यहोवाका भेडाहरूलाई कोमल हेरचाह चाहिन्छ
“परमप्रभुनै [यहोवा, न्युव] परमेश्वर हुनुहुन्छ भनी जान। . . . हामी उहाँका प्रजा र उहाँका खर्कका भेड़ाहरू हौं।”—भजन १००:३.
१. यहोवाले आफ्ना सेवकहरूप्रति कस्तो व्यवहार गर्नुहुन्छ?
यहोवा महान् गोठालो हुनुहुन्छ। हामी उहाँका सेवकहरू हौं भने उहाँले हामीलाई आफ्नो भेडा ठान्नुहुन्छ र कोमल हेरचाह गर्नुहुन्छ। स्वर्गमा हुनुहुने पिताले हामीलाई सान्त्वना तथा स्फूर्ति दिनुहुन्छ र उहाँले “आफ्नै नाउँको खातिर . . . धार्मिकताका मार्गमा अगुवाइ गर्नुहुन्छ।” (भजन २३:१-४) असल गोठालो, येशू ख्रीष्टले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ। त्यसैकारण उहाँले हाम्रो लागि आफ्नो प्राण अर्पण गर्नुभयो।—यूहन्ना १०:७-१५.
२. यहोवाका जनहरूले आफूलाई कस्तो अवस्थामा पाएका छन्?
२ कोमल हेरचाह पाएकोले हामी भजनरचयिता सँगसँगै यसो भन्नसक्छौं: “आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ। परमप्रभुनै [यहोवा, न्युव] परमेश्वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं। हामी उहाँका प्रजा, र उहाँका खर्कका भेड़ाहरू हौं।” (भजन १००:२, ३) हो, हामी आनन्दित र सुरक्षित छौं। भनौं भने, ढुंगाका पर्खालहरू भएको बलियो गोठमा दुष्ट शिकारीहरूबाट सुरक्षितजस्तै छौं।—गन्ती ३२:१६; १ शमूएल २४:३; सपन्याह २:६.
बगालका इच्छुक गोठालाहरू
३. नियुक्त मसीही प्राचीनहरूले परमेश्वरको बगालप्रति कस्तो व्यवहार गर्छन्?
३ त्यसैले त हामी परमेश्वरका भेडाहरूको हैसियतमा आनन्दित छौं! नियुक्त प्राचीनहरूले हामीलाई डोऱ्याउँछन्। तिनीहरू हामीमाथि “नेता” हुन वा हाम्रो विश्वासमाथि प्रभुत्व जमाउन खोज्दैनन्। (गन्ती १६:१३; मत्ती २०:२५-२८; २ कोरिन्थी १:२४; हिब्रू १३:७) बरु, तिनीहरू प्रेरित पत्रुसको निम्न सल्लाह पालन गर्ने मायालु गोठालाहरू हुन्: “तिमीहरूका जिम्मामा रहेको परमेश्वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।” (१ पत्रुस ५:२, ३) प्रेरित पावलले सँगी प्राचीनहरूलाई यसो भने: “यसकारण तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरको मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।” पवित्र आत्माद्वारा नियुक्त यी पुरुषहरूले “[बगाललाई कोमल व्यवहार, न्युव]” गरेका लागि हामी कति कृतज्ञ छौं।—प्रेरित २०:२८-३०.
४. बगालसित कस्तो सम्बन्धका लागि चार्ल्स टि. रसल सुपरिचित थिए?
४ येशूले मण्डलीका “मानिसहरू[मा] वरदान” दिनुभयो। केहीलाई निरीक्षक वा गोठालाहरू बनाउनुभयो जसले यहोवाको बगालप्रति कोमल व्यवहार गर्छन्। (एफिसी ४:८, ११) तिनीहरूमध्ये एक, वाच टावर सोसाइटीका प्रथम अध्यक्ष चार्ल्स टि. रसल थिए। तिनलाई पास्टर रसल भनिन्थ्यो किनभने तिनी प्रधान गोठालो, येशू ख्रीष्टको अधीनमा रहेर मायालु तथा अनुकम्पापूर्ण ढंगमा बगालको गोठालो काम गर्थे। आज, मसीही प्राचीनहरूलाई यहोवाका साक्षीहरूको परिचालक निकायले नियुक्त गर्छ र पदवीको रूपमा “पास्टर,” “प्राचीन” वा “शिक्षक” जस्ता पदहरू प्रयोग नगर्न सतर्कता अपनाइन्छ। (मत्ती २३:८-१२) यद्यपि, वर्तमान समयका प्राचीनहरूले यहोवाको खर्कका भेडाहरूको लाभ हुने गोठालो काम गर्छन्।
५. नयाँ व्यक्तिहरूले मसीही मण्डलीका नियुक्त प्राचीनहरूसित किन चिनजान बढाउनुपर्ने हो?
५ गोठालाहरूको हैसियतमा प्राचीनहरूले नयाँ व्यक्तिहरूको आध्यात्मिक प्रगतिमा उल्लेखनीय भूमिका निर्वाह गर्छन्। यसर्थ, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ नामक नयाँ पुस्तकको पृष्ठ १६८ मा यसो भनिएको छ: “मण्डलीका नियुक्त प्राचीनहरूसित चिनजान बढाउनुहोस्। उनीहरू परमेश्वरको ज्ञान प्रयोगमा ल्याउन निकै पोख्त हुन्छन्। निरीक्षकहरूका लागि बाइबलमा प्रस्तुत आवश्यकताहरूलाई उनीहरूले पूरा गरेका छन्। (१ तिमोथी ३:१-७; तितस १:५-९) परमेश्वरको नियमसित मेल नखाने बानी अथवा दुर्गुण छाड्न तपाईंलाई आध्यात्मिक मददको खाँचो छ भने, कुनै एक जना प्राचीनसित सम्पर्क राख्न नहिचकिचाउनुहोस्। यसो गर्नुभयो भने, उनीहरूले प्रेरित पावलको यो सल्लाह प्रयोगमा ल्याएको तपाईंलाई महसुस हुनेछ: ‘हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।’—१ थिस्सलोनिकी २:७, ८; ५:१४.”
जब नयाँ व्यक्तिहरू प्रचार गर्न चाहन्छन्
६. परमेश्वरको राज्य प्रकाशक हुन चाहने बाइबल विद्यार्थीसित कस्तो प्रक्रिया अपनाइन्छ?
६ बाइबल विद्यार्थीले ज्ञान हासिल गरेर सभाहरूमा उपस्थित भएको केही समय भइसकेपछि उनी राज्य प्रकाशक अर्थात् सुसमाचारको प्रचारक हुन चाहलान्। (मर्कूस १३:१०) त्यसो हो भने, उनीसित बाइबल अध्ययन सञ्चालन गर्ने साक्षीले मण्डलीको अध्यक्षसित सम्पर्क राख्नुपर्छ। अनि तिनले मण्डलीको सेवा समितिका कुनै एक प्राचीन र अर्को प्राचीनले त्यस बाइबल विद्यार्थी अनि उनको शिक्षकसित भेट्ने प्रबन्ध मिलाउनेछन्। छलफल अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकको पृष्ठ ९८ र ९९ मा आधारित हुनेछ। यस नयाँ व्यक्तिले आधारभूत बाइबल सिद्धान्तहरूमा विश्वास गरेको र परमेश्वरको सिद्धान्तअनुरूप जीवन बिताएको कुरा ती दुइ प्राचीनहरूले देखेमा उनी जन सेवकाईमा भाग लिन योग्य छन् भनेर प्राचीनहरूले बताउनेछन्।a उनले क्षेत्र सेवकाईको रिपोर्ट बुझाउँदा त्यो मण्डलीको प्रकाशक रिकर्ड कार्डमा उनकै नाउँमा लेखिनेछ। आनन्दपूर्वक ‘परमेश्वरको वचन प्रचार गर्ने’ अन्य लाखौं व्यक्तिहरू सँगसँगै यस नयाँ व्यक्तिले अब आफ्नो प्रचारकार्यको रिपोर्ट बुझाउनसक्छन्। (प्रेरित १३:५) उनी अब बप्तिस्मा अप्राप्त प्रकाशक भए भनी मण्डलीमा घोषणा गरिनेछ।
७, ८. बप्तिस्मा अप्राप्त प्रकाशकलाई सेवकाईमा आवश्यक मदत कुन कुन तरिकाबाट दिन सकिन्छ?
७ बप्तिस्मा अप्राप्त प्रकाशकलाई प्राचीन तथा अन्य परिपक्व मसीहीहरूको मदत चाहिन्छ। उदाहरणका लागि, उनले धाउने मण्डली पुस्तक अध्ययनका सञ्चालकले उनको आध्यात्मिक प्रगतिमा चासो राख्छन्। यस नयाँ प्रकाशकलाई घर-घरको प्रचार कार्यमा प्रभावकारी ढंगमा बोल्न गाह्रो परिरहेको हुनसक्छ। (प्रेरित २०:२०) अतः विशेषगरि उनीसित ज्ञान पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गर्ने व्यक्तिले त्यस्तो सहयोग दिंदा उनी खुशी हुनेछन्। त्यस्तो व्यवहारिक मदत उचित हो किनभने येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सेवकाईको लागि तयार पार्नुभएको थियो।—मर्कूस ६:७-१३; लूका १०:१-२२.
८ हाम्रो सेवकाईलाई प्रभावकारी बनाउन राम्रो पूर्व- तयारी अत्यावश्यक हुन्छ। तसर्थ, दुइ जना प्रकाशकहरू मिलेर हाम्रो राज्य सेवकाई-का मासिक अंकहरूमा दिइने सुझावित प्रस्तुतिहरूलाई अभ्यास गर्नसक्छन्। सेवकाई सुरु गर्दा अनुभवी प्रकाशकले प्रथम एक दुइटा ढोकामा प्रस्तुति गर्नसक्छन्। मित्रैलो परिचयपछि दुवै प्रकाशकले साक्षी दिनसक्छन्। सेवकाईमा केही हप्ता सँगै काम गर्दा राम्रा पुनः भेट अनि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकबाट गृह बाइबल अध्ययनसमेत सुरु हुनसक्छ। अनुभवी प्रकाशकले अलिक समयको लागि अध्ययन सञ्चालन गर्नसक्छन् र पछि नयाँ प्रकाशकलाई त्यो अध्ययन दिनसक्छन्। बाइबल विद्यार्थीले परमेश्वरको ज्ञानप्रति मूल्यांकन व्यक्त गरेमा यी दुवै प्रकाशक कति आनन्दित हुनेछन्!
९. प्रकाशकले बप्तिस्मा लिने इच्छा व्यक्त गर्दा कस्ता प्रबन्धहरू गरिन्छन्?
९ बप्तिस्मा अप्राप्त प्रकाशकले आध्यात्मिक प्रगति गर्दै गएपछि तिनले परमेश्वरलाई प्रार्थनामा आफ्नो समर्पण जाहेर गरेर बप्तिस्मा लिन चाहलान्। (तुलना गर्नुहोस् मर्कूस १:९-११) बप्तिस्मा लिने इच्छालाई उनले मण्डलीको अध्यक्षसमक्ष व्यक्त गर्नुपर्छ। अनि यस प्रकाशकसित अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकबाट पृष्ठ १७५ देखि २१८ का प्रश्नहरू पुनरावलोकन गर्न तिनले प्राचीनहरूको प्रबन्ध गर्नेछन्। सम्भव भएमा, ती प्रश्नहरूको चार अंशलाई तीन बेग्लाबेग्लै प्राचीनहरूले तीन चोटि गरेर छलफल गर्नसक्छन्। यस बप्तिस्मा अप्राप्त प्रकाशकसित बाइबल शिक्षाहरूको यथोचित ज्ञान हुनुका साथै उनी अन्य कुराहरूमा योग्य छन् भनेर सबै जना सहमत छन् भने उनले बप्तिस्मा लिनसक्छन् भनी प्राचीनहरूले बताउनेछन्। तिनको समर्पण र बप्तिस्माको परिणामस्वरूप तिनी मुक्तिको लागि “चिन्ह” लगाइएका हुनेछन्।—इजकिएल ९:४-६.
विशेष आवश्यकताहरू पूरा गर्ने
१०. ज्ञान पुस्तकबाट अध्ययन पूरा गरेर बप्तिस्मा लिइसकेपछि उनले धर्मशास्त्रीय ज्ञान कसरी बढाउनेछन्?
१० कुनै व्यक्तिविशेषले ज्ञान पुस्तकबाट बाइबल अध्ययन सिध्याएर बप्तिस्मा लिइसकेपछि एक मात्र साँचो परमेश्वरको उपासनमा एकताबद्ध जस्ता दोस्रो पुस्तकबाट औपचारिक बाइबल अध्ययन सञ्चालन गर्नु आवश्यक नहुनसक्छ।b निस्सन्देह, भर्खरै बप्तिस्मा लिएको व्यक्तिले मसीही सभाहरूको लागि तयारी गरेर नियमित तवरमा उपस्थित हुँदा निकै कुराहरू सिक्नेछन्। सच्चाइप्रतिको तिर्सना मेटाउन व्यक्तिगत तवरमा मसीही प्रकाशनहरू पढेर अध्ययन गर्नुको साथै ती धर्मशास्त्रीय विषयवस्तुहरू सँगी विश्वासीहरूसित छलफल गर्दा उनले थप ज्ञान पनि हासिल गर्नेछन्। तर विशेष आवश्यकता पऱ्यो भने नि?
११. (क) प्रिस्किला र अक्वीलाले अपोल्लसलाई कसरी मदत गरे? (ख) भर्खरै बप्तिस्माप्राप्त जवानले विवाहबारे सोचिरहेका छन् भने तिनलाई कस्तो मदत दिन सकिन्छ?
११ “धर्मशास्त्रमा पोख्त” र येशूबारे ठीक ठीक कुरा सिकाउने अपोल्लसले समेत अनुभवी मसीहीहरू, प्रिस्किला र अक्वीलाबाट लाभ उठाए। जब तिनीहरूले “तिनलाई आफूहरूकहाँ ल्याए, र परमेश्वरको मार्गको अर्थ झन् प्रष्टसँग बुझाइदिए।” (प्रेरित १८:२४-२६; तुलना गर्नुहोस् प्रेरित १९:१-७) त्यसकारण मानि लिनुहोस्, भर्खरै बप्तिस्मा लिएको जवानले विवाह गर्ने उद्देश्य राखेर कसैसित चिनजान बढाउने विचार गरिरहेका छन्। अनुभवी मसीहीले तिनलाई वाच टावर प्रकाशनहरूबाट त्यससम्बन्धी जानकारी पाउन मदत गर्नसक्छन्। उदाहरणको लागि, यससम्बन्धी मदतकारी बुँदाहरू क्वेश्चन्स् यङ पिपल आस्क—आन्सर्स द्यात वर्क पुस्तकको (जवान मानिसहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरू) खण्ड ७ मा पाइन्छ।c तिनीसित बाइबल अध्ययन गरेका प्रकाशकले त्यस नयाँ व्यक्तिसित यी विषयवस्तु छलफल गर्नसक्छन् तर फेरि नियमित अध्ययन गर्नु भने खाँचो छैन।
१२. भर्खरै बप्तिस्माप्राप्त विवाहित दम्पतीका समस्याहरू छन् भने कस्तो मदत दिन सकिन्छ?
१२ अर्को उदाहरण विचार गर्नुहोस्। भर्खरै बप्तिस्मा लिएको विवाहित दम्पतीलाई ईश्वरीय सिद्धान्तहरू व्यवहारमा प्रयोग गर्न गाह्रो परिरहेको होला। तिनीहरूले प्राचीनसित सरसल्लाह लिनसक्छन्। प्राचीनले तिनीहरू- सित केही साँझपख धर्मशास्त्रबाट छलफल गर्न र वाच टावर प्रकाशनहरूमा पाइने जानकारीतर्फ तिनीहरूको ध्यान केन्द्रित गर्नसक्छन्। तथापि, प्राचीनले त्यस दम्पतीसित नियमित बाइबल अध्ययन पुनः थाल्नेछैनन्।
भर्खरै बप्तिस्मा लिएको व्यक्तिले गल्ती गऱ्यो भने
१३. भर्खरै बप्तिस्माप्राप्त व्यक्तिले गल्ती गरेर पश्चात्ताप गर्छन् भने तिनीप्रति मण्डलीका प्राचीनहरूले किन दया देखाउनुपर्ने हो?
१३ प्राचीनहरूले महान् गोठालो, यहोवाको अनुकरण गर्छन्। उहाँ यसो भन्नुहुन्छ: “म आफै मेरो बगालको हेरचाहा गर्नेछु। . . . घाइतेलाई म मलहम-पट्टी लगाइदिनेछु, रोगीलाई स्वस्थ तुल्याउनेछु।” (इजकिएल ३४:१५, १६; एफिसी ५:१) त्यस्तो मनोभावअनुरूप चेला यहूदाले शंकालु वा पाप गरेका अभिषिक्त मसीहीहरूप्रति दया देखाउन आग्रह गरे। (यहूदा २२, २३) हामीले अनुभवी मसीहीहरूबाट बढी आशा गर्छौं तर भर्खरै बप्तिस्माप्राप्त व्यक्ति अर्थात् पाठोले गल्ती गरेर पश्चात्ताप गर्छन् भने तिनीप्रति दया देखाउनु निस्सन्देह औचित्यपूर्ण हो। (लूका १२:४८; १५:१-७) प्राचीनहरू ‘यहोवाबाट नियुक्त न्यायकर्ता’ भएको हुँदा तिनीहरूले भेडाहरूको कोमल हेरचाह गर्छन् र नम्र भएर सुधार्छन्।—२ इतिहास १९:६; प्रेरित २०:२८, २९; गलाती ६:१.d
१४. भर्खरै बप्तिस्मा लिएका प्रकाशकले गल्ती गऱ्यो भने के गर्नुपर्ने हो र उनलाई कसरी मदत दिन सकिन्छ?
१४ त्यसोभए, मानि लिनुहोस्, भर्खरै बप्तिस्मा लिएको प्रकाशकको पहिले मद्यपान गर्ने दुर्व्यसन थियो र अहिले एक दुइ चोटि उनी पुनः मात्तिए। अथवा धूम्रपान गर्ने पुरानो बानीलाई छोडिसकेका थिए तर तलतल मेटाउन एक दुइ चोटि लुकीछिपी धूम्रपान गरे। यस नयाँ भाइले परमेश्वरको माफीको लागि प्रार्थना गरिसकेको भए तापनि उनले प्राचीनको मदत माग्नुपर्छ ताकि पाप गर्ने बानी नबसोस्। (भजन ३२:१-५; याकूब ५:१४, १५) उनले कुनै प्राचीनलाई आफ्नो गल्ती बताउँदा त्यो प्राचीनले नै यस नयाँ व्यक्तिलाई दयालु ढंगमा सुधार्ने कोसिस गर्नुपर्छ। (भजन १३०:३) त्यसपछि उनको मार्ग सोझ्याउन धर्मशास्त्रीय सल्लाह मात्र पनि पर्याप्त हुनसक्छ। (हिब्रू १२:१२, १३) उनलाई कस्तो प्रकारको थप सहयोग दिनुपर्ला भनेर यस प्राचीनले उक्त परिस्थितिबारे मण्डलीको अध्यक्षसित छलफल गर्नेछन्।
१५. भर्खरै बप्तिस्माप्राप्त व्यक्तिले पाप गर्दा कहिलेकाहीं के गर्नु खाँचो पर्नसक्छ?
१५ कहिलेकाहीं यति मात्र गरेर पुग्दैन। बदनाम, बगालको लागि खतरा वा अन्य गम्भीर समस्याहरू समावेश भएमा त्यस मामिलाको जाँचबुझ गर्न प्राचीनहरूको निकायले दुइ जना प्राचीनलाई अह्राउनेछन्। ती प्राचीनहरूले यो मामिला गम्भीर भएकोले न्यायिक समितिको खाँचो देखेमा तिनीहरूले प्राचीनहरूको निकायलाई रिपोर्ट गर्नुपर्छ। त्यसपछि प्राचीनहरूको निकायले गल्ती गर्ने व्यक्तिलाई मदत गर्न न्यायिक समिति नियुक्त गर्नेछन्। न्यायिक समितिले उनीसित कोमल व्यवहार गर्नुपर्छ। तिनीहरूले धर्मशास्त्रअनुरूप उनलाई सुधार्ने प्रयास गर्नुपर्छ। उनले न्यायिक समितिका मायालु निर्देशनहरूलाई स्वीकारेको खण्डमा उनलाई राज्य भवनका सभाहरूमा मञ्चमा जान वा टिप्पणीहरू गर्न नदिंदा कुनै लाभ हुनेछ कि छैन भनी निर्धारण गर्नुपर्छ।
१६. गल्ती गर्ने व्यक्तिलाई मदत दिन प्राचीनहरूले के गर्नसक्छन्?
१६ गल्ती गर्ने व्यक्तिले निर्देशनहरू स्वीकारेमा न्यायिक समितिको एक वा दुइ जना प्राचीनले उनको विश्वास सुदृढ पार्ने र परमेश्वरका धार्मिक स्तरहरूप्रति मूल्यांकन बढाउने उद्देश्य राखेर गोठालो कार्य गर्ने प्रबन्ध मिलाउनसक्छन्। तिनीहरूले समय समयमा पालैपालो उनीसित क्षेत्र सेवकाईमा काम गर्नसक्छन्। तिनीहरूले उनीसित केही धर्मशास्त्रीय छलफल गर्नसक्छन्। यसको लागि प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का उपयुक्त लेखहरूबाट छलफल गर्नसक्छन् तर तिनीसित नियमित बाइबल अध्ययन पुनः सञ्चालन गर्नेछैनन्। त्यस्तो कोमल हेरचाह गरेपछि गल्ती गर्ने व्यक्ति भावी दिनहरूमा शरीरका कमजोरीहरूलाई प्रतिरोध गर्न सुदृढ हुनसक्छन्।
१७. बप्तिस्माप्राप्त प्रकाशकले पश्चात्ताप गरेर पापी मार्गलाई त्यागेन भने कस्ता कदमहरू चालिन्छ?
१७ निस्सन्देह, भर्खरै बप्तिस्मा लिएको कुरालाई अपश्चात्तापी भएर पाप गरिरहने निहुँ बनाउनु हुँदैन। (हिब्रू १०:२६, २७; यहूदा ४) बप्तिस्माप्राप्त व्यक्तिले गल्ती गरेर पश्चात्ताप गर्दैन अनि आफ्नो पापी मार्गलाई त्याग्दैन भने उनलाई मण्डलीबाट बहिष्कार गरिनेछ। (१ कोरिन्थी ५:६, ११-१३; २ थिस्सलोनिकी २:११, १२; २ यूहन्ना ९-११) यस्तो कदम चाल्न आवश्यक हुँदा प्राचीनहरूको निकायले न्यायिक समिति गठन गर्नेछन्। कसैलाई बहिष्कृत गर्नुपऱ्यो भने यस्तो छोटो घोषणा गरिनेछ: “. . . लाई बहिष्कार गरिएको छ।”e
तिनीहरूलाई “परिपक्वतातर्फ” बढ्न मदत दिनुहोस्
१८. भर्खरै बप्तिस्माप्राप्त मसीही तथा अरूले यहोवा र उहाँको इच्छाबारे सिक्नुपर्ने कुराहरू थुप्रै हुनेछन् भनेर हामी किन निर्धक्क हुनसक्छौं?
१८ परमेश्वरका अधिकांश सेवकहरू बगालमा रहिरहने छन्। आनन्दको कुरा, स्वर्गमा हुनुहुने हाम्रो पिता र उहाँको इच्छाबारे अझ धेरै कुरा सिक्नसक्ने भएकोले हामी प्रत्येक उहाँसित घनिष्ठ हुन सक्नेछौं। (उपदेशक ३:११; याकूब ४:८) सा.यु. ३३ पेन्तिकोसमा बप्तिस्मा लिने हजारौंले सिक्नुपर्ने कुराहरू अझ थुप्रै थिए। (प्रेरित २:५, ३७-४१; ४:४) त्यस्तैगरि धर्मशास्त्रबारे ज्ञान नभएका अन्यजातिहरूले पनि सिक्नुपर्ने कुरा थुप्रै थिए। उदाहरणको लागि, एथेन्सको अरैयापागसमा पावलको प्रथम भाषण सुनेर बप्तिस्मा लिएकाहरूले सिक्नुपर्ने कुरा थुप्रै थिए। (प्रेरित १७:३३, ३४) आज पनि, भर्खरै बप्तिस्मा लिएका व्यक्तिहरूले धेरै कुरा सिक्नु बाँकी छ र परमेश्वरको नजरमा जे ठीक छ त्यही गरिरहने आफ्नो संकल्पलाई बलियो पार्न समय अनि मदत चाहिन्छ।—गलाती ६:९; २ थिस्सलोनिकी ३:१३.
१९. बप्तिस्मा लिनेहरूलाई “परिपक्वतातर्फ” बढ्न कसरी मदत दिन सकिन्छ?
१९ हरेक वर्ष हजारौंले बप्तिस्मा लिन्छन् र तिनीहरूलाई “परिपक्वतातर्फ” बढ्न मदत चाहिन्छ। (हिब्रू ६:१-३, न्युव) तपाईंको बोलीवचन, उदाहरण तथा सेवकाईमा व्यवहारिक मदतद्वारा तपाईंले केहीलाई नयाँ व्यक्तित्व धारण गर्न अनि ‘सत्यमा चलिरहन’ मदत दिन सक्नुहुन्छ। (३ यूहन्ना ४; कलस्सी ३:९, १०) तपाईं अनुभवी प्रकाशक हुनुहुन्छ भने नयाँ सँगी विश्वासीलाई क्षेत्र सेवकाईमा मदत गर्न वा परमेश्वरमा तिनको विश्वास बलियो पार्न, मसीही सभाहरूप्रति मूल्यांकन बढाउन र त्यस्तै विषयहरूमा केही हप्तासम्म धर्मशास्त्रीय बुँदाहरू छलफल गर्न प्राचीनहरूले तपाईंलाई आमन्त्रित गर्नसक्छन्। गोठालो र बगालको सम्बन्धलाई आग्रह गर्ने बुबा र कोमल आमासित तुलना गर्नसकिन्छ। (१ थिस्सलोनिकी २:७, ८, ११) यद्यपि, केही प्राचीन तथा सहायक सेवकहरूले मण्डलीका सम्पूर्ण आवश्यकताहरूको हेरचाह गर्न सक्दैनन्। हामी सबै एउटा परिवारजस्तै हौं जसका सदस्यहरूले एकअर्काको मदत गर्छन्। हामी प्रत्येकले सँगी उपासकहरूलाई मदत गर्न केही न केही गर्नसक्छौं। तपाईंले पनि कसैलाई प्रोत्साहन दिन, निराश भएकालाई सान्त्वना दिन वा कमजोरलाई सहयोग गर्न सक्नुहुन्छ।—१ थिस्सलोनिकी ५:१४, १५.
२०. परमेश्वरको ज्ञान फैलाउन र यहोवाको खर्कका भेडाहरूलाई कोमल हेरचाह प्रदान गर्न तपाईं के गर्न सक्नुहुन्छ?
२० मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ र यहोवाको साक्षीको हैसियतमा त्यो ज्ञान फैलाउन तपाईं आनन्दपूर्वक भाग लिन सक्नुहुन्छ। यहोवाको भेडाहरूलाई कोमल हेरचाह चाहिन्छ र यस्तो मदतको लागि तपाईंले मायालु भूमिका निर्वाह गर्न सक्नुहुन्छ। यहोवाले तपाईंको सेवकाईमा आशिष् देऊन् र उहाँको खर्कका भेडाहरूलाई मदत गर्ने हृदयस्पर्शी प्रयासको लागि तपाईंलाई इनाम देऊन्।
[फुटनोटहरू]
a यतिखेर यस नयाँ व्यक्तिले अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकको एक प्रति प्राप्त गर्नसक्छन्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
d बप्तिस्मा अप्राप्त प्रकाशकहरूका लागि त्यस्तो प्रबन्ध द वाचटावर, नोभेम्बर १५, १९८८, पृष्ठ १५-२० मा “परमेश्वरको उपासना गर्न अरूलाई मदत गर्ने” शीर्षक भएको लेखमा उल्लेख गरिएको थियो।
e बहिष्कार गर्ने निर्णय भयो तर त्यस व्यक्तिले अपील गरेको खण्डमा अन्तिम परिणाममा नपुगुञ्जेल त्यस्तो घोषणा स्थगित गरिन्छ। अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकको पृष्ठ १४७-८ हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यहोवाले आफ्ना भेडाहरूप्रति कस्तो व्यवहार गर्नुहुन्छ?
◻ नयाँ व्यक्तिहरू प्रचार गर्न चाहन्छन् भने के गरिन्छ?
◻ विशेष आवश्यकता भएका नयाँ व्यक्तिहरूलाई सँगी विश्वासीहरूले कसरी मदत गर्नसक्छन्?
◻ गल्ती गरेर पश्चात्ताप गर्नेहरूलाई प्राचीनहरूले कसरी मदत दिनसक्छन्?
◻ भर्खरै बप्तिस्मा लिएको व्यक्तिलाई “परिपक्वतातर्फ” बढ्ने मदत दिन तपाईंले के गर्न सक्नुहुन्छ?
[पृष्ठ १६-मा भएको चित्र]
बगालको मायालु गोठालो भनेर चार्ल्स टि. रसल सुपरिचित थिए
[पृष्ठ १८-मा भएको चित्र]
अनुकम्पापूर्ण गोठालाहरूले परमेश्वरको बगालप्रति कोमल व्यवहार गर्छन्