प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ७/१५ pp. २५-२७
  • बहिष्कार गर्नु मायालु प्रबन्ध?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बहिष्कार गर्नु मायालु प्रबन्ध?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संरक्षण किन खाँचो छ
  • बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो
  • अरू व्यक्‍तिहरूमा प्रभाव
  • परिवारका सदस्यहरूका लागि मायालु मदत
  • यहोवाको प्रबन्धलाई मूल्यांकन गर्नुहोस्‌
  • बहिष्कार—यो किन मायालु प्रबन्ध हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो
    ब्यूँझनुहोस्‌!—१९९६
  • प्रियजनले यहोवालाई त्याग्दा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ७/१५ pp. २५-२७

बहिष्कार गर्नु मायालु प्रबन्ध?

“पवित्र, पवित्र, पवित्र, प्रभु परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ।” (प्रकाश ४:८) त्यस विवरणअनुरूप यहोवा पवित्र स्तरहरूका स्रोत हुनुहुन्छ। यी “पवित्र लेखोटहरू[मा]” लेखिएका छन्‌ र यी निर्देशनहरू पालन गर्नु मसीहीहरूको दायित्व हो। निस्सन्देह, तिनीहरू यहोवाले अशुद्ध ठान्‍नुहुने कुराहरूबाट अलग बस्नुपर्छ।—२ तिमोथी ३:१५; यशैया ५२:११.

बाइबलले स्पष्टसित यो आज्ञा दिएको छ: “तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’” (१ पत्रुस १:१५, १६) उन्‍नाइस शताब्दीअघि मसीही मण्डलीको सुरुआत भएदेखि त्यसलाई आध्यात्मिक तथा नैतिक अशुद्धताबाट जोगाउन साँचो मसीहीहरूले कडा यत्न गर्नुपरेको छ।—यहूदा ३.

संरक्षण किन खाँचो छ

परमेश्‍वरका सम्पूर्ण सेवकहरूले नैतिक तथा आध्यात्मिक स्वच्छता कायम गर्ने कठिन चुनौतीको सामना गर्छन्‌। त्यसो गर्न तीन शक्‍तिशाली शत्रुहरूको विरोध गर्नुपर्छ। ती हुन्‌—शैतान, त्यसको संसार र हाम्रो पापी शरीरका झुकावहरू। (रोमी ५:१२; २ कोरिन्थी २:११; १ यूहन्‍ना ५:१९) शैतानको संसारले तपाईंलाई अनैतिक हुन प्रलोभित गर्नेछ, त्यसका तौरतरिकाहरू अपनाउन लोभ्याउनेछ र सांसारिक धन, ख्याति, ओहदा, प्रतिष्ठा तथा शक्‍तिको प्रस्ताव राख्नेछ। तर साँचो उपासना कायम गर्न कटिबद्ध व्यक्‍तिहरूले शैतानले दिने जुनसुकै कुराको प्रतिरोध गर्छन्‌ र “दुनियाँबाट निष्कलंक” रहन्छन्‌। किन? किनभने तिनीहरू यहोवाको स्वच्छ संगठनको संरक्षण र मायालु हेरचाह चाहन्छन्‌।—याकूब १:२७; १ यूहन्‍ना २:१५-१७.

मानव कमजोरीले गर्दा शैतानका प्रलोभनहरूमा फँस्ने मसीही मण्डलीको सदस्यलाई यहोवाले सहयोगको प्रबन्ध गर्नुभएको छ। मण्डलीलाई जोगाउन, गल्ती गर्नेहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्न र निवारणको निम्ति आवश्‍यक छाँटकाँट गर्न मायालु सहयोग दिन आध्यात्मिक तवरमा दक्ष प्राचीनहरू नियुक्‍त भएका छन्‌। गलत कार्य गर्ने जुनसुकै मसीहीलाई पश्‍चात्ताप गरेर ती तौरतरिकाहरू परिवर्तन गर्न धैर्यतापूर्वक मदत दिनुपर्छ।—गलाती ६:१, २; याकूब ५:१३-१६.

बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो

जानाजानी दुष्ट मार्ग पछ्याउने र परिवर्तन गर्न इन्कार गर्ने यहोवाका बप्तिस्माप्राप्त सेवकहरूलाई अपश्‍चात्तापी र मसीही संगतिको लागि अयोग्य ठानिनुपर्छ। (१ यूहन्‍ना २:१९ तुलना गर्नुहोस्‌।) त्यस्ता व्यक्‍तिहरूलाई स्वच्छ मसीही मण्डलीमा रहन दिएर त्यसलाई दूषित पार्न दिनु हुँदैन। तिनीहरूलाई निकाल्नैपर्छ।

दुष्ट कार्यहरू गर्ने व्यक्‍तिलाई निकाल्नुको कारण निम्न परिस्थितिबाट प्रष्टाउन सकिन्छ: टोरोन्टो, क्यानाडाको द ग्लोब एण्ड मेल यस्तो रिपोर्ट गर्छ: विद्यार्थीहरू विरुद्ध गरिने आक्रमण र हिंसात्मक अपराधहरूमा वृद्धि भएकोले केही विद्यालयहरूले “हातहतियार चलाउने वा त्यसलाई चलाउन धम्की दिने विद्यार्थीहरूलाई सदाको लागि निष्कासन गर्ने नीति अपनाएका छन्‌।” हिंसात्मक कार्यहरूको शिकार नभइकन शैक्षिक कार्यक्रमबाट लाभ उठाउन चाहने विद्यार्थीहरूको सुरक्षाको निम्ति केहीलाई निष्कासन गरिन्छ।

गल्ती गरेर पश्‍चात्ताप नगर्नेलाई मण्डलीबाट निष्कासन गर्नु किन मायालु प्रबन्ध हो? त्यसो गर्नु यहोवा र उहाँका तरिकाहरूप्रति प्रेमको अभिव्यक्‍ति हो। (भजन ९७:१०) खराब प्रभाव पार्नसक्ने व्यक्‍तिलाई आफ्नो माझबाट हटाइने भएकोले यो धार्मिक मार्ग पछ्याउनेहरूप्रति प्रेमपूर्ण कार्य हो। यसले मण्डलीको पवित्रतालाई पनि जोगाउँछ। (१ कोरिन्थी ५:१-१३) घोर अनैतिकता वा आध्यात्मिक अशुद्धता मण्डलीमा रहिरहन दिइयो भने मण्डली दूषित हुनुको साथै पवित्र परमेश्‍वर, यहोवालाई पवित्र सेवा चढाउन अयोग्य साबित हुनेछ। यसबाहेक, गलत कार्य गर्ने व्यक्‍तिलाई निष्कासन गर्दा उसले आफू बरालिएको गम्भीरता बुझ्न, पश्‍चात्ताप गर्न र आवश्‍यक काँटछाँट गरेर मण्डलीमा पुनः स्वीकृत हुन मदत पाउनसक्छ।

अरू व्यक्‍तिहरूमा प्रभाव

मण्डलीको कुनै सदस्यले व्यभिचारजस्तो गम्भीर पाप गर्दा तिनले यहोवाको हृदयलाई आनन्दित तुल्याइरहेको हुँदैन। (हितोपदेश २७:११) अनि यौनिक अनैतिकतामा फँस्ने कुनै मसीहीले निश्‍चय पनि यूसुफले जस्तो सोचिरहेको हुँदैन, जससित पोतिफरकी पत्नीले यौन सम्बन्ध राख्न खोजेकी थिई। यूसुफको प्रतिक्रिया यस्तो थियो: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:६-१२) यूसुफ यहोवाका पवित्र स्तरहरूलाई आदर गर्थे। अतः तिनी प्रलोभित गर्ने त्यस परिस्थितिबाट उम्के। अर्कोतिर, परमेश्‍वरप्रति यथेष्ट प्रेम नभएकोले आफ्ना शारीरिक उत्तेजना हटाउन व्यभिचारी असफल भएजस्तो देखिन्छ।—गलाती ५:१९-२१.

परमेश्‍वरका आज्ञाहरू भंग गर्ने समर्पित व्यक्‍तिले विश्‍वासमा भएका आफ्ना नातेदारहरूलाई पुऱ्‍याउन सक्ने नोक्सान र भावनात्मक पीडाको वास्ता गरिरहेको हुँदैन। केहीले यो भावनात्मक पीडा सहनै सक्दैनन्‌। आफ्नो छोरा अनैतिक रहेछन्‌ भनेर थाह पाएपछि एउटी मसीही स्त्रीले यसरी बिलौना गरिन्‌: “हामीलाई कत्तिको दुःख र चोट पुगेको छ भनेर कमै भाइबहिनीले मात्र बुझेका होलान्‌। . . . हाम्रो हृदय छिन्‍नभिन्‍न भएको छ।” सम्पूर्ण परिवारकै असल नाउँमाथि शंका गर्ने परिस्थिति खडा हुनसक्छ। परिवारका विश्‍वासी सदस्यहरू निराशा र दोषी भावनाले पीडित हुनसक्छन्‌। तसर्थ, गल्ती गर्नेको दुष्ट मार्गले परिवारमाथि आघात पुऱ्‍याउँछ।

परिवारका सदस्यहरूका लागि मायालु मदत

विश्‍वासी मसीही परिवारको कुनै सदस्य निष्कासित भएको छ भने तिनीहरूले बहिष्कार गर्नु मायालु र सुरक्षात्मक प्रबन्ध हो भनेर बिर्सनु हुँदैन। गल्ती गर्ने व्यक्‍तिलाई मदत दिन यथासम्भव प्रयास गरिन्छ। तर तिनी परमेश्‍वरप्रति अनाज्ञाकारी छन्‌ र जिद्दी गरेर पश्‍चात्ताप गर्दैनन्‌ भने मण्डलीलाई जोगाउनुपर्छ र परमेश्‍वरको वचनले निर्देशन दिएअनुसार यो कदम चाल्नुबाहेक अर्को विकल्प हुँदैन: “तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरिन्थी ५:१३) एक साक्षीले भनेझैं “बहिष्कार गर्नु यहोवाप्रति वफादारी हुनु हो।”

परिवारको सदस्य बहिष्कृत हुँदा मसीही नातेदारहरू दुःखी हुन्छन्‌। त्यसकारण नियुक्‍त प्राचीनहरूले तिनीहरूलाई आध्यात्मिक स्फूर्ति दिन यथाशक्य गर्नुपर्छ। (१ थिस्सलोनिकी ५:१४) प्राचीनहरूले तिनीहरूका लागि तिनीहरूसित प्रार्थना गर्नसक्छन्‌। यी विश्‍वासी मसीहीहरूसित प्रोत्साहनदायी शास्त्रीय विचार छलफल गर्न तिनीहरूलाई भेट्‌नु प्रायः सम्भव हुन्छ। बगालका गोठालाहरूले यी प्रिय जनहरूलाई सभाको अघिपछि आध्यात्मिक तवरमा सुदृढ राख्न हर अवसरको सदुपयोग गर्नुपर्छ। तिनीहरूसँग क्षेत्र सेवकाईमा गएर थप प्रोत्साहन दिन सकिन्छ। (रोमी १:११, १२) आध्यात्मिक गोठालाहरूले यहोवाका यी विश्‍वासी सेवकहरूप्रति प्रेम र चासो देखाउनुपर्छ, जसका तिनीहरू योग्य छन्‌।—१ थिस्सलोनिकी २:७, ८.

एक जना व्यक्‍तिको पापी मार्गले गर्दा यहोवाप्रति विश्‍वासी रहने तिनको परिवारका कुनै पनि सदस्यलाई बेवास्ता गर्ने आधार दिंदैन। इस्राएलका दुष्ट राजा शाऊललाई परमेश्‍वरले तिरस्कार गर्नुभयो तर यसले शाऊलको छोरा, जोनाथनसित दाऊदको सम्बन्धमा कुनै बाधा पुऱ्‍याएन। वास्तवमा, दाऊद र जोनाथनबीच सम्बन्ध झन्‌ बलियो भयो। (१ शमूएल १५:२२, २३; १८:१-३; २०:४१) अतः यहोवाको विरुद्ध पाप गर्ने व्यक्‍तिका मसीही नातेदारहरूलाई मण्डलीका सम्पूर्ण सदस्यहरूले सहयोग र माया दिनुपर्छ।

ती विश्‍वासी जनहरूलाई बेवास्ता गर्नु वा अपव्यवहार गर्नु कस्तो दुःखदायी कुरा हुनेछ! परिवारका निष्ठावान्‌ सदस्यहरूलाई प्रोत्साहनको विशेष खाँचो हुन्छ। तिनीहरूले एक्लो र आफ्नो परिस्थिति साह्रै कठिन महसुस गर्नसक्छन्‌। शायद तिनीहरूलाई टेलिफोन गरेर आध्यात्मिक भोजन वा प्रोत्साहनदायी अनुभव बाँड्‌न सक्नुहुन्छ। निष्कासित व्यक्‍तिले टेलिफोन उठाएमा त्यस मसीही नातेदारसित कुरा गर्न चाहन्छु भन्‍नुहोस्‌। त्यस्तो परिवारका विश्‍वासी सदस्यहरूलाई सामाजिक जमघट वा तपाईंको घरमा भोजनको लागि बोलाउन सक्नुहुन्छ। बजार जाँदा तिनीहरूलाई भेट्‌नुभयो भने प्रोत्साहनदायी संगतिको लागि त्यो अवसर प्रयोग गर्न सक्नुहुन्छ। नबिर्सनुहोस्‌, बहिष्कृत नातेदारहरू भएका निष्ठावान्‌ मसीहीहरू अझै पनि यहोवाको स्वच्छ संगठनका भाग हुन्‌। तिनीहरूले एक्लो वा निराश महसुस गर्न धेरै बेर लाग्दैन। तसर्थ, तिनीहरूलाई दया र प्रेम देखाउन सजग हुनुहोस्‌। “विश्‍वासका घरानातर्फ” निरन्तर भलाइ गरिरहनुहोस्‌।—गलाती ६:१०.

यहोवाको प्रबन्धलाई मूल्यांकन गर्नुहोस्‌

यहोवाले आफ्ना उपासकहरूको विश्‍वव्यापी परिवारका प्रत्येक सदस्यलाई कोमल चासो देखाउनुभएकोमा हामी कति कृतज्ञ हुनसक्छौं। उहाँसमक्ष धार्मिक मार्गमा हिंडिरहने मदतको लागि उहाँले संगठन मार्फत मायालुपूर्वक प्रबन्ध गर्नुभएको छ। परिवारको सदस्यले जानाजानी पाप गरेकोले तिनलाई मण्डलीबाट निष्कासित गर्नु परे तापनि साँचो पश्‍चात्ताप गर्छन्‌ भने पुनः फर्किन सक्छन्‌। यसलाई निम्न उदाहरणले प्रष्ट पार्छ:

आना नाउँ गरेकी एक जना व्यक्‍तिलाई विचार गरौं तर त्यो तिनको वास्तविक नाउँ होइन। प्राचीनहरूले तिनलाई मदत गर्न खोजेका थिए तर तिनले “चुरोट खान, मद्यपान गर्न र लागू पदार्थ सेवन गर्न” थालिन्‌। तिनले पश्‍चात्ताप गरिनन्‌ र मण्डलीमा रहिनन्‌। तथापि, चाँडै आनाले यहोवाको स्वच्छ संगठनको मायालु संगतिको अभाव महसुस गर्न थालिन्‌ र उहाँसित मदतको लागि प्रार्थना गरिन्‌। तर्किएर जानेहरूलाई प्राचीनहरूले कतिको चासो दिन्छन्‌ भनेर आफूले पूर्णतया नबुझेको तिनले पछि स्वीकारिन्‌। आना सभाहरू पुनः धाउन थालिन्‌ र पछि पश्‍चात्ताप गरिन्‌। त्यसपश्‍चात्‌, तिनलाई मायालु तथा सुरक्षित मण्डलीमा स्वीकारियो। पुनः आनाले नैतिकतासम्बन्धी यहोवाको उच्चस्तरलाई पालन गरिरहेकी छिन्‌। तिनी प्राचीनहरूको सहयोगका लागि कृतज्ञ छन्‌ र यस्तो टिप्पणी पनि गर्छन्‌: “मलाई मसीही प्रकाशनहरूले कति मदत दिए भनेर तपाईं कल्पनासमेत गर्न सक्नुहुन्‍न। यहोवाले निस्सन्देह हाम्रा आवश्‍यकताहरूको राम्रो हेरचाह गर्नुहुन्छ।”

हो, मण्डलीबाट निष्कासित तर पछि पश्‍चात्ताप गर्नेहरूलाई परमेश्‍वरले पुनः फर्किने प्रबन्ध गर्नुभएको छ। अनि बहिष्कार गर्नुसमेत एउटा मायालु प्रबन्ध हो भनेर हामीले बुझ्यौं। तर पवित्र परमेश्‍वरका धार्मिक मार्गहरूमा लागिरहेर यस दुःखदायी अनुभवबाट जोगिनु कति उत्तम हो! यहोवाको स्वच्छ, मायालु तथा सुरक्षित संगठनको भाग भएर उहाँको प्रशंसा गर्ने सुअवसरप्रति सदा कृतज्ञ होऔं।

[पृष्ठ २६-मा भएको चित्र]

मण्डलीबाट निष्कासित व्यक्‍तिहरूका विश्‍वासी नातेदारहरूलाई के तपाईंले प्रेम देखाई रहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने