प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ९/१ pp. १९-२१
  • के तपाईं अझ विवेकी हुन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं अझ विवेकी हुन सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएलसित विवेकको अभाव
  • आध्यात्मिक विवेक प्राप्त गर्ने
  • विवेक र अन्तरदृष्टि
  • समझ-शक्‍तिमा मन लगाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • समझ-शक्‍तिले तपाईंको रक्षा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशूजस्तै साहसी र समझदार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ९/१ pp. १९-२१

के तपाईं अझ विवेकी हुन सक्नुहुन्छ?

विवेक भनेको “कुनै दुई वस्तुबीच भेद छुटाउनसक्ने मनको शक्‍ति वा क्षमता हो।” तर वेब्स्टर्स युनिभर्सल डिक्शनरी-अनुसार यो “न्यायको तीक्ष्णता” वा “वस्तु वा विचारहरूबीच भिन्‍नता बुझ्नसक्ने शक्‍ति” पनि हुनसक्छ। स्पष्ट छ, विवेक रहरलाग्दो गुन हो। यसको महत्त्व सुलेमानका शब्दहरूबाट बुझ्न सक्छौं: “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, . . . त्यसले तँलाई खराब चालबाट . . . जोगाउनेछ।”—हितोपदेश २:१०-१२.

हो, विवेकले हामीलाई “खराब चालबाट” जोगिन मदत दिनेछ र त्यो आज प्रचुर मात्रामा उपलब्ध छ। अनि यसले अरू थुप्रै लाभहरू दिन्छ। उदाहरणको लागि, आमाबाबुहरू प्रायजसो आफ्ना छोराछोरीहरूले ‘तपाईंले त बुझ्नु नै हुन्‍न!’ भनेको सुन्छन्‌। अलिकता जाँचपडताल गरेपछि विवेकी आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई पिरोलिरहेको भावना तथा मतभिन्‍नताहरू बुझ्नसक्छन्‌। (हितोपदेश २०:५) विवेकी पतिले हतपत निर्णय गरी हाल्नुको साटो आफ्नी पत्नीको कुरा सुनेर उनको सोचाइबारे अन्तरदृष्टि प्राप्त गर्नेछन्‌। पत्नीले पनि आफ्नो पतिसित त्यस्तै व्यवहार गर्नेछिन्‌। तसर्थ, “बुद्धिले घर बनाउँछ, असल समझ-शक्‍तिले त्यसलाई सुरक्षित राख्छ।”—हितोपदेश २४:३.

विवेकले मानिसलाई कुनै पनि परिस्थिति सफलतापूर्वक सुल्झाउन मदत दिन्छ। हितोपदेश १७:२७ यसो भन्छ: “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझ-शक्‍ति भएकोले ठण्डा मिजास राख्छ।” विवेकी मानिस झरंग रिसाउँदैन र सोचविचार नपुऱ्‍याई काम गर्दैन। कुनै काममा मुछिनुअघि तिनले सम्भाव्य परिणामबारे होशियारीपूर्वक विचार पुऱ्‍याउँछ। (लूका १४:२८, २९) तिनले अरूसित शान्तिपूर्ण सम्बन्धको आनन्द पनि उठाउँछ किनभने ‘तीव्र बुद्धिको मानिसले’ आफ्ना शब्दहरू होशियारीसाथ छान्छ। (हितोपदेश १०:१९; १२:८) तर सबैभन्दा महत्त्वपूर्ण कुरा, विवेकी मानिसले नम्रतापूर्वक आफ्नो सीमा बुझ्छ र डोऱ्‍याइको निम्ति मानिस होइन तर परमेश्‍वरको बाटो हेर्छ। यो यहोवालाई मनपर्ने कुरा हो। अतः विवेक खेती गर्नुपर्ने अर्को कारण यो पनि हो।—हितोपदेश २:१-९; याकूब ४:६.

इस्राएलसित विवेकको अभाव

विवेक नदेखाउँदा हुनसक्ने खतरा इस्राएलको प्राचीन इतिहासमा भएको एउटा घटनाबाट स्पष्ट हुन्छ। त्यो समयलाई फर्केर हेर्दै प्रेरित भजनरचयिताले यसप्रकार लेखे: “मिश्रमा तपाईंका आश्‍चर्यकामहरूलाई हाम्रा पुर्खाहरूले बुझेनन्‌। तपाईंका प्रशस्त कृपा तिनीहरूले सम्झेनन्‌। तर समुद्रमा, लाल समुद्रमानै वागी भए।”—भजन १०६:७.

मोशाले इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदा यहोवाले पराक्रमी विश्‍व शक्‍तिमाथि दशवटा विपत्ति ल्याउनुभएर आफ्नो शक्‍ति तथा आफ्ना जनहरूलाई छुटकारा दिने कटिबद्धता देखाइसक्नुभएको थियो। फिरऊनले इस्राएलीहरूलाई जान दिएपछि मोशाले तिनीहरूलाई लाल समुद्रको किनारासम्म पुऱ्‍याए। तथापि, मिश्री सेनाहरूले तिनीहरूलाई खेद्‌दै आए। यसो हेर्दा इस्राएलीहरू पासोमा परेको र तिनीहरूले भर्खरै प्राप्त गरेको स्वतन्त्रता अल्पकालीन होला जस्तो देखिएको थियो। अतः बाइबलको विवरणले यसो भन्छ: “इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे। तिनीहरूले मोशालाई भने, . . . ‘हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो? . . . किनकि उजाड़-स्थानमा मर्नुभन्दा ता हामीलाई मिश्रीहरूकै सेवा गर्न असल थियो।”—प्रस्थान १४:१०-१२.

तिनीहरूले यहोवाको शक्‍तिका उल्लेखनीय दशवटा प्रदर्शनहरू नदेखेका भए शायद तिनीहरू त्यसरी डराउनुको कारण बुझ्न सकिन्थ्यो होला। तर मोशाले ४० वर्षपछि स्मरण गराएका यी कुराहरूका तिनीहरू प्रत्यक्षदर्शीहरू थिए: “परमप्रभुले हामीलाई आफ्नो महान शक्‍ति र बाहुबलले, ठूलो आतंक, दिव्य-चिन्ह र आश्‍यर्चकर्महरू देखाएर मिश्रबाट निकालेर ल्याउनुभयो।” (व्यवस्था २६:८) यसर्थ, भजनरचयिताले लेखेझैं इस्राएलीहरूले मोशाको निर्देशन पालन नगर्दा तिनीहरूले “बुझेनन्‌।” तैपनि, मिश्री सेनाहरूलाई विलक्षण ढंगमा परास्त गर्नुभएर यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो।—प्रस्थान १४:१९-३१.

परीक्षाहरू आइपर्दा हामीमा शंका वा अनिश्‍चितता छ भने हाम्रो विश्‍वास पनि त्यसरी नै ढलपल हुनसक्छ। विवेकले हामीलाई सधैं सही दृष्टिकोण राख्न र साथै हाम्रो विरोधी जतिसुकै शक्‍तिशाली भए तापनि त्योभन्दा यहोवा महान्‌ हुनुहुन्छ भनेर सम्झन मदत दिन्छ। विवेकले हामीलाई यहोवाले हाम्रो निम्ति गर्नुभएका कुराहरू स्मरण गर्न पनि मदत दिन्छ। “उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ” भन्‍ने तथ्यलाई कहिल्यै नबिर्सन यसले मदत गर्छ।—भजन १४५:१८-२०.

आध्यात्मिक विवेक प्राप्त गर्ने

विवेक भनेको उमेर ढल्कँदै जाँदा स्वतः प्राप्त हुने कुरा होइन। यसको खेती गर्नुपर्छ। अन्तरराष्ट्रिय ख्यातिप्राप्त बुद्धिमान राजा सुलेमानले यसो भने: “बुद्धि पाउने र समझ-शक्‍ति प्राप्त गर्ने मानिस सुखी हुन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुनभन्दा बढ़ी हुन्छ।” (हितोपदेश ३:१३, १४) सुलेमानले विवेक कहाँबाट पाए? यहोवाबाट। यहोवाले सुलेमानलाई कस्तो आशिष्‌ चाहिन्छ भनी सोध्नुहुँदा सुलेमानले यस्तो जवाफ दिए: “तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन दिनुहोस्‌, र त्यसले असल खराबको भेद छुट्याउनसकोस्‌।” (१ राजा ३:९) हो, सुलेमानले यहोवालाई मदतगार सम्झे। तिनले विवेक मागे र यहोवाले तिनलाई प्रशस्त दिनुभयो। परिणाम के भयो? “सुलेमानको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसका बुद्धिलाई माथ गर्नेथियो।”—१ राजा ४:३०.

विवेक खोज्न कहाँ जानुपर्छ भनेर हामीलाई सुलेमानको अनुभवले देखाउँछ। सुलेमानले जस्तै हामीले यहोवासित विवेक माग्नुपर्छ। तर कसरी? यहोवाले हामीलाई उहाँको वचन, बाइबल प्रदान गर्नुभएको छ। त्यसले हामीलाई उहाँको सोचाइ बुझ्ने अन्तरदृष्टि दिन्छ। हामीले बाइबल पढ्‌दा ज्ञानको भण्डारलाई खनिरहेका हुन्छौं। त्यस्तो ज्ञानले आध्यात्मिक विवेकलाई चाहिने आधारशिला प्रदान गर्छ। हामीले बाइबल पढाइबाट प्राप्त गरेका जानकारीमाथि मनन गर्नुपर्छ। त्यसपछि, त्यसलाई सही निर्णयहरू गर्न प्रयोग गर्न सकिन्छ। समयमा हाम्रा ज्ञानेन्द्रिय शक्‍तिहरू विकास भएर हामी “समझमा” पूरा बढेका हुन्छौं र “खराब र असल छुट्याउनालाई” सक्षम हुन्छौं।—१ कोरिन्थी १४:२०; हिब्रू ५:१४; १ कोरिन्थी २:१० तुलना गर्नुहोस्‌।

चाखलाग्दो कुरा के छ भने, यहोवाले सुलेमानलाई दिनुभएको विवेकबाट हामीले अझै पनि लाभ उठाउनसक्छौं। तर कसरी? सुलेमान बुद्धिलाई हितोपदेशको रूपमा व्यक्‍त गर्न पोख्त थिए। र वास्तवमा ती उपदेशहरू ईश्‍वरप्रेरित बुद्धिले भरिएका उक्‍तिहरू थिए। यीमध्ये थुप्रै उक्‍तिहरू बाइबल पुस्तक, हितोपदेशमा संचय गरिएका छन्‌। त्यो पुस्तक अध्ययन गर्दा सुलेमानको विवेकबाट लाभ उठाउनका साथै हामी आफैले विवेक विकास गर्ने मदत पाउँछौं।

बाइबल अध्ययन गर्ने मदतको लागि हामीले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाजस्ता बाइबल सहायकहरू चलाउनसक्छौं। प्रहरीधरहरा पत्रिकाले ११६ वर्षभन्दा अघिदेखि निष्कपट मानिसहरूलाई यहोवाको राज्य घोषणा गरिरहेको छ। ब्यूँझनुहोस्‌! र यसअघि प्रकाशित गोल्डन एज (सुनौलो युग) र कन्सोलेशन (सान्त्वना) पत्रिकाले सन्‌ १९१९ देखि विश्‍व परिस्थितिबारे टिप्पणी गर्दै आएको छ। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!, यी दुइ पत्रिकाहरूले बाइबल सच्चाइहरूलाई केलाउँछ, मसीहीजगतले सिकाएका वा आफ्नै सोचाइले गर्दा भएका त्रुटिहरू बुझ्ने मदतको लागि प्रगतिशील आध्यात्मिक ज्योति प्रदान गर्छ।—हितोपदेश ४:१८.

विवेक विकास गर्ने अर्को सहायक, सही संगति हो। राजा सुलेमानको एउटा हितोपदेशले यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) दुःखको कुरा, राजा सुलेमानका छोरा रहबामले आफ्नो जीवनको महत्त्वपूर्ण मोडमा यस हितोपदेशलाई सम्झेनन्‌। आफ्नो पिताको मृत्युपश्‍चात्‌ इस्राएलका कुलहरूले तिनीहरूको जुवा हलुका गरियोस्‌ भन्‍ने माग गरे। सर्वप्रथम, रहबामले बूढाप्रधानहरूसित परामर्श लिए। तिनलाई आफ्ना प्रजाहरूको कुरा सुन्‍न प्रोत्साहित गरेर बूढाप्रधानहरूले विवेक देखाए। तर त्यसपछि, तिनले जवान मानिसहरूसित सल्लाह लिए। यिनीहरूसित अनुभव तथा विवेकको कमी भएकोले तिनीहरूले इस्राएलीहरूलाई धम्काउने सल्लाह रहबामलाई दिए। रहबामले जवानहरूको कुरा सुने। परिणाम? इस्राएलले विद्रोह गऱ्‍यो र रहबामले आफ्नो राज्यको ठूलो भूभाग गुमाउनुपऱ्‍यो।—१ राजा १२:१-१७.

विवेक विकास गर्ने महत्त्वपूर्ण पक्ष, पवित्र आत्माको मदत खोज्नु हो। मिश्रको दासत्वबाट छुटकारा पाइसकेपछि यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारलाई पुनरावृत्ति गर्दै बाइबल लेखक नहेम्याहले यसो भने: “तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्नो असल आत्मा दिनुभयो।” (नहेम्याह ९:२०) यहोवाको आत्माले हामीलाई टाठो बनाउन पनि मदत दिनसक्छ। तपाईंले विवेक प्राप्त गर्न यहोवाको आत्माको लागि प्रार्थना गर्नुहुँदा विश्‍वस्ततापूर्वक गर्नुहोस्‌। किनभने यहोवाले “उदारचित्तसँग नझर्कीकन” दिनुहुन्छ।—याकूब १:५; मत्ती ७:७-११; २१:२२.

विवेक र अन्तरदृष्टि

प्रेरित पावलले सारा राष्ट्रका मानिसहरूलाई सत्य प्रचार गर्दा विवेक देखाए। उदाहरणको लागि, एक चोटि एथेन्समा “घुमफिर गर्दा” तिनले भक्‍ति गर्ने ठाउँहरू भेटाए। पावलको चारैतिर मूर्तिहरू थिए र तिनी बेचैन भए। अब तिनले एउटा निर्णय गर्नुपऱ्‍यो। सजिलो मार्ग अपनाएर चुपो लागेर बस्ने वा खतराको वास्ता नगरेर त्यहाँ व्याप्त मूर्तिपूजाबारे खुल्लमखुल्ला बताउने?

पावलले विवेकी मार्ग अपनाए। तिनले “नजानिएका देवताका निम्ति” भनी खोपिएको मूर्ति देखे। पावलले कौशलतापूर्वक तिनीहरूको भक्‍तिलाई मानि लिए र त्यसपछि ‘संसारमा भएका यावत्‌ थोक बनाउनुहुने परमेश्‍वरको’ परिचय दिन त्यस मूर्तिलाई चलाए। हो, तिनीहरूले नजानेका देउता यहोवा नै हुनुहुन्थ्यो। यसप्रकार पावलले तिनीहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै अद्‌भुत साक्षी दिन सके। परिणाम? “डियुनिसियस अरियोपागी . . . र डामारिस नाउँ भएकी एउटी स्त्री, र उनीहरूसित अरूहरू[लगायत]” थुप्रै मानिसहरूले सत्यलाई स्वीकारे। (प्रेरित १७:१६-३४) पावलले विवेकको कति राम्रो उदाहरण देखाए!

निस्सन्देह, विवेक सजिलै वा स्वतः आउने कुरा होइन। तर धीरज, प्रार्थना, निष्कपट प्रयास, बुद्धिमान संगति, बाइबल अध्ययन तथा मनन र यहोवाको पवित्र आत्मामा भर गरेर तपाईंले पनि विवेकको खेती गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने