राज्य उद्घोषकहरूका रिपोर्ट
यहोवाको महिमा हुने सुकर्महरू
येशूले डाँडामा उपदेश दिनुहुँदा आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१६) आज पनि साँचो मसीहीहरू यहोवाको महिमा हुने “सुकर्म” गर्छन्।
यी सुकर्महरू के हुन्? त्यसमा सुसमाचार प्रचार गर्नु समावेश छ। तथापि, हाम्रो अनुकरणीय चालचलनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। प्रायजसो हाम्रो असल चालचलनले गर्दा नै मानिसहरू मसीही मण्डलीप्रति आकर्षित हुन्छन्। मार्टिनिकका साक्षीहरूले कसरी ‘आफ्नो ज्योति चम्काइरहेका छन्’ भन्ने कुरा निम्न अनुभवहरूले देखाउँछन्।
◻ घर-घर प्रचार गर्न जाँदा एक पटक यहोवाको साक्षीले क्याथोलिक स्त्रीलाई भेटिन्। त्यस स्त्री विगत २५ वर्षदेखि विवाह नगरीकन एक जना पुरुषसित जीवन बिताइरहेकी थिइन्। सात वर्षअघि पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्ने पुस्तक पाएकी हुनाले यस स्त्री यहोवाका साक्षीहरूका शिक्षाहरूसित परिचित थिइन्।a त्यस स्त्रीले साक्षीलाई यसो भनिन्: “यतिका धर्महरू छन्। कुनलाई विश्वास गर्ने, कुन नगर्ने म त गोलमालमा परेकी छु।” त्यसपछि साक्षीले त्यस स्त्रीलाई सत्य कुरा बाइबलमा मात्र पाउन सकिन्छ र त्यसका लागि ध्यान दिएर धर्मशास्त्र अध्ययन गर्नुका साथै परमेश्वरसित उहाँको आत्मा र निर्देशन माग्नुपर्छ भनेर बताइन्।
यस स्त्रीलाई बाइबल अध्ययन गर्नु मन पर्थ्यो। तर यहोवाका साक्षीहरूको मसीही सभाहरूमा उपस्थित हुन आमन्त्रित गर्दा तिनले निकै पटक इन्कार गरिन्। किन? किनभने तिनी असाध्यै लज्जालु स्वभावकी थिइन्। तथापि, पछि ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुन आमन्त्रित गर्दा तिनी लाज नमानी उपस्थित भइन्।
राज्य भवनमा मायालु वातावरण देखेर तिनी असाध्यै प्रभावित भइन्। तिनले चर्चमा कहिल्यै त्यस्तो साँचो मित्रता अनुभव गरेकी थिइनन्। त्यो सभापछि तिनी स्थानीय साक्षीहरूद्वारा सञ्चालित सबै सभाहरूमा उपस्थित हुन थालिन् र छिटै आफूले जीवन बिताउँदै आएको पुरुषसित विवाह गरिन्। अहिले तिनी मण्डलीको बप्तिस्माप्राप्त सदस्य भएकी छिन्।
◻ त्यस्तै अर्की एक जना साक्षीको सुकर्मले गर्दा राम्रो नतिजा भयो। यस साक्षीले कार्यालयमा निकै अख्तियार पाएकी थिइन्। एक पटक उनको कार्यालयले रियुनियन टापुका एक जना पुरुषलाई काममा लगायो। यो पुरुष पुड्को भएकोले केही कामदारहरूले जिस्क्याउन थाले। तिनी हाँसोका पात्र भए। तर हाम्रो साक्षी बहिनीले भने यस पुरुषलाई सधैं दयालु र आदरपूर्ण व्यवहार गर्थिन्। फलतः केही समय नबित्दै तिनले साक्षी बहिनीलाई अरूभन्दा भिन्न हुनुका कारण सोधे।
यहोवाका साक्षीहरूबाट सिकेका बाइबलका सिद्धान्तहरूले गर्दा आफ्नो आचरण आदरपूर्ण भएको हो भनेर त्यस साक्षीले बताइन्। परमेश्वरको उद्देश्य तथा नयाँ संसारको आशाबारे धर्मशास्त्रले के बताउँछ, त्यो पनि देखाइन्। त्यसपछि त्यो पुरुषले बाइबल अध्ययन स्वीकारे, मसीही सभाहरू धाउन थाले र आफूले जीवन बिताउँदै आएकी स्त्रीसित विवाह पनि गरे।
अन्ततः तिनी रियुनियन फर्के। बितेका समयमा तिनले आफ्ना नातेदार र अझ विशेषगरि ससुरालीबाट निकै कठिनाइहरू भोगेका थिए। तर अहिले तिनको मसीही चालचलन देखेर तिनीहरू प्रभावित भए। समयमा तिनले बप्तिस्मा लिए र अहिले सहायक सेवकको हैसियतमा सेवा गर्दैछन्। तिनकी पत्नी, दुइ छोरीलगायत परिवारका अन्य सदस्यहरू पनि अहिले मसीही मण्डलीका प्रकाशकहरू भएका छन् र तिनीहरू अरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउँछन्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।