डाह यसले मेरो जीवनलाई झन्डै भताभुंग पारेको थियो
मेरो दोस्रो पति, मार्कसित विवाह हुँदा मलाई डाहले असाध्यै नराम्रोसित असर गर्न थाल्यो।a हामी दुवैले हाम्रा सौतेला छोराछोरीहरू तथा आफ्ना भूतपूर्व पति र पत्नीको हेरचाह गर्नुपर्थ्यो। परिस्थिति कहिलेकाहीं असह्य हुन्थ्यो। जहिले पनि पारिवारिक मुठभेड हुँदा मार्कले मलाई समर्थन नगरेको जस्तो देखिन्थ्यो। तिनले अझै पनि आफ्नो भूतपूर्व पत्नीलाई प्रेम गरेजस्तो मलाई लाग्थ्यो। मैले डाहलाई नियन्त्रणमा राख्नुको साटो त्यसलाई मेरो जीवनमाथि नियन्त्रण जमाउन दिएँ। मार्ककी भूतपूर्व पत्नीको उपस्थितिले मलाई सदा त्रसित तुल्याउँथ्यो।
मैले मार्कलाई सधैं नियालेर हेरिरहन्थें र तिनले आफ्नो आँखा कतातिर घुमाउँदैछन्, त्योसमेत हेर्थें। तिनले सोच्दै नसोचेका कुराहरूसमेत म सोच्थें। तिनले आफ्नी भूतपूर्व पत्नीलाई अझै प्रेम गर्छन् भनेर म कहिलेकाहीं खुल्लमखुल्ला आरोप लगाउँथें। एक चोटि त तिनी यति खिन्न भए कि मसीही सम्मेलनबाट जुरुक्क उठेर गए। मलाई आफू यहोवासमक्ष दोषी लाग्थ्यो। मैले आफ्नो सम्पूर्ण परिवारलाई दुःखी तुल्याएँ किनभने अन्ततः त्यसले बच्चाहरूलाई पनि असर गर्न थाल्यो। मेरो करतुतको लागि म आफूलाई घृणा गर्थें तर जतिसुकै प्रयास गरे तापनि मैले डाही भावनालाई आफ्नो नियन्त्रणमा राख्नै सकिनँ।
मार्कले मलाई मदत गर्नुको साटो प्रत्यारोपण गर्न थाले। मैले तिनलाई आरोप लगाउँदा तिनी यसो भनेर चिच्याउँथे, “तिमी साह्रै डाही छ्यौ।” तिनले जानाजानी मलाई डाही बनाउनसमेत खोजे। शायद यसो गर्दा मेरो डाह गर्ने बानी कम होला भनी तिनले सोचेका थिए तर यसले गर्दा परिस्थिति झनै बिग्रियो। तिनले अरू स्त्रीहरूतिर आँखा लगाएर तिनीहरूको सौन्दर्यमाथि टिप्पणीहरू गर्न थाले। यसले गर्दा मैले झनै हीन तथा बेकाम महसुस गर्न थालें। मेरो मनमा अब अर्को अनिष्ट भावना अर्थात् घृणा जाग्न थाल्यो। त्यतिखेर भने म असाध्यै विचलित भएर मार्क र तिनको परिवारदेखि अलग बस्न चाहन्थें।
“क्रोधले [डाह, न्युव] त्यसको हड्डी गलाउँछ” भनी बाइबलले भन्छ। (हितोपदेश १४:३०) अनि वास्तवमा ठीक त्यस्तै हुन्छ। यसले अब मेरो स्वास्थ्यलाई असर गर्न थाल्यो। मलाई पेटको अल्सर भयो र त्यो निको हुन निकै समय लाग्यो। मार्कले गरेका सबै कुराहरूमा शंका गरेर मैले आफ्नो जीवनलाई दुःखी बनाएँ। म तिनका खल्तीहरू खानतलास गर्थें र त्यहाँ टेलिफोन नम्बरहरू भेटिएमा तिनलाई टेलिफोन गर्ने व्यक्ति पत्ता लगाउन खोज्थें। मलाई भित्रभित्र आफू देखेर असाध्यै लाज लाग्थ्यो। अतः यहोवाको सामु लज्जित भएर रुन्थें। यद्यपि, मैले आफूलाई सँभाल्न सकिनँ। मेरो सबैभन्दा ठूलो शत्रु म आफै थिएँ।
मेरो आध्यात्मिकतालाई यतिसम्म असर गऱ्यो कि मैले प्रार्थनासमेत गर्न सकिनँ। म यहोवालाई प्रेम गर्थें र सही कुरा गर्न चाहन्थें। मलाई पति पत्नीसित सम्बन्धित सबै शास्त्रपदहरू थाह थियो तर मैले त्यसलाई लागू गर्न सकिनँ। मेरा लहलहाउँदा छोराछोरीहरू हुँदाहुँदै पनि म मर्न चाहन्थें। मैले जीवनमा प्रथम चोटि यस्तो महसुस गरें।
मलाई मण्डलीका प्राचीनहरूले निकै प्रोत्साहन दिए र मदत दिन यथाशक्य गरे। तर तिनीहरूले डाहको विषयमा कुराकानी गर्न खोज्दा अप्ठ्यारो महसुस गर्दै म त्यसलाई इन्कार गर्थें। आफूसित त्यो समस्या भएको कुरा स्वीकार्न चाहन्नथें।
अन्ततः मेरो स्वास्थ्य असाध्यै बिग्रियो र शल्यक्रिया गर्न अस्पतालमा भर्ना हुनुपऱ्यो। त्यहाँ छँदा मैले यस्तै प्रकारले जीवन चल्नेछैन भनेर महसुस गरें। त्यत्तिको भावुक नभइकन आफ्नो परिस्थितिलाई केलाउन मार्क र मैले तीन महिनासम्म अलग बस्ने निर्णय गऱ्यौं। यसै दौडान एउटा अद्भुत कुरा भयो। अवेक! पत्रिकामा “मतवालाहरूका वयस्क छोराछोरीहरूको निम्ति मदत” भन्ने विषयमा एउटा लेख प्रकाशित भयो।b
मेरी आमा मतवाली हुनुहुन्थ्यो। मेरा आमाबाबुले मप्रति शारीरिक दुर्व्यवहार त गर्नुभएन तर उहाँहरूले एकअर्का र मप्रति शारीरिक स्नेह कहिल्यै देखाउनुभएन। मेरी आमाले मलाई अंगालो हाल्नुभएको वा म तिमीलाई माया गर्छु भन्नुभएको सम्झनै छैन। अतः हुर्कंदै जाँदा मैले माया कसरी गर्ने र माया कसरी पाउने भनेर कहिल्यै सिकिनँ।
मेरी आमाले मलाई प्रायजसो बुबाको प्रेमसम्बन्धहरूबारे बताउनुहुन्थ्यो। अतः उहाँले बुबामाथि भरोसा गर्न सक्नुभएन। त्यसैकारण होला, मैले पुरुषजातिमाथि नै भरोसा राख्न सकिनँ। मेरो लालनपालनले गर्दा म विशेषगरि अरू स्त्रीहरूसमक्ष सधैं तुच्छ महसुस गर्थें। त्यो अवेक! पत्रिका पढेपछि मैले यी कुराहरूको महत्त्व बुझ्न सकें। डाही स्वभावको मूल कारण बल्ल बुझ्दैथिएँ।
मैले त्यस अवेक!-को लेख मार्कलाई देखाएँ र तिनले पनि मलाई अझ राम्ररी बुझ्न सके। सम्बन्ध विच्छेदबारे सोचिरहेका दम्पतीहरूलाई बाइबलले दिने सल्लाहलाई थोरै समयपश्चात् मार्क र मैले पालन गर्न थाल्यौं। हाम्रो पुनर्मिलन भयो। (१ कोरिन्थी ७:१०, ११) अहिले हाम्रो वैवाहिक जीवन पहिलेभन्दा निकै राम्रो भएको छ। हामी प्रायजसो कुराहरू एकसाथ गर्छौं, विशेषगरि मसीही क्रियाकलापसित सम्बन्धित कामकुराहरू। मार्कले बढी समानुभूति देखाउँछन्। हरेक दिन तिनले मप्रति आफ्नो प्रेम व्यक्त गर्छन् र म अहिले तिनका कुराहरू साँच्चै पत्याउँछु।
मार्ककी भूतपूर्व पत्नीलाई भेट्ने सम्भावना हुँदा म बलको निम्ति यहोवासित प्रार्थना गर्छु र परिपक्व मसीही ढंगमा व्यवहार गर्न मदत माग्छु। अनि त्यसो गर्दा नतिजा राम्रो भएको छ। उनीप्रति वैमनस्य भावनाहरू पनि कम भएका छन्। म नकारात्मक कुराहरू सोचिरहँदिनँ र अनावश्यक कल्पना गर्दिनँ।
म अझैपनि कहिलेकाहीं डाहका अनुचित भावनाहरू महसुस गर्छु। परमेश्वरको नयाँ संसारमा सिद्ध जीवन प्राप्त हुँदा मात्र त्यो पूर्णतया हट्नेछ। त्यतिञ्जेल, डाहले ममाथि नियन्त्रण जमाउन दिनुको साटो मैले त्यसमाथि नियन्त्रण राख्न सिकेकी छु। हो, डाहले मेरो जीवनलाई झन्डै भताभुंग पारेको थियो तर यहोवा र उहाँको संगठनप्रति म कृतज्ञ छु। किनभने म अहिले पहिलेभन्दा सुखी छु र मेरो स्वास्थ्य सुध्रिएको छ। अब मैले यहोवा परमेश्वरसित पुनः बलियो सम्बन्ध कायम गर्न सकेकी छु।—सौजन्यप्राप्त
[फुटनोटहरू]
a नाउँ परिवर्तन गरिएको छ।
b मे २२, १९९२, अवेक!-को पृष्ठ ८-१२ हेर्नुहोस्।