धार्मिक द्विविधा
“प्राणको अमरत्व र मरेकाहरूको पुनरुत्थानमा विश्वास . . . यी दुई शिक्षाहरू सम्पूर्णतः बेग्लाबेग्लै आधारमा अडेका छन् र तिनीहरू बीच एउटालाई रोज्नु अत्यावश्यक छ।” प्रोटेस्टेन्ट तथा क्याथोलिक धर्मविद्हरूले मृतकहरूको स्थितिबारे सामना गर्नु पर्ने द्विविधाको सारांश फिलिप मेनुका उपरोक्त शब्दहरूमा देख्न सकिन्छ। बाइबलले “पछिल्लो दिनमा“ पुनरुत्थान हुने आशाबारे चर्चा गर्दछ। (यूहन्ना ६:३९, ४०, ४४, ५४) तर धर्मविद् किस्बर्ट क्रशागेको भनाइअनुसार धेरै जसो धर्मावलम्बीहरूको आशा “मानिस मर्दा, शरीरबाट छुट्टिएर परमेश्वरकहाँ फिर्ता जाने प्राण”को अमरत्वमाथि आधारित छ। र पुनरुत्थान पाउने आशा चाहिं प्रायः लोप नै भइसकेको छ।”
यसले गर्दा एउटा जटिल समस्या खडा हुन्छ भनी बरनार सेबु भन्छन्: “मरेका जनहरूको शारीरिक मृत्यु र अन्तिम पुनरुत्थानबीचको ‘अन्तरिम’ समयमा तिनीहरू कुन अवस्थामा हुन्छन्?” बितेका केही सालहरूदेखि यो प्रश्न धार्मिक विवादको केन्द्र भए जस्तो देखिन्छ। यसको सुरुआत कसरी भयो? र योभन्दा पनि महत्त्वपूर्ण त, मरेकाहरूका लागि साँचो आशा के छ?
द्विविधाको मूल र विकास
यस विषयमा प्रथम मसीहीहरूको विचार सुस्पष्ट थियो। मरेकाहरूलाई कुनै पनि कुराको चेतना हुँदैन भी तिनीहरूले शास्त्रबाट थाह पाएका थिए किनकि हिब्रू शास्त्रहरू यसो भन्छन्: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . किनभने मृत्युमा जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) ती मसीहीहरूले भविष्यमा “प्रभुको आगमन”मा पुनरुत्थान हुने आशा राखेका थिए। (१ थिस्सलोनिकी ४:१३-१७) त्यो घडी नआउञ्जेल अरू कुनै ठाउँमा चेत भएर बस्ने प्रतीक्षा तिनीहरूले गरेका थिएनन्। भेटिकन कँग्रिगेशन फर द डक्ट्रिन अफ द फेथका वर्तमान प्रधान अधिकारी जोसेफ रेटसिङ्गर यसो भन्छन्: “प्राचीन गिर्जाको कुनै पनि धार्मिक शिक्षाले प्राणको अमरत्वलाई पुष्टि दिएको पाइँदैन।”
तथापि, नुभो डेट्सियानेऱ्यो द टेओलोझिया अनुसार अगस्टीन अथवा एमब्रोज जस्ता पादरीहरूका लेखहरू पढ्दा हामी “बाइबलको परम्परागत शिक्षाहरूभन्दा एउटा बिल्कुलै नयाँ विचारधारा सुरु भएको महसुस गर्छौं। अर्थात् यहूदी-मसीहीहरूको भन्दा मूलतः भिन्नै युनानी धार्मिक सिद्धान्तको आरम्भ हामी देख्छौं।” यो नयाँ शिक्षा “प्राणको अमरत्व, मृत्युपश्चात् व्यक्तिगत इन्साफ हुने अनि तुरुन्तै पुरस्कृत हुने अथवा सजाय भोग्ने” विचारमा आधारित थियो। तसर्थ एउटा “अन्तरिम स्थिति” बारे यो प्रश्न उठाइएको थियो: शरीर मर्दा प्राण चाहिं बाँची रहन्छ भने, “पछिल्लो दिन”मा हुने पुनरुत्थान नहोउञ्जेल त्यसलाई के हुन्छ? यो एउटा धार्मिक द्विविधा हो र यसको समाधान निकाल्न धर्मगुरुहरूले निकै नै कोसिस गर्दै आएका छन्।
सा.यु. छैटौं शताब्दीमा पोप ग्रेगरीले मान्छे मर्दा उसको प्राण सोझै आफ्नो गन्तव्यस्थानमा जान्छ भनी बहस गरेका थिए। १४-औं शताब्दीको पोप जँन २२-औं चाहिं मृतकहरूले आफ्नो अन्तिम पुरस्कार न्यायका दिनमा मात्र पाउनेछन् भनी विश्वस्त थिए। तर पोप बेनेडिक्ट १२-औंले आफूभन्दा पहिलेको पोपका खण्डन गरे। आफ्नो औपचारिक इस्तिहार बेनेडिक्टस डियुस-मा (१३३६) उनले घोषणा गरे: “मृत्यु हुनेबित्तिकै मृतकको प्राणले या त परमानन्द [स्वर्ग], या प्रशोधन [प्रशोधनस्थान] या श्राप [नरक] अनुभव गर्छ। पुनरुत्थान गराइएको शरीर र प्राणको मिलन संसारको अन्तमा मात्र हुन्छ।”
वादविवाद र तर्कवितर्कको बावजूद मसीहीजगतका गिर्जाहरूले शताब्दीयौंदेखि उही अडान लिंदै आएका छन्। हालाँकि प्रोटस्टेन्ट तथा अन्य कट्टरपन्थी गिर्जाहरूले चाहिं प्रशोधनस्थानमा साधारणतः विश्वास गर्दैनन्। तर गत शताब्दीको अन्तदेखि विद्वानहरूको बढ्दो सङ्ख्याले प्राण अमर छ भन्ने शिक्षाको गैर मसीही सुरुआतलाई औंल्याउँदै आएका छन्। परिणामस्वरूप “आधुनिक धर्मशिक्षाले अब मानिसलाई मृत्युमा पूर्णतः खतम हुने एउटा एकाइको रूपमा अक्सर हेर्न खोज्छ।“ (दी इनसायक्लोपिडिया अफ रिलिजन) अतः बाइबलका टिकाकारहरूलाई त्यो “अन्तरिम अवस्था”को पक्षमा बोल्न गाह्रो भएको छ। तर के बाइबलमा यसबारे केही चर्चा छ र? अथवा के बाइबलले एउटा बेग्लै आशा प्रदान गर्छ?
के पावल एउटा “अन्तरिम अवस्थामा” विश्वास गर्थे?
क्याटेकिज्म अफ द क्याथोलिक चर्च भन्छ: “ख्रीष्टसित उठ्नका लागि हामी ख्रीष्टसित पहिले मर्नु पर्छ: हामी ‘शरीरबाट टाढा भएर प्रभुसित बस्नु’ पर्छ। [२ कोरिन्थी ५:८] यसरी ‘टाढा’ जानुको अर्थ मृत्यु हो। यति बेला प्राण शरीरबाट अलग हुन्छ। [फिलिप्पी १:२३] मरेकाहरूको पुनरुत्थान हुने दिनमा मात्र त्यो फेरि शरीरसित एक हुन्छ।” तर यहाँ उद्धृत पदहरूमा के पावलले शरीर मर्दा प्राण चाहिं मर्दैन तथा शरीरसित मिल्नका लागि “अन्तिम न्याय”को प्रतीक्षामा बस्छ भनेका हुन् र?
दोस्रो कोरिन्थी ५:१ मा पावलले आफ्नै मृत्युबारे कुरा गर्दा एउटा “पार्थिव डेरा”बारे चर्चा गर्छन् जो “भत्किएर” जान्छ। अब यहाँ के उनी प्राणले तजेको शरीरबारे सोचिरहेका थिए र? होइन। पावलले मानिसमा प्राण छ भनी होइन, तर मानिस स्वयं प्राणी हो भनी विश्वास गर्थे। (उत्पत्ति २:७; १ कोरिन्थी १५:४५) पावल पवित्र-आत्माद्वारा अभिषिक्त मसीही थिए जसले प्रथम शताब्दीका आफ्ना भाइहरूले झैं ‘स्वर्ग’ जाने ‘आशा’ गर्थे। (कलस्सी १:५; रोमी ८:१४-१८) परमेश्वरद्वारा नियुक्त समयमा अमर आत्मिक व्यक्तिको रूपमा पुनरुत्थान पाएर स्वर्ग जाने उनी ‘इच्छा’ गर्थे। (२ कोरिन्थी ५:२-४) सोही आशाबारे कुरा गर्दै उनले लेखे: “हामी सबैको परिवर्त्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्, औ हाम्रो चाहिं परिवर्त्तन हुनेछ।“ —१ कोरिन्थी १५:५१, ५२.
दोस्रो कोरिन्थी ५:८-मा पावल भन्छन्: “हामी हिम्मती भएकाछौं, बरू शरीरमा अनुपस्थित भएर प्रभुसित सुबिस्तासँग रहन हामी चाहन्छौं।” यी शब्दहरूलाई कसैकसैले पर्खेर बस्नु पर्ने अन्तरिम स्थिति ठान्छन्। तिनीहरू येशूले आफ्ना विश्वासी अनुयायीहरूसित गर्नु भएको त्यो प्रतिज्ञालाई पनि औंल्याउँछन् जसमा उहाँले उनीहरूका लागि ठाउँ तयार पार्न जाने तथा उनीहरूलाई ‘उहाँकहाँ लैजाने’ कुरा गर्नु भएको थियो। तर ती प्रतिज्ञाहरू कहिले पूरा हुने थिए? ख्रीष्ट ‘फरि आउनु हुँदा’ अर्थात् उहाँको भावी ‘उपस्थितिमा’मा ती सबै पूरा हुनेछ भनी ख्रीष्टले नै भन्नु भएको थियो। (यूहन्ना १४:१-३) यस्तैगरी, सबै अभिषिक्त जनहरूको एक मात्र आशा स्वर्गीय बास-स्थानको अधिकारी हुनु हो भनी पावलले २ कोरिन्थी ५:१-१०-मा भने। यो आशाको पूर्ति प्राणको कुनै तथाकथित अमरत्वद्वारा नभएर ख्रीष्टको उपस्थितिमा पुनरुत्थानद्वारा हुनेछ। (१ कोरिन्थी १५:२३, ४२-४४) व्याख्याकार शार्ल मेसनको निष्कर्षअनुसार २ कोरिन्थी ५:१-१०-लाई “कुनै काल्पनिक ‘अन्तरिम स्थितिको मदत बिना पनि’ बुझ्न सकिन्छ।”
फिलिप्पी १:२१, २३-मा पावल भन्छन्: “किनभने मेरो निम्ति जिउनु ता ख्रीष्ट हो, औ मर्नुचाहिं लाभ हो। तर मता यी दुवैका बीचमा परेको छु। गइगएर ख्रीष्टको साथमा हुने इच्छा त छ, किनभने यो धेरैनै असल छ।” के यहाँ पावलले कुनै “अन्तरिम स्थिति”बारे कुरा गरेका हुन्? कसैकसैले सोही ठान्छन्। तथापि पावल भन्छन् कि उनी यहाँ दुई सम्भावनाहरू—अर्थात् जीवन र मृत्युबीच चेपिएका छन्। तर अर्कै तेस्रो सम्भावना चर्चा गर्दै उनी “गइगएर ख्रीष्टको साथमा हुने” इच्छा प्रकट गर्छन्। तर उनको इच्छा मृत्युपश्चात् तुरुन्तै “गइगएर ख्रीष्टको साथमा” हुनु हो कि? हामीले अघि नै देखिसक्यौं कि विश्वासी अभिषिक्त मसीहीहरूको पुनरुत्थान ख्रीष्टको उपस्थितिको दौडान मात्र हुनेछ भनी पावल विश्वास गर्थें। अतः उनले निश्चय नै सोही समयावधिबारे कुरा गरिरहेको हुनु पर्छ।
यसको पुष्टि हामी फिलिप्पी ३:२०, २१ तथा १ थिस्सलोनिकी ४:१६-मा उल्लिखित उनका शब्दहरूबाट देख्छौं। ख्रीष्ट येशूको उपस्थितिको दौडान पावल यसरी ‘गइहालेमा’ परमेश्वरले उनका लागि तयार पार्नु भएको पुरस्कार उनले थाप्न सक्ने थिए। उनको आशा पनि यही नै थियो भनी उनले जवान तिमोथीलाई लेखेका यी शब्दहरूबाट बुझ्न सकिन्छ: “अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायाधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्नेहरूलाई समेत दिनुहुनेछ।”—१ तिमोथी ४:८.
पुनरुत्थान एउटा अद्भुत बाइबल सत्य
प्रथम मसीहीहरूले पुनरुत्थानलाई ख्रीष्टको उपस्थितिको दौडान सुरु हुने घटना ठान्थे। बाइबलको यो अद्भुत सत्य कुराबाट तिनीहरू प्रोत्साहन र सान्त्वना दुवै पाए। (मत्ती २४:३; यूहन्ना ५:२८, २९; ११:२४, २५; १ कोरिन्थी १५:१९, २०; १ थिस्सलोनिकी ४:१३) भविष्यमा हुने त्यो आनन्दमय घटनाको प्रतीक्षा विश्वासिलो भएर गर्दै प्राणको अमरत्वमा आधारित धर्मत्यागी शिक्षाको तिनीहरूले तिरस्कार गरे।—प्रेरित २०:२८-३०; २ तिमोथी ४:३, ४; २ पत्रुस २:१-३.
वास्तवमा, स्वर्गीय आशा राख्ने मसीहीहरूको मात्र पुनरुत्थान हुने होइन। (१ पत्रुस १:३-५) मरेकाहरूलाई परमेश्वरले पृथ्वीमा पुनः जीवित पार्न सक्नुहुन्छ भनी कुलपिताहरू तथा परमेश्वरका अन्य प्राचीन सेवकहरूले पनि विश्वास गरेका थिए। (अय्यूव १४:१४, १५; दानियल १२:२; लूका २०:३७, ३८; हिब्रू ११:१९, ३५) बितेका शताब्दीयौंभरि परमेश्वरलाई कहिल्यै चिन्दै नचिनेका अरबौं मानिसहरूले पनि पार्थिव प्रमोदवनमा पुनः जीवित हुनै मौका पाउनेछन्। किनभने “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान” हुनेछ। (प्रेरीत २४:१५; लूका २३:४२, ४३) के यो एउटा रोमाञ्चकारी प्रत्याशा होइन र?
दुःख र मृत्यु सधैं नै रहनेछ भनी हामी विश्वास गरेको यहोवा चाहनु हुन्न। बरु उहाँले हाम्रो ध्यान त्यो समयतर्फ खिच्नु हुन्छ जब “सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु” सधैंका लागि हटाइनेछ र विश्वासी मानवजाति पृथ्वीमा पुनःस्थापित प्रमोदवनमा सदा सर्वदा बाँच्नेछ। (१ कोरिन्थी १५:२६; यूहन्ना ३:१६; २ पत्रुस ३:१३) हाम्रा प्रिय जनहरूलाई फेरि पुनः जीवित भएको हेर्न पाउनु कति आनन्दको कुरा हुनेछ! परमेश्वरको वचनमा नभएर युनानी दर्शनमा आधारित प्राणको अमरत्व जस्तो काल्पनिक विचारभन्दा यो निश्चित आशा कति राम्रो छ! तपाईंले आफ्नो आशा परमेश्वरको निश्चित प्रतिज्ञामा राख्नुभयो भने चाँडै “मृत्यु हुनेछैन” भनी तपाईं पनि निश्चित हुनसक्नु हुनेछ!—प्रकाश २१:३, ५.
[पृष्ठ ३१-मा भएको चित्र]
पुनरुत्थान बाइबलको अद्भुत सत्य हो