विवाह वाचाअनुरूप जीवन बिताउने!
विवाहको दिन आनन्दमय दिन हो। तर यो गम्भीर अवसर पनि हो। दुलहा र दुलहीले यस्तो गम्भीर प्रतिज्ञा गर्छन् जसले तिनीहरूलाई आजीवन असर गर्नेछ। विवाहमा उपस्थित पाहुनाहरू यस गम्भीर वाचाका साक्षीहरू हुन् तर सबैभन्दा ठूलो साक्षी यहोवा परमेश्वर हुनु- हुन्छ।
बाइबलले विवाहका लागि खास कुनै प्रक्रिया वा विशेष उत्सव तोकेको छैन। यद्यपि, विवाहको ईश्वरीय स्रोतलाई मान्यता दिंदै धार्मिक समारोहको दौडान विवाह वाचाद्वारा विधिपूर्वक विवाह सम्पन्न गर्ने चलन छ। यहोवाका साक्षीहरूले निम्न प्रकारको विवाह वाचा चलाउँदै आएको केही वर्ष भइसक्यो: “म —— तपाईं —— लाई परमेश्वरको वैवाहिक प्रबन्धअनुरूप पृथ्वीमा सँगै बाँचुञ्जेल पवित्र धर्मशास्त्रमा मसीही (पत्नी/पति) का लागि दिइएको ईश्वरीय नियमबमोजिम प्रेम र कदर गर्न (दुलही: र गहिरो आदर गर्न) मेरो विवाहित (पत्नी/पति) को रूपमा स्वीकार्छु।a
सोच्नुपर्ने कुरा
यदि तपाईं विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने विवाहको दिन अघि यस वाचाको गहनता र अर्थबारे सोच्नु निकै फाइदाजनक हुनेछ। सुलेमानले यसो भने: “बोल्नमा हतार नगर। परमेश्वरको उपस्थितिमा विना सोच-विचारको बोली ननिस्कोस्।” (उपदेशक ५:२) तर तपाईंले विवाह गरिसक्नुभएको छ भने नि? त्यसोभए, यहोवासमक्ष तपाईंले गर्नुभएको गम्भीर प्रतिज्ञा कत्तिको महत्त्वपूर्ण छ, त्यो मनन गर्न सक्नुहुन्छ। के तपाईं आफ्नो प्रतिज्ञाअनुरूप चलिरहनुभएको छ? मसीहीहरू आफ्ना प्रतिज्ञाहरूलाई गम्भीरतापूर्वक लिन्छन्। सुलेमानले अझै यसो भने: “जे भाकल गर्दछस् त्यो पूरा गर्। भाकल गरेर पनि पूरा नगर्नुभन्दा ता भाकलै नगरेको असल हो। तेरो आफ्नै जिब्रोले तँलाई पाप गर्न नलाओस् औ त्यसपछि परमेश्वरको दूतको सामने ‘त्यो ता भुल भएको हो’ भनी नभन्।”—उपदेशक ५:४-६.
विवाह वाचाको प्रत्येक वाक्यांशलाई एक एक गरी छलफल गर्दा निस्सन्देह तपाईंले यस गम्भीर प्रतिज्ञालाई अझ राम्ररी बुझ्न सक्नुहुनेछ।
“म —— [स्वीकार्छु]”: उक्त शब्दद्वारा विवाह वाचा सुरु हुन्छ। तपाईंको विवाह गर्ने निर्णयका लागि तपाईं व्यक्तिगत तवरमा जिम्मेवार हुनुहुन्छ भन्ने कुरा यी शब्दहरूले देखाउँछ।
मसीही प्रबन्धअन्तर्गत विवाह गर्नैपर्छ भन्ने कुनै धर्मशास्त्रीय आवश्यकता छैन। स्वयं येशू ख्रीष्ट अविवाहित रहनुभयो र “ग्रहण गर्नसक्नेले” अविवाहित जीवनलाई ग्रहण गरोस् भन्ने सुझाउ पनि दिनुभयो। (मत्ती १९:१०-१२) अर्कोतर्फ, येशूका अधिकांश प्रेरितहरू विवाहित थिए। (लूका ४:३८; १ कोरिन्थी ९:५) अतः विवाह गर्नु वा नगर्नु व्यक्तिगत कुरा हो भनेर यसबाट स्पष्ट हुन्छ। अरूलाई जबरजस्ती विवाह गर्न लगाउने धर्मशास्त्रीय अधिकार कसैसित छैन।
तसर्थ, विवाहका लागि तपाईं जिम्मेवार हुनुहुन्छ। शायद तपाईंले कोसित विवाह गर्ने, त्यो पनि छानिसक्नुभयो होला। ‘म तपाईं —— लाई स्वीकार्छु,’ भनेर वाचा गर्नुहुँदा तपाईंले तिनको सद्गुण मात्र होइन तर तिनका कमजोरीहरूलाई पनि स्वीकार्नुहुन्छ।
समय बित्दै जाँदा शायद तपाईंको पति वा पत्नीमा पहिले नदेखिएका पक्षहरू देख्नुहुनेछ। बेला बेलामा निराश हुने अवस्था आउनेछ। अर्कोतर्फ “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्” भनेर बाइबलले बताउँछ। (रोमी ३:२३) अतः आफ्नो पति वा पत्नीसित मिलेर बस्न तपाईंले काँटछाँट गर्नुपर्ने हुन्छ। हो, यो भने जस्तो सजिलो नहोला र कहिलेकाहीं सब कुरा छोडेर आफ्नै सुरमा हिंड्न मन लाग्ला। तर नबिर्सनुहोस्, तपाईंले यहोवासमक्ष विवाहको वाचा बाँध्नुभएको थियो। अतः उहाँले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।
“मेरो विवाहित (पत्नी/पति) को रूपमा”: आदम र हव्वाबीच प्रथम मानव विवाह सम्पन्न हुँदा यहोवाले “तिनीहरू एउटै जीउ हुन्छन्” भन्नुभएको थियो। (उत्पत्ति २:२४; मत्ती १९:४-६) तसर्थ, दुइ मानिसबीच बाँधिन सकिने सबैभन्दा घनिष्ठ सम्बन्ध वैवाहिक बन्धन हो। विवाहपछि तपाईं नयाँ सम्बन्धमा गाँसिनुहुन्छ। तपाईं अर्को व्यक्तिलाई आफ्नो “विवाहित पत्नी” वा “विवाहित पति[को]” रूपमा स्वीकार्नुहुन्छ। यो अद्वितीय सम्बन्ध हो। अरू सम्बन्धमा खास चोट नपुऱ्याउने कुराले विवाहित जीवनमा गहिरो चोट पुऱ्याउनसक्छ।
उदाहरणका लागि, एफिसी ४:२६ मा दिइएको शास्त्रीय सल्लाहलाई लिनुहोस्। उक्त पदमा बाइबलले यसो भन्छ: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्।” नातेदार वा मित्रहरूसित खटपट हुँदा तपाईंले सधैं समयमै समस्या सुल्झाउनुभएको थिएन होला। तर तपाईंको पति वा पत्नी तपाईंका नातेदार वा मित्रभन्दा घनिष्ठ छ। तपाईंको पति वा पत्नीसँग खटपट हुँदा तुरुन्त समस्या समाधान गरिएन भने तपाईं दुइ बीचको विशेष घनिष्ठ सम्बन्ध खतरामा पर्नसक्छ।
तपाईं दुइबीच ठाकठुक पर्दा के तपाईं दिक्क लागुञ्जेल बारम्बार त्यही कुरा कोट्याइरहनुहुन्छ? गलतफहमी वा तनाउग्रस्त परिस्थिति के निकै दिनसम्म कायमै रहन्छ? तपाईंको वाचाअनुरूप चल्ने हो भने, समस्याहरू खडा हुँदा घाम डुब्नुअगावै आफ्नो पति वा पत्नीसँग मिलाप गरिहाल्नुहोस्। त्यसको अर्थ, तपाईंले माफ गरेर भूल बिर्सने मात्र होइन तर आफ्ना कमजोरी तथा गलतीहरूलाई पनि स्वीकार्नु हो।—भजन ५१:५; लूका १७:३, ४.
“प्रेम [गर्न]”: सम्भाव्य पतिले आफ्नो दुलहीलाई “प्रेम र कदर” गर्ने वाचा गर्छ। यो प्रेममा तिनीहरू दुवैलाई एकअर्कातर्फ आकर्षित हुन मदत गर्ने रोमान्टिक प्रेम पनि समावेश हुनसक्छ। तर रोमान्टिक प्रेम भएर मात्र पुग्दैन। मसीही पति वा पत्नीले आफ्नो जोडीसित वाचा गरेको प्रेम त्योभन्दा पनि गहिरो र चौडा हुन्छ।
एफिसी ५:२५ ले यसो भन्छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।” येशूले मण्डलीलाई गर्नुहुने प्रेम र स्त्री पुरुषबीचको रोमान्टिक प्रेमलाई निस्सन्देह एउटै तराजुमा जोख्नु मिल्दैन। उक्त पदमा प्रयोग गरिएको “प्रेम गर” र “प्रेम गर्नुभयो” भने शब्दहरू अगापे शब्दको अनुवाद हो र त्यसले सिद्धान्तद्वारा निर्देशित प्रेमलाई संकेत गर्छ। अतः उपरोक्त पदमा बाइबलले पतिहरूलाई पत्नीहरूप्रति अपरिवर्तनशील, अटल र पछिसम्म टिक्ने प्रेम देखाउने आज्ञा दिन्छ।
यो “म तिमीलाई प्रेम गर्छु किनभने तिमी मलाई प्रेम गर्छौ” भन्ने जस्तो भावना मात्र होइन। पतिले पत्नीको हितलाई प्राथमिकता दिने कोसिस गर्छ र पत्नीले पनि पतिलाई त्यसरी नै प्रेम गर्छिन्। (फिलिप्पी २:४) आफ्नो जोडीप्रति गहिरो प्रेमको खेती गर्नुभयो भने तपाईं आफ्नो विवाह वाचाअनुरूप चल्न सक्नुहुनेछ।
“कदर गर्न”: एउटा शब्दकोशअनुसार “कदर[को]” अर्थ ‘प्रिय सम्झनु, स्नेह देखाउनु’ हो। तपाईंले वचन र काम दुवैद्वारा आफ्नो प्रेम व्यक्त गर्नुपर्छ। अझ विशेषगरि पतिहरूले आ-आफ्ना पत्नीहरूप्रति निरन्तर प्रेम प्रदर्शित गर्नुपर्छ। पतिले पत्नीको शारीरिक आवश्यकताहरू राम्ररी पूरा गरिरहेको होला तर त्यति गरेर मात्र पुग्दैन। प्रशस्त खान पाउने र आरामदायी घर हुने कतिपय पत्नीहरू आफ्ना पतिहरूले बेवास्ता गर्दा असाध्यै दुःखी भएका छन्।
अर्कोतर्फ पतिको माया र कदर पाउने पत्नीहरूसित दुःखी हुने कुनै कारणै रहँदैन। निस्सन्देह, पतिहरू पनि पत्नीहरूको प्रेम पाउँदा प्रफुल्लित हुन्छन्। निष्कपट प्रेमका अभिव्यक्तिहरू देखाउँदा साँचो प्रेम निकै बलियो हुन्छ। श्रेष्ठगीतमा गोठालो प्रेमीले यस्तो उद्गार व्यक्त गरे: “तिम्रो प्रेम दाखमद्यभन्दा पनि सुगन्धित छ। औ तिम्रा अत्तरहरू सबै मसालाको वासनाभन्दा पनि मीठा छन्।”—श्रेष्ठगीत ४:१०.
“र गहिरो आदर गर्न”: शताब्दीयौंदेखि केही पुरुषहरूले स्त्रीहरूसित दुर्व्यवहार र तिनीहरूको अपमान गर्दै आएका छन्। वर्ल्ड हेल्थ पत्रिकाअनुसार आज पनि “हरेक देशमा र हरेक सामाजिक तथा आर्थिक वर्गमा स्त्रीहरूमाथि हिंसा गरिन्छ। थुप्रै संस्कृतिहरूमा स्वास्नीलाई कुट्नु पुरुषको अधिकार ठानिन्छ।” हुन त सबै पुरुषहरूले त्यसो गरेका छैनन् होला। तैपनि, अधिकांश पुरुषहरूले स्त्रीहरूको हकहितप्रति निष्कपट चासो दिएका छैनन् जस्तो देखिन्छ। फलस्वरूप थुप्रै स्त्रीहरूले पुरुषहरूप्रति नकारात्मक मनोवृत्ति विकास गरेका छन्। केही पत्नीहरूले यसो भनेको पनि सुन्नमा आएका छन्, “म मेरो पतिलाई माया गर्छु तर म उहाँलाई पटक्कै आदर गर्न सक्दिनँ!”
तथापि, पतिले बेलाबेलामा आफूले आशा गरेजस्तो व्यवहार नगर्दा पनि पतिको आदर गर्ने पत्नीहरूलाई यहोवा परमेश्वरले मूल्यवान् सम्झनुहुन्छ। त्यस्ता पत्नीहरूले पतिले पाएको ईश्वरप्रदत्त जिम्मेवारी वा स्थानलाई स्वीकार्छन्। (१ कोरिन्थी ११:३; एफिसी ५:२३) अतः पतिको गहिरो आदर गर्नु, पत्नीले यहोवालाई दिनुपर्ने उपासना र आज्ञाकारिताको भाग हो। ईश्वरभक्त स्त्रीहरूले देखाएको आज्ञाकारितालाई परमेश्वरले हल्का ठान्नुहुन्न।—एफिसी ५:३३; १ पत्रुस ३:१-६; तुलना गर्नुहोस् हिब्रू ६:१०.
वैवाहिक जीवनमा पति र पत्नी दुवैले एकअर्काको आदर गर्नुपर्छ र आदर माग्ने होइन कमाउनुपर्छ। उदाहरणका लागि, घोच्ने बोलीहरूलाई वैवाहिक जीवनमा कुनै स्थान दिनु हुँदैन। आफ्नो पति वा पत्नीलाई खसालेर कुरा गर्नु मायालु वा आदरयोग्य काम होइन। आफ्नो पति वा पत्नीको पोलहरू खोलेर वा वरपर मानिसहरू हुँदा गलती औंल्याएर केही फाइदा हुँदैन। आफ्नो पति वा पत्नीका कमजोरीहरूको ठट्टा गर्नु समेत असाध्यै आदरको कमी देखाउनु हो। अतः पति र पत्नी दुवैले एफिसी ४:२९, ३२ का शब्दहरूलाई पालन गर्नुपर्छ। उक्त पदमा बाइबलले यसो भन्छ: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्, तर परिआएको खण्डमा अरूको सुधार . . . [हुने कुरा निस्कोस्, न्युव]। . . . एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”
“पवित्र धर्मशास्त्रमा . . . दिइएको ईश्वरीय नियमबमोजिम”: परमेश्वर हामीले आफ्नो इच्छाअनुसार चुनोस् र गरोस् भनेर चाहनुहुन्छ। त्यसैकारण, उहाँले वैवाहिक जीवनसम्बन्धी दिक्कलाग्दो तीन थुप्रो नियमहरू दिनुभएको छैन। यद्यपि, हाम्रै भलाइका लागि उहाँले केही निर्देशनहरू तयार पार्नुभएको छ।
आज विवाहसम्बन्धी प्रशस्त पुस्तक, पुस्तिकाहरू पाइन्छन् र यससम्बन्धी अधिकांश मानिसहरूका आ-आफ्नै सिद्धान्तहरू छन्। तर होशियार! आज विवाहसम्बन्धी पाइने थुप्रै जानकारीहरू बाइबल विपरीत छन्।
साथै सबै दम्पतीको परिस्थिति एउटै हुँदैन भनेर पनि स्वीकार्नुहोस्। एक तरिकामा विवाहित दम्पतीहरू हिमकणजस्तै हुन्छन्। टाढाबाट हेर्दा सबै एउटै जस्तो देखिए तापनि वास्तवमा एउटै पनि एकअर्कोसँग मेल खाँदैन, तिनीहरू अद्वितीय हुन्छन्। तपाईं दुइको भिन्दा भिन्दै व्यक्तित्वको समिश्रण संसारमा अरू कुनै विवाहित दम्पतीसँग मेल खाँदैन। त्यसकारण अरूका व्यक्तिगत दृष्टिकोणहरूलाई हतारिएर नस्वीकार्नुहोस्। आजसम्म कुनै मानिसले सबै वैवाहिक जीवनमा लागू हुने सिद्धान्त बनाउन सकेको छैन!
तर यसको विपरीत बाइबलका आज्ञाहरू साँचो र व्यवहारिक छन्। यस सम्बन्धमा प्रेरित पावलले यसरी लेखे: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई . . . उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६; भजन ११९:१५१) तपाईंले बाइबल पढेर त्यसमा भएका शिक्षाहरूलाई आफ्नो पथप्रदर्शकको रूपमा स्वीकार्नुभयो भने, तपाईं आफ्नो विवाह वाचाअनुरूप चल्न सक्नुहुनेछ।—भजन ११९:१०५.
“पृथ्वीमा सँगै बाँचुञ्जेल”: यसले पतिपत्नीबीचको दीर्घकालीन सम्बन्धलाई देखाउँछ। “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ।” (उत्पत्ति २:२४) तपाईंहरू दुवैले सँगै जीवन बिताओस् भन्ने इच्छा यहोवा राख्नुहुन्छ। सँगै मिलेर परमेश्वरको सेवा गर्नुहोस्। सँगै मिलेर उहाँको वचन अध्ययन गर्नुहोस्। फुर्सत निकालेर सँगै टहल्नुहोस्, सँगै बस्नुहोस्, सँगै खानुहोस्। हो, दुवै मिलेर जीवनको आनन्द लिनुहोस्!
केही दम्पतीहरू आपसमा कुराकानी गर्न हरेक दिन केही समय छुट्याउँछन्। विवाह गरेको निकै वर्षपछि पनि वैवाहिक आनन्दका लागि यसरी सँगै समय बिताउनु अत्यावश्यक छ।
“परमेश्वरको वैवाहिक प्रबन्धअनुरूप”: विवाह यहोवा परमेश्वरको वरदान हो र उहाँ नै वैवाहिक प्रबन्धको सुरुआतकर्ता पनि हुनुहुन्छ। (हितोपदेश १९:१४) उहाँको प्रबन्धअनुसार नचल्दा तपाईंको वैवाहिक आनन्द मात्र होइन तर सृष्टिकर्तासितको तपाईंको सम्बन्ध पनि खतरामा पर्छ। अर्कोतर्फ यहोवासित राम्रो सम्बन्ध गाँस्ने पति र पत्नीले उहाँको प्रबन्धहरू पालन गर्छन् र आपसमा अनि अरूसित पनि शान्तिमय सम्बन्ध राख्नेछन्।—हितोपदेश १६:७.
तपाईंले गर्नुभएको विवाह वाचाको सबैभन्दा ठूलो साक्षी यहोवा हुनुहुन्छ भनेर कहिल्यै नभुल्नुहोस्। आफ्नो गम्भीर वाचाअनुरूप जीवन बिताउनुहोस्। त्यसो गर्नुभयो भने तपाईंको विवाहले यहोवा परमेश्वरको प्रशंसा अनि महिमा गर्नेछ!
[फुटनोट]
a केही ठाउँहरूमा स्थानीय नियम पालन गर्न यो वाचामा केही काँटछाँट गर्नुपर्ने हुनसक्छ। (मत्ती २२:२१) तथापि, अधिकांश देशहरूमा मसीही दम्पतीहरू माथि उल्लिखित वाचा नै चलाउँछन्।
[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]
एक तरिकामा विवाहित दम्पतीहरू हिमकणजस्तै हुन्छन्। टाढाबाट हेर्दा सबै एउटै जस्तो देखिए तापनि वास्तवमा एउटै पनि एकअर्कोसँग मेल खाँदैन
[स्रोत]
Snow Crystals/Dover