प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ पृ. ८-११
  • के येशूसम्बन्धी शंकाहरू मनासिब छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के येशूसम्बन्धी शंकाहरू मनासिब छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूबारे शंकाका बीउहरू कसरी रोपिए
  • शंकालाई हटाउने प्रमाणहरू
  • केहीले येशूका चमत्कारहरूमाथि किन शंका गर्छन्‌
  • के येशूको पुनरुत्थानबारे शंकाहरू मनासिब छन्‌?
  • येशूको वर्तमान भूमिकामाथि किन शंका गर्ने?
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • येशूले गर्नुभएका चमत्कारहरू तथ्य वा मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ पृ. ८-११

के येशूसम्बन्धी शंकाहरू मनासिब छन्‌?

नासरतका येशूले के साँच्चै चमत्कारहरू गर्नुभयो? उहाँका चेलाहरूले घोषणा गरेझैं के उहाँ बिउँतनुभयो? के वास्तवमा उहाँको अस्तित्व थियो? हाम्रो आधुनिक युगमा धेरैले यी प्रश्‍नहरूका निश्‍चित जवाफहरू दिन सकेका छैनन्‌। किन? किनभने तिनीहरू येशूबारे शंका गर्छन्‌। शंका भन्‍नाले अनिश्‍चितता अर्थात्‌ कुनै कुरा साँचो वा सम्भव हुन्‌ कि होइनन्‌ भन्‍ने भावनाहरू हुन्‌। तर के येशूबारे अनिश्‍चितताका भावनाहरू मनासिब छन्‌? आउनुहोस्‌, हेरौं।

येशूबारे शंकाका बीउहरू कसरी रोपिए

उन्‍नाइसौं शताब्दीको अन्त र २० औं शताब्दीको सुरुतिरका केही जर्मन धर्मविज्ञानीहरूले येशूलाई “पुरातन चर्चको काल्पनिक व्यक्‍तिको” रूपमा चित्रण गरे। तिनीहरूले येशूको ऐतिहासिकतालाई विरोध गरेकोले यस शताब्दीको सुरुतिर शास्त्रज्ञहरूबीच विवाद उत्पन्‍न भयो। त्यो विवाद त्यतिबेलाका जनसाधारणसम्म फैलियो र त्यसले आज हाम्रो समयसम्म प्रभाव पारेको छ। उदाहरणको लागि, हालै जर्मनीमा गरिएको एउटा अध्ययनअनुसार अन्तर्वार्ता लिइएकाहरूमध्ये ३ प्रतिशतले येशूको “अस्तित्व हुँदै नभएको” र “प्रेरितहरूले उहाँलाई आविष्कार गरेको” विश्‍वास गर्छन्‌। हो, यस शताब्दीको सुरुतिर येशूको अस्तित्वसम्बन्धी जुन शंकाहरू रोपिएका थिए त्यसले अझै पनि मानिसहरूका हृदयमा ठाउँ पाएको छ।

येशू “आविष्कार” भएको हुनुपर्छ भन्‍ने निष्कर्ष किन मनासिब हुनसक्दैन? बाइबल शास्त्रज्ञ वोल्फग्यांग ट्रीलिंग यस्तो टिप्पणी गर्छन्‌: “येशूको वास्तवमा अस्तित्व थियो कि थिएन अर्थात्‌ उहाँ ऐतिहासिक व्यक्‍ति हुनुहुन्थ्यो वा काल्पनिक भन्‍ने विवाद सुल्झियो। त्यो प्रश्‍न बुद्धिमानीपूर्वक समाधान गरियो। भनौं भने, गम्भीर विचारधाराका मानिसहरूले कमसे कम त्यसलाई सैद्धान्तिक विवादको रूपमा हेर्न छाडे।” तापनि, केहीले येशूको अस्तित्वमाथि अझै शंका गर्छन्‌। उसोभए येशूको ऐतिहासिकता साबित गर्नुका साथै उहाँबारे शंकाहरू कसरी हटाउन सकिन्छ, त्यसलाई केलाऔं।

शंकालाई हटाउने प्रमाणहरू

ट्रीलिंग बताउँछन्‌, येशूलाई एक घृणित अपराधीको रूपमा दिइएको लज्जास्पद मृत्युदण्डले नै “येशूको ऐतिहासिकतामाथि विवाद गर्ने विरोधीहरूलाई सबैभन्दा विश्‍वसनीय तर्क” प्रदान गर्छ। किन? किनभने यस मृत्युदण्डले यहूदी तथा गैरयहूदीहरूबीच नयाँ विश्‍वास फैलिनदेखि “रोक्यो” र अवरोधसमेत खडा गऱ्‍यो। (१ कोरिन्थी १:२३ तुलना गर्नुहोस्‌।) येशू मसीहको मृत्युदण्ड यहूदी र अन्यजातिहरूको निम्ति घोर अपमान हुँदो हो त प्रेरितहरूले त्यो पक्कै पनि आविष्कार गरेका हुनसक्दैनन्‌! यसबाहेक, येशूको मृत्यु एउटा ऐतिहासिक घटना हो भनेर सुसमाचारका चार पुस्तकहरूले मात्र होइन तर रोमी लेखक टासिटस र यहूदी ताल्मुदले पनि पुष्टि गरेका छन्‌।a

येशूको जीवनका अन्य घटनाहरू पनि सुसमाचारका पुस्तकहरूको विश्‍वसनीयताका आन्तरिक प्रमाण ठानिन्छन्‌। यसर्थ, ती सुसमाचारका पुस्तकहरूले उहाँबारे बताएका कुराहरू विश्‍वसनीय मानिन्छन्‌। उदाहरणको लागि, कथा बनाउनु नै थियो भने के येशूका अनुयायीहरूले उहाँ नासरतजस्तो नगण्य ठाउँबाट आउनुभएको कुरा उल्लेख गर्नेथिए र? वा सम्भवतः के तिनीहरूले उहाँको विश्‍वासी सहचर, यहूदाको विश्‍वासघातबारे कथा रचेका हुनसक्छन्‌? डरछेरुवाहरूजस्तो भएर येशूका चेलाहरूले उहाँलाई त्यागे भन्‍ने कथा तिनीहरूले रचे होलान्‌ भनेर सोच्नु के तार्किक देखिन्छ र? उहाँका चेलाहरूले त्यस्तो मनगढन्ते विवरणहरू रचेर चारैतिर फैलाए भन्‍नु पक्कै पनि अतार्किक छ! यसबाहेक, येशूले प्रयोग गर्नुभएको शिक्षण कलाको शैली अनुपम थियो। उहाँले चलाउनुभएका उदाहरणहरूमा पाइने विषयवस्तुहरू प्रथम शताब्दीका यहूदी साहित्यमा कतै पाइँदैन। कुन चाहिं अज्ञात व्यक्‍तिले डाँडाको उपदेशजस्तो उत्कृष्ट कृति “आविष्कार” गरेको हुनसक्छ र? यी तर्कहरूले सुसमाचारको पुस्तकमा येशूको जीवनसम्बन्धी दिइएका विवरणहरूको विश्‍वसनीयतालाई पुष्टि गर्छ।

येशूको ऐतिहासिकताबारे बाह्‍य प्रमाण पनि छ। सुसमाचारका चार पुस्तकहरूले उहाँको जीवनकालका विशिष्ट, सुस्पष्ट वर्णन गरिएको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्छ। बेतलेहेम र गालीलजस्ता ठाउँहरू; पन्तियस पिलातस र फरिसीहरूजस्ता प्रतिष्ठित व्यक्‍ति तथा समूह; साथै यहूदी रीतिरिवाज र अन्य अनौठा कुराहरू मनगढन्ते होइनन्‌। ती प्रथम शताब्दीका जीवनशैलीका भाग थिए र त्यसलाई गैरशास्त्रीय स्रोतहरू तथा पुरातात्त्विक उत्खननहरूले पुष्टि गरेका छन्‌।

तसर्थ, येशू एक ऐतिहासिक व्यक्‍ति हुनुहुन्छ भन्‍ने आन्तरिक तथा बाह्‍य ठोस प्रमाण छ।

तथापि, उहाँले गर्नुभएका चमत्कारहरूमा थुप्रै मानिसहरू शंका गर्छन्‌। निस्सन्देह, माथि उद्धरण गरिएको सर्वेक्षणअनुसार चर्च धाउनेहरूमध्ये केही जर्मनहरूले मात्र येशूका चमत्कारहरू तथा उहाँको पुनरुत्थान “वास्तविक” भनेर दृढतापूर्वक विश्‍वास गर्छन्‌। के येशूको चमत्कार तथा पुनरुत्थानसम्बन्धी शंकाहरू मनासिब छन्‌?

केहीले येशूका चमत्कारहरूमाथि किन शंका गर्छन्‌

मत्ती ९:१८-३६ को विवरणअनुसार येशूले चमत्कारपूर्ण ढंगमा बिरामीहरूलाई निको पार्नुभयो, मृतकहरूलाई पुनरुत्थान गर्नुभयो र भूतात्माहरू निकाल्नुभयो। प्राध्यापक तथा इतिहासकार ह्‍युगो स्टाउडिंगर यस्तो टिप्पणी गर्छन्‌: “यी असाधारण विवरणहरू सजीव कल्पनाका उपज हुन्‌ भनेर विश्‍वास गर्न सकिंदैन। ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने त यी चमत्कारहरूमा विश्‍वास गर्नैपर्छ।” किन? किनभने यी चमत्कारहरूका धेरैजसो प्रत्यक्षदर्शीहरू जीवित छँदा नै सुसमाचारका ती प्रारम्भिक पुस्तकहरू लेखिएजस्तो देखिन्छ! स्टाउडिंगरले अझै बताएअनुसार, “येशूले असाधारण कार्यहरू गर्नुभयो” भनी यहूदी विरोधीहरूले “कहिल्यै इन्कार नगरेको” हुँदा थप पुष्टिहरू पाइन्छन्‌। हामीले अन्य सबै प्रमाणहरूलाई नकारेर यी बाह्‍य प्रमाणको आधारमा पनि येशूका चमत्कारहरू निश्‍चय नै विश्‍वास गर्न लायकका पाउँछौं।—२ तिमोथी ३:१६.

“येशूले बिरामीहरूलाई निको पार्नुभयो भनेर अधिकांश जर्मनहरू विश्‍वस्त” भए तापनि धेरैले उहाँको निवारण शक्‍तिमाथि शंका गर्छन्‌। उदाहरणको लागि, एक प्रख्यात जर्मन धर्मविज्ञानीले खुलेआम यसो भने, येशूले गर्नुभएका निवारणहरू मानसिक तनाउ भोगिरहेकाहरूलाई सम्मोहित पारेर निको पार्ने शक्‍ति हो। के यो पत्यारिलो स्पष्टीकरण हो?

यी उदाहरणहरूलाई विचार गर्नुहोस्‌। येशूले हात सुकेको मानिसलाई निको पार्नुभयो भनी मर्कूस ३:३-५ को विवरणले बताउँछ। तर के हात सुक्नु मानसिक तनाउको परिणाम हो? पक्कै होइन। फलतः यस निवारणलाई सम्मोहित पार्ने शक्‍तिले गर्दा भएको मान्‍न सकिंदैन। अतः येशूलाई चमत्कारहरू गर्न कुन कुराले मदत दियो? प्राध्यापक स्टाउडिंगर स्वीकार्छन्‌: “यदि कुनै नियमहरू पूर्णतया वैध छैनन्‌ र एक जना व्यक्‍तिले परमेश्‍वरलाई पूर्णतया नकार्दैन भने मानिसभन्दा निकै शक्‍तिशाली परमेश्‍वरले असामान्य कार्यहरू गर्न सक्नुहुन्छ भनेर पत्याउन उसलाई गाह्रो पर्दैन।” निस्सन्देह, “परमेश्‍वरको [शक्‍तिद्वारा]” येशूले साँच्चै बिरामीहरूलाई निको पार्नुभयो। तसर्थ, उहाँका चमत्कारहरूको सत्यतामाथि शंका गर्नुपर्ने कुनै कारण छैन।—लूका ९:४३; मत्ती १२:२८.

दि अमेरिकन पिपल्स इन्साइक्लोपीडिया-अनुसार सबैभन्दा महान्‌ चमत्कार अर्थात्‌ येशूको पुनरुत्थान वास्तवमा भएको थियो भने सुसमाचारका पुस्तकहरूमा लिपिबद्ध अन्य सबै चमत्कारहरू “सम्भव छन्‌।” के येशू साँच्चै बिउँताइनुभयो?

के येशूको पुनरुत्थानबारे शंकाहरू मनासिब छन्‌?

येशूको पुनरुत्थानको सत्यतालाई समर्थन गर्ने एउटा ठोस प्रमाणलाई विचार गर्नुहोस्‌—त्यो हो, रित्तो चिहान। येशूको चिहान रित्तो थियो भनेर येशूका समकालीनहरू र उहाँका विरोधीहरूले समेत सहजै स्वीकार्नु एउटा ठोस प्रमाण हो। (मत्ती २८:११-१५) छलकपट सजिलै पर्दाफास हुनसक्थ्यो! माथि उल्लिखित कृतिले यस्तो सही निष्कर्ष निकालेको छ: “रित्तो चिहानबारे वैध प्रमाण बाइबलमा बाहेक अन्त कतै पाइँदैन। त्यहाँ यसो भनिएको छ, ‘उहाँ यहाँ हुनुहुन्‍न; किनकि उहाँको पुनरुत्थान भएको छ।’”—मत्ती २८:६.

केहीले यसो भन्दै विरोध जनाउँछन्‌, येशूका चेलाहरूले मात्र उहाँ नै पुनरुत्थान हुनुभएको मसीह हुनुहुन्छ भनेर चारैतिर घोषणा गरे। यो साँचो हो। तर के तिनीहरूले विशेषगरि येशूको मृत्यु र पुनरुत्थानबारे घोषणा गरेको सन्देशको विश्‍वसनीयता ऐतिहासिक तथ्यमा आधारित थिएन र? अवश्‍य थियो। निम्न कुरा लेख्दा प्रेरित पावल यसबारे पूर्ण सजग थिए: “औ ख्रीष्ट बिउँतनुभएको होइन भनेता, हाम्रो प्रचार व्यर्थ हो, र तिमीहरूको विश्‍वास पनि व्यर्थै भयो! हामी परमेश्‍वरका झूटा साक्षी ठहरिन्छौं, किनभने हामीले परमेश्‍वरको विषयमा उहाँले ख्रीष्टलाई बिउँताउनुभयो भन्‍ने गवाही दिएका थियौं।”—१ कोरिन्थी १५:१४, १५; यूहन्‍ना १९:३५ तुलना गर्नुहोस्‌; यूहन्‍ना २१:२४; हिब्रू २:३.

प्रथम शताब्दीमा प्रख्यात व्यक्‍तित्वहरू थुप्रै थिए र तिनीहरूले येशूको मृत्युपश्‍चात्‌ उहाँ देखा पर्नुभएको विषयमा पुष्टि दिनसक्थे। तिनीहरूमध्ये १२ प्रेरितहरू र पावलका साथै ५०० भन्दा बढी प्रत्यक्षदर्शीहरू थिए।b (१ कोरिन्थी १५:६) अविश्‍वासी प्रेरित यहूदाको ठाउँमा मत्तियास छानिनुको कारण पनि नबिर्सनुहोस्‌। प्रेरित १:२१-२३ को विवरणअनुसार मत्तियासले येशूको पुनरुत्थान र उहाँसित सम्बन्धित त्यसअघिका घटनाहरूबारे पुष्टि दिनसक्थे। येशूको जीवन र पुनरुत्थान काल्पनिक हुँदो हो त नियुक्‍तिको लागि त्यस्तो आवश्‍यकता निस्सन्देह व्यर्थ हुनेथियो।

प्रथम शताब्दीका थुप्रै प्रत्यक्षदर्शीहरूले येशूको जीवन, चमत्कार, मृत्यु र पुनरुत्थानबारे पुष्टि दिनसके। त्यसैकारण त माथि उल्लिखित अवरोधहरूको बावजूद मसीही धर्म रोमी साम्राज्यभरि तुलनात्मक हिसाबमा चाँडै फैलियो। येशूको पुनरुत्थान र त्यस सुसमाचारको आधारभूत सत्य सबैतिर घोषणा गर्नका लागि उहाँका अनुयायीहरू कठिनाइ, सतावट र मृत्युसमेत सहन तयार भए। कस्तो आधारभूत सत्य? परमेश्‍वरको शक्‍तिको कारणले गर्दा मात्र उहाँको पुनरुत्थान सम्भव भयो भन्‍ने सत्य। अनि यहोवा परमेश्‍वरले येशूलाई किन पुनरुत्थान गर्नुभयो? त्यस प्रश्‍नको जवाफले ऐतिहासिक येशू को हुनुहुन्छ भनेर देखाउँछ।

पेन्तिकोसको दिनमा प्रेरित पावलले यरूशलेमका अचम्मित यहूदीहरूसमक्ष खुलेआम यस्तो घोषणा गरे: “यिनै येशूलाई परमेश्‍वरले बिउँताउनुभयो। जुन कुराको हामी सबै गवाही छौं। यसैकारण परमेश्‍वरका दाहिने बाहुलीबाट उच्च पारिनुभएर, पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँलेनै यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्‍नुहुन्छ। किनकि दाऊद स्वर्गमा चढ़िगएनन्‌, तर उनी आफैले भन्दछन्‌, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउन्‍नँ।’ त्यसैकारण इस्राएलका सारा घरानाले यो निश्‍चय जानून्‌, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु, र ख्रीष्टसमेत तुल्याउनुभयो।” (प्रेरित २:३२-३६) हो, यहोवा परमेश्‍वरले नासरतका येशूलाई “प्रभु र ख्रीष्ट दुवै” तुल्याउनुभयो। परमेश्‍वरको उद्देश्‍यमा उहाँको यस भूमिकासम्बन्धी शंकाहरू के मनासिब छन्‌?

येशूको वर्तमान भूमिकामाथि किन शंका गर्ने?

येशूको चिनारी र भूमिकाबारे सबै शंकाहरू कसरी हटाउन सकिन्छ? उहाँ साँचो अगमवक्‍ता हुनुहुन्छ भन्‍ने तथ्यले। आज हामीले देखेका लडाइँ, अनिकाल, भुइँचालो, अपराध र प्रेमको अभावबारे उहाँले अगमवाणी गर्नुभयो। यसबाहेक उहाँले यो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:३-१४) यी भविष्यवाणीहरूको पूर्तिले उहाँ नै पुनरुत्थान हुनुभएको मसीह हुनुहुन्छ र उहाँले ‘शत्रुहरूको माझ’ अदृश्‍य शासन गरिरहनुभएको छ भनेर प्रमाणित गर्छ। साथै उहाँले परमेश्‍वरको नयाँ संसारतर्फ डोऱ्‍याउनुहुनेछ।—भजन ११०:१, २; दानियल २:४४; प्रकाश २१:१-५.

अहिले मानवजातिको निम्ति अलौकिक बुद्धि भएको मुक्‍तिदाता अत्यन्तै जरुरी भएको छ। मानवजातिलाई जोगाउन छानिनुभएको व्यक्‍ति येशू नै हुनुहुन्छ भनेर हामीले किन शंका गर्ने? येशूका प्रभावकारी चमत्कारहरू तथा उहाँको पुनरुत्थानका प्रत्यक्षदर्शीहरूमध्ये यूहन्‍ना एक थिए। तिनले यसरी घोषणा गरे: “हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले पुत्रलाई संसारका मुक्‍तिदाता हुनालाई पठाउनुभएको छ।” (१ यूहन्‍ना ४:१४; यूहन्‍ना ४:४२ तुलना गर्नुहोस्‌।) हामीसित येशूको अस्तित्व, चमत्कार, मृत्यु तथा पुनरुत्थानबारे शंका गर्ने कुनै तार्किक आधार नभएजस्तै यहोवा परमेश्‍वरले उहाँलाई आफ्नो दाहिने बाहुलीमा वैध राजाको हैसियतमा सिंहासनमा विराजमान गराइसक्नुभयो भनेर शंका गर्नुपर्ने कुनै कारण छैन। निस्सन्देह, नासरतका येशू नै परमेश्‍वरको राज्यको राजा र “संसारका मुक्‍तिदाता” हुनुहुन्छ।—मत्ती ६:१०.

[फुटनोटहरू]

a ताल्मुदमा येशूलाई संकेत गरिएका पोलेमी टिप्पणीहरूलाई केही शास्त्रज्ञहरूले मात्र सही हुन्‌ भनेर स्वीकारेका छन्‌। अर्कोतर्फ, तिनीहरूले टासिटस, सुटोनियस, प्लाइनी द यंगका टिप्पणीहरू र फ्लेभियस जोसेफसका कमसे कम एउटा टिप्पणीलाई येशूको ऐतिहासिक अस्तित्वको प्रमाणस्वरूप सामान्यतया स्वीकारेका छन्‌।

b एक अवसरमा पुनरुत्थान हुनुभएको येशूले आफ्ना चेलाहरूसित माछा खानुभयो। यसले आज केही मानिसहरूले दाबी गरेझैं उहाँको उपस्थिति दृष्टिभ्रम मात्र होइन भनेर प्रमाणित गर्छ।—लूका २४:३६-४३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने