प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१ पृ. २८-३१
  • व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पैसालाई त्यसको ठाउँमा राख्ने
  • आफ्नो वचन पूरा गर्नुहोस्‌
  • इमान्दार हुनुहोस्‌
  • संगी विश्‍वासीहरूसित ठीकसँग व्यापारिक लेनदेन गर्नुहोस्‌
  • समझ-शक्‍तिले तपाईंको रक्षा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १४. सबै कुरामा इमानदार हुनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “सचेत रहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१ पृ. २८-३१

व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ?

दक्षिण अमेरिकी देशको राष्ट्रपतिकी पत्नीलाई पारिवारिक सदस्यहरूको नाउँमा झूटा कम्पनीहरू स्थापना गरेर ठेक्कापट्टाद्वारा लाखौं डलर जालसाजी गरेको आरोप लगाइयो। भारतको ३८ वर्षीय शेयर दलाललाई १६ करोड डलरको बैंकिग तथा शेयर बजार काण्डमा मुछिएको आरोपमा २९ वटा कारहरू भएको भव्य घरबाट गिरफ्तार गरियो। फिलिपिन्सको एउटा टापुमा हजारौं मानिसहरूले अवैध हाते बन्दुकहरू बनाएर आफ्नो जीविका चलाउँछन्‌। प्राप्त जानकारीअनुसार यस्तो व्यापारमा नाफा हुने हुनाले त्यहाँका सबैले अधिकारीहरूलाई हस्तक्षेप नगर्न घुस दिन्छन्‌।

हो, सारा संसारभरि व्यापारमा बेइमानी र जालसाजी व्याप्त भएको छ। अनि प्रायः मानिसहरूले आफ्नो ओहदा, सम्मानका साथै पैसासमेत गुमाउँछन्‌।

तपाईं नि? के तपाईं व्यापार गर्नुहुन्छ? अथवा व्यापार सुरु गर्ने विचार गर्दै हुनुहुन्छ कि? त्यसका लागि तपाईंले कस्तो मोल चुकाउनुपर्नेछ? अवश्‍य व्यापार गर्दा केही न केही मोल त चुकाउनैपर्छ। तर त्यो सधैं नराम्रै हुनुपर्छ भन्‍ने छैन। तथापि, कुनै व्यापार सुरु गर्न अथवा सुरु गरिसकेपछि कुनै निर्णय गर्नुअघि सबै कुराको हिसाब किताब गर्नु बुद्धिमानी हो। (लूका १४:२८) तपाईंले विचार गर्नुपर्ने केही बुँदाहरू पृष्ठ ३१ मा दिइएका छन्‌।

स्पष्ट छ, व्यापार गर्नु सजिलो छैन। व्यापार गर्दा एक जना मसीहीले आध्यात्मिक तथा नैतिक कर्तव्यहरूलाई विचार गर्नुपर्ने हुन्छ। के तपाईं आध्यात्मिक सन्तुलन कायम राख्दै व्यापार गर्न सक्नुहुन्छ? व्यापार गर्दा गर्नुपर्ने कुनै कुनै काम के नैतिक तवरमा अस्वीकार्य छन्‌? व्यापार गर्दा कस्ता मोलहरू चुकाउन स्वीकार्य छन्‌ र कस्ता छैनन्‌ भनी निर्णय गर्न तपाईंलाई मदत गर्ने केही सिद्धान्तहरू के के हुन्‌?

पैसालाई त्यसको ठाउँमा राख्ने

व्यापार चलाउन पैसा चाहिन्छ। र व्यापार गर्दा आफ्नो परिवार धान्‍न पैसा कमाइन्छ भनेर आशा गरिन्छ। तथापि, पैसासम्बन्धी लक्ष्यहरू सजिलै विकृत हुनसक्छन्‌। लोभले असर गर्नसक्छ। केही मानिसहरू पैसाका लागि सबै कुरालाई दोस्रो स्थानमा राख्छन्‌। यद्यपि, बाइबल पुस्तक हितोपदेशको लेखक अगुरले यसो भन्दै सन्तुलित दृष्टिकोण प्रकट गरे: “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌। मलाईं चाँहिदो भोजन मात्र जुटाइ दिनुहोस्‌।” (हितोपदेश ३०:८) जीवन धान्‍न चाहिने पर्याप्त पैसासित सन्तुष्ट हुनु कति मूल्यवान छ भनेर तिनले बुझेका थिए। आज व्यापारीहरूले भन्‍नेगरेझैं तिनी कुनै “ठूलो माल हातमा पार्न” चाहँदैनन्‌ थिए।

यद्यपि, तथाकथित सुनौलो मौका हातमा आउँदा लोभमा परेर यो सिद्धान्त भुलिन सक्छ। विकासोन्मुख देशमा यहोवाका साक्षीहरूको परिभ्रमण सेवकले त्यस्तै घटनाबारे रिपोर्ट गरे। पुँजी लगानी खाँचो परेको त्यस्तै एउटा कम्पनीले तुरुन्तै, सम्भवतः केही महिनाभित्र लगानीकर्ताहरूले आफ्नो पुँजी दुइ गुना पाउनेछन्‌ भन्‍ने प्रभाव पारेछन्‌। सजिलै पैसा कमाउन सक्ने उपाय देखेर थुप्रै मानिसहरूले लगानी गरे। परिभ्रमण सेवक यसो भन्छन्‌: “कोही कोही त सारै आतुर थिए। तिनीहरूले चाहिनेजति सोधपूछ गरेनन्‌ र [लगानी गर्न] अरूसँग पैसा सापटी लिए।”

तर यसको विपरीत दुइ जना मानिसहरूले लगानी गर्नुअघि उक्‍त कम्पनीको कार्यालयमा गएर खोजीनिती गरेछन्‌। तिनीहरूले कारखाना भवनहरू देखाउने निवदेन गर्दा अस्वीकार गरियो। यसले गर्दा त्यस कम्पनीको प्रतिष्ठामाथि तिनीहरूलाई शंका लागेछ। तर त्यो तिनीहरूको निम्ति फाइदाजनकै साबित भयो किनभने केही हप्ताभित्र त्यस कम्पनीको जालसाजी सबुद प्रमाणसहित पर्दाफाश भयो र मानिसहरू गिरफ्तार भए। यसो सोच्नुहोस्‌, कुनै खोजीनिती नगरी लगानी गर्नेहरूले कस्तो मोल चुकाउनुपऱ्‍यो। तिनीहरूले आफ्नो पैसा मात्र होइन सापटी लिएको पैसा तिर्न नसक्दा शायद सापटी दिने मित्रहरूसमेत गुमाए होलान्‌। पैसाको मामिलामा हितोपदेश २२:३ को सिद्धान्त अपनाउनु कति बुद्धिमतापूर्ण छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”

आफ्नो वचन पूरा गर्नुहोस्‌

तपाईंको व्यापार डावाँडोल हुनथाल्यो भने के गर्ने? आफ्नै नोक्सानी हुने भए तापनि आफूले गरेको सम्झौताअनुसार चल्ने मानिसको सराहना गर्दै भजन १५:४ ले यसो भन्छ: “जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदलँदैन।” सुचाररूपले व्यापार चल्दा आफ्नो वचन पूरा गर्न सजिलै हुन्छ। तर नोक्सान हुँदा हाम्रो निष्ठाको परीक्षा हुन्छ।

बाइबलमा उल्लिखित यहोशूको समयतिरको एउटा घटनालाई विचार गर्नुहोस्‌। गिबोनीहरूले इस्राएलका नाइकेहरूले नचिनून्‌ र नमारून्‌ भनेर चाल चलेका थिए। वास्तवमा तिनीहरू इस्राएलका लागि खतरा ठानिएका राष्ट्रका मानिसहरू थिए। तैपनि पछि तिनीहरूको छल पर्दाफाश हुँदा “इस्राएलीहरूले तिनीहरूलाई मारेनन्‌, किनभने समुदायका नाइकेहरूले तिनीहरूसँग परमप्रभु[को] . . . शपथ खाएका थिए।” (यहोशू ९:१८) यो समूह शत्रु इलाकाबाट आएको भए तापनि इस्राएलका नाइकेहरूले आफ्नो वचन राख्नु महत्त्वपूर्ण सम्झे। र यो निर्णयदेखि यहोवा प्रसन्‍न हुनुभयो भनेर त्यसपछिका घटनाहरूले देखाउँछ।—यहोशू १०:६–११.

तपाईंको व्यापार आशा गरेबमोजिम नचल्दा के तपाईं आफ्नो सम्झौता र ठेक्कापट्टाका कामहरू पूरा गर्नुहुन्छ?a त्यसो गर्नु भयो भने तपाईं सधैं आफ्नो वचन पूरा गर्नुहुने यहोवाजस्तै हुनुहुनेछ।—यशैया ५५:११.

इमान्दार हुनुहोस्‌

इमानदारी त्यस्तो जन्तु हो जो लोप भने अवश्‍य भएको छैन तर लोप हुने खतरामा छ। तपाईंकै जस्तो व्यापार गर्ने अरू मानिसहरूले शायद बेइमानी गरेर नाफा गर्लान्‌। बेइमानी ढंगमा तिनीहरूले विज्ञापन गर्लान्‌। अरू कम्पनीको लेबल चोरेर आफ्नो सामानमा टाँस्लान्‌। अथवा नक्कली सामानलाई सक्कली सामान भनी बिकाउलान्‌। यी सबै बेइमानी गर्ने तरिकाहरू हुन्‌। यस्ता बेइमानी काम गर्नेहरू त्यस्ता “दुष्टहरू” हुन्‌ जो आसापका शब्दअनुसार “धनको पौलमा बढ़छन्‌,” सम्भवतः कुनै जालसाजी गरेर।—भजन ७३:१२.

एक जना मसीहीको हैसियतमा के तपाईं त्यस्तो अवैध तरिका प्रयोग गर्नुहुन्छ? अथवा बाइबलका सिद्धान्तअनुसार चल्नुहुन्छ, जस्तै: “हामीले कसैको खराबी गरेनौं। हामीले कसैलाई भ्रष्ट पारेनौं। हामीले कुनै मानिसलाई ठगेनौं,” “कपटमा नचलेर . . . छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं,” “दुइ किसिमको ढक परमप्रभुलाई घीन लाग्छ, औ छलको तराजू उहाँको दृष्टिमा असल हुँदैन”? (२ कोरिन्थी ४:२; ७:२; हितोपदेश २०:२३) स्मरण रहोस्‌, बेइमानीको प्रारम्भक अरू कोही नभई “झूटको पिता,” शैतान तथा दियाबल हो!—यूहन्‍ना ८:४४.

शायद कसै कसैले यसो भन्दै आपत्ति गर्लान्‌: ‘अरूले जस्तो बेइमानी नगरी व्यापार कहाँ चल्छ र?’ एक जना मसीहीले यहोवामाथि आफ्नो विश्‍वास प्रदर्शित गर्नसक्ने क्षेत्र यही हो। कुनै मोल चुकाउनु पर्दा हाम्रो इमानदारीको परीक्षा हुन्छ। बेइमानी नगरी बाँच्न गाह्रो छ भन्‍नु र परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूको ख्याल राख्नहुन्‍न भन्‍नु बराबर छ। आफ्ना सेवकहरू जुनसुकै देश वा परिस्थितिमा किन नहोऊन्‌, परमेश्‍वरले तिनीहरूको ख्याल राख्न सक्नुहुन्छ भनेर यहोवामाथि साँचो विश्‍वास राख्ने मानिसले जान्दछ। (हिब्रू १३:५) हो, बेइमानहरूको भन्दा कम आम्दानी हुँदा त्यसैमा सन्तुष्ट हुनुपर्ला तर यहोवाको आशिष्‌ के त्यति मोलको योग्य छैन र?

बेइमानी भनेको बुमरैंगजस्तो जसले फ्याँक्यो उसैकहाँ फर्केर आउँछ भनेर नबिर्सनुहोस्‌। व्यापारीले बेइमानी गरेको चाल पाएपछि ग्राहक र वितरकहरूले प्रायः त्यस्ता मानिसहरूसँग कारोबार गर्न छाड्‌छन्‌। शायद एकपटक उसले तिनीहरूलाई उल्लू बनाउला तर त्यो नै अन्तिम पटक हुनसक्छ। अर्कोतिर इमानदार व्यापारीहरूले प्रायः अरूको सम्मान पाउँछन्‌। ‘सबैले गर्दैछन्‌, मैले गरे के भो त,’ भन्‍ने जस्ता झूटो तर्कदेखि होशियार हुनुहोस्‌। बाइबलको सिद्धान्त हो, “खराबी गर्न भीड़सँग नलाग्‌।”—प्रस्थान २३:२.

मानि लिनुहोस्‌, तपाईंको पुरानो साझेदार संगी मसीही होइन र सधैं बाइबलका सिद्धान्तहरूअनुरूप पनि चल्दैन। कुनै अशास्त्रीय काम हुँदा के यसलाई बहाना बनाएर आफ्नो जिम्मेवारी पन्छाउन मिल्छ होला र? आदम र शाऊलजस्ता मानिसहरूका उदाहरणहरूलाई सम्झनुहोस्‌। पापबाट बच्ने कोसिस गर्नुको साटो तिनीहरू अरूको दबाबमा परे अनि आफ्ना संगीहरूलाई दोष लगाए। तर तिनीहरूले कति ठूलो मोल चुकाउनुपऱ्‍यो!—उत्पत्ति ३:१२, १७-१९; १ शमूएल १५:२०-२६.

संगी विश्‍वासीहरूसित ठीकसँग व्यापारिक लेनदेन गर्नुहोस्‌

यहोवाका संगी उपासकहरूसँग व्यापारिक लेनदेन गर्दा विचार गर्नुपर्ने के कुनै कुराहरू छन्‌? आफ्नो घरशहर अनातोतमा काकाको छोरासँग खेत किन्दा यर्मियाले पैसा मात्र हातमा थमाइदिएनन्‌। बरु तिनले यसो भने: “मैले तमसुकमा सही गरें, छाप लगाएँ, साक्षीहरू राखें र जोखेर दाम दिएँ।” (यर्मिया ३२:१०) त्यस्ता लिखित सम्झौताहरू बनाउनाले पछि परिस्थिति परिवर्तन हुँदा कुनै किसिमको गलतफहमी हुनदेखि रोक्नसक्छ।

तर एक मसीही भाइसित व्यापार गर्दा उसले न्यायोचित व्यवहार गरेन भने के गर्ने? के तपाईंले उसलाई अदालत लैजानु पर्ला? यस सम्बन्धमा बाइबलले स्पष्ट जवाफ दिन्छ। पावलले यसरी सोधे, “के तिमीहरूमध्ये कुनैलाई अरू कसैको विरुद्धमा केही कुरो परेमा इन्साफको निम्ति त्यसले पवित्र जनहरूकहाँ नगएर अधर्मीहरूको सामने अदालतमा जाने आँट गर्छौ?” तर चित्तबुझ्दो ढंगमा समस्या तुरुन्तै समाधान भएन भने के गर्ने? पावलले यसो भन्दै थपे: “एउटामाथि अर्कोको मुद्दा हुनु यो तिमीहरूको ठूलो त्रुटि (हार न्युव) हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएरनै नरहनु?” साँचो मसीहीहरू अदालतमा लडिरहेका छन्‌ भनेर बाहिरकाहरूले सुने भने मसीही संगठनमा कत्रो कलंक लाग्ला यसो सोच्नुहोस्‌! के त्यस्तो बेला भाइप्रतिको प्रेमभन्दा पैसाप्रतिको प्रेम नै बलियो भएछ भन्‍नु मिल्दैन र? अथवा सम्मानमा आघात परेकोले अब बदला लिने भाव नै सबैभन्दा महत्त्वपूर्ण हुन गएको हुनसक्दैन र? त्यस्ता घटनाहरू हुँदा अदालत जानुभन्दा घाटा सहनु बेस हुनेछ भनी पावलको सल्लाहले देखाउँछ।—१ कोरिन्थी ६:१, ७; रोमी १२:१७-२१.

निस्सन्देह, मण्डलीमा त्यस्ता कलह समाधान गर्ने शास्त्रीय तरिका नभएको होइन। (मत्ती ५:३७; १८:१५-१७) भाइहरूलाई सुझावित कदमअनुसार चल्ने मदत दिंदा मसीही निरीक्षकहरूले सम्बन्धित सबैलाई केही मदतकारी सल्लाह दिए हुन्छ। त्यस्ता छलफलहरूका दौडान बाइबलका सिद्धान्तहरूसँग सहमत हुन सजिलो लाग्ला तर पछि के तपाईं साँच्चै नै सल्लाह सुनेर पालन गर्दैहुनुहुन्छ भनेर देखाउनु हुनेछ? परमेश्‍वर तथा संगी मसीहीहरूप्रतिको प्रेमले हामीलाई त्यसो गर्न उत्प्रेरित गर्नेछ।

निस्सन्देह, व्यापार गर्दा तपाईंले कुनै न कुनै मोल चुकाउनैपर्छ। तर आशा छ, तपाईंले चुकाउने मोल व्यवहारिक हुनेछ। कुनै निर्णय गर्नुपर्दा वा कुनै शंकास्पद स्थिति सृजना हुँदा जीवनमा अरू थुप्रै कुराहरू पैसाभन्दा मूल्यवान छन्‌ भनेर मनमा राख्नुहोस्‌। पैसालाई त्यसको आफ्नै ठाउँमा राख्यौं, वचन पूरा गऱ्‍यौं, इमानदार भयौं, आफ्ना साझेदारहरूसित मसीही ढंगमा लेनदेन गऱ्‍यौं भने व्यापार गर्दा हामीले आवश्‍यक समय र पैसाभन्दा बढी मोल चुकाउनु पर्नेछैन। साथै आफ्नो मित्रता, असल अन्तस्करण तथा यहोवासितको राम्रो सम्बन्धलाई बचाउन सक्नेछौं।

[फुटनोट]

a व्यापार गर्दा आफ्नो वचन पूरा गर्ने आधुनिक समयको उदाहरणको लागि अवेक!, मे ८, १९८८, पृष्ठ ११-१३ मा “मेरो वचन मेरो बन्धन” नामक लेख हेर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएको पेटी]

व्यापार गर्दा तपाईंले चुकाउनुपर्ने सम्भावित मोलहरू

समय: अरूको कम्पनीमा काम गर्नुभन्दा आफ्नै व्यापार चलाउँदा प्रायः सधैं बढी समय खर्च हुन्छ। के तपाईं आफ्नो तालिकालाई खलल पारेर आध्यात्मिक क्रियाकलापहरूजस्ता महत्त्वपूर्ण कुरालाई कम समय दिनुहुनेछ? यसको सकारात्मक पक्ष, परमेश्‍वरको इच्छा पूरा गर्न अझ धेरै समय बिताउन मिल्नेगरि के तपाईं आफ्ना कामकुराहरू मिलाउन सक्नुहुनेछ? यदि सक्नुहुनेछ भने बेसै हो। तर होशियार! यो कुरा भन्‍न सजिलो तर गर्न गाह्रो छ।

पैसा: पैसा कमाउन पैसा चाहिन्छ। तपाईंको व्यापार चलाउन कस्तो लगानी आवश्‍यक पर्छ? के तपाईंसित पुँजी छ? वा कसैसित सापटी लिनुपर्ला कि? के तपाईं घाटा सहन तयार हुनुहुन्छ? अथवा आशा गरेबमोजिम व्यापार नचल्दा तपाईंले सहनसक्नेभन्दा बढी नोक्सान होला कि?

मित्रहरू: दिन-दिनको लेनदेनमा समस्याहरू खडा हुँदा थुप्रै व्यापारीहरूले आफ्ना मित्रहरू गुमाएका छन्‌। फेरि मित्रता गाँस्ने सम्भावना नभएको होइन तर सम्बन्ध तनावपूर्ण हुनसक्ने धेरै खतराहरू छन्‌। यदि यी मित्रहरू आफ्नै मसीही भाइहरू भइदिए भने के गर्ने?

असल अन्तस्करण: आजको संसारमा व्यापार गर्दा सामान्यतया “साँढे-साँढे जुध्छ” वा “मलाई फाइदा हुन्छ भने जे पनि ठीक” भन्‍ने धारणा राखिन्छ। युरोपमा गरिएको सर्वेक्षणअनुसार ७० प्रतिशत विद्यार्थीहरूले व्यापारिक जीवनमा नैतिकताको कुनै स्थान छैन भन्‍ने अडान लिए। त्यसैकारण जालसाजी, बेइमानी र शंकास्पद धन्दा आज सामान्य हुनु कुनै नौलो कुरा होइन। के तपाईं पनि अरूको लहैलहैमा लाग्न प्रलोभित हुनुहुनेछ?

यहोवा र तपाईंबीचको सम्बन्ध: व्यापारिक दुनियाँमा जतिसुकै सामान्य किन नहोस्‌, परमेश्‍वरको आज्ञा तथा सिद्धान्त विपरीत व्यापार गर्नाले सृष्टिकर्तासँगको सम्बन्ध बिग्रन्छ। फलतः व्यक्‍तिविशेषले अनन्त जीवनको प्रत्याशा गुमाउनसक्छ। जतिसुकै भौतिक फाइदा किन नहोस्‌, एक वफादार मसीहीको लागि के त्यो असाध्यै ठूलो नोक्सान हुनेछैन र?

[पृष्ठ ३१-मा भएको चित्र]

कुन चाहिंले गलतफहमी हुनदेखि रोक्नसक्छ? पैसा मात्र हातमा थमाइदिनाले वा लिखित सम्झौता गर्नाले?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने