्टाचारलाई सहनु हुनेछैन। परमेश्‍वरको अनुमोदन र मुक्‍ति चाहने सबैले डुब्नै लागेको जहाजलाई मर्मत गर्ने प्रयत्न गर्नुको सट्टा प्रकाश १८:४ को यस प्रेरित आज्ञालाई अविलम्ब पालन गरिहाल्नुपर्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।”

तर “निस्केर” जाने कहाँ? मुक्‍ति अरू कहाँ पाइन्छ? गलत ठाउँमा शरण लिनु के खतरनाक छैन र? परमेश्‍वरको अनुमोदन प्राप्त एक मात्र धर्मलाई कसरी चिन्‍न सकिन्छ? यी सबै प्रश्‍नहरूको भरपर्दो जवाफ परमेश्‍वरको वचनमा मात्र पाउन सकिन्छ। (२ तिमोथी ३:१६, १७) बाइबललाई अझ गहिरिएर जाँच गर्न यहोवाका साक्षीहरू तपाईंलाई आमन्त्रित गर्छन्‌। त्यसो गर्नुभयो भने परमेश्‍वरले ल्याउनै लाग्नुभएको क्रोधको दिनमा आफ्नो “नाउँको निम्ति” उहाँले बचाउन छान्‍नुभएका जनहरू को को हुनेछन्‌ भनी तपाईंले जान्‍नुहुनेछ।—प्रेरित १५:१४; सपन्याह २:३; प्रकाश १६:१४-१६.

[फुटनोट]

a शास्त्रीय ढंगमा सही तरिकाले प्रतीकात्मक महान बेबिलोनलाई चिन्‍न सन्‌ १९८८ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! नामक पुस्तकको अध्याय ३३ देखि ३७ हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

तपाईंको धार्मिक जहाज डुब्दै छ भने साँचो मसीही धर्मको उद्धारक जहाजमा चढिहाल्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने