प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१ pp. १४-१९
  • आजसम्म यहोवाबाट शिक्षा पाउनेहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आजसम्म यहोवाबाट शिक्षा पाउनेहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षक-शिष्यको आदर्श सम्बन्ध
  • विस्तृत शैक्षिक कार्यक्रम
  • मण्डलीका सभाहरूमा शिक्षा पाउने
  • ठूला सभाहरूमा शिक्षा पाउने
  • अरूलाई सिकाउन परमेश्‍वरबाट शिक्षा पाउने
  • यहोवाको इच्छाबमोजिम गर्न सिकाइएका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवा—शिक्षा दिनुहुने परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ईश्‍वरीय शिक्षाका फाइदाहरूको आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१ pp. १४-१९

आजसम्म यहोवाबाट शिक्षा पाउनेहरू

“परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ।”—यशैया ५०:४.

१, २. (क) यहोवाले आफ्नो प्रिय शिष्यलाई कुन कुराको निम्ति तयार पार्नुभयो र नतिजा के भयो? (ख) येशूले कसलाई आफ्नो शिक्षाको स्रोत मान्‍नुभयो?

यहोवा परमेश्‍वर पिता हुनुभएदेखि शिक्षक पनि हुनुभएको छ। समय बित्दै जाँदा उहाँका कुनै कुनै सन्तानहरूले विद्रोह गरेपछि उहाँले आफ्नो प्रिय शिष्य, ज्येष्ठ पुत्रलाई पार्थिव सेवकाईका लागि तयार पार्नुभयो। (हितोपदेश ८:३०) यशैया ५० अध्यायले यो शिष्यबारे भविष्यसूचक ढंगमा यसो भन्छ: “थाकेकोलाई वचनले कसरी बल दिनुपर्ने हो सो जान्‍नसकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ।” (यशैया ५०:४) पृथ्वीमा हुनुहुँदा येशूले आफ्नो पिताको शिक्षा पालन गर्नुभयो। फलतः ‘थकित र बोझले दबिएका’ मानिसहरूले उहाँबाट स्फूर्ति पाए।—मत्ती ११:२८-३०.

२ प्रथम शताब्दीको दौडान येशूले थुप्रै शक्‍तिशाली कामहरू गर्नुभयो। उहाँले अन्धाहरूको आँखा खोल्नुभयो र मरेका मानिसलाई समेत बिउँताउनुभयो। तैपनि, उहाँ मुख्यतः शिक्षकको नाउँले चिनिनुहुन्थ्यो। उहाँका अनुयायीहरूका साथै विरोधीहरूले समेत उहाँलाई शिक्षक भनी सम्बोधन गर्थे। (मत्ती ८:१९; ९:११; १२:३८; १९:१६; यूहन्‍ना ३:२) आफूले जे सिकाउनुहुन्थ्यो उहाँ त्यसको श्रेय लिनुहुन्‍नथियो बरु नम्रतापूर्वक यो कुरा मानि लिनुहुन्थ्यो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” “जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।”—यूहन्‍ना ७:१६; ८:२८; १२:४९.

शिक्षक-शिष्यको आदर्श सम्बन्ध

३. यहोवाले आफ्ना शिष्यहरूप्रति चासो लिनुहुन्छ भनेर यशैयाको भविष्यवाणीले कसरी संकेत गर्छ?

३ असल शिक्षकले आफ्ना शिष्यहरूप्रति व्यक्‍तिगत, सक्रिय अनि गहिरो चासो लिन्छन्‌। यहोवा परमेश्‍वरले आफ्ना शिष्यहरूप्रति त्यस्तो चासो लिनुहुन्छ भनेर यशैया ५० अध्यायले प्रकट गर्छ। उपरोक्‍त भविष्यवाणीले यसो भन्छ, “उहाँले बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोल्नुभएको छ।” (यशैया ५०:४) यहाँ प्रयोग गरिएको भाषाशैलीले एक जना शिक्षकले आफ्ना शिष्यहरूलाई सिकाउन बिहान सबेरै उठाउने कुरालाई संकेत गर्छ। यस भविष्यवाणीको प्रयोगबारे टिप्पणी गर्दै एक जना बाइबलविद्‌ले यसो भने: “यहाँ भन्‍न खोजिएको कुरा के हो भने प्रतीकात्मक अर्थमा परमेश्‍वरको विद्यालयमा पढ्‌ने व्यक्‍ति नै . . . पापमोचक हुनुहुनेथियो; अनि अरूलाई निर्देशन दिन उहाँ योग्य हुनुहुनेथियो। . . . ईश्‍वरीय शिक्षाको कारण मसीह मानवजातिको निर्देशक हुन योग्य हुनुहुन्थ्यो।”

४. येशूले आफ्नो पिताको शिक्षाप्रति कस्तो प्रतिक्रिया देखाउनुभयो?

४ व्यवहारमा हेर्ने हो भने शिष्यहरू आफ्ना शिक्षकलाई ध्यान दिएर सुन्छन्‌। त्यसोभए येशूले आफ्नो पिताको शिक्षालाई कसरी सुन्‍नुभयो? उहाँले देखाउनुभएको प्रतिक्रिया यशैया ५०:५ अनुरूप छन्‌: “परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म वागी भइनँ। औ पछि पनि हटिनँ।” हो, येशू सिक्न उत्सुक हुनुहुन्थ्यो। उहाँ ध्यान दिएर सुन्‍नुहुन्थ्यो। साथै आफ्नो पिताले भन्‍नुभएबमोजिम गर्न इच्छुक हुनुहुन्थ्यो। उहाँ विद्रोही हुनुहुन्‍नथियो बरु उहाँले यसो भन्‍नुभयो: “मेरो इच्छा होइन्‌, तर तपाईंकै इच्छाबमोजिम होस्‌।”—लूका २२:४२.

५. (क) पृथ्वीमा आफूले भोग्नुपर्ने परीक्षाहरू येशूलाई थाह थियो भनेर कुन कुराले संकेत गर्छ? (ख) यशैया ५०:६ को भविष्यवाणी कसरी पूरा भयो?

५ परमेश्‍वरको इच्छाबमोजिम चल्दा भोग्नुपर्ने सम्भाव्य नतिजाहरूबारे पुत्रलाई जानकारी दिइएको थियो भनेर भविष्यवाणीले संकेत गर्छ। यो कुरा परमेश्‍वरद्वारा शिक्षा पाउनुहुने व्यक्‍तिले भनेका यी शब्दहरूबाट देखिन्छ: “मैले मेरो पीठ पिट्‌नेहरूलाई, र दाह्री लुछ्‌नेहरूलाई मेरो गाला फर्काइदिएँ। अपमानित हुन र थुकिमाग्नबाट मैले मेरो मुख लुकाइँन।” (यशैया ५०:६) उपरोक्‍त भविष्यवाणीले संकेत गरेझैं पृथ्वीमा हुनुहुँदा येशूलाई क्रूर व्यवहार गरियो। “तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए,” प्रेरित मत्तीले लेखे। (मत्ती २६:६७) यो घटना सा.यु. ३३ को निस्तार चाडका दिन धार्मिक नेताहरूको हातबाट भएको थियो। भोलिपल्ट येशूले मुक्का लाउनेहरूको हातमा आफूलाई सुम्पनुभयो। अतः शूलीमा टाँगेर मार्नअघि रोमी सिपाहीहरूले निर्ममतापूर्वक पिटे।—यूहन्‍ना १९:१-३, १६-२३.

६. येशूले आफ्नो शिक्षकमाथिको भरोसा कहिल्यै गुमाउनुभएन भनेर कुन कुराले देखाउँछ र उहाँले आफ्नो भरोसाको कस्तो इनाम पाउनुभयो?

६ परमेश्‍वरको यो पुत्रले पहिले नै राम्रो शिक्षा पाइसक्नुभएको थियो। त्यसैकारण उहाँले आफ्नो शिक्षकमाथि कहिल्यै भरोसा गुमाउनुभएन। यो कुरा भविष्यवाणीअनुसार उहाँले भन्‍नुभएका निम्न शब्दहरूबाट प्रष्ट हुन्छ: “परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ, यसैकारण म शर्ममा पर्नेछैनँ।” (यशैया ५०:७) येशूले आफ्नो शिक्षकमाथि भरोसा गर्नुभएकोले प्रशस्त इनाम पाउनुभयो। उहाँको पिताले उहाँलाई उच्च पार्नुभयो र परमेश्‍वरका अन्य सेवकहरूभन्दा उच्च स्थान दिनुभयो। (फिलिप्पी २:५-११) आज्ञाकारी भएर यहोवाको शिक्षा पालन गऱ्‍यौं अनि “गलत मार्गमा लागेनौं” भने हामीले पनि ठूला आशिष्‌हरू पाउनेछौं। आउनुहोस्‌, आज हाम्रो समयसम्म यहोवाको शिक्षा कसरी उपलब्ध गराइयो त्यसबारे चर्चा गरौं।

विस्तृत शैक्षिक कार्यक्रम

७. यहोवाले पृथ्वीमा कसरी शिक्षा दिइरहनुभएको छ?

७ अघि हामीले बुझेअनुसार प्रथम शताब्दीको दौडान यहोवाले आफ्नो पार्थिव प्रतिनिधि येशू ख्रीष्टलाई चलाउनुभएर ईश्‍वरीय शिक्षा दिनुभयो। (यूहन्‍ना १६:२७, २८) येशूले बारम्बार आफ्नो शिक्षा परमेश्‍वरको वचनमा आधारित छ भनी औंल्याउनुभयो र आफूले सिकाउनुभएका मानिसहरूका लागि एउटा नमुना बसाल्नुभयो। (मत्ती ४:४, ७, १०; २१:१३; २६:२४, ३१) पछि, त्यही मानिसहरूको सेवकाईद्वारा पृथ्वीमा यहोवाको शैक्षिक कार्य कायम रह्‍यो। येशूले तिनीहरूलाई दिनुभएको यो आज्ञा सम्झनुहोस्‌ त: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) जो जो चेला बने तिनीहरू “परमेश्‍वरको घर . . . जीवित परमेश्‍वरको मण्डली[का]” सदस्यहरू भए। (१ तिमोथी ३:१५) तिनीहरू मिलेर भिन्‍नाभिन्‍नै मण्डलीहरू पनि स्थापित भए जहाँ यहोवाले तिनीहरूलाई सिकाउनुहुन्थ्यो। (प्रेरित १४:२३; १५:४१; १६:५; १ कोरिन्थी ११:१६) के हाम्रो समयसम्म ईश्‍वरीय शिक्षा दिने काम त्यसरी नै चलिरहेको छ?

८. पृथ्वीमा अन्त आउनुअघि प्रचार कार्य गरिनेछ भनेर येशूले कसरी संकेत दिनुभयो?

८ निस्सन्देह, चलेको छ! आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि येशूले वर्तमान रीतिरिवाजको अन्त आउनुअघि बृहत्‌ प्रचार कार्य चल्नेछ भनी अगमवाणी गर्नुभएको थियो। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ,” येशूले भन्‍नुभयो। त्यसपछि उहाँले विश्‍वव्यापी प्रचार तथा शैक्षिक कार्य सम्पन्‍न हुने माध्यमबारे वर्णन गर्नुभयो। यहोवाका सेवकहरूलाई आत्मिक आहार बाँड्‌ने माध्यम वा अभिकर्ता “विश्‍वासी र बुद्धिमान दास[बारे]” पनि बताउनुभयो। (मत्ती २४:१४, ४५-४७) सारा पृथ्वीमा राज्यसम्बन्धी कार्यहरू सम्पन्‍न गर्न यहोवाले यही “दास” प्रयोग गर्नुभएको छ।

९. विश्‍वासी र बुद्धिमान दासमा को को समावेश छन्‌?

९ आज, राज्य उत्तराधिकारीहरूका शेष जन मिलेर विश्‍वासी र बुद्धिमान दास बनेको छ। यिनीहरू अभिषिक्‍त मसीहीहरू हुन्‌, १,४४,००० मध्ये पृथ्वीमा भएका शेष जन। तिनीहरू “ख्रीष्टका” अनि “अब्राहामका वंश[का]” सदस्य हुन्‌। (गलाती ३:१६, २९; प्रकाश १४:१-३) विश्‍वासी र बुद्धिमान दासलाई हामी कसरी चिन्‍नसक्छौं? विशेषगरि तिनीहरूको काम र तिनीहरूले परमेश्‍वरको वचन, बाइबल पूर्णतयाः पालना गरेको हुँदा हामी तिनीहरूलाई चिन्‍नसक्छौं।

१०. यहोवाको शिक्षाहरू प्रवर्धन गर्न दासवर्गले कस्ता प्रकाशनहरू प्रयोग गरेका छन्‌?

१० आज मानिसहरूलाई शिक्षा दिन यहोवाले यो “दास[लाई]” चलाउनुहुन्छ। सन्‌ १९३१ मा यो दासवर्गका मानिसहरूले यहोवाका साक्षीहरू भन्‍ने नाउँ ग्रहण गरे। त्यहाँदेखि यता लाखौं मानिसहरूले तिनीहरूसित संगत गर्नुका साथै उपरोक्‍त नाउँ ग्रहण गरेर परमेश्‍वरको राज्य घोषणा गर्ने काममा सामेल भएका छन्‌। प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्दछ नाउँ भएको यो पत्रिका, “दास[ले]” शैक्षिक कार्यमा चलाउने प्रमुख साधन हो। तथापि, पुस्तक, साना-ठूला पुस्तिका, पर्चा र ब्यूँझनुहोस्‌! पत्रिकालगायत अन्य प्रकाशनहरू पनि प्रयोग गरिन्छन्‌।

११. “दास[ले]” कुन पाठशालाको प्रायोजन गरेको छ र प्रत्येक पाठशालाहरूको उद्देश्‍य के हो?

११ यसबाहेक “दास[ले]” विभिन्‍न पाठशालाहरूको प्रायोजन पनि गर्छ। जवान सेवकहरूलाई विदेशी मिसनरी सेवाका लागि तयार पार्ने पाँच महिने तालिम अर्थात्‌ वाचटावर बाइबल स्कूल अफ गिलियड तथा अविवाहित प्राचीन तथा सहायक सेवकहरूलाई विशेष ईश्‍वरतान्त्रिक जिम्मेवारीका लागि तयार पार्ने दुइ महिने मिनिस्टेरियल ट्रेनिंग स्कूल यसमा समावेश छ। साथै समय समयमा मसीही प्राचीन तथा सहायक सेवकहरूलाई मण्डलीमा आफ्ना जिम्मेवारीहरू सँभाल्न निर्देशन दिइने किंगडम मिनिस्ट्री स्कूल अनि पूर्ण-समय प्रचारकहरूलाई प्रचार कार्यमा अझ प्रभावकारी बनाउने पायनियर सर्भिस स्कूल पनि छन्‌।

१२. शैक्षिक कार्यक्रमका साप्ताहिक विशेषताहरू के के हुन्‌?

१२ शैक्षिक कार्यक्रमको अर्को पक्ष यहोवाका जनहरूको विश्‍वव्यापी ७५,५०० मण्डलीमा सञ्चालन हुने पाँचवटा साप्ताहिक सभाहरू हुन्‌। के तपाईं यी सभाहरूबाट यथासम्भव धेरै लाभ उठाउनुहुन्छ? त्यहाँ दिइएका निर्देशनहरू ध्यानपूर्वक सुनेर प्रतीकात्मक रूपमा परमेश्‍वरकै पाठशालामा हुनुहुन्छ भन्‍ने कुरामाथि विश्‍वास गर्नुहुन्छ भनेर के तपाईं देखाउनुहुन्छ? तपाईंको आध्यात्मिक प्रगतिले गर्दा तपाईंसित “सिक्नेहरूको बोली” छ भनेर के अरूले प्रष्ट देख्छन्‌?—यशैया ५०:४; १ तिमोथी ४:१५, १६.

मण्डलीका सभाहरूमा शिक्षा पाउने

१३. (क) यहोवाले कुन महत्त्वपूर्ण तरिकाद्वारा आज आफ्ना जनहरूलाई सिकाउनुहुन्छ? (ख) हामी कसरी प्रहरीधरहरा-प्रति मूल्यांकन जाहेर गर्नसक्छौं?

१३ यहोवाले विशेषगरि सहायक शिक्षण सामग्रीको रूपमा प्रहरीधरहरा-लाई चलाइने साप्ताहिक बाइबल अध्ययनद्वारा आफ्ना जनहरूलाई सिकाउनुहुन्छ। के तपाईं यो सभालाई यहोवाद्वारा शिक्षा पाउने थलो सम्झनुहुन्छ? यशैया ५०:४ मुख्यतः येशूमाथि नै लागू भए तापनि “सिक्नेहरूको बोली” प्राप्त गर्न परमेश्‍वरका प्रबन्धहरू स्वीकार्ने मानिसहरूमाथि पनि लागू हुनसक्छ। प्रहरीधरहरा-लाई मूल्यवान्‌ सम्झनुहुन्छ भनेर तपाईंले देखाउनसक्ने एउटा तरिका प्रत्येक अंक पाउनेबित्तिकै त्यसलाई पढ्‌नु हो। त्यसपछि मण्डलीमा प्रहरीधरहरा अध्ययन गरिंदा उपस्थित भएर अनि जनसमक्ष आफ्नो आशाको घोषणा गर्न तयार भएर तपाईं यहोवाप्रति आफ्नो मूल्यांकन जाहेर गर्न सक्नुहुन्छ।—हिब्रू १०:२३.

१४. (क) सभाहरूमा टिप्पणी दिनु किन महत्त्वपूर्ण सुअवसर हो? (ख) केटाकेटीहरूले कस्तो टिप्पणी दिंदा साह्रै प्रोत्साहनजनक हुन्छ?

१४ सभाहरूमा टिप्पणीहरू दिएर यहोवाको महान्‌ शैक्षिक कार्यक्रममा भाग लिन सक्नुहुन्छ भनेर के तपाईंले बुझ्नुभएको छ? निस्सन्देह, सभाहरूमा टिप्पणीहरू दिनु एकअर्कालाई “प्रेम र सुकर्ममा” उत्तेजित गराउनसक्ने महत्त्वपूर्ण तरिकाहरूमध्ये एक हो। (हिब्रू १०:२४, २५) यो निर्देशन कार्यक्रममा के केटाकेटीहरूले भाग लिनसक्छन्‌? अवश्‍य। स-साना केटाकेटीहरूले दिएको हृदयस्पर्शी टिप्पणीहरूले वयस्कहरूलाई प्रायः प्रोत्साहित गर्छ। कुनै कुनै बेला केटाकेटीहरूले दिएको टिप्पणीले गर्दा हाम्रा सभाहरूमा उपस्थित हुने नवजिज्ञासुहरूले बाइबलका सच्चाइमाथि अझ गहिरो चासो लिन उत्प्रेरणा पाएका छन्‌। केही केटाकेटीहरूलाई हुबहु अनुच्छेद पढेर टिप्पणी दिने वा वयस्क व्यक्‍तिले कानमा खुस्स भनिदिएको कुरा दोहोऱ्‍याउने बानी परेको हुन्छ। तथापि, तिनीहरूले आफ्ना टिप्पणीहरू राम्ररी तयार गर्दा निकै प्रोत्साहनजनक हुन्छ। त्यस्ता टिप्पणीले अवश्‍य हाम्रो महान्‌ निर्देशकको आदर गर्नुको साथै उहाँको शैक्षिक कार्यक्रमलाई उच्च बनाउँछ।—यशैया ३०:२०, २१.

१५. छोराछोरीलाई अझ प्रभावकारी ढंगमा टिप्पणी दिने मदत गर्न आमाबाबुले के गर्नसक्छन्‌?

१५ केटाकेटीहरूले हाम्रो परमेश्‍वरको प्रशंसा गर्न चाहनु आनन्दको कुरा हो। स-साना केटाकेटीहरूले प्रशंसा गर्दा येशूले मूल्यांकन गर्नुभयो। (मत्ती २१:१५, १६) एक जना मसीही प्राचीन यसो भन्छन्‌: “केटाकेटी छँदा म प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिन चाहन्थें। टिप्पणी तयार गर्ने मदत दिनुभएपछि बुबाले कम्तीमा सात पटक अभ्यास गर्न लगाउनुहुन्थ्यो।” सम्भवतः पारिवारिक बाइबल अध्ययनको दौडान प्रहरीधरहरा-का उपयुक्‍त अनुच्छेदहरू छानेर छोराछोरीहरूलाई आफ्नै शब्दमा टिप्पणीहरू तयार गर्न तपाईं आमाबाबुहरूले मदत गरे कसो होला? यहोवाको शैक्षिक कार्यक्रममा भाग लिन पाउनु ठूलो सुअवसर हो भनी मूल्यांकन गर्न तिनीहरूलाई मदत गर्नुहोस्‌।

१६. ईश्‍वरतान्त्रिक पाठशालाबाट के लाभ प्राप्त भएको छ र यो पाठशालामा को को भर्ना हुनसक्छन्‌?

१६ अन्य मसीही सभाहरूमा जानकारी प्रस्तुत गर्ने सुअवसर पाउने र दिइएको निर्देशन सुन्‍ने दुवैले त्यहाँ दिइने शिक्षालाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यहोवाले बितेका ५० वर्षदेखि साप्ताहिक ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाद्वारा लाखौं पुरुष तथा स्त्रीहरूलाई अझ प्रभावकारी ढंगमा राज्य समाचार प्रस्तुत गर्ने प्रशिक्षण दिनुभएको छ। आफ्नो जीवनपद्धति मसीही सिद्धान्तअनुरूप छ भने सभाहरूमा हालै उपस्थित हुन थालेका व्यक्‍तिहरूलगायत मण्डलीसँग सक्रिय संगत राख्ने सबै उपरोक्‍त पाठशालामा भर्ना हुनसक्छन्‌।

१७. (क) विशेषगरि कुन उद्देश्‍य राखेर जनसभा स्थापित गरिएको थियो? (ख) जनवक्‍ताहरूले ध्यानमा राख्नुपर्ने केही बुँदाहरू के के हुन्‌?

१७ शैक्षिक कार्यक्रमको अर्को पुरानो विशेषता जनसभा हो। नाउँबाटै स्वतः स्पष्ट हुन्छ, यो सभा विशेषगरि गैरसाक्षीहरूलाई बाइबलका शिक्षाहरूसँग परिचित गराउन स्थापित गरिएको सभा हो। तसर्थ, वक्‍ताले पहिलो चोटि समाचार सुन्‍ने मानिसले बुझ्नसक्ने किसिमले भाषण प्रस्तुत गर्नुपर्छ। यसको अर्थ, “अरू भेड़ा,” “भाइ,” र “शेष जन” जस्ता गैरसाक्षीहरूले नबुझ्ने शब्दहरू वर्णन गर्नुपर्छ। जनसभामा उपस्थित हुने मानिसहरूको भिन्‍न विश्‍वास वा जीवनशैली हुनसक्छ। शायद तिनीहरूको त्यस्तो विश्‍वास वा जीवनशैली शास्त्र विपरीत भए तापनि आजको समाजमा स्वीकार्य होला। वक्‍ताले कहिल्यै तिनीहरूको विश्‍वास वा जीवनशैलीको ठट्टा गर्नु हुँदैन र सधैं चातुर्यसाथ बोल्नुपर्छ।—१ कोरिन्थी ९:१९-२३ तुलना गर्नुहोस्‌।

१८. मण्डलीका अन्य साप्ताहिक सभाहरू के के हुन्‌ र तिनीहरूको उद्देश्‍य के हो?

१८ अर्को सभा, मण्डली पुस्तक अध्ययनमा हरेक हप्ता विश्‍वासी र बुद्धिमान दासको निर्देशनअनुरूप तयार पारिएका प्रकाशनहरू बाइबल सँगसँगै अध्ययन गरिन्छ। अहिले अधिकांश मुलुकहरूमा प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक अध्ययन गरिंदैछ। साथै यहोवाका जनहरूलाई राज्य सुसमाचार प्रचार कार्यमा पूर्णतया भाग लिने र चेला बनाउन सुसज्जित पार्ने उद्देश्‍यले सेवा सभा तयार पारिएको छ।—मत्ती २८:१९, २०; मर्कूस १३:१०.

ठूला सभाहरूमा शिक्षा पाउने

१९. “दास[ले]” वर्षेनी कस्ता ठूला जमघटहरूको प्रबन्ध गर्छन्‌?

१९ साँचो मसीहीहरूलाई शिक्षा र विशेष प्रोत्साहन दिन ‘विश्‍वासी दासले’ अधिवेशन तथा सम्मेलन- हरूको प्रबन्ध गर्न थालेको सय वर्षभन्दा बढी भइसक्यो। वर्षेनी त्यस्ता तीनवटा ठूला सभाहरू आयोजना गरिन्छन्‌। तीमध्ये एक, एउटा क्षेत्रमा विभाजित मण्डलीहरू उपस्थित हुने एक दिने विशेष सम्मेलन हो। त्यही वर्ष प्रत्येक क्षेत्रका मण्डलीहरू फेरि क्षेत्रीय सम्मेलनको नाउँले चिनिने दुइ दिने जमघटमा उपस्थित हुन्छन्‌। यसबाहेक, जिल्ला अधिवेशनको नाउँले चिनिने अर्को जमघट पनि छ, जसमा विभिन्‍न क्षेत्रमा बाँडिएका सबै जना उपस्थित हुन्छन्‌। अनि बेला बेलामा अन्तरराष्ट्रिय सम्मेलनहरू पनि हुन्छन्‌। विभिन्‍न देशहरूबाट आउने आगन्तुक साक्षीहरूसित भेला हुने यो ठूलो जमघटले साँच्चै नै यहोवाका जनहरूको विश्‍वासलाई बलियो बनाउँछ।—व्यवस्था १६:१६ तुलना गर्नुहोस्‌।

२०. यहोवाका साक्षीहरूका ठूला जमघटहरूमा कुन कुरामाथि लगातार जोड दिइएको छ?

२० सन्‌ १९२२ मा लगभग १०,००० मानिसहरू सिडार प्वाइन्ट, ओहायो, स.रा.अ.-मा उपस्थित भएका थिए। त्यतिबेला वक्‍ताको यो प्रोत्साहन सुनेर प्रतिनिधिहरू उत्प्रेरित भएका थिए: “आजको दिन सबैभन्दा महत्त्वपूर्ण दिन हो। हेर्नुहोस्‌, राजाले राज्य गर्दै हुनुहुन्छ! अनि तपाईंहरू उहाँका विज्ञापकहरू हुनुहुन्छ। त्यसैकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌।” त्यस्ता ठूला अधिवेशनहरूले अनवरत रूपमा प्रचार कार्यमाथि जोड दिएका छन्‌। उदाहरणको लागि, सन्‌ १९५३ मा न्यु योर्क शहरमा सम्पन्‍न अन्तरराष्ट्रिय अधिवेशनले घर-घर गएर प्रचार गर्ने प्रशिक्षण सबै मण्डलीहरूमा स्थापित भएको घोषणा गऱ्‍यो। यसले थुप्रै मुलुकहरूमा राज्य प्रचार कार्यमाथि निकै सकारात्मक असर पाऱ्‍यो।

अरूलाई सिकाउन परमेश्‍वरबाट शिक्षा पाउने

२१. हामी कुन सुअवसर स्वीकार्नका साथै त्यसको उद्देश्‍यलाई मनमा राख्न चाहन्छौं?

२१ अवश्‍य आज पृथ्वीमा यहोवाको अद्‌भुत शैक्षिक कार्यक्रम चलिरहेको छ! त्यसबाट लाभ उठाउने जति सबैले परमेश्‍वरको शिक्षा पाउन सक्नेछन्‌। हो, तिनीहरू “सिक्नेहरूको बोली” पाउनेहरूमध्ये हुनसक्छन्‌। परमेश्‍वरको प्रतीकात्मक पाठशालामा पढ्‌न पाउनु साँच्चै नै सुअवसर हो! यद्यपि, यो सुअवसर स्वीकार्दा हामीले त्यसको उद्देश्‍य भुल्नु हुँदैन। येशूले अरूलाई सिकाउन सकून्‌ भनेर यहोवाले सिकाउनुभयो अनि उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुभयो ताकि उहाँले गर्नुभएको काम तिनीहरूले अझ ठूलो क्षेत्रमा गर्नसकून्‌। एवम्‌ रीतिले हामी अरूलाई सिकाउन सकोस्‌ भन्‍ने हेतुले यहोवाको महान्‌ शैक्षिक कार्यक्रममा प्रशिक्षण पाएका छौं।—यूहन्‍ना ६:४५; १४:१२; २ कोरिन्थी ५:२०, २१; ६:१; २ तिमोथी २:२.

२२. (क) मोशा र यर्मियाको के समस्या थियो र त्यो कसरी समाधान भयो? (ख) परमेश्‍वरले राज्य प्रचार कार्य पूरा गराउनुहुनेछ भनी हामी किन विश्‍वस्त हुनसक्छौं?

२२ तर के तपाईं मोशाले जस्तै “म बोल्नमा उस्तो सिपालो छैनँ” वा यर्मियाले जस्तो “मता बोल्नै जान्दिनँ” भन्‍नुहुन्छ? नडराउनुहोस्‌, यहोवाले तिनीहरूलाई मदत गर्नुभएजस्तै तपाईंलाई पनि मदत गर्नुहुनेछ। उहाँले मोशालाई यसो भन्‍नुभयो, “म तेरो मुखमा भएर तैंले के बोल्नुपर्ने हो, सो सिकाउनेछु।” अनि यर्मियालाई चाहिं उहाँले यसो भन्‍नुभयो: “नडरा . . . म तेरो साथमा छु।” (प्रस्थान ४:१०-१२; यर्मिया १:६-८) धार्मिक नेताहरूले आफ्ना चेलाहरूको मुख बन्द गर्न खोज्दा येशूले यसो भन्‍नुभयो: “यिनीहरू चूप लागे भने ढुंगाहरू कराउनेछन्‌।” (लूका १९:४०) तर त्यतिबेला ढुंगाले बोल्नु परेन नता अहिले बोल्नुपर्ने आवश्‍यकता छ। किनभने यहोवाले आफ्नो राज्य सुसमाचार सुनाउन सिक्नेहरूको बोलीलाई चलाउँदै हुनुहुन्छ।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

◻ यशैया ५० अध्यायमा शिक्षक र शिष्यबीचको कस्तो आदर्श सम्बन्धमाथि जोड दिइएको छ?

◻ यहोवाले कसरी विस्तृत शैक्षिक कार्यक्रम सञ्चालन गर्नुभएको छ?

◻ यहोवाको शैक्षिक कार्यक्रमका केही विशेषताहरू के के हुन्‌?

◻ यहोवाको शैक्षिक कार्यक्रममा भाग लिन पाउनु किन ठूलो सुअवसर हो?

[पृष्ठ १६-मा भएको चित्र]

केटाकेटीले दिएको हृदयस्पर्शी टिप्पणीले वयस्कहरूलाई प्रायः प्रोत्साहित गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने