प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१ पृ. २१-२५
  • परिपक्वतातर्फ बढ्‌ने मेरो निर्णय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिपक्वतातर्फ बढ्‌ने मेरो निर्णय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • युद्धले हाम्रो जीवन परिवर्तन गर्छ
  • आध्यात्मिक उन्‍नतिमा बाधाहरू
  • अग्रगामी सेवाको थालनी
  • मिसनरी सेवामा लाग्ने
  • विदेशी क्षेत्रमा आफूलाई काँटछाँट गर्ने
  • संयुक्‍त राज्यमा भेट्‌न जाँदा
  • आध्यात्मिक तवरमा उन्‍नति गरिरहने
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१ पृ. २१-२५

परिपक्वतातर्फ बढ्‌ने मेरो निर्णय

कार्ल डोकाऊको वृतान्तमा आधारित

“परिपक्वतातर्फ बढ्‌ने वा पापमा धस्ने?” द वाचटावर जून १५, १९४८ को अंकमा उक्‍त शीर्षकअन्तर्गत एउटा लेख छापिएको थियो। यो लेख पढेर म संयुक्‍त राज्यको ठूल-ठूला खेतको आध्यात्मिक खतराबाट बचें र दक्षिण अमेरिकामा मिसनरी बन्‍न पुगें। जुन पेशामा मैले ४३ वर्षभन्दा बढी समय बिताएँ।

भर्गस, मिनसोटस्थित काठले बनेको सानो घरमा मार्च ३१, १९१४ का दिन मेरो जन्म भएको थियो र हामी चार दाजु-भाइहरूमध्ये म साहिंलो थिएँ। मेरो बाल्यावस्था रमाइलोसँग बित्यो। बुबासँग माछा मार्न गएको मलाई अहिलेसम्म याद छ। तथापि, मेरी आमा बारम्बार बिरामी भइरहनु हुन्थ्यो र उहाँलाई घरको काम-काजमा मदत गर्न पाँच कक्षामै मैले स्कूल छाड्‌नु पऱ्‍यो। म १३ वर्षको हुँदा मेरी आमाको स्वास्थ्य परीक्षण गर्दा उहाँलाई फोक्सोको क्यान्सर भएको पाइयो।

आफू धेरै बाँच्दिन भनेर मेरी आमालाई थाह थियो। त्यसैकारण तिनको ठाउँ लिन सकोस्‌ भनेर उहाँले मलाई सिकाउन थाल्नुभयो। भान्छामा बसेर उहाँले मलाई खाना पकाउन र पाउरोटी सेक्न सिकाउनुहुन्थ्यो। यसबाहेक, लुगा धुन, बगैंचाको हेरविचार गर्न र सयवटा कुखुराहरूको रेखदेख गर्न सिकाउनुभयो। म त्यति राम्ररी पढ्‌न नसक्ने भए तापनि उहाँले मलाई हरेक दिन बाइबलको एक अध्याय पढ्‌ने प्रोत्साहन दिनुहुन्थ्यो। मलाई दश महिनाजति प्रशिक्षण दिनुभएपछि जनवरी २७, १९२८ मा मेरी आमाको मृत्यु भयो।

युद्धले हाम्रो जीवन परिवर्तन गर्छ

सेप्टेम्बर १९३९ मा दोस्रो विश्‍व-युद्ध सुरु भएपछि हरेक आइतबार हाम्रो लुथरन चर्चमा सेनाहरूका लागि प्रार्थना गरिन्थ्यो। मेरो दाइ फ्रान्कले मारकाटमा भाग नलिने दृढ निश्‍चय गर्नुभएको थियो। त्यसकारण सैन्य सेवामा भर्ती भएर युद्ध लड्‌न नमानेकोले उहाँलाई गिरफ्तार गरियो। आफ्नो मुद्दा चल्दा उहाँले यसो भन्‍नुभयो: “ती निर्दोषहरूलाई मार्नुभन्दा बरु मलाई गोली हान्‍नुहोस्‌!” उहाँलाई वाशिंगटन राज्यको समुद्री तटभन्दा टाढा, म्याकनिल नाउँ गरेको टापुमा एक वर्षको कैद सजाय सुनाइयो।

युद्धको समयमा एकदम तटस्थ बस्ने निर्णय लिएकोले कैदमा राखिएका यहोवाका ३०० साक्षीहरूलाई फ्रान्कले त्यहाँ भेट्‌नुभयो। (यशैया २:४; यूहन्‍ना १७:१६) त्यसको केही दिनभित्रै उहाँले तिनीहरूसँग संगत गर्न थाल्नुभयो र जेलमै बप्तिस्मा पनि लिनुभयो। उहाँको असल चालचलनले गर्दा उहाँको सजाय घटाएर नौ महिना गराइयो। अनि नोभेम्बर १९४२ मा हामीले फ्रान्क जेलमुक्‍त भएको खबर पायौं र आउने बित्तिकै उहाँले हामीलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन थाल्नुभयो। आ-आफ्नो बाइबल खोलेर फ्रान्कले भन्‍नुभएको समाचारलाई जाँचेर हेरेपछि उहाँले हामीलाई सत्य सिकाइरहनु भएको रहेछ भनेर हामीले थाह पायौं।

आध्यात्मिक उन्‍नतिमा बाधाहरू

सन्‌ १९४४ मा म मोन्टानाको माल्टामा सरें र मेरो काकासँग बस्न थालें। हामी दुवैमा एउटा कुरा भने मेल खान्थ्यो, त्यो हो विवाह गरेको छ महिनापछि हामी दुवैका पत्नीहरूले हामीहरूलाई छाडेर गएका थिए। खेती गर्न र खाना पकाउन मेरो मदत पाएकोमा उहाँ खुशी हुनुहुन्थ्यो र हामी दुवैले आपसमा आधा-आधा नाफा बाँड्‌थ्यौं। म उहाँसँग बसें भने, उहाँको ६४० एकड जमिनको उत्तराधिकारी हुनेछु भनेर मेरो काकाले मलाई भन्‍नुहुन्थ्यो। त्यतिबेला खेतीपाती निकै फस्टाएको थियो र मलाई आफ्नो काम साह्रै मन पर्थ्यो। हरेक वर्ष प्रशस्त खेती हुन्थ्यो र प्रति बुसेल (३५.२४ लिटर) ३.१६ अमेरिकी डलरमा हामी गहुँ बेच्थ्यौं।

तथापि, माल्टामा यहोवाका साक्षीहरूको सानो मण्डलीमा मैले सभाहरू धाएको मेरो काकालाई मन परेन। जून ७, १९४७ का दिन मैले मेरो काकालाई कुनै खबर नदिई वुल्फ प्वाइन्टमा यहोवाका साक्षीहरूको क्षेत्रीय सम्मेलनमा बप्तिस्मा लिएँ। त्यहींकै एक मसीही भाइले अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक बन्‍न मलाई निमन्त्रणा दिए। त्यस्तो काममा जीवन बिताउने इच्छा भए तापनि मेरो काकाले मलाई त्यति धेरै समय सेवकाईमा बिताउने अनुमति दिनुहुनेछैन भनेर मेलै बताएँ।

यसको केही समयपश्‍चात्‌ मेरो एउटा मित्रले पूर्ण-समय सेवक बन्‍न मलाई आग्रह गर्दै लेखेको पत्र मेरो काकाले खोल्नु भएछ। त्यसपछि रिसले आगो हुँदै मेरो काकाले या त प्रचार गर्न छाड्‌ या घर छाड्‌ भनी आफ्नो अल्टिमेटम सुनाउनुभयो। उहाँको त्यस्तो अल्टिमेटम फाइदाजनक नै भयो किनभने मलाई खेती गर्न यति मन पर्थ्यो, त्यो घटना नभएको भए मैले त्यो काम कहिल्यै छोड्‌ने थिइनँ होला। अतः म आफ्नो घर मिनसोटमा फर्कें र त्यतिञ्जेल मेरो परिवारका सबैले बप्तिस्मा लिएर डेट्रोइट लेक्स मण्डलीमा संगति गर्न थालिसक्नु भएका रहेछन्‌।

सुरु-सुरुमा मेरो परिवारले मलाई अग्रगामीको काम गर्न प्रोत्साहित गर्नुभयो तर सन्‌ १९४८ मा उहाँहरू आध्यात्मिक तवरमा सेलाउन थाल्नुभयो। यसै समयतिरको कुरा हो, “परिपक्वतातर्फ बढ्‌ने वा पापमा धस्ने?” भन्‍ने लेखले मलाई आवश्‍यक आध्यात्मिक बल प्रदान गऱ्‍यो। “प्रगतिशील ज्ञान सँगसँगै जानाजानी अघि बढेनौं भने, अति दुःखदायी नतिजाहरू भोग्नुपर्नेछ” भनेर उक्‍त लेखले चेताउनी दिएको थियो। त्यस लेखमा यस्तो लेखिएको थियो: “हामी त्यतिकै तटस्थ भएर अवनतितर्फ जान सक्दैनौं। हामीले धार्मिकतामा प्रगति गर्नैपर्छ। पछौटेपन विरुद्ध लड्‌ने सबैभन्दा ठूलो शक्‍ति प्रगति हो, विराम होइन।”

मेरो परिवारले विभिन्‍न बहाना बनाएर टाल्न खोजे तापनि मलाई लाग्छ, उहाँहरूको मुख्य समस्या धनी हुने इच्छा थियो। खेतीमा धेरै, प्रचारमा कम समय लगाएर हुने आर्थिक लाभ उहाँहरूलाई थाह थियो। तर मैले धनी हुने इच्छाको पासोमा फँस्नुको सट्टा अग्रगामी बन्‍ने योजना बनाएँ। यो काम त्यति सजिलो छैन भनेर मलाई थाह थियो र वास्तवमा भन्‍ने हो भने, मलाई असम्भवै लाग्थ्यो। त्यसकारण आफैलाई जाँचेर हेर्ने विचारले सन्‌ १९४८ मा मैले त्यस वर्षको सबैभन्दा नराम्रो महिना, डिसेम्बरमा अग्रगामीको काम थालें।

अग्रगामी सेवाको थालनी

तर यहोवाले मेरो प्रयासलाई आशिष्‌ दिनुभयो। उदाहरणका लागि, एक दिन तापक्रम शून्यभन्दा २७ डिग्री सेल्सियस तल झरेको थियो र चिसो हावाको त कुरै नगरौं। सदाझैं म सडक साक्षी दिने काममा लागिरहेको थिएँ अनि चिसो भएको हात खल्तीभित्र हाल्थें र अर्को हात चिसो नहोउञ्जेल त्यसले पत्रिका समात्थें। त्यो हात पनि चिसो भएपछि खल्तीमा राखेर यो क्रम जारी राख्थें। त्यतिकैमा एक जना मान्छे मेरो नजीक आयो। केही समय अघिदेखि मेरो गतिविधिलाई ध्यानमा राखेको कुरा उल्लेख गरेपछि तिनले यसो भनेर सोधे: “यो पत्रिकामा त्यति महत्त्वपूर्ण कुरा के छ हँ? मलाई दुइ प्रति दिनुहोस्‌ न, म पनि पढेर हेरूँ।”

त्यसबीच मेरो परिवारको संगतिले गर्दा मेरो आफ्नै आध्यात्मिकता पनि खतरामा परेको मैले देखें। अतः मलाई अन्यत्र पठाउन मैले वाच टावर सोसाइटीलाई आग्रह गरें र मलाई माइल्स सिटी, मोन्टानामा नयाँ काममा खटाइयो। त्यहाँ मैले कम्पनी सर्भेन्टको रूपमा सेवा गरें, जसलाई आजकल मण्डलीको अध्यक्ष भन्‍ने गरिन्छ। दुइ मिटर अग्लो र ३ मिटर लामो ट्रेलरमा बसेर म आफ्नो जीविकोपार्जनको रूपमा आधा समय ड्राइ-क्लिनिंगको काम गर्थें। कहिलेकाहीं मलाई सबैभन्दा मन पर्ने काम अर्थात्‌ कटनी गर्न मानिसहरू मलाई ज्यालादारीमा लैजान्थे।

यसै समयतिर मैले आफ्नो परिवारको आध्यात्मिक अवस्था झनै खस्केको खबर सुन्‍नथालें। अन्ततः मेरो परिवार र डेट्रोइट लेक्स मण्डलीका अन्य केही व्यक्‍तिहरू यहोवाको संगठनको विरुद्धमा उठे। उक्‍त मण्डलीका १७ जना राज्य प्रकाशकहरूमध्ये ७ जना मात्र विश्‍वासी भएर बसे। मलाई पनि यहोवाको संगठनबाट अलग पार्न मेरो परिवारले दृढ निश्‍चय गरेका थिए। अतः मेरो निम्ति एक मात्र उपाय अझ उन्‍नति गर्नु हो जस्तो मलाई लाग्यो। तर कसरी?

मिसनरी सेवामा लाग्ने

सन्‌ १९५० तिर न्यु योर्क शहरमा सम्पन्‍न अन्तर्राष्ट्रिय सम्मेलनमा मैले वाचटावर बाइबल स्कूल अफ गिलियडको १५ औं कक्षाका मिसनरी विद्यार्थीहरू स्नातक भएको देखें। ‘विदेशी मुलुकमा गएर यहोवाको सेवा गर्नेहरूमध्ये म पनि भइदिए कति असल हुने थियो,’ मैले मनमनै कल्पना गरें।

त्यसपछि मैले निवेदन दिएँ र गिलियडको १७ औं कक्षाको सदस्यको रूपमा मेरो निवेदन स्वीकृत भयो र फेब्रुअरी १९५१ देखि उक्‍त कक्षा सञ्चालन भयो। न्यु योर्कको उत्तरी क्षेत्रमा अवस्थित फार्ममा हाम्रो स्कूल थियो र वरपरको दृश्‍य सुन्दर थियो। कक्षा सकेपछि फार्मको गोठमा गाईवस्तुको हेरविचार गर्न वा खेतमा गएर काम गर्न पाए हुन्थ्यो जस्तो मलाई लाग्थ्यो! तर ड्राइ-क्लिनिंग जान्‍ने व्यक्‍ति म मात्र भएको कुरा राज्य फार्मका निरीक्षक जोन बुथले बताउनुभयो। अतः मलाई त्यो काम सुम्पियो।

मजस्तो पाँच कक्षा पढेको मानिसलाई गिलियडको पढाइ त्यति सजिलो कहाँ हुन्थ्यो र! त्यसकारण राती साढे दश बजे बत्ती निभाउनु पर्ने भए तापनि म प्रायजसो आधा रातसम्म पढ्‌थें। एक दिनको कुरा हो, हाम्रा निर्देशकहरूमध्ये एक जनाले मलाई आफ्नो कार्यकक्षमा बोलाउनुभयो। “कार्ल, तपाईंको पढाइ त्यति राम्रो छैन,” उहाँले मलाई भन्‍नुभयो।

‘अब बित्यास परेन, उहाँहरूले मलाई घर पठाइदिनुभयो भने के गर्ने?,’ मैले मनमनै सोच्न थालें।

तथापि, राती अबेरसम्म नपढिकन कसरी आफ्नो समयको पूर्ण सदुपयोग गर्ने भनेर उहाँले मलाई प्रेमपूर्वक सल्लाह दिनुभयो। डराउँदै मैले उहाँलाई सोधें: “के म यहाँ गिलियडमा बस्न योग्य छु?”

“किन नहुनु?” उहाँले जवाफ दिनुभयो। “तर तपाईं स्नातक हुन सक्नुहुन्छ वा हुन्‍न, त्यो चाहिं म भन्‍न सक्दिनँ।”

स्कूलका अध्यक्ष, नेथन एच. नोरका शब्दहरूबाट मैले सान्त्वना पाएँ। पढाइले भन्दा आफूलाई खटाएको ठाउँमा काम गर्न नछाड्‌ने मिसनरीहरूको “लगनशीलताले” उहाँ प्रभावित हुनुहुन्छ भनेर केही समयअघि मात्र उहाँले गिलियडका विद्यार्थीहरूलाई बताउनुभएको थियो।

मेरो सबैभन्दा कमजोर विषय स्पेनी भाषा थियो। तैपनि आफ्नै घरको जस्तो चिसो हावापानी भएको अलास्कामा खटाइनेछ भनेर मलाई पक्का आशा थियो। त्यसबाहेक म अंग्रेजीमा प्रचार गर्न पनि सक्थें। अतः हाम्रो पढाइको बीचतिर दक्षिण अमेरिकाको इक्वेडरमा मलाई खटाइँदा म कति अचम्मित भएँ होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। हो, स्पेनी भाषा त बोल्नु पर्ने नै भयो र त्यो पनि भूमध्य रेखाको प्रचण्ड गर्मीमा!

एक दिन गुप्तचर विभाग एफबिआइ-को एजेन्ट मलाई भेट्‌न आयो। डेट्रोइट लेक्समा हाम्रो संगठनलाई छोड्‌ने कम्पनी सर्भेन्टको छोराबारे तिनले मसँग पुछताछ गरे। त्यतिबेला कोरियाली युद्ध चलिरहेको थियो र त्यो कम्पनी सर्भेन्टको छोराले आफूलाई यहोवाको साक्षी हुँ भन्‍ने दाबी गरेकोले सैन्य सेवा गर्नदेखि छुट पाएको रहेछ। मैले त्यस एजेन्टलाई तिनी अब यहोवाका साक्षी होइनन्‌ भनी बताइदिएँ। जानुभन्दा अघि त्यस एजेन्टले मलाई यसो भन्यो: “तपाईंको परमेश्‍वरले तपाईंलाई आफ्नो काममा आशिष्‌ दिऊन्‌।”

पछि त्यो कम्पनी सर्भेन्टको छोरो कोरियाली युद्धको प्रारम्भिक मुठभेडमै मारिएको कुरा मैले थाह पाएँ। परमेश्‍वरको संगठनमा परिपक्वतातर्फ बढ्‌न सक्ने ठिटोले कस्तो दुःखदायी नतिजा भोग्नुपऱ्‍यो!

अन्ततः जुलाई २२, १९५१ मा हामी स्नातक हुने दिन पनि आयो। अवश्‍य मेरो परिवारको कुनै सदस्य त्यहाँ उपस्थित हुनुहुन्‍नथियो। तैपनि आफूले गरेको प्रगतिको कारण स्नातक हुन पाउँदा मेरो खुशी पूर्ण थियो।

विदेशी क्षेत्रमा आफूलाई काँटछाँट गर्ने

मेरी आमाले दिनुभएको प्रशिक्षण कतिको लाभदायी रहेछ भनेर आफूलाई खटाइएको काममा लाग्ने बित्तिकै अनुभव गरिहालें। खाना पकाउने, हातैले लुगा धुने र पानीको समस्या मेरो निम्ति नौलो कुरा थिएन। तर स्पेनी भाषामा प्रचार गर्नेबारे कुरै नगरौं! निकै समयसम्म मैले स्पेनी भाषामा छापिएको समाचार चलाएँ। स्पेनी भाषामा जनभाषण दिन सक्ने स्थितिमा पुग्न मलाई तीन वर्ष लाग्यो। तर त्यतिञ्जेलसम्म पनि मलाई विस्तृत टिपोट नभई हुँदैन थियो।

सन्‌ १९५१ मा म इक्वेडर आइपुग्दा २०० भन्दा कम राज्य प्रकाशकहरू थिए। प्रारम्भिक २५ वर्ष जति त चेला-बनाउने काममा सुस्तता छाएको जस्तो देखिन्थ्यो। हामीले दिने बाइबलका शिक्षाहरू क्याथोलिक धर्मका अशास्त्रीय रीतिथितिहरूभन्दा भिन्दै थिए र त्यसमाथि एक मात्र विवाहित पति वा पत्नीसँग विश्‍वासी भएर बस्नु भनी हामीले पालन गर्ने गरेको बाइबलको शिक्षा विशेषगरि अलोकप्रिय थियो।—हिब्रू १३:४.

तर त्यसो भए तापनि हामीले निकै बाइबल साहित्यहरू वितरण गर्न सक्यौं। केरा उत्पादन गरिने ठूल-ठूला खेतहरूको बीचमा पर्ने मकाल क्षेत्रमा हामीलाई दिइएको सेवकाईलाई यसको उदाहरणस्वरूप लिन सकिन्छ। सन्‌ १९५६ मा म र निकोलस वेस्ली यो ठाउँमा आइपुग्दा साक्षीहरूको नाउँमा हामी दुइ मात्र थियौं। त्यतिबेला राजमार्गहरू निर्माण गर्न चलाइने ट्रकमा चढेर हामी बिहान सबेरै बाहिर निस्कन्थ्यौं। त्यसपछि निकै टाढासम्म यात्रा गरेपछि हामी ओर्लन्थ्यौं र त्यहाँदेखि हामी बस्ने ठाउँसम्म नपुगुञ्जेल मानिसहरूलाई साक्षी दिन्थ्यौं।

एक दिनको कुरा हो, हामी दुइमध्ये कसले धेरै पत्रिका वितरण गर्ने भनेर निक र मैले जाँच्ने निधो गऱ्‍यौं। मलाई याद छ, मध्य दिनसम्म म निकभन्दा अघि थिएँ तर साँझसम्ममा हामी दुवैले बराबर ११४ वटा पत्रिकाहरू वितरण गरेछौं। हाम्रो पत्रिका रूटमा पर्ने मानिसहरूलाई हामी महिनैपिच्छे सयौं पत्रिकाहरू दिन्थ्यौं। छ पटक त मैले एक महिनामा हजारभन्दा बढी पत्रिकाहरू वितरण गरें। यी पत्रिकाहरूबाट कति धेरै मानिसहरूले सत्य सिक्न सक्छन्‌ भनेर यसो कल्पना गर्नुहोस्‌ त!

इक्वेडरमा मण्डलीहरूले निजी स्तरमा निर्माण गरेका राज्य भवनहरूमध्ये पहिलो राज्य भवन बनाउने मौका पनि हामीले मकालमै पायौं। त्यो घटना हो, ३५ वर्षअघि सन्‌ १९६० तिरको। त्यतिबेला हाम्रा सभाहरूको उपस्थिति जम्मा १५ जना हुन्थ्यो। तर अहिले मकालमा ११ वटा मण्डलीहरू फस्टाइरहेका छन्‌!

संयुक्‍त राज्यमा भेट्‌न जाँदा

सन्‌ १९७० को दशकको अन्ततिर छुट्टीमा म संयुक्‍त राज्य फर्कें र मेरो दाइ फ्रान्कसित केही घण्टा बिताएँ। उहाँले मलाई आफ्नो कारमा राखेर माथि डाँडामा लानुभयो, जहाँबाट रेड रिभर भ्यालीभन्दा परसम्म देख्न सकिन्थ्यो। विशाल खेतमा लहलहाउँदै झुलिरहेका गहुँका बालाहरूले गर्दा त्यो ठाउँ सुन्दर थियो। अनि परतिर सेन्‍नी खोलाको किनाराहुँदो रूखहरू देख्न सकिन्थ्यो। यस्तो शान्तिमय सौन्दर्यको आनन्द उठाइरहेको बेला सदाझैं मेरो दाइको त्यही पुरानो कुराले मेरो ध्यान भंग गऱ्‍यो।

“दक्षिण अमेरिकामा मूर्खजस्तो लखरलखर नहिंडेर यहाँ हामीसँगै बसेको भए यी सबै कुरामा तिम्रो पनि हक लाग्थ्यो।”

“फ्रान्क, त्योभन्दा बढी नबोल्नुस्‌,” मैले तुरुन्तै बीचमा कुरा काट्‌दै भने।

उहाँले एक शब्द बोल्नुभएन। यसको केही वर्षपछि हृदय गति बन्द भएर उहाँको मृत्यु भयो र नर्थ डकोटोमा हजार एकडभन्दा धेरै जमिनका साथै मोनटानामा मेरो काकाको उत्तराधिकारी भएर पाउनु भएको ६४० एकड जमिन छोडेर जानुभयो।

अहिले मेरो परिवारको कोही पनि जिउँदो छैन। तर मलाई खुशी लाग्छ, वर्षौंअघि यहोवाका साक्षीहरूको हैसियतमा हामीले आफ्नो जीवनी थालेको डेट्रोइट लेक्स मण्डलीमा अहिले ९० जना मसीही भाइ-बहिनीहरू मिलेर बनेको मेरो आध्यात्मिक परिवार छ।

आध्यात्मिक तवरमा उन्‍नति गरिरहने

गत १५ वर्षभित्र यहाँ इक्वेडरमा भएको आध्यात्मिक कटनीमा प्रशस्त फसल उब्जेको छ। सन्‌ १९८० को ५,००० राज्य प्रकाशकहरू बढेर अहिले २६,००० पुगेको छ। यीमध्ये सयभन्दा बढी मानिसहरूलाई मैले बप्तिस्मासम्म डोऱ्‍याउन मदत गर्न पाएँ।

अहिले ८० वर्षको उमेरमा हरेक महिना ३० घण्टा बुझाउन म मेहनत गर्दैछु। यतिको मेहनत मैले सन्‌ १९५१ मा १५० घण्टा बुझाउनु पर्दा गर्नु परेको थिएन। सन्‌ १९८९ मा मेरो प्रोस्टेट ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेदेखि म आराम गर्दैछु र यसको फाइदा उठाउँदै म पढ्‌ने गर्छु। त्यस वर्ष यता मैले सुरुदेखि पुछारसम्म १९ पटक बाइबल र ६ पटक जेहोभाज्‌ विट्‌नेसेज्‌—प्रोक्लेमर्स अफ गड्‌स किंगडम (यहोवाका साक्षीहरू—परमेश्‍वरका राज्यका उद्‌घोषकहरू) पढिसकें। यसप्रकार म आध्यात्मिक तवरमा प्रगति गरिरहन्छु।

हो, संयुक्‍त राज्यका हाम्रा ठूल-ठूला खेतहरूबाट मैले पनि भौतिक लाभ उठाउने मौका पाएँ। तर आध्यात्मिक कटनीमा मैले जे जति आनन्द अनुभव गरे, त्यसको अगाडि यो भौतिक सम्पत्ति नगण्य छ। यहाँ इक्वेडरको शाखाबाट प्राप्त जानकारीअनुसार आफ्नो मिसनरी पेशामा मैले १,४७,००० पत्रिका र १८,००० भन्दा बढी कितापहरू वितरण गरें। म यसलाई आध्यात्मिक बिउ ठान्छु जसमध्ये थुप्रै अंकुराइसके; सायद अरू चाहिं मानिसहरूले यी राज्य सच्चाइहरू पढेपछि उनीहरूको हृदयमा अंकुराउलान्‌।

मेरा आध्यात्मिक छोरा-छोरीहरूका साथै हाम्रो परमेश्‍वर, यहोवाको सेवा गर्न रोज्ने अरू लाखौं मानिसहरूसँग परमेश्‍वरको नयाँ संसारसम्मै प्रगति गर्दै जानुभन्दा असल कुरा म सोच्न सक्दिनँ। पैसाले यस दुष्ट संसारको नाशबाट कसैलाई बचाउनेछैन। (हितोपदेश ११:४; इजकिएल ७:१९) तर हामीमध्ये प्रत्येक व्यक्‍ति परिपक्वतातर्फ बढ्‌दै गयौं भने, हाम्रो आध्यात्मिक कामले फल फलाई नै रहनेछ।

[पृष्ठ २४-मा भएको चित्र]

सन्‌ १९४९ मा माइल्स सिटी, मोन्टानामा अग्रगामी गर्न तयार

[पृष्ठ २४-मा भएको चित्र]

सन्‌ १९५२ मा मिसनरी घरका लागि पानी किन्दै गरेको दृश्‍य

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९५७ मा मकालमा प्रचार गरिरहेको दृश्‍य

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९८९ मा बिरामी भएदेखि मैले १९ पटक बाइबल पढिसकें

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने