प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ८/१ pp. ४-८
  • प्राणको लागि उत्तम आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राणको लागि उत्तम आशा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हिब्रू धर्मशास्त्रमा प्राण
  • युनानी प्रभाव
  • प्राणबारे प्रारम्भिक मसीहीहरूको दृष्टिकोण
  • धर्मसिद्धान्तको वास्तविक मूल
  • मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पुनरुत्थानमाथि तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मृतावस्था हुँदा के हुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ८/१ pp. ४-८

प्राणको लागि उत्तम आशा

रोमी सिपाहीहरूले यस्तो होला भनेर सोचेका समेत थिएनन्‌। विद्रोही यहूदी सेनाहरूको अन्तिम गढ अर्थात्‌ मसाडाको पहाडी किल्लामा आक्रमण गर्दा तिनीहरू योद्धाहरूको आवाज, स्त्री तथा केटाकेटीहरूको चित्कारको प्रत्याक्रमण गर्न तम्तयार भए। तर त्यसको साटो तिनीहरूले आगो बलेको चरचर आवाज मात्र सुने। रोमीहरूले त्यस बलिरहेको किल्ला खानतलास गरेपछि तीतो सत्य थाह पाए—तिनीहरूका लगभग ९६० जना शत्रुहरू मरिसकेका थिए! ती यहूदी योद्धाहरूले सिलसिलेवार ढंगमा पहिले आ-आफ्नो परिवार अनि त्यसपछि एकअर्काको हत्या गरेका थिए। अन्तिम जीवित पुरुषले चाहिं आत्महत्या गरे।a तिनीहरूलाई यस्तो घोर आमहत्या तथा आत्महत्या गर्न कुन कुराले उस्कायो?

समकालीन इतिहासकार जोसेफसअनुसार उक्‍त घटनाको मुख्य कारण, अमर प्राणमा विश्‍वास थियो। मसाडाको हठधर्मी समूहका नेता, एलिआजर बेन जाइरले आफ्ना मानिसहरूलाई रोमीहरूको हातबाट मर्नु वा तिनीहरूको दास हुनुभन्दा आत्महत्या गर्नु बढी आदरणीय हुनेछ भनी विश्‍वास दिलाउन खोजेका थिए। मानिसहरू हिचकिचाएको देखेर तिनले प्राण विषयक उत्तेजक भाषण दिए। तिनले भने, शरीर त एउटा वाधक, प्राणको लागि झ्यालखाना मात्रै हो। तिनले अझै यसो भने, “पृथ्वीमा लगेर थुन्‍ने शरीरबाट मुक्‍त भएपछि प्राण आफ्नै ठाउँमा फर्कन्छ र साँच्चै भन्‍ने हो भने, स्वयं परमेश्‍वरजस्तै मानव आँखाबाट अदृश्‍य भई त्यसले परम शक्‍ति र असीमित बल पाउँछ।”

प्रतिक्रिया कस्तो भयो? एलिआजरले यसबारे सविवरण बताउँदै गर्दा “सम्पूर्ण श्रोतागण बीचैमा जुरुक्क उठेर काम फत्ते गर्न तम्सिए” भनी जोसेफस बताउँछन्‌। जोसेफस अझ यसो भन्छन्‌: “कुनै शक्‍तिको वशमा परेझैं तिनीहरू दौडीहाले, तँछाड-मछाड गर्दै, . .  पत्नी, छोराछोरी तथा आफ्नै हत्या गर्न तिनीहरू यत्तिको कहिल्यै उस्किएनन्‌।”

यस अनिष्टकारी उदाहरणले अमर प्राणको धर्मसिद्धान्तले मृत्युप्रति मानव दृष्टिकोणमा पार्ने गम्भीर असरलाई देखाउँछ। यसमा विश्‍वास राख्नेहरूलाई मृत्यु, मानिसको सबैभन्दा नराम्रो शत्रु नभई प्राणलाई उच्च अस्तित्वको आनन्द उठाउने प्रवेशद्वार हो भनी सिका- इन्छ। तर ती यहूदी हठधर्मीहरू किन यस्तो विश्‍वास गर्थे? तिनीहरूको पवित्र लेखोट अर्थात्‌ हिब्रू धर्मशास्त्रले मानिसमा सचेत आत्मा अर्थात्‌ मृत्युपछि फुत्केर जीवित रहने प्राणबारे सिकाउँछ भनी थुप्रैले अनुमान लगाउलान्‌। तर के वास्तवमा त्यसो हो?

हिब्रू धर्मशास्त्रमा प्राण

एउटै शब्दमा भन्‍ने हो भने, होइन। बाइबलको प्रथम पुस्तक, उत्पत्तिमै प्राण तपाईंसित हुने कुरा नभई तपाईं स्वयं प्राण हुनुहुन्छ भनिएको छ। हामी प्रथम मानव, आदमको सृष्टिबारे यसो लेखिएको पाउँछौं: “मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) प्राणलाई बुझाउन यहाँ प्रयोग गरिएको हिब्रू शब्द, नेफेश, हिब्रू धर्मशास्त्रमा ७०० चोटिभन्दा बढी उल्लिखित छ तर त्यसले कतै पनि मानिसको अलग्गै, अलौकिक, आत्मिक भागलाई बुझाउँदैन। त्यसको विपरीत, आत्मा भनेको ठोस, शारीरिक, भौतिक हो।

तपाईंको बाइबलमा निम्नलिखित पदहरू हेर्नुहोस्‌ किनभने ती हरेक पदहरूमा हिब्रू शब्द नेफेश चलाइएको छ। त्यसले स्पष्टसित के देखाउँछ भने, प्राणले जोखिम, खतरा सामना गर्नसक्छ र यसको अपहरण समेत हुनसक्छ (व्यवस्था २४:७; न्यायकर्त्ता ९:१७; १ शमूएल १९:११); यसले वस्तुलाई छुनसक्छ (अय्यूब ६:७); यो फलामे जञ्जीरमा बाँधिनसक्छ (भजन १०५:१८); खाने तृष्णा गर्नसक्छ, उपवास बसेकोले पीडित हुन, भोक र तिर्खाले मूर्च्छा पर्न; घातक रोग खप्न वा शोकको कारण अनिद्रासमेत भोग्नसक्छ। (व्यवस्था १२:२०; भजन ३५:१३; ६९:१०; १०६:१५; १०७:९; ११९:२८) अर्को शब्दमा भन्‍ने हो भने, तपाईंको प्राण, तपाईं स्वयं नै हुनुभएको हुँदा तपाईंले अनुभव गर्नुहुने सबै कुरा तपाईंको प्राणले पनि अनुभव गर्नसक्छ।b

त्यसोभए, के प्राण मर्नसक्छ? सक्छ। हिब्रू धर्मशास्त्रमा मानव प्राणहरूलाई अमर भन्‍नुको साटो त्यसलाई गलत कार्यको लागि “बहिष्कृत” गरिएको वा मारिएको, हिर्काएर ठहरै पारिएको, हत्या गरिएको, नाश पारिएको वा टुक्रा टुक्रा पारिएको भनी बताइएको छ। (प्रस्थान ३१:१४; व्यवस्था १९:६; २२:२६; भजन ७:२) इजकिएल १८:४ यसो भन्छ, “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” स्पष्ट छ, हामी सबैले पाप गर्ने भएको हुँदा मानव प्राणीहरूको सामान्य अन्त्य मृत्यु हो। (भजन ५१:५) प्रथम मानिस, आदमलाई पापको दण्ड मृत्यु हो र त्यो आत्मिक संसारमा प्रवेश वा अमरता होइन भनी बताइएको थियो। (उत्पत्ति २:१७) अनि तिनले पाप गरेपछि यस्तो दण्डाज्ञा सुनाइयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) आदम र हव्वाको मृत्युपछि बाइबलले प्रायजसो बताएझैं तिनीहरू ‘मुर्दा’ वा ‘लास’ भए।—गन्ती ५:२; ६:६.

अतः अमेरिकी विश्‍वकोश-ले (अंग्रेजी) हिब्रू धर्मशास्त्रमा प्रयोग गरिएको प्राणबारे यसो भन्‍नु कुनै अचम्मको कुरा होइन: “पुरानो नियममा मानिस भनेको एउटा सिंगो कुरा हो, आत्मा र शरीरको मिलन होइन।” त्यसले अझै यसो भन्छ: “नेफेश-लाई . . . शरीर बाहिर अलग्गै सञ्चालन हुने कुरा कहिल्यै ठानिएन।”

त्यसोभए, मृत्युबारे विश्‍वासी यहूदीहरूको विश्‍वास के थियो? सरल भाषामा भन्‍ने हो भने, जीवनको उल्टो मृत्यु हो भनी तिनीहरू विश्‍वास गर्थे। मानवबाट आत्मा वा जीवनशक्‍ति निस्किएपछि के हुन्छ भनी भजन १४६:४ यसो भन्छ: “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”c त्यसरी नै मरेकाहरूले “केही पनि जान्दैनन्‌” भनी राजा सुलेमानले लेखे।—उपदेशक ९:५.

त्यसो हो भने, मसाडाका हठधर्मीहरूजस्ता प्रथम शताब्दीका यहूदीहरू प्राणको अमरताबारे किन त्यति विश्‍वस्त थिए?

युनानी प्रभाव

यहूदीहरूले यो विचारधारा बाइबलबाट नभई युनानीहरूबाट पाए। सा.यु.पू. सातौं र पाँचौं शताब्दीको बीचतिर रहस्यमय युनानी धार्मिक पन्थहरूबाट युनानी दर्शनमा उक्‍त विचारधारा घुसेको जस्तो देखिन्छ। दुष्ट प्राणहरूले जीवनपश्‍चात्‌ पीडाजनक दण्ड भोग्ने विचारधारा निकैअघिदेखि स्वीकारिंदै आएको थियो र यो धारणा मजबुत भएपछि फैलिन थाल्यो। दर्शनशास्त्रीहरूले प्राणको वास्तविक प्रकृतिबारे अनेकन्‌ बहसहरू गरे। होमरको दाबीअनुसार मृत्यु हुने बित्तिकै प्राण अर्को ठाउँमा फुत्त गइहाल्छ र त्यसरी जाँदा भुनभुनाएको, चिरबिराएको वा सरसराएको आवाज सुन्‍न सकिन्छ। एपिकरसले चाहिं प्राण वास्तवमा नगण्य वजन भएको पिण्ड हो भने।d

तर, अमर आत्मालाई प्रतिपादन गर्ने सबैभन्दा मुख्य व्यक्‍ति चाहिं सा.यु.पू. चौथो शताब्दीको युनानी दार्शनिक, प्लातो होला। तिनले आफ्नो शिक्षक सुकरातको मृत्युबारे दिएको विवरणले शताब्दीयौंपछि मसाडाका हठधर्मीहरूले देखाएको जस्तै विश्‍वास प्रकट गर्छ। शास्त्रविद्‌ अस्कर कुलमानले भनेझैं “प्लातोले हामीलाई सुकरातको शान्तिपूर्ण र सौम्य मृत्युबारे देखाउँछ। सुकरातको मृत्यु एउटा सुन्दर मृत्यु हो। मृत्युको त्रास पटक्कै देखिंदैन। सुकरात मृत्युदेखि डराउनुपर्ने कारणै छैन किनभने मृत्युले हामीलाई शरीरबाट मुक्‍त पार्छ। . . . मृत्यु, प्राणको महान्‌ मित्र हो। अतः सुकरातले त्यही सिकाउँछ र आफ्नै शिक्षाको पूर्ण सहमतिमा तिनी मर्छन्‌।”

स्पष्टतः, यहूदीहरूले सा.यु.पू. दोस्रो शताब्दी अर्थात्‌ मक्कबीको समयावधिमा युनानीहरूको यो शिक्षा ग्रहण गर्न थाले। सा.यु. प्रथम शताब्दीका फरिसी र एसेनीजस्ता प्रभावशाली यहूदी धार्मिक समूहहरूले यस धर्मसिद्धान्तलाई स्वीकारे भनी जोसेफस बताउँछन्‌। सम्भवतः त्यस युगमा रचिएका केही कविताहरूले त्यस्तै विश्‍वास झल्काउँछ।

तर येशू ख्रीष्टबारे के भन्‍न सकिन्छ? के उहाँ अनि उहाँका अनुयायीहरूले पनि युनानी धर्मको यो शिक्षा सिकाए?

प्राणबारे प्रारम्भिक मसीहीहरूको दृष्टिकोण

प्रथम शताब्दीका मसीहीहरूले प्राणबारे युनानीहरूको जस्तै दृष्टिकोण राखेनन्‌। उदाहरणका लागि, येशूको मित्र लाजरसको मृत्युलाई लिनुहोस्‌। लाजरसको मृत्यु हुँदा तिनीसित स्वतन्त्र र खुशीसाथ फुत्त निस्कने अमर प्राण हुँदो हो त यूहन्‍ना अध्याय ११ को विवरण बेग्लै हुनेथिएन र? लाजरस जीवित, स्वस्थ तथा सचेत अवस्थामा स्वर्गमा हुँदा हुन्‌ त येशूले आफ्ना अनुयायीहरूलाई त्यसबारे केही कुरा पक्कै भन्‍नु हुनेथियो। तर त्यसको विपरीत, उहाँले हिब्रू धर्मशास्त्रलाई समर्थन गर्नुहुँदै लाजरस अचेत अवस्थामा सुतिरहेका छन्‌ भन्‍नुभयो। (पद ११) आफ्ना मित्रले अद्‌भुत नयाँ अस्तित्वको उपभोग गरिरहेका भए येशू पक्कै पनि हर्षित हुनुहुने थियो। तर त्यसो नभई आफ्नो मित्रको मृत्यु भएकोमा उहाँ जनसमक्ष रुनुभएको विवरण पढ्‌छौं। (पद ३५) लाजरसको प्राणले स्वर्गमा अमरताको परमसुखको आनन्द उठाइरहेका भए बिरामी तथा मरणशील मानवजातिमाझ असिद्ध शरीरको “झ्यालखाना”-मा केही वर्ष बिताउनका लागि पुनः बोलाउनुभएर येशूले त्यति निष्ठूर काम कहिल्यै गर्नुहुने थिएन।

मृत्युबाट बिउँताइएपछि के लाजरसले शरीरबाट मुक्‍त आत्माको रूपमा बिताएको अद्‌भुत चार दिनबारे उल्लसित हुँदै कथाहरू सुनाए? अहँ, सुनाएनन्‌। अमर प्राणमा विश्‍वास गर्नेहरूले भन्लान्‌, त्यो अनुभव अवर्णनीय भएकोले नबताएको हुनुपर्छ। तर त्यो तर्क पत्यारिलो छैन। आखिर, के लाजरसले आफ्ना प्रियजनहरूलाई उक्‍त घटना अवर्णनीय छ भन्‍ने थिएन होला र? तर लाजरसले मृत रहँदाको कुनै अनुभव बताएनन्‌। यसो सोच्नुहोस्‌, मानिसहरूको अत्यधिक कौतूहलताको विषय अर्थात्‌ मृत्यु कस्तो हुन्छ भनेर लाजरसले केही भनेनन्‌। त्यो मौनतालाई एकै किसिमले मात्र वर्णन गर्न सकिन्छ। बताउने केही कुरै भए पो। मृतकहरू अचेत अवस्थामा सुतिरहेका हुन्छन्‌।

अतः के बाइबलले मृत्युलाई प्राणको मित्र, विभिन्‍न अस्तित्वहरूबीचको बाटो मात्र हो भनी प्रस्तुत गर्छ? पटक्कै गर्दैन! प्रेरित पावलजस्ता साँचो मसीहीहरूको लागि मृत्यु, मित्र थिएन। बरु ‘सबैभन्दा पछिको शत्रु’ थियो। (१ कोरिन्थी १५:२६) मसीहीहरूले मृत्युलाई स्वाभाविक नभई भयानक, अस्वाभाविक ठान्छन्‌ किनभने यो परमेश्‍वरको विरुद्ध विद्रोह र पापको प्रत्यक्ष परिणाम हो। (रोमी ५:१२; ६:२३) यो मानिसजातिको लागि परमेश्‍वरको मौलिक उद्देश्‍य थिएन।

तथापि, साँचो मसीहीहरू प्राणको मृत्युको सन्दर्भमा आशाविहीन भने छैनन्‌। लाजरसको पुनरुत्थानसम्बन्धी बाइबल विववरणले पनि मृत प्राणहरूको पुनरुत्थानबारे धर्मशास्त्रीय साँचो आशालाई सजीव ढंगमा वर्णन गर्छ। बाइबलले दुइ प्रकारको पुनरुत्थानबारे सिकाउँछ। धर्मी होस्‌ या अधर्मी, चिहानमा सुतिरहेका अधिकांश मानिसजातिसमक्ष पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउन पुनरुत्थानको आशा छ। (लूका २३:४३; यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) येशूले “सानो बगाल” भनी सम्बोधन गर्नुभएको सानो समूहको निम्ति पुनरुत्थान भई स्वर्गमा आत्मिक प्राणीहरूको हैसियतमा अमर जीवन बिताउने आशा छ। ख्रीष्टका प्रेरितहरूलगायत यी व्यक्‍तिहरूले ख्रीष्ट सँगसँगै मानिसजातिमाथि शासन गरेर सिद्धता पुनर्स्थापित गर्नेछन्‌।—लूका १२:३२; १ कोरिन्थी १५:५३, ५४; प्रकाश २०:६.

त्यसोभए, मसीहीजगत्‌का चर्चहरूले पुनरुत्थान नभई मानव प्राणको अमरताबारे किन सिकाइरहेका छन्‌? सन्‌ १९५९ मा धर्मविज्ञानी भर्नर येगरले द हाभर्ड थियोलोजिकल रिभ्यु-मा (अंग्रेजी) कस्तो जवाफ दिए, ध्यान दिनुहोस्‌: “मसीही धर्मसिद्धान्तको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने, मसीही धर्मशिक्षाका पिता, ओरिगेन आलेक्जान्ड्रियास्थित धर्मपीठमा प्लातोवादी दर्शनशास्त्री थिए। तिनले अमर आत्मासम्बन्धी प्लातोबाट सिकेका तीनथुप्रो शिक्षाहरू मसीही धर्मसिद्धान्तमा थपथाप गरे।” त्यसकारण शताब्दीयौंअघि यहूदीहरूले जे गरे, चर्चले पनि दुरुस्तै गरे! तिनीहरूले युनानी दर्शनलाई रुचाएर बाइबलका शिक्षाहरू त्यागे।

धर्मसिद्धान्तको वास्तविक मूल

अब केहीले प्रश्‍न गर्लान्‌, प्राणको अमरताको पक्षमा बोल्ने हो भने, संसारका थुप्रै धर्महरूले एउटै धर्मसिद्धान्तलाई किन बेग्लाबेग्लै किसिमले सिकाउँछन्‌? धर्मशास्त्रले यस संसारका धार्मिक समुदायहरूमा यो शिक्षा यतिको व्याप्त हुनुको ठोस कारण बताउँछ।

“सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” र शैतानलाई तोकेरै “यस संसारको मालिक” भनी बाइबलले हामीलाई बताउँछ। (१ यूहन्‍ना ५:१९; यूहन्‍ना १२:३१) स्पष्ट छ, संसारका धर्महरू शैतानी प्रभावबाट मुक्‍त छैनन्‌। यसको विपरीत, त्यसले आज संसारको दुःखकष्ट र कलहमा निकै योगदान पुऱ्‍याएको छ। अनि तिनीहरूले प्राणको विषयमा शैतानको मन झल्काएको स्पष्ट देखिन्छ। कसरी?

प्रथम झूटलाई सम्झनुहोस्‌ त। परमेश्‍वरले आफ्नो विरुद्ध पाप गरेमा आदम र हव्वा मर्नेछन्‌ भनिसक्नुभएको थियो। तर शैतानले हव्वालाई यस्तो आश्‍वासन दियो: “तिमीहरू कदापि मर्दैनौ।” (उत्पत्ति ३:४) निस्सन्देह, आदम र हव्वा मरे अनि परमेश्‍वरले भन्‍नुभएझैं तिनीहरू माटोमै फर्के। तर “झूटको पिता” शैतानले त्यस प्रथम झूटलाई कहिल्यै त्यागेन। (यूहन्‍ना ८:४४) बाइबलको धर्मसिद्धान्तबाट तर्किएका वा त्यसलाई खुल्लमखुल्ला इन्कार गर्ने अनगिन्ती धर्महरूमा यही विचारधारा अझै पनि व्याप्त छ: “तपाईं कदापि मर्नु हुनेछैन। तपाईंको शरीर नाश होला तर तपाईंको प्राण परमेश्‍वरजस्तै सधैंभरि बाँचिरहन्छ!’ चाखलाग्दो कुरा, शैतानले पनि हव्वालाई तिनी “परमेश्‍वरजस्तै” हुनेछिन्‌ भनेको थियो!—उत्पत्ति ३:५.

झूट वा मानव दर्शनमा नभई सत्यमा आधारित आशा हुनु कति बेस हो। हाम्रा प्रिय मृतजनहरूको अमर प्राण कहाँ पो होलान्‌ भनी चिन्तित हुनुको साटो तिनीहरू अचेत अवस्थामा चिहानमा छन्‌ भनी विश्‍वस्त हुनु कति बेस हो! मृतकहरूको निद्राले हामीलाई त्रसित वा निरुत्साहित पार्नुपर्ने कारणै छैन। भनौं भने, एक प्रकारले मृतकहरू सुरक्षित विश्रामस्थलमा छन्‌। किन सुरक्षित? किनभने यहोवाले प्रेम गर्नुहुने मृतकहरू विशेष अर्थमा बाँचिरहेका हुन्छन्‌ भनी बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (लूका २०:३८) उहाँको स्मरणमा तिनीहरू बाँचिरहेका छन्‌। त्यो असाध्यै सान्त्वनादायी विचार हो किनभने उहाँको स्मरणको कुनै सीमा छैन। अनगिन्ती प्रिय मानवहरूलाई जीवन दिनुभएर पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने अवसर प्रदान गर्न उहाँ उत्सुक हुनुहुन्छ।—अय्यूब १४:१४, १५ तुलना गर्नुहोस्‌।

पुनरुत्थान हुने गौरवमय दिन पनि आउनेछ किनभने यहोवाका सबै प्रतिज्ञाहरू पूरा हुनैपर्छ। (यशैया ५५:१०, ११) यो भविष्यवाणीको पूर्तिबारे सोच्नुहोस्‌ त: “मरिगएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। तपाईंको शीत ज्योतिको शीतझैं झर्छ, अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।” (यशैया २६:१९) अतः, चिहानमा सुतिरहेका मृतकहरू आमाको गर्भका बच्चाजस्तै सुरक्षित छन्‌। तिनीहरू पार्थिव प्रमोदवनमा चाँडै “जन्मिनेछन्‌”!

त्योभन्दा उत्तम आशा अरू कुन होला र?

[फुटनोटहरू]

a प्राप्त विवरणअनुसार लुकेर बसेका दुइ स्त्री तथा पाँच केटाकेटी मात्र बचे। ती स्त्रीहरूले पछि रोमी बन्दीकर्ताहरूलाई सविवरण सुनाए।

b निस्सन्देह, विस्तृत प्रयोग भएका अन्य थुप्रै शब्दहरूजस्तै नेफेश शब्दका अन्य अर्थहरू छन्‌। उदाहरणका लागि, यसले विशेषगरि गहिरा भावनाहरूलाई संकेत गर्नुपर्दा भित्री मानिसलाई बुझाउनसक्छ। (१ शमूएल १८:१) यसले प्राणको हैसियतमा व्यक्‍तिविशेषले उपभोग गर्ने जीवनलाई पनि बुझाउनसक्छ।—१ राजा १७:२१-२३.

c “आत्मा” बुझाउन प्रयोग गरिएको हिब्रू शब्द, रूवाक-को अर्थ, “सास” वा “हावा” हो। यसले सचेत आत्मिक अस्तित्वलाई होइन बरु नयाँ नियमको धर्मसिद्धान्तसम्बन्धी नयाँ अन्तरराष्ट्रिय शब्दकोश-ले (अंग्रेजी) बताएअनुसार “व्यक्‍तिविशेषको जीवनशक्‍ति”-लाई संकेत गर्छ।

d यस्तो अनौठो सोचाइ राख्ने यिनी मात्रै थिएनन्‌। यस शताब्दीको सुरुतिर एक वैज्ञानिकले थुप्रै मानिसहरूको मृत्यु हुनुअघि शरीरको वजनबाट मृत्यु हुने बित्तिकैको वजन घटाएर प्राणको वजन पत्ता लगाएको दाबी गरे।

[पृष्ठ ५-मा भएको चित्र]

मृत्युले प्राणलाई मुक्‍त गर्छ भनी मसाडाका यहूदी हठधर्मीहरू विश्‍वास गर्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने