विभाजित संसारमा मसीही अतिथि सत्कार
“यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW] गर्नैपर्छ।”—३ यूहन्ना ८.
१. सृष्टिकर्ताले मानिसजातिलाई कस्ता अति रहरलाग्दा उपहारहरू दिनुभएको छ?
“यसैले सुख-चैन गर्नुनै म सल्लाह दिन्छु, किनभने संसारमा मानिसलाई खानु, पिउनु, मोज-मज्जा गर्नु भन्दा अरू असल केही रहे न छ। किनकि यस संसारमा परमेश्वरले दिनुभएको जीवनको अवधिभरि आफ्नो मेहनतको फल यही मात्र रहनेछ।” (उपदेशक ८:१५) यी शब्दहरूद्वारा पुरातन हिब्रू उपदेशकले हामीलाई यहोवा परमेश्वर आफ्नो मानव सृष्टि आनन्दित र सुखी मात्र होस् भन्ने चाहनुहुन्न थियो तर त्यसको लागि उहाँले प्रबन्धहरू पनि मिलाइदिनुभएको कुरा बताउँछन्। मानव इतिहासलाई हेर्दा मानिसहरू जहाँसुकै होऊन्, सामान्यतः तिनीहरूको इच्छा रमाउनु र रमाइलो समय बिताउनु देखिएको छ।
२. (क) यहोवाले मानिसजातिको निम्ति राख्नुभएको उद्देश्यलाई तिनीहरूले कसरी दुरुपयोग गरेका छन्? (ख) परिणाम के भएको छ?
२ आज हामी विलासी जीवनले लट्ठिएको समाजमा बाँचिरहेका छौं जहाँ मानिसहरू सुखविलास र रमाइलो समय बिताउन लीन छन्। बाइबलले भविष्यवाणी गरेझैं धेरैजसो मानिसहरू “स्वार्थी, . . . परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” भएका छन्। (२ तिमोथी ३:१-४) निश्चय पनि यो यहोवा परमेश्वरले राख्नुभएको उद्देश्यमा अचाक्ली रूपले हेरफेर गर्नु हो। जब रमाइलो समय बिताउनु नै जीवनको प्रमुख लक्ष्य हुन्छ वा एक मात्र उद्देश्य आत्मविलासी जीवन बिताउनु हुन्छ, तब साँचो सन्तुष्टि प्राप्त हुँदैन र ‘सबैकुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हुन्छ।’ (उपदेशक १:१४; २:११) त्यसैकारण संसार एक्लो तथा कुण्ठित मानिसहरूले भरिएको छ र त्यसैले गर्दा समाजमा यति धेरै समस्याहरू देखिएका छन्। (हितोपदेश १८:१) मानिसहरू एकअर्कोप्रति शंकालु भएका छन् र जातीय, साम्प्रदायिक, सामाजिक तथा आर्थिक तवरमा विभाजित भएका छन्।
३. हामी साँचो आनन्द र सन्तुष्टि कसरी प्राप्त गर्नसक्छौं?
३ यहोवाले अरूसित गर्नुहुने व्यवहार मानिसहरूले अनुकरण गरेका भए अर्थात् तिनीहरू पनि दयालु, उदार, आतिथेय भएका भए परिस्थिति कति भिन्न हुनेथियो! उहाँले साँचो खुशीको रहस्य आफ्ना इच्छाहरू पूरा गर्न कोसिस गर्नुमा भर पर्दैन भनेर प्रष्ट पार्नुभयो। बरु, कुञ्जी यो हो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) साँचो आनन्द र सन्तोष प्राप्त गर्न हामीलाई घेराबन्दीमा पार्ने बाधक तथा विभाजनहरूलाई तोड्नैपर्छ। हामीसँगसँगै यहोवाको सेवा गरिरहेकाहरूलाई अतिथि सत्कार गर्नैपर्छ। “यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW] गर्नैपर्छ,” भन्ने सल्लाहलाई हामीले पालन गर्नु अत्यावश्यक छ। (३ यूहन्ना ८) हाम्रो परिस्थितिले भ्याएसम्म योग्य जनहरूलाई अतिथि सत्कार गर्दा दुइ तरिकामा लाभ प्राप्त हुन्छ अर्थात् दिने र लिने दुवैको फाइदा हुन्छ। त्यसो भए हामीले ‘अतिथि सत्कार गर्नुपर्ने’ योग्य जनहरू को हुन्?
“अनाथ र विधवाहरूलाई . . . हेरचाह गर”
४. यहोवाका केही जनहरूमाझ पनि पारिवारिक संरचनामा कस्तो परिवर्तन देखिएको छ?
४ आज स्थिर परिवार तथा सुखी वैवाहिक जीवन विरलै पाइन्छ। संसारभर पारपाचुकेको बढ्दो दर र अविवाहित आमाहरूको बढ्दो संख्याले गर्दा आमाबाबु र छोराछोरी मात्र हुने परिवारको रूप तीव्र गतिले परिवर्तन भएको छ। परिणामस्वरूप हालैका वर्षहरूमा यहोवाका साक्षी बनेका थुप्रै व्यक्तिहरू धेरैजसो टुक्रिएको परिवारबाट आएका छन्। तिनीहरू पारपाचुके भएका वा विवाहित जोडीसित अलग्गिएका, आमा वा बुबा मात्र भएको परिवारमा हुर्केकाहरू हुन्छन्। यसबाहेक येशूले भविष्यवाणी गर्नुभएझैं उहाँले सिकाउनुभएको सत्यले गर्दा धेरै परिवारहरूमा फाटोहरू आएका छन्।—मत्ती १०:३४-३७; लूका १२:५१-५३.
५. येशूले विभाजित परिवारहरूको निम्ति प्रोत्साहनको स्रोत हुनसक्ने कुन कुरा बताउनुभयो?
५ नयाँ व्यक्तिहरू सत्यको पक्षमा खडा भएको देख्दा हाम्रो हृदय प्रफुल्लित हुन्छ र हामी येशूका यी प्रोत्साहनदायी प्रतिज्ञाद्वारा तिनीहरूलाई प्रायः सान्त्वना दिन्छौं: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड़छ त्यसले खेदोको साथसाथ सय गुणा बढ़ता घरहरू, र दाज्यू-भाइहरू, र दिदी-बहिनीहरू र आमाहरू, र बालकहरू र जग्गा-जमीनहरू अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्मा अनन्त जीवन।”—मर्कूस १०:२९, ३०.
६. हामीमाझ भएका “अनाथ र विधवाहरू[का]” लागि हामी कसरी ‘दाइभाइहरू र दिदीबहिनीहरू र आमाहरू र बालकहरू’ हुनसक्छौं?
६ यी ‘दाइभाइहरू र दिदीबहिनीहरू र आमाहरू र बालकहरू’ को हुन्? आफूलाई भाइ र बहिनी भन्ने सयौं वा तीभन्दा धेरै मानिसहरू राज्यभवनमा देख्दा तिनीहरू उसका आफ्नै दाइभाइहरू, दिदीबहिनीहरू, आमाहरू र बालकहरू हुन् जस्तो एक व्यक्तिलाई स्वतः लाग्दैन। यो बुँदालाई ध्यान दिनुहोस्: हाम्रो उपासना यहोवालाई ग्रहणयोग्य बनाउन हामीले ‘अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नैपर्छ र आफैलाई दुनियाँबाट निष्कलंक राख्नैपर्छ,’ भनेर चेला याकूब हामीलाई स्मरण गराउँछन्। (याकूब १:२७) त्यसको अर्थ आफ्नो आर्थिक सम्पन्नताको घमण्ड र सामाजिक पदजस्ता सांसारिक मनोवृत्तिले हामीलाई त्यस्ता “अनाथ र विधवाहरू[प्रति]” कोमल नहुन दिनै हुँदैन। बरु, हामी तिनीहरूसित मित्रताको हात बढाउन र अतिथि सत्कार गर्न अग्रसर हुनैपर्छ।
७. (क) “अनाथ र विधवाहरू[लाई]” अतिथि सत्कार गर्नुको वास्तविक उद्देश्य के हो? (ख) क-कसले पनि मसीही अतिथि सत्कार देखाउनसक्छन्?
७ “अनाथ र विधवाहरू[लाई]” अतिथि सत्कार गर्नुको अर्थ सधैं तिनीहरूको भौतिक कमी क्षतिपूर्ति गर्नु भनेको होइन। आमा वा बुबा मात्र भएका परिवारहरू वा धार्मिक तवरमा विभाजित घरानाहरू आर्थिक अवस्थामा कमजोरै हुन्छन् भन्ने छैन। तथापि, स्वास्थ्यकर संगति, पारिवारिक वातावरण, भिन्न उमेरका व्यक्तिहरूसितको संगति र असल आध्यात्मिक कुराहरू बाँड्नु इत्यादि सबै जीवनका बहुमूल्य पक्षहरू हुन्। यसकारण भव्य अवसर महत्त्वपूर्ण होइन तर प्रेम र एकताको आत्मा महत्त्वपूर्ण हो भन्ने सम्झँदै “अनाथ र विधवाहरू[ले]” पनि कहिलेकाहीं सँगी मसीहीहरूको अतिथि सत्कार गर्नु कति असल हुन्छ!—१ राजा १७:८-१६ तुलना गर्नुहोस्।
के हामीबीच विदेशीहरू छन्?
८. यहोवाका साक्षीहरूका धेरैजसो मण्डलीहरूमा कस्तो परिवर्तन देखिएको छ?
८ हामी अधिकांश जनसंख्या एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भइरहेको समयमा जीवन बिताइरहेका छौं। वर्ल्ड प्रेस रिभ्यु यसो भन्छ, “विश्वभरि दश करोडभन्दा धेरै मानिसहरू त्यस्ता देशहरूमा जीवन बिताइरहेका छन् जहाँका तिनीहरू नागरिक होइनन्। अनि दुइ करोड तीस लाख मानिसहरू आफ्नै मुलुकमा सुकुमबासी हुन बाध्य भएका छन्।” कुनै समय यहोवाका जनहरूका मण्डलीहरू विशेषतः एउटै जाति वा राष्ट्रका मानिसहरू मिलेर बनेका हुन्थे। तर यस स्थानान्तरणको प्रत्यक्ष परिणामस्वरूप आज प्रायजसो क्षेत्रहरूमा र अझ विशेषगरि ठूल-ठूला शहरहरूमा यहोवाका जनहरूका मण्डलीहरू संसारका विभिन्न भागका मानिसहरू मिलेर बनेका छन्। तपाईं बस्नुभएको इलाकामा पनि यो कुरा साँचो होला। त्यसो भए हाम्रो भाषा, प्रथा तथा जीवनशैलीभन्दा भिन्न हुनसक्ने यी व्यक्तिहरू अर्थात् संसारले “प्रवासीहरू” वा “विदेशीहरू” कहलाएकाहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्ने हो?
९. मसीही मण्डलीमा आइरहेका “प्रवासीहरू” वा “विदेशीहरू[को]” सम्बन्धमा कस्तो प्रकारको दृष्टिकोण राख्दा हामी गम्भीर पासोमा फस्नसक्छौं?
९ सरल भाषामा भन्ने हो भने, विदेशीहरूदेखि डराउने झुकाउले अपरिचित वा मूर्तिपूजक मुलुकका बासिन्दाहरू सत्य चिन्ने सुअवसरका योग्य छैनन् तर हामी छौं भन्ने भाव पलाउन दिनु हुँदैन। नता यी नवआगन्तुकहरूले राज्यभवन वा सम्मेलन भवन प्रयोग गरेर ती चीजहरूमा अतिक्रमण गरिरहेका छन् भन्ने भावना नै हामीले राख्नु हुन्छ। यस्तै सोचाइ राख्ने प्रथम शताब्दीका केही यहूदी मसीहीहरूलाई मुक्ति परमेश्वरको अनुग्रहको कारण सम्भव भएको हो, वास्तवमा यसको लागि कुनै पनि व्यक्ति योग्य थिएन भनी पावलले सम्झाउनु परेको थियो। (रोमी ३:९-१२, २३, २४) कुनै न कुनै तरिकामा सुसमाचार सुन्ने मौका गुमाएका धेरै मानिसहरूले पनि अहिले परमेश्वरको अनुग्रह प्राप्त गर्न पाएको देख्दा हामी आनन्दित हुनुपर्ने हो। (१ तिमोथी २:४) तिनीहरूप्रतिको हाम्रो माया साँचो हो भनी हामी कसरी देखाउनसक्छौं?
१०. हामीमाझ भएका “विदेशीहरू[लाई]” हामीले साँच्चै अतिथि सत्कार गरिरहेका छौं भनी कसरी देखाउनसक्छौं?
१० हामी पावलको यो सल्लाह पालन गर्नसक्छौं: “यसकारण परमेश्वरको महिमाको निम्ति, ख्रीष्टले हामीलाई सत्कार गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कोलाई सत्कार गर।” (रोमी १५:७) अन्य मुलुक वा पृष्ठभूमिबाट आएका मानिसहरू अक्सर आधारभूत आवश्यकताबाट वञ्चित हुन्छन् भन्ने कुराप्रति सजग भएर हामीले तिनीहरूलाई सके जति दया देखाउनुपर्छ, तिनीहरूको ख्याल राख्नुपर्छ। तिनीहरूलाई हामीमाझ स्वागत गर्नुपर्छ, तिनीहरू प्रत्येकलाई “स्वदेशीजस्तै” व्यवहार गर्नुपर्छ र “आफूलाई झैं प्रेम” गर्नुपर्छ। (लेवी १९:३४) यसो गर्नु सजिलो त नहोला तर “संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिनीहरू जाँचेर पत्ता लगाओ” भन्ने सल्लाह सम्झ्यौं भने हामी सफल हुनेछौं।—रोमी १२:२.
पवित्र जनहरूसित बाँड्नु
११, १२. यहोवाका सेवकहरूप्रति कस्तो विशेष ध्यान दिइन्थ्यो (क) पुरातन इस्राएलमा (ख) प्रथम शताब्दीमा?
११ हाम्रो आध्यात्मिक सुस्वास्थ्यको लागि अथक परिश्रम गर्ने परिपक्व मसीहीहरू साँच्चै हाम्रो ध्यान र अतिथि सत्कारका योग्य छन्। यहोवाले पुरातन इस्राएलमा पूजाहारीहरू तथा लेवीहरूको निम्ति विशेष प्रबन्धहरू गर्नुभएको थियो। (गन्ती १८:२५-२९) प्रथम शताब्दीका मसीहीहरूलाई विशेष दक्षतासहित सेवा गर्नेहरूको ख्याल गर्नू भन्ने आग्रह गरिएको थियो। तेस्रो यूहन्ना ५-८ को विवरणले हामीलाई प्रारम्भिक मसीहीहरूबीच विद्यमान प्रेमको घनिष्ठ बन्धनको झलक दिन्छ।
१२ मण्डलीहरूमा भ्रमण गर्न पठाइएका कुनै कुनै परिभ्रमण भाइहरूप्रति गायसले देखाएको दया र अतिथि सत्कारलाई वृद्ध प्रेरित यूहन्नाले धेरै मोल गरे। यी भाइहरूलगायत यूहन्नाको पत्र पुऱ्याउने डेमेत्रियससित गायस सुरुमा अपरिचित थिए वा तिनीहरूलाई चिन्दैनन् थिए। तर तिनीहरूको अतिथि सत्कार गरियो किनकि “तिनीहरू [परमेश्वरको] नाउँको खातिर निस्केका हुन्।” यसलाई यूहन्ना यसरी भन्छन्: “यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW] गर्नैपर्छ।”—३ यूहन्ना १, ७, ८.
१३. आज हामीमाझ “अतिथि सत्कार पाउन” विशेषगरि को को योग्य छन्?
१३ आज यहोवाको संगठनभित्रका सबै भाइहरूका खातिर अथक परिश्रम गर्नेहरू निकै छन्। तिनीहरू हुन्: मण्डलीलाई बलियो बनाउन हप्तैपिच्छे आफ्नो समय तथा श्रम प्रयोग गर्ने परिभ्रमण निरीक्षकहरू; आफ्नो परिवार र मित्रहरू छोडेर विदेशी मुलुकमा प्रचार गर्ने मिसनरीहरू; विश्वव्यापी प्रचार कार्यलाई समर्थन गर्न स्वयंसेवकको रूपमा सेवा चढाइरहेका बेथेल गृह वा शाखा कार्यालयमा सेवा गर्नेहरू; अधिकांश समय तथा श्रम क्षेत्र सेवकाईमा बिताउने अग्रगामी सेवामा लागेकाहरू। मुख्यतया यिनीहरू सबैले व्यक्तिगत महिमा वा फाइदाको लागि होइन तर मसीही भ्रातृत्व र यहोवाप्रतिको प्रेमको कारण कठिन परिश्रम गर्छन्। तिनीहरू सम्पूर्ण प्राणले भक्ति गरेकोले अनुकरणीय छन् र ‘अतिथि सत्कार पाउन’ योग्यका छन्।
१४. (क) विश्वासी जनहरूलाई अतिथि सत्कार गर्दा हामी कसरी असल मसीहीहरू हुन्छौं? (ख) मरियमले “असल भाग” छानिन् भनेर येशूले किन भन्नुभयो?
१४ “त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW]” गर्दा हामी “सत्यको सहकर्मी” हुन्छौं भनेर प्रेरित यूहन्नाले औंल्याए। भनौं भने, परिणामस्वरूप हामी असल मसीहीहरू हुन्छौं। किनकि मसीही कार्यहरूमा सँगी विश्वासीहरूको निम्ति असल काम गर्नु समावेश छ। (हितोपदेश ३:२७, २८; १ यूहन्ना ३:१८) अनि अरू तरिकामा पनि इनामहरू पाइन्छन्। मरियम र मार्थाले येशूलाई आफ्नो घरमा सत्कार गर्दा मार्थाले येशूको निम्ति “धेरै कुरा” तयार गरेर एक असल आतिथेय हुन खोजिन्। मरियमले चाहिं भिन्नै तरिकामा अतिथि सत्कार देखाइन्। तिनी “येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिइन्,” र तिनले “असल भाग” छानेकी हुँदा येशूले तिनको सराहना गर्नुभयो। (लूका १०:३८-४२) धेरै अनुभव संगालेकाहरूसित वार्तालाप र छलफल गर्नु अक्सर तिनीहरूसित बिताइने साँझको विशेषताहरू हुन्छ।—रोमी १:११, १२.
विशेष अवसरहरूमा
१५. यहोवाका जनहरूको निम्ति कस्ता विशेष अवसरहरू रमाइलो समय साबित हुनसक्छन्?
१५ साँचो मसीहीहरूले लोकप्रिय प्रथाहरूमा भाग नलिने वा सांसारिक बिदा तथा चाडपर्वहरू नमनाउने भए तापनि एकसाथ भेला भएर आपसी संगतिको आनन्द उठाउँछन्। उदाहरणका लागि, येशू कानामा भएको विवाह भोजमा सरिक हुनुभयो र त्यहाँ पहिलो पटक चमत्कार गर्नुभएर त्यस अवसरमा आनन्द थप्नुभयो। (यूहन्ना २:१-११) त्यसैगरि आज पनि यहोवाका जनहरू यस्तै विशेष अवसरहरूमा एकसाथ रमाइलो समय बिताउँछन्। अनि उपयुक्त समारोह र हर्षोल्लासले यस्ता अवसरहरूमा सुगन्ध छरिदिन्छ। त्यसो भए के के गर्नु उपयुक्त छ?
१६. विशेष अवसरहरूमा समेत देखाउनुपर्ने उचित आचरणसम्बन्धी हामीसित कस्ता निर्देशनहरू छन्?
१६ मसीहीहरूको लागि कस्तो आचरण उपयुक्त छ, बाइबलको अध्ययनद्वारा हामी थाह पाउँछौं र त्यो सधैं पालन गर्छौं। (रोमी १३:१२-१४; गलाती ५:१९-२१; एफिसी ५:३-५) विवाहको कारण होस् वा अन्य कुनै कारणले सामाजिक जमघट गरिएको होस्, त्यसले हामीलाई हाम्रा मसीही स्तरहरू त्याग्ने वा हामीले सामान्यतया नगर्ने काम गर्न स्वतन्त्रता दिंदैन नता हामी स्थानीय मुलुकका सम्पूर्ण प्रथाहरू पछ्याउन बाध्य महसुस गर्छौं। यीमध्ये कतिपय त झूटा धर्महरू वा अन्धविश्वासहरूमा आधारित हुन्छन् भने अन्य अवसरहरूमा चाहिं मसीहीहरूको निम्ति अत्यन्त अस्वीकार्य आचरणहरू समावेश हुन्छन्।—१ पत्रुस ४:३, ४.
१७. (क) कानामा भएको विवाह भोज सुव्यवस्थित र सुनिरीक्षित थियो भनी कुन तथ्यहरूले देखाउँछन्? (ख) त्यो अवसर येशूलाई पनि स्वीकार्य थियो भनी कुन कुराले संकेत गर्छ?
१७ यूहन्ना २:१-११ पढ्दा त्यस अवसर निकै शानदार र त्यहाँ धेरै पाहुनाहरू निम्त्याइएका थिए भनेर ठम्याउन गाह्रो पर्दैन। तथापि, येशू र उहाँका चेलाहरूले “निम्तो” पाएका थिए। चेलाहरूमध्ये कोही कोही त शायद आतिथेयका आफन्तहरू नै थिए। तैपनि उहाँहरू नबोलाइकन त्यसै जानुभएको थिएन। त्यहाँ सेवा गरिरहेका “चाकरहरू” र भोजमा के पस्कने वा के गर्ने, त्यो निर्देशन दिने “मुखिया” पनि थिए भनेर पनि हामीले याद गऱ्यौं। यी सबै कुराहरूबाट त्यो भोज सुव्यवस्थित र सुनिरीक्षित थियो भन्ने संकेत पाउँछौं। येशूले भोजमा जे गर्नुभयो त्यसबाट उहाँले “आफ्नो महिमा प्रकट गर्नुभयो” भनी त्यस विवरणको अन्तमा बताइएको छ। त्यस भोज होहल्ला मच्चाउनेहरू र अनियन्त्रित भएको भए येशूले त्यस अवसरमा त्यसो गर्नुहुन्थ्यो होला र? पक्कै पनि गर्नुहुने थिएन।
१८. कुनै पनि सामाजिक जमघटबारे कस्तो गम्भीर ध्यान पुऱ्याउनुपर्छ?
१८ त्यसो भए हामीले आतिथेय गर्न लागेको कुनै विशेष अवसरबारे के भन्न सकिन्छ? अरूलाई अतिथि सत्कार गर्नुको उद्देश्य हामी सबै “सत्यको सहकर्मी हुन” सकौं भनेर हो भन्ने कुरा सम्झन चाहन्छौं। यसकारण कुनै पनि अवसरलाई “साक्षी” जमघट भनेर मात्र पुग्दैन। यस्तो प्रश्न सोध्न सकिन्छ, वास्तवमा हामी को हौं र के विश्वास गर्छौं, के यो त्यसको प्रमाण हो र? यस्ता अवसरहरूलाई हामीले “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी[मा]” चुर्लुम्म डुब्ने मौकाको रूपमा लिनु हुँदैन। (१ यूहन्ना २:१५, १६) बरु, यी अवसरहरूले यहोवाका साक्षीहरूको रूपमा हाम्रो भूमिकालाई उचित ढंगले प्रतिबिम्बित गर्नैपर्छ र जे गर्छौं, त्यसले यहोवाको महिमा र आदर हुन्छ कि हुँदैन हामी पक्का हुनुपर्छ।—मत्ती ५:१६; १ कोरिन्थी १०:३१-३३.
‘बिना गनगन अतिथि सत्कार गर’
१९. “एउटाले अर्कोलाई विना गनगन अतिथि सेवा” गर्नु किन आवश्यक छ?
१९ संसारको परिस्थिति झन् झन् खस्किंदै जाँदा र मानिसहरू झन् विभाजित हुँदा साँचो मसीहीहरूबीचको घनिष्ठ बन्धन बलियो बनाउन हामीले यथासक्दो गर्नु आवश्यक छ। (कलस्सी ३:१४) यसो गर्न पत्रुसले आग्रह गरेझैं हामीले “आपसमा प्रगाढ़ प्रेम” राख्नैपर्छ। अनि व्यवहारिक हुँदै तिनले अझ यसो भने: “एउटाले अर्कोलाई विना गनगन अतिथि सेवा गर।” (१ पत्रुस ४:७-९) हाम्रा भाइहरूलाई अतिथि सत्कार गर्न, दयालु र मदतकारी हुने प्रयत्न गर्न के हामी अग्रसर हुन चाहँदैछौं? अथवा यस्तो मौका प्राप्त हुँदा हामी गनगन गर्छौं? त्यसो गर्छौं भने, असल गर्दा प्राप्त हुने आनन्द हामीले गुमाउनेछौं र खुशी हुने इनाम पनि हराउनेछौं।—हितोपदेश ३:२७; प्रेरित २०:३५.
२०. आजको विभाजित संसारमा अतिथि सत्कार गर्ने अभ्यास गऱ्यौं भने हाम्रानिम्ति कस्ता आशिष्हरू सञ्चित गरिएका छन्?
२० सँगी मसीहीहरूसित मिलेर काम गर्दा आपसमा दयालु र अतिथि सत्कार गर्ने भयौं भने असीम आशिष्हरू प्राप्त गर्नेछौं। (मत्ती १०:४०-४२) यस्ताहरूमाथि यहोवाले “आफ्नो मण्डप टाँगिदिनुहुने[छ]। तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्,” भन्ने प्रतिज्ञा उहाँले गर्नुभयो। यहोवाको मण्डपमा हुनुको अर्थ उहाँको सुरक्षा र अतिथि सत्कारबाट आनन्द उठाउनु हो। (प्रकाश ७:१५, १६; यशैया २५:६) हो, सधैंभरि यहोवाको अतिथि सत्कारको आनन्द उठाउने प्रत्याशा नजीकै छ।—भजन २७:४; ६१:३, ४.
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ साँचो आनन्द र सन्तुष्टि प्राप्त गर्ने हो भने हामीले कुन कुरालाई बेवास्ता गर्नु हुन्न?
◻ “अनाथ र विधवाहरू” को हुन् र हामीले तिनीहरूको “हेरचाह” कसरी गर्नुपर्छ?
◻ हामीमाझ भएका “प्रवासीहरू” र “विदेशीहरू[प्रति]” हामीले कस्तो दृष्टि राख्नुपर्छ?
◻ आज विशेष ध्यान दिन योग्यका को छन्?
◻ विशेष अवसरहरूले अतिथि सत्कार गर्ने साँचो आत्मालाई कसरी प्रतिबिम्बित गर्नुपर्छ?
[पृष्ठ १६ र १७-मा भएका चित्रहरू]
विदेशीहरू, बुबा नभएका केटाकेटी, पूर्ण-समय सेवकहरू र अन्य पाहुनाहरूलाई रमाइलो अवसरहरूमा हामी अतिथि सत्कार गर्नसक्छौं